सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कसरी “शिक्षा” दिनुहुन्छ, होसियार हुनुहोस्‌

कसरी “शिक्षा” दिनुहुन्छ, होसियार हुनुहोस्‌

कसरी “शिक्षा” दिनुहुन्छ, होसियार हुनुहोस्‌

“वचन प्रचार गर, . . . सहनशीलता र शिक्षासाथ दोष देखाइदेऊ, हप्काऊ, अर्ती देऊ।”—२ तिमो. ४:२.

१. येशूले आफ्ना चेलाहरूलाई के आज्ञा दिनुभयो र उहाँले कस्तो नमुना बसाल्नुभयो?

 पृथ्वीमा छँदा येशूले चमत्कार गरेर मानिसहरूलाई निको पार्नुभयो, तैपनि कुनै चमत्कारी व्यक्‍तिको रूपमा भन्दा उहाँ विशेषगरि शिक्षकको रूपमा चिनिनुभयो। (मर्कू. १२:१९; १३:१) परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु नै उहाँको मुख्य काम थियो। अनि आज उहाँका अनुयायीहरूको मुख्य काम पनि त्यही हो। येशू ख्रीष्टले आज्ञा गरेका सबै कुरा मान्‍न सिकाएर चेला बनाउने कामलाई निरन्तरता दिने जिम्मेवारी हामी मसीहीहरूलाई सुम्पिएको छ।—मत्ती २८:१९, २०.

२. प्रचार गर्ने हाम्रो जिम्मेवारी पूरा गर्न हामीले के गर्नुपर्छ?

चेला बनाउने जिम्मेवारी पूरा गर्न हामी अझ राम्रो शिक्षक बन्‍ने सधैं कोसिस गरिरहन्छौं। अरूलाई सिकाउन सिपालु हुनु कत्तिको महत्त्वपूर्ण छ, सँगी प्रचारक तिमोथीलाई लेखेको पत्रमा प्रेरित पावलले यसरी जोड दिए: “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्‍नेलाई समेत उद्धार गर्नेछौ।” (१ तिमो. ४:१६) पावलले यहाँ ज्ञान दिने विषयमा भन्‍न खोजिरहेका थिएनन्‌। सिकाउनमा सिपालु मसीही सेवकहरू मानिसहरूको हृदयसम्म पुग्छन्‌ अनि तिनीहरूलाई आफ्नो जीवनशैली परिवर्तन गर्न उत्प्रेरित गर्छन्‌। उसोभए, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दा हामी कसरी सिपालु ढंगमा “शिक्षा” दिन सक्छौं?—२ तिमो. ४:२.

“शिक्षा” दिन अझ सिपालु हुने

३, ४. (क) “शिक्षा” दिन हामी कसरी अझ सिपालु हुन सक्छौं? (ख) प्रभावकारी शिक्षक बन्‍न ईश्‍वरतान्त्रिक सेवकाई स्कूलले कसरी मदत गर्छ?

अरूलाई प्रभावकारी ढंगमा सिकाउन अध्ययन, अभ्यास अनि अवलोकन गर्नुपर्छ। सुसमाचारको प्रभावकारी शिक्षक बन्‍न हामीले यी तीनवटै कुरामा ध्यान दिनु आवश्‍यक छ। हामीले प्रार्थना गर्दै अध्ययन गऱ्‍यौं भने मात्र पढेको कुरा ठीकसित बुझ्न सक्छौं। (भजन ११९:२७, ३४ पढ्‌नुहोस्‌।) त्यसैगरि, सिपालु शिक्षकहरूले कसरी सिकाउँदा रहेछन्‌ भनेर अवलोकन गऱ्‍यौं भने उनीहरूको तरिका सिक्न र उनीहरूले जस्तै सिकाउन सक्छौं। अनि सिकेको कुरा अभ्यास गर्ने निरन्तर कोसिस गरेर हामी आफ्नो क्षमता अझ विकास गर्न सक्छौं।—लूका ६:४०; १ तिमो. ४:१३-१५.

यहोवा हाम्रो महान्‌ शिक्षक हुनुहुन्छ। त्यसैले, आफ्नो संगठनको दृश्‍य भाग चलाएर पृथ्वीमा आफ्ना सेवकहरूलाई प्रचार गर्ने तरिका उहाँ सिकाउनुहुन्छ। (यशै. ३०:२०, २१) उदाहरणका लागि, संसारभरि प्रत्येक मण्डलीमा हरेक हप्ता सञ्चालन हुने ईश्‍वरतान्त्रिक सेवकाई स्कूलले प्रभावकारी ढंगमा परमेश्‍वरको राज्यको घोषणा गर्ने तालिम दिन्छ। यो स्कूलको मुख्य पाठ्यपुस्तक बाइबल हो। किनकि मानिसहरूलाई के सिकाउनुपर्छ, यहोवाको प्रेरित वचन बाइबलले हामीलाई जानकारी दिन्छ। साथै, कसरी सिकाउनु ठीक अनि प्रभावकारी हुन्छ, त्यो पनि बाइबलले बताउँछ। परमेश्‍वरको वचनलाई आधार मानेर सिकायौं, प्रभावकारी ढंगमा प्रश्‍नहरू चलायौं, विद्यार्थीले सजिलै बुझ्नेगरि बतायौं अनि तिनीहरूमा निष्कपट चासो लियौं भने हामी सिपालु शिक्षक बन्‍नेछौं भनेर ईश्‍वरतान्त्रिक सेवकाई स्कूलले हामीलाई निरन्तर सम्झाइरहन्छ। आउनुहोस्‌, यी बुँदाहरूलाई हामी एक-एक गरी केलाएर हेरौं। त्यसपछि विद्यार्थीको मन छुनेगरि कसरी सिकाउने, त्यो छलफल गरौं।

परमेश्‍वरको वचनलाई आधार बनाएर सिकाउनुहोस्‌

५. हामीले अरूलाई सिकाउँदा केलाई आधार बनाउनुपर्छ र किन?

मानव शिक्षकहरूमध्ये सबैभन्दा उत्तम शिक्षक येशू धर्मशास्त्र चलाएर शिक्षा दिनुहुन्थ्यो। (मत्ती २१:१३; यूह. ६:४५; ८:१७) उहाँ आफ्नै तर्फबाट होइन तर आफूलाई पठाउने परमेश्‍वरको तर्फबाट बोल्नुहुन्थ्यो। (यूह. ७:१६-१८) अरूलाई सिकाउँदा हामीले पनि त्यसै गर्नुपर्छ। घरदैलोमा प्रचार गर्दा होस्‌ वा बाइबल अध्ययन सञ्चालन गर्दा, परमेश्‍वरको वचनमा जे लेखिएको छ, हामीले त्यही भन्‍नुपर्छ। (२ तिमो. ३:१६, १७) हामीले जस्तोसुकै जोडदार तर्क चलाएर कुरा गरे पनि त्यो परमेश्‍वरको प्रेरित वचन जति प्रभावकारी अनि प्रबल हुन सक्दैन। बाइबलमा अख्तियार छ। त्यसैले, विद्यार्थीलाई बुझाउने सबैभन्दा राम्रो तरिका बाइबलमा जे लेखिएको छ, त्यो तिनलाई नै पढ्‌न लगाउनु हो।—हिब्रू ४:१२ पढ्‌नुहोस्‌।

६. अध्ययन भइरहेको विषय विद्यार्थीलाई राम्ररी बुझाउन शिक्षकले के गर्नुपर्छ?

त्यसो भन्दैमा मसीही शिक्षकले बाइबल अध्ययनका लागि तयारी गर्नुपर्दैन भनेको होइन। बरु, अध्ययन सञ्चालन गर्दा किताबमा उल्लिखित कुन पद शिक्षकले अनि कुन पद विद्यार्थीले पढ्‌ने भनेर पहिल्यै राम्ररी विचार गर्नुपर्छ। अक्सर गरेर हाम्रा धार्मिक विश्‍वासलाई समर्थन गर्ने पदहरू पढ्‌नु राम्रो हो। विद्यार्थीलाई तिनले पढेको पदको अर्थ बुझाउनु पनि उत्तिकै आवश्‍यक छ।—१ कोरि. १४:८, ९.

प्रभावकारी ढंगमा प्रश्‍नहरू चलाउनुहोस्‌

७. प्रश्‍नहरू चलाएर सिकाउनु किन प्रभावकारी तरिका हो?

शिक्षकले प्रभावकारी ढंगमा प्रश्‍न चलायो भने त्यसले विद्यार्थीलाई सोच्न मदत गर्छ र तिनको हृदयसम्म पुग्ने बाटो खोल्छ। अतः बाइबल पदको अर्थ आफैले बताउनुभन्दा विद्यार्थीलाई नै व्याख्या गर्न लगाउनुहोस्‌। पढेको कुरा ठीकसित बुझाउन कहिलेकाहीं थप प्रश्‍न अथवा शृङ्‌खलाबद्ध ढंगले एकपछि अर्को प्रश्‍न चलाएर विद्यार्थीसित तर्क गर्नु आवश्‍यक पर्न सक्छ। यसरी, तपाईंले प्रश्‍नहरू चलाएर सिकाउनुभयो भने विद्यार्थीले हाम्रो धार्मिक विश्‍वासको आधार अनि कारण बुझ्नेछन्‌ र तिनी आफै त्यसमा विश्‍वस्त हुनेछन्‌।—मत्ती १७:२४-२६; लूका १०:३६, ३७.

८. विद्यार्थीको मनको कुरा हामी कसरी बुझ्न सक्छौं?

हाम्रा प्रकाशनहरू प्रश्‍नोत्तर गरेर अध्ययन गर्न मिल्ने गरी तयार पारिएका हुन्छन्‌। तपाईंसित बाइबल अध्ययन गर्ने धेरैजसो व्यक्‍तिले पक्कै पनि किताबमा दिइएका प्रश्‍नहरूको जवाफ अनुच्छेद हेरेर फटाफट दिन सक्छन्‌ होला। तर विद्यार्थीको हृदयसम्म पुग्न चाहने शिक्षकले त्यतिमै चित्त बुझाउनु हुँदैन। उदाहरणका लागि, व्यभिचारबारे बाइबलले के भन्छ, विद्यार्थीले ठीक जवाफ देलान्‌। (१ कोरि. ६:१८) तर तिनको साँचो विचारधारा बुझ्न, निपुण भएर थप गहकिला प्रश्‍नहरू सोध्नुपर्ने हुन सक्छ। जस्तै, विद्यार्थीलाई यस्ता प्रश्‍न सोध्न सकिन्छ: “बाइबलले पति वा पत्नीबाहेक अरूसित यौन सम्बन्ध राख्न किन निषेध गर्छ? परमेश्‍वरले तोक्नुभएको यो सीमा तपाईंलाई कस्तो लाग्छ? परमेश्‍वरको नैतिक स्तरबमोजिम चल्दा के तपाईंलाई हाम्रै फाइदा हुन्छ जस्तो लाग्छ?” यस्ता प्रश्‍नहरूले विद्यार्थीको मनमा के छ, त्यो बुझ्न मदत गर्न सक्छ।—मत्ती १६:१३-१७ पढ्‌नुहोस्‌।

सजिलै बुझिनेगरि सिकाउनुहोस्‌

९. बाइबलमा भएका कुरा सिकाउँदा हामीले कुन कुरा मनमा राख्नु बेस हुनेछ?

परमेश्‍वरको वचनले सिकाउने धेरैजसो सत्य शिक्षा तुलनात्मक हिसाबले बुझ्न सजिला छन्‌। तर झूटा धर्मका शिक्षाहरूले गर्दा हाम्रा विद्यार्थी अलमलमा परेका हुन सक्छन्‌। त्यसैले तिनीहरूले सजिलै बुझ्नेगरि बाइबलको शिक्षा सिकाउनु हामी शिक्षकहरूको जिम्मेवारी हो। प्रभावकारी शिक्षकले सरल, स्पष्ट अनि सही जानकारी दिन्छ। यस निर्देशनअनुसार हामीले सिकाउने गऱ्‍यौं भने बाइबलले सिकाउने सत्य शिक्षा अरूले सजिलै बुझ्नेछन्‌। बाइबल अध्ययन गर्दा अनावश्‍यक विवरण थपथाप नगर्नुहोस्‌। बाइबल पद पढेपछि बुझाउनु उपयुक्‍त भए तापनि हामीले त्यसको चौतर्फी व्याख्या गर्नु आवश्‍यक छैन। हामीले छलफल भइरहेको विषयलाई प्रस्ट पार्न चाहिने कुरामा मात्र ध्यान केन्द्रित गरे पुग्छ। विद्यार्थीले प्रगति गर्दै गएपछि बाइबलका गहिरा-गहिरा कुराहरू तिनी आफैले बिस्तारै बुझ्नेछन्‌।—हिब्रू ५:१३, १४.

१०. बाइबल अध्ययन गर्दा कतिवटा अनुच्छेद अध्ययन गर्ने हामी कसरी निर्णय गर्न सक्छौं?

१० विद्यार्थीसित हरेक पटक अध्ययन गर्दा कतिवटा अनुच्छेद छलफल गर्नु उपुयक्‍त हुन्छ? यस सन्दर्भमा हामीले विचार पुऱ्‍याएर निर्णय गर्नुपर्छ। किनकि विद्यार्थी अनि शिक्षक दुवैको क्षमता अनि परिस्थिति एकनासको हुँदैन। तर हामीले के चाहिं भुल्नुहुँदैन भने, शिक्षक भएको नाताले विद्यार्थीलाई आफ्नो विश्‍वास बलियो बनाउन मदत गर्नु नै हाम्रो लक्ष्य हो। तसर्थ, परमेश्‍वरको वचनले सिकाउने शिक्षा पढ्‌न, बुझ्न अनि स्वीकार्न जति समय लाग्छ, त्यति समय हामीले विद्यार्थीलाई दिनुपर्छ। विद्यार्थीसित बुझ्ने क्षमता कति छ, वास्तै नगरी धेरै अनुच्छेद अध्ययन गर्नुहुँदैन। तर त्यसो भन्दैमा एउटै अनुच्छेदलाई निकै समय लगाएर छलफल गरिरहनु पनि उपयुक्‍त छैन। विद्यार्थीले एउटा अनुच्छेदको मुख्य कुरा बुझेपछि अर्को अनुच्छेदमा जानुपर्छ।—कल. २:६, ७.

११. सिकाउने सन्दर्भमा हामी प्रेरित पावलबाट के सिक्न सक्छौं?

११ प्रेरित पावल, नयाँ व्यक्‍तिहरूले सजिलै बुझ्नेगरि राज्यको सुसमाचार प्रचार गर्थे। आफू धेरै पढेलेखेको विद्वान भए पनि तिनले कहिल्यै सामान्य मान्छेले नबुझ्ने ठूल-ठूला कुरा गरेनन्‌। (१ कोरिन्थी २:१, २ पढ्‌नुहोस्‌।) बाइबलले सिकाउने शिक्षा सरल भएकोले निष्कपट मानिसहरूलाई त्यसले आकर्षित गर्नुका साथै सन्तुष्ट बनाउँछ। त्यसैले बाइबलका कुरा बुझ्न पढेलेखेको विद्वान हुनु आवश्‍यक छैन।—मत्ती ११:२५; प्रेरि. ४:१३; १ कोरि. १:२६, २७.

सिकेको कुराको कदर गर्न विद्यार्थीलाई मदत गर्नुहोस्‌

१२, १३. आफूले सिकेको कुरा व्यवहारमा उतार्न विद्यार्थीलाई कुन कुराले प्रेरित गर्न सक्छ? उदाहरण दिनुहोस्‌।

१२ प्रभावकारी शिक्षक हुन हाम्रो शिक्षाले विद्यार्थीको मन छुन सक्नुपर्छ। अध्ययन गरेको कुरा आफूलाई कसरी लागू हुन्छ, के फाइदा हुन्छ अनि बाइबलले दिने निर्देशनबमोजिम चल्दा जीवनशैली कसरी उकासिन्छ विद्यार्थीले त्यो बुझ्नुपर्छ।—यशै. ४८:१७, १८.

१३ उदाहरणका लागि, मानौं हामी आफ्नो विद्यार्थीसित हिब्रू १०:२४, २५ छलफल गर्दैछौं। उक्‍त पदले मसीहीहरूलाई सँगी भाइबहिनीसित एकसाथ भेला भएर बाइबलले दिने प्रोत्साहन लिने अनि एकअर्कासित न्यानो संगति गर्ने सल्लाह दिन्छ। यदि हाम्रो विद्यार्थीले सभामा आउन सुरु गरिसकेको छैन भने हामी के गर्न सक्छौं? सभाहरू कसरी सञ्चालन हुन्छन्‌ र के-कस्ता विषय छलफल हुन्छन्‌, हामी तिनलाई छोटकरीमा बताउन सक्छौं। मण्डलीका सभाहरूमा उपस्थित हुनु हाम्रो उपासनाको अंग हो र सभाहरूमा उपस्थित हुँदा हामी आफैलाई फाइदा हुन्छ भनेर पनि बताउन सक्छौं। त्यसपछि, तिनलाई सभामा आउने निम्तो दिन सक्छौं। तथापि, तिनले यहोवाको आज्ञा पालन गर्ने इच्छाले गर्दा मण्डलीका सभाहरूमा उपस्थित हुने निर्णय गरेको हुनुपर्छ, अध्ययन सञ्चालकलाई खुसी पार्न होइन।—गला. ६:४, ५.

१४, १५. (क) बाइबल विद्यार्थीले यहोवाबारे के सिक्न सक्छन्‌? (ख) यहोवाको व्यक्‍तित्वबारे ज्ञान हासिल गऱ्‍यो भने हाम्रा बाइबल विद्यार्थीलाई के-कस्तो फाइदा हुन सक्छ?

१४ बाइबल अध्ययन गरेर त्यसका सिद्धान्तअनुसार जीवन बिताएपछि हाम्रा विद्यार्थीहरूले पाउने आधारभूत फाइदा, तिनीहरूले यहोवालाई चिन्‍न अनि माया गर्न सिक्नु नै हो। (यशै. ४२:८) यहोवा मायालु पिता, ब्रह्‍माण्डको सृष्टिकर्ता अनि मालिक हुनुहुन्छ र उहाँलाई माया अनि उपासना गर्ने मानिसहरूलाई उहाँ आफ्नो व्यक्‍तित्व अनि क्षमता प्रकट गर्नुहुन्छ। (प्रस्थान ३४:६, ७ पढ्‌नुहोस्‌।) मोशाले इस्राएलीहरूलाई मिश्र देशबाट डोऱ्‍याएर लैजाने बेला यहोवाले आफ्नो परिचय यसरी दिनुभएको थियो: “म हुँ जो म हुँ।” (प्रस्थ. ३:१३-१५) यहोवाले दिनुभएको यस्तो परिचयले आफ्ना जनहरूका निम्ति आफूले गर्न चाहेको कुरा पूरा गर्न उहाँ जुनसुकै भूमिका निर्वाह गर्न सक्नुहुन्छ भनेर संकेत गर्छ। त्यसैले, इस्राएलीहरूले यहोवालाई उद्वारक, योद्धा, अन्‍नदाता, मदतगार अनि आफ्नो प्रतिज्ञा पूरा गर्ने व्यक्‍तिलगायत अरू थुप्रै रूपमा चिने।—प्रस्थ. १५:२, ३; १६:२-५; यहो. २३:१४.

१५ हाम्रा विद्यार्थीहरूले मोशाले जस्तो यहोवाको चमत्कारी मदत वा निर्देशन त नपाऊलान्‌। तथापि, तिनीहरूको विश्‍वास बढ्‌दै गएपछि र आफूले सिकेका कुराहरूको कदर गर्नुका साथै व्यवहारमा पनि उतार्न थालेपछि साहस, बुद्धि अनि निर्देशनका लागि यहोवामाथि भर पर्नुपर्छ भनेर पक्कै पनि बुझ्नेछन्‌। फलतः तिनीहरूले पनि यहोवालाई बुद्धिमान्‌ अनि भरपर्दो सल्लाहकार तथा रक्षकको रूपमा चिन्‍नेछन्‌ र यहोवा नै तिनीहरूको हर आवश्‍यकता पूरा गर्ने उदार व्यक्‍ति हुनुहुन्छ भनेर जान्‍नेछन्‌।—भज. ५५:२२; ६३:७; हितो. ३:५, ६.

मायालु चासो देखाउनुहोस्‌

१६. प्रभावकारी शिक्षक हुनका लागि किन जन्मजात क्षमता हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा होइन?

१६ आफूले चाहेजस्तो सिकाउनमा सिपालु छु जस्तो तपाईंलाई लाग्दैन भने हरेस नखानुहोस्‌। यहोवा अनि येशूले अहिले संसारभरि चलिरहेको शैक्षिक कार्यक्रमको निरीक्षण गरिरहनुभएको छ। (प्रेरि. १:७, ८; प्रका. १४:६) त्यसैले हामीले गरेको प्रयासलाई उहाँहरूले आशिष्‌ दिन सक्नुहुन्छ। उहाँहरूको त्यस्तो आशिष्‌ले गर्दा हामीले भनेका कुराले सोझो मन हुने मानिसहरूलाई सकारात्मक असर पार्न सक्छ। (यूह. ६:४४) जन्मजात क्षमता नभएकोले हामी सिकाउन त्यति सिपालु नहोऔंला। तर आफ्ना विद्यार्थीलाई निष्कपट प्रेम गर्छौं भने, त्यसले हाम्रो जस्तोसुकै कमी पूरा गर्न सक्छ। विद्यार्थीलाई प्रेम गर्नु कत्तिको महत्त्वपूर्ण छ, प्रेरित पावलले राम्ररी बुझेका थिए भनेर तिनले लेखेका कुराहरूबाट हामी बुझ्न सक्छौं।—१ थिस्सलोनिकी २:७, ८ पढ्‌नुहोस्‌।

१७. हामी कसरी हरेक बाइबल विद्यार्थीमा निष्कपट चासो लिन सक्छौं?

१७ त्यसैगरि, हाम्रा हरेक विद्यार्थीलाई राम्ररी चिन्‍ने कोसिस गरेर हामी निष्कपट चासो प्रकट गर्न सक्छौं। बाइबल अध्ययन गर्दै जाँदा, हुन सक्छ हामीले तिनको परिस्थिति बुझ्दै जानेछौं। बाइबल पढेर सिकेका कुराहरूमध्ये केही व्यवहारमा उतार्न थालेका पनि सायद हामी देख्नेछौं। तर कुनै-कुनै क्षेत्रमा भने तिनले अझै परिवर्तन गर्नुपर्ने खाँचो होला। यस्तो बेला, बाइबल अध्ययन गरेर सिकेका जानकारीहरू कसरी व्यक्‍तिगत तवरमा लागू हुन्छ भनेर विद्यार्थीलाई बुझाएर हामी तिनलाई ख्रीष्टको साँचो चेला बन्‍न मायालु ढंगले मदत गर्न सक्छौं।

१८. हाम्रा विद्यार्थीसित मिलेर प्रार्थना गर्नु अनि प्रार्थना गर्दा तिनको निम्ति बिन्ती गर्नु किन महत्त्वपूर्ण छ?

१८ विद्यार्थीसित मिलेर प्रार्थना गर्नु अनि प्रार्थना गर्दा विद्यार्थीको निम्ति बिन्ती गर्नु हामीले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तिनले आफ्नो सृष्टिकर्तालाई अझ राम्ररी चिनेको, उहाँसित घनिष्ठ भएको अनि उहाँले दिने निर्देशनबाट लाभ उठाएको हामी चाहन्छौं भनेर विद्यार्थीले बुझेको हुनुपर्छ। (भजन २५:४, ५ पढ्‌नुहोस्‌।) यसबाहेक, सिकेको कुरा पालन गर्न विद्यार्थीले गरिरहेको कोसिसमाथि आशिष्‌ दिनुहोस्‌ भनेर प्रार्थना गऱ्‍यौं भने हाम्रो विद्यार्थीले ‘वचन पालन गर्ने’ व्यक्‍ति हुनु कत्तिको महत्त्वपूर्ण रहेछ भनेर बुझ्नेछन्‌। (याकू. १:२२) अनि हाम्रो निष्कपट प्रार्थना सुनेर विद्यार्थीले प्रार्थना गर्ने तरिका पनि सिक्नेछन्‌। साँच्चै, यसरी हाम्रा बाइबल विद्यार्थी आफैलाई यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्न मदत गर्न पाउँदा हामीलाई कत्ति आनन्द लाग्नेछ!

१९. अर्को लेखमा के छलफल गरिनेछ?

१९ सोझा मन हुने मानिसहरूलाई येशूले आज्ञा गर्नुभएका सबै कुरा सिकाउन अहिले संसारभरि ६० लाखभन्दा धेरै साक्षीहरू “शिक्षा” दिन अझ सिपालु हुने कोसिस गरिरहेका छन्‌। हामी निश्‍चय पनि यस्तो प्रयास देखेर प्रोत्साहित हुन्छौं। तर हाम्रो प्रचारकार्यले गर्दा कस्ता नतिजा हासिल भइरहेका छन्‌ त? यस प्रश्‍नको जवाफ अर्को लेखमा छलफल गरिनेछ। (w 08 1/15)

के तपाईंलाई याद छ?

• मसीहीहरूले “शिक्षा” दिन अझ सिपालु हुने कोसिस किन गर्नुपर्छ?

• हामी कसरी आफ्नो शिक्षालाई अझ प्रभावकारी बनाउन सक्छौं?

• हामीसित जन्मजात क्षमता नभए तापनि कुन कुराले हाम्रो कमी पूरा गर्न सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

के तपाईंले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिइसक्नुभयो?

[पृष्ठ १४-मा भएको चित्र]

विद्यार्थीलाई बाइबलबाटै पढ्‌न लगाउनु किन महत्त्वपूर्ण छ?

[पृष्ठ १६-मा भएको चित्र]

विद्यार्थीसित मिलेर प्रार्थना गर्नुहोस्‌ र तिनको निम्ति पनि बिन्ती गर्नुहोस्‌