सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मत्तीको पुस्तकका विशेषताहरू

मत्तीको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

मत्तीको पुस्तकका विशेषताहरू

येशूको जीवन र सेवकाईको रोमाञ्चकारी विवरण लेख्ने पहिलो व्यक्‍ति मत्ती हुन्‌। कुनै समय कर उठाउने काम गरेका मत्ती येशू ख्रीष्टको नजिकका मित्र थिए। पहिला हिब्रूमा लेखिएको र पछि युनानीमा अनुवाद गरिएको मत्तीको सुसमाचारको पुस्तक इस्वी संवत्‌ ४१ तिर लेख्न सिध्याइएको थियो। यस पुस्तकले हिब्रू धर्मशास्त्र र मसीही युनानी धर्मशास्त्रबीच पुलको काम गर्छ।

खासगरि यहूदीहरूका लागि लेखिएको यस मन छुने र अर्थपूर्ण सुसमाचारको पुस्तकमा येशूलाई प्रतिज्ञा गरिएको मसीह र परमेश्‍वरको पुत्रको रूपमा चित्रण गरिएको छ। यसका सन्देशहरूमा गहिरिएर ध्यान दिंदा साँचो परमेश्‍वर, उहाँको पुत्र र परमेश्‍वरका प्रतिज्ञाहरूमाथिको हाम्रो विश्‍वास सुदृढ हुन्छ।—हिब्रू ४:१२.

“स्वर्गको राज्य नजीक आएको छ”

(मत्ती १:१–२०:३४)

परमेश्‍वरको राज्यको मूल विषय र येशूका शिक्षाहरूलाई प्रकाश पार्न मत्तीले विषयवस्तुलाई कालक्रमअनुसार प्रस्तुत गरेका छैनन्‌। उदाहरणको लागि, डाँडाको उपदेशको विवरण यस पुस्तकको सुरुतिर पाइन्छ तर वास्तवमा येशूले आफ्नो सेवकाईको बीचतिर मात्र यो उपदेश दिनुभएको थियो।

गालीलमा सेवकाईको दौडान येशूले चमत्कारहरू गर्नुभयो, १२ जना प्रेरितलाई सेवकाई सम्बन्धी निर्देशनहरू दिनुभयो, फरिसीहरूको निन्दा गर्नुभयो र परमेश्‍वरको राज्यको विभिन्‍न पक्षलाई प्रकाश पार्ने दृष्टान्तहरू बताउनुभयो। त्यसपछि उहाँ गालील छोडेर “यर्दनपारि यहूदाका सीमानातिर जानुभयो।” (मत्ती १९:१) जाँदै गर्दा येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: ‘हेर हामीहरू यरूशलेमतिर उक्लँदैछौं र मानिसको पुत्रलाई मृत्युदण्ड दिइनेछ र तेस्रो दिनमा उ बौरनेछ।’—मत्ती २०:१८, १९.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

३:१६—येशूले बप्तिस्मा लिनुहुँदा कुन अर्थमा ‘स्वर्ग उघ्रियो’? स्वर्ग उघ्रिनुको अर्थ पृथ्वीमा मानिसको रूपमा आउनुअघि स्वर्गमा बिताएको आफ्नो जीवनको सम्झना येशूलाई भएको हुन सक्छ।

५:२१, २२—के मनमा रीस गुम्साइ राख्नुभन्दा रीस पोखाउनु गम्भीर कुरा हो? आफ्नो भाइ विरुद्ध मनमा रीस गुम्साइ राख्ने व्यक्‍तिले गम्भीर पाप गरिरहेका हुन्छन्‌ भनी येशूले चेतावनी दिनुभयो। तथापि, रीसले आफ्नो भाइसित तुच्छ बोली बोल्नु अझै गम्भीर कुरा हो र त्यो व्यक्‍ति स्थानीय अदालतको नभई सर्वोच्च अदालतको योग्य हुन्छ।

५:४८—हामी ‘स्वर्गका पिता जस्तै सिद्ध हुनु’ के साँच्चै सम्भव छ? तुलनात्मक अर्थमा सम्भव छ। येशूले यहाँ प्रेमको विषयमा छलफल गर्दै हुनुहुन्थ्यो र उहाँले श्रोताहरूलाई परमेश्‍वरको अनुकरण गर्दै प्रेम देखाउनमा सिद्ध अर्थात्‌ पूर्ण होऊ भन्‍नुभयो। (मत्ती ५:४३-४७) कसरी? आफ्ना शत्रुलाई समेत प्रेम देखाएर।

७:१६—साँचो धर्म यसको “फलबाट” कसरी चिनिन्छ? यो फलमा हाम्रो आचरणभन्दा अझ धेरै कुरा समावेश छ। यसमा हाम्रो विश्‍वास अर्थात्‌ हामीले पालन गर्ने शिक्षाहरू पनि समावेश छन्‌।

१०:३४-३८—परिवारमा फुट पैदा हुँदा बाइबलको सन्देशलाई दोषी ठहऱ्‍याउन मिल्छ? अहँ, पटक्कै मिल्दैन। बरु, परिवारका गैर-साक्षी सदस्यहरूको अडानले गर्दा परिवारमा फुट आउन सक्छ। तिनीहरूले साँचो मसीहीधर्मलाई तिरस्कार गर्ने वा विरोध गर्ने गर्दा परिवारमा फुट आउन सक्छ।—लूका १२:५१-५३.

११:२-६—यहोवाले अनुमोदन व्यक्‍त गरेको यूहन्‍नाले सुनेको हुँदा येशू नै मसीह हुनुहुन्छ भनी तिनलाई थाह भइसकेको थियो। तैपनि तिनले येशूलाई “आउनेवाला चाहिं” तपाईंनै हुनुहुन्छ भनी सोध्नुको कारण के थियो? यो सोध्नुको कारण यूहन्‍नाले येशूको मुखबाटै सुन्‍न चाहेका हुन सक्छन्‌। यसबाहेक, राज्य शक्‍तिसहित “अर्को” कोही व्यक्‍ति आएर यहूदीहरूको सबै आशा पूरा गरिदिनेछ कि भनेर पनि यूहन्‍ना जान्‍न चाहन्थे। येशूको जवाफबाट उहाँपछि कोही उत्तराधिकारी हुनेछैन भनी स्पष्ट भयो।

१९:२८—इन्साफ गरिने “इस्राएलका बाह्र कुल[ले]” केलाई बुझाउँछ? यसले आत्मिक इस्राएलको १२ कुललाई बुझाउँदैन। (गला. ६:१६; प्रका. ७:४-८) येशूका प्रेरितहरू जससँग उहाँ कुरा गरिरहनुभएको थियो, तिनीहरू आत्मिक इस्राएलको भाग हुनेथिए, यसका सदस्यहरूको न्यायकर्ता हुने थिएनन्‌। येशूले तिनीहरूलाई ‘एउटा राज्यको लागि नियुक्‍त’ गर्नुभयो अर्थात्‌ एउटा राज्यको लागि करार बाँध्नुभयो र तिनीहरू “परमेश्‍वरको निम्ति राज्य र पूजाहारी हुने” थिए। (लूका २२:२८-३०; प्रका. ५:१०) आत्मिक इस्राएलका यी सदस्यहरूले “संसारको इन्साफ” गर्छन्‌। (१ कोरि. ६:२) “इस्राएलका बाह्र कुल[ले]” मानिसजातिको संसारलाई बुझाउँछ जसलाई स्वर्गको सिंहासनमा रहेकाहरूले इन्साफ गर्नेछन्‌ र यिनीहरूलाई प्रायश्‍चितको दिनमा राजकीय, पूजाहारीवर्ग बाहिरको गैर-पूजाहारी १२ कुलले चित्रण गर्छ।—लेवी अध्याय १६.

हाम्रो लागि पाठ:

४:१-१०. शैतान, कुनै व्यक्‍तिमा हुने दुष्टता नभई एउटा वास्तविक व्यक्‍ति हो भनेर हामी यस विवरणबाट सिक्न सक्छौं। त्यसले हामीलाई प्रलोभनमा पार्न “संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी[लाई]” चलाउँछ। तर बाइबलका सिद्धान्तहरू व्यवहारमा उतार्दा हामी परमेश्‍वरप्रति विश्‍वासी रहन मदत पाउनेछौं।—१ यूह. २:१६.

५:१–७:२९. आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सजग हुनुहोस्‌। मेलमिलापमा रहनुहोस्‌। अनैतिक विचारहरूलाई त्याग्नुहोस्‌। आफ्नो वाचा पूरा गर्नुहोस्‌। प्रार्थना गर्दा भौतिक कुरालाई भन्दा आध्यात्मिक कुरालाई प्राथमिकता दिनुहोस्‌। परमेश्‍वरतर्फ धनी हुनुहोस्‌। पहिला परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुहोस्‌। आलोचना नगर्नुहोस्‌। परमेश्‍वरको इच्छाबमोजिम गर्नुहोस्‌। डाँडाको उपदेशमा कत्ति राम्रा व्यावहारिक पाठहरू छन्‌!

९:३७, ३८. “उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌” भनी मालिकलाई बिन्ती गरेअनुरूप नै हामीले चेला बनाउने काममा जोसका साथ भाग लिनुपर्छ।—मत्ती २८:१९, २०.

१०:३२, ३३. आफ्नो विश्‍वासबारे कुरा गर्न हामी कहिल्यै डराउनु हुँदैन।

१३:५१, ५२. परमेश्‍वरको राज्यबारे सत्य कुरा बुझेपछि एउटा जिम्मेवारी पनि आउँछ। त्यो हो, ती अनमोल कुरा अरूलाई बताउने र सिकाउने।

१४:१२, १३, २३. अर्थपूर्ण मनन गर्न एक्लै बस्ने समय चाहिन्छ।—मर्कू. ६:४६; लूका ६:१२.

१७:२०. हाम्रो आध्यात्मिक उन्‍नतिमा बाधा पुऱ्‍याउने पहाडरूपी अड्‌चन र कठिनाइहरूको सामना गर्न विश्‍वासको खाँचो पर्छ। यहोवा र उहाँका प्रतिज्ञाहरूमाथिको विश्‍वास बढाउँदै र त्यसलाई बलियो बनाउँदै लैजाने सन्दर्भमा हामी लापरवाही हुनुहुँदैन।—मर्कू. ११:२३; लूका १७:६.

१८:१-४; २०:२०-२८. ओहदालाई बढ्‌तै महत्त्व दिने धार्मिक पृष्ठभूमि र मानव असिद्धताले गर्दा येशूका चेलाहरू आफ्नो ओहदाको विषयमा बढ्‌तै चिन्तित थिए। पापी झुकावबारे सजग भएर र मण्डलीमा पाइने सुअवसर तथा जिम्मेवारीप्रति सही दृष्टिकोण राखेर नम्रता विकास गर्नुपर्छ।

“मानिसको पुत्र . . . सुम्पिनेछ”

(मत्ती २१:१–२८:२०)

इस्वी संवत्‌ ३३, नीसान ९ का दिन येशू ‘गधामाथि सवार भएर’ यरूशलेम आउनुहुन्छ। (मत्ती २१:५) त्यसको भोलिपल्ट उहाँ मन्दिरभित्र पस्नुहुन्छ र मन्दिरलाई सफा पार्नुहुन्छ। नीसान ११ का दिन उहाँले मन्दिरमा सिकाउनुहुन्छ, शास्त्री र फरिसीहरूको निन्दा गर्नुहुन्छ र त्यसपछि चेलाहरूलाई उहाँको “आगमन [“उपस्थिति,” NW] र जगत्‌को अन्तको” चिह्न बताउनुहुन्छ। (मत्ती २४:३) त्यसको भोलिपल्ट उहाँ तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “तिमीहरूलाई थाहै छ, अबको दुइ दिनपछि निस्तार-चाड आउँछ, औ मानिसको पुत्र क्रूसमा टाँगिनालाई सुम्पिनेछ।”—मत्ती २६:१, २.

नीसान १४ को कुरा हो। येशूले आफ्नो आउनै लागेको मृत्युको स्मरणार्थ उत्सव स्थापना गरिसकेपछि उहाँलाई धोका दिइन्छ र उहाँ पक्राउमा पर्नुहुन्छ। अनि उहाँमाथि मुद्दा चलाइन्छ र उहाँलाई झुन्ड्याएर मारिन्छ। मरेको तेस्रो दिनमा उहाँको पुनरुत्थान हुन्छ। स्वर्गमा उक्लनुअघि पुनरुत्थान हुनुभएका येशू आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुहुन्छ: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ।”—मत्ती २८:१९.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२२:३, ४, —विवाह भोजको तीन वटा निम्तो कहिले-कहिले दिइयो? पहिलो निम्तो, दुलही वर्गलाई जम्मा गर्न येशू र उहाँका अनुयायीहरूले इस्वी संवत्‌ २९ मा प्रचार गर्न थाल्दा दिइयो र यो निम्तो दिने काम इस्वी संवत्‌ ३३ सम्मै चल्यो। दोस्रो निम्तो, इस्वी संवत्‌ ३३ को पेन्तिकोसमा पवित्र आत्मा खन्याइएको समयदेखि इस्वी संवत्‌ ३६ सम्म चल्यो। यी दुवै पटकको निम्तो यहूदी, धर्म परिवर्तन गरी यहूदी मत मान्‍ने र सामरीहरूका लागि मात्र थियो। तर तेस्रो चोटि भने सहर बाहिरका मानिसहरू अर्थात्‌ खतना नगरेका अन्यजातिहरूलाई निम्तो दिइयो। यो निम्तो इस्वी संवत्‌ ३६ मा रोमी सेनापति कर्निलियसले धर्म परिवर्तन गरेदेखि सुरु भएर हाम्रो समयसम्मै चलिरहेको छ।

२३:१५—यहूदी फरिसीहरूभन्दा धर्म परिवर्तन गरेर फरिसी मत मान्‍नेहरू किन “दोबर नरकको [युनानीमा गेहेन्‍ना a]” लायक थिए? धर्म परिवर्तन गरेर फरिसी मत मान्‍ने कोही-कोही पहिला घोर पापी थिए होलान्‌। तर धर्म परिवर्तन गरेर फरिसीहरूको कट्टर विचारधारालाई अँगाल्दा तिनीहरू सम्भवतः ती निन्दित शिक्षकहरूभन्दा झनै खराब भएका हुन सक्छन्‌। त्यसैले तिनीहरू तुलनात्मक हिसाबले यहूदी फरिसीहरूभन्दा दोबर ‘गेहेन्‍नाको’ लायक थिए।

२७:३-५—यहूदालाई कुन कुरामा दुःख लाग्यो? यहूदाले व्यक्‍त गरेको दुःखमा साँचो पश्‍चात्तापको कुनै संकेत पाइँदैन। परमेश्‍वरसित क्षमा माग्नुको सट्टा तिनले मुख्य पूजाहारी र बूढा प्रधानहरूकहाँ गएर आफ्नो पाप स्वीकारे। “मृत्युसम्मको पाप” गरेकोले यहूदालाई दोषी महसुस हुनु र दुःखी भावनाले छोप्नु स्वाभाविक थियो। (१ यूह. ५:१६) आफू अत्यन्तै आशाहीन अवस्थामा परेकोले तिनलाई दुःख लागेको थियो।

हाम्रो लागि पाठ:

२१:२८-३१. यहोवाले साँच्चै महत्त्वपूर्ण ठान्‍नुहुने कुरा भनेको उहाँको इच्छाबमोजिम गर्नु हो। उदाहरणको लागि, हामीले जोसका साथ राज्य प्रचार र चेला बनाउने काममा भाग लिनुपर्छ।—मत्ती २४:१४; २८:१९, २०.

२२:३७-३९. यहोवाले आफ्ना उपासकहरूबाट के चाहनुहुन्छ भन्‍ने कुरा दुइटा प्रमुख आज्ञामा कत्ति राम्ररी समेटिएको छ! (w08 1/15)

[फुटनोट]

a यस युनानी शब्दबारे थप जानकारीको लागि कृपया यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको पृष्ठ ७३, अनु. २० हेर्नुहोस्‌।