सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मर्कूसको पुस्तकका विशेषताहरू

मर्कूसको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

मर्कूसको पुस्तकका विशेषताहरू

सुसमाचारको चारवटा पुस्तकमध्ये मर्कूसको पुस्तक सबैभन्दा छोटो छ। येशू ख्रीष्टको मृत्यु र पुनरुत्थान भएको झन्डै ३० वर्षपछि मर्कूसले लेखेको यो पुस्तकमा, येशूको साढे तीन वर्षको सेवकाईको थुप्रै रोमाञ्चकारी विवरण पाउन सकिन्छ।

गैर-यहूदीहरू, त्यसमा पनि विशेष गरी रोमीहरूलाई लेखिएको हुन सक्ने मर्कूसको पुस्तकमा येशूलाई जोसका साथ प्रचारकार्यमा भाग लिने चमत्कार गर्ने परमेश्‍वरको पुत्रको रूपमा चित्रण गरिएको छ। यस पुस्तकमा येशूका शिक्षालाई भन्दा पनि उहाँका कार्यलाई बढी जोड दिइएको छ। मर्कूसको सुसमाचारको पुस्तकमा ध्यान दिंदा मसीहमाथिको हाम्रो विश्‍वास बलियो हुन्छ र परमेश्‍वरको सन्देशको जोसिलो प्रचारक हुन उत्प्रेरित हुन्छौं।—हिब्रू ४:१२.

गालीलमा उत्कृष्ट सेवकाई

(मर्कू. १:१–९:५०)

बप्तिस्मा दिने यूहन्‍नाको गतिविधि र येशूले उजाडस्थानमा बिताएको ४० दिनबारे सुरुका १४ पदहरूमा नै बताउन सिध्याएर, मर्कूस येशूको रोमाञ्चकारी गालील सेवकाईको विवरण सुरु गर्छन्‌। “तुरुन्तै” शब्द बारम्बार प्रयोग गरिनुले यस विवरणमा बियाँलो नगर्ने भाव भएको कुरा स्पष्ट हुन्छ।—मर्कू. १:१०, १२.

तीन वर्ष पनि पूरा नहुँदै येशूले गालीलमा तीनचोटि प्रचार अभियान गर्नुहुन्छ। मर्कूस आफ्नो विवरण प्रायजसो कालक्रमअनुसार प्रस्तुत गर्छन्‌। तिनी डाँडाको उपदेश र येशूका अन्य लामो भाषणहरू समावेश गर्दैनन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:१५—केको लागि तोकिएको “समय” पूरा भएको थियो? आफ्नो सेवकाई सुरु गर्न तोकिएको समय पूरा भएको थियो भनेर येशू उल्लेख गर्दै हुनुहुन्थ्यो। नियुक्‍त राजाको रूपमा उहाँ उपस्थित हुनुभएकोले परमेश्‍वरको राज्य नजिक आइपुगेको थियो। असल हृदय भएका मानिसहरूले उहाँको सन्देश सुनेर परमेश्‍वरको अनुमोदन प्राप्त गर्न मदत दिने कदम चाल्न सक्थे।

१:४४; ३:१२; ७:३६—आफूले गरेका चमत्कारहरूको प्रचार-प्रसार भएको येशू किन चाहनुहुन्‍न थियो? सनसनीपूर्ण वा बंग्याइएको हुन सक्ने रिपोर्टहरूको आधारमा मानिसहरू कुनै निष्कर्षमा पुगून्‌ भन्‍ने उहाँ चाहनुहुन्‍न थियो। बरु, उहाँ ख्रीष्ट हुनुहुन्छ भनी मानिसहरू आफैले देखी त्यसको आधारमा व्यक्‍तिगत निर्णय गरून्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो। (यशै. ४२:१-४; मत्ती ८:४; ९:३०; १२:१५-२१; १६:२०; लूका ५:१४) तर यसको अपवाद चाहिं गिरासिनीको भूतप्रेत लागेको मानिसको घटना हो। येशूले तिनलाई यस विषयमा आफ्नो घरपरिवारलाई बताउन भन्‍नुभयो। येशूलाई त्यस इलाकाबाट गइहाल्न बिन्ती गरिएकोले उहाँले त्यहाँका मानिसहरूलाई भेट्‌ने मौका त्यति पाउनुभएन वा पट्‌क्कै पाउनुभएन। येशूले निको पारेको मानिसको उपस्थिति र गवाहीले सूँगुरहरू मरेको कारण फैलिएको नराम्रो प्रचार-प्रसारलाई मत्थर पार्न सक्थ्यो।—मर्कू. ५:१-२०; लूका ८:२६-३९.

२:२८—येशूलाई किन “विश्रामको दिनको पनि प्रभु” भनिएको? “व्यवस्थामा अब आउने उत्तम कुराहरूको . . . छाया” छ भनेर प्रेरित पावलले लेखे। (हिब्रू १०:१) व्यवस्थामा बताएझैं विश्राम दिन छ-छ दिन काम गरेपछि आउँथ्यो र येशूले थुप्रै मानिसलाई त्यसै विश्राम दिनमा निको पार्नुभयो। यो कुरा, शैतानको दमनकारी शासनको अन्तपछि ख्रीष्टको हजार वर्षीय शासनको दौडान मानिसहरूले अनुभव गर्ने आराम र अन्य आशिष्‌हरूको पूर्वझलक थियो। त्यसकारण, त्यस राज्यको राजा “विश्राम-दिनको प्रभु” पनि हो।—मत्ती १२:८; लूका ६:५.

३:५; ७:३४; ८:१२—येशूले विभिन्‍न परिस्थितिमा कस्तो महसुस गर्नुभयो भनी मर्कूसले कसरी थाह पाए? मर्कूस, १२ प्रेरितहरूमध्येका थिएनन्‌ न त तिनी येशूसँग घनिष्ठ नै थिए। त्यतिबेला एउटाले अर्कोलाई जानकारी दिने चलनअनुसार मर्कूसको मिल्ने साथी प्रेरित पत्रुस तिनको जानकारीको स्रोत थिए।—१ पत्रु. ५:१३.

६:५१, ५२—चेलाहरूले बुझ्न नसकेको “रोटीहरूका विषयको कुरा” के थियो? केही घण्टाअघि मात्रै येशूले जम्मा पाँचवटा रोटी र दुइटा माछाले ५,००० मानिसलाई खुवाउनुभएको थियो, यस गन्तीमा स्त्री र केटाकेटीलाई त समावेश गरिएको थिएन। चेलाहरूले बुझ्नुपर्ने “रोटीहरूका विषयको कुरा” के थियो भने, चमत्कार गर्ने शक्‍ति येशूले यहोवा परमेश्‍वरबाट पाउनुभएको थियो। (मर्कू. ६:४१-४४) येशूलाई दिइएको शक्‍तिको महानतालाई तिनीहरूले बुझेका भए उहाँ चमत्कारी ढंगमा पानीमा हिंड्‌नुहुँदा तिनीहरू त्यतिको छक्क पर्नुपर्ने थिएन।

८:२२-२६—येशूले किन दुई चरण गरेर अन्धो मानिसको दृष्टि फर्काइ दिनुभयो? त्यस मानिसको ख्याल राख्दै येशूले त्यसो गर्नुभएको हुन सक्छ। लामो समयदेखि अन्धकारमा बस्ने बानी परिसकेको मानिसलाई त्यसरी बिस्तारै दृष्टि फर्काइदिंदा सूर्यको उज्यालोमा हेर्न सजिलो हुनेथियो।

हाम्रो लागि पाठ:

२:१८; ७:११, NRV; १२:१८; १३:३. गैर-यहूदी पाठकहरूलाई नौलो लाग्न सक्ने चलन, अभिव्यक्‍ति, विश्‍वास र ठाउँहरूलाई मर्कूसले व्याख्या गरेका छन्‌। फरिसीहरू “बर्त बस्तछन्‌,” कुर्बान भनेको “परमेश्‍वरलाई चढाइएको” उपहार हो, सदुकीहरू “पुनरुत्थान हुँदैन” भन्छन्‌ र मन्दिरको “सामने जैतून डाँडा” छ भनेर तिनले बुझाए। मसीहको वंशावली मुख्यतया यहूदीहरूका लागि चासोको विषय हुने भएकोले तिनले यसबारे चर्चा नै गरेका छैनन्‌। यसरी मर्कूसले हाम्रो लागि उदाहरण बसालेका छन्‌। मसीही सेवकाईमा भाग लिंदा होस्‌ वा मण्डलीका सभाहरूमा भाषण दिंदा, हामीले श्रोताहरूको पृष्ठभूमिलाई ध्यानमा राख्नुपर्छ।

३:२१. येशूका नातेदारहरू अविश्‍वासी थिए। त्यसैले आज पनि आफ्नो विश्‍वासको कारण परिवारका अन्य सदस्यहरूबाट विरोध वा गिल्लाको सामना गरिरहेकाहरूप्रति उहाँ समानुभूति देखाउनुहुन्छ।

३:३१-३५. येशूको बप्तिस्मापछि उहाँ परमेश्‍वरको आत्मिक पुत्र हुनुभयो र “माथिको यरूशलेमचाहिं” उहाँकी आमा। (गला. ४:२६) त्यस समयदेखि येशूको लागि आफ्ना नातेदारहरूभन्दा आफ्ना चेलाहरू अझ अनमोल भए। यसबाट हामीले आध्यात्मिक कुराहरूलाई आफ्नो जीवनमा प्रथम स्थानमा राख्नुपर्ने पाठ सिक्न सक्छौं।—मत्ती १२:४६-५०; लूका ८:१९-२१.

८:३२-३४. झूटो दया देखाइँदा हामी सतर्क भइहाल्नुपर्छ र त्यसलाई इन्कार गर्नुपर्छ। ख्रीष्टको पछि लाग्ने व्यक्‍ति “आफूलाई इन्कार” गर्न अर्थात्‌ स्वार्थी इच्छा र लक्ष्यलाई त्याग्न तयार हुनै पर्छ। “आफ्नो क्रूस [“शासनाको खम्बा,” NW]” उठाउन अर्थात्‌ परिआएमा दुःख भोग्न, अपमान र सतावट सहन वा मसीही भएकोले मारिन लाग्दा समेत तयार हुनुपर्छ। उहाँले बसालेको नमुनाअनुसार आफ्नो जीवन ढालेर येशूको ‘पछि लागिरहनै पर्छ।’ चेला भएपछि येशू ख्रीष्टको जस्तै आत्म-त्यागी मनोभाव विकास गरेर त्यसलाई कायम राख्नुपर्छ।—मत्ती १६:२१-२५; लूका ९:२२, २३.

९:२४. आफ्नो विश्‍वासबारे अरूलाई बताउन वा विश्‍वास बढाइदिन परमेश्‍वरलाई बिन्ती गर्न हामीले लाज मान्‍नु हुँदैन।—लूका १७:५.

अन्तिम महिना

(मर्कू. १०:१–१६:८)

इस्वी संवत्‌ ३२ को अन्ततिर येशू “यर्दन नदीको पारिपट्टि यहूदियाका सीमानाहरूभित्र” आउनुहुन्छ र भीड फेरि उहाँकहाँ जम्मा हुन्छ। (मर्कू. १०:१) त्यहाँ प्रचार गरिसकेपछि उहाँ यरूशलेमतिर लाग्नुहुन्छ।

नीसान ८ का दिन येशू बेथानीमा हुनुहुन्छ। उहाँ खाना खान बस्नुहुँदा एउटी आइमाईले उहाँको टाउकोमा सुगन्धित तेल खन्याइदिन्छिन्‌। विजयोत्सवका साथ येशू यरूशलेम प्रवेश गर्नुभएको घटनादेखि उहाँको पुनरुत्थानसम्मका घटनाहरू कालक्रमअनुसार प्रस्तुत गरिएका छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१०:१७, १८—एक जना मानिसले येशूलाई “उत्तम गुरु” भनी सम्बोधन गर्दा उहाँले तिनलाई किन सच्याउनुभयो? कुनै ठूलो पदवीजस्तो सुनिने यस सम्बोधनलाई इन्कार गरेर येशूले महिमा यहोवातर्फ मोड्‌नुभयो र सबै असल कुराको स्रोत साँचो परमेश्‍वर हुनुहुन्छ भनी संकेत गर्नुभयो। यसबाहेक, असल र खराबको स्तर तय गर्ने अधिकार सबै कुराका सृष्टिकर्ता यहोवा परमेश्‍वरसित मात्र छ भन्‍ने आधारभूत तथ्यप्रति येशूले ध्यान खिच्नुभयो।—मत्ती १९:१६, १७; लूका १८:१८, १९.

१४:२५—“म फेरि दाखको फलबाट त्यस दिनसम्म पिउनेछैन, जहिलेसम्म परमेश्‍वरको राज्यमा त्यो नयाँ पिउँदिनँ” भनी येशूले आफ्ना विश्‍वासी प्रेरितहरूलाई भन्‍नुको अर्थ के थियो? येशूले स्वर्गमा पनि दाखमद्य पाइन्छ भनेर त पक्कै भनिरहनुभएको थिएन। तर कहिलेकाहीं दाखमद्यले रमाहटको अवस्थालाई चित्रण गर्ने भएकोले, येशूले परमेश्‍वरको राज्यमा पुनरुत्थान भएका अभिषिक्‍त अनुयायीहरूसँग एकसाथ भेट्‌दा हुने आनन्दलाई संकेत गरिरहनुभएको थियो।—भज. १०४:१५; मत्ती २६:२९.

१४:५१, ५२—“नाङ्‌गै भाग्ने” जवान मानिस को थियो? मर्कूसले मात्र यो कुरा बताएका छन्‌। त्यसैले तिनले आफ्नै कुरा गरिरहेका थिए भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं।

१५:३४—“हे मेरो परमेश्‍वर, हे मेरो परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नु भयो?” भनी येशूले भन्‍नुभयो। के यसले उहाँमा विश्‍वासको कमी भएको कुरालाई संकेत गर्छ? अहँ, गर्दैन। येशूले यसो भन्‍नुको खास तात्पर्य के हो, हामी पक्का त हुन सक्दैनौं। तर आफ्नो पुत्रको निष्ठाको पूरा जाँच होस्‌ भनेर आफूबाट यहोवाले सुरक्षा हटाउनुभएको येशूलाई थाह भएको कुरालाई यी शब्दहरूले संकेत गरेको हुन सक्छ। भजन २२:१ मा उहाँबारे गरिएको भविष्यवाणी पूरा गर्न पनि उहाँले यी शब्दहरू भनेको हुन सक्छ।—मत्ती २७:४६.

हाम्रो लागि पाठ:

१०:६-९. विवाहित दम्पतीहरू सँगै मिलेर बसून्‌ भन्‍ने उद्देश्‍य परमेश्‍वरको हो। त्यसैले, सम्बन्ध विच्छेद गर्ने निर्णय गरिहाल्नुभन्दा पहिला पति-पत्नीले वैवाहिक सम्बन्धमा आउन सक्ने समस्याको सामना गर्न बाइबलका सिद्धान्तहरू लागू गर्ने प्रयास गर्नुपर्छ।—मत्ती १९:४-६.

१२:४१-४४. साँचो उपासनाको लागि सहयोग दिने सन्दर्भमा हामी उदार हुनुपर्छ भनी गरिब विधवाको उदाहरणबाट पाठ सिक्न सक्छौं। (w08 2/15)