सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ संसार अनुवाद—बुझ्न सजिलो र सही अनुवाद

नयाँ संसार अनुवाद—बुझ्न सजिलो र सही अनुवाद

“परमेश्‍वरको वचन जीवित . . . छ।”—हिब्रू ४:१२.

गीत: ३७, ११६

१. (क) यहोवाले आदमलाई कस्तो काम दिनुभयो? (ख) यहोवाका सेवकहरूले कुराकानी गर्ने क्षमताको कसरी सदुपयोग गरिरहेका छन्‌?

 यहोवा परमेश्‍वरले मानिसहरूलाई एउटा वरदान दिनुभएको छ। त्यो हो, कुराकानी गर्ने वा बोल्ने क्षमता। आदमलाई अदनको बगैंचामा राखेपछि यहोवा परमेश्‍वरले तिनलाई यो क्षमताको प्रयोग गर्दै जनावरहरूको नाम राख्न लगाउनुभयो। तिनले निकै सोचविचार गरेर प्रत्येक जनावरलाई सुहाउँदो नाम दिए। (उत्प. २:१९, २०) त्यस समयदेखि यता यहोवाका सेवकहरूले कुराकानी गर्ने क्षमतालाई सही तरिकाले प्रयोग गर्दै आएका छन्‌। तिनीहरू यहोवाको नामको प्रशंसा गर्न र उहाँको इच्छाबारे अरूलाई बताउन यही क्षमता प्रयोग गर्छन्‌। अहिले विभिन्‍न भाषामा बाइबल अनुवाद गरेर तिनीहरूले यो क्षमताको सदुपयोग गरिरहेका छन्‌।

२. (क) नयाँ संसार बाइबल अनुवाद समितिले कुन-कुन सिद्धान्तलाई जोड दिएको छ? (ख) हामी यस लेखमा कुन कुरा छलफल गर्नेछौं?

अहिले बाइबलका हजारौं अनुवाद पाइन्छ। तर ती सबै अनुवाद एकै किसिमका छैनन्‌। कसैले जस्ताको तस्तै अनुवाद गरेका छन्‌ त कसैले मनखुसी। त्यसैले बाइबलको सही अनुवाद गर्ने उद्देश्‍यले सन्‌ १९४० मा हाम्रो सङ्‌गठनले नयाँ संसार बाइबल अनुवाद समिति गठन गऱ्‍यो। यो समितिले विशेषगरि तीनवटा सिद्धान्तलाई जोड दिन्छ: (१) मूल धर्मशास्त्रमा जुन-जुन ठाउँमा यहोवा भन्‍ने नाम थियो, त्यही-त्यही ठाउँमा फेरि त्यो नाम राखेर उहाँको नामको आदर गर्ने। (मत्ती ६:९ पढ्‌नुहोस्‌) (२) मूलभाषामा लेखिएको कुरा सम्भव भएसम्म शब्द- शब्द अनुवाद गर्ने तर अर्थको अनर्थ लाग्ने देखिएको खण्डमा अर्थ खुल्ने तरिकाले अनुवाद गर्ने। (३) मानिसहरूलाई पढुँ-पढुँ लाग्ने सजिलो भाषामा अनुवाद गर्ने। a (नहेम्याह ८:८, १२ पढ्‌नुहोस्‌) यी तीनवटा सिद्धान्त लागू गरेर हाम्रो सङ्‌गठनले १३० वटा भाषामा बाइबलको अनुवाद गऱ्‍यो। सन्‌ २०१३ मा विमोचन गरिएको अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद र अरू भाषाको नयाँ संसार अनुवाद-मा यी सिद्धान्तहरू कसरी लागू गरिएका छन्‌, अब यस लेखमा छलफल गर्नेछौं।

परमेश्‍वरको नामको आदर

३, ४. (क) टेट्राग्रामटन कुन-कुन प्रतिलिपिमा पाइन्छ? (ख) बाइबल अनुवाद गर्दा थुप्रैले कस्तो निर्णय गरेका छन्‌?

हिब्रू बाइबलको पुरानो प्रतिलिपि अध्ययन गर्ने विशेषज्ञहरूले थुप्रै प्रतिलिपिमा यहोवाको नाम भेट्टाएका छन्‌। जस्तै: मृत सागरमा भेटिएको प्रतिलिपिमा परमेश्‍वरको नामलाई सङ्‌केत गर्ने चार हिब्रू अक्षरहरू (यसलाई अङ्‌ग्रेजीमा टेट्राग्रामटन भनिन्छ) पाइयो। तर परमेश्‍वरको नाम यी प्रतिलिपिहरूमा मात्र होइन; ईसापूर्व २०० देखि इस्वी संवत्‌ १०० को बीचतिर लेखिएको ग्रीक भाषाको सेप्टुआजिन्ट-मा पनि पाइन्छ।

बाइबलमा परमेश्‍वरको नाम थुप्रै पटक चलाइएको छ भन्‍ने स्पष्ट प्रमाण हुँदाहुँदै पनि थुप्रै अनुवादमा उहाँको पवित्र नाम हटाइएको छ। उदाहरणका लागि, सन्‌ १९५० मा पवित्र बाइबल—नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म) विमोचन भएको दुई वर्षपछि प्रकाशित रिभाइज्ड स्टाण्डर्ड भर्सन-लाई लिनुहोस्‌। सन्‌ १९०१ को अमेरिकन स्टाण्डर्ड भर्सन-मा परमेश्‍वरको नाम प्रयोग गरिएको थियो। तर यसलाई नै संशोधन गरेर विमोचन गरिएको रिभाइज्ड स्टाण्डर्ड भर्सन-मा भने परमेश्‍वरको नाम थिएन। किन? कारण खुलाउँदै त्यस बाइबलको प्राक्कथनमा यस्तो लेखिएको थियो: “एक मात्र परमेश्‍वरलाई कुनै पनि व्यक्‍तिवाचक नामले सम्बोधन गर्नु . . . सम्पूर्ण ख्रीष्टियन चर्चको लागि सरासर अनुचित हो।” त्यसपछि अङ्‌ग्रेजी अनि अरू थुप्रै भाषामा बाइबल अनुवाद गरिंदा यही सिद्धान्त अपनाइयो।

५. बाइबलमा परमेश्‍वरको नाम हुनु किन महत्त्वपूर्ण छ?

बाइबलमा परमेश्‍वरको नाम राख्दा वा हटाउँदा केही फरक पर्छ र? फरक पर्छ। दक्ष अनुवादकले आफूखुसी अनुवाद गर्दैन। अनुवाद गर्दा तिनले लेखकको इच्छा र मनसायलाई विचार गर्छ। बाइबलका लेखक यहोवा पनि मानिसहरूले उहाँको नाम थाह पाऊन्‌ भन्‍ने चाहनुहुन्छ। अनि थुप्रै बाइबल पदहरूले उहाँको नाम महत्त्वपूर्ण छ र हामीले त्यसको आदर गर्नुपर्छ भनेर जोड दिएको छ। (प्रस्थ. ३:१५; भज. ८३:१८; १४८:१३; यशै. ४२:८; ४३:१०; यूह. १७:६, २६; प्रेषि. १५:१४) साथै यहोवा परमेश्‍वरले बाइबल लेख्ने मानिसहरूलाई हजारौं पटक आफ्नो नाम प्रयोग गर्न लगाउनुभयो। (इजकिएल ३८:२३ पढ्‌नुहोस्‌ b) त्यसैले बाइबलबाट यहोवा भन्‍ने नाम हटाउनु सरासर उहाँको अनादर हो।

६. सन्‌ २०१३ को नयाँ संसार अनुवाद-मा थप छ ठाउँमा परमेश्‍वरको नाम राख्नुको कारण के हो?

बाइबलमा परमेश्‍वरको नाम राख्नुपर्छ भन्‍ने आधार अहिले झनै स्पष्ट भएको छ। सन्‌ २०१३ मा विमोचन भएको अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद-मा ७ हजार २ सय १६ चोटि परमेश्‍वरको नाम प्रयोग गरिएको छ। हुन त सन्‌ १९८४ संस्करणको नयाँ संसार अनुवाद-मा पनि परमेश्‍वरको नाम थियो तर सन्‌ २०१३ मा विमोचन भएको नयाँ बाइबलमा अरू छ ठाउँमा परमेश्‍वरको नाम थपिएको छ। जस्तै: पहिलो शमूएल २:२५; ६:३; १०:२६; २३:१४, १६ मा पाँच चोटि परमेश्‍वरको नाम प्रयोग गरिएको छ। हिब्रू मेसोरेटिक प्रतिलिपिभन्दा एक हजार वर्ष पुरानो मृत सागरका पाण्डुलिपीहरूको अध्ययन गर्दा यी पदहरूमा पनि परमेश्‍वरको नाम पाइएकोले यस्तो संशोधन गरिएको हो। परमेश्‍वरको नाम थपिएको अर्को पदचाहिं न्यायकर्त्ता १९:१८ हो। भरपर्दा पुराना पाण्डुलिपीहरूको अध्ययन गर्दा यो पदमा पनि परमेश्‍वरको नाम भेटिएकोले यसलाई संशोधन गरिएको हो।

७, ८. “उहाँले गराउनुहुन्छ” भन्‍ने वाक्यांशको अर्थ के हो?

साँचो ख्रीष्टियनहरूले यहोवा नामको वास्तविक अर्थ बुझ्नु धेरै महत्त्वपूर्ण छ भनेर बुझेका छन्‌। त्यसैले सन्‌ २०१३ संस्करणको नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेखमा यस विषयमा नयाँ जानकारी दिइएको छ। नयाँ संसार बाइबल अनुवाद समितिले हिब्रू क्रिया हा-वाह-को अर्थ “उहाँले गराउनुहुन्छ” c भनेर परिभाषित गर्दै आएको छ। हाम्रा प्रकाशनहरूमा यो परिभाषालाई बुझाउन प्रस्थान ३:१४ प्रयोग गरिएको पाइन्छ, जहाँ यस्तो लेखिएको छ, “म हुँ जो म हुँ।” यसकै आधारमा सन्‌ १९८४ को संस्करणमा यहोवा नामको अर्थलाई यसरी व्याख्या गरिएको थियो: ‘आफूले गरेको प्रतिज्ञाहरू पूरा गर्न उहाँ जे पनि बन्‍न सक्नुहुन्छ।’ d तर सन्‌ २०१३ को संस्करणको अतिरिक्‍त लेख क४ मा यस विषयमा थप यस्तो जानकारी दिइएको छ: “आफ्ना जनहरूसित बाँधेको वाचा पूरा गर्न जे आवश्‍यक छ, यहोवा त्यही बन्‍न सक्नुहुन्छ। तर उहाँको नामको अर्थ यतिमै सीमित छैन। आफ्नो उद्देश्‍य पूरा गर्न उहाँ आफूले सृष्टि गरेका जेसुकै वा जोसुकैलाई जे पनि गराउन सक्नुहुन्छ।”

यहोवाले आफूले सृष्टि गरेको जुनसुकै कुरालाई जे पनि बनाउन सक्नुहुन्छ। जस्तै: उहाँले नूहलाई जहाजको निर्माता, बजलेललाई कालिगड, गिदोनलाई विजयी योद्धा अनि पावललाई सबै जातिको प्रेषित बनाउनुभयो। हो, आफ्नो उद्देश्‍य पूरा गर्न उहाँ जे पनि बन्‍न अनि बनाउन सक्नुहुन्छ। यहोवा नामको विशेष अर्थ छ भनेर उहाँका सेवकहरूले बुझेका छन्‌। यही महत्त्व बुझेकोले नयाँ संसार बाइबल अनुवाद समितिले नयाँ बाइबलमा परमेश्‍वरको नाम राखेको छ।

९. अरू भाषामा बाइबल अनुवाद गरिनुको कारण के हो?

अहिले १३० भन्दा धेरै भाषामा उपलब्ध नयाँ संसार अनुवाद-मा परमेश्‍वरको नाम जहाँ-जहाँ हुनुपर्छ, त्यहीं-त्यहीं राखिएको छ। यसरी नयाँ संसार अनुवाद-ले परमेश्‍वरको नामको आदर गरेको छ। (मलाकी ३:१६ पढ्‌नुहोस्‌) तर बाइबलका थुप्रै अनुवादलाई हेर्दा परमेश्‍वरको नाम हटाउने लहडै चलेको देखिन्छ। ती अनुवादहरूमा यहोवा नामको ठाउँमा “परमप्रभु,” “परमेश्‍वर” जस्ता पदवी अथवा स्थानीय देवताहरूको नाम राखिएका छन्‌। त्यसैले यहोवाका साक्षीहरूको परिचालक निकायले परमेश्‍वरको नामको आदर गर्ने बाइबल धेरैभन्दा धेरै भाषामा अनुवाद गर्ने कामलाई प्राथमिकता दिएको छ।

स्पष्ट र सही अनुवाद

१०, ११. अरू भाषाका अनुवादकहरूलाई नयाँ बाइबल अनुवाद गर्दा के-कस्ता चुनौतीहरू आइपरे?

१० पवित्र धर्मशास्त्रलाई अरू भाषामा अनुवाद गर्नु ‘बायाँ हातको खेल’ होइन। उदाहरणका लागि, अरू अङ्‌ग्रेजी बाइबलहरूमा जस्तै पुरानो अङ्‌ग्रेजी नयाँ संसार अनुवाद-मा पनि उपदेशक ९:१० अनि अरू पदहरूमा “शिओल” भन्‍ने शब्द चलाइएको थियो। त्यस पदमा यस्तो लेखिएको थियो: “तेरो हातमा जे काम छ, त्यो आफ्नो पूरा शक्‍तिले गर्‌, किनभने शिओलमा जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझशक्‍ति, न बुद्धि नै हुन्छ।” तर “शिओल” भन्‍ने शब्द थुप्रै अनुवादकहरूका लागि घाँडो भयो। एक त “शिओल” भन्‍ने शब्द थुप्रै पाठकहरूले सुनेकै थिएनन्‌। अर्को कुरा, शब्दकोशहरूमा पनि यो शब्द पाइँदैन अनि थुप्रै पाठकहरू “शिओल” भनेको ठाउँको नाम होला भनेर झुक्किन्थे। त्यसैले हिब्रू शब्द “शिओल” र ग्रीक शब्द “हेडिज”-लाई सजिलै बुझिनेगरि “चिहान” भनेर अनुवाद गर्ने अनुमति दिइयो।

११ पुरानो संस्करणको अङ्‌ग्रेजी नयाँ संसार अनुवाद-मा हिब्रू शब्द नेफेश अनि ग्रीक शब्द पुस्खे-लाई सबै ठाउँमा “सोल” (soul) भनेर अनुवाद गरिएको थियो। कुनै-कुनै भाषामा अङ्‌ग्रेजी शब्द “सोल”-को सट्टामा प्रयोग गरिने शब्दले मानिस मरिसकेपछि जीवित रहने तत्त्व वा आत्मालाई बुझाउन सक्थ्यो। त्यसैले अर्थको अनर्थ नहोस्‌ भनेर यो शब्दलाई प्रसङ्‌गअनुसार जीव, मानिस वा अरू शब्द राखेर अनुवाद गर्ने अनुमति दिइयो। सन्दर्भसहितको नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेखमा नेफेश अनि पुस्खे-को अर्थ व्याख्या गरिसकेकोले नयाँ संस्करणमा प्रसङ्‌गअनुसार अनुवाद गर्न सजिलो भयो। हो, अरू भाषामा अनुवादित नयाँ संसार अनुवाद-लाई सजिलै बुझिनेगरि तयार पार्न निकै प्रयास गरियो। साथै, हिब्रू र ग्रीक शब्दबारे केही मदतकारी जानकारीहरू फुटनोटमा राखियो। यसले गर्दा बाइबल पढ्‌न सजिलो र बुझ्न सकिने भयो।

१२. बाइबलको नयाँ संस्करणमा के-कस्तो छाँटकाँट गरिएको छ? (यसै अङ्‌कको “सन्‌ २०१३ मा विमोचन गरिएको अङ्‌ग्रेजी नयाँ संसार अनुवाद-को नयाँ संस्करण” भन्‍ने लेख पनि हेर्नुहोस्‌।)

१२ संसारभरका थुप्रै अनुवादकले सोधेको प्रश्‍नहरूले गर्दा अरू थुप्रै बाइबल पदको पनि अर्थको अनर्थ लाग्न सक्छ भन्‍ने कुरा स्पष्ट भयो। त्यसैले सन्‌ २००७ मा परिचालक निकायले अङ्‌ग्रेजी भाषामा बाइबलको नयाँ संस्करण निकाल्ने अनुमति दियो। यो संस्करण तयार पार्दा, संसारको कुना-कुनाबाट अनुवादकहरूले पठाएको हजारौं प्रश्‍नहरू केलाएर हेरियो। चलनचल्तीमा नभएका अङ्‌ग्रेजी शब्दहरू सबै हटाइयो। साथै, बाइबलका पदहरूलाई स्पष्ट र सजिलै बुझिने बनाउन निकै प्रयास गरियो। तर अर्थमा भने कुनै फेरबदल गरिएन। अरू भाषाका बाइबल अनुवादकहरूले चलाएको समाधानका विभिन्‍न उपायहरू हेरेर अङ्‌ग्रेजी बाइबललाई अझ ‘तिखार्न’ सकियो।—हितो. २७:१७.

हार्दिक प्रशंसा

१३. अङ्‌ग्रेजी भाषाको नयाँ संस्करण विमोचन भएपछि नतिजा कस्तो भएको छ?

१३ अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद-को संशोधित संस्करण पाएपछि हाम्रा दाजुभाइ दिदीबहिनीहरूले कस्तो प्रतिक्रिया देखाए? यहोवाका साक्षीहरूको ब्रूक्लिन मुख्यालयमा धन्यवादका शब्दहरू कोरिएका हजारौं पत्रहरूको ओइरो लागेको छ। धेरै जनाले लेखेको कुरा हाम्रा एक जना बहिनीले लेखेको यो कुरासित मिल्दोजुल्दो छ: “यो बाइबल बहुमूल्य रत्नहरूले भरिएको बाकस जस्तै छ। सन्‌ २०१३ मा विमोचन गरिएको यो नयाँ संस्करण पढ्‌दा मलाई बहुमूल्य रत्न ओल्टाइ-पल्टाइ गरेर त्यसको बनौट, चमक, रङ्‌ग अनि सौन्दर्य नियालिरहेको छु जस्तो महसुस हुन्छ। सजिलो शब्दहरू राखिएको यो बाइबल पढ्‌दा यहोवालाई अझ राम्ररी चिन्‍न सकेकी छु। यहोवा मेरो छेउमै हुनुहुन्छ र मलाई आफ्नो न्यानो अङ्‌गालोमा राखेर केही पढेर सुनाउँदै हुनुहुन्छ जस्तो लाग्छ।”

१४, १५. अरू भाषामा नयाँ संसार अनुवाद विमोचन भएपछि नतिजा कस्तो भएको छ?

१४ अङ्‌ग्रेजी भाषाको संशोधित नयाँ संसार अनुवाद मात्र होइन अरू भाषामा अनुवाद गरिएको नयाँ संसार अनुवाद-ले पनि मानिसहरूको मुहारमा खुसीयाली छरिदिएको छ। बुल्गेरियाको सोफिया भन्‍ने ठाउँमा बस्ने एक जना वृद्धले बुल्गेरियन भाषाको नयाँ संसार अनुवाद पाएपछि यसो भने: “मैले बाइबल पढ्‌न थालेको वर्षौं भइसक्यो तर योजस्तो बुझ्न सजिलो अनि पढेको कुरा सीधै मनमा घुस्ने बाइबल अरू कुनै छैन।” त्यसैगरि एक जना अल्बेनियन बहिनीले यसो भनिन्‌: “अल्बेनियन भाषामा उपलब्ध बाइबल साह्रै मीठासपूर्ण छ। यहोवाले मसित मेरै भाषामा कुरा गरिरहनुभएको जस्तो लाग्छ।”

१५ थुप्रै देशमा बाइबल धेरै महँगो छ अनि पाउन पनि मुस्किल छ। त्यसैले त्यहाँका मानिसहरूको लागि बाइबल हातमा पर्नु मात्र पनि ठूलो कुरा हो। रूवाण्डाको एउटा रिपोर्ट यस्तो थियो: “धेरै लामो समयदेखि बाइबल अध्ययन गरे पनि बाइबल विद्यार्थीहरूले खासै प्रगति गर्न सकेका थिएनन्‌। किनभने तिनीहरूसित बाइबल नै थिएन। हुन त चर्चले निकालेको बाइबल पाइन्थ्यो। तर साह्रै महँगो भएकोले किन्‍न सकिंदैन थियो। अनि त्यो बाइबलमा कुनै-कुनै पदको अर्थ बुझ्न गाह्रो थियो। त्यसैले तिनीहरूले प्रगति गर्न सकिरहेका थिएनन्‌।” तर तिनीहरूले आफ्नै भाषामा नयाँ संसार अनुवाद पाएपछि त्यहाँको माहोल नै फेरियो। चार किशोरकिशोरी भएको एउटा परिवारले यस्तो टिप्पणी गऱ्‍यो: “यो बाइबल दिनुभएकोमा हामी यहोवा परमेश्‍वर अनि विश्‍वासी र बुद्धिमान्‌ दासलाई मुरीमुरी धन्यवाद दिन्छौं। हामी असाध्यै गरिब छौं। त्यसैले परिवारमा सबैका लागि बाइबल किन्‍ने औकात हामीसित छैन। तर अहिले हामी सबैसित आ-आफ्नै बाइबल छ। त्यसैले यहोवालाई धन्यवाद चढाउन हरेक दिन परिवारसँगै बसेर बाइबल पढ्‌छौं।”

१६, १७. (क) यहोवा के चाहनुहुन्छ? (ख) हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ?

१६ भविष्यमा अरू भाषाहरूमा पनि नयाँ संसार अनुवाद बाइबल तयार हुनेछ। हामीलाई थाह छ, यो कामलाई रोक्न सैतानले निकै प्रयास गर्नेछ। तर यहोवा आफूले बोलेको कुरा मानिसहरूले स्पष्ट अनि सजिलै बुझ्ने भाषामा सुनेको चाहनुहुन्छ भन्‍ने कुरामा पनि हामी ढुक्क छौं। (यशैया ३०:२१ पढ्‌नुहोस्‌) एकदिन “पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ” भन्‍ने कुरामा कुनै शङ्‌का छैन।—यशै. ११:९.

१७ यहोवा परमेश्‍वरको नामको कदर गर्ने यो अनुवादबाट र यहोवाले दिनुभएको अरू सबै किसिमको वरदानबाट पूरापूर लाभ उठाउने सङ्‌कल्प गरौं। हरेक दिन बाइबल पढेर उहाँको कुरा सुनौं। उहाँसित असीमित क्षमता भएकोले उहाँले हामी सबैको प्रार्थना पनि ध्यान दिएर सुन्‍न सक्नुहुन्छ। त्यसैले उहाँसित दोहोरो कुराकानी गरिरहौं। त्यसो गऱ्‍यौं भने उहाँसितको हाम्रो सम्बन्ध र हामी बीचको माया झनै गाढा हुनेछ।—यूह. १७:३.

“यहोवाले मसित मेरै भाषामा कुरा गरिरहनुभएको जस्तो लाग्छ”

a सन्‌ २०१३ मा विमोचन भएको अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख क१ (Appendix A1) हेर्नुहोस्‌; साथै मे १, २००८ को प्रहरीधरहरा (अङ्‌ग्रेजी), पृष्ठ १८-२२ मा भएको “बाइबलको राम्रो अनुवाद चिन्‍नुहोस्‌” भन्‍ने लेख पनि हेर्नुहोस्‌।

b इजकिएल ३८:२३ (NW): “अनि म जाति-जातिको अघि आफ्नो महानता र आफ्नो पवित्रता देखाउनेछु र आफैलाई चिनाउनेछु; अनि तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌।”

c अरू कुनै-कुनै स्रोतमा यसरी नै यसको अर्थ खुलाइएको छ। तर यो कुरासित सबै जना सहमत छैनन्‌।

d सन्‌ १९८४ को अङ्‌ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद—सन्दर्भसहित, पृष्ठ १५६१ मा भएको अतिरिक्‍त लेख १क (Appendix 1A) को “हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम” (The Divine Name in the Hebrew Scriptures) भन्‍ने लेख हेर्नुहोस्‌।