सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवालाई सधैं आफ्नो सामने राख्नुहोस्‌

यहोवालाई सधैं आफ्नो सामने राख्नुहोस्‌

यहोवालाई सधैं आफ्नो सामने राख्नुहोस्‌

“मैले परमप्रभुलाई सधैं मेरो सामने राखेको छु।”—भज. १६:८.

१. बाइबलमा दिइएका विवरणले हामीलाई के गर्न मदत गर्न सक्छ?

 यहोवा परमेश्‍वरले मानिसजातिसित कस्तो व्यवहार गर्नुभयो, उहाँको वचन बाइबलमा त्यसको रोचक विवरण पाइन्छ। परमेश्‍वरको उद्देश्‍य पूरा गर्न थुप्रै मानिसले के-कस्तो भूमिका खेले, त्यो विवरण पनि बाइबलमा छ। तिनीहरूले गरेका वा भनेका कुराहरू हाम्रो मनोरञ्जनका लागि लेखिएका कथाहरू होइनन्‌। वास्तवमा यी विवरणले हामीलाई परमेश्‍वरको नजिक हुन मदत गर्न सक्छ।—याकू. ४:८.

२, ३. भजन १६:८ का शब्दहरूलाई हामीले कसरी बुझ्नुपर्छ?

अब्राहाम, सारा, मोशा, रूथ, दाऊद, एस्तर, र प्रेरित पावल जस्ता बाइबलका चिरपरिचित पात्रहरूको अनुभवबाट हामी थुप्रै पाठ सिक्न सक्छौं। तर सामान्य पात्रहरूको विवरणबाट पनि हामी फाइदा उठाउन सक्छौं। हामीले बाइबलमा उल्लिखित विभिन्‍न पात्रहरूसित सम्बन्धित घटनाहरूलाई मनन गऱ्‍यौं भने भजनरचयिताले जस्तै यसो भन्‍न सक्नेछौं: “मैले परमप्रभुलाई सधैं मेरो सामने राखेको छु। किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ। म डग्नेछैनँ।” (भज. १६:८) तर यी शब्दहरूलाई हामीले कसरी बुझ्नुपर्छ?

सिपाहीले अक्सर देब्रे हातले ढाल बोक्ने भएकोले देब्रे भाग सुरक्षित हुन्छ। तर तरवार चलाउने दाहिने हाततर्फको भाग भने सुरक्षित हुँदैन। त्यसैले उसको दाहिने हाततर्फको भागलाई छेकेर एउटा मित्रले युद्ध लड्यो भने ऊ ढुक्क हुन सक्छ। त्यसैगरि यदि हामीले यहोवालाई सधैं सम्झिराख्यौं र उहाँको इच्छाबमोजिम गऱ्‍यौं भने उहाँले हामीलाई सुरक्षा दिनुहुनेछ। त्यसैले आउनुहोस्‌, बाइबलका विवरणहरू पढ्यौं भने हाम्रो विश्‍वासलाई त्यसले कसरी दह्रिलो बनाउँछ र ‘यहोवालाई सधैं आफ्नो सामने राख्न’ हामीलाई कसरी मदत गर्छ, त्यो विचार गरौं।

यहोवाले हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुन्छ

४. परमेश्‍वरले हामीलाई हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुन्छ भन्‍ने एउटा उदाहरण बाइबलबाट दिनुहोस्‌।

यहोवालाई आफ्नो सामने राखेका छौं भने उहाँले हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुनेछ। (भज. ६५:२; ६६:१९) यसको प्रमाण अब्राहामका सबैभन्दा पुराना नोकर हुन्‌, जो एलीएजर हुन सक्छन्‌। अब्राहामले इसहाकको निम्ति परमेश्‍वरको डर राख्ने पत्नी खोजेर ल्याउन एलीएजरलाई मेसोपोटामिया पठाए। एलीएजरले प्रार्थना गरेर परमेश्‍वरसित डोऱ्‍याइ मागे। अनि जब रिबेकाले ऊँटहरूलाई पानी खान दिइन्‌, तब यहोवाले प्रार्थना सुन्‍नुभयो भनेर एलिएजरले बुझे। व्यग्र प्रार्थना गरेकोले नै एलीएजरले इसहाकको निम्ति सुहाउँदो पत्नी खोज्न सके। (उत्प. २४:१२-१४, ६७) हो, अब्राहामका नोकर विशेष काममा गएका थिए; त्यसैले तिनको परिस्थिति बेग्लै थियो। तर यहोवाले हाम्रा प्रार्थनाहरू सुन्‍नुहुन्छ भनेर हामी पनि ढुक्क हुन सक्छौं।

५. हामीले मनमनै गरेको छोटो प्रार्थनाको पनि यहोवाले जवाफ दिनुहुन्छ भनेर कसरी भन्‍न सक्छौं?

परमेश्‍वरसित मदत माग्न हामीले कहिलेकाहीं तुरुन्तै प्रार्थना गर्नुपर्ने हुन सक्छ। एकपटकको कुरा हो, दाखमद्य टक्राउने प्रमुख नहेम्याहलाई चिन्तित देखेर फारसका राजा आर्ट-जारसेजले “मबाट तिमी के चाहन्छौ?” भनेर सोधे। नहेम्याहले तुरुन्तै मनमनै ‘स्वर्गका परमेश्‍वरलाई प्रार्थना गरे।’ नहेम्याहले लामो प्रार्थना गर्ने मौका त पक्कै पाएनन्‌। तैपनि परमेश्‍वरले तिनको प्रार्थना सुनेर जवाफ दिनुभयो। किनकि यरूशलेमको पर्खाल पुनःनिर्माण गर्न नहेम्याहले राजाको मदत पाए। (नहेम्याह २:१-८ पढ्‌नुहोस्‌।) हो, मनमनै गरेको छोटो प्रार्थनाको पनि सुनुवाइ हुन सक्छ।

६, ७. (क) प्रार्थनाको सम्बन्धमा इप्राफासले कस्तो उदाहरण बसाले? (ख) हामीले अरूको निम्ति पनि किन प्रार्थना गर्नुपर्छ?

एकअर्काको निम्ति गरेका प्रार्थनाहरूको जवाफ सधैं तुरुन्तै नपाए तापनि “एउटाले अर्कोको निम्ति प्रार्थना गर” भनेर हामीलाई आग्रह गरिएको छ। (याकू. ५:१६) “ख्रीष्टका एक विश्‍वासी सेवक” इप्राफासले सँगी-विश्‍वासीको निम्ति खुरन्धार प्रार्थना गरे। रोमबाट लेखेको पत्रमा पावलले यसो भने: “तिमीहरू [कलस्सीकाहरू] परमेश्‍वरका सब इच्छामा सिद्ध र पूरा निश्‍चय भएका होओ भनेर प्रार्थनामा तिमीहरूका निम्ति बराबर प्रयत्न गर्दै ख्रीष्टको दास तिमीहरूमध्येका एक, इप्राफासले तिमीहरूलाई सलाम भन्दछन्‌। किनभने म तिनको निम्ति गवाही दिन्छु, कि तिमीहरू, लाओडिसियामा हुनेहरू र हिरापोलिसमा हुनेहरूका निम्ति तिनले घोर परिश्रम गरेका छन्‌।”—कल. १:७; ४:१२, १३.

कलस्सी, लाओडिसिया र हिरापोलिस एसिया माइनरका एउटै क्षेत्रमा पर्ने शहरहरू थिए। हिरापोलिसका मसीहीहरू सिबिल देवीका उपासकहरूले घेरिएका थिए। लाओडिसियाका मसीहीहरू वरपर भौतिकवादी मानिसहरू थिए। त्यसैगरि कलस्सीका मसीहीहरूलाई मानव दर्शनले प्रभाव पार्न सक्ने खतरा थियो। (कल. २:८) त्यसैले कलस्सीका बासिन्दा इप्राफासले त्यहाँका विश्‍वासीहरूलाई “आफ्ना प्रार्थनामा बराबर” सम्झन्थे। इप्राफासले गरेका प्रार्थनाहरूको जवाफ कसरी दिइयो, बाइबलले बताउँदैन। तर जेहोस्‌, तिनले सँगी विश्‍वासीहरूलाई सम्झेर प्रार्थना गर्न छोडेनन्‌। हामीले पनि हाम्रा भाइबहिनीका लागि प्रार्थना गर्न छोड्‌नुहुँदैन। हुन त हामी चियोचर्चो गरेर “अर्काको कुरामा हात हाल्ने” गर्दैनौं। तर हाम्रो कुनै नातेदार वा साथीले विश्‍वासको कठोर जाँच भोगिरहेको छ भनेर हामीलाई थाह हुन सक्छ। (१ पत्रु. ४:१५) त्यस्तो बेला तिनलाई आफ्नो प्रार्थनामा सम्झनु उचित हो। अरूले गरेको प्रार्थनाले पावललाई सहायता मिल्यो। त्यसैगरि, हामीले गरेको प्रार्थनाले पनि अरूलाई मदत गर्न सक्छ।—२ कोरि. १:१०, ११.

८. (क) एफिससका प्राचीनहरूले प्रार्थनाको महत्त्व बुझेका थिए भनेर हामी कसरी थाह पाउन सक्छौं? (ख) प्रार्थना गर्ने विषयमा हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?

के अरूले हामीलाई प्रार्थना गर्ने बानी भएको मानिस अथवा प्रार्थनाको कदर गर्ने मानिस भनेर चिन्छन्‌? एफिससका प्राचीनहरूलाई भेटेपछि पावलले “घुँडा टेकी तिनीहरू सबैका साथमा प्रार्थना गरे।” त्यसपछि “तिनीहरू सबै अन्‍ना-धुन्‍नसँग रोए, र पावललाई अङ्‌गालो हालेर चुम्बन गरे। सबैभन्दा बढता विलाप गरेको ता, ‘तिनीहरूले उनको मुख फेरि कहिल्यै पनि देख्नेछैन’ भन्‍ने कुरा उनले गरेको कारण हो।” (प्रेरि. २०:३६-३८) हामीलाई यी सबै प्राचीनहरूको नाउँ थाह छैन तर तिनीहरू सबैले प्रार्थनाको महत्त्व बुझेका थिए भन्‍ने कुरामा चाहिं हामीलाई शंका छैन। प्रार्थना गर्ने सुअवसरको हामीले पनि कदर गर्नैपर्छ र स्वर्गमा बस्ने हाम्रा पिताले जवाफ दिनुहुन्छ भनेर विश्‍वास गर्दै ‘वफादार हात उठाउनुपर्छ।’—१ तिमो. २:८.

परमेश्‍वरको आदेश पूरापूर पालन गर्नुहोस्‌

९, १०. (क) सलोफादका छोरीहरूले कस्तो उदाहरण बसाले? (ख) विवाह गर्ने सन्दर्भमा अविवाहित मसीहीले सलोफादका आज्ञाकारी छोरीहरूबाट के पाठ सिक्नुपर्ने हो?

यहोवालाई सधैं आफ्नो सामने राख्यौं भने उहाँको आज्ञा पालन गर्न सक्नेछौं; फलस्वरूप आशिष्‌हरू पाउनेछौं। (व्यव. २८:१३; १ शमू १५:२२) यसको अर्थ हामी हर बखत आज्ञाकारी हुनुपर्छ। मोशाका समकालीन सलोफादका पाँचवटी छोरीको मनोवृत्तिलाई विचार गर्नुहोस्‌। इस्राएलमा पैतृक-सम्पत्तिमाथि छोराहरूको हक लाग्ने चलन थियो। तर सलोफादका छोरीहरू मात्र थिए। सलोफादको मृत्युपछि यहोवाले यी पाँच दिदीबहिनी नै पैतृक-सम्पत्तिका हकदार हुन्‌ भन्‍नुभयो। तर तिनीहरूले एउटा शर्त पालन गर्नुपर्थ्यो। पैतृक-सम्पत्ति आफ्नै कुलमा रहोस्‌ भनेर तिनीहरूले मनश्‍शे खलकका छोराहरूसित बिहे गर्नुपर्थ्यो।—गन्ती २७:१-८; ३६:६-८.

१० परमेश्‍वरको आदेश पालन गर्दा परिणाम राम्रो हुनेछ भनेर सलोफादका छोरीहरू ढुक्क थिए। “परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैं, सलोफादका छोरीहरूले गरे,” भनी बाइबलमा लेखिएको छ। “सलोफादका छोरीहरू महला, तिर्सा, होग्ला, मिल्का र नोआले आफ्ना बाबुका दाज्यू-भाइका छोराहरूसित बिहे गरे। तिनीहरूका विवाह यूसुफको छोरो मनश्‍शेका छोराहरूका परिवारहरूमा नै भयो। यसरी तिनीहरूका पैतृक-सम्पत्ति तिनकै पुर्खाहरूका कुलभित्रै रह्‍यो।” (गन्ती ३६:१०-१२) यी आज्ञाकारी स्त्रीहरूले यहोवाको आदेश पालन गरे। (यहो. १७:३, ४) यस्तै विश्‍वास प्रकट गर्दै आध्यात्मिक रूपमा परिपक्व अविवाहित मसीहीहरूले “प्रभुमा मात्र” विवाह गरेर परमेश्‍वरको आदेश पालन गर्छन्‌।—१ कोरि. ७:३९.

११, १२. कालेबले यहोवामाथि कसरी पूरापूर भरोसा गरे?

११ इस्राएली कालेबले जस्तै हामीले पनि यहोवाको आदेश पूरापूर पालन गर्नुपर्छ। (व्यव. १:३६) ईसापूर्व १५१३ मा इस्राएलीहरूले मिश्रबाट छुटकारा पाइसकेपछि मोशाले १२ जना गुप्तचरलाई कनान देशको भेद लिन पठाए। तर यहोशू र कालेबले मात्र मानिसहरूलाई परमेश्‍वरमाथि पूर्ण भरोसा राख्न र कनान देश कब्जा गर्न इस्राएलीहरूलाई प्रोत्साहन दिए। (गन्ती १४:६-९) यसको लगभग ४० वर्षपछि पनि यहोशू र कालेब भने जीवितै थिए र यहोवाको आदेश पूरापूर पालन गर्दै थिए। अनि यहोवाले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा पुऱ्‍याउने जिम्मा यहोशूलाई सुम्पनुभएको थियो। तर ती दस अविश्‍वासी गुप्तचरचाहिं इस्राएलीहरू उजाडस्थानमा ४० वर्षसम्म भौंतारिनुपर्दा त्यहीं मरेको हुनुपर्छ।—गन्ती १४:३१-३४.

१२ उजाडस्थानमा सकुशल बाँचेका कालेबले यहोशूसामु खडा भएर यसो भन्‍न सके: “म ता पूर्णरूपले परमप्रभु आफ्ना परमेश्‍वरको पछि लागें।” (यहोशू १४:६-९ पढ्‌नुहोस्‌।) यहोवाले आफूलाई दिने प्रतिज्ञा गरेको डाँडामा बलिया शहरहरू बनाएर शत्रुहरू बसेका भए तापनि ८५ वर्ष पुगेका कालेबले उक्‍त डाँडा ‘मलाई दिनुहोस्‌’ भने।—यहो. १४:१०-१५.

१३. परीक्षा आइपरे तापनि के गऱ्‍यौं भने हामीले आशिष्‌ पाउनेछौं?

१३ ‘पूर्णरूपले यहोवाको पछि लाग्यौं’ भने वफादार अनि आज्ञाकारी कालेबले जस्तै परमेश्‍वरको आशिष्‌ पाउनेछौं। ठूलो समस्या आइपरेको बेलामा समेत ‘पूर्णरूपले यहोवाको पछि लाग्यौं’ भने परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुहुनेछ। तर कालेबले जस्तै आजीवन यहोवाको पछि लाग्न त्यत्ति सजिलो नहुन सक्छ। सुलेमान पहिले त पूर्णरूपले यहोवाको पछि लागेका थिए तर बूढेसकालमा स्वास्नीहरूको कुरा सुनेर तिनले झूटा देवहरू पूज्न थाले र “आफ्ना पिता दाऊदझैं परमप्रभुप्रति भक्‍त भएनन्‌।” (१ राजा ११:४-६) जस्तोसुकै परीक्षा भोग्नुपरे तापनि हामीचाहिं सधैं यहोवाको आदेश पूरापूर पालन गरौं र उहाँलाई सधैं आफ्नो सामने राखौं।

सधैं यहोवामाथि भरोसा गर्नुहोस्‌

१४, १५. यहोवामाथि भरोसा गर्नुपर्ने खाँचोबारे नाओमीको अनुभवबाट तपाईंले के पाठ सिक्नुभयो?

१४ विशेषगरि, भविष्य अँध्यारो देखिएकोले निराश भएको बेला हामीले परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ। वृद्ध नाओमीलाई सम्झनुहोस्‌। तिनका पति र दुइटै छोराको मृत्यु भइसकेको थियो। मोआबबाट यहूदा फर्कंदा तिनले यसरी बिलौना गरिन्‌: “मलाई नाओमी [पादटिप्पणी: “मीठो”] नभन। मलाई मारा [पादटिप्पणी: “तीतो”] भन, किनभने सर्वशक्‍तिमान्‌ले मसँग नमीठो व्यवहार गर्नुभएको छ। म भरिपूर्ण भएर गएको थिएँ, तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ। मलाई किन नाओमी भन्छौ? परमप्रभु मेरो विरुद्धमा उठ्‌नुभएको छ। सर्वशक्‍तिमान्‌ले ममाथि विपत्ति ल्याउनुभएको छ।”—रूथ १:२०, २१.

१५ नाओमी ज्यादै व्याकुल भएकी थिइन्‌। तैपनि, तिनले यहोवामाथि भरोसा राख्न छोडिनन्‌ भनेर रूथको पुस्तक ध्यान दिएर पढ्‌दा थाह पाउँछौं। अनि यसरी भरोसा गरेकोले तिनको परिस्थिति पूरै बदलियो। नाओमीकी विधवा बुहारी रूथको बोअजसित बिहे भयो र तिनले एउटा छोरो जन्माइन्‌। नाओमीले आफ्नो नाति हुर्काइन्‌। यसबारे बाइबल यसो भन्छ: “तिनका छिमेकीहरूले भने, ‘नाओमीको एउटा छोरो भयो। हामी त्यसको नाउँ ओबेद राखौं।’ तिनी नै यिशैका बाबु र दाऊदका बाजे थिए।” (रूथ ४:१४-१७) पुनरुत्थान भएपछि नाओमीले रूथलाई भेट्‌नेछिन्‌ र रूथ मसीहकी पुर्खा भइन्‌ भनेर थाह पाउनेछिन्‌। (मत्ती १:५, ६, १६) हाम्रो परिस्थिति कहिले अनि कसरी सुध्रिन्छ, नाओमीलाई जस्तै हामीलाई पनि थाह छैन। त्यसैले हितोपदेश ३:५, ६ मा दिइएको यो सल्लाह हामी सधैं पालन गरौं: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”

पवित्र आत्मामा भर पर्नुहोस्‌

१६. प्राचीन इस्राएलमा केही खास बूढा-प्रधानलाई परमेश्‍वरको पवित्र आत्माले कसरी मदत गऱ्‍यो?

१६ यहोवालाई सधैं आफ्नो सामने राख्यौं भने उहाँले आफ्नो पवित्र आत्माद्वारा हामीलाई डोऱ्‍याउनुहुनेछ। (गला. ५:१६, १८) इस्राएलीहरूको रेखदेख गर्ने ‘भार बोक्न’ मोशालाई सघाउन छानिएका ७० जना पुरुषमाथि यहोवाको आत्मा थियो। यिनीहरूमध्ये एलदाद र मेदादको नाउँ मात्र उल्लेख गरिएको भए तापनि पवित्र आत्मा पाएर सबैले आ-आफ्नो जिम्मा पूरा गरेको हुनुपर्छ। (गन्ती ११:१३-२९) निश्‍चय पनि, यसअघि छानिएका अरू मानिसहरू जस्तै यिनीहरू पनि दक्ष, परमेश्‍वरसित डराउने, भरोसायोग्य अनि इमानदार थिए। (प्रस्थ. १८:२१) अहिले मसीही प्राचीनहरूले पनि यस्तै गुण प्रदर्शित गर्छन्‌।

१७. बासस्थान निर्माण गर्ने सम्बन्धमा यहोवाको पवित्र आत्माले कसरी मदत गऱ्‍यो?

१७ उजाडस्थानमा परमेश्‍वरको बासस्थान निर्माण गर्न पवित्र आत्माले महत्त्वपूर्ण भूमिका खेल्यो। यहोवाले बजलेललाई प्रमुख कारिगर र निर्माणको नाइकेको रूपमा नियुक्‍त गर्नुभयो र तिनलाई “बुद्धि, समझ, ज्ञान र सबै किसिमको कारीगरीको आत्माले परिपूर्ण” पार्नुभयो। (प्रस्थ. ३१:३-५) यो विशेष काम पूरा गर्न बजलेल र तिनका सचिव ओहोलीआबलाई “ज्ञानको हृदयले पूर्ण” भएका मानिसहरूले सहयोग गरे। यसबाहेक यहोवाको आत्माबाट उत्प्रेरित भएर मानिसहरूले बासस्थान निर्माणका लागि राजी-खुशीसँग प्रशस्त भेटी चढाए। (प्रस्थ. ३१:६; ३५:५, ३०-३४) अहिले त्यही आत्माले राज्यलाई प्रथम स्थान दिन परमेश्‍वरका सेवकहरूलाई उत्प्रेरित गर्छ। (मत्ती ६:३३) हो, हामीसित विशेष क्षमता होलान्‌। तर यहोवाले आफ्ना सेवकहरूलाई सुम्पेको काम पूरा गर्न हामीले पवित्र आत्मा माग्नैपर्छ र त्यसको निर्देशनबमोजिम चल्नैपर्छ।—लूका ११:१३.

सेनाहरूका यहोवाको भक्‍ति सधैं गर्नुहोस्‌

१८, १९. (क) परमेश्‍वरको पवित्र आत्माले हामीमा कस्तो भाव उत्पन्‍न गराउँछ? (ख) शिमियोन र हन्‍नाको उदाहरणबाट तपाईंले कस्तो पाठ सिक्नुभयो?

१८ पवित्र आत्माले हामीमा उत्पन्‍न गर्ने भक्‍तिभावले यहोवालाई सधैं आफ्नो सामने राख्न मदत गर्छ। प्राचीन समयमा परमेश्‍वरका जनहरूलाई यस्तो आदेश दिइएको थियो: “सेनाहरूका परमप्रभुलाई नै तैंले पवित्र ठान्‍नू, र उहाँकै डर र भय तैंले मान्‍नू।” (यशै. ८:१३) प्रथम शताब्दीका थुप्रै भक्‍त मानिसमध्ये शिमियोन र हन्‍ना पनि हुन्‌। (लूका २:२५-३८ पढ्‌नुहोस्‌।) मसीहसित सम्बन्धित भविष्यवाणीहरूमाथि शिमियोनले विश्‍वास गरेका थिए र उनी “इस्राएलको शान्तिको आशा गर्ने” मानिस थिए। परमेश्‍वरले शिमियोनमाथि पवित्र आत्मा खन्याउनुभयो र मसीहलाई नदेखेसम्म मर्नेछैनौ भनेर आश्‍वासन दिनुभयो। अनि हुन पनि त्यस्तै भयो। ईसापूर्व २ मा बालक येशूलाई उहाँका धर्म मातापिता मरियम र युसूफले मन्दिरमा ल्याए। पवित्र आत्माले उत्प्रेरित भएर शिमियोनले मसीहबारे भविष्यसूचक वचन बोल्न थाले र भविष्यमा येशूलाई खम्बामा सास्ती दिएर मार्दा मरियमले भोग्नुपर्ने दुःखबारे अगमवाणी गरे। तर “परमप्रभुका ख्रीष्टलाई” काखमा लिन पाउँदा शिमियोनले कति अपार आनन्द अनुभव गरे होलान्‌, कल्पना गर्नुहोस्‌। शिमियोनले परमेश्‍वरका वर्तमान जनहरूका लागि भक्‍तिको राम्रो नमुना बसाले।

१९ चौरासी वर्षकी भक्‍त विधवा हन्‍ना “मन्दिर छोड्‌दैन थिइन्‌।” “उपवास र प्रार्थना गर्दै” तिनी रातदिन यहोवाको पवित्र सेवामा खट्‌थिन्‌। मरियम र युसूफले बालक येशूलाई मन्दिरमा ल्याउँदा हन्‍ना पनि त्यहीं थिइन्‌। भावी मसीहलाई देख्न पाउँदा तिनले आफूलाई धन्यकी सम्झिन्‌। “तिनले परमेश्‍वरलाई धन्यवाद दिइन्‌, र यरूशलेमको मुक्‍तिको बाटो हेर्ने सबैलाई उहाँको विषयमा भनिन्‌।” अनि हन्‍ना अरूलाई यो सुसमाचार नबताई बस्नै सकिनन्‌। शिमियोन र हन्‍नाले जस्तै आज पाको उमेरका मसीहीहरूले पनि यहोवाको सेवा गर्न उमेरले छेक्दैन भनेर प्रमाण दिइरहेका छन्‌।

२०. जतिसुकै उमेरको भए तापनि हामीले के गर्नुपर्छ र किन?

२० जतिसुकै उमेरको भए तापनि हामीले यहोवालाई सधैं आफ्नो सामने राख्नुपर्छ। त्यसो गऱ्‍यौं भने उहाँको राज्याधिकार अनि उहाँका अद्‌भुत कार्यहरूबारे अरूलाई बताउन हामीले गरेको प्रयासमाथि उहाँले आशिष्‌ दिनुहुनेछ। (भज. ७१:१७, १८; १४५:१०-१३) तर यहोवाको आदर गर्न हामीले उहाँलाई मनपर्ने गुणहरू पनि देखाउनैपर्छ। बाइबलमा भएका अन्य विवरणहरू जाँचेर हामी यस्ता गुणहरूबारे के सिक्न सक्छौं? (w 08 2/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवाले हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुन्छ भनेर हामी कसरी भन्‍न सक्छौं?

• किन हामीले परमेश्‍वरको आदेश पूरापूर पालन गर्नुपर्छ?

• निराश भएको बेलामा समेत हामीले किन सधैं यहोवामाथि भरोसा गर्नुपर्छ?

• परमेश्‍वरको पवित्र आत्माले उहाँका मानिसहरूलाई कसरी मदत गर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ४-मा भएको चित्र]

नाओमीको परिस्थिति कसरी सुध्रियो भनेर विचार गऱ्‍यौं भने यहोवामाथि भरोसा गर्ने मदत पाउन सक्नेछौं