सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्य कहिले आउँछ?

परमेश्‍वरको राज्य कहिले आउँछ?

परमेश्‍वरको राज्य कहिले आउँछ?

“हे प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ?” (प्रेरित १:६) येशूले कहिलेदेखि शासन गर्नुहुन्छ भनेर जान्‍न उहाँका चेलाहरू उत्सुक थिए। अहिले लगभग २,००० वर्षपछि पनि मानिसहरू अझै त्यही कुरा जान्‍न उत्सुक छन्‌: परमेश्‍वरको राज्य कहिले आउँछ?

येशू परमेश्‍वरको राज्यको प्रचार गर्नुहुन्थ्यो। त्यसैले उहाँले त्यो राज्यबारे केही बताएको हुनुपर्छ भनेर तपाईंले सोचिरहनुभएको होला। हो, उहाँले पक्कै पनि बताउनुभयो। येशूले आफ्नो उपस्थिति a अर्थात्‌ एउटा खास समयावधिबारे धेरै पटक चर्चा गर्नुभयो। (मत्ती २४:३७) येशूको उपस्थिति र मसीही राज्यको स्थापनाबीच गहिरो सम्बन्ध छ। उसोभए, येशूको उपस्थिति भनेको के हो? आउनुहोस्‌, येशूको उपस्थितिबारे बाइबलमा दिइएका चारवटा तथ्यहरू केलाऔं।

१. येशूको मृत्युपश्‍चात्‌ धेरै लामो समय बितिसकेपछि मात्रै उहाँको उपस्थिति सुरु हुने थियो। येशूले एउटा दृष्टान्तमा ‘आफ्नो निम्ति राजपद लिएर फर्कन टाढा देशमा जाने सम्पन्‍न मानिससित’ आफूलाई तुलना गर्नुभयो। (लूका १९:१२) यो भविष्यसूचक दृष्टान्त कसरी पूरा भयो? मृत्युपश्‍चात्‌ पुनरुत्थान भएपछि येशू “टाढा देश” अर्थात्‌ स्वर्ग जानुभयो। यस्तै अर्को दृष्टान्तमा “धेरै दिनपछि” मात्र आफू राजकीय शक्‍ति लिएर फर्कनेछु भनेर येशूले भविष्यवाणी गर्नुभयो।—मत्ती २५:१९.

येशू स्वर्ग गएको केही वर्षपछि प्रेरित पावलले लेखे: “तर ख्रीष्टले ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्नुभयो, यसपछि उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्जेल उहाँ पर्खिरहनुहुन्छ।” (हिब्रू १०:१२, १३) अतः पुनरुत्थान भएर स्वर्ग गएपछि येशूले धेरै लामो समयसम्म पर्खनुभयो। अन्तमा यहोवा परमेश्‍वरले आफ्नो पुत्रलाई धेरै अघि प्रतिज्ञा गरिएको मसीही राज्यको राजा बनाएपछि प्रतीक्षाको घडी सकियो। अनि सुरु भयो, ख्रीष्टको उपस्थिति। के पृथ्वीमा बसिरहेका मानिसहरूले यो महत्त्वपूर्ण घटना देख्ने थिए?

२. येशूको उपस्थिति मानिसले देख्नेगरि चलिरहने थिएन। येशूले आफ्नो उपस्थितिको दौडान देखिने चिह्नबारे चर्चा गर्नुभएको थियो भनेर नबिर्सनुहोस्‌। (मत्ती २४:३) यदि उहाँको उपस्थिति सबैले देख्नेगरि चलिरहने हो भने चिह्नको आवश्‍यकता पर्ने थियो र? उदाहरणका लागि कल्पना गर्नुहोस्‌, तपाईं कुनै सुन्दर हिमाल हेर्न पदयात्रामा जाँदै हुनुहुन्छ। ठाउँ ठाउँमा राखिएका संकेतपाटी वा चिह्नहरू हेर्दै तपाईं हिमालको काखैमा पुग्नुभयो। अब “हिमाल आइपुग्यो” भनेर ठूलो अक्षरले लेखेको संकेतपाटी कता होला भनेर के तपाईं खोज्नुहुन्छ? पक्कै खोज्नुहुन्‍न। आफ्नै आँखा अगाडि भएको कुराको लागि चिह्न के काम?

आफ्नो उपस्थिति स्वर्गमा मानिसले प्रत्यक्ष नदेख्नेगरि चलिरहने भएकोले ठम्याउन सजिलो होस्‌ भनेर येशूले चिह्न दिनुभएको थियो। “परमेश्‍वरको राज्य प्रत्यक्ष रूपमा आउँदैन” भनेर येशूले भन्‍नुभएको थियो। (लूका १७:२०) त्यसोभए, ख्रीष्टको उपस्थिति चलिरहेको छ भनेर कस्ता चिह्नहरूले संकेत गर्ने थिए?

३. येशूको उपस्थितिको दौडान पृथ्वीमा अत्यन्तै दुःख-कष्ट हुने थियो। स्वर्गमा राजाको हैसियतले उपस्थित भइरहेको बेलामा पृथ्वीमा युद्ध, अनिकाल, भूकम्प, रुढी अनि अपराध हुनेछन्‌ भनेर येशूले भन्‍नुभयो। (मत्ती २४:७-१२; लूका २१:१०, ११) अनि के कारणले गर्दा यस्ता विपत्ति हुने थिए? “यस संसारको मालिक” शैतानले गर्दा भनेर बाइबलले बताउँछ। (यूहन्‍ना १२:३१) ख्रीष्ट राजा भइसकेकोले शैतानको समय अब धेरै बाँकी छैन। त्यसैले असाध्यै क्रोधित भएर त्यसले विपत्तिमाथि विपत्ति थपिरहेको हो। (प्रकाश १२:९, १२) ख्रीष्टको उपस्थिति चलिरहेको छ भनेर देखाउने चिह्न अनि शैतानको क्रोधको प्रमाण अहिले हामी प्रशस्त देखिरहेका छौं। विशेषगरि सन्‌ १९१४ देखि यस्ता प्रमाण बेजोड अनि विश्‍वव्यापी ढंगमा प्रकट भइरहेका छन्‌। सन्‌ १९१४ देखि विश्‍वले नयाँ मोड लियो भनेर इतिहासकारहरू पनि स्वीकार्छन्‌।

पृथ्वीमा भइरहेका विपत्तिहरू हेर्दा ख्रीष्टको उपस्थिति हाम्रो लागि राम्रो खबर होइन जस्तो हामीलाई लाग्न सक्छ। तर त्यसो होइन। किनकि अहिले भइरहेका विपत्तिहरूले स्वर्गमा मसीही राज्य चलिरहेको छ भनेर संकेत गर्छ। त्यसले अब चाँडै यहाँ सारा पृथ्वीमा शासन गर्नेछ। तर परमेश्‍वरको शासन स्वीकारेर त्यसको प्रजा बन्‍न मानिसहरूसित त्यो राज्यबारे ज्ञान हुनु आवश्‍यक छ। के मानिसहरूलाई परमेश्‍वरको राज्यबारे थाह दिने कुनै काम ख्रीष्टको उपस्थितिको दौडान हुने थियो?

४. येशूको उपस्थितिको दौडान पृथ्वीमा चारैतिर प्रचार हुने थियो। “जस्तो नूहको दिनमा भएथ्यो” उस्तै गरी उहाँको उपस्थितिको दौडान पनि हुनेछ भनेर येशूले भन्‍नुभयो। b (मत्ती २४:३७-३९) नूहले जहाज बनाउने काम मात्र गरेनन्‌। तिनी “धर्मका प्रचारक” पनि थिए। (२ पत्रुस २:५) परमेश्‍वरले न्याय गर्ने दिन नजिकै छ भनेर नूहले प्रचार गरेका थिए। आफ्नो उपस्थितिको दौडान चेलाहरूले पनि पृथ्वीमा त्यस्तै चेतावनी दिने काम गर्नेछन्‌ भनेर येशूले भन्‍नुभयो। उहाँले यस्तो भविष्यवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.

परमेश्‍वरको राज्यले यो संसारका सबै सरकार नाश गर्नेछ भनेर हामीले अगाडिको लेखमा पढिसक्यौं। अहिले संसारभरि चलिरहेको प्रचारकार्यले मानिसहरूलाई स्वर्गीय राज्यले अब छिट्टै गर्न लागेका कामहरूबारे जानकारी दिनुका साथै मानव सरकारहरू सँगसँगै नाश हुनबाट बच्ने अनि परमेश्‍वरको राज्यको प्रजा बन्‍ने मौका दिन्छ। तर प्रश्‍न उठ्‌छ, के तपाईं परमेश्‍वरको राज्यको सन्देश सुनेर उहाँको प्रजा बन्‍न चाहनुहुन्छ?

परमेश्‍वरको राज्य के तपाईंका लागि शुभ समाचार साबित हुनेछ?

येशूले प्रचार गरेको सन्देशले अतुलनीय आशा दिन्छ। मानिसहरू सधैंभरि प्रमोदवनमा बाँचिरहून्‌ भनेर परमेश्‍वरले चाहनुभएको थियो। तर हजारौं वर्षअघि अदनको बगैंचामा भएको विद्रोहले गर्दा परमेश्‍वरको यो चाहना त्यतिखेर पूरा हुन सकेन। तर आफ्नो उद्देश्‍य पूरा गर्न यहोवा परमेश्‍वरले एउटा सरकार बनाउने योजना गर्नुभयो र त्यही सरकारले उहाँको उद्देश्‍य पूरा गरेर वफादार मानिसहरूलाई पृथ्वीमा सधैंभरि बाँच्ने सुअवसर दिने थियो। धेरै वर्षअघि यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको यो सरकारले अहिले स्वर्गमा शासन गरिरहेको छ भनेर थाह पाउँदा, के हामी खुसीले गद्‌गद्‌ हुँदैनौं र? परमेश्‍वरको राज्य, धेरै टाढाको भविष्यको कुरा अथवा अस्पष्ट धारणा होइन तर अहिले भइरहेको वास्तविकता हो।

परमेश्‍वरले नियुक्‍त गरेको राजाले अहिले आफ्ना शत्रुहरूमाझ राज्य गरिरहेको छ। (भजन ११०:२) साँचो परमेश्‍वरलाई चिन्‍न अनि “आत्मा र सत्यतामा” उहाँको उपासना गर्न चाहने मानिसहरूलाई खोजेर मसीहले यस भ्रष्ट संसारमा आफ्नो पिताको इच्छा पूरा गरिरहेको छ। (यूहन्‍ना ४:२४) हरेक जाति, उमेर अनि वर्गका मानिससामु परमेश्‍वरको राज्यमा प्रवेश गरेर सधैंभरि बाँच्ने मौका खुला छ। (प्रेरित १०:३४, ३५) यस्तो सुनौलो मौका नगुमाउनुहोस्‌! परमेश्‍वरको राज्यबारे अहिले समय हुँदै सिक्नुहोस्‌! त्यसो गर्नुभयो भने, उहाँको धार्मिक राज्यमा जीवन बिताउने मौका सधैंभरि पाउनुहुनेछ।—१ यूहन्‍ना २:१७. (w08 1/1)

[फुटनोटहरू]

a नेपाली बाइबलमा यसलाई “आगमन” भनेर अनुवाद गरिएको छ। तर यसको मौलिक युनानी शब्द “पारुसिया” हो, जसको अर्थ “उपस्थिति,” “उपस्थित हुनु,” “उपस्थित भइरहनु” हुन्छ।

b केही बाइबलले “उपस्थिति” शब्दको गलत अनुवाद गरेर ख्रीष्टको उपस्थितिबारे फैलाएको गलत धारणालाई येशूको यो भनाइले स्पष्ट पार्छ। कुनै बाइबलमा “उपस्थिति” शब्दलाई “आउनु” “आगमन” “फिर्ती” भनेर अनुवाद गरिएको छ, जसले क्षणभर चल्ने घटनालाई बुझाउँछ। तर याद गर्नुहोस्‌, येशूले आफ्नो उपस्थितिलाई नूहको जलप्रलय अर्थात्‌ घटनासित तुलना नगरेर ‘नूहको दिनसित’ अर्थात्‌ निर्णायक समयावधिसित तुलना गर्नुभयो। ख्रीष्टको उपस्थिति चलिरहेको बेलामा पनि नूहको समयावधिमा जस्तै मानिसहरू आ-आफ्नै दिनचर्यामा व्यस्त हुने थिए र तिनीहरूले चेतावनीको कुनै वास्ता गर्ने थिएनन्‌।

[पृष्ठ ६-मा भएको चित्रहरू]

अहिले हामीले सुन्‍ने अशुभ समाचारहरूले अब छिट्टै असल थोक पाइनेछ भन्‍ने प्रमाण दिन्छ

[स्रोत]

Antiaircraft gun: U.S. Army photo