सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्य के हो?

परमेश्‍वरको राज्य के हो?

परमेश्‍वरको राज्य के हो?

येशू विशेषगरि केबारे प्रचार गर्नुहुन्थ्यो? स्वयम्‌ उहाँको भनाइअनुसार परमेश्‍वरको राज्यबारे। (लूका ४:४३) येशू परमेश्‍वरको राज्यबारे चर्चा गरिरहनुहुन्थ्यो। उहाँले परमेश्‍वरको राज्यबारे कुरा गर्दा के मानिसहरूले अचम्म माने? अहँ, मानेनन्‌। के तिनीहरूले परमेश्‍वरको राज्य के हो भनेर सोधे? अहँ, सोधेनन्‌। मानिसहरूले यस्ता प्रश्‍न सोधे भनेर बाइबलमा कतै पनि लेखिएको पाइँदैन। उसोभए, परमेश्‍वरको राज्य ती मानिसहरूले जानेबुझेकै विषय पो थियो कि?

तथ्य कुरा के हो भने, यहूदीहरूको पवित्र अनि पुरानो धर्मशास्त्रमा परमेश्‍वरको राज्य के हो र त्यसले के-के गर्नेछ भनेर जीवन्त ढंगमा वर्णन गरिएको थियो। त्यतिखेरका यहूदीहरूले जस्तै बाइबल पढेर परमेश्‍वरको राज्यबारे आज हामी अझ धेरै कुरा सिक्न सक्छौं। त्यसोभए आउनुहोस्‌, परमेश्‍वरका राज्यबारे सातवटा तथ्य हामी एक-एक गरी केलाएर हेरौं। यीमध्ये पहिलो तीनवटा तथ्य येशू पृथ्वीमा आउनुअघि नै यहूदीहरूलाई थाह थियो। त्यसपछिका तीनवटा तथ्यचाहिं प्रथम शताब्दीमा ख्रीष्ट अनि उहाँका चेलाहरूले प्रकट गरेका हुन्‌। अनि सातौं तथा अन्तिम तथ्य भने हाम्रो समयमा प्रस्ट भएको हो।

१. परमेश्‍वरको राज्य वास्तविक अनि चिरस्थायी सरकार हो। वफादार मानवजातिलाई छुटकारा दिन परमेश्‍वरले मुक्‍तिदाता पठाउनुहुनेछ भनेर बाइबलको पहिलो भविष्यवाणीले प्रकट गर्छ। यस भविष्यवाणीमा मुक्‍तिदातालाई “वंश” भनिएको छ र आदम, हव्वा अनि शैतानको विद्रोहले निम्त्याएका सबै दुष्परिणाम तिनले हटाउने थिए। (उत्पत्ति ३:१५) धेरै वर्षपछि वफादार राजा दाऊदलाई यो “वंश” अथवा मसीहबारे अरू रोमाञ्चकारी जानकारी दिइयो। तिनलाई दिइएको जानकारीअनुसार मसीह परमेश्‍वरको राज्यको राजा हुने थिए। तिनको सरकार अरू सबै सरकारभन्दा बेग्लै हुने थियो। अनि त्यो राज्य सधैंभरि चल्ने थियो।—२ शमूएल ७:१२-१४.

२. परमेश्‍वरको राज्यले सबै मानव सरकारलाई हटाउनेछ। हाम्रो समयसम्म कुन-कुन विश्‍व-शक्‍ति क्रमशः देखा पर्नेछ भनेर अगमवक्‍ता दानियलले दर्शन पाएका थिए। यसरी सबै विश्‍व-शक्‍ति देखापरेपछि अन्तमा के हुने थियो? तिनले यसरी बताए: “ती [अन्तिम मानव] राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” यसप्रकार, यस संसारका सबै राज्य अनि तिनीहरूले गर्ने युद्ध, शोषण, भ्रष्टाचार सधैंका लागि अन्त हुनेछन्‌। दानियलको भविष्यवाणीअनुसार परमेश्‍वरको राज्यले छिट्टै सारा पृथ्वीमा राज्य गर्नेछ। (दानियल २:४४, ४५) अन्तमा, सारा संसारभरि परमेश्‍वरको राज्यबाहेक अरू कुनै राज्य वा सरकार अस्तित्वमा हुनेछैन। a

३. परमेश्‍वरको राज्यले युद्ध, रोगबिमार, अनिकाल अनि मृत्युसमेत हटाउनेछ। परमेश्‍वरको राज्यले पृथ्वीमा के-के गर्नेछ भनेर बाइबलका रोमाञ्चकारी भविष्यवाणीहरूमा वर्णन गरिएको छ। कुनै मानव संगठन अनि सरकारले कहिल्यै गर्न नसकेको अनि गर्न नसक्ने काम परमेश्‍वरको राज्यले गर्नेछ। त्यो हो, युद्धका हातहतियार सधैंको लागि नष्ट गर्ने! “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ।” (भजन ४६:९) परमेश्‍वरको राज्य आएपछि डाक्टर र अस्पतालको आवश्‍यकता पर्नेछैन। किनकि त्यतिखेर कसैले “म बिरामी परें” भन्‍ने छैनन्‌। (यशैया ३३:२४) अनिकाल, खाद्यान्‍न संकट, कुपोषण अनि भोकमरी हुनेछैन। किनकि “पृथ्वीमा पहाडका टाकुराहरूमा [समेत] प्रशस्त गरी अन्‍न हुनेछ।” (भजन ७२:१६) फेरि अन्त्येष्टि गर्नुपर्ने छैन, लास कुरेर जाग्राम बस्नु पर्नेछैन। चिहान अनि शवगृहहरू हुनेछैनन्‌। मृत्युले निम्त्याउने कुनै दुःख अनि पीडा हुनेछैन। हाम्रो निर्दयी शत्रु मृत्युलाई नामेट पारिनेछ। परमेश्‍वरले ‘मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।’—यशैया २५:८.

४. परमेश्‍वरले आफ्नो राज्यको राजा छान्‍नुभएको छ। मसीह, स्वघोषित राजा अथवा असिद्ध मानिसहरूले छानेको राजा हुनुहुन्‍न। उहाँ स्वयम्‌ यहोवा परमेश्‍वरले चुनेको राजा हुनुहुन्छ। मसीह र ख्रीष्ट उपाधिको अर्थ “अभिषिक्‍त जन” हो र यी दुवै उपाधिले परमेश्‍वरले विशेष ओहोदाका लागि नियुक्‍त गरेको भन्‍ने अर्थ दिन्छ। अतः परमेश्‍वरको राज्यको राजा, यहोवा स्वयम्‌ले अभिषेक गर्नुभएको राजा हुनुहुन्छ। आफूले रोजेको राजाबारे परमेश्‍वर यसो भन्‍नुहुन्छ: “मेरो दासलाई हेर, जसलाई म सह्‍माल्दछु, मेरो चुनिएको, जसमा मेरो प्राण प्रसन्‍न हुन्छ। तिनमा मैले मेरो आत्मा हालेको छु। तिनले जाति जातिहरूका बीचमा न्याय ल्याउनेछन्‌।” (यशैया ४२:१; मत्ती १२:१७, १८) हामीलाई कस्तो राजा चाहिन्छ, निश्‍चय पनि हाम्रो सृष्टिकर्तालाई राम्ररी थाह छ।

५. परमेश्‍वरको राज्यको शासकले सारा मानवजातिसामु आफ्नो योग्यता प्रकट गरिसकेको छ। नासरतका येशू भविष्यवाणी गरिएको मसीह साबित हुनुभयो। परमेश्‍वरले रोजेको परिवारमा उहाँको जन्म भयो। (उत्पत्ति २२:१८; १ इतिहास १७:११; मत्ती १:१) शताब्दियौंअघि मसीहबारे गरिएका थुप्रै भविष्यवाणी येशूले पूरा गर्नुभयो। येशू नै मसीह हुनुहुन्छ भनेर स्वर्गबाट पनि प्रमाणित भयो। कसरी? परमेश्‍वर आफैले स्वर्गबाट यिनी मेरो प्यारो पुत्र हुन्‌ भन्‍नुभयो; येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर स्वर्गदूतहरूले बताए; अनि हजारौं मानिसहरूमाझ थुप्रै चमत्कार गरेर येशूले परमेश्‍वरबाट पाएको अख्तियार प्रदर्शन गर्नुभयो। b आफू कस्तो किसिमको शासक हुनेछु भनेर येशूले धेरै पटक मानिसहरूलाई देखाउनुभयो। उहाँसित मानिसहरूलाई मदत गर्ने शक्‍ति मात्र होइन इच्छा पनि थियो। (मत्ती ८:१-३) उहाँ उदार, दयालु, साहसी अनि नम्र हुनुहुन्थ्यो। पृथ्वीमा हुँदा उहाँले के-कस्ता काम गर्नुभयो बाइबल पढेर सबैले थाह लगाउन सक्छन्‌।

६. परमेश्‍वरको राज्यको राजा ख्रीष्टका १,४४,००० जना सह-शासकहरू छन्‌। येशूले आफ्ना प्रेरितलगायत अरू वफादार मानिसहरूले उहाँ सँगै स्वर्गमा राज्य गर्नेछन्‌ भन्‍नुभयो। उहाँले यो समूहलाई “सानो बगाल” भन्‍नुभयो। (लूका १२:३२) यो सानो बगालमा १,४४,००० जना हुनेछन्‌ भनेर परमेश्‍वरले पछि यूहन्‍नालाई बताउनुभयो। तिनीहरूले स्वर्गमा ख्रीष्टसँग मिलेर राजा अनि पूजाहारीको रूपमा सेवा गर्ने आकर्षक जिम्मेवारी पाउने थिए।—प्रकाश ५:९, १०; १४:१, ३.

७. परमेश्‍वरको राज्यले अहिले स्वर्गमा शासन गर्दैछ र छिट्टै सारा पृथ्वीमा त्यसले शासन गर्नेछ। परमेश्‍वरको राज्यसित सम्बन्धित यो अन्तिम तथ्य हाम्रो लागि सबैभन्दा रोमाञ्चकारी छ। येशू स्वर्गमा राजा भइसक्नुभयो भनेर बाइबलले प्रशस्त प्रमाण दिन्छ। अहिले हामी बाँचिरहेकै समयमा येशूले शासन गरिरहनुभएको छ। अब छिट्टै उहाँले सारा पृथ्वीमा राज्य गर्नुहुनेछ र हामीले माथि पढेका सबै अद्‌भुत भविष्यवाणी पूरा गर्नुहुनेछ। तर परमेश्‍वरको राज्य अहिले चलिरहेको छ भनेर हामी कसरी ढुक्क हुन सक्छौं? अनि त्यसले कहिलेदेखि पृथ्वीमा शासन गर्नेछ? (w 08 1/1)

[फुटनोटहरू]

a सायद हामीले परमेश्‍वरको राज्य हृदयमा हुन्छ भनेर सिकेका थियौं होला। तर यो र यस्तै अन्य भविष्यवाणीले परमेश्‍वरको राज्य हाम्रो हृदयमा हुने कुरा नभई वास्तविक सरकार हो भनेर देखाउँछ।

b उदाहरणका लागि, मत्ती ३:१७; लूका २:१०-१४; यूहन्‍ना ६:५-१४ हेर्नुहोस्‌।