सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनका पानीहरूका फोहोरासम्म डोऱ्‍याइन योग्य गनिएका

जीवनका पानीहरूका फोहोरासम्म डोऱ्‍याइन योग्य गनिएका

जीवनका पानीहरूका फोहोरासम्म डोऱ्‍याइन योग्य गनिएका

“थुमा तिनीहरूका रखवाला हुनुहुनेछ, र तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानुहुनेछ।”—प्रका. ७:१७.

१. परमेश्‍वरको वचनले अभिषिक्‍त मसीहीहरूलाई के भनेर चिनाउँछ र येशूले तिनीहरूलाई के जिम्मेवारी सुम्पनुभयो?

 पृथ्वीमा ख्रीष्टका सम्पत्तिको रेखदेख गरिरहेका अभिषिक्‍ति मसीहीहरूलाई “विश्‍वासी र बुद्धिमान्‌ दास” भनी परमेश्‍वरको वचनले चिनाउँछ। सन्‌ १९१८ मा ख्रीष्टले उक्‍त “दास[को]” निरीक्षण गर्दा पृथ्वीमा रहेका ती अभिषिक्‍त जनहरूले विश्‍वासीपूर्वक “ठीक-ठीक समयमा” आध्यात्मिक भोजन दिइरहेका भेट्टाउनुभयो। त्यसैले, त्यसपछि मालिक येशूले खुसी भई तिनीहरूलाई आफ्नो “सारा सम्पत्तिमाथि” नियुक्‍त गर्नुभयो। (मत्ती २४:४५-४७ पढ्‌नुहोस्‌।) यसप्रकार, अभिषिक्‍त जनहरूले स्वर्गमा आफ्नो उत्तराधिकार प्राप्त गर्नुअघि, पृथ्वीमा यहोवाका अन्य उपासकहरूको सेवा गर्छन्‌।

२. येशूको सम्पत्तिबारे बताउनुहोस्‌।

आफ्नो सम्पत्तिमा मालिकको पूरा अधिकार हुन्छ र तिनले त्यो चाहेअनुसार प्रयोग गर्न सक्छन्‌। यहोवाको शासनारूढ राजा येशू ख्रीष्टको सम्पत्तिमा परमेश्‍वरको राज्यसम्बन्धी पृथ्वीका सम्पूर्ण गतिविधि समावेश छ। त्यसमा प्रेरित यूहन्‍नाले दर्शनमा देखेका “ठूलो भीड” पनि पर्छ। त्यो ठूलो भीडको वर्णन यूहन्‍ना यसरी गर्छन्‌: “हेर, कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा-भाषाहरूको एक ठूलो भीड, सिंहासन र थुमाको अगाडि सेता लुगा लगाएर हातमा खजूरका हाँगाहरू लिएर उभिरहेका” छन्‌।—प्रका. ७:९.

३, ४. कुन अर्थमा ठूला भीडकाहरूले राम्रो सुअवसर पाएका छन्‌?

त्यो ठूलो भीडका सदस्यहरू येशूले बताउनुभएको उहाँका “अरू भेडा[मध्येका]” हुन्‌। (यूह. १०:१६) तिनीहरू सुन्दर बगैंचारूपी पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्छन्‌। तिनीहरू विश्‍वस्त छन्‌, येशूले “तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानुहुनेछ” र “परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” यही आशामा तिनीहरूले “आफ्ना-आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।” (प्रका. ७:१४, १७) तिनीहरू येशूको बलिदानमा विश्‍वास गर्छन्‌ र यसरी परमेश्‍वरको नजरमा तिनीहरूका ‘लुगा सेता’ छन्‌। तिनीहरू अब्राहामजस्तै परमेश्‍वरको मित्र कहलिएर धर्मी ठहरिएका छन्‌।

त्यसबाहेक, अरू भेडाको बढ्‌दो ठूलो भीडलाई परमेश्‍वरले धर्मी ठहराउनु भएकोले महासंकष्टमा यस रीतिरिवाजको विनाश हुँदा तिनीहरूले बच्ने आशा राख्न सक्छन्‌। (याकू. २:२३-२६) तिनीहरू यहोवाको नजिक आउन सक्छन्‌। साथै, सामूहिक रूपमा आरमागेडोनको युद्धबाट बच्ने अद्‌भुत प्रत्याशा राख्न सक्छन्‌। (याकू. ४:८; प्रका. ७:१५) तिनीहरू स्वतन्त्र भएर आफ्नै तालले काम गर्दैनन्‌ तर स्वर्गीय राजा र पृथ्वीमा रहेका उहाँका अभिषिक्‍त भाइहरूको निर्देशनमा राजीखुसी सेवा गर्छन्‌।

५. ठूलो भीडकाहरूले कसरी ख्रीष्टका अभिषिक्‍त भाइहरूलाई सहयोग गर्छन्‌?

अभिषिक्‍त मसीहीहरूले शैतानको संसारबाट तीव्र सतावट भोगेका छन्‌ र अझै भोग्नेछन्‌। तैपनि, तिनीहरू ठूलो भीडका सहयोगीहरूबाट पाउने समर्थनमा भर पर्न सक्छन्‌। अभिषिक्‍त मसीहीहरू अहिले कम संख्यामा छन्‌ भने ठूलो भीडचाहिं वर्षेनी लाखौंको संख्यामा बढिरहेको छ। संसारभरि लगभग एक लाख मसीही मण्डली छन्‌ र ती प्रत्येक मण्डलीलाई अभिषिक्‍त मसीहीहरू आफैले मात्र रेखदेख गर्न सक्दैनन्‌। त्यसैले, अरू भेडाले अभिषिक्‍त जनहरूलाई सहयोग गर्ने एउटा पक्ष भनेको ठूलो भीडका योग्य पुरुषहरूले मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्नु हो। तिनीहरूले अहिले “विश्‍वासी र बुद्धिमान्‌ दास[लाई]” सुम्पिएको लाखौं मसीहीहरूको हेरचाह गर्ने काममा मदत पुऱ्‍याउँछन्‌।

६. अभिषिक्‍त मसीहीहरूलाई अरू भेडाका सहयोगीहरूले सहयोग गर्ने कुरा कसरी भविष्यवाणी गरिएको थियो?

अभिषिक्‍त मसीहीहरूलाई अरू भेडाका सहयोगीहरूले स्वेच्छापूर्वक सहयोग गर्नेछन्‌ भनी अगमवक्‍ता यशैयाले भविष्यवाणी गरेका थिए। उनले यस्तो लेखे: “परमप्रभु यसो भन्‍नुहुन्छ, ‘मिश्र देशको परिश्रम [“ज्यालाबिनाको मजदूर,” NW], कूश देशको व्यापार, र ठूला कदका सवाई जातिहरू तेरो तर्फमा आउनेछन्‌, र ती तेरा हुनेछन्‌। तिनीहरू तेरा पछिपछि जानेछन्‌।” (यशै. ४५:१४) पृथ्वीमा बाँच्ने आशा भएका मसीहीहरू अहिले अभिषिक्‍त दास वर्ग र यसको परिचालक निकायको नेतृत्व पछ्याएर प्रतीकात्मक अर्थमा तिनीहरूको पछि-पछि हिंड्‌छन्‌। ख्रीष्टले पृथ्वीमा रहेका आफ्ना अभिषिक्‍त अनुयायीहरूलाई खटाएको विश्‍वव्यापी प्रचारकार्यको समर्थनमा अरू भेडाले “ज्यालाबिनाको मजदूरको” हैसियतमा स्वेच्छापूर्वक र तनमनले आफ्नो शक्‍ति र स्रोतसाधन खर्च गर्छन्‌।—प्रेरि. १:८; प्रका. १२:१७.

७. ठूलो भीडलाई केका लागि प्रशिक्षण दिइँदैछ?

अभिषिक्‍त भाइहरूलाई सहयोग दिंदा ठूलो भीडका सदस्यहरूले आरमागेडोनपछि हुने नयाँ मानव समाजको जग बन्‍न प्रशिक्षण पाइरहेका हुन्छन्‌। त्यो जग बलियो र स्थिर हुनै पर्छ र यसका सदस्यहरू मालिक येशूको निर्देशन पालना गर्न इच्छुक र सक्षम हुनु आवश्‍यक छ। राजा येशूद्वारा प्रयोग गरिन योग्य छु भनी देखाउन यी प्रत्येक सदस्यलाई मौका दिइँदैछ। यिनीहरूले अहिले विश्‍वास र वफादारिता देखाउँदा, नयाँ संसारमा पनि राजाका निर्देशनहरू स्वेच्छापूर्वक पालना गर्नेछन्‌ भनी देखाइरहेका हुन्छन्‌।

ठूलो भीडले आफ्नो विश्‍वासको प्रमाण दिन्छ

८, ९. ठूलो भीडकाहरूले कसरी आफ्नो विश्‍वासको प्रमाण दिंदैछन्‌?

अभिषिक्‍त मसीहीहरूको मण्डलीका अरू भेडाका सहयोगीहरूले विभिन्‍न तरिकामा आफ्नो विश्‍वासको प्रमाण दिन्छन्‌। प्रथमतः, तिनीहरूले अभिषिक्‍त जनहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्ने काममा सहयोग गर्छन्‌। (मत्ती २४:१४; २८:१९, २०) दोस्रो, तिनीहरू परिचालक निकायको निर्देशनको अधीनमा स्वेच्छाले बस्छन्‌।—हिब्रू १३:१७; जकरिया ८:२३ पढ्‌नुहोस्‌।

तेस्रो, ठूलो भीडका सदस्यहरूले यहोवाको धार्मिक सिद्धान्तअनुरूप जीवन बिताएर अभिषिक्‍त भाइहरूलाई सहयोग गर्छन्‌। तिनीहरू “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम” खेती गर्ने प्रयास गर्छन्‌। (गला. ५:२२, २३) अहिलेको समयमा, “शरीरका कामहरू” गर्नुको सट्टा यस्ता गुण देखाउनु धेरैलाई मन नपर्ला। तैपनि, ठूलो भीडका सदस्यहरू “व्यभिचार, अपवित्रता, लुच्च्याइँ, मूर्ति-पूजा, मन्त्र-तन्त्र, दुश्‍मनी, झैझगडा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डाह, मतवालीपन, भोजको मोज-मजा र यस्तै अरू” दुर्गुण त्याग्न कटिबद्ध छन्‌।—गला. ५:१९-२१.

१०. ठूलो भीडका सदस्यहरू के गर्न कटिबद्ध छन्‌?

१० हामी असिद्ध भएकोले आत्माका फल फलाउन, शरीरको कामलाई त्याग्न अनि शैतानको संसारबाट आउने दबाबको प्रतिरोध गर्न गाह्रो हुन सक्छ। तैपनि, येशूको अनुकरण गर्न कहिलेकाहीं चुक्दा, शारीरिक सीमितता र व्यक्‍तिगत कमजोरीले गर्दा निरुत्साहित भई विश्‍वासलाई कमजोर नपार्न वा यहोवाप्रतिको प्रेममा कमी आउन नदिन हामी कटिबद्ध छौं। हामीलाई थाह छ, यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ, मतलब ठूलो भीडलाई महा संकष्टबाट बचाउनुहुनेछ।

११. मसीहीहरूको विश्‍वास कमजोर पार्ने प्रयासमा शैतानले कस्ता चालहरू चालेको छ?

११ तरैपनि, हामी होसियार रहिरहन्छौं किनभने हामीलाई थाह छ, हाम्रो खास शत्रु शैतान हो र त्यसले सजिलै हरेस खाँदैन। (१ पत्रुस ५:८ पढ्‌नुहोस्‌।) त्यसले धर्मत्यागी र अरू मानिसलाई चलाएर हामीले लिइरहेको शिक्षा झूटो हो भनी हामीलाई विश्‍वास दिलाउने कोसिस गरेको छ। तर त्यसको यो चाल प्रायः विफल भएको छ। त्यस्तैगरि, कहिलेकाहीं सतावटले प्रचारकार्यलाई सुस्त बनाए तापनि वास्तवमा यसले सतावट भोग्नेहरूको विश्‍वासलाई अक्सर बलियो बनाएको छ। यसकारण हाम्रो विश्‍वास कमजोर पार्न सक्ने जस्तो शैतानलाई लागेको तरिकालाई त्यसले तीव्र रूपले चलाउँछ। हामी निरुत्साहित हुँदा त्यसले नाजायज फाइदा उठाउँछ। प्रथम शताब्दीका मसीहीहरूलाई यस खतराबारे सजग गराइएको थियो। तिनीहरूलाई यसो भनियो: “पापीहरूबाट उहाँको विरुद्धमा भएको यतिका विवादहरू सहनुहुने [ख्रीष्टलाई] विचार गर।” किन? ताकि ‘मन शिथिल भई तिमीहरू थाकेर नजाऊन्‌।’—हिब्रू १२:३.

१२. निरुत्साहित भएकाहरूलाई बाइबलको सल्लाहले कसरी बलियो बनाउँछ?

१२ यहोवाको सेवा गर्न छोडौं जस्तो के तपाईंलाई कहिल्यै लागेको छ? के तपाईंलाई कहिलेकाहीं आफू असफल भएको महसुस हुन्छ? यस्ता भावनाहरू तपाईंको मनमा आउँछ भने यी भावनाको फाइदा उठाएर शैतानले तपाईंलाई यहोवाको सेवा गर्नबाट नरोकोस्‌। गहन बाइबल अध्ययन, व्यग्र प्रार्थना, सभामा नियमित उपस्थिति अनि सँगी विश्‍वासीहरूसितको संगतिले तपाईंलाई बलियो बनाउनेछ र ‘मन शिथिल भई थाकेर नजान’ मदत गर्नेछ। यहोवाले उहाँको सेवा गर्नेहरूलाई फेरि बलियो बनाउने प्रतिज्ञा गर्नुभएको छ र उहाँको प्रतिज्ञामा हामी भरोसा राख्न सक्छौं। ( यशैया ४०:३०, ३१ पढ्‌नुहोस्‌।) तपाईंको ध्यान मसीही गतिविधिमा केन्द्रित गर्नुहोस्‌। समय खाने कुराहरूदेखि टाढै रहनुहोस्‌ र अरूलाई मदत गर्ने काममा ध्यान लगाउनुहोस्‌। त्यसो गर्दा, निरुत्साहको बावजूद सहनशील हुन बल पाउनुहुनेछ।—गला. ६:१, २.

महासंकष्ट पार गरेर नयाँ संसारमा प्रवेश

१३. आरमागेडोन जिउँदै पार गर्नेहरूले कस्तो काम गर्न पाउनेछन्‌?

१३ आरमागेडोनपछि, पुनरुत्थान भएका असंख्य अधर्मीहरूले यहोवाका मार्गहरूबारे सिक्नुपर्ने हुन्छ। (प्रेरि. २४:१५) तिनीहरूले येशूको छुटकाराको बलिदानबारे सिक्नुपर्नेछ। त्यसबाहेक, तिनीहरूलाई उक्‍त बलिदानबाट लाभ उठाउन त्यसमा विश्‍वास गर्न सिकाउनै पर्छ। तिनीहरूले झूटो धर्ममा आधारित पहिलाको विचारधारा र जीवनशैलीलाई त्याग्नुपर्नेछ। साँचो मसीहीहरूलाई चिनाउने नयाँ व्यक्‍तित्व धारण गर्न तिनीहरूले सिक्नै पर्छ। (एफि. ४:२२-२४; कल. ३:९, १०) हो, आरमागेडोन जिउँदै पार गर्ने अरू भेडाका व्यक्‍तिहरूले गर्नुपर्ने काम धेरै हुनेछ। वर्तमान दुष्ट संसारको दबाब र अल्मलाउने कुराबाट मुक्‍त भएर यहोवालाई त्यस्तो सेवा चढाउन पाउनु कत्ति आनन्ददायी!

१४, १५. महासंकष्टबाट बचेका र पुनरुत्थान भएका धर्मी जनहरूबीच कस्तो कुराकानी हुनेछ, बताउनुहोस्‌।

१४ येशूले पृथ्वीमा सेवकाई थाल्नुअघि मरेका विश्‍वासी सेवकहरूले पनि त्यतिबेला धेरै कुरा सिक्नुपर्नेछ। तिनीहरूले प्रतिज्ञा गरिएका मसीह को हुन्‌ भनी जान्‍नेछन्‌ जसको तिनीहरूले आशा गरेका थिए तर भेट्‌न भने पाएका थिएनन्‌। तिनीहरूले पहिलाको जीवनमा नै यहोवाद्वारा सिकाइन आफू इच्छुक भएको संकेत दिइसकेका थिए। कल्पना गर्नुहोस्‌ त, तिनीहरूलाई मदत दिन पाउनु कत्ति आनन्द र सुअवसरको कुरा हो! उदाहरणको लागि, दानियललाई उनैले लेखेको तर बुझ्न नसकेका भविष्यवाणीहरूको पूर्तिबारे बताउन पाउनु!—दानि. १२:८, ९.

१५ हो, पुनरुत्थान भएकाहरूले हामीबाट सिक्नुपर्ने कुरा धेरै भए तापनि हामीसित पनि तिनीहरूलाई सोध्ने प्रश्‍न थुप्रै छन्‌। तिनीहरूले हामीलाई बाइबलमा उल्लेख गरिएका तर विस्तृत वर्णन नगरिएका घटनाहरूको बेलिबिस्तार लगाउन सक्छन्‌। सोच्नुहोस्‌ त! येशूबारे बाइबलमा नबताइएका थुप्रै कुरा उहाँका आफन्त बप्तिस्मा दिने यूहन्‍नाबाट सुन्‍न पाउनु कत्ति रोमाञ्चकारी हुनेछ! यस्ता विश्‍वासी साक्षीहरूबाट प्रत्यक्ष सिक्न पाउँदा परमेश्‍वरको वचनलाई हामीले अवश्‍यै अहिलेभन्दा बढी बुझ्नेछौं। अन्तको समयको दौडान मर्ने ठूलो भीडका व्यक्‍तिहरू लगायत पहिल्यै मरिसकेका विश्‍वासी सेवकहरूको “उत्तम पुनरुत्थान” हुनेछ। तिनीहरूले शैतानको अधीनमा परेको संसारमा यहोवाको सेवा गर्न सुरु गरेका थिए। नयाँ संसारको एकदमै अनुकूल परिस्थितिमा रहेर परमेश्‍वरको सेवालाई निरन्तरता दिन पाउनु तिनीहरूका लागि कत्ति आनन्ददायी हुनेछ!—हिब्रू ११:३५; १ यूह. ५:१९.

१६. भविष्यवाणीअनुसार न्यायको दिनको घटनाक्रम कस्तो हुनेछ?

१६ न्यायको दिनको दौडान कुनै न कुनै समयमा पुस्तकहरू खोलिनेछ। बाइबलको साथसाथै ती पुस्तकहरूको आधारमा सबै जीवितहरू अनन्त जीवन पाउन योग्यका छन्‌/छैनन्‌ भनेर निर्णय गरिनेछ। (प्रकाश २०:१२, १३ पढ्‌नुहोस्‌।) न्यायको दिनको अन्तसम्ममा, प्रत्येक व्यक्‍तिले ब्रह्‍माण्डको सार्वभौमिकताको विवादमा तिनी कसको पक्षमा छन्‌ भनी देखाउने प्रशस्त मौका पाइसकेका हुनेछन्‌। के तिनले परमेश्‍वरको राज्यको अधीनमा बसेर “पानीहरूको फोहोरासम्म” पुऱ्‍याउने थुमाको डोऱ्‍याइ स्वीकार्नेछन्‌? वा परमेश्‍वरको राज्यको अधीनमा बस्न इन्कार गरेर विरोध गर्नेछन्‌? (प्रका. ७:१७; यशै. ६५:२०) त्यतिन्जेल, पृथ्वीमा भएका सबैले व्यक्‍तिगत निर्णय गर्ने अवसर पाइसकेको हुनेछ र त्यतिबेला जन्मजात पाप वा दुष्ट वातावरणको कुनै प्रभाव हुनेछैन। कसैले पनि यहोवाको अन्तिम न्यायको वैधतामाथि प्रश्‍न उठाउन सक्नेछैन। दुष्टहरू मात्र सदाको लागि नाश हुनेछन्‌।—प्रका. २०:१४, १५.

१७, १८. कस्तो आनन्दित प्रत्याशा लिएर अभिषिक्‍त मसीहीहरू र अरू भेडाले न्यायको दिनलाई हेर्छन्‌?

१७ परमेश्‍वरको राज्य प्राप्त गर्न योग्य गनिएका अभिषिक्‍ति मसीहीहरू न्यायको दिनको दौडान शासन गर्न उत्सुकतासाथ बाटो हेर्छन्‌। तिनीहरूले कस्तो महान्‌ सुअवसर पाउनेछन्‌! यही आशाले गर्दा तिनीहरू पत्रुसले प्रथम शताब्दीका भाइहरूलाई दिएको यो सल्लाह पालन गर्न उत्प्रेरित हुन्छन्‌: “तिमीहरूको बोलावट र चुनाव निश्‍चय गर्नलाई बढ्‌ता प्रयत्न गर। किनकि यी कुरा गरेमा तिमीहरू कहिल्यै ठेस खानेछैनौ। किनभने यसरी हाम्रा प्रभु र मुक्‍तिदाता येशू ख्रीष्टको अनन्त राज्यभित्र तिमीहरूलाई प्रशस्त गरी प्रवेश मिल्नेछ।”—२ पत्रु. १:१०, ११.

१८ आफ्ना अभिषिक्‍त भाइहरूले त्यस्तो आशा पाएकोमा अरू भेडाका व्यक्‍तिहरू रमाउँछन्‌। तिनीहरू अभिषिक्‍त भाइहरूलाई सहयोग गर्न कटिबद्ध छन्‌। आज तिनीहरू परमेश्‍वरका मित्रको हैसियतमा परमेश्‍वरको सेवा तनमनले गर्न उत्प्रेरित छन्‌। न्यायको दिनको दौडान येशूले तिनीहरूलाई जीवनका पानीहरूको फोहोरासम्म डोऱ्‍याउनुहुँदा परमेश्‍वरका प्रबन्धहरूलाई तनमनले समर्थन गर्न तिनीहरू खुसी हुनेछन्‌। त्यसपछि अन्तमा तिनीहरू सदाका लागि पृथ्वीमा यहोवाका सेवक कहलिन योग्य गनिनेछन्‌!—रोमी ८:२०, २१; प्रका. २१:१-७. (w 08 1/15)

के तपाईंले सम्झनुभएको छ?

• येशूको सम्पत्तिमा के-के समावेश छन्‌?

• ठूलो भीडकाहरूले आफ्ना अभिषिक्‍ति भाइहरूलाई कसरी सहयोग गर्छन्‌?

• ठूलो भीडकाहरूले कस्ता सुअवसर र प्रत्याशा पाउँछन्‌?

• न्यायको दिनलाई तपाईं कसरी हेर्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको चित्र]

ठूलो भीडका व्यक्‍तिहरूले थुमाको रगतमा आफ्ना लुगा धोएर सेता बनाएका छन्‌

[पृष्ठ २७-मा भएको चित्र]

पुनरुत्थान हुने विश्‍वासी जनहरूबाट तपाईं के सिक्ने आशा गर्नुहुन्छ?