सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टको उपस्थिति—यसले तपाईंको लागि के अर्थ राख्छ?

ख्रीष्टको उपस्थिति—यसले तपाईंको लागि के अर्थ राख्छ?

ख्रीष्टको उपस्थिति—यसले तपाईंको लागि के अर्थ राख्छ?

“तपाईंको आगमन [“उपस्थिति,” NW] र जगत्‌को अन्तको चिह्न के हुन्छ?” —मत्ती २४:३.

१. प्रेरितहरूले येशूलाई कस्तो रोचक प्रश्‍न सोधे?

 झन्डै दुई हजार वर्षअघि येशूका चार जना प्रेरितहरूले जैतून डाँडामा आफ्ना मालिक येशूसित एकान्तमा कुरा गर्दा एउटा प्रश्‍न सोधेका थिए। तिनीहरूको प्रश्‍न यस्तो थियो: “यो कुरा कहिले हुनेछन्‌, र तपाईंको आगमन [“उपस्थिति,” NW] र जगत्‌को अन्तको चिह्न के हुन्छ?” (मत्ती २४:३) उक्‍त प्रश्‍नमा प्रेरितहरूले “तपाईंको उपस्थिति” र “जगत्‌को अन्त” भन्‍ने दुइटा एकदमै रोचक अभिव्यक्‍तिहरू चलाएका छन्‌। यी अभिव्यक्‍तिहरूले कुन कुरालाई बुझाउँछ?

२. नेपाली बाइबलमा “अन्त” भनी अनुवाद गरिएको सिन्टेलिया शब्दको खास अर्थ के हो?

सर्वप्रथम दोस्रो अभिव्यक्‍ति अर्थात्‌ “अन्त” शब्दलाई विचार गर्नुहोस्‌। नेपाली बाइबलमा “अन्त” भनेर अनुवाद गरिएको शब्दको लागि मूल युनानी भाषामा दुइटा शब्द, सिन्टेलियाटेलोस चलाइएको छ। तर युनानी भाषामा यी दुई शब्दको अर्थ अलिक फरक छ। मत्ती २४:३ मा चलाइएको “अन्त” अर्थात्‌ सिन्टेलिया-ले अन्तको दौडान भन्‍ने अर्थ दिन्छ। तर मत्ती २४:१४ मा चलाइएको “अन्त” अर्थात्‌ टेलोस-ले चाहिं अन्त हुनु अर्थात्‌ टुंगिनु भन्‍ने अर्थ दिन्छ। यी दुई शब्दको भिन्‍नतालाई बुझ्न राज्यभवनमा दिइने भाषणलाई दृष्टान्तको रूपमा लिन सकिन्छ। भाषणको ‘अन्त’-मा भन्दा त्यसले भाषणको अन्ततिरको भागलाई बुझाउँछ जसमा वक्‍ताले छलफल गरिसकेको कुरा श्रोताका लागि दोहोऱ्‍याउन र छलफल गरिएको जानकारी तिनीहरूमा कसरी लागू हुन्छ भनी देखाउन केही समय बिताउँछन्‌। भाषणको ‘अन्त’ भयो अर्थात्‌ भाषण टुंगियो भन्‍नाले चाहिं भाषण सिध्याएर वक्‍ताले मञ्च छोडे भन्‍ने बुझिन्छ। त्यस्तैगरि, बाइबलअनुसार “जगत्‌को अन्त” अर्थात्‌ सिन्टेलिया भन्‍नाले अन्त आउनुअघिको समय अवधि र त्यसको टुंगाइलाई बुझाउँछ।

३. येशूको उपस्थितिको दौडान हुने केही कुरा के-के हुन्‌?

प्रेरितहरूले प्रश्‍नमा चलाएको “उपस्थिति” शब्दले चाहिं कुन कुरालाई बुझाउँछ नि? यो, युनानी शब्द पारुसिया-को अनुवाद हो। a तर नेपाली बाइबलमा यो युनानी शब्दलाई “आगमन” भनेर अनुवाद गरिएको छ। ख्रीष्टको पारुसिया वा उपस्थिति सन्‌ १९१४ मा उहाँ स्वर्गमा राजा नियुक्‍त हुनसाथ सुरु भयो र यो, “महासंकष्ट[सम्म]” चलिरहन्छ जुन समयको दौडान उहाँ दुष्टहरूलाई नाश गर्न आउनुहुन्छ। (मत्ती २४:२१) येशूको यस उपस्थितिको दौडान थुप्रै कुरा हुन्छन्‌। जस्तो कि यस दुष्ट रीतिरिवाजको “आखिरी दिन,” चुनिएकाहरूलाई जम्मा गर्नु र स्वर्गीय जीवनको लागि तिनीहरूको पुनरुत्थान हुनु। (२ तिमो. ३:१; १ कोरि. १५:२३; १ थिस्स. ४:१५-१७; २ थिस्स. २:१) यसो भन्‍न सकिन्छ, “जगत्‌को अन्त[को]” समय अवधि (सिन्टेलिया) र ख्रीष्टको उपस्थितिको (पारुसिया) समय अवधि सँगसँगै चल्छ।

लामो समय अवधि

४. येशूको उपस्थिति र नूहको दिनको घटनाबीच कस्तो समानता छ?

पारुसिया शब्दले लामो समय अवधिलाई बुझाउँछ भन्‍ने कुरा येशूले उहाँको उपस्थितिबारे बताएको कुरासित मेल खान्छ। (मत्ती २४:३७-३९ पढ्‌नुहोस्‌।) याद गर्नुहोस्‌, येशूले आफ्नो उपस्थितिलाई नूहको दिनको जलप्रलय भइरहेकै समयसित दाँज्नुभएन जुन समय तुलनात्मक हिसाबले भन्‍नुपर्दा छोटो समय अवधि थियो। बरु, उहाँले आफ्नो उपस्थितिलाई जलप्रलय हुनुअघिको निकै लामो समय अवधिसित दाँज्नुभयो। यो समय अवधि अन्ततः जलप्रलय नआइन्जेलसम्म चल्यो जस दौडान नूहले जहाज बनाउने र प्रचार गर्ने काम गरे। यी घटना धेरै वर्षको दौडान भए। त्यसैगरि, ख्रीष्टको उपस्थितिमा महासंकष्ट र त्यसअघि हुने घटनाहरू समावेश छन्‌।—२ थिस्स. १:६-९.

५. येशूको उपस्थिति भनेको लामो समय अवधि हो भनेर प्रकाश अध्याय ६ का शब्दहरूले कसरी स्पष्ट पार्छ?

बाइबलका अन्य भविष्यवाणीहरूले पनि के स्पष्ट पार्छ भने, येशूको उपस्थिति भन्‍नाले केवल उहाँ दुष्टहरूलाई नाश गर्न आउने समयलाई मात्र होइन तर लामो समय अवधिलाई बुझाउँछ। प्रकाशको पुस्तकमा येशूलाई सेतो घोडामा सवार व्यक्‍तिको रूपमा चित्रण गरिएको छ र उहाँलाई एउटा मुकुट दिइयो भनेर पनि बताइएको छ। (प्रकाश ६:१-८ पढ्‌नुहोस्‌।) सन्‌ १९१४ मा राज्यारोहण भएपछि येशू “विजय गर्दै र विजय गर्नलाई निस्के” भनेर बताइएको छ। यो विवरणमा येशूपछि विभिन्‍न रंगका घोडचढीहरू देखा परेको कुरा बताइएको छ। यी कुरा भविष्यसूचक हुन्‌ र यसले युद्ध, अनिकाल र रूढीलाई बुझाउँछ जुन “आखिरी दिन” भनिएको लामो समय अवधिमा भइरहेको छ। हामी यो भविष्यवाणी पूरा भइरहेको आफ्नै जीवनकालमा देख्दैछौं।

प्रकाश अध्याय १२ ले हामीलाई ख्रीष्टको उपस्थितिबारे के बुझ्न मदत दिन्छ?

प्रकाश अध्याय १२ ले स्वर्गमा परमेश्‍वरको राज्य स्थापनासम्बन्धी थप जानकारी दिन्छ। त्यहाँ हामी अदृश्‍य स्थानमा युद्ध भएको विवरण पाउँछौं। स्वर्गीय स्थानमा विराजमान माइकल अर्थात्‌ येशू ख्रीष्ट र उहाँका स्वर्गदूतहरूले शैतान र त्यसका प्रेतहरू विरुद्ध युद्ध गरे। परिणामस्वरूप, शैतान र त्यसको दूतहरू पृथ्वीमा फ्याँकिए। त्यसबखत शैतान “आफ्नो अल्प समय थाह पाएर” अत्यन्त रिसायो भनी विवरण बताउँछ। (प्रकाश १२:७-१२ पढ्‌नुहोस्‌।) कुरा स्पष्ट छ, स्वर्गमा ख्रीष्टको राज्य स्थापित भएपछि पृथ्वी र यसका बासिन्दाको लागि अझै बढी “धिक्कार” भन्‍न लायकको समय अवधि चल्छ।

७. भजन दोस्रो अध्यायले कुन कुराबारे बताउँछ र त्यहाँ कस्तो मौका पाइने कुरा बताइएको छ?

त्यस्तैगरि भजन दोस्रो अध्यायले पनि, येशू स्वर्गीय सियोन डाँडामा राजा नियुक्‍त हुनुभएको कुरा भविष्यसूचक ढंगमा बताउँछ। (भजन २:५-९; ११०:१, २ पढ्‌नुहोस्‌।) तर यस भजनले के पनि संकेत गर्छ भने, यस्तो समय अवधि पनि हुनेछ जतिबेला पृथ्वीका शासक र तिनीहरूका प्रजालाई ख्रीष्टको शासनको अधीनमा आउने मौका दिइन्छ। तिनीहरूलाई ‘बुद्धिमान हुन’ र ‘शिक्षा लिन’ सल्लाह दिइन्छ। हो, त्यस समयको दौडान यहोवा र उहाँका नियुक्‍त राजाको सेवा गरेर “[परमेश्‍वरको] शरण लिनेहरू सबै धन्यका हुन्‌।” तसर्थ, त्यतिबेला अर्थात्‌ येशू राजकीय शक्‍तिमा उपस्थित हुँदाको दौडान पृथ्वीका शासक र तिनीहरूका प्रजाले आवश्‍यक परिवर्तन गर्ने मौका पाउँछन्‌।—भज. २:१०-१२.

चिह्नलाई चिन्‍ने

८, ९ कसले चाहिं ख्रीष्टको उपस्थितिको चिह्नलाई चिन्‍नुका साथै त्यसको अर्थलाई बुझ्नेथिए?

परमेश्‍वरको राज्य कहिले आउँछ भनेर फरिसीहरूले सोधेको प्रश्‍नको जवाफमा येशूले त्यो राज्य तिनीहरूले आफ्नो दृष्टिकोणअनुसार हेर्दा खेरि चाहिं “प्रत्यक्ष रूपमा” आउँदैन भन्‍नुभयो। (लूका १७:२०, २१) अविश्‍वासीहरूले त्यो कुरा बुझ्ने थिएनन्‌। हुन पनि तिनीहरूले कसरी पो बुझ्न सक्थे र? तिनीहरूले त येशूलाई आफ्ना भावी राजाको रूपमा समेत स्वीकारेनन्‌। त्यसोभए, कसले चाहिं ख्रीष्टको उपस्थितिको चिह्नलाई चिन्‍नुका साथै त्यसको महत्त्वलाई बुझ्नेथिए?

‘आकाशको एक भागमा बिजुली चम्कँदा अर्को भागसम्म उज्यालो’ भएझैं येशूका चेलाहरूलाई ती चिह्नहरू छर्लंगै हुनेछ भनेर उहाँले भन्‍नुभयो। (लूका १७:२४-२९ पढ्‌नुहोस्‌।) रोचक कुरा, मत्ती २४:२३-२७ ले पनि येशूले आफ्नो उपस्थितिको चिह्नबारे बताइरहनुभएको थियो भनी स्पष्ट पार्छ।

चिह्न देख्ने पुस्ता

१०, ११. (क) मत्ती २४:३४ मा बताइएको “पुस्ता[लाई]” पहिला कसरी बुझिएको थियो? (ख) यस “पुस्ता[को]” भाग को हुन्‌ भन्‍नेबारे येशूका चेलाहरूले अवश्‍यै के बुझेका थिए?

१० मत्ती २४:३४ मा बताइएको “यो पुस्ता[ले]” प्रथम शताब्दीमा, “समकालीन अविश्‍वासी यहूदीहरूको पुस्ता[लाई]” बुझाउँछ भनी यस पत्रिकाले पहिला बताएको थियो। b यो बुझाइ तर्कसंगत देखिन्थ्यो किनभने बाइबलको अरू सबै ठाउँमा येशूले “पुस्ता” शब्दलाई नकारात्मक अर्थमा चलाउनुभएको छ। धेरै ठाउँमा येशूले पुस्ताको लागि “दुष्ट” जस्ता नकारात्मक अर्थ लाग्ने विशेषणहरू चलाउनुभएको छ। (मत्ती १२:३९; १७:१७; मर्कू. ८:३८) त्यसैले वर्तमान पूर्तिको सम्बन्धमा भन्‍नुपर्दा, येशूले अन्त हुनुअघिको समय अवधि (सिन्टेलिया) र त्यस समय अवधिको टुंग्याइ अर्थात्‌ अन्त (टेलोस) दुवै देख्ने अविश्‍वासीहरूको दुष्ट ‘पुस्तालाई’ संकेत गरिरहनुभएको थियो भन्ठानिएको थियो।

११ यो साँचो हो, येशूले “पुस्ता” शब्दलाई नकारात्मक अर्थमा चलाउनुहुँदा आफ्नो समयका दुष्ट मानिसहरूसित वा दुष्ट मानिसहरूबारे कुरा गरिरहनुभएको थियो। तर मत्ती २४:३४ मा लिपिबद्ध उहाँले भन्‍नुभएको “पुस्ता[बारे]” पनि के त्यसै भन्‍न सकिन्छ? याद गर्नुहोस्‌, येशूका चार जना चेला “एकान्तमा” उहाँकहाँ आएका थिए। (मत्ती २४:३) येशूले यहाँ “यो पुस्ता” भन्‍नुहुँदा नकारात्मक अर्थ लाग्ने विशेषण चलाउनुभएन। त्यसैले, ती प्रेरितहरूले अवश्‍यै पनि के बुझेका थिए भने “यी सब कुराहरू पूरा” नभइन्जेल बितेर नजाने “पुस्ता[को]” भाग उनीहरू र अरू सँगी चेलाहरू नै हुन्‌।

१२. येशूले “पुस्ता” शब्द चलाउनुहुँदा कसबारे कुरा गरिरहनुभएको थियो भनेर प्रसंगले कसरी देखाउँछ?

१२ कुन आधारमा हामी यस निष्कर्षमा पुग्न सक्छौं? प्रसंगलाई राम्ररी विचार गरेर। मत्ती २४:३२, ३३ मा येशूको यो भनाइ लिपिबद्ध छ: “नेभाराको रूखबाट एउटा उपमा सिक जब त्यसको हाँगा कमलो भएर पातहरू पलाउँछ, तब ग्रीष्म ऋतु आएछ भनी थाह पाउँछौ। त्यसरीनै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ तब उ नजीकै, ढोकाहरूमै छ भनी जान।” (मर्कूस १३:२८-३०; लूका २१:३०-३२ तुलना गर्नुहोस्‌।) त्यसपछि मत्ती २४:३४ मा यस्तो लेखिएको पाउँछौं: “म तिमीहरूलाई साँच्चै भन्दछु, कि यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ।”

१३, १४. येशूले भनेको “पुस्ता” उहाँकै चेलाहरू हुनुपर्छ भनेर हामी किन भन्‍न सक्छौं?

१३ “यी सब कुराहरू” भएको देख्दा एउटा निष्कर्षमा पुग्न सक्नुपर्नेहरू उहाँका चेलाहरू नै हुन्‌ भनी येशूले भन्‍नुभयो जसलाई पवित्र आत्माद्वारा चाँडै नै अभिषेक गरिने थियो। तसर्थ, “यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ” भनी भन्‍नुहुँदा येशूले अवश्‍यै चेलाहरूलाई संकेत गरिरहनुभएको हुनुपर्छ।

१४ अविश्‍वासीहरूले जस्तो नभई येशूका चेलाहरूले चाहिं ती चिह्नहरू देख्ने मात्र थिएनन्‌ तर त्यसको महत्त्वलाई बुझ्ने पनि थिए। तिनीहरूले ती चिह्नहरू देखेर “सिक्ने” थिए र त्यसको साँचो अर्थ “जान्‍ने” थिए। येशू “नजीकै, ढोकाहरूमै” हुनुहुन्छ भनी तिनीहरूले बुझ्नेथिए। यो साँचो हो, प्रथम शताब्दीमा अविश्‍वासी यहूदीहरू र विश्‍वासी अभिषिक्‍त मसीहीहरू दुवैले येशूका शब्दहरू सीमित रूपमा पूरा भएको देखे। तर उहाँका ती अभिषिक्‍त अनुयायीहरूले मात्र ती पूर्तिबाट सिक्न सके, मतलब आफूले देखेका कुराको साँचो अर्थ बुझ्न सके।

१५. (क) येशूले भनेको “पुस्ता” वर्तमान समयमा को हो? (ख) “यो पुस्ता[को]” समय अवधि कति लामो हुन्छ भनी हामी किन ठ्याक्कै हिसाब निकाल्न सक्दैनौं? (पृष्ठ २७ को पेटी हेर्नुहोस्‌।)

१५ आध्यात्मिक समझ नभएकाहरूले आज येशूको उपस्थितिको चिह्न “प्रत्यक्ष रूपमा” देखिएको छैन भनी महसुस गरेका छन्‌। तिनीहरू तर्क गर्छन्‌, सबै कुरा पहिला जस्तो थियो त्यस्तै चल्दै आइरहेको छ। (२ पत्रु. ३:४) अर्कोतर्फ, ख्रीष्टका विश्‍वासी अभिषिक्‍त भाइहरू अर्थात्‌ वर्तमान यूहन्‍ना वर्गले चाहिं यस चिह्नलाई बिजुली चम्कँदा उज्यालो भएझैं स्पष्टसित चिनेका छन्‌ र त्यसको साँचो अर्थ बुझेका छन्‌। “यी सब कुराहरू” नभइन्जेल बितेर नजाने “पुस्ता” वर्तमान समयमा यी अभिषिक्‍त मसीहीहरू मिलेर बनेको छ। c यसले के देखाउँछ भने, भविष्यवाणी गरिएको महासंकष्ट सुरु हुँदा ख्रीष्टका अभिषिक्‍त भाइहरूमध्येका केही पृथ्वीमा बाँकी रहेका हुनेछन्‌।

“जागा रहो”

१६. ख्रीष्टका सबै चेलाहरूले के गर्नै पर्छ?

१६ तर चिह्न चिन्‍नु मात्र पर्याप्त छैन। येशूले यसो पनि भन्‍नुभयो: “जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु, ‘जागा रहो।’ ” (मर्कू. १३:३७) चाहे अभिषिक्‍त जन हौं या ठूलो भीडका, हामी सबै जागा रहिरहनु एकदमै महत्त्वपूर्ण छ। सन्‌ १९१४ मा येशू स्वर्गमा राजा नियुक्‍त भएको ९० वर्षभन्दा बढी भइसकेको छ। चुनौतीपूर्ण भए तापनि हामीले आफू तयार र जागा रहेको प्रमाण दिनै पर्छ। येशू, शासनारूढ राजाको हैसियतमा अदृश्‍य रूपमा उपस्थित हुनुहुन्छ भनी बुझ्दा हामी त्यो प्रमाण दिन मदत पाउँछौं। यो बुझाइले हामीलाई “[हामीले] नचिताएको बेलामा” येशू आफ्ना शत्रुहरूलाई नाश गर्न आउनुहुनेछ भन्‍ने तथ्यप्रति पनि सजग गराउँछ।—लूका १२:४०.

१७. ख्रीष्टको उपस्थितिको अर्थ बुझेपछि हामीले कस्तो महसुस गर्नुपर्छ अनि हामी के गर्न कटिबद्ध हुनुपर्छ?

१७ ख्रीष्टको उपस्थितिको अर्थ बुझ्दा बियाँलो गर्नुहुँदैन भन्‍ने मनोभावलाई अझ तीव्र पार्न मदत पाउँछौं। हामीलाई थाह छ, येशूको उपस्थिति भइसकेको छ र उहाँले अदृश्‍य रूपमा सन्‌ १९१४ देखि स्वर्गमा राजा बनेर शासन गरिरहनुभएको छ। उहाँ अब चाँडै दुष्टहरूलाई नाश गर्न आउनुहुनेछ र सारा संसारमा ठूलो परिवर्तन ल्याउनुहुनेछ। तसर्थ, येशूले भविष्यवाणी गरेको काममा पहिला भन्दा अझ बढी भाग लिन हामी कटिबद्ध हुनुपर्छ। उहाँले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्तटेलोस] हुनेछ।”—मत्ती २४:१४. (w08 2/15)

[फुटनोटहरू]

a पारुसिया-को अर्थ, २ कोरिन्थी १०:१०, ११ र फिलिप्पी २:१२ मा प्रेरित पावलको “उपस्थिति” र “अनुपस्थिति” बीच देखाइएको भिन्‍नताबाट स्पष्ट हुन्छ। विस्तृत छलफलको लागि इन्साइट अन द स्क्रीप्चर्स, खण्ड २, पृष्ठ ६७६-६७९ हेर्नुहोस्‌।

b प्रहरीधरहरा, नोभेम्बर १, १९९५, पृष्ठ ११-१५, १९, ३०, ३१ हेर्नुहोस्‌।

c “यो पुस्ता” बाँच्ने समय अवधि र प्रकाशको पुस्तकको पहिलो दर्शनले ढाक्ने समय अवधि एउटै समयमा पर्छजस्तो देखिन्छ। (प्रका. १:१०-३:२२) प्रभुको दिनको यो भविष्यवाणीको पूर्ति सन्‌ १९१४ देखि सुरु भएर विश्‍वासी अभिषिक्‍त मसीहीमध्येको अन्तिम जन मरेर पुनरुत्थान नभइन्जेल चल्छ।—प्रकाश—त्यसको चरमोत्कर्ष निकट! किताबको पृष्ठ २४, अनुच्छेद ४ हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• येशूको उपस्थिति लामो समय अवधिको हो भनेर हामी कसरी थाह पाउँछौं?

• कसले येशूको उपस्थितिको चिह्नलाई चिन्‍नुका साथै यसको अर्थ बुझ्छन्‌?

मत्ती २४:३४ मा बताइएको पुस्ता वर्तमान समयमा कसद्वारा बनिएको छ?

• “यो पुस्ता[को]” समय अवधि कति लामो हुन्छ भनी ठ्याक्क हिसाब निकाल्न हामी किन सक्दैनौं?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएको पेटी]

“यो पुस्ता”-को समय अवधि कति लामो हुन्छ भनेर के हामी हिसाब निकाल्न सक्छौं?

“पुस्ता” शब्दले साधारणतया कुनै खास समय अवधि वा घटनाको दौडान बाँचेका विभिन्‍न उमेरका मानिसहरूलाई बुझाउँछ। उदाहरणको लागि, प्रस्थान १:६ हामीलाई बताउँछ: “यूसुफ र तिनका सबै दाजुभाइहरू र त्यस पुस्ताका सबै जना मरिहाले।” यूसुफ र उनका दाजुभाइहरू विभिन्‍न उमेरका थिए तर तिनीहरूले एउटै समय अवधिको दौडान उस्ता-उस्तै कुराहरू अनुभव गरे। “त्यस पुस्ता[मा]” यूसुफअघि जन्मेका उनका दाजुहरू पनि पर्छन्‌। यिनीहरूमध्ये केही त यूसुफभन्दा बढी बाँचे। (उत्प. ५०:२४) “त्यस पुस्ता[मा]” जन्मेको अरू, जस्तै बिन्यामिन यूसुफभन्दा पछि जन्मेका थिए र सायद उनको मृत्युपछि पनि तिनीहरू चाहिं बाँचिरहेका थिए होलान्‌।

तसर्थ, कुनै खास समय अवधिमा बाँचिरहेका मानिसहरूलाई बुझाउन “पुस्ता” शब्द चलाउँदा त्यो समय कति लामो हुन्छ भनेर ठ्याक्कै हिसाब निकाल्न सकिंदैन। यति हो कि, यसको अन्त हुन्छ र एकदमै लामो हुँदैन। त्यसैले, मत्ती २४:३४ मा लिपिबद्ध “यो पुस्ता” शब्द चलाएर येशूले आफ्ना चेलाहरूलाई “आखिरी दिन” कहिले टुंगिन्छ भनी थाह पाउने सूत्र दिनुभएन। बरु, येशूले जोड दिनुभयो कि तिनीहरूले “त्यस दिन र घडी” जान्‍नेछैनन्‌।—२ तिमो. ३:१; मत्ती २४:३६.

[पृष्ठ २८-मा भएको चित्र]

सन्‌ १९१४ मा राज्यारोहण भएपछि येशूलाई “विजयी[को]” रूपमा चित्रण गरिएको छ