सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘प्रभुमा पाएको सेवा पूरा गर्नलाई होसियार हुनुहोस्‌’

‘प्रभुमा पाएको सेवा पूरा गर्नलाई होसियार हुनुहोस्‌’

‘प्रभुमा पाएको सेवा पूरा गर्नलाई होसियार हुनुहोस्‌’

“तिमीले प्रभुमा जुन सेवा पाएका छौ, त्यो पूरा गर्नलाई होशियार रहनू।”—कल. ४:१७.

१, २. मानिसहरूप्रति हाम्रो के दायित्व छ?

 वरपरका मानिसहरूलाई राज्यको सन्देश सुनाउने हाम्रो गम्भीर दायित्व छ। किनभने, हाम्रो सन्देशप्रति उनीहरूले देखाउने प्रतिक्रियाले उनीहरू ‘महा सङ्‌कष्टमा’ बाँच्ने हुन्‌ कि होइनन्‌ निधो गर्छ। (प्रका. ७:१४) हाम्रो यस जिम्मेवारीको गम्भीरतालाई जोड दिंदै हितोपदेशको पुस्तकका प्रेरित लेखकले यस्तो सशक्‍त वचन लेखे: “मार्नलाई लगिएकाहरूलाई बचा, मारकाटतिर ढुनमुनिरहेकाहरूलाई रोक्‌।” मानिसहरूलाई उनीहरूले गर्न सक्ने छनौटबारे चेतावनी दिएनौं भने हामी रक्‍तदोषी हुन सक्छौं। सोही पदको बाँकी अंशमा यस्तो लेखिएको छ: “यदि तँ भन्छस्‌, ‘हामीलाई त यसबारे केही थाहै भएन,’ के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्याल राख्नुहुन्‍न र? तेरो जीवन रक्षा गर्नुहुनेलाई यो कुरा थाह हुँदैन र? के उहाँले हरेक व्यक्‍तिलाई त्यसको कामअनुसार बदला दिनुहुन्‍न र?” कुरा स्पष्ट छ, मानिसहरूमाथि आइपर्ने खतराबारे “केही थाहै भएन” भनेर यहोवाका सेवकहरूले कदापि भन्‍न सक्दैनन्‌।—हितो. २४:११, १२, NRV.

यहोवा जीवनलाई अनमोल ठान्‍नुहुन्छ। त्यसैले आफ्ना सेवकहरूलाई धेरैभन्दा धेरैको जीवन जोगाउन उहाँले अह्राउनुभएको छ। परमेश्‍वरका प्रत्येक सेवकले उहाँको वचनमा पाइने जीवनरक्षक सन्देश अरूलाई बताउनैपर्छ। हाम्रो काम, खतरा देख्नेबित्तिकै पहरेदारले जस्तै ‘होसियार!’ भनेर चेतावनी दिनु हो। हामी अरूको मृत्युको दोषी हुन चाहँदैनौं। (इज. ३३:१-७) त्यसकारण, हामीले निरन्तर ‘वचन प्रचार गरिरहनु’ कत्ति महत्त्वपूर्ण छ, वर्णन गरेर साध्य छैन!—२ तिमोथी ४:१, २,  पढ्‌नुहोस्‌।

३. यो अनि यसपछिका दुइटा लेखमा कुन-कुन विषयमा छलफल गरिनेछ?

जीवन बचाउने हाम्रो काममा आइपर्ने अड्‌चन कसरी पार गर्ने र सकेजति धेरै मानिसलाई कसरी मदत गर्ने, यस लेखमा तपाईंले सिक्नुहुनेछ। यसपछिको लेखले, परमेश्‍वरको वचनको सिपालु शिक्षक बन्‍न तपाईंलाई मदत गर्नेछ। तेस्रो अध्ययन लेखमा भने विश्‍वभरिका राज्य प्रचारकहरूको केही प्रोत्साहनदायी रिपोर्ट पाउनुहुनेछ। तर यी विषयमा छलफल थाल्नुअघि अहिले हाम्रो समय किन यत्तिबिघ्न कठिन छ, त्यसका केही कारण विचार गरौं।

किन थुप्रै आशाविहीन छन्‌

४, ५. मानिसजातिले के अनुभव गरिरहेका छन्‌ र थुप्रै कुन हालतमा पुगेका छन्‌?

हामी “जगत्‌को अन्तको” समयमा बाँचिरहेका छौं र अन्त धेरै नजिक छ भनेर विश्‍व परिस्थितिले संकेत गरिरहेको छ। ‘आखिरी दिनबारे’ येशू र उहाँका चेलाहरूले बताएको यस्ता घटना अनि अवस्था अहिले मानिसजातिले अनुभव गरिरहेका छन्‌: युद्ध, अनिकाल, भुँइचालो अनि अन्य विपत्ति र महामारीलगायत अनगिन्ती “कष्ट,” अधर्मी, स्वार्थी अनि अभक्‍त मानिसहरूको बिगबिगी। बाइबलको स्तरअनुसार जीवन बिताउन खोज्ने मानिसहरूले समेत ‘आखिरी दिनमा डरलाग्दो समयको’ अनुभव गरिरहेका छन्‌।—मत्ती २४:३, ६-८, १२; २ति ३:१-५.

तर प्रायजसो मानिसजातिलाई यस्ता घटनाहरूको वास्तविक कारण थाह छैन। त्यसैले, आफ्नो अनि परिवारको सुरक्षाबारे धेरै जना चिन्तित छन्‌। प्रिय व्यक्‍तिको मृत्यु वा अरू व्यक्‍तिगत समस्याले गर्दा थुप्रैले अथाह पीडा खपिरहेका छन्‌। यी सब किन हुँदैछन्‌, त्यसको सही ज्ञान अनि सही समाधान नबुझेकोले मानिसहरू आशाविहीन भएका छन्‌।—एफि. २:१२.

६. ‘महान्‌ बेबिलोनले’ आफ्ना अनुयायीहरूलाई किन मदत गर्न सकेकी छैन?

झूटो धर्मको विश्‍व-साम्राज्य ‘महान्‌ बेबिलोनले’ मानिसजातिलाई सान्त्वना दिन सकेकी छैन। बरु उल्टै आफ्नो “व्यभिचारको मद्य” पिउन लाएर त्यसले मानिसहरूलाई आध्यात्मिक तवरमा रनभुल्लमा पारेकी छे। यसबाहेक, ‘पृथ्वीका राजाहरूलाई’ वेश्‍याले जस्तै मोहित पारेर त्यसले आफ्नो नियन्त्रणमा राखेकी छे। त्यसका झूटा शिक्षा र तन्त्रमन्त्रको पासोमा परेर संसारका धेरैजसो मानिस चूपचाप आफ्नो नेता वा सरकारको अधीनमा बसिरहेका छन्‌। यसरी झूटो धर्म शक्‍तिशाली र अरूमाथि नियन्त्रण जमाउन सफल भएकी छे। महान्‌ बेबिलोनले धार्मिक सत्यलाई पूर्णतया इन्कार गरेकी छे।—प्रका. १७:१, २, ५; १८:२३.

७. प्रायजसो मानिसहरू कतातिर लम्किरहेका छन्‌ तर कसै-कसैलाई कसरी मदत गर्न सकिन्छ?

धेरैजसो मानिसहरू विनाशतर्फ लैजाने फराकिलो बाटोमा हिंडिरहेका छन्‌ भनेर येशूले सिकाउनुभयो। (मत्ती ७:१३, १४) कोही-कोही जानाजानी बाइबलको शिक्षालाई तिरस्कार गरेर फराकिलो बाटोमा हिंडिरहेका छन्‌ भने कतिपयचाहिं यहोवा वास्तवमा के चाहनुहुन्छ त्यसबारे धर्मगुरुहरूले सही कुरा नबताएकोले अन्धकारमा परेका छन्‌ र अन्जानमै त्यो फराकिलो बाटोमा हिंडिरहेका छन्‌। बाइबलबाट स्पष्ट जानकारी पाएपछि यीमध्ये केहीले आफ्नो जीवनशैली परिवर्तन गर्न सक्छन्‌। तर महान्‌ बेबिलोनमै रम्न चाहने अनि बाइबलको स्तर विपरीत चल्न नछोड्‌ने जति ‘महा सङ्‌कष्टबाट’ बच्ने छैनन्‌।—प्रका. ७:१४.

सुसमाचार प्रचार गर्न ‘बन्द नगर्नुहोस्‌’

८, ९. विरोध आइपर्दा प्रथम शताब्दीका चेलाहरूले के गरे अनि किन?

आफ्ना चेलाहरूले सुसमाचार प्रचार गर्नेछन्‌ र चेला बनाउनेछन्‌ भनेर येशूले बताउनुभएको थियो। (मत्ती २८:१९, २०) प्रचारकार्यमा भाग लिनु यहोवाप्रति वफादार हुनु अनि आफ्नो विश्‍वास प्रदर्शन गर्ने आधारभूत माध्यम हो भन्‍ने दृष्टिकोण साँचो मसीहीहरूले सधैं कायम राखेका छन्‌। त्यसकारण, प्रथम शताब्दीका चेलाहरूले विरोधको मुखमा समेत निरन्तर प्रचार गरिरहे। तिनीहरू यहोवामाथि भर परे अनि “बिलकुल निर्भयतामा तपाईंको वचन बोल्नदिनुहोस्‌,” भनेर उहाँलाई प्रार्थना गरे। अनि जवाफमा यहोवाले पवित्र आत्मा दिनुभयो। फलतः तिनीहरूले निर्भयी भई यहोवाको वचन बोल्न सके।—प्रेरि. ४:१८, २९, ३१.

तर विरोधले हिंसात्मक रूप लिंदा के येशूका चेलाहरूले उहाँको आदेशअनुसार सुसमाचार प्रचार गरे? पक्कै गरे। घोर विरोधको बावजुद प्रेरितहरूले प्रचार गरिरहेको देखेर यहूदी धार्मिक नेताहरू चिढिए, उनीहरूलाई गिरफ्तार गरे, धम्की दिए अनि बेस्सरी चुटे। तैपनि प्रेरितहरूले “येशूनै ख्रीष्ट हुन्‌ भन्‍ने सुसमाचार सुनाउन बन्द गरेनन्‌।” हो, “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ” भन्‍ने कुरा तिनीहरूले राम्ररी बुझेका थिए।—प्रेरि. ५:२८, २९, ४०-४२.

१०. आज मसीहीहरूले के-कस्ता चुनौती सामना गर्छन्‌ तैपनि तिनीहरूको असल आचरणले गर्दा कस्तो नतिजा प्राप्त हुन सक्छ?

१० अहिले यहोवाका प्रायजसो सेवकहरूले प्रचार गरेकोले कुटाइ खानुपरेको वा थुनिनु परेको छैन। तैपनि सबै साँचो मसीहीले कुनै न कुनै परीक्षा र प्रलोभनको सामना गरिरहेका छन्‌। जस्तै: बाइबल-प्रशिक्षित अन्तस्करणले गर्दा तपाईंले आफ्नो आनीबानीमा गरेको सुधार मानिसहरूमाझ अलोकप्रिय हुन सक्छ। अथवा बाइबल सिद्धान्तअनुसार तपाईंले गर्ने निर्णयले गर्दा सहकर्मी, सहपाठी वा छिमेकीसामु तपाईं ‘कागको बीचमा बकुल्लोजस्तै’ देखिनुभएको होला। तिनीहरूको कुनै पनि नकारात्मक प्रतिक्रियाले गर्दा हतास नहुनुहोस्‌। यो संसार आध्यात्मिक अन्धकारमा परेको छ तर हामी मसीहीहरू ‘ज्योतिझैं’ चम्कनैपर्छ। (फिलि. २:१५) किनकि हाम्रो असल आचरण देखेर केही निष्कपट मानिसले हाम्रो असल कामको कदर अनि यहोवाको महिमा गर्न सक्छन्‌।—मत्ती ५:१६ पढ्‌नुहोस्‌।

११. (क) हामीले प्रचार गर्दा कसै-कसैले के व्यक्‍त गर्न सक्छन्‌? (ख) प्रेरित पावलले कस्तो विरोधको सामना गरे र यस्तो विरोध आए पनि के गर्न छाडेनन्‌?

११ राज्यको सुसमाचार प्रचार गरिरहन साहस चाहिन्छ। केही मानिसले र नातेदारले समेत खिसी गर्लान्‌ वा कुनै न कुनै तरिकामा निरुत्साहित पार्ने कोसिस गर्लान्‌। (मत्ती १०:३६) वफादार भई प्रचार गरेकै कारण प्रेरित पावलले पनि निकै पटक कुटाइ खाए। तर यस्तो विरोधको मुखमा समेत तिनले के गरे याद गर्नुहोस्‌: “अघाडि दुःख पाई बेइज्जती भोगेर पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बोल्नलाई, अति विरोधमा पनि, हाम्रा परमेश्‍वरमा हामी निर्भय रह्‍यौं।” (१ थिस्स. २:२) मानिसहरूले पावललाई समातेर लछारपछार गरे, लठ्ठीले कुटे अनि जेलमा कोचे। यी सबै सहेर पनि सुसमाचार प्रचार गरिरहन प्रेरित पावललाई पक्कै साहसी हुनुपरेको थियो। (प्रेरि. १६:१९-२४) उसोभए, के कारणले गर्दा तिनी निर्भयी भएर बोलिरहन सके? परमेश्‍वरले दिनुभएको प्रचार गर्ने जिम्मा पूरा गर्ने तीव्र इच्छाले गर्दा।—१ कोरि. ९:१६.

१२, १३. कसै-कसैले कस्तो समस्या भोगिरहेका छन्‌ र तिनीहरूले कसरी यस्ता समस्याको सामना गर्ने प्रयास गरिरहेका छन्‌?

१२ अक्सर मानिस घरमा नभेटिने इलाकामा वा राज्यसन्देश सुन्‍न चासो नदिने ठाउँहरूमा जोसिलो भई प्रचार गरिरहनु निकै गाह्रो हुन सक्छ। यस्तो बेला हामी के गर्न सक्छौं? यस्तो अवस्थामा कुरै-कुरामा अनौपचारिक ढंगले प्रचार गर्न हामी अझै साहसी हुनुपर्ने हुन सक्छ। साथै आफ्नो तालिका छाँटकाँट गरेर मानिसहरू अक्सर भेटिने समयमा अथवा धेरैभन्दा धेरै मानिस भेटिने ठाउँमा प्रचार गर्नुपर्ने हुन सक्छ।—तुलना गर्नुहोस्‌ यूहन्‍ना ४:७-१५; प्रेरित १६:१३; १७:१७.

१३ हाम्रा थुप्रै भाइबहिनीले भोग्नुपर्ने अर्को समस्या ढल्कँदो उमेर र कमजोर स्वास्थ्य हो। बुढेसकाल र रोगी शरीरले गर्दा उनीहरूले चाहे जति प्रचार गर्न सक्दैनन्‌। यदि तपाईं तीमध्ये हुनुहुन्छ भने हिम्मत नहार्नुहोस्‌। तपाईंको सीमितता यहोवालाई राम्ररी थाह छ र तपाईंले गरेको यथासक्दो सेवादेखि यहोवा प्रसन्‍न हुनुहुन्छ। (२ कोरिन्थी ८:१२ पढ्‌नुहोस्‌।) अतः विरोध, भावशून्यता वा कमजोर स्वास्थ्य—जुनसुकै समस्या भोग्नुपरे तापनि परिस्थितिले दिएसम्म सुसमाचार प्रचार गर्न बन्द नगर्नुहोस्‌।—हितो. ३:२७; तुलना गर्नुहोस्‌ मर्कूस १२:४१-४४.

‘सेवा पूरा गर्नलाई होसियार हुनुहोस्‌’

१४. प्रेरित पावलले सँगी मसीहीहरूको लागि कस्तो उदाहरण बसाले अनि तिनले कस्तो सल्लाह दिए?

१४ प्रेरित पावलले आफूलाई सुम्पिएको सेवाको काम लगनशील भई पूरा गरे र सँगी विश्‍वासीहरूलाई पनि त्यसै गर्न प्रोत्साहन दिए। (प्रेरि. २०:२०, २१; १ कोरि. ११:१) पावलबाट विशेष प्रोत्साहन पाउनेहरूमध्ये एक, प्रथम शताब्दीका अर्खिपस नाउँ गरेका मसीही हुन्‌। कलस्सीलाई पठाएको पत्रमा पावलले यस्तो लेखे: “ ‘तिमीले प्रभुमा जुन सेवा पाएका छौ, त्यो पूरा गर्नलाई होशियार रहनू’ भनी अर्खिपसलाई भनिदेओ।” (कल. ४:१७) अर्खिपस को हुन्‌ र तिनको परिस्थिति कस्तो थियो, हामीलाई थाह छैन। तर तिनले पक्कै पनि प्रचार गर्ने जिम्मा स्वीकारेको हुनुपर्छ। यदि तपाईं समर्पित मसीही हुनुहुन्छ भने तपाईंले पनि प्रचार गर्ने जिम्मा स्वीकार्नुभएको छ। के तपाईं आफूले पाएको सेवा पूरा गर्न सधैं होसियार रहनुहुन्छ?

१५. मसीही समर्पणको अर्थ के हो अनि हामीले आफैलाई कस्ता प्रश्‍न सोध्नुपर्छ?

१५ बप्तिस्मा लिनुअघि नै हामीले यहोवालाई हृदयदेखि प्रार्थना गरेर आफ्नो जीवन समर्पण गरिसक्यौं अर्थात्‌ यहोवाको इच्छा गर्न तत्पर छौं भनेर हामीले अठोट गरिसक्यौं। त्यसैले अब आफैलाई यस्तो प्रश्‍न सोध्नु बेस हुन्छ: ‘परमेश्‍वरको इच्छा पूरा गर्नु के वास्तवमै मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण भाग हो?’ परिवार पाल्नुलगायत हाम्रा विभिन्‍न गम्भीर जिम्मावारीहरू होलान्‌ जसलाई हामीले पूरा गरेको यहोवा चाहनुहुन्छ। (१ तिमो. ५:८) तर ती जिम्मेवारी पूरा गरेपछि बाँकी रहेको समय र शक्‍ति हामी कसरी प्रयोग गर्छौं? कुन कुराले हाम्रो जीवनमा प्राथमिकता पाइरहेको छ?—२ कोरिन्थी ५:१४, १५ पढ्‌नुहोस्‌।

१६, १७. किशोरकिशोरी वा थोरै जिम्मा हुने युवायुवती मसीहीहरूसामु कस्ता मौकाहरू छन्‌?

१६ के तपाईं समर्पित किशोर वा किशोरी मसीही हुनुहुन्छ? अनि के तपाईंको पढाइ सिद्धिसक्यो अथवा सिद्धिनै लागेको छ कि? सायद, तपाईंले अहिल्यै गम्भीर पारिवारिक जिम्मेवारी बोक्नुपर्दैन होला। त्यसोभए, तपाईंले के गर्ने योजना बनाउनुभएको छ? यहोवाको इच्छा पूरा गर्ने आफ्नो वाचा राम्ररी पूरा गर्न तपाईं के-कस्ता निर्णय गर्न सक्नुहुन्छ? थुप्रैले आफ्नो परिस्थिति काँटछाँट गरेर अग्रगामी सेवा गर्ने निर्णय गरेका छन्‌ र अग्रगामी सेवा गरेर निकै आनन्दित अनि सन्तुष्ट भएका छन्‌।—भज. ११०:३; उप. १२:१.

१७ के तपाईं वयस्क युवक वा युवती हुनुहुन्छ? अनि पूर्ण-समय जागिर खाइरहनुभएको छ कि? हुन सक्छ, आफ्नो पालनपोषण गर्नुबाहेक अरू धेरै जिम्मा तपाईंका नहोलान्‌। अनि पक्कै पनि समयले भ्याएसम्म मण्डलीका गतिविधिहरूमा भाग लिएर रमाइरहनुभएको होला। के तपाईंले आफ्नो मसीही सेवा विस्तार गरेर अझ धेरै आनन्दित हुने विचार गर्नुभएको छ? (भज. ३४:८; हितो. १०:२२) कुनै-कुनै इलाकामा जीवनदायी सत्य सन्देश पुऱ्‍याउन अझ थुप्रै काम गर्न बाँकी नै छ। उदाहरणका लागि, के तपाईं आफ्नो जीवनमा छाँटकाँट गरेर धेरै राज्य उद्‌घोषक चाहिएको ठाउँमा सेवा गर्न जान सक्नुहुन्छ?—१ तिमोथी ६:६-८ पढ्‌नुहोस्‌।

१८. भर्खरै विवाह गरेका युवा दम्पतीले कस्ता छाँटकाँट गरे र यसको परिणाम कस्तो भयो?

१८ अमेरिकाका केभिन र इलेना नाउँ गरेका युवक अनि युवतीलाई विचार गर्नुहोस्‌। a भर्खरै विवाह गर्ने अरू दौंतरीलाई जस्तै उनीहरूलाई पनि पहिले घर किन्‍नुपर्छ जस्तो लागेछ। दुवैको राम्रो जागिर भएकोले उनीहरूले आरामदायी जीवन बिताउने सक्थे। तर जागिरको व्यस्तता अनि घरायसी कामले गर्दा प्रचार जाने समय निकाल्न उनीहरूलाई गाह्रो परिरहेको थियो। आफ्नो सम्पूर्ण समय र शक्‍ति सरसम्पत्ति जोरजाम अनि हेरचाह गर्नमै खर्च भइरहेको छ भनेर तिनीहरूले महसुस गरे। साधारण जीवन बिताइरहेका अग्रगामी दम्पतीको सुखी जीवन देखेपछि केभिन र इलेनाले आफ्नो प्राथमिकता परिवर्तन गर्ने निधो गरे। यहोवाको निर्देशन मागेपछि तिनीहरूले आफ्नो घर बेचे र सानो फ्ल्याटमा बस्न थाले। इलेनाले थोरै घण्टा काम गर्न थालिन्‌ र अग्रगामी सेवा सुरु गरिन्‌। आफ्नी पत्नीले बटुलेको रमाइला अनुभवहरूबाट प्रोत्साहित भएर केभिनले पनि पूर्ण-समय जागिर छोडे र अग्रगामी सेवा गर्न थाले। केही समयपछि तिनीहरू राज्य प्रचारकहरूको आवश्‍यकता धेरै भएकोले दक्षिण अमेरिकामा बसाइँ सरे। “हामी पति-पत्नीको सम्बन्ध पहिले पनि निकै राम्रो थियो,” केभिन भन्छन्‌, “तर आध्यात्मिक लक्ष्यहरू राखेदेखि हामी झन्‌ धेरै आनन्दित अनि सन्तुष्ट भयौं।”—मत्ती ६:१९-२२ पढ्‌नुहोस्‌।

१९, २०. राज्यको सुसमाचार प्रचार गर्नु अहिले भइरहेका सम्पूर्ण काममध्ये सबैभन्दा महत्त्वपूर्ण काम किन हो?

१९ राज्यको सुसमाचार प्रचार गर्नु अहिले भइरहेका सम्पूर्ण काममध्ये सबैभन्दा महत्त्वपूर्ण काम हो। (प्रका. १४:६, ७) प्रचारकार्यले यहोवाको नाउँ पवित्र पार्ने काममा योगदान पुऱ्‍याउँछ। (मत्ती ६:९) प्रचारकार्यले गर्दा हरेक वर्ष हजारौं मानिसहरूले बाइबल सन्देश सुन्‍ने र त्यसलाई स्वीकारेर आफ्नो जीवनस्तर उकास्ने अनि मुक्‍ति पाउने मार्गमा हिंड्‌ने मौका पाइरहेका छन्‌। ‘प्रचार गर्ने नहुँदो हो त तिनीहरूले कसरी सुन्‍न सक्थे होलान्‌?’ (रोमी १०:१४, १५) हो, कसरी सुन्‍न पाउँथे होलान्‌? तसर्थ, आफ्नो सेवाको काम पूरा गर्न सम्भव भएजति सबै गर्ने अठोट गर्नुहोस्‌।

२० मानिसहरूलाई वर्तमान कठिन समयको महत्त्व अनि आफ्ना निर्णयहरूको नतिजा बुझाउन तपाईंले गर्न सक्ने अर्को काम सिपालु शिक्षक हुनु हो। हामी कसरी त्यस्तो शिक्षक बन्‍न सक्छौं, यसपछिको लेखमा छलफल गरिनेछ। (w08 1/15)

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• मानिसजातिप्रति मसीहीहरूको के दायित्व छ?

• प्रचारकार्यमा आइपर्ने अड्‌चनहरू हामी कसरी पार गर्न सक्छौं?

• आफूले स्वीकारेको सेवाको काम हामी कसरी पूरा गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

विरोधको मुखमा समेत प्रचार गर्न साहस चाहिन्छ

[पृष्ठ ११-मा भएको चित्र]

अक्सर मानिस घरमा नभेटिने इलाकामा प्रचार गर्दा तपाईं के गर्न सक्नुहुन्छ?