सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“अवर्णनीय वरदान”-प्रति कृतज्ञ हुनुहोस्‌

“अवर्णनीय वरदान”-प्रति कृतज्ञ हुनुहोस्‌

“परमेश्‍वरले सित्तैंमा दिनुहुने अवर्णनीय वरदानको लागि उहाँलाई धन्यवाद होस्‌।”—२ कोरि. ९:१५.

गीत: १२१, ६३

१, २. (क) “परमेश्‍वरले सित्तैंमा दिनुहुने अवर्णनीय वरदान”-मा के समावेश छ? (ख) यो लेखमा कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौं?

 यहोवा परमेश्‍वरले आफ्नो एक मात्र छोरालाई हाम्रो लागि जीवन दिन पृथ्वीमा पठाउनुभयो। यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुराको सबैभन्दा ठूलो प्रमाण यही नै हो। (यूह. ३:१६; १ यूह. ४:९, १०) प्रेषित पावलले यो प्रबन्धलाई “परमेश्‍वरले सित्तैंमा दिनुहुने अवर्णनीय वरदान” भनेका छन्‌। (२ कोरि. ९:१५) पावलले किन त्यस्तो अभिव्यक्‍ति चलाए?

किनभने परमेश्‍वरले गर्नुभएका सबै प्रतिज्ञा पूरा हुनेछन्‌ भन्‍ने ग्यारेन्टी येशूको बलिदानले दिन्छ भनेर पावलले बुझेका थिए। (२ कोरिन्थी १:२० पढ्‌नुहोस्‌) “परमेश्‍वरले सित्तैंमा दिनुहुने अवर्णनीय वरदान”-मा भविष्यमा यहोवाले येशूमार्फत हामीलाई देखाउनुहुने भलाइ र वफादार प्रेम पनि समावेश छ। यो बहुमूल्य वरदानबारे जत्ति वर्णन गरे पनि पुग्दैन। यस्तो विशेष वरदान पाएकोमा हामीले कस्तो महसुस गर्नुपर्छ? यो वर्ष मार्च २३, बुधबारको दिनमा पर्ने स्मरणार्थको लागि तयार रहन यो वरदानले हामीलाई कसरी उत्प्रेरित गर्छ?

परमेश्‍वरले दिनुभएको विशेष वरदान

३, ४. (क) कसैले उपहार दिंदा तपाईंलाई कस्तो लाग्छ? (ख) कसैले तपाईंलाई ठूलो गुन लगाएको छ भने तपाईं के गर्न जुरमुरिनुहुन्छ?

उपहार पाउँदा तपाईंलाई कस्तो लाग्छ? तपाईं उपहार दिने व्यक्‍तिप्रति आभारी हुनुहुन्छ होला। कुनै-कुनै उपहार तपाईंको लागि विशेष हुन्छ; त्यसले तपाईंको जीवनमा ठूलो अर्थ राख्छ र तपाईंको जीवनै परिवर्तन गरिदिन्छ। एकछिन कल्पना गर्नुहोस्‌: कुनै अपराध गरेकोले तपाईंलाई मृत्युदण्ड दिइँदै छ। वरपर थुप्रै मानिस उभिरहेका छन्‌। तर अचानक तपाईंले चिन्दै नचिनेको मानिस भीडबाट निस्कन्छ र तपाईंले पाउनुपर्ने सजाय भोग्न तयार हुन्छ। त्यो मानिस तपाईंको लागि आफ्नो ज्यान दिन चाहन्छ। त्यो व्यक्‍तिले लगाएको गुनबारे विचार गर्दा तपाईं के गर्न जुरमुरिनुहुन्छ?

तपाईं आफ्नो खराब आनीबानी त्याग्न र आफ्नो जीवनशैली छाँटकाँट गर्न तयार हुनुहुन्छ नि, होइन र? साथै, उदारचित्तको हुन र अरूलाई मायालु व्यवहार गर्न पनि उत्प्रेरित हुनुहुन्छ होला। कसैले तपाईंको हानि हुने काम गर्दा क्षमा दिन पनि तयार हुनुहोला। अनि तपाईंको सट्टामा ज्यान गुमाउन तयार भएको त्यो व्यक्‍तिप्रति जीवनभर ऋणी महसुस गर्नुहुन्छ नि, होइन र?

५. परमेश्‍वरले दिनुभएको वरदान किन उत्कृष्ट छ?

भर्खरै उदाहरणमा चर्चा गरिएको मानिसले भन्दा पनि ठूलो गुन यहोवाले हामीलाई लगाउनुभएको छ। उहाँले येशूमार्फत हामीलाई दिनुभएको वरदान सबैभन्दा उत्कृष्ट छ। (१ पत्रु. ३:१८) किन? जन्मजातै पापी भएकोले हामी सबैले सजायस्वरूप मृत्यु भोग्नुपर्छ। (रोमी ५:१२) तर यहोवाले हाम्रो लागि येशूलाई पृथ्वीमा पठाउनुभयो र येशूले “हरेक मानिसको लागि मृत्यु चाख्नुभयो।” (हिब्रू २:९) यस्तो प्रबन्ध गर्नुभएर यहोवाले हाम्रो जीवन मात्र बचाउनुभएको छैन, बरु भविष्यमा मृत्युलाई सदाको लागि नामेट पार्ने आधार पनि तयार पार्नुभएको छ। (यशै. २५:७, ८; १ कोरि. १५:२२, २६) भविष्यमा परमेश्‍वरको राज्यले शासन गर्दा येशूमाथि विश्‍वास गर्ने सबैले अनन्त जीवन पाउनेछन्‌। ठूलो भीडले यसै पृथ्वीमा शान्ति र आनन्द अनुभव गर्नेछन्‌ भने अभिषिक्‍त जनहरूले स्वर्गमा येशूसितै शासन गर्ने सुअवसर पाउनेछन्‌। (रोमी ६:२३; प्रका. ५:९, १०) परमेश्‍वरले दिनुभएको वरदानमा अरू के-कस्ता आशिष्‌ समावेश छन्‌?

६. (क) यहोवाले दिनुहुने के-कस्ता आशिष्‌ पाउन तपाईं इच्छुक हुनुहुन्छ? (ख) परमेश्‍वरप्रतिको प्रेमले हामीलाई के गर्न उत्प्रेरित गर्छ?

यही वरदानको आधारमा यहोवाले नयाँ संसारमा रोगबिमार हटाउनुहुनेछ, पृथ्वीलाई सुन्दर बगैंचामा परिणत गर्नुहुनेछ र मरिसकेकाहरूलाई पुनर्जीवित पार्नुहुनेछ। (यशै. ३३:२४; ३५:५, ६; यूह. ५:२८, २९) परमेश्‍वरले सित्तैंमा “अवर्णनीय वरदान” दिनुभएकोमा हामी उहाँ र उहाँको प्रिय छोरालाई असाध्यै प्रेम गर्छौं। तर प्रश्‍न उठ्‌छ, यहोवाप्रतिको प्रेमले हामीलाई के गर्न उत्प्रेरित गर्छ? (१) राम्ररी येशूको पदचिन्ह पछ्याउन; (२) दाजुभाइ दिदीबहिनीलाई प्रेम गरेको कुरा काममा देखाउन र (३) मनैदेखि क्षमा दिन। अब हामी यी तीनवटा बुँदाबारे छलफल गर्नेछौं।

“ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ”

७, ८. ख्रीष्टको प्रेमले हामीलाई के गर्न उत्प्रेरित गर्छ? येशूको निम्ति बाँच्न इच्छुक छौं भन्‍ने कुरा कसरी देखाउन सक्छौं?

अब हामी पहिलो बुँदा छलफल गरौं। यहोवाप्रतिको प्रेमले हामीलाई येशू ख्रीष्टको निम्ति बाँच्न उत्प्रेरित गर्छ। प्रेषित पावलले पनि यसो भने: “ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ।” (२ कोरिन्थी ५:१४, १५ पढ्‌नुहोस्‌) तिनले के भन्‍न खोज्दै थिए? हामी येशूको निम्ति बाँच्न तयार छैनौं भने उहाँले हामीलाई जुन प्रेम देखाउनुभएको छ, त्यसप्रति हामी कृतज्ञ भइरहेका हुँदैनौं। यहोवाले हाम्रो लागि के-कस्तो काम गर्नुभएको छ भन्‍ने कुरा राम्ररी बुझ्यौं भने उहाँप्रति हाम्रो प्रेम अझ बढ्‌छ; यस्तो प्रेमले हाम्रो मनमा येशू ख्रीष्टको निम्ति बाँच्ने इच्छा जगाउँछ। त्यसोभए हामीमा त्यस्तो इच्छा छ भनेर कसरी देखाउन सक्छौं?

परमेश्‍वरप्रतिको प्रेमले हामीलाई येशूको अनुकरण गर्न बाध्य पार्छ; येशूले जसरी जीवन बिताउनुभएको थियो, त्यसरी नै जीवन बिताएर उहाँको पदचिन्ह पछ्याउन हामी उत्प्रेरित हुन्छौं। (१ पत्रु. २:२१; १ यूह. २:६) आज्ञाकारी भएर पनि हामी यहोवा र येशूलाई प्रेम गरेको देखाउन सक्छौं। येशूले यसो भन्‍नुभएको थियो: “जसले मेरा आज्ञाहरू ग्रहण गर्छ र ती पालन गर्छ, मलाई प्रेम गर्ने ऊ नै हो। जसले मलाई प्रेम गर्छ, उसलाई मेरो बुबाले पनि प्रेम गर्नुहुनेछ र म उसलाई प्रेम गर्नेछु अनि ऊसामु म खुलेर प्रकट हुनेछु।”—यूह. १४:२१; १ यूह. ५:३.

९. हामीलाई कस्तो दबाब आइपर्छ?

स्मरणार्थको समयलाई आफ्नो जीवनशैली केलाएर हेर्ने मौकाको रूपमा लिन सक्छौं। आफैलाई यस्ता प्रश्‍नहरू सोधौं: ‘मैले के-कस्तो क्षेत्रमा येशूको पदचिन्ह पछ्याइरहेको छु? के-कस्तो क्षेत्रमा सुधार गर्नुपर्ने छ?’ हामी हरेक दिन संसारका मानिसहरूको जस्तै जीवनशैली पछ्याउने दबाब महसुस गर्छौं। त्यसैले यसरी आफैलाई जाँच्नु असाध्यै महत्त्वपूर्ण छ। (रोमी १२:२) होसियार भएनौं भने हामी यस संसारका दार्शनिकहरू, ख्याति कमाएका कलाकारहरू र प्रख्यात खेलाडीहरूको नक्कल गर्न पुग्छौं। (कल. २:८; १ यूह. २:१५-१७) हामी यस्ता दबाबहरूको कसरी प्रतिरोध गर्न सक्छौं?

१०. स्मरणार्थको समयमा हामी आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौं? यसरी मनन गर्दा हामी के गर्न उत्प्रेरित हुन्छौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

१० स्मरणार्थको समयमा हामी अरू के गर्न सक्छौं? हाम्रो दराजमा के-कस्ता लुगाफाटा छन्‌, के-कस्तो फिल्म र गीतका सीडीहरू जम्मा गरेका छौं अथवा हाम्रो कम्प्युटर, मोबाइल वा ट्याबलेटमा के-कस्ता कुराहरू राखेका छौं, त्यसबारे राम्ररी केलाउन सक्छौं। दराज खोलेर हेर्दा आफैलाई सोध्नुहोस्‌: ‘येशू पनि आउनुहुने कुनै ठाउँमा यो लुगा लगाएर जान मलाई सजिलो लाग्ला?’ (१ तिमोथी २:९, १० पढ्‌नुहोस्‌) ‘यो लुगा लगाएँ भने अरूले मलाई येशूको अनुकरण गर्ने व्यक्‍ति भनेर चिन्लान्‌ त?’ हामीले हेर्ने फिल्म वा सुन्‍ने सङ्‌गीतबारे पनि आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘के येशूले यस्तो फिल्म हेर्नुहोला वा यस्तो गीत सुन्‍नुहोला त? येशूले मेरो मोबाइल वा ट्याबलेट हेर्न खोज्नुभयो भने के म धक नमानी दिन सक्छु?’ भिडियो गेमबारे पनि यसरी सोध्न सक्नुहुन्छ: ‘मलाई यो गेम खेल्न रमाइलो लाग्नुको कारण येशूले सोध्नुभयो भने के म अप्ठेरो नमानी जवाफ दिन सक्छु?’ यहोवाप्रतिको प्रेमले हामीलाई ख्रीष्टका चेलाहरूलाई उपयुक्‍त नहुने किसिमको कुराहरू त्याग्न उत्प्रेरित गर्छ, चाहे त्यसको लागि हामीले जत्ति नै ठूलो मोल चुकाउन किन नपरोस्‌। (प्रेषि. १९:१९, २०) बप्तिस्मा गर्दा हामीले आफ्नै निम्ति नभई येशूको निम्ति बाँच्नेछु भनेर वाचा गरेका थियौं। त्यसैले राम्ररी येशूको पदचिन्ह पछ्याउन बाधा पुऱ्‍याउने जुनसुकै कुरादेखि हामी अलग बस्नुपर्छ।—मत्ती ५:२९, ३०; फिलि. ४:८.

११. (क) यहोवा र येशूप्रतिको प्रेमले हामीलाई प्रचार गर्न कसरी उत्प्रेरित गर्छ? (ख) मण्डलीका सदस्यहरूलाई प्रेम गर्छौं भने हामी तिनीहरूलाई कसरी मदत गर्छौं?

११ येशूप्रतिको प्रेमले हामीलाई तनमनले प्रचार गर्न र चेला बनाउने काममा भाग लिन उत्प्रेरित गर्छ। (मत्ती २८:१९, २०; लूका ४:४३) स्मरणार्थको समयमा हामीसित ३० वा ५० घण्टाको सहायक अग्रगामी सेवा गर्ने मौका पनि छ। तपाईं पनि समय निकाल्न सक्नुहुन्छ कि? श्रीमती बितिसकेका ८४ वर्षका भाइको अनुभव विचार गरौं। उमेर ढल्किसकेकोले र स्वास्थ्य पनि कमजोर भएकोले तिनलाई सहायक अग्रगामी सेवा गर्न सकिंदैन कि जस्तो लागेको रहेछ। तर तिनलाई मदत गर्न अग्रगामीहरूको ओइरो नै लाग्यो। अग्रगामीहरूले ती भाइको लागि सवारी साधनको प्रबन्ध गरिदिए र तिनलाई पायक पर्ने इलाकामा प्रचार गरे। खुसीको कुरा, अग्रगामीहरूको मदतले गर्दा ती भाइले ३० घण्टा पुऱ्‍याउन सके। स्मरणार्थको समयमा तपाईं पनि मण्डलीको कुनै भाइ वा बहिनीलाई सहायक अग्रगामी सेवा गर्न मदत दिन सक्नुहुन्छ कि? हुन त हामीमध्ये सबैले सहायक अग्रगामी सेवा गर्न सक्दैनौं होला। तैपनि हामी आफ्नो भएभरको समय र शक्‍ति खर्चेर यहोवाको प्रशंसा हुने काम गर्न चाहन्छौं। यसो गर्दा प्रेषित पावलजस्तै हामी पनि ख्रीष्टको प्रेमले उत्प्रेरित भएका छौं भन्‍ने देखिन्छ। परमेश्‍वरप्रतिको प्रेमले हामीलाई अझै के गर्न उत्प्रेरित गर्छ?

“आपसमा प्रेम गर्नु हाम्रो कर्तव्य हो”

१२. परमेश्‍वरप्रतिको प्रेमले हामीलाई के गर्न उत्प्रेरित गर्छ?

१२ अब हामी दोस्रो बुँदा छलफल गरौं। हामी यहोवालाई प्रेम गर्छौं भने दाजुभाइ दिदीबहिनीलाई प्रेम गरेको देखाउन उत्प्रेरित हुनेछौं भनी प्रेषित यूहन्‍नाले बताए। तिनले यस्तो लेखे: “यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभयो भने हामीले पनि आपसमा प्रेम गर्नु हाम्रो कर्तव्य हो।” (१ यूह. ४:७-११) हामी मण्डलीका सदस्यहरूलाई प्रेम गर्दैनौं भने यहोवाको प्रेम पनि पाउन सक्दैनौं। तिनीहरूलाई प्रेम गर्नु हाम्रो कर्तव्य हो। (१ यूह. ३:१६) त्यसोभए तिनीहरूलाई प्रेम गरेको कुरा हामी कसरी कामद्वारा देखाउन सक्छौं?

१३. अरूलाई प्रेम गर्ने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो?

१३ येशूलाई विचार गरौं। पृथ्वीमा छँदा उहाँले दीन-दुःखीहरूलाई विशेष ध्यान दिनुभयो। अन्धा, लङ्‌गडा, बहिरा र गुँगालाई उहाँले निको पार्नुभयो। (मत्ती ११:४, ५) येशूको समयमा थुप्रै मानिसहरू आध्यात्मिक रूपमा भोका थिए। त्यतिबेलाका यहूदी धर्मगुरुहरूले ती आम मानिसहरूलाई “श्रापित” ठान्थे। तर येशूले भने तिनीहरूलाई परमेश्‍वरबारे सिकाउनुभयो। (यूह. ७:४९) हो, उहाँले दीन-दुःखीहरूलाई प्रेम गर्नुभयो र उनीहरूको सेवा गर्न कडा परिश्रम गर्नुभयो।—मत्ती २०:२८.

के तपाईं वृद्ध भइसकेकाहरूलाई प्रचार गर्न मदत दिन सक्नुहुन्छ? (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. अरूलाई प्रेम गरेको देखाउन तपाईं के गर्न सक्नुहुन्छ?

१४ स्मरणार्थको समयमा मण्डलीका दाजुभाइ दिदीबहिनीलाई मदत गरेर हामी येशूको अनुकरण गर्न सक्छौं। तपाईंको मदतले गर्दा उनीहरूले लाभ उठाएको देख्न पाउनुहुनेछ। जस्तै: तपाईंको मण्डलीमा वृद्ध सदस्यहरू हुनुहुन्छ होला। उहाँहरूलाई भेट्‌न जान अथवा खानेकुरा लगिदिन सक्नुहुन्छ कि? अथवा घरको कामकाजमा सघाउन सक्नुहुन्छ कि? सभामा आउन-जान सवारी साधनको प्रबन्ध गरिदिन सक्नुहुन्छ कि? अथवा सँगै प्रचार गर्ने प्रबन्ध मिलाउन सक्नुहुन्छ कि? (लूका १४:१२-१४ पढ्‌नुहोस्‌) हो, परमेश्‍वरको प्रेमले हामीलाई आफै अग्रसर भएर दाजुभाइ दिदीबहिनीलाई प्रेम गरेको कुरा कामद्वारा देखाउन उत्प्रेरित गर्छ।

मण्डलीका दाजुभाइ दिदीबहिनीलाई क्षमा दिनुहोस्‌

१५. हामी प्रत्येकले कुन कुरा मनमा राख्नुपर्छ?

१५ अब हामी तेस्रो बुँदा छलफल गरौं। परमेश्‍वरलाई प्रेम गर्ने भएकोले हामी दाजुभाइ दिदीबहिनीलाई क्षमा दिन उत्प्रेरित हुन्छौं। पहिलो मानिस आदमको सन्तान भएकोले हामी सबैमा पाप सरेको छ र सजायस्वरूप हामीले मृत्यु पाएका छौं। त्यसैले कसैले पनि “मलाई फिरौतीको आवश्‍यकता छैन” भन्‍न सक्दैन। परमेश्‍वरप्रति एकदमै वफादार व्यक्‍तिलाई समेत येशूमार्फत यहोवाले देखाउनुभएको असीम अनुग्रह चाहिन्छ। यहोवाले हाम्रो ऋणको ठूलो भारी हटाइदिनुभएको छ भन्‍ने कुरा हामी प्रत्येकले मनमा राख्नुपर्छ। यसो गर्नु किन महत्त्वपूर्ण छ? येशूले बताउनुभएको दृष्टान्तमा यसको जवाफ पाइन्छ।

१६, १७. (क) येशूले दिनुभएको राजा र दासको दृष्टान्तबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (ख) यो दृष्टान्त मनन गरिसकेपछि तपाईंले कस्तो सङ्‌कल्प गर्नुभयो?

१६ येशूले बताउनुभएको दृष्टान्तमा एक जना राजाले आफ्नो दासको ६ करोड दिनार ऋण माफी गरिदिए। तर त्यो दासले आफ्नो सङ्‌गी दासको जम्मा १०० दिनार ऋण भने माफी दिन चाहेनन्‌। आफूले दया गरेर माफी दिएको दासले अर्को दासलाई नराम्रो व्यवहार गरेको थाह पाएपछि राजा असाध्यै रिसाए। राजाले यसो भने: “ए दुष्ट दास, तैंले मसित बिन्ती गर्दा मैले तेरो सबै ऋण माफ गरिदिएँ। तब मैले तँमाथि कृपा गरेजस्तै के तैंले पनि आफ्नो सङ्‌गी दासमाथि कृपा गर्नु पर्दैनथ्यो?” (मत्ती १८:२३-३५, फुटनोट हेर्नुहोस्‌) राजाले त्यस्तो ठूलो कृपा देखाएकोले तिनले पनि आफ्नो सङ्‌गी दासलाई क्षमा दिनुपर्थ्यो। यहोवाको प्रेम अनि कृपाले हामीलाई पनि के गर्न उत्प्रेरित गर्नुपर्छ?

१७ मण्डलीका दाजुभाइ दिदीबहिनीप्रति हाम्रो मनमा कुनै रिस-इबी छ कि भनेर स्मरणार्थको समयमा मनन गर्नु राम्रो हुन्छ। सबैलाई “क्षमा गर्नुहुने परमेश्‍वर” यहोवाको अनुकरण गर्ने यो नै उपयुक्‍त मौका हो। (नहे. ९:१७; भज. ८६:५) यहोवाले हाम्रो ऋण क्षमा गर्न के-के गर्नुभयो, त्यो कुरा विचार गऱ्‍यौं भने हामी पनि अरूलाई मनैदेखि क्षमा गर्न इच्छुक हुनेछौं। अरूलाई प्रेम गरेका छैनौं अनि क्षमा दिएका छैनौं भने हामीले यहोवाको प्रेम र क्षमा पाउन सक्दैनौ। (मत्ती ६:१४, १५) क्षमा दिंदैमा हाम्रो विगत बदलिने त होइन, तर हाम्रो भविष्य भने पक्कै राम्रो हुन्छ।

१८. परमेश्‍वरप्रतिको प्रेमले एक जना बहिनीलाई अर्को बहिनीको कमीकमजोरी सहन कसरी मदत गऱ्‍यो?

१८ हामीमध्ये थुप्रैलाई हाम्रा दाजुभाइ दिदीबहिनीको कमीकमजोरी ‘सहिरहन’ गाह्रो लाग्न सक्छ। (कलस्सी ३:१३, १४; एफिसी ४:३२ पढ्‌नुहोस्‌) बहिनी लिलीलाई विचार गर्नुहोस्‌। तिनी श्रीमान्‌ गुमाइसकेका क्यारोल भन्‍ने बहिनीलाई मदत गर्थिन्‌। [१] तिनी ती बहिनीलाई सवारी-साधनको प्रबन्ध गरिदिने, किनमेल गरिदिने अनि अरू थुप्रै तरिकामा मदत गर्ने गर्थिन्‌। क्यारोल किचकिचे स्वभावको भएकीले लिलीले जति गरे पनि जस पाउँदिन थिइन्‌। तर लिलीले क्यारोलको राम्रो गुणहरूमा मात्र ध्यान दिइरहिन्‌। तिनले क्यारोलको निकै वर्ष देखभाल गरिन्‌। अन्तमा गम्भीर बिमारीले गर्दा ती बहिनीको मृत्यु भयो। लिली भन्छिन्‌: “जे जति हुनुथियो, भइसक्यो। भविष्यमा म उहाँ पुनर्जीवित भएको हेर्न चाहन्छु। उहाँ त्रुटिरहित भएपछि कस्तो हुन्छ, म हेर्न चाहन्छु।” हो, यहोवाप्रतिको प्रेमले हामीलाई दाजुभाइ दिदीबहिनीको कमीकमजोरी सहिरहन र सबै मानिस त्रुटिरहित हुने दिनको प्रतीक्षा गर्न उत्प्रेरित गर्छ।

१९. परमेश्‍वरबाट सित्तैंमा पाएको “अवर्णनीय वरदान”-ले हामीलाई के गर्न उत्प्रेरित गर्छ?

१९ हामीले यहोवा परमेश्‍वरबाट सित्तैंमा “अवर्णनीय वरदान” पाएका छौं। यो वरदानलाई कहिल्यै हल्का रूपमा नलेऔं। बरु, अब आउने स्मरणार्थको समयमा यहोवा र येशूले हाम्रो लागि के-के गर्नुभयो, ती कुराहरू कृतज्ञ हुँदै मनन गरौं। उहाँहरूको प्रेमले हामीलाई येशूको पदचिन्ह राम्ररी पछ्याउन, दाजुभाइ दिदीबहिनीलाई प्रेम गरेको कुरा कामद्वारा देखाउन र मनैदेखि क्षमा दिन उत्प्रेरित गरोस्‌।

^ [१] (अनुच्छेद १८) यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।