सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशू ख्रीष्ट—सबैभन्दा महान्‌ मिसनरी

येशू ख्रीष्ट—सबैभन्दा महान्‌ मिसनरी

येशू ख्रीष्ट—सबैभन्दा महान्‌ मिसनरी

“म उहाँकै तर्फबाट आएको हुँ, औ उहाँले मलाई पठाउनुभएको हो।”—यूह. ७:२९.

१, २. मिसनरी भनेको के हो र कसलाई सबैभन्दा महान्‌ मिसनरी भन्‍न सकिन्छ?

 “मिसनरी।” यो शब्द सुन्‍नासाथ तपाईंको मनमा के कुरा आउँछ? कसै-कसैले चर्चका मिसनरीहरूलाई सम्झन्छन्‌ जसमध्ये थुप्रैले आफूलाई पठाइएका देशको राजनैतिक र आर्थिक मामिलामा हात हाल्छन्‌। तर तपाईं यहोवाको साक्षी हुनुहुन्छ भने परिचालक निकायले पृथ्वीको विभिन्‍न मुलुकमा सुसमाचार प्रचार गर्न पठाएका मिसनरीहरूलाई सम्झनुभयो होला। (मत्ती २४:१४) यी मिसनरीहरू कुनै पनि स्वार्थ नराखी आफ्नो समय र शक्‍ति मानिसहरूलाई यहोवा परमेश्‍वरसँग नजिक हुन र उहाँसँगको बहुमूल्य सम्बन्धबाट आनन्द उठाउन मदत गर्ने असल कार्यमा बिताउँछन्‌।—याकू. ४:८.

“मिसनरी” अथवा “मिसनरीहरू” भन्‍ने शब्द नेपाली बाइबलमा त छैन। तर एफिसी ४:११ मा “प्रचारक” भनी अनुवाद गरिएको युनानी शब्दलाई “मिसनरी” भनेर पनि अनुवाद गर्न सकिन्छ। यहोवा सबैभन्दा महान्‌ प्रचारक हुनुहुन्छ। तर उहाँलाई सबैभन्दा महान्‌ मिसनरी चाहिं भन्‍न मिल्दैन किनकि उहाँलाई कसैले कहिल्यै पठाएको छैन। तर, स्वर्गमा बस्नुहुने आफ्ना पिताबारे येशूले भन्‍नुभयो: “म उहाँकै तर्फबाट आएको हुँ, औ उहाँले मलाई पठाउनुभएको हो।” (यूह. ७:२९) मानिसहरूप्रतिको महान्‌ प्रेमको खातिर उहाँले आफ्ना एक मात्र प्रिय पुत्रलाई पृथ्वीमा पठाउनुभयो। (यूह. ३:१६) येशूलाई सबैभन्दा महान्‌ मिसनरी अर्थात्‌ सर्वोत्तम मिसनरी भन्‍न सकिन्छ किनकि उहाँ पृथ्वीमा पठाइनुको एउटा कारण ‘सत्यको गवाही दिन’ थियो। (यूह. १८:३७) राज्यको सुसमाचार घोषणा गर्ने काममा उहाँ पूर्ण रूपमा सफल हुनुभयो र उहाँको सेवकाईबाट हामीले आजको दिनसम्मै लाभ उठाइरहेका छौं। उदाहरणको लागि, हामी मिसनरी हौं या नहौं, उहाँको शिक्षण शैलीलाई आज पनि आफ्नो सेवकाईमा लागू गर्न सक्छौं।

३. कस्ता प्रश्‍नहरू हामी छलफल गर्दैछौं?

राज्य उद्‌घोषकको रूपमा येशूको भूमिकाले यस्ता प्रश्‍नहरू खडा गर्छ: येशूले पृथ्वीमा आफ्नो सेवकाईको दौडान के अनुभव गर्नुभयो? उहाँको शिक्षा प्रभावकारी हुनुको कारण के थियो? अनि केले उहाँको सेवकाईलाई सफल बनायो?

नौलो वातावरणमा भिज्न इच्छुक मनोभाव

४-६. पृथ्वीमा पठाइँदा येशूले अनुभव गर्नुपरेका केही परिवर्तनहरू के थिए?

राज्य प्रचारकको आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सर्ने वर्तमान समयका मिसनरी र केही मसीहीहरूले, आफूलाई बानी परिसकेको जीवनस्तरभन्दा तल झरेर जीवन निर्वाह गर्नुपर्ने हुनसक्छ। तर येशूले पृथ्वीमा र स्वर्गमा बिताउनुभएको परिस्थितिबीच कस्तो भिन्‍नता थियो, हामी कल्पना पनि गर्न सक्दैनौं। स्वर्गमा उहाँ, शुद्ध मनसायले यहोवाको सेवा गर्ने स्वर्गदूतहरूमाझ आफ्नो पितासँगै बस्नुहुन्थ्यो। (अय्यू. ३८:७) पापी मानिसहरूले भरिएको भ्रष्ट संसारमा जीवन बिताउनुपर्दा उहाँलाई कत्ति फरक लाग्यो होला! (मर्कू. ७:२०-२३) आफूसँगसँगै हिंड्‌ने चेलाहरूमाझ उत्पन्‍न होडबाजीको पनि येशूले सामना गर्नुपऱ्‍यो। (लूका २०:४६; २२:२४) हो, पृथ्वीमा भोगेका हरेक कुरालाई उहाँले खोट लाउनै नसकिने तरिकाले सँभाल्नुभयो।

येशूले चमत्कारपूर्ण ढंगमा मानव भाषा बोल्न सुरु गर्नुभएन, उहाँले बच्चाबेला देखि नै भाषा बोल्न सिक्नुभयो। स्वर्गदूतहरूलाई स्वर्गमा हुकूम गरेभन्दा कत्ति भिन्‍न! पृथ्वीमा येशूले कम्तीमा ‘मानिसहरूको एउटा भाषा’ बोल्नुभयो। “स्वर्गदूतहरूका भाषा” भन्दा यो बिलकुलै फरक थियो। (१ कोरि. १३:१) अनुग्रहसहितको बोली प्रयोग गर्ने विषयमा कुरा गर्नुपर्दा, कुनै पनि मानिस येशूको बराबरीमा आउन सकेन।—लूका ४:२२.

परमेश्‍वरका पुत्र पृथ्वीमा आउनुहुँदा उहाँले अनुभव गर्नुपरेका अन्य भिन्‍नतालाई विचार गर्नुहोस्‌। उहाँले आदमबाट वंशानुगत पाप त पाउनु भएन तैपनि उहाँ मानिस हुनुभयो, ती मानिसजस्तै जो पछि गएर उहाँका “भाइहरू” अर्थात्‌ अभिषिक्‍त अनुयायीहरू बन्‍नेथिए। (हिब्रू २:१७, १८ पढ्‌नुहोस्‌।) आफ्नो पार्थिव जीवनको अन्तिम रात येशूले स्वर्गमा बस्नुहुने आफ्ना पितासँग “बाह्र पल्टनभन्दा बढी स्वर्गदूतहरू” पठाइदिन आग्रह गर्नुभएन। तर प्रधान दूत माइकलको हैसियतमा उहाँको अधीनमा कति स्वर्गदूतहरू थिए, सोच्नुहोस्‌ त! (मत्ती २६:५३; यहूदा ९) हो, येशूले चमत्कारहरू गर्नुभयो तर उहाँले पृथ्वीमा हुँदा जे-जति गर्नुभयो ती कुरा उहाँले स्वर्गमा गर्नसक्ने कुराहरूको तुलनामा एक छेउ पनि थिएन।

७. यहूदीहरूले व्यवस्थालाई कसरी लिए?

“वचन[को]” रूपमा मानवपूर्व अस्तित्वमा रहँदा सायद येशू परमेश्‍वरको प्रवक्‍ता हुनुहुन्थ्यो र उहाँले नै इस्राएलीहरूलाई उजाडस्थानबाट डोऱ्‍याएर ल्याउनुभयो। (यूह. १:१; प्रस्थ. २३:२०-२३) इस्राएलीहरूले ‘स्वर्गदूतहरूबाट ठहराएको व्यवस्था त पाए, तर त्यसको पालन गरेनन्‌।’ (प्रेरि. ७:५३; हिब्रू २:२, ३) वास्तवमै भन्‍नुपर्दा, प्रथम शताब्दीका यहूदी धर्मगुरुहरू व्यवस्थाको मुख्य भाव बुझ्नबाट चुके। उदाहरणको लागि, विश्राम दिनसम्बन्धी व्यवस्थालाई लिनुहोस्‌। (मर्कूस ३:४-६ पढ्‌नुहोस्‌।) शास्त्री र फरिसीहरूले ‘व्यवस्थाका गहकिला कुराहरू अर्थात्‌ न्याय, दया र विश्‍वासलाई’ बेवास्ता गरे। (मत्ती २३:२३) तर येशूले हरेस खाएर सत्यका कुराहरू घोषणा गर्न छोड्‌नु भएन।

८. येशूले हामीलाई किन सहायता गर्न सक्नुहुन्छ?

येशूमा इच्छुक मनोभाव थियो। उहाँ मानवप्रतिको प्रेमले उत्प्रेरित हुनुहुन्थ्यो र तिनीहरूलाई मदत गर्ने तीव्र इच्छा राख्नुहुन्थ्यो। उहाँले प्रचारकको मनोभावलाई कहिल्यै गुमाउनुभएन। येशू पृथ्वीमा छँदा यहोवाप्रति विश्‍वासी रहेको कारण “उहाँको आज्ञा मान्‍नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्‍तिको कर्त्ता हुनुभयो।” यसबाहेक, “आफै परीक्षित भई शासना भोग्नुभएकोले [हामीजस्ता] परीक्षित हुनेहरूलाई उहाँले सहायता गर्नसक्नुहुन्छ।”—हिब्रू २:१८; ५:८, ९.

राम्रो प्रशिक्षण पाएका शिक्षक

९, १०. पृथ्वीमा पठाइनुअघि येशूले कस्तो प्रशिक्षण पाउनुभयो?

वर्तमान समयमा मसीहीहरूलाई मिसनरीको रूपमा पठाउनु अगाडि परिचालक निकायले तिनीहरूका लागि प्रशिक्षणको प्रबन्ध गर्छ। के येशूले प्रशिक्षण पाउनुभयो? अवश्‍य। तर मसीहको रूपमा अभिषेक हुनु अगाडि उहाँ न त रब्बीहरूको स्कूल जानुभएको थियो न कुनै प्रसिद्ध धर्मगुरुबाट नै उहाँले शिक्षा पाउनुभएको थियो। (यूह. ७:१५; तुलना गर्नुहोस्‌ प्रेरि. २२:३.) तैपनि, सिकाउने काममा येशू किन अत्यन्तै योग्य हुनुहुन्थ्यो?

१० आफ्नी आमा मरियम र धर्मपिता यूसुफबाट येशूले जे-जति सिक्नुभए तापनि सेवकाईको लागि मुख्य प्रशिक्षण भने यहोवाबाटै पाउनुभयो। यसबारे उहाँले यसो भन्‍नुभयो: “मैले आफ्नै तर्फबाट बोलिनँ, तर मैले के भन्‍नुपर्ने हो, र के बोल्नुपर्ने हो, मलाई पठाउने पिता आफैले मलाई आज्ञा दिनुभएको छ।” (यूह. १२:४९) याद गर्नुहोस्‌, के सिकाउनुपर्ने हो सो सम्बन्धमा पुत्रलाई विस्तृत निर्देशन दिइएको थियो। यसमा कुनै शंका छैन, पृथ्वीमा आउनुअगाडि पिताबाट आउने निर्देशन सुन्‍न येशूले थुप्रै समय बिताउनुभयो। पिताबाट पाउने प्रशिक्षणभन्दा राम्रो प्रशिक्षण अरू कुन होला र, हैन त?

११. मानिसहरूप्रतिको पिताको मनोवृत्ति येशूले कुन हदसम्म झल्काउनुभयो?

११ सृष्टि गरिए देखिनै येशूको आफ्ना पिता यहोवासँग घनिष्ठ सम्बन्ध थियो। मानव भएर पृथ्वीमा आउनुअगाडि यहोवाले मानवहरूसँग गरेको व्यवहारलाई नियालेर येशूले मानवप्रतिको परमेश्‍वरको मनोवृत्ति बुझ्नुभयो। मानिसहरूप्रतिको परमेश्‍वरको प्रेम पुत्रमा यति साह्रो झल्कन्थ्यो कि बुद्धिका मूर्तरूप येशूले यसो भन्‍न सक्नुभयो: “मेरो आनन्दचाहिं मानव जातिमा थियो।”—हितो. ८:२२, ३१.

१२, १३. (क) इस्राएलीहरूसँग यहोवाले गरेको व्यवहारलाई नियालेर येशूले कसरी सिक्नुभयो? (ख) आफूले पाएको प्रशिक्षणलाई येशूले कसरी प्रयोगमा ल्याउनुभयो?

१२ पुत्रले पाएको प्रशिक्षणमा, पिताले गाह्रो परिस्थितिलाई कसरी सँभाल्नुहुन्छ त्यसलाई नियाल्नु पनि समावेश थियो। उदाहरणको लागि, बाटो बिराएका इस्राएलीहरूसँग यहोवाले कस्तो व्यवहार गर्नुभयो, विचार गर्नुहोस्‌। नहेम्याह ९:२८ भन्छ: “वरिपरिबाट शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको [अर्थात्‌ यहोवाको] दृष्टिमा खराबी गरे। औ तपाईंले तिनीहरूलाई शत्रुका हातमा त्याग्नुभयो। उनीहरूले तिनीहरूलाई आफ्ना अधीन गराए। तर फेरि तिनीहरूले सहायताको निम्ति तपाईंलाई पुकारा गरे। औ धेरैपल्ट तपाईंले स्वर्गबाट तिनीहरूको पुकारा सुन्‍नुभयो, र आफ्नो करुणा देखाएर तिनीहरूलाई उद्धार गर्नुभयो।” यहोवासँगै काम गरेको र उहाँले गरेका कुराहरूलाई नियालेकोले गर्दा, येशूले आफ्नो आफूले प्रचार गरेका मानिसहरूप्रति पनि त्यस्तै कोमलता देखाउनुभयो।—यूह. ५:१९.

१३ आफ्ना चेलाहरूसँग कोमल व्यवहार गर्दै येशूले आफूले पाएको प्रशिक्षण व्यवहारमा उतार्नुभयो। आफ्नो मृत्युको अघिल्लो रात आफूले औधी प्रेम गरेका सबै प्रेरितहरूले “उहाँलाई छोडेर भागे।” (मत्ती २६:५६; यूह. १३:१) प्रेरित पत्रुसले त उहाँलाई तीन-तीन चोटि चिनेको छैन समेत भने! तैपनि, येशूले आफ्ना प्रेरितहरूलाई आफूकहाँ फर्कने बाटो खुलै छोड्‌नुभयो। उहाँले पत्रसुलाई यसो भन्‍नुभयो: “मैले तिम्रो विश्‍वास नडगोस्‌ भनेर तिम्रो निम्ति प्रार्थना गरें। औ फेरि एकपल्ट फिरेपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।” (लूका २२:३२) आध्यात्मिक इस्राएल सफलतासाथ ‘प्रेरितहरू र अगमवक्‍ताहरूमाथि’ बसालिएको छ र नयाँ यरूशलेमको पर्खालका मुख्य जगहरूमाथि थुमा येशू ख्रीष्टको १२ विश्‍वासी प्रेरितहरूको नाउँ लेखिएको छ। आजकै दिनसम्म पनि, अभिषिक्‍त मसीहीहरू तथा तिनीहरूका समर्पित सँगीहरू अर्थात्‌ “अरू भेडा” परमेश्‍वरको बलवान्‌ बाहुली र उहाँको प्रिय पुत्रको नेतृत्वमा रहेर परमेश्‍वरको राज्यको प्रचार गर्ने काममा फस्टाउँदै गइरहेका छन्‌।—एफि. २:२०; यूह. १०:१६; प्रका. २१:१४.

येशूले कसरी सिकाउनुभयो

१४, १५. कुन तरिकामा येशूको शिक्षा शास्त्री र फरिसीहरूको भन्दा फरक थियो?

१४ आफ्ना अनुयायीहरूलाई सिकाउँदा येशूले आफूले पाएको प्रशिक्षणलाई कसरी प्रयोगमा ल्याउनुभयो? यहूदी धर्मगुरुहरूको र येशूको सिकाउने तरिकालाई तुलना गर्ने हो भने, येशूको सिकाउने तरिका उच्चकोटिको थियो भन्‍ने कुरा छर्लंगै हुन्छ। शास्त्री र फरिसीहरूले “आफ्नो रीतिले गर्दा परमेश्‍वरको वचनलाई बेकम्मा गराएका” थिए। त्यसको विपरीत, येशू आफ्नो कुरा होइन तर परमेश्‍वरकै वचन अर्थात्‌ सन्देश सुनाउनुहुन्थ्यो। (मत्ती १५:६; यूह. १४:१०) हामीले पनि गर्नुपर्ने त्यस्तै हो!

१५ अर्को कुराले पनि येशूलाई धर्मगुरुहरूभन्दा बिलकुलै फरक बनायो। शास्त्री र फरिसीहरूको सन्दर्भमा उहाँले भन्‍नुभयो: “जे तिनीहरूले भन्दछन्‌ ती गर र मान, तर तिनीहरूकै काम जस्तो चाहिं नगर, किनकि तिनीहरूले भन्द ता छन्‌, तर गर्दैनन्‌।” (मत्ती २३:३) येशूको भनाइ र गराइमा तालमेल थियो। यो कुरालाई प्रमाणित गर्ने एउटा उदाहरण विचार गरौं।

१६. मत्ती ६:१९-२१ मा लेखिएको आफ्नो भनाइअनुरूपै येशू चल्नुभयो भनी तपाईं किन भन्‍न सक्नुहुन्छ?

१६ येशूले आफ्ना चेलाहरूलाई ‘स्वर्गमा धन-सम्पत्ति थुपार्न’ सल्लाह दिनुभयो। (मत्ती ६:१९-२१ पढ्‌नुहोस्‌।) के येशू स्वयम्‌ आफ्नो यस सल्लाहअनुरूपै चल्नुभयो? निश्‍चय नै। उहाँले आफ्नो विषयमा इमानदारी साथ यसो भन्‍न सक्नुभयो: “फ्याउराहरूका प्वाल छन्‌, र आकाशका चरा-चुरुङ्‌गीहरूका गुँड, तर मानिसको पुत्रको ता शिर राख्ने ठाउँ पनि छैन।” (लूका ९:५८) येशूले सरल जीवन बिताउनुभयो। राज्यको सुसमाचार प्रचार गर्ने काममा नै उहाँको समय बित्थ्यो। अनि पृथ्वीमा धन-सम्पत्ति थुपार्दा आउने चिन्ताबाट मुक्‍त हुनुको अर्थ उहाँले देखाउनुभयो। ‘कीराले वा खियाले नष्ट नपार्ने र चोरले पनि नचोर्ने’ स्वर्गमा धन-सम्पत्ति थुपार्नु कति उत्तम छ भनेर येशूले औंल्याउनुभयो। स्वर्गमा धन-सम्पत्ति थुपार्न येशूले दिएको सल्लाहलाई के तपाईं पछ्याउँदै हुनुहुन्छ?

मानिसहरूलाई येशूतर्फ खिचेको उहाँका गुणहरू

१७. कस्ता गुणहरूले येशूलाई विशिष्ट प्रचारक बनायो?

१७ कस्ता गुणहरूले येशूलाई विशिष्ट प्रचारक बनायो? एउटा हो, आफूले मदत गरेका मानिसहरूप्रतिको उहाँको मनोवृत्ति। येशूले झल्काएको यहोवाका असल गुणहरूमध्ये नम्रता, प्रेम र कोमलता पनि हुन्‌। यस्ता गुणले मानिसहरूलाई कसरी येशूतर्फ खिच्यो ध्यान दिनुहोस्‌।

१८. येशू नम्र हुनुहुन्थ्यो भनी किन भन्‍न सकिन्छ?

१८ पृथ्वीमा आउने जिम्मेवारीलाई स्वीकारेर, येशू “आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो।” (फिलि. २:७) त्यो नम्रताको कार्य थियो। त्यसबाहेक, येशूले मानिसलाई कहिल्यै पनि हेय दृष्टिले हेर्नुभएन। ‘म त स्वर्गबाट आएको हुँ, तिमीहरूले मेरो कुरा नसुनेर हुन्छ र’ भन्‍ने मनोवृत्ति उहाँमा थिएन। ‘मसीह हुँ’ भनी टोपल्ने झूटा मसीहहरूले जस्तो उहाँले साँचो मसीहको रूपमा आफ्नो भूमिकाबारे ढ्‌वाङ्‌ फुक्दै हिंड्‌नुभएन। कहिलेकाहीं येशू मानिसहरूलाई उहाँ र उहाँले गरेको कामबारे अरू कसैलाई नभन्‍न भन्‍नुहुन्थ्यो। (मत्ती १२:१५-२१) आफैले देखेको आधारमा मानिसहरूले उहाँको पछि लाग्ने निर्णय गरून्‌ भन्‍ने येशू चाहनुहुन्थ्यो। येशूले आफ्ना चेलाहरू स्वर्गमा आफूले संगत गरेका सिद्ध स्वर्गदूतजस्तै भएको आशा गर्नुभएन। यसबाट तिनीहरूले कत्ति ठूलो प्रोत्साहन पाए होलान्‌!

१९, २०. प्रेम र कोमलताले मानिसहरूलाई मदत गर्न येशूलाई कसरी उत्प्रेरित गऱ्‍यो?

१९ येशू ख्रीष्टले स्वर्गमा बस्नुहुने आफ्ना पिताको प्रमुख गुण अर्थात्‌ प्रेम पनि झल्काउनुभयो। (१ यूह. ४:८) येशूले आफ्ना श्रोताहरूलाई तिनीहरूप्रतिको प्रेमको कारण सिकाउनुभयो। उदाहरणको लागि, एक जवान शासकप्रतिको उहाँको भावनालाई विचार गर्नुहोस्‌। (मर्कूस १०:१७-२२ पढ्‌नुहोस्‌।) येशूले त्यस ‘मानिसलाई माया गर्नुभयो’ र उसलाई मदत गर्न चाहनुभयो। तर ख्रीष्टको पछि लाग्न आफूसँग भएको धेरै धन-सम्पत्ति त्याग्न त्यस जवान शासक तयार भएन।

२० येशूमा भएका मनमोहक गुणहरूमध्ये कोमलता एक थियो। सबै असिद्ध मानवजस्तै, उहाँको शिक्षा सुन्‍नेहरू पनि समस्याले थिचिएका थिए। यो कुरा बुझेकैले गर्दा येशूले तिनीहरूलाई कोमलता र दयासाथ सिकाउनुभयो। उदाहरण दिनुपर्दा, एक अवसरमा येशू र उहाँका प्रेरितहरू यति व्यस्त हुनुभयो कि उहाँहरूलाई खाने फुर्सत समेत थिएन। तर भीड जम्मा भएको देख्दा येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँ “तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुराको शिक्षा दिन लाग्नुभयो।” (मर्कू. ६:३४) हो, आफ्नो इलाकाका मानिसहरूको दयनीय अवस्था येशूले याद गर्नुभयो र तिनीहरूलाई तिनीहरूको फाइदाको निम्ति शिक्षा दिन र चमत्कार गर्न आफ्नो शक्‍ति खर्चिनुभयो। कतिपय मानिसहरू उहाँका असल गुणहरूप्रति आकर्षित भए, उहाँको बोलीबाट उत्प्रेरित भए र उहाँका चेला बने।

२१. अर्को लेखमा हामी के छलफल गर्नेछौं?

२१ येशूको पार्थिव सेवकाईबारे अझ धेरै कुरा हामी सिक्न सक्छौं, त्यसबारे हामीलाई अर्को लेखले सिकाउनेछ। हामी अन्य कस्ता तरिकामा सबैभन्दा महान्‌ मिसनरी येशू ख्रीष्टको अनुकरण गर्न सक्छौं? (w 08 2/15)

तपाईं के भन्‍नुहुन्छ?

• पृथ्वीमा आउनुअगाडि येशूले कस्तो प्रशिक्षण पाउनुभएको थियो?

• येशूको सिकाउने तरिका कसरी शास्त्री र फरिसीहरूको भन्दा उच्चकोटिको थियो?

• येशूका कस्ता गुणहरूले मानिसलाई उहाँतर्फ खिच्यो?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको चित्र]

येशूले भीडलाई कसरी सिकाउनुभयो?