सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘सही मनसाय हुनेले’ राम्रो प्रतिक्रिया देखाइरहेका छन्‌

‘सही मनसाय हुनेले’ राम्रो प्रतिक्रिया देखाइरहेका छन्‌

‘सही मनसाय हुनेले’ राम्रो प्रतिक्रिया देखाइरहेका छन्‌

“अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू जत्तिले [“सही मनसाय भएकाहरूले,” NW] विश्‍वास गरे।”—प्रेरि. १३:४८.

१, २. राज्यको सुसमाचार सारा संसारमा प्रचार गरिनेछ भनेर येशूले गरेको भविष्यवाणीअनुसार प्रथम शताब्दीको मसीहीहरूले के गरे?

 राज्यको सुसमाचार सारा संसारमा प्रचार गरिनेछ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:१४) येशूको यस भविष्यवाणीअनुसार प्रथम शताब्दीका मसीहीहरूले कसरी प्रचार गरे, बाइबलको पुस्तक प्रेरितमा त्यसको रोमाञ्चकारी विवरण पाउँछौं। यी जोसिला प्रचारकहरूले पछि आउने मसीहीहरूका लागि राम्रो उदाहरण बसाले। तिनीहरूले यरूशलेममा जोडतोडले प्रचार गरेको हुनाले ‘पूजाहारीहरूको एक ठूलो दलका’ साथै हजारौं मानिस प्रथम शताब्दीको मण्डलीमा सामेल भए।—प्रेरि. २:४१; ४:४; ६:७.

प्रथम शताब्दीका मिसनरीहरूले मसीही धर्म ग्रहण गर्न थुप्रैलाई मदत गरे। उदाहरणका लागि, फिलिप सामरिया गए र त्यहाँ भीडले तिनको कुरा ध्यान दिएर सुने। (प्रेरि. ८:५-८) मसीही सन्देश प्रचार गर्न पावल पनि विभिन्‍न मित्रहरूसित साइप्रस, एसिया माइनरका केही भाग, म्यासेडोनिया, ग्रीस, इटालीलगायत थुप्रै ठाउँमा गए। तिनले प्रचार गरेका सहरहरूमा यहूदी अनि ग्रीक दुवै समूहका थुप्रै मानिस मसीही भए। (प्रेरि. १४:१; १६:५; १७:४) तीतसले क्रेटमा प्रचार गरे। (ती. १:५) अर्कोतिर, पत्रुस बेबिलोनमा प्रचार गर्न व्यस्त थिए र इस्वी संवत्‌ ६२-६४ तिर तिनले पहिलो पत्र लेख्दा पोन्टस्‌, गलातिया, क्यापडोसिया, एशिया र बिथिनियामा मसीहीहरूले गर्ने प्रचारकार्यबारे सबैलाई राम्ररी थाह भइसकेको थियो। (१ पत्रु. १:१; ५:१३) त्यतिखेरको अवस्था कति रोमाञ्चकारी थियो होला! प्रथम शताब्दीका मसीहीहरू यति जोसिला थिए कि तिनीहरूका शत्रुहरूले समेत उनीहरूले ‘संसारलाई उलट-पुलट पारे’ भनेर ठोकुवा गरे।—प्रेरि. १७:६; २८:२२.

३. राज्य उद्‌घोषकहरूले प्रचार गरेर कस्ता नतिजा प्राप्त गरेका छन्‌ र यो थाह पाउँदा तपाईंलाई कस्तो लाग्यो?

अहिले हाम्रो समयमा पनि मसीही मण्डलीमा आश्‍चर्यजनक वृद्धि भइरहेको छ। यहोवाका साक्षीहरूको वार्षिक रिपोर्ट पढेर विश्‍वभरि प्राप्त भइरहेका नतिजा जान्‍न पाउँदा के तपाईं प्रोत्साहित हुनुभएको छैन र? राज्य उद्‌घोषकहरूले सेवा वर्ष २००७ मा ६० लाखभन्दा धेरै बाइबल अध्ययन सञ्चालन गरे भन्‍ने थाह पाउँदा के तपाईंको मन हर्षले गद्‌गद्‌ भएन र? यसबाहेक गत वर्ष येशू ख्रीष्टको मृत्युको स्मरणार्थमा यहोवाका साक्षीबाहेक झन्डै एक करोड अरू मानिस उपस्थित भएका थिए। उनीहरू यस महत्त्वपूर्ण उत्सवमा उपस्थित हुनुले राज्यको सुसमाचारमा चासो लिने मानिसहरू अझ प्रशस्तै रहेछन्‌ भनेर संकेत गर्छ। अनि हामीले कत्ति धेरै काम गर्न बाँकी नै रहेछ, त्यो पनि यसबाट अनुमान लगाउन सक्छौं।

४. कसले राज्यसन्देश ग्रहण गरिरहेका छन्‌?

प्रथम शताब्दीमा जस्तै आज पनि “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू जत्तिले [अर्थात्‌ “सही मनसाय भएकाहरूले,” NW ]” सत्यको सन्देश ग्रहण गरिरहेका छन्‌। (प्रेरि. १३:४८) यहोवाले यस्ता मानिसहरूलाई आफ्नो संगठनतिर तानिरहनुभएको छ। (हाग्गै २:७ पढ्‌नुहोस्‌।) उसोभए, जम्मा पार्ने यो कामलाई पूर्णतया सहयोग गर्न हामीले प्रचारकार्यप्रति कस्तो मनोवृत्ति कायम राख्नु जरुरी छ?

निष्पक्ष भई प्रचार गर्नुहोस्‌

५. कस्ता मानिसहरूले यहोवाको अनुमोदन पाउँछन्‌?

“परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ” भनेर प्रथम शताब्दीका मसीहीहरूले बुझेका थिए। (प्रेरि. १०:३४, ३५) यहोवा परमेश्‍वरसित राम्रो सम्बन्ध गाँस्न चाहने व्यक्‍तिले येशूले दिएको फिरौतीको बलिदानमा विश्‍वास गरेको हुनैपर्छ। (यूह. ३:१६, ३६) यहोवा “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ।—१ तिमो. २:३, ४.

६. सुसमाचार प्रचारकहरूले के गर्नुहुँदैन र किन?

सुसमाचार प्रचारकले अरूको जात, सामाजिक प्रतिष्ठा, रूपरङ, धार्मिक आस्था वा अन्य कुरा हेरेर पक्षपाती धारणा राख्नु उचित होइन। एकछिन विचार गर्नुहोस्‌: कुनै किसिमको पक्षपाती धारणा नराखीकन तपाईंलाई प्रचार गर्ने भाइ वा बहिनीप्रति के तपाईं कृतज्ञ हुनुहुन्‍न र? त्यसैले सुन्‍न चाहनेजति सबैलाई जीवन बचाउन सक्ने सन्देश बताउनदेखि हामी पनि पछि नहटौं।—मत्ती ७:१२ पढ्‌नुहोस्‌।

७. हामीले प्रचार गर्ने मानिसहरूलाई किन तौलनुहुँदैन?

यहोवाले येशूलाई न्यायकर्ता नियुक्‍त गर्नुभएको छ। त्यसैले अरूको न्याय गर्ने वा अरूलाई तौलने अधिकार हामीसित छैन। मानिसको मन भित्रको विचार र गहिरो तर्क येशू देख्न सक्नुहुन्छ तर हामी सक्दैनौं। हामी “मुख हेरेर इन्साफ” गर्न अनि “कानले सुनेर मात्र विचार” गर्न सक्छौं।—यशै. ११:१-५; २ तिमो. ४:१.

८, ९. (क) मसीही हुनुअघि पावल कस्ता मानिस थिए? (ख) प्रेरित पावलको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

वास्तवमा, हरेक पृष्ठभूमिका मानिसहरू यहोवाको सेवक बनेका छन्‌। यसको एउटा विशिष्ट उदाहरण टार्ससका शावल हुन्‌, जो पछि प्रेरित पावलको रूपमा चिनिए। शावल फरिसी थिए र येशूका चेलाहरूको घोर विरोध गर्थे। मसीहीहरू यहोवाका साँचो उपासकहरू होइनन्‌ भन्‍ने तिनको अटल विश्‍वास थियो। त्यसैले तिनी मसीही मण्डलीलाई सताउँथे। (गला. १:१३) मानिसको दृष्टिकोणले हेर्ने हो भने तिनी कुनै पनि हालतमा मसीही हुन योग्यका थिएनन्‌। तैपनि, येशूले शावलको मनमा केही असल कुरा देख्नुभयो र विशेष जिम्मा सुम्पन तिनलाई रोज्नुभयो। फलस्वरूप, शावल प्रथम शताब्दीको मण्डलीका एकदमै सक्रिय अनि जोसिला सदस्यहरूमध्ये एक भए।

प्रेरित पावलको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं? हाम्रो इलाकामा पनि हामीले सुनाउने सन्देशप्रति घोर आपत्ति जनाउने मानिसहरू होलान्‌। तिनीहरूमध्ये कोही साँचो मसीही बन्लान्‌ भन्‍ने कुरामा शंका गर्न मिल्ने ठाउँ भए तापनि तिनीहरूसित विवेकी भई कुराकानी गर्नदेखि हामी पछि हट्‌नु हुँदैन। कहिलेकाहीं हामीले आशै नगरेको मानिसले समेत हाम्रो सन्देश ग्रहण गरेका छन्‌। हाम्रो जिम्मा सबैलाई सुसमाचार सुनाउनु हो, सुनाउन “बन्द” गर्नु होइन।प्रेरित ५:४२ पढ्‌नुहोस्‌।

सुसमाचार सुनाउन “बन्द” नगर्नेहरूले आशिष्‌ पाउनेछन्‌

१०. डरलाग्दो देखिने मानिसलाई पनि हामीले किन प्रचार गर्नैपर्छ? स्थानीय अनुभवहरू बताउनुहोस्‌।

१० रूपले भ्रममा पार्न सक्छ। उदाहरणको लागि, इग्नास्योलाई a लिनुहोस्‌। दक्षिण अमेरिकी महादेशमा पर्ने एउटा देशमा जेल सजाय काटिरहेको बेला तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। तिनी अति हिंस्रक स्वभावका थिए। त्यसैले सबै जना तिनीसित डराउँथे। कतिसम्म भने जेलमा सरसामान बनाएर बेच्ने कैदीहरूले अरू कैदीहरूबाट आफ्नो पैसा असुल्न सकेनन्‌ भने इग्नास्योलाई गुहार्थे। तर इग्नास्योले बाइबल अध्ययन गर्दै सिकेको कुरा प्रयोगमा ल्याउन थाले। त्यसपछि त कुनै समय कुख्यात गुण्डा भनेर नाउँ कमाएको इग्नास्यो दयालु व्यक्‍ति पो भए। अहिले इग्नास्योलाई कसैले पनि पैसा असुल्न लगाउँदैन। बाइबलबाट सत्य सिक्न पाएकोमा अनि परमेश्‍वरको वचनले गर्दा आफ्नो व्यक्‍तित्व परिवर्तन भएकोमा तिनी सन्तुष्ट छन्‌। पक्षपाती भावना नराखी आफूसित बाइबल अध्ययन गर्न प्रयास गर्ने राज्य उद्‌घोषकप्रति इग्नास्यो कृतज्ञ छन्‌।

११. हामी मानिसहरूलाई किन फेरि-फेरि भेट्‌न गइरहन्छौं?

११ हामीले सुसमाचार सुनाइसकेका मानिसहरूको परिस्थिति र मनोवृत्ति परिवर्तन हुन सक्छ र परिवर्तन भएको पनि हुन्छ। त्यसकारण तिनीहरूलाई हामी फेरि-फेरि भेट्‌न गइरहन्छौं। हामीले भेटे यता कोही सिकिस्त बिरामी भएको हुन सक्छ, कसैले जागिर गुमाएको हुन सक्छ वा कसैको प्रिय व्यक्‍ति मरेको हुन सक्छ। (उपदेशक ९:११ पढ्‌नुहोस्‌।) संसारको बदलिंदो परिस्थितिले पनि मानिसहरूलाई आफ्नो भविष्यबारे गम्भीर भई सोच्न उत्प्रेरित गर्न सक्छ। चासो नदिने वा हाम्रो विरोध गर्ने मानिसहरूले समेत यस्ता परिवर्तनहरूले गर्दा सकारात्मक प्रतिक्रिया देखाउन सक्छन्‌। त्यसैले, सुसमाचार सुनाउने उपयुक्‍त मौका पाउँदा त्यसलाई त्यतिकै गुम्न नदिनुहोस्‌।

१२. प्रचार गरेका मानिसहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ र किन?

१२ मानिसहरू अक्सर एकअर्कालाई तौलने वा एकअर्काको औकात नाप्ने गर्छन्‌। तर यहोवा भने प्रत्येक मानिसलाई विशिष्ट व्यक्‍तिको रूपमा लिनुहुन्छ। प्रत्येक व्यक्‍तिसित असल गुण के छ र ऊसित के हुन सक्ने क्षमता छ, यहोवा त्यो हेर्नुहुन्छ। (१ शमूएल १६:७ पढ्‌नुहोस्‌।) प्रचार गर्दा हामीले पनि त्यसै गर्ने कोसिस गर्नुपर्छ। प्रचार गरेका मानिसहरूप्रति सकारात्मक दृष्टिकोण राख्दा राम्रो नतिजा प्राप्त हुन्छ भनेर थुप्रै अनुभवले देखाएका छन्‌।

१३, १४. (क) एउटी अग्रगामी बहिनीले प्रचार गर्दा भेटेकी आइमाईलाई किन त्यति चासो दिइनन्‌? (ख) यो अनुभवबाट हामी के पाठ सिक्न सक्छौं?

१३ एक जना अग्रगामी बहिनी सान्ड्राले क्यारेबियन टापुमा घरघर प्रचार गर्दा रूथलाई भेटिन्‌। रूथ पूरा मनतनले एक किसिमको जात्रा, कार्निभल मनाउने गर्थिन्‌। तिनले दुई पटक राष्ट्रिय कार्निभल सुन्दरीको ताज पनि पहिरिसकेकी थिइन्‌। यस्तो पृष्ठभूमि भए पनि रूथले निकै चासो देखाउँदा सान्ड्राले अचम्म मानिन्‌ र तिनीसित बाइबल अध्ययन गर्न थालिन्‌। सान्ड्रा सम्झिन्छिन्‌: “बैठक कोठामा छिर्ने बित्तिकै मैले भित्तामा, कार्निभलमा लगाइने भव्य पोसाकमा सजिएकी रूथको ठूलो फोटो देखें। तिनले जितेका थुप्रै पुरस्कारहरू पनि कोठामा थिए। मलाई त्यतिखेर लाग्यो, ‘यस्तो ख्यातिप्राप्त अनि कार्निभलमा चुर्लुम्म डुबेकी आईमाईले के बाइबल सत्य सिक्लिन्‌ र?’ त्यसैले तिनलाई भेट्‌न जानै छोडें।”

१४ केही समयपछि रूथ राज्यभवनमा आइन्‌ र सभा सिद्धिएपछि सान्ड्रालाई सोधिन्‌: “तपाईं मकहाँ अध्ययन गर्न किन नआउनुभएको?” सान्ड्राले माफी मागिन्‌ र फेरि बाइबल अध्ययन सुरु गर्ने प्रबन्ध मिलाइन्‌। रूथले निकै छिटो प्रगति गरिन्‌, कार्निभलका फोटोहरू हटाइन्‌, मण्डलीका सम्पूर्ण गतिविधिमा भाग लिन थालिन्‌ र यहोवालाई आफ्नो जीवन समर्पण गरिन्‌। हो, आफूले कत्ति गलत अनुमान लगाएको रहेछु भनेर सान्ड्राले मानिलिइन्‌।

१५, १६. (क) नातेदारलाई प्रचार गर्दा एउटी साक्षीले कस्तो फल पाइन्‌? (ख) नातेदारको पृष्ठभूमिदेखि अप्ठेरो मानेर साक्षी दिनदेखि हामी किन पन्छिनु हुँदैन?

१५ बेग्लै धर्म मान्‍ने नातेदारहरूले सकारात्मक प्रतिक्रिया देखाउलान्‌ जस्तो नलागे पनि साक्षी दिंदा राम्रो नतिजा पाइएका थुप्रै अनुभव छन्‌। उदाहरणको लागि अमेरिकामा बस्ने साक्षी बहिनी जोइसलाई लिनुहोस्‌। तिनका ज्वाइँ किशोरावस्थामा हुँदा बारम्बार जेलमा पर्ने गर्थे। “मानिसहरू तिनी बाँच्नु बेकार छ भन्थे,” जोइस बताउँछिन्‌। “किनकि तिनी लागूपदार्थ बेच्थे, चोर्थे र थुप्रै नराम्रा काम गर्थे। तैपनि यी कुरालाई बेवास्ता गर्दै मैले ३७ वर्षसम्म तिनलाई बाइबलबाट सत्य कुरा बताइरहें।” जोइसले यसरी धैर्य गर्दै आफन्तलाई मदत गर्ने कोसिस गरेकोले नतिजा एकदमै राम्रो भयो। किनकि तिनकी ज्वाइँले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गर्न थाले र जीवनमा थुप्रै ठूलठूला परिवर्तनहरू गरे। हालै ५० वर्षको उमेरमा जोइसका ज्वाइँले अमेरिकाको क्यालिफोर्नियामा आयोजित जिल्ला अधिवेशनमा बप्तिस्मा लिए। जोइस भन्छिन्‌: “म यत्ति खुसी भएँ, मैले आँसु थाम्नै सकिनँ। मेरो ज्वाइँलाई बाइबलबाट सत्य कुरा बताउन मैले कहिल्यै हार मानिनँ, त्यसैले अहिले त्यसको मीठो फल पाएँ।”

१६ कुनै-कुनै नातेदारको पृष्ठभूमिले गर्दा सायद बाइबलबाट कुरा गर्न तपाईं अप्ठेरो मान्‍नुहुन्छ होला। तर जोइसले आफ्नो ज्वाइँसित कुरा गर्न हिचकिचाइनन्‌। हुन पनि मानिसको मनभित्र के छ, कसलाई पो थाह हुन्छ र? हामीले गलत अनुमान लगाइरहेको मान्छेले सत्य खोजिरहेको पनि हुन सक्छ। त्यसैले तिनीहरूलाई सत्य चिन्‍ने मौका दिनुहोस्‌।—हितोपदेश ३:२७ पढ्‌नुहोस्‌।

बाइबल अध्ययन सञ्चालन गर्ने प्रभावकारी सहायक

१७, १८. (क) बाइबलले वास्तवमा के सिकाउँछ? किताबको महत्त्वबारे संसारभरिका मुलुकहरूबाट कस्ता रिपोर्टहरू प्राप्त भएका छन्‌? (ख) यो किताब प्रयोग गरेर कुनै प्रोत्साहनदायी नतिजा पाउनुभएको छ कि?

१७ संसारभरिका मुलुकहरूबाट प्राप्त रिपोर्टअनुसार थुप्रै इमानदार मानिस बाइबलले वास्तवमा के सिकाउँछ? किताबबाट बाइबल अध्ययन गर्न रूचाउँछन्‌। अमेरिकाकी अग्रगामी बहिनी पेनीले यो किताबबाट थुप्रैसित बाइबल अध्ययन सुरु गरेकी छिन्‌। यिनीहरूमध्ये दुई जना त पाको उमेरका अनि चर्चका भक्‍त सदस्य थिए। बाइबलले सिकाउँछ किताबमा जुन तरिकाले बाइबलको शिक्षा प्रस्तुत गरिएको छ, त्यो देखेर यिनीहरूले कस्तो प्रतिक्रिया देखाउलान्‌ भनेर पेनीलाई चिन्ता लागेको थियो। तर तिनी लेख्छिन्‌: “जानकारीहरू स्पष्ट, तार्किक अनि छोटोमीठो ढंगमा प्रस्तुत गरिएको हुनाले उहाँहरूलाई वास्तवमा सत्य यही हो भनेर स्वीकार्न गाह्रो भएन। किताबमा भएका कुराहरूमा उहाँहरूले न तर्क वितर्क गर्नुभयो; न त विचलित नै हुनुभयो।”

१८ बेलाइतकी प्रकाशक प्याटले एशियाली मुलुककी एउटी शरणार्थी महिलासित बाइबल अध्ययन गर्न थालिन्‌। विद्रोही सेनाहरूले श्रीमान्‌ र छोराहरूलाई अपहरण गरेर फेरि कहिल्यै भेट्‌न नपाउने गरी लगेपछि यी आइमाई आफ्नो मुलुक छोडेर शरणार्थी बन्‍न बाध्य भएकी थिइन्‌। तिनले हुन सम्मको दुःख पाएकी थिइन्‌। तिनले ज्यान मार्ने धम्की सुन्‍नुपऱ्‍यो, तिनको घरमा आगो लगाइयो र एक हूल पुरुषले तिनको बलात्कार गरे। यी सबले गर्दा तिनलाई बाँच्नु बेकार लागेको थियो र निकै पटक आत्महत्या गर्ने विचारसमेत गरिन्‌। तर बाइबल अध्ययन गर्न थालेपछि तिनको अँध्यारो मनमा आशाको किरण छरिन थाल्यो। प्याट लेख्छिन्‌: “बाइबलले सिकाउँछ किताबमा भएका जानकारी, चित्र तथा दृष्टान्तहरू बुझ्न सजिलो भएकोले तिनलाई निकै घत पऱ्‍यो।” तिनले छिटोछिटो प्रगति गरिन्‌ र बप्तिस्मा अप्राप्त प्रकाशक भइन्‌। तिनले आउने सम्मेलनमा बप्तिस्मा लिने इच्छा जाहेर गरेकी छिन्‌। यसरी इमानदार मानिसहरूलाई बाइबलले दिने आशा बुझाउन पाउँदा अनि त्यसको कदर गर्न सिकाउन पाउँदा वास्तवमै हामीलाई औधी खुसी लाग्छ।

“भलाइ गर्नामा हरेस नखाऔं”

१९ हामीले किन रत्तिभर ढिलासुस्ती नगरी प्रचार गर्नुपरेको छ?

१९ समय झन्‌-झन्‌ कम हुँदै गइरहेकोले रत्तिभर ढिलासुस्ती नगरी प्रचार गर्ने अनि चेला बनाउने आवश्‍यकता बढ्‌दै गएको छ। हामीले सुसमाचार प्रचार गर्दा राम्रो प्रतिक्रिया देखाउने अनि सत्य सिक्न चाहने हजारौं मानिसहरू हामी वर्षेनी फेला पारिरहन्छौं। तर आध्यात्मिक अन्धकारमा भौंतारिरहेका मानिसहरू भने “मारकाटतिर ढुनमुनिरहेका” छन्‌। किनकि, ‘यहोवाको भयानक दिन नजीकै’ छ।—सप. १:१४; हितो. २४:११, NRV.

२०. हामी हरेकले के गर्ने अठोट गरेको हुनुपर्छ?

२० यस्ता मानिसहरूलाई मदत गर्ने मौका हामीसित अझै छ। तर त्यसको लागि ‘शिक्षा दिन र येशूनै ख्रीष्ट हुन्‌ भनी सुसमाचार सुनाउन बन्द नगर्ने’ प्रथम शताब्दीका मसीहीहरूको हामीले अनुकरण गर्नैपर्छ। (प्रेरि. ५:४२) दुःखकष्टको बावजुद निरन्तर प्रचार गरेर, कसरी “शिक्षा” दिंदैछौं, त्यसबारे होसियार भएर अनि निष्पक्ष भई प्रचार गरेर उनीहरूको उदाहरण अनुकरण गर्नुहोस्‌! आउनुहोस्‌ हामी “भलाइ गर्नामा हरेस नखाऔं!” किनकि यसो गऱ्‍यौं भने परमेश्‍वरको अनुमोदन अनि प्रशस्त आशिष्‌ पाउनेछौं।—२ तिमो. ४:२; गलाती ६:८, ९ पढ्‌नुहोस्‌। (w 08 1/15)

[फुटनोट]

a केही नाउँ परिवर्तन गरिएका छन्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• क-कसले सुसमाचार सुनेर सकारात्मक प्रतिक्रिया देखाइरहेका छन्‌?

• प्रचार गर्दा पक्षपाती भावना किन राख्नु हुँदैन?

• बाइबलले वास्तवमा के सिकाउँछ? किताबले गर्दा कस्ता राम्रा नतिजा प्राप्त भएका छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

हजारौं इमानदार मानिसहरूले सकारात्मक प्रतिक्रिया देखाइरहेका छन्‌

[पृष्ठ २०-मा भएको चित्र]

सुसमाचारका उद्‌घोषकहरू मानिसहरूलाई तौलँदैनन्‌