सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सन्‌ २०१३ मा विमोचन गरिएको अङ्‌ग्रेजी नयाँ संसार अनुवाद-को नयाँ संस्करण

सन्‌ २०१३ मा विमोचन गरिएको अङ्‌ग्रेजी नयाँ संसार अनुवाद-को नयाँ संस्करण

बितेका वर्षहरूमा अङ्‌ग्रेजी पवित्र बाइबल—नयाँ संसार अनुवाद-को निकै पटक संशोधन भइसकेको छ। तर सन्‌ २०१३ मा चाहिं उल्लेखनीय संशोधन गरियो। उदाहरणका लागि, अहिलेको नयाँ संसार अनुवाद-मा पुरानो बाइबलको तुलनामा अङ्‌ग्रेजी शब्दहरू १० प्रतिशतले कम छ। पहिला धेरैचोटि प्रयोग गरिएका शब्दहरू पनि नयाँ संस्करणमा परिवर्तन गरिएको छ। कुनै-कुनै अध्यायहरू कवितात्मक शैलीमा लेखिएको छ। अनि बाइबल पदमा लेखिएको कुरा अझ स्पष्टसित बुझाउन फुटनोट राखिएको छ। नयाँ अङ्‌ग्रेजी बाइबलमा के-कस्ता छाँटकाँट गरिएका छन्‌, ती सबै छलफल गर्न त सम्भव छैन। तर छाँटकाँट गरिएका मुख्य-मुख्य बुँदाचाहिं हामी यस लेखमा छलफल गर्नेछौं।

पहिला धेरैचोटि प्रयोग भएका के-कस्ता महत्त्वपूर्ण शब्दहरू अहिले परिवर्तन गरिए? अघिल्लो लेखमा चर्चा गरिएझैं चिहान भन्‍ने अर्थ लाग्ने हिब्रू शब्द “शिओल” (Sheol) र ग्रीक शब्द “हेडिज”-लाई (Hades) अहिलेको अङ्‌ग्रेजी संस्करणमा परिवर्तन गरिएको छ। अनि आत्मा भन्‍ने अर्थ लाग्न सक्ने अङ्‌ग्रेजी शब्द “सोल”-लाई (soul) पनि अहिले परिवर्तन गरिएको छ। यसरी नै अरू पनि थुप्रै शब्दहरू परिवर्तन गरिएका छन्‌।

उदाहरणका लागि, उनेर मार्ने भन्‍ने अर्थ लाग्न सक्ने अङ्‌ग्रेजी शब्द “इम्पेल्ड”-लाई (impaled) अहिले “काठमा टाँग्ने” (executed on a stake) अथवा “खम्बामा टाँग्ने” (nailed to the stake) भनेर अनुवाद गरिएको छ। (मत्ती २०:१९; २७:३१) येशूलाई कुन तरिकामा सजाय दिइएको थियो, त्यो कुरा स्पष्ट होस्‌ भनेर नै यस्तो परिवर्तन गरिएको हो। उच्छृङ्‌खल भन्‍ने अर्थ दिने अङ्‌ग्रेजी शब्द “लुज कन्डक्ट”-लाई (loose conduct) अहिले छाडा आचरण (brazen conduct) भन्‍ने अर्थ लाग्नेगरि अनुवाद गरिएको छ। किनभने यसको लागि चलाइएको ग्रीक शब्दले सामान्य अनुचित बानीबेहोरालाई नभई बाइबलमा दिइएको नैतिक स्तरको रत्तीभर आदर नगर्ने हेपाहा प्रवृत्तिलाई बुझाउँछ। पहिलाको अङ्‌ग्रेजी बाइबलमा “लङ सफरिङ” (long-suffering) भन्‍ने शब्द चलाइएको थियो। तर त्यो शब्दले लामो समयसम्म दुःख भोग्ने भन्‍ने गलत अर्थ दिन सक्थ्यो। यसलाई पनि अहिलेको नयाँ संस्करणमा सही अर्थ दिनेगरि धीरज (patience) भनेर अनुवाद गरिएको छ। पहिलाको बाइबलमा “रेभलरिज” (Revelries) भन्‍ने शब्द राखिएको थियो। तर आजकल यो शब्द त्यति नचलाउने भएकोले नयाँ बाइबलमा “वाइल्ड पार्टिज” (wild parties) अर्थात्‌ मनपरी गर्न पाइने भोजभतेर भनेर अनुवाद गरिएको छ। (गला. ५:१९-२२) पहिलाको बाइबलमा प्रयोग भएको अङ्‌ग्रेजी शब्द “लभिङ काइन्डनेस”-ले (loving-kindness) खासै अर्थ दिंदैनथ्यो तर अहिले त्यसलाई “लोयल लभ” (loyal love) अर्थात्‌ अटल प्रेम भनेर अर्थ खुल्नेगरि अनुवाद गरिएको छ। यसले गर्दा बाइबलमा प्रयोग गरिएको यसकै अर्को पर्यायवाची शब्द “फेथफुलनेस” (faithfulness) अर्थात्‌ “वफादारी”-सँग पनि यसको अर्थ मिल्न गयो।—भज. ३६:५; ८९:१.

पहिला-पहिला सबैतिर एउटै तरिकाले अनुवाद गरिएका शब्दलाई पनि अहिले प्रसङ्‌गअनुसार फरक-फरक तरिकाले अनुवाद गरिएको छ। उदाहरणका लागि, पुरानो संस्करणमा हिब्रू शब्द ओहलाम-लाई (oh·lam) “अनन्त समय” (time indefinite) भनेर अनुवाद गरिएको थियो। तर त्यसको अर्थ “सधैंभरि” (forever) पनि हुन सक्छ। यसरी भावअनुसार बेग्ला-बेग्लै शब्द चलाउँदा कस्तो फरक पऱ्‍यो, त्यो थाह पाउन अङ्‌ग्रेजी बाइबलको भजन ९०:२ र मीका ५:२ पढ्‌नुहोस्‌।

बाइबलका थुप्रै पदहरूमा अन्‍नको बीउ अनि सन्तानलाई बुझाउने मूल हिब्रू र ग्रीक शब्दलाई अङ्‌ग्रेजीमा “सीड” (seed) भनेर अनुवाद गरिएको पाउँछौं। पुरानो संस्करणमा उत्पत्ति ३:१५ लगायत अरू सबै ठाउँमा “सीड” भनेर अनुवाद गरेको पाउँछौं। तर अहिले अङ्‌ग्रेजी भाषामा सन्तान भनेर बुझाउन “सीड” शब्द प्रयोग गरिंदैन। त्यसैले नयाँ बाइबलमा उत्पत्ति ३:१५ अनि अरू पदहरूमा सन्तान भनेर अर्थ दिने “अफस्प्‌रिङ” (offspring) भन्‍ने शब्द चलाइएको छ। (उत्प. २२:१७, १८; प्रका. १२:१७) अरू ठाउँमा भने प्रसङ्‌गअनुसार अनुवाद गरिएको छ।—उत्प. १:११; भज. २२:३०; यशै. ५७:३.

पहिला अक्षरशः अर्थात्‌ शब्द-शब्द अनुवाद गरिएको अभिव्यक्‍ति अहिले किन परिवर्तन गरियो? नयाँ संस्करण बाइबलको अतिरिक्‍त लेख क१ मा (Appendix A1) कस्तो अनुवादलाई राम्रो बाइबल अनुवाद भन्‍न सकिन्छ भन्‍नेबारे यस्तो लेखिएको छ: “अक्षरशः अनुवाद गर्दा अर्कै अर्थ लाग्छ भने त्यस्तो बेला त्यो शब्द वा वाक्यांशको अर्थ अनुवाद गरिनुपर्छ।” मूल भाषामा प्रयोग गरिएका उखान-टुक्काहरूको अर्थ अर्को भाषामा पनि उस्तै छ भने त्यस्तो बेलामा अक्षरशः अनुवाद गरिएको छ। जस्तै: प्रकाश २:२३ मा “मन जाँच्ने” भनेर प्रयोग गरिएको शब्दले अरू थुप्रै भाषामा पनि उस्तै अर्थ दिन्छ। तर त्यही पदमा प्रयोग गरिएको “मिर्गौला जाँच्ने” भन्‍ने वाक्यांश चाहिं थुप्रै भाषामा बुझिंदैन। त्यसैले अहिले “मिर्गौला” भन्‍ने शब्दलाई “भित्री भावना वा विचार” भन्‍ने अर्थ लाग्नेगरि अनुवाद गरिएको छ। अनि व्यवस्था ३२:१४ मा “गहुँको मिर्गौलाको बोसो” भन्‍ने अर्थ लाग्ने वाक्यांशलाई अहिले “असल गहुँ” भनेर स्पष्ट अनुवाद गरिएको छ। त्यसैगरि “मेरो ओठको खतना भएको छैन” भन्‍ने अर्थ लाग्ने वाक्यलाई अहिले सजिलै बुझ्ने गरी “म राम्रोसँग बोल्न जान्दिनँ” भनेर अनुवाद गरिएको छ।—प्रस्थ. ६:१२.

अहिलेको बाइबलमा “इस्राएलका छोराहरू” भन्‍ने शब्दलाई “इस्राएलीहरू” भन्‍ने अर्थ लाग्नेगरि र “बुबा नभएको केटा” भन्‍ने शब्दलाई “बुबा नभएका छोराछोरी” भन्‍ने अर्थ लाग्नेगरि किन अनुवाद गरियो? हिब्रू भाषामा केटामान्छेको बारेमा कुरा गरेको हो कि केटीमान्छेको बारेमा, त्यो छुट्ट्याउन पुलिङ्‌ग र स्त्रीलिङ्‌ग शब्दहरू प्रयोग गरिन्थ्यो। तर कुनै-कुनै पुलिङ्‌ग शब्दले भने पुरुष-स्त्री दुवैलाई बुझाउँथ्यो। जस्तै: “इस्राएलका छोराहरू” भन्‍ने शब्द प्रयोग गरिएको कुनै-कुनै पदको प्रसङ्‌गलाई विचार गर्दा त्यो शब्दले पुरुष-स्त्री दुवैलाई बुझाउन खोजेको हो भनेर स्पष्ट हुन्छ। यसरी स्पष्ट भएको ठाउँहरूमा अहिले “इस्राएलीहरू” भनेर अनुवाद गरिएको छ।—प्रस्थ. १:७; ३५:२९; २ राजा ८:१२.

त्यसैगरि, पुरानो नयाँ संसार अनुवाद बाइबलको उत्पत्ति ३:१६ मा “छोराहरू” भन्‍ने पुलिङ्‌ग हिब्रू शब्दलाई “छोराछोरी” भनेर अनुवाद गरिएको थियो। त्यसैलाई आधार मान्दै संशोधित संस्करणमा पनि प्रस्थान २२:२४ मा परिवर्तन गरिएको छ। अहिले त्यस पदमा “तिमीहरूका छोराछोरी [हिब्रू शब्द, “छोराहरू”] टुहुराटुहुरी हुनेछन्‌” भनेर अनुवाद गरिएको छ। यही सिद्धान्त लागू गर्दै “बुबा नभएको केटा” भन्‍ने वाक्यांशलाई पनि अहिले “बुबा नभएका केटाकेटी” वा “टुहुराटुहुरी” भनेर अनुवाद गरिएको छ। (व्यव. १०:१८; अय्यू. ६:२७) ग्रीक सेप्टुआजिन्ट-मा पनि यसरी नै अनुवाद गरिएको थियो। उपदेशक १२:१ मा पनि यही सिद्धान्त लागू गरेकोले पहिला “तिमी तरुनो हुँदाका दिनहरू सम्झ” भनेको ठाउँमा अहिले “आफ्नो युवावस्थालाई सम्झ” भनेर अनुवाद गरिएको छ।

गाह्रो हिब्रू क्रियापदहरूलाई अहिले किन सजिलो बनाइयो? हिब्रू भाषामा मुख्यगरि दुइटा क्रियापद छ। एउटा पूर्ण क्रिया र अर्को अपूर्ण क्रिया। अपूर्ण क्रियाले कुनै काम हुँदै गरेको तर नसिद्धिएको अवस्थालाई बुझाउँछ तर पूर्ण क्रियाले कुनै काम पूरा भइसकेको अवस्थालाई बुझाउँछ। पुरानो नयाँ संसार अनुवाद-मा हिब्रू भाषाको अपूर्ण क्रियालाई बुझाउन क्रियापदसँगै सहायक क्रियापदहरू पनि राखिएको थियो। जस्तै: “गर्दै” (proceeded to) “जाँदै” (went on to) आदि। a कुनै काम भइरहेको वा दोहोरिएको कुरालाई सङ्‌केत गर्न यस्तो क्रिया चलाइन्थ्यो। त्यसैगरि कुनै काम पूरा भइसकेको कुरालाई बुझाउन “पक्कै पनि,” (certainly) “अवश्‍य,” (must) “वास्तवमा” (indeed) जस्ता शब्दहरू चलाइन्थ्यो।

यदि कुनै सहायक क्रियापदहरूले खासै अर्थ दिंदैन भने त्यस्ता क्रियापदहरू नयाँ संस्करण बाइबलबाट हटाइएको छ। उदाहरणका लागि, परमेश्‍वरले “उज्यालो होस्‌” भन्‍ने शब्द कति पटक भन्‍नुभयो त्यो कुरा जोड दिनु नपरेकोले “भन्‍न लाग्नुभयो” (proceeded to say) भन्‍ने वाक्यांशलाई अहिलेको संस्करणमा “भन्‍नुभयो” (said) भनेर अनुवाद गरिएको छ। (उत्प. १:३) तर उत्पत्ति ३:९ मा भने “पटक-पटक बोलाउनुभयो” (kept calling) भन्‍ने अर्थ लाग्ने अपूर्ण क्रिया अझै पनि प्रयोग गरिएको छ। किनभने त्यतिबेला यहोवाले आदमलाई एक पटक मात्र होइन तर बारम्बार बोलाउनुभएको थियो भन्‍ने कुरा स्पष्ट छ। त्यसैले नयाँ बाइबलमा हिब्रू क्रियापद पूर्ण हो कि अपूर्ण भनेर जोड दिनुको साटो, घटना भइसकेको हो वा भइरहेको हो त्यो विचार गरेर त्यसैअनुसार सजिलो क्रियापद चलाइएको छ। जेहोस्‌ यसले गर्दा हिब्रू भाषाको सार बुझ्न हामीलाई सजिलो भएको छ।

सुरुमा लेखिएको शैलीमै अहिले थुप्रै अध्यायहरू कवितात्मक शैलीमा राखिएको छ

अहिले थुप्रै अध्यायहरू किन कवितात्मक शैलीमा लेखिएको छ? बाइबलका थुप्रै भागहरू कवितात्मक शैलीमा लेखिएको थियो। अहिले कविता भन्‍नेबित्तिकै छन्द मिलेको रचना भन्‍ने बुझिन्छ तर हिब्रू कविता भने त्यस्तो हुँदैन। हिब्रू कविता लेख्दा उस्ताउस्तै कुराहरूलाई दाँजेर (समानता) वा दुई भिन्‍नाभिन्‍नै कुरालाई तुलना (भिन्‍नता) गरेर लेखिन्छ। त्यसैले त हिब्रू कवितामा छन्दलाई भन्दा पनि तर्क प्रस्तुत गर्ने शैलीलाई बढी जोड दिइन्थ्यो।

अय्यूब र भजनको पुस्तक गीत वा कविता हो भनेर बुझाउन पुरानो बाइबलमा यसका पदहरू अनुच्छेद शैलीमा नभई पङ्‌क्‍ति छुट्ट्याएर लेखिएको थियो। यस्तो शैलीमा लेख्दा कविताका मुख्य बुँदाहरूमा जोड जानुका साथै सम्झन पनि सजिलो हुन्छ। त्यसैले सन्‌ २०१३ को नयाँ संस्करणमा हितोपदेश, श्रेष्ठगीतका साथै कवितात्मक शैलीमा लेखिएका अरू पुस्तकका थुप्रै अध्यायहरूलाई पनि पङ्‌क्‍ति छुट्ट्याएर लेखिएको छ। यसले गर्दा ती लेखहरू वास्तवमा कवितात्मक शैलीमा लेखिएका थिए भनेर छुट्ट्याउन र त्यसमा भएका समानता अनि भिन्‍नता बुझ्न पनि सजिलो भएको छ। यसको एउटा उदाहरण हो, यशैया २४:२। यो पदको प्रत्येक पङ्‌क्‍तिमा दुई भिन्‍नाभिन्‍नै कुराबारे बताइएको छ। अनि परमेश्‍वरको न्यायदण्डबाट कोही पनि उम्कन सक्दैन भन्‍ने कुरालाई यसको हरेक पङ्‌क्‍तिले जोड दिंदै लगेको छ। बाइबलका यस्ता पदहरू वास्तवमा कवितात्मक शैलीमा लेखिएका थिए भनेर बुझ्दा बाइबल लेखकहरूले एउटै कुरा त्यतिकै दोहोऱ्‍याइ-तेहऱ्‍याइ गरेका होइनन्‌, बरु परमेश्‍वरको सन्देशलाई जोड दिन कवितात्मक शैलीमा लेखेका हुन्‌ भन्‍ने कुरा पाठकहरूले स्पष्टसित बुझ्न सक्छन्‌।

हिब्रू भाषाको गद्य (लयविनाको रचना) र कविता छुट्ट्याउन गाह्रो छ। त्यसैले फरक-फरक बाइबलले फरक-फरक अंशलाई कवितात्मक शैलीमा अनुवाद गरेको पाइन्छ। तर कुन-कुन भाग कवितात्मक शैलीमा लेख्ने, त्यो कुरा अनुवादकहरूले राम्ररी विचार पुऱ्‍याउनुपर्छ। कुनै-कुनै गद्यमा मुख्य कुरालाई जोड दिन कवितात्मक शैली, अलङ्‌कारहरू, शब्दालङ्‌कार प्रयोग गरिएको हुन्छ अनि समान कुरालाई तुलना गरिएको हुन्छ।

नयाँ संस्करणमा अर्को नयाँ कुरा पनि छ। त्यो हो, हरेक पुस्तकको सुरुमा दिइएको किताबको सारांश (Outline of Contents)। यसले गर्दा इस्राएलीहरूको पालामा लेखिएको पुरानो कविता श्रेष्ठगीतको पुस्तकमा कुन वाक्य कसले बोलेको हो भनेर छुट्ट्याउन सजिलो भएको छ।

मूल भाषामा भेटिएका पुराना लिपिहरूको अध्ययनले नयाँ संस्करणमा कस्तो फरक पारेको छ? पुरानो संस्करणको अङ्‌ग्रेजी नयाँ संसार अनुवाद हिब्रू मेसोरेटिक लेखोट अनि वेस्टकोट र होर्टले अनुवाद गरेको चिरपरिचित ग्रीक बाइबलमा आधारित छ। पुराना लेखोटहरूको अध्ययन गर्न नयाँ-नयाँ तरिका अपनाइएकोले कुनै-कुनै बाइबल पदहरूको अर्थ अझै स्पष्ट भएको छ। मृत सागरमा भेटिएका लेखोटहरू पनि अहिले हामी अध्ययन गर्न सक्छौं। त्यसैगरि थुप्रै पुराना ग्रीक लेखोटहरूको पनि विस्तृत अध्ययन भएको छ। हालै भेटिएका धेरैजसो लेखोटहरूलाई अहिले कम्प्युटरमा राखिएकोले विभिन्‍न पुराना लेखोटहरू तुलना गरेर हेर्न सजिलो भएको छ। यसले गर्दा कुन चाहिं हिब्रू वा ग्रीक अनुवाद अझ सही छ भनेर जाँच्न मदत पुगेको छ। नयाँ संसार बाइबल अनुवाद समितिले बाइबल अनुवादको क्षेत्रमा भएका यस्ता नयाँ प्रगतिको सदुपयोग गरेर कुनै-कुनै बाइबल पदहरूको अध्ययन गरेको छ। फलस्वरूप केही परिवर्तनहरू गरिएका छन्‌।

उदाहरणका लागि, ग्रीक सेप्टुआजिन्ट-मा हामी २ शमूएल १३:२१ मा यो अतिरिक्‍त जानकारी पाउँछौ: “तर तिनले अम्नोनको मन दुखाएनन्‌। किनभने अम्नोन तिनका जेठा छोरा थिए र तिनी उनलाई माया गर्थे।” पुरानो संस्करणको नयाँ संसार अनुवाद-मा उक्‍त पदमा त्यो जानकारी राखिएको थिएन किनभने मेसोरेटिक लेखोटमा त्यो भाग थिएन। तर मृत सागरमा भेटिएका लेखोटमा ती कुराहरू लेखिएका थिए। त्यसैले नयाँ संस्करणमा २ शमूएल १३:२१ मा ती शब्दहरू थपिएका छन्‌। त्यसैगरि पहिलो शमूएलको पुस्तकमा पनि परमेश्‍वरको नाम थप पाँचचोटि राखिएको छ। ग्रीक लेखोटहरूको अध्ययनले गर्दा मत्ती २१:२९-३१ मा केही हेरफेर गरिएको छ। त्यसैले कुनै एउटा खास ग्रीक लेखोटलाई मात्र आधार बनाएर अनुवाद गर्नुको साटो नयाँ संस्करण अनुवाद गर्दा अरू विभिन्‍न लेखोटहरूमा भएको जानकारी पनि विचार गरिएको छ।

कुरा गर्न रुचाउनुहुने परमेश्‍वर यहोवाले उपहारस्वरूप दिनुभएको किताब अर्थात्‌ नयाँ संसार अनुवाद-मा गरिएका केही छाँटकाँटहरू हामीले यस लेखमा छलफल गऱ्‍यौं। यस्ता छाँटकाँटले गर्दा यो किताब पहिलेभन्दा पढ्‌न र बुझ्न अझै सजिलो भएको छ।

a पुरानो नयाँ संसार अनुवाद-को Appendix 3C मा भएको “Hebrew Verbs Indicating Continuous or Progressive Action” भन्‍ने लेख पढ्‌नुहोस्‌।