सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको मार्गमा हिंड्‌नुहोस्‌

यहोवाको मार्गमा हिंड्‌नुहोस्‌

यहोवाको मार्गमा हिंड्‌नुहोस्‌

“हरेक जो परमप्रभुदेखि डराउँछ, जो उहाँको मार्गमा हिंड्‌छ, त्यो धन्यको हो।”—भज. १२८:१.

१, २. आनन्दित हुनु सम्भव छ भनेर हामी कसरी भन्‍न सक्छौं?

 सबै जना आनन्दित हुन चाहन्छन्‌। तर आनन्द इच्छा गरेर अथवा खोजेर पाइने कुरा होइन भनेर तपाईं पक्कै पनि सहमत हुनुहुन्छ।

त्यसोभए के आनन्दित हुनु असम्भव छ? भजन १२८:१ यसो भन्छ: “हरेक जो परमप्रभुदेखि डराउँछ, जो उहाँको मार्गमा हिंड्‌छ, त्यो धन्यको हो।” हो, यहोवाको उपासना गऱ्‍यौं अनि उहाँको आज्ञा पालन गऱ्‍यौं भने हामी धन्यको अर्थात्‌ साँच्चै आनन्दित हुन सक्छौं। यहोवाको आज्ञा मानेर उहाँको मार्गमा हिंड्यौं भने हामी कस्तो मानिस हुनेछौं अनि हाम्रो व्यवहार कस्तो हुनेछ?

आफूलाई भरोसायोग्य साबित गर्नुहोस्‌

३. परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्ने प्रतिज्ञा र भरोसायोग्य हुनुबीच के सम्बन्ध छ?

यहोवाको भय मान्‍ने मानिस उहाँजस्तै भरोसायोग्य हुन्छ। प्राचीन इस्राएलसित गरेका सबै प्रतिज्ञा पूरा गरेर यहोवाले आफूलाई भरोसायोग्य साबित गर्नुभयो। (१ राजा ८:५६) परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्ने प्रतिज्ञा आज हामीले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण प्रतिज्ञा हो। हामीले बारम्बार प्रार्थना गरेर यहोवासित मदत माग्यौं भने हाम्रो यो प्रतिज्ञा पूरा गर्न सक्नेछौं। भजनरचयिताले जस्तै हामी यसो भनेर प्रार्थना गर्न सक्छौं: “हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ। . . . दिनहुँ मेरा भाकलहरू पूरा गर्नलाई, म तपाईंको नाउँको सदा सर्वदा प्रशंसा गर्नेछु।” (भज. ६१:५, ८; उप. ५:४-६) परमेश्‍वरको मित्र बन्‍न हामी भरोसायोग्य हुनैपर्छ।—भज. १५:१, ४.

४. यहोवासित गरेको भाकललाई यिप्तह र तिनकी छोरीले कसरी लिए?

प्राचीन इस्राएली न्यायकर्ताहरूको पालामा यिप्तहले एउटा भाकल गरेका थिए। यहोवाले अम्मोनीहरूलाई तिनको हातमा सुम्पिदिनुभयो भने तिनलाई भेट्‌न घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी “होमबलि गरी चढाउनेछु” भनी तिनले भाकल गरे। दुःखको कुरा, तिनको एक मात्र सन्तान, तिनकी छोरी नै तिनलाई भेट्‌न आउने पहिलो प्राणी साबित भइन्‌। तर यिप्तह र तिनकी अविवाहित छोरीले यहोवामाथि भरोसा गरे अनि भाकल पूरा गरे। बिहेबारी गर्नु अनि सन्तान जन्माउनु इस्राएलमा ठूलो महत्त्वको कुरा थियो। तैपनि यिप्तहकी छोरी स्वेच्छाले बिहे नगरी बसिन्‌ र यहोवाको बासस्थानमा पवित्र सेवा चढाउने आदरणीय काममा व्यस्त भइन्‌।—न्याय. ११:२८-४०.

५. हन्‍नाले कसरी आफूलाई भरोसायोग्य साबित गरिन्‌?

यहोवाको डर राख्ने हन्‍नाले पनि आफूलाई भरोसायोग्य साबित गरिन्‌। तिनका पति एल्काना लेवी कुलका थिए। हन्‍ना आफ्नो पति र सौता पनिन्‍नासित एप्रैमको पहाडी देशमा बस्थिन्‌। पनिन्‍नाका थुप्रै छोराछोरी थिए; तर हन्‍ना भने बाँझी थिइन्‌। त्यसैले पनिन्‍ना हन्‍नालाई खसालेर कुरा गर्थिन्‌ र वर्षेनी शीलो जाने बेलामा त अति नै गर्थिन्‌। एक पटक शीलो गएको बेला हन्‍नाले यदि आफ्नो छोरा जन्मियो भने त्यो छोरा समर्पण गर्नेछु भनेर यहोवासित भाकल गरिन्‌। यसको केही समय नबित्दै तिनी गर्भवती भइन्‌ र छोरा जन्माइन्‌। तिनले छोराको नाउँ शमूएल राखिन्‌। शमूएललाई दूध छुटाएपछि हन्‍नाले तिनलाई शीलो लगेर “जीवन्तपर्यन्त” यहोवालाई समर्पण गरिन्‌। (१ शमू. १:११) आफ्नो अरू सन्तान हुने हो कि होइन थाह नभए तापनि हन्‍नाले आफ्नो भाकल पूरा गरिन्‌।—१ शमू. २:२०, २१.

६. टाइकिकस भरपर्दा व्यक्‍ति थिए भनेर कसरी देखियो?

प्रथम शताब्दीका मसीही टाइकिकस भरोसायोग्य अनि “विश्‍वासी सेवक” थिए। (कल. ४:७) तिनले प्रेरित पावलसँगै म्यासिडोनिया हुँदै ग्रीस, एसिया माइनर अनि सायद यरूशलेमसम्म यात्रा गरे। (प्रेरि. २०:२-४) यहूदियामा आर्थिक संकटमा परेका भाइबहिनीका लागि दान सञ्चालन गर्न तीतसलाई मदत गर्ने “भाइ” पनि टाइकिकस हुन सक्छन्‌। (२ कोरि. ८:१८-२०, NRV; १२:१८) रोममा थुनामा परेको बेला पावलले टाइकिकसलाई भरपर्दो प्रतिनिधीको रूपमा चलाए। एफिसस अनि कलस्सीका भाइबहिनीकहाँ पत्र पुऱ्‍याउन पावलले तिनलाई पठाए। (एफि. ६:२१, २२; कल. ४:८, ९) रोममा दोस्रो पटक थुनामा पर्दा पावलले यिनै टाइकिकसलाई फेरि एफिसस पठाए। (२ तिमो. ४:१२) टाइकिकसजस्तै भरोसायोग्य भयौं भने हामीले पनि यहोवाको सेवा गर्ने विभिन्‍न सुअवसर पाउनेछौं।

७, ८. दाऊद र जोनाथन असल मित्र थिए भनेर हामी किन भन्‍न सक्छौं?

हामी भरोसायोग्य मित्र बनेको परमेश्‍वर आशा गर्नुहुन्छ। (हितो. १७:१७) राजा शाऊलका छोरा जोनाथन दाऊदका मित्र थिए। दाऊदले गोल्यतलाई मारे भन्‍ने खबर सुनेपछि जोनाथनले दाऊदसित “गहिरो मित्रता बाँधे” र तिनलाई “आफैलाई झैं प्रेम गर्न लागे।” (१ शमू. १८:१, ३) शाऊलले दाऊदको हत्या गर्न खोज्दा जोनाथनले तिनलाई सचेतसमेत गराए। दाऊद उम्केर भागेपछि जोनाथनले तिनलाई भेटे र तिनीसित वाचा बाँधे। दाऊदको पक्ष लिएर शाऊलसित बिन्ती गर्दा जोनाथनले झन्डै ज्यान गुमाउनु पऱ्‍यो। तैपनि, यी दुई मित्रले फेरि भेटेर आफ्नो मित्रतालाई झन्‌ पक्का बनाए। (१ शमू. २०:२४-४१) अन्तिम पटक भेटघाट हुँदा जोनाथनले दाऊदलाई “परमेश्‍वरको नाउँमा अझै उत्साह दिए।”—१ शमू. २३:१६-१८.

पलिश्‍तीहरूसित युद्ध गर्दा जोनाथनको मृत्यु भयो। (१ शमू. ३१:६) आफ्नो मित्र जोनाथनको मृत्युले गर्दा दुःखी भएका दाऊदले यस्तो गीत गाए: “हे जोनाथन, मेरो भाइ, तिम्रो निम्ति म विलाप गर्दछु! तिमी मेरो निम्ति प्रिय र मनपर्दा थियौ। मप्रतिको तिम्रो प्रेम अचम्मको थियो, स्त्रीहरूको प्रेमलाई जित्ने।” (२ शमू. १:२६) हो, दाऊद र जोनाथन साँच्चै असल मित्र थिए।

सधैं ‘नम्र मनको’ हुनुहोस्‌

९. नम्र मनको हुनु महत्त्वपूर्ण छ भनेर न्यायकर्त्ता अध्याय ९ ले कसरी देखाउँछ?

परमेश्‍वरको मित्र बन्‍न हामी ‘नम्र मनको’ हुनुपर्छ। (१ पत्रु. ३:८; भज. १३८:६) नम्र मनको हुनु कत्तिको महत्त्वपूर्ण छ, न्यायकर्त्ता अध्याय ९ ले बताउँछ। त्यहाँ दिइएको विवरणअनुसार गिदोनको छोरा योतामले यसो भने: “एकपल्ट रूखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए।” रूखहरूले भद्राक्षको रूख, जैतुनको रूख अनि अङ्‌गुरको बोटलाई राजा बन्‍न बिन्ती गरे। आफू योग्य भए तापनि आफ्ना इस्राएली भाइबन्धुमाथि शासन गर्न नचाहने व्यक्‍तिहरूलाई यी बोटहरूले संकेत गर्छन्‌। अरूले नमानेपछि रूखहरूले काँढाको झाडीलाई बिन्ती गरे। चुल्होमा बाल्न मात्र काम लाग्ने काँढाको झाडीले घमन्डी, अरूको शोषण गर्न आतुर अनि हत्यारा अबीमेलेकको शासनलाई चित्रण गर्छ। ‘इस्राएलमाथि तीन वर्षसम्म शासन’ गरेपछि अबीमेलेक अकालमै मरे। (न्याय. ९:८-१५, २२, ५०-५४) यसरी अकालमा मर्नुभन्दा त ‘नम्र मनको’ हुनु नै जाती!

१०. ‘परमेश्‍वरलाई महिमा नदिंदा’ हेरोदलाई जे भयो, त्यसबाट तपाईंले के सिक्नुभयो?

१० प्रथम शताब्दीमा यहूदियाका घमन्डी राजा हेरोद अग्रिपासित मनमुटाव हुँदा टायर र सायडनका मानिसहरूले मिलापका लागि बिन्ती गरे। त्यस्तै कुनै तोकिएको दिनमा हेरोद अग्रिपाले भाषण दिंदा टायर र सायडनका मानिसहरू “यो ता देवताको बोली हो, मानिसको होइन! भनेर कराए।” मानिसहरूले यसरी खुसामद गर्दा हेरोदले अस्वीकार गरेनन्‌। हेरोदले ‘परमेश्‍वरलाई महिमा नदिएको हुनाले’ त्यत्तिखेरै यहोवाको स्वर्गदूतले तिनलाई प्रहार गरे र स्याउँ-स्याउँ कीरा परेर तिनको प्राणान्त भयो। (प्रेरि. १२:२०-२३) भाषण दिन अथवा बाइबलमा भएका सत्य वचन सिकाउन सिपालु छौं भने हामीले के गर्नुपर्छ? मानिसहरूले हाम्रो प्रशंसा गर्दा, त्यसको श्रेय यहोवालाई दिंदै हामीले उहाँको प्रशंसा गर्नुपर्छ।—१ कोरि. ४:६, ७; याकू. ४:६.

साहसी अनि बलियो हुनुहोस्‌

११, १२. यहोवा आफ्ना सेवकहरूलाई साहस अनि बल दिनुहुन्छ भनेर हनोकको अनुभवले कसरी देखाउँछ?

११ यहोवाको मार्गमा नम्र भएर हिंड्यौं भने उहाँले साहस अनि बल दिनुहुन्छ। (व्यव. ३१:६-८, २३) आदमपछि सातौं पुस्ताका हनोक, वरपरका मानिसहरू दुष्ट भए तापनि साहसी भई धर्मको बाटोमा लागेर यहोवाको साथसाथ हिंड्‌दै रहे। (उत्प. ५:२१-२४) मानिसहरूले गरिरहेका अधर्मी कुरा अनि कामविरुद्ध डरलाग्दो चेतावनी दिन यहोवाले हनोकलाई बलियो पार्नुभयो। (यहूदा १४, १५ पढ्‌नुहोस्‌।) के तपाईंसित परमेश्‍वरको न्यायको वचन घोषणा गर्ने साहस छ?

१२ यहोवाले नूहको समयमा विश्‍वव्यापी जलप्रलयद्वारा अभक्‍त मानिसहरूलाई नाश गर्नुभयो। हनोकको अगमवाणी अहिले हाम्रो लागि प्रोत्साहनजनक छ। किनभने परमेश्‍वरका लाखौं पवित्र स्वर्गदूतहरूले दुष्ट मानिसहरूलाई अब छिट्टै त्यसैगरि नाश गर्नेछन्‌। (प्रका. १६:१४-१६; १९:११-१६) यहोवाको न्यायको वचन सुनाउन होस्‌ वा उहाँको धार्मिक राज्यको सुसमाचार बताउन, यहोवालाई प्रार्थना गऱ्‍यौं भने हनोकलाई जस्तै हामीलाई पनि उहाँले साहस दिनुहुनेछ।

१३. विभिन्‍न समस्याले गर्दा व्याकुल भएको बेला परमेश्‍वरले हामीलाई साहस अनि बल दिनुहुन्छ भनेर हामी किन ढुक्क हुन सक्छौं?

१३ विभिन्‍न समस्याले गर्दा व्याकुल भएको बेला हामीलाई परमेश्‍वरले दिने साहस अनि बल चाहिन्छ। एसावले दुइटी हित्ती स्त्री विवाह गरेपछि “ती स्त्रीहरूले गर्दा [एसावका आमाबाबु] इसहाक र रिबेकाको जीवन अमिलो” भएको थियो। रिबेकाले यसो भनेर विलौनासमेत गरेकी थिइन्‌: “हेत वंशी स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। [हाम्रो छोरा] याकूबले पनि यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गऱ्‍यो भने मैले बाँचेर के फायदा हुन्छ?” (उत्प. २६:३४, ३५; २७:४६) एसावले जस्तै हित्ती स्त्रीहरूसित विवाह नगरोस्‌ भनेर इसहाकले याकूबलाई यहोवाको उपासना गर्ने केटी खोज्न घरबाट टाढा पठाए। एसावले गर्दा जे-जस्तो दुःख भयो त्यसलाई हटाउन नसके तापनि परमेश्‍वरले दिएको बुद्धि, साहस अनि बलले गर्दा इसहाक अनि रिबेका उहाँको भक्‍त भइरहन सके। उनीहरूले जस्तै बिन्ती गऱ्‍यौं भने यहोवाले हामीलाई पनि मदत गर्नुहुनेछ।—भज. ११८:५.

१४. इस्राएली ठिटीले कसरी साहस देखाइन्‌?

१४ यसको सयौं वर्षपछिको कुरा हो, अरामीहरूले इस्राएलबाट कैद गरेकी एउटी ठिटी अरामी सेनापति नामानको घरमा काम गर्थिन्‌। नामानलाई कोर लागेको थियो। अगमवक्‍ता एलिशामार्फत परमेश्‍वरले अचम्मलाग्दा कामहरू गर्नुहुन्छ भन्‍ने सुनेकोले त्यो इस्राएली ठिटीले साहसी भई नामानकी पत्नीलाई यसो भनिन्‌: ‘मालिक इस्राएल जानुभयो भने यहोवाले उहाँको रोग निको पारिदिनुहुनेछ।’ ठिटीको कुरा मान्दै नामान इस्राएल गए। नभन्दै, तिनको रोग चमत्कारी ढंगमा निको भयो। (२ राजा ५:१-३) आफ्ना शिक्षक, सहपाठी अनि अरूलाई नडराई साक्षी दिन यहोवासित साहस माग्ने केटाकेटीका निम्ति त्यो सानी इस्राएली ठिटी असल उदाहरण हो!

१५. आहाबको महलको हेरचाह गर्ने अधिकारी ओबद्याले कस्तो साहसिक काम गरे?

१५ परमेश्‍वरले दिने साहसले सतावट सहन मदत गर्छ। राजा आहाबको महलको हेरचाह गर्ने अधिकारी ओबद्यालाई विचार गर्नुहोस्‌। तिनी अगमवक्‍ता एलियाकै समयतिरका मानिस थिए। ईजेबेल रानीले परमेश्‍वरका अगमवक्‍ताहरूको हत्या गर्ने हुकुम दिंदा ओबद्याले “पचास पचास गरी तिनीहरूमध्येका एक सय जनालाई ओढारहरूमा” लुकाए। (१ राजा १८:१३; १९:१८) ओबद्याले यहोवाका अगमवक्‍ताहरूलाई मदत गरेझैं के तपाईं सतावट भोगिरहेका भाइबहिनीलाई साहसी भएर मदत गर्नुहुन्छ?

१६, १७. मानिसहरूले सताउँदा अरिस्तार्खस अनि गायसले के गरे?

१६ सत्यको खातिर सतावट भोग्नुपऱ्‍यो भने यहोवाले त्याग्नुहुन्‍न भनी हामी ढुक्क हुन सक्छौं। (रोमी ८:३५-३९) उदाहरणका लागि, पावलका सहकर्मी अरिस्तार्खस र गायसलाई लिनुहोस्‌। एफिससमा हजारौं क्रुद्ध मानिसको भीडले तिनीहरूलाई घिस्याउँदै खुलामञ्च पुऱ्‍यायो। यसरी मानिसहरूलाई भड्‌काउने काम चाँदीको शिल्पकारी डेमेत्रियसले गरेको थियो। डायना देवीका मन्दिरहरू बनाएर डेमेत्रियस र अरू कारीगरहरूले खुब कमाइ गरिरहेका थिए। तर पावलले प्रचार गरेपछि एफिससका थुप्रै मानिसले मूर्तिपूजा गर्न छाडे। आफ्नो कमाइ सुक्न थालेको देखेर रिसाएका डेमेत्रियसले मानिसहरूलाई उचाल्यो। भीडले अरिस्तार्खस र गायसलाई घिसार्दै खुलामञ्चमा लग्यो र “एफिसियनहरूकी डायना महान्‌ हुन्‌” भन्दै नारा लगाउन थाल्यो। अरिस्तार्खस र गायसले अब ज्यानै जाने भयो भनेर सोचेका थिए होलान्‌। तर नगरका हाकिमले मानिसहरूलाई शान्त पारे।—प्रेरि. १९:२३-४१.

१७ यस्तै सतावट सहनुपऱ्‍यो भने तपाईं के गर्नुहुन्छ? के तपाईं सजिलो जीवन बिताउने अर्कै उपाय खोज्नुहुन्छ? अरिस्तार्खस र गायसले साहस गुमाए भनेर हामी बाइबलमा लेखिएको कतै पाउँदैनौं। सुसमाचार प्रचार गर्दा अरूले सताउन सक्छन्‌ भनेर अरिस्तार्खसलाई आफ्नो सहर थिस्सलोनिकामा हुँदै थाह थियो। किनकि पावलले प्रचार गर्न खोज्दा त्यहाँ पनि केही समयअघि क्रुद्ध मानिसको भीडले दंगाफसाद गरेको थियो। (प्रेरि. १७:५; २०:४) यहोवाको मार्गमा हिंडेको हुनाले अरिस्तार्खस अनि गायसले सतावट सहने साहस अनि बल पाए।

अरूका कुरामा पनि ध्यान दिनुहोस्‌

१८. प्रिस्का र अक्वीलाले कसरी ‘अरूका कुरामा पनि ध्यान दिए?’

१८ हामी आफैले सतावट भोग्नु परिरहेको होस्‌ या नहोस्‌ हामीले मसीही भाइबहिनीप्रति चासो लिनुपर्छ अनि उनीहरूको चिन्ता गर्नुपर्छ। प्रिस्का र अक्वीला ‘अरूका कुरामा पनि ध्यान दिन्थे।’ (फिलिप्पी २:४ पढ्‌नुहोस्‌।) पावल एफिससमा छँदा यी असल दम्पतीले तिनलाई आफ्नो घरमा बास दिएका हुन सक्छन्‌। अनि चाँदीको शिल्पकारी डेमेत्रियसले मानिसहरूलाई उक्साएर दंगाफसाद मच्चाउन खोज्दा प्रिस्का र अक्वीलाले “आफ्ना गर्दन” खतरामा पारेर पावललाई बचाएका हुन सक्छन्‌। (रोमी १६:३, ४; २ कोरि. १:८) अत्याचारमा परिरहेका हाम्रा भाइबहिनीको हितलाई ध्यानमा राख्दै अहिले हामी “सर्पझैं चनाखो” भई चल्छौं। (मत्ती १०:१६-१८) हामी होसियार भएर प्रचार गर्छौं। अत्याचार गर्न खोज्ने मानिसहरूलाई हाम्रा भाइबहिनीको नाउँ वा अन्य जानकारी दिएर हामी धोका दिंदैनौं।

१९. तबीताले अरूको निम्ति कस्तो असल काम गरिन्‌?

१९ अरूका कुरामा ध्यान दिने विभिन्‍न तरिका छन्‌। जस्तै, हाम्रा केही भाइबहिनी संकटमा परेका हुन सक्छन्‌। त्यस्तो बेला उनीहरूको खाँचो पूरा गरेर हामी मदत गर्न सक्छौं। (एफि. ४:२८; याकू. २:१४-१७) प्रथम शताब्दीमा जोप्पा भन्‍ने ठाउँको मण्डलीमा तबीता नाउँ गरेकी एउटी उदार स्त्री थिइन्‌। (प्रेरित ९:३६-४२ पढ्‌नुहोस्‌।) “असल काम गर्न र दान-पुण्यमा निपुण” तबीताले पक्कै पनि गरीब विधवाहरूका लागि लुगाफाटा सिलाएर मदत गरेको हुनुपर्छ। इस्वी संवत्‌ ३६ मा तिनको मृत्यु हुँदा विधवाहरू असाध्यै दुःखी भएका थिए। परमेश्‍वरले प्रेरित पत्रुसलाई चलाएर तबीताको पुनरुत्थान गर्नुभयो। पुनरुत्थानपछि तबीताले आफ्नो बाँकी जीवन निश्‍चय पनि सुसमाचारको प्रचार अनि अरूको निम्ति असल काम गरेर बिताएको हुनुपर्छ। अहिले हाम्रो माझ तबीताजस्तै उदार मसीही बहिनीहरू पाउँदा हामीलाई कत्ति खुसी लाग्छ!

२०, २१. (क) अरूप्रति चासो लिनु र प्रोत्साहन दिनुबीच के सम्बन्ध छ? (ख) तपाईं के-के गरेर प्रोत्साहन दिन सक्नुहुन्छ?

२० अरूलाई प्रोत्साहन दिएर हामी आफ्नो चासो अनि चिन्ता जाहेर गर्छौं। (रोमी १:११, १२) पावलका सहकर्मी सिलास अरूलाई प्रोत्साहन दिने गर्थे। इस्वी संवत्‌ ४९ तिर यरूशलेमको परिचालक निकायले खतनासम्बन्धी विवादको समाधान निकालेपछि चारैतिर खबर पुऱ्‍याउन प्रतिनिधिमार्फत पत्र पठाए। सिलास, यहूदा, बर्णाबास अनि पावल त्यो पत्र बोकेर एन्टिओक पुगे। त्यहाँ सिलास र यहूदाले “भाइहरूलाई धेरै वचनहरूले” प्रोत्साहन दिएर “स्थिर गराए।”—प्रेरि. १५:३२.

२१ पछि फिलिप्पीमा पावल र सिलास थुनामा परे। तर भूकम्पले गर्दा तिनीहरू थुनाबाट मुक्‍त भए। त्यतिखेर झ्यालाखानाका हाकिम र तिनको घरानालाई साक्षी दिने मौका पाउँदा र तिनीहरू परमेश्‍वरको जन बनेको देख्न पाउँदा पावल अनि सिलास कत्ति खुसी भए होलान्‌! फिलिप्पी छोडेर जानुअघि पावल र सिलासले भाइहरूलाई प्रोत्साहन दिए। (प्रेरि. १६:१२, ४०) पावल र सिलासले जस्तै हामी पनि टिप्पणी गरेर, भाषण दिएर अनि जोसिलो भई प्रचार गरेर अरूलाई प्रोत्साहन दिने मौका खोजौं। अनि “केही अर्ती” अर्थात्‌ प्रोत्साहनका ‘कुरा छन्‌ भने भनिहालौं।’—प्रेरि. १३:१५.

यहोवाको मार्गमा लगातार हिंडिरहनुहोस्‌

२२, २३. हामीले के गऱ्‍यौं भने बाइबलमा भएका विवरणहरूबाट साँच्चै लाभ उठाइरहेका हुनेछौं?

२२ “सबै सान्त्वनाका परमेश्‍वर” यहोवाले आफ्नो वचन बाइबलमा यस्ता सत्य विवरण साँचेर राख्नुभएकोमा हामी धन्यवादी हुनुपर्छ। (२ कोरि. १:३) यदि यस्ता विवरणबाट लाभ उठाउन चाहन्छौं भने हामीले आफूले सिकेका पाठहरू व्यवहारमा उतार्नैपर्छ अनि परमेश्‍वरको पवित्र आत्माको डोऱ्‍याइअनुसार चल्नैपर्छ।—गला. ५:२२-२५.

२३ बाइबलमा भएका यस्ता घटनाहरू मनन गऱ्‍यौं भने यहोवालाई मन पर्ने गुणहरू प्रकट गर्न त्यसले मदत गर्नेछ। साथै हामीलाई “बुद्धि, ज्ञान र आनन्द” दिने यहोवासित अझ घनिष्ठ बनाउनेछ। (उप. २:२६) फलस्वरूप, हाम्रो मायालु परमेश्‍वरलाई हामी प्रसन्‍न तुल्याउन सक्नेछौं। (हितो. २७:११) आउनुहोस्‌, यहोवाको मार्गमा लगातार हिंडेर त्यसै गर्ने बलियो संकल्प गरौं। (w 08 2/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• तपाईं कसरी आफूलाई भरोसायोग्य साबित गर्न सक्नुहुन्छ?

• हामी किन “नम्र मनका” हुनुपर्छ?

• बाइबलमा भएका विवरणहरूले हामीलाई कसरी साहसी हुन मदत गर्न सक्छ?

• हामी कुन-कुन तरिकामा अरूको कुरामा पनि ध्यान दिन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

भरोसायोग्य यिप्तह र तिनकी छोरीले गाह्रै भए पनि भाकल पूरा गरे

[पृष्ठ १६-मा भएको चित्र]

केटाकेटी हो, इस्राएली ठिटीबाट तिमीहरूले के सिक्यौ?