सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले तपाईंलाई सम्हाल्नुहुनेछ

यहोवाले तपाईंलाई सम्हाल्नुहुनेछ

“परमप्रभुले त्यसलाई त्यसको बिरामी अवस्थामा पलङैमा सम्हाल्नुहुन्छ।”—भज. ४१:३.

गीत: २३, १३८

१, २. हामी कहिलेकाहीं कस्तो कुरा सोच्छौं? हामीलाई कस्तो बाइबल विवरण याद आउन सक्छ?

 के तपाईंले कहिल्यै यस्तो सोच्नुभएको छ, ‘यो रोगबाट कहिले मुक्‍ति पाइएला?’ अथवा आफ्नो परिवारको सदस्य वा प्यारो साथी बिरामी हुँदा तिनीहरू कहिले निको होलान्‌ भन्‍ने पो लागेको छ कि? कसैलाई गम्भीर रोग लाग्दा यस्तो लाग्नु स्वाभाविक हो। धेरै पहिला भविष्यवक्‍ता एलिया र एलीशाको समयमा पनि दुई जना राजाले यस्तै महसुस गरेका थिए। ईजेबेल र आहाबका छोरा राजा अहज्याहले झ्यालबाट खसेर चोट लाग्दा त्यो चोट “निको हुन्छ कि हुँदैन” भनी बुझ्न चाहेका थिए। त्यसैगरि अरामका राजा बेन-हददले पनि आफू एकदमै बिरामी हुँदा ‘रोग निको हुन्छ कि हुँदैन’ भनेर जान्‍न चाहेका थिए।—२ राजा १:२; ८:७, ८.

माथि उल्लेख गरिएका राजाहरूको समयमा परमेश्‍वरले थुप्रै मानिसलाई चमत्कार गरेर निको पार्नुभएको थियो। उहाँले आफ्ना भविष्यवक्‍ताहरूलाई चलाएर मरेका मानिसहरूलाई समेत ब्युँताउनुभएको थियो। (१ राजा १७:१७-२४; २ राजा ४:१७-२०, ३२-३५) त्यसैले बिरामी पर्दा हामीलाई यस्तो लाग्न सक्छ, ‘के परमेश्‍वरले अहिले पनि हामीलाई त्यसरी नै मदत गर्नुहुन्छ त?’

३-५. परमेश्‍वर र येशूसित कस्तो क्षमता छ? यसले गर्दा हाम्रो मनमा कस्तो प्रश्‍न उठ्‌छ?

परमेश्‍वरको शक्‍तिले मानिसहरूको स्वास्थ्यमा राम्रो वा नराम्रो असर पार्न सक्छ। यो कुराको थुप्रै प्रमाण बाइबलमा पाइन्छ। यहोवाले अब्राहामको समयमा फिरऊनलाई र पछि मोशाकी दिदी मरियमलाई सजाय दिन रोगले प्रहार गर्नुभएको थियो। (उत्प. १२:१७; गन्ती १२:९, १०; २ शमू. २४:१५) अनि इस्राएलीहरू उहाँप्रति वफादार भएनन्‌ भने तिनीहरूलाई हरेक किसिमको “रोग र रुढी” ल्याएर सताउने चेतावनी पनि उहाँले दिनुभएको थियो। (व्यव. २८:५८-६१) यहोवासित रोगबिमार हटाउने वा रोगबिमार लाग्नै नदिने शक्‍ति छ। (प्रस्थ. २३:२५; व्यव. ७:१५) उहाँले बिरामीलाई निको पार्न सक्नुहुन्छ भनेर बुझ्न अय्यूबलाई विचार गर्नुहोस्‌। सिकिस्त बिरामी परेकोले तिनी मर्न चाहन्थे। तर परमेश्‍वरले तिनलाई निको पार्नुभयो।—अय्यू. २:७; ३:११-१३; ४२:१०, १६.

हो, यहोवासित रोग निको पार्ने क्षमता छ। अनि उहाँको छोरा येशूसित पनि यस्तो क्षमता छ। येशूले चमत्कार गरेर कुष्ठरोगी, छारे रोगी, अन्धा वा पक्षाघात भएको मानिसलाई निको पार्नुभएको विवरण हामी बाइबलमा पाउँछौं। (मत्ती ४:२३, २४ पढ्‌नुहोस्‌; यूह. ९:१-७) नयाँ संसारमा पनि येशूले यसरी नै सबै मानिसहरूको रोग निको पार्नुहुनेछ भन्‍ने कुराको यो त एउटा झलक मात्र हो। त्यतिबेला “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’”—यशै. ३३:२४.

के त्यसोभए अहिले पनि परमेश्‍वर वा येशूले चमत्कार गरेर रोग निको पारेको आस गर्न मिल्छ त? अनि गम्भीर रोग लाग्दा कस्तो किसिमको उपचारविधि अपनाउने भनेर हामीले किन विचार पुऱ्‍याउनुपर्छ?

यहोवाले बिरामीलाई पलङमै सम्हाल्नुहुन्छ

६. प्रथम शताब्दीका चेलाहरूले पाएको “निको पार्ने वरदान”-बारे हामी के भन्‍न सक्छौं?

परमेश्‍वरले प्रथम शताब्दीका केही अभिषिक्‍त ख्रीष्टियनहरूलाई चमत्कार गर्ने शक्‍ति दिनुभएको थियो भन्‍ने कुरा हामी बाइबलबाट थाह पाउँछौं। (प्रेषि. ३:२-७; ९:३६-४२) तिनीहरूलाई दिइएको ‘विभिन्‍न किसिमको वरदानमध्ये’ “निको पार्ने वरदान” पनि एक थियो। (१ कोरि. १२:४-११) तर यस्तो वरदान अनि विभिन्‍न भाषामा बोल्ने अथवा भविष्यवाणी गर्ने वरदान सधैंभरि रहेन। (१ कोरि. १३:८) अनि यस्तो वरदान अहिले हामीसित छँदा पनि छैन। त्यसैले अहिले यहोवाले हामीलाई वा हामीले माया गर्ने व्यक्‍तिलाई बिरामी हुँदा निको पार्नुहुन्छ भनेर आस गर्न मिल्दैन।

७. भजन ४१:३ ले हामीलाई कस्तो आश्‍वासन दिन्छ?

तैपनि पुरातन समयका परमेश्‍वरका केही सेवकहरूलाई जस्तै अहिले पनि यहोवाले हामीलाई बिरामी हुँदा सान्त्वना, बुद्धि र मदत दिनुहुन्छ। राजा दाऊदले यस्तो लेखे: “त्यो धन्यको हो, जसले निर्धाहरूको चिन्ता गर्दछ। परमप्रभुले त्यसलाई विपत्तिको दिनमा छुटकारा दिनुहुनेछ। परमप्रभुले त्यसलाई रक्षा गरेर जीवित राख्नुहुनेछ।” (भज. ४१:१, २) के यसको मतलब दाऊदको समयमा निर्धाहरूको चिन्ता गर्ने अर्थात्‌ कमजोरहरूको ख्याल राख्ने मानिसहरू सधैंभरि बाँचे त? त्यसो त होइन। दाऊदले अरूको ख्याल राख्ने मानिस सधैंभरि बाँच्छन्‌ भन्‍न खोजेका थिएनन्‌। वास्तवमा यो पदले अरूको ख्याल राख्नेहरूलाई यहोवाले मदत गर्नुहुन्छ भन्‍न खोजेको हो। तर उहाँले तिनीहरूलाई कसरी मदत गर्नुहुन्छ? दाऊद भन्छन्‌: “परमप्रभुले त्यसलाई त्यसको बिरामी अवस्थामा पलङैमा सम्हाल्नुहुन्छ। त्यसलाई रोग लाग्दा तपाईंले त्यसको ओछ्यान बनाइदिनुहुन्छ।” (भज. ४१:३) हो, यदि कसैले अरूको ख्याल राख्छ भने आफूलाई यहोवाले सधैं याद गर्नुहुन्छ अनि आफूले गरेको राम्रो काम उहाँले कहिल्यै बिर्सनुहुन्‍न भनेर तिनी ढुक्क हुन सक्छन्‌। यहोवा परमेश्‍वरले हाम्रो शरीर आफसेआफ निको हुने तरिकाले बनाउनुभएको छ। शरीरमा भएको यस्तो शक्‍तिलाई चलाएर पनि यहोवाले तिनलाई मदत गर्न सक्नुहुन्छ।

८. भजन ४१:४ मा दाऊदले यहोवासित कस्तो बिन्ती गरेका छन्‌?

एक पटक दाऊद सिकिस्त बिरामी परेका थिए। त्यतिखेरै तिनका छोरा अब्शालोमले तिनको सिंहासन हडप्न खोज्यो। तर बिरामी भएकोले तिनलाई त्यो परिस्थिति सम्हाल्न हम्मेहम्मे पऱ्‍यो। बेतशेबासित अवैध यौनसम्बन्ध राखेकोले नै यस्तो परिणाम भोग्नुपरेको हो भनेर दाऊदलाई थाह थियो। (२ शमू. १२:७-१४) सायद अब्शालोमले त्यसरी दुःख दिएको बेलामै दाऊदले यहोवालाई यस्तो बिन्ती गरेका हुन सक्छन्‌: “हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। मलाई निको पारिदिनुहोस्‌, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।” (भज. ४१:४) यहोवाले आफ्नो पाप क्षमा गरिसक्नुभयो भनेर थाह भएकोले नै दाऊदले यस्तो बिन्ती चढाउन सकेका हुन्‌। तर दाऊदले यसरी बिन्ती गर्दा आफूलाई ‘चमत्कार गरेर निको पारिदिनुहोस्‌’ वा ‘आयु लम्ब्याइदिनुहोस्‌’ भन्‍न खोजिरहेका थिए त?

९. (क) राजा हिजकियाहको विवरण दाऊदको भन्दा कसरी फरक छ? (ख) दाऊदले यहोवाबाट कस्तो आस गर्न सक्थे?

बाइबल विवरण केलाउने हो भने कहिलेकाहीं यहोवाले चमत्कार गरेर आफ्ना सेवकहरूलाई निको पार्नुभएको पनि पाउँछौं। “सिकिस्त बिरामी” परेर मर्नै लागेका राजा हिजकियाहको कुरा विचार गरौं। परमेश्‍वरले तिनलाई निको मात्र पार्नुभएन तर १५ वर्ष आयु पनि थपिदिनुभयो। (२ राजा २०:१-६) तर दाऊदले भने आफूलाई चमत्कार गरेर निको पार्न बिन्ती गरिरहेका थिएनन्‌। हामी किन त्यसो भन्‍न सक्छौं? प्रसङ्‌गलाई विचार गर्ने हो भने यहोवाले अरूको ख्याल राख्ने मानिसलाई मदत गरेजस्तै आफूलाई पनि मदत गरून्‌ भन्‍ने दाऊदले चाहेको देखिन्छ। त्यसको मतलब बिरामी हुँदा यहोवाले ‘पलङमै’ सम्हालेको उनी चाहन्थे। यहोवाबाट पापको क्षमा पाइसकेकोले दाऊदले उहाँसित सान्त्वना र मदत माग्न सक्थे। साथै शरीरमा आफसेआफ रोग निको पार्ने जुन शक्‍ति छ, त्यो शक्‍तिलाई बलियो पारिदिनुहोस्‌ भनेर पनि बिन्ती गर्न सक्थे। (भज. १०३:३) हामी पनि त्यसै गर्न सक्छौं।

१०. त्रोफिमस र इपाफ्रोडाइटसको विवरण विचार गर्दा हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं?

१० राजा दाऊदको मात्र होइन, तर प्रेषित पावलका सहकर्मी त्रोफिमसको पनि चमत्कारद्वारा रोग निको भएन र आयु थपिएन। हामीलाई थाह छ, पावललाई रोग निको पार्ने शक्‍ति दिइएको थियो। (प्रेषित १४:८-१० पढ्‌नुहोस्‌) “पब्लियसका बुबा ज्वरो र आउँले थला” पर्दा पावलले ‘प्रार्थना गरेर अनि त्यसपछि उनीमाथि आफ्नो हात राखेर उनलाई निको पारेका थिए।’ (प्रेषि. २८:८) तर आफूसँगै मिसनरी यात्रामा हिंडेका त्रोफिमस बिरामी पर्दा भने पावलले त्यसो गरेनन्‌। (प्रेषि. २०:३-५, २२; २१:२९) बरु तिनले त्रोफिमसलाई आराम गर्नको लागि मिलेटसमै छोडेर गए। (२ तिमो. ४:२०) पावलका अर्का घनिष्ठ साथी इपाफ्रोडाइटस पनि “बिरामी परेर मर्नै” लागेका थिए। तर तिनले आफ्ना ती साथीलाई चमत्कार गरेर निको पारेको कुनै विवरण बाइबलमा पाइँदैन।—फिलि. २:२५-२७, ३०.

व्यावहारिक कदम चाल्नुहोस्‌

११, १२. लूकाले पावललाई मदत गर्न सक्नुको कारण के हो? लूकाको शिक्षाको विषयमा हामी के भन्‍न सक्छौं?

११ प्रेषित पुस्तकका लेखक “प्रिय डाक्टर लूका”-ले पनि पावलसँगै यात्रा गरेका थिए। (कल. ४:१४; प्रेषि. १६:१०-१२; २०:५, ६) यात्राको दौडान पावल पनि बिरामी पर्थे। (गला. ४:१३) त्यसैले लूकाले पावललाई औषधी-उपचारसम्बन्धी केही-केही सल्लाह-सुझाव दिएका हुन सक्छन्‌। तिनले पावल मात्र होइन, अरू मिसनरीहरू बिरामी हुँदा पनि त्यसरी नै मदत गरेको हुनुपर्छ। लूकाले बिरामी परेकाहरूलाई मदत गरेको कुरा येशूले भन्‍नुभएको यो कुरासित मेल खान्छ: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई डाक्टरको खाँचो पर्छ।”—लूका ५:३१.

१२ लूकाले चिकित्सासम्बन्धी तालिम कहाँ लिए, त्यस विषयमा बाइबलले केही पनि बताएको छैन। पावलले कलस्सीका ख्रीष्टियनहरूलाई अभिवादन पठाउँदा डाक्टर लूकाबारे पनि बताएका थिए। किनभने कलस्सीका ख्रीष्टियनहरूसित लूकाको चिनजान थियो। अनि रोचक कुरा के छ भने, कलस्सी नजिकैको अर्को सहर लाओडिसियामा चिकित्सासम्बन्धी एउटा स्कुल थियो। लूकाले त्यहीं पढेको हुन सक्छ। जेहोस्‌, लूका स्वास्थ्यसम्बन्धी नानाथरीको सल्लाह दिंदै हिंड्‌ने साधारण मानिस थिएनन्‌; तिनी दक्ष डाक्टर थिए। लूका र प्रेषितको पुस्तकमा तिनले चलाएका चिकित्सासम्बन्धी शब्दहरूलाई विचार गर्दा हामी यो निष्कर्षमा पुग्न सक्छौं। येशूले मानिसहरूलाई निको पार्नुभएको कुरालाई तिनले निकै जोड दिएर लेखेकोले पनि हामी यस्तो निष्कर्षमा पुग्न सक्छौं।

१३. स्वास्थ्यसम्बन्धी सल्लाह-सुझाव लिंदा-दिंदा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१३ अहिले हाम्रो समयमा ख्रीष्टियनहरूले “निको पार्ने वरदान” त पाएका छैनन्‌। तैपनि कोही-कोहीले राम्रै मनसाय राखेर स्वास्थ्यसम्बन्धी केही सल्लाह-सुझाव दिन सक्छन्‌। अर्कोतर्फ कोही-कोहीले चाहिं पावलले जस्तै आवश्‍यक सल्लाह नै देलान्‌। जस्तै: फोहोर पानीको कारण तिमोथीलाई पेटको समस्या हुँदा तिनले राम्रो सल्लाह दिएका थिए। a (१ तिमोथी ५:२३ पढ्‌नुहोस्‌) तर मण्डलीका सदस्यहरूलाई सल्लाह-सुझाव दिंदा दबाब दिनुचाहिं हुँदैन। मण्डलीको कुनै भाइ वा बहिनीले तपाईंलाई जडीबुटी, उपचार वा खानपानको सन्दर्भमा ‘यसो गर/उसो गर’ भनेर दबाब देलान्‌। तिनको कुरा मानेकोले तपाईंको जस्तै समस्या भएको अर्को व्यक्‍तिको रोग निको भएको थियो भनेर समेत तिनले तर्क गर्लान्‌। तर बिर्सनै नहुने कुरा के हो भने, सल्लाह जतिसुकै राम्रो भए पनि सबैलाई एउटै किसिमको उपचारले काम गर्छ भन्‍ने छैन। धेरैले प्रयोग गरिसकेको औषधी वा उपचारविधिले समेत नराम्रो नतिजा निम्त्याउन सक्छ।हितोपदेश २७:१२ पढ्‌नुहोस्‌।

होसियार हुनुहोस्‌

१४, १५. (क) मानिसहरू बिरामी हुँदा कसै-कसैले कस्तो दाउ खोज्छन्‌? (ख) स्वास्थ्यसम्बन्धी सही निर्णय गर्न हितोपदेश १४:१५ ले कसरी मदत गर्छ?

१४ हामी ख्रीष्टियनहरू जीवनको आनन्द उठाउन र रमाउँदै यहोवाको सेवा गर्न चाहन्छौं। त्यसैले स्वस्थ रहन चाहनु स्वाभाविकै हो। तर जन्मजातै पापी भएकोले नचाहँदा-नचाहँदै पनि हामी रोगको सिकार हुन पुग्छौं। अहिले थुप्रै उपचारविधि उपलब्ध भएकोले बिरामी हुँदा कुन उपचार छान्‍ने भनेर हामी अलमलिन सक्छौं। तर कस्तो उपचारविधि छान्‍ने भन्‍ने कुरा सबैको आ-आफ्नो निर्णय हो। यो लोभी संसारमा मानिसहरू बिरामीबाट पैसा झार्ने दाउ मात्र खोज्छन्‌। विभिन्‍न किसिमको औषधी-उपचारको आकर्षक विज्ञापन गरेर मानिसहरू बिरामीहरूलाई ठग्छन्‌। कुनै-कुनै व्यक्‍ति वा कम्पनीले आफू मालामाल हुन बिरामीहरूलाई महँगो-महँगो औषधी किन्‍न समेत लोभ्याउँछन्‌। निको हुने अनि लामो समयसम्म बाँच्ने चाहनाले गर्दा बिरामीलाई पनि त्यो औषधी-उपचार गरूँ-गरूँ लाग्न सक्छ। तर हामी बाइबलमा लेखिएको यो कुरा नबिर्सौं: “निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यकतालाई बुझ्छ।”—हितो. १४:१५.

१५ खासै अनुभव नभएका मानिसले सल्लाह दिंदा “चतुर मानिस” झनै चनाखो हुन्छ। उसले मनमनै यस्तो तर्क गर्न सक्छ: ‘यो भिटामिन, जडीबुटी वा खानपानले उसको आफन्तलाई राम्रो गऱ्‍यो रे! तर यसले अरूमा पनि यस्तै काम गरेको छ त? मानिसहरूको बनौट फरक-फरक हुन्छ। त्यसैले यसले मलाई पनि राम्रो गर्ला त? यस विषयमा अझै बुझ्नुपर्ने पो हो कि? अथवा अनुभवी मान्छेलाई पो सोध्नुपर्ला कि?’—व्यव. १७:६.

१६. कस्ता प्रश्‍नहरू विचार गऱ्‍यौं भने हामी “सुझबुझ” चलाउन सक्छौं?

१६ बाइबलले हामीलाई ‘यस वर्तमान युगमा सुझबुझ चलाउँदै जीवन बिताउन’ पनि सल्लाह दिएको छ। (ती. २:१२) कुनै उपचारविधि शङ्‌का लाग्दो वा अनौठो खालको छ भने हामीले त्यतिबेला “सुझबुझ” चलाउनै पर्छ। हामी आफैलाई यस्ता प्रश्‍न सोध्न सक्छौं: यो उपचारविधि अपनाउने वा प्रचारप्रसार गर्ने मान्छेले मलाई यसबारे चित्त बुझ्ने तरिकामा बताउन सक्छ? उसलाई यो उपचारविधि राम्रो छ जस्तो लागेको मात्र हो कि? अरू दक्ष वा अनुभवी मान्छेहरूले पनि यसलाई समर्थन गरेका छन्‌ कि छैनन्‌? (हितो. २२:२९) कुनै व्यक्‍तिले ‘डाक्टरहरूले पत्ता लगाउन नसकेको उपचारविधि फलानो ठाउँमा पत्ता लागेछ नि’ भन्लान्‌। त्यस्तो कुरा कत्तिको भरपर्दो छ? कुनै-कुनै उपचारविधिमा त अनौठो चीजबीज मिसाइएको औषधी प्रयोग गरिन्छ अथवा अनौठो शक्‍तिको सहायताले उपचार गरिन्छ। यदि त्यसो हो भने हामी झनै होसियार हुनुपर्छ। किनभने बाइबलले हामीलाई “मन्त्रतन्त्र” अनि जादुगरीबाट अलग्गै बस्न सल्लाह दिएको छ।—लेवी १९:२६; व्यव. १८:१०-१२.

“तपाईंहरूको भलो होस्‌”

१७. हामी के चाहन्छौं?

१७ प्रथम शताब्दीको परिचालक निकायले विभिन्‍न मण्डलीमा महत्त्वपूर्ण पत्र पठाएको थियो। ख्रीष्टियनहरूले के-के गर्नुहुँदैन भनेर लेखिसकेपछि त्यो पत्रको अन्तमा यस्तो लेखिएको थियो: “यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईंहरूको कल्याण हुनेछ। तपाईंहरूको भलो होस्‌!” (प्रेषि. १५:२९) त्यो समयमा यसरी नै कुरा टुङ्‌ग्याउने चलन थियो। “भलो होस्‌” भन्‍ने वाक्यांशलाई “तपाईंको सुस्वास्थ्यको कामना गर्दछु” भनेर पनि अनुवाद गर्न सकिन्छ। हो, महान्‌ परमेश्‍वरको सेवा गर्न हामी पक्कै पनि स्वस्थ रहन चाहन्छौं।

हामी स्वस्थ र तन्दुरुस्त भएर यहोवाको सेवा गर्न चाहन्छौं (अनुच्छेद १७ हेर्नुहोस्‌)

१८, १९. भविष्यको हाम्रो आशा कस्तो छ?

१८ यो संसारमा बाँचुन्जेल अनि त्रुटिपूर्ण रहुन्जेल हामी रोगबिमारबाट मुक्‍त हुन सक्दैनौं। साथै चमत्कारपूर्ण तरिकामा रोग निको भएको आस गर्न पनि मिल्दैन। तर प्रकाश २२:१, २ ले रोगबिमारबाट पूर्ण रूपमा मुक्‍त हुने समय आउँदै छ भनेर बताउँछ। प्रेषित यूहन्‍नाले दर्शनमा “जीवन दिने पानीको नदी” अनि ‘राष्ट्र-राष्ट्रका मानिसहरूलाई निको पार्ने’ पातहरू भएको “जीवनका रूखहरू” देखे। यसले अहिले वा पछि काम लाग्ने जडीबुटीलाई सङ्‌केत गर्न खोजिरहेको थिएन। बरु आज्ञाकारी मानिसहरूलाई येशूमार्फत यहोवाले दिनुहुने अनन्त जीवनलाई सङ्‌केत गरिरहेको थियो। अनि त्यो दिनको हामी उत्सुकतासाथ प्रतीक्षा गरिरहेका छौं।—यशै. ३५:५, ६.

१९ त्यो दिन नआउन्जेल हामी सबैले यो कुरा मनमा राखौं: यहोवा हामी हरेकलाई ख्याल राख्नुहुन्छ, विशेषगरि बिरामी परेको बेला। दाऊदजस्तै हामी पनि बिरामी पर्दा यहोवाले हामीलाई पलङमै सम्हाल्नुहुनेछ भनेर ढुक्क हुन सक्छौं। अनि तिनीसँगै हामी यसो भन्‍न सक्छौं: “मलाई तपाईंले मेरो इमानदारीमा सम्हाल्नुहुन्छ र सदा तपाईंको नजरको सामने मलाई राख्नुहुन्छ।”—भज. ४१:१२.

a रक्सीसम्बन्धी लेखिएको एउटा किताब (The Origins and Ancient History of Wine) यसो भन्छ: ‘रक्सीले टाइफाइडका अनि अरू रोगका खतरनाक कीटाणुहरू छिट्टै नाश गर्छ भन्‍ने कुरा अनुसन्धानले देखाएको छ।’