सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबैभन्दा महान्‌ मिसनरीको अनुकरण गर्नुहोस्‌

सबैभन्दा महान्‌ मिसनरीको अनुकरण गर्नुहोस्‌

सबैभन्दा महान्‌ मिसनरीको अनुकरण गर्नुहोस्‌

“म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।”—१ कोरि. ११:१.

१. हामीले किन येशू ख्रीष्टको अनुकरण गर्नुपर्छ?

 प्रेरित पावलले सबैभन्दा महान्‌ मिसनरी येशू ख्रीष्टको अनुकरण गरे। तिनले सँगी मसीहीहरूलाई पनि यस्तो आग्रह गरे: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।” (१ कोरि. ११:१) येशूले आफ्ना प्रेरितहरूको खुट्टा धोइदिएर तिनीहरूलाई नम्रताको गतिलो पाठ सिकाएपछि यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।” (यूह. १३:१२-१५) हामी मसीही भएको नाताले आफ्नो भनाइ र गराइमा अनि गुणहरू देखाउनमा येशू ख्रीष्टको अनुकरण गर्नु अहिले पनि हाम्रो दायित्व हो।—१ पत्रु. २:२१.

२. परिचालक निकायले तपाईंलाई मिसनरी सेवा गर्न नियुक्‍त नगरेको भए तापनि तपाईं कस्तो मनोभाव विकास गर्न सक्नुहुन्छ?

अघिल्लो लेखमा हामीले सिक्यौं कि मिसनरी भनेको प्रचारकको रूपमा खटाइएको व्यक्‍ति हो जसले अरूलाई सुसमाचार सुनाउँछ। यस सन्दर्भमा पावलले केही चाखलाग्दा प्रश्‍न उठाए। (रोमी १०:११-१५ पढ्‌नुहोस्‌।) प्रेरित पावलका प्रश्‍नलाई विचार गर्नुहोस्‌: “प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्‍नसक्लान्‌?” त्यसपछि तिनले यशैयाको भविष्यवाणीबाट यी शब्दहरू उद्धृत गरे: “शुभ समाचार ल्याउनेको खुट्टा डाँडाहरू हुँदो कति सुन्दर छ!” (यशै. ५२:७) विदेशी भूमिमा मिसनरी सेवा गर्न तपाईंलाई नियुक्‍त नगरेको भए तापनि सुसमाचारको जोसिलो उद्‌घोषकको रूपमा येशूको अनुकरण गर्दै प्रचारकको मनोभाव विकास गर्न सक्नुहुन्छ। गत वर्ष ६९,५७,८५२ राज्य प्रकाशकहरूले २३६ मुलुकमा “प्रचारकको काम” गरे।—२ तिमो. ४:५.

“हामीले ता सबै थोक छोडेर तपाईंका पछि लाग्यौं”

३, ४. ख्रीष्टले पृथ्वीमा आउँदा के-कस्ता त्यागहरू गर्नुभयो र उहाँको अनुयायी हुन हामीले के गर्नुपर्छ?

पृथ्वीमा आफूलाई खटाइएको काम पूरा गर्न येशूले स्वर्गमा बिताइरहेको जीवन र त्यहाँ पाइरहेको महिमा त्यागेर “आफूलाई रित्याईकन कमाराको रूप” लिनुभयो। (फिलि. २:७) ख्रीष्टले यस पृथ्वीमा आउनको लागि गरेको त्यागको तुलनामा उहाँको अनुकरण गर्दै हामीले गर्ने जस्तोसुकै त्याग पनि केही होइन। तर आफूसँग पहिला भएका कुराहरूको चाह गर्दै शैतानको संसारलाई फर्केर नहेरी हामी उहाँको अनुयायीको रूपमा स्थिर रहन सक्छौं।—१ यूह. ५:१९.

एकचोटि प्रेरित पत्रुसले येशूलाई यसो भने: “हेर्नुहोस्‌ हामीले ता सबै थोक छोडेर तपाईंका पछि लाग्यौं।” (मत्ती १९:२७) पत्रुस, अन्द्रियास, याकूब र यूहन्‍नाले येशूको पछि लाग्ने निमन्त्रणा पाउँदा उत्तिखेरै आफ्ना जालहरू छोडे। तिनीहरूले माछा मार्ने पेशा त्यागे र सेवकाईलाई आफ्नो मुख्य काम बनाए। येशूको पछि लाग्न हामीमध्ये धेरैजसोले आफ्नो “सबै थोक” त छोड्‌नुपरेन। तर ख्रीष्टको अनुयायी हुन र तनमनले यहोवाको सेवा गर्ने सेवक बन्‍न हामीले “आफूलाई इन्कार” भने गर्नुपऱ्‍यो। (मत्ती १६:२४) यस्तो मार्ग अपनाउँदा थुप्रै आशिष्‌ पाएका छौं। (मत्ती १९:२९ पढ्‌नुहोस्‌।) ख्रीष्टको अनुकरण गर्दै प्रचारकको मनोभाव राख्दा हाम्रो हृदय प्रसन्‍न हुन्छ, विशेष गरी कसैलाई परमेश्‍वर र उहाँको प्रिय पुत्रको नजिक हुन मदत गर्ने काममा आफ्नो पनि सानो देन छ भने।

५. बाइबलका सत्य कुराहरू सिकेपछि प्रवासीहरूले कस्तो निर्णय गर्न सक्छन्‌, एउटा अनुभव बताउनुहोस्‌।

भाल्मिर नाउँ गरेका ब्राजिलका मानिस सुरिनामको भित्री भागमा बस्थे र सुन खानीमा काम गर्थे। तिनी मद्यव्यसनी थिए र अनैतिक जीवन बिताउँथे। एक पटक तिनी सहर गएको बेला यहोवाका साक्षीहरूले तिनीसँग बाइबल अध्ययन सुरु गरे। तिनले दिनदिनै अध्ययन गरे, जीवनमा थुप्रै परिवर्तन गरे अनि चाँडै बप्तिस्मा लिए। आफूले भर्खरै प्राप्त गरेको बाइबलको शिक्षाअनुरूप जीवन बिताउन आफ्नो कामले बाधा पुऱ्‍याएको देखेपछि तिनले आफ्नो धेरै पैसा आउने काम छोडिदिए। अनि आफ्नो परिवारलाई पनि आध्यात्मिक धन भेट्टाउन मदत गर्ने हेतुले ब्राजिल फर्के। बाइबलका सत्य कुराहरू सिकेपछि थुप्रै प्रवासीहरू सम्पन्‍न देशहरूमा आफूले खाइरहेको जागिर राजीखुसीले त्याग्छन्‌ र नातेदार तथा अरूलाई आध्यात्मिक मदत दिने लक्ष्य लिएर आफ्नै देश फर्कन्छन्‌। त्यस्ता राज्य प्रकाशकहरूले साँचो अर्थमा प्रचारकको मनोभाव झल्काइरहेका हुन्छन्‌।

६. राज्य प्रचारकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा सर्न सक्दैनौं भने पनि हामी के चाहिं गर्न सक्छौं?

थुप्रै साक्षीहरू राज्य प्रचारकको आवश्‍यकता धेरै भएको इलाकामा बसाइँ सरेका छन्‌। कोही-कोही त अर्कै देशमा समेत सरेका छन्‌। व्यक्‍तिगत परिस्थितिले गर्दा हामी सबैले त्यसो गर्न त सक्दैनौं होला तर येशूको अनुकरण गर्दै सेवकाईमा सधैं सक्दो भने गर्न सक्छौं।

यहोवा आवश्‍यक प्रशिक्षण दिनुहुन्छ

७. राज्य उद्‌घोषकको रूपमा अझ निखारिन चाहनेहरूले कस्ता स्कूलहरूमा प्रशिक्षण प्राप्त गर्न सक्छन्‌?

येशूले जसरी आफ्नो पिताबाट प्रशिक्षण पाउनुभयो त्यसरी नै हामीले पनि यहोवाले अहिले प्रबन्ध गरिरहनुभएको शिक्षाबाट फाइदा उठाउन सक्छौं। येशू आफैले यसो भन्‍नुभयो: “ती सबै जना परमेश्‍वरबाट सिकाइएका हुनेछन्‌ भनी अगमवक्‍ताहरूका पुस्तकमा लेखिएको छ।” (यूह. ६:४५; यशै. ५४:१३) हामीलाई राज्य प्रचारकको रूपमा सुसज्जित पार्न भनेर नै विभिन्‍न स्कूलहरू सञ्चालन गरिएका छन्‌। मण्डलीमा सञ्चालन हुने ईश्‍वरतान्त्रिक सेवकाई स्कूलबाट हामी सबैले पक्कै पनि कुनै न कुनै तरिकामा लाभ उठाएका छौं। अग्रगामीहरूले पायोनियर सर्भिस स्कूल अर्थात्‌ अग्रगामी सेवा स्कूलमा भाग लिने सुअवसर पाएका छन्‌। लामो समयदेखि अग्रगामी सेवा गरिरहेका कतिपयले त यो स्कूलमा दोस्रो चोटि समेत भाग लिन पाएका छन्‌। प्राचीन तथा सेवकाई सेवकहरूले आफ्नो शिक्षण योग्यता तिखार्न र सँगी विश्‍वासीहरूको सेवा गर्ने तरिकामा उन्‍नति ल्याउन किङ्‌गडम मिनिस्ट्री स्कूल अर्थात्‌ राज्य सेवकाई स्कूलमा भाग लिएका छन्‌। थुप्रै अविवाहित प्राचीन तथा सेवकाई सेवकहरू मिनिस्टेरियल ट्रेनिङ स्कूलमा गएका छन्‌। यस स्कूलमा तिनीहरूले प्रचारकार्यमा अरूलाई मदत गर्ने प्रशिक्षण पाउँछन्‌। अनि विदेशी भूमिमा मिसनरीको रूपमा सेवा गर्ने कार्यभार पाएका अरू थुप्रै भाइबहिनीले वाचटावर बाइबल स्कूल अफ गिलियडमा प्रशिक्षण पाएका छन्‌।

८. यहोवाले प्रबन्ध गरेका प्रशिक्षणको लागि कोही-कोही भाइहरूले स्वेच्छाले के-कस्ता त्यागहरू गरेका छन्‌?

यस्ता स्कूलहरूमा भाग लिन थुप्रै साक्षीले छाँटकाँट गरेका छन्‌। युगु नाउँ गरेका भाइले क्यानाडामा हुने मिनिस्टेरियल ट्रेनिङ स्कूलमा भाग लिन छुट्टि नपाएपछि जागिरबाट राजीनामा दिए। युगु भन्छन्‌: “मलाई कुनै पछुतो छैन। साँच्चै भन्‍ने हो भने, मलाई दया देखाएर छुट्टि दिएको भए मैले त्यहाँ वफादार भई स्थायी रूपमा काम गर्नुपर्थ्यो होला। तर अहिले म यहोवाबाट आउने जस्तोसुकै असाइनमेन्ट पनि स्वीकार्न तयार छु।” परमेश्‍वरले प्रबन्ध गरेका प्रशिक्षणबाट फाइदा उठाउन थुप्रैले, कुनै समय आफूले निकै मोल गरेका कुराहरू स्वेच्छाले त्यागेका छन्‌।—लूका ५:२८.

९. बाइबल आधारित शिक्षा र निष्कपटता साथ गरिने प्रयास प्रभावकारी हुन्छ भनी देखाउने एउटा उदाहरण बताउनुहोस्‌।

बाइबल आधारित शिक्षा र निष्कपटता साथ गरिने प्रयास एकदमै प्रभावकारी हुन्छ। (२ तिमो. ३:१६, १७) ग्वाटेमालाका साउलोलाई विचार गर्नुहोस्‌। जन्मदेखि नै तिनी अलि सुस्त मनस्थितिका थिए। तिनकी आमालाई एक शिक्षिकाले बच्चालाई पढ्‌न धेरै जबरजस्ती नगर्नू, बेकारमा ऊ निराश मात्र हुनेछ भनिन्‌। पढ्‌न नआउँदै साउलो स्कूल जान छोडे। तर एक साक्षी भाइले साउलोलाई अप्लाइ योरसेल्फ टु रिडिङ एण्ड राइटिङ (पढ्‌न र लेख्न सिक्नुहोस्‌) पुस्तिका चलाउँदै पढ्‌न सिकाए। पछि गएर साउलो ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाषण दिन सक्नेसम्म भए। साउलोकी आमाले पछि उक्‍त शिक्षिकालाई घर-घरको प्रचारकार्यमा भेटिन्‌। साउलोले पढ्‌न सिकेको कुरा सुनेपछि उक्‍त शिक्षिकाले अर्को हप्ता आउँदा साउलोलाई पनि सँगै ल्याउन आग्रह गरिन्‌। साउलोलाई भेटेपछि शिक्षिकाले यस्तो प्रश्‍न गरिन्‌, “तिमीले अब मलाई के सिकाउने त?” बाइबलले वास्तवमा के सिकाउँछ? a किताबबाट साउलोले एउटा अनुच्छेद पढ्‌न थाले। “आम्मै! कस्तो गजब, तिमीले मलाई पढाउने? विश्‍वास गर्नै गाह्रो!” भनेर शिक्षिकाले भनिन्‌। अनि खुसीको आँसु झार्दै तिनले साउलोलाई अंकमाल गरिन्‌।

मन छुने शिक्षा

१०. बाइबल सत्य सिकाउन हामीसित कुन उत्कृष्ट साधन छ?

१० येशूको शिक्षा यहोवाले उहाँलाई सीधै सिकाएका कुरा र परमेश्‍वरको लिखित वचनमा पाइने निर्देशनमा आधारित थियो। (लूका ४:१६-२१; यूह. ८:२८) हामी पनि येशूको सल्लाह लागू गरेर र बाइबल आधारित कुरा सिकाएर उहाँको अनुकरण गर्छौं। त्यसैले हामी सबैको भनाइ र सोचाइमा एकरूपता छ अनि यसले हाम्रो एकतामा योगदान पुऱ्‍याउँछ। (१ कोरि. १:१०) हाम्रो शिक्षामा एकरूपता कायम राख्न र प्रचारकको काम पूरा गर्न “विश्‍वासी र बुद्धिमान्‌ दास[ले]” बाइबल आधारित प्रकाशनहरू प्रबन्ध गरिदिएकोमा हामी कत्ति कृतज्ञ छौं! (मत्ती २४:४५; २८:१९, २०) त्यस्ता प्रकाशनहरूमध्ये बाइबलले सिकाउँछ किताब एउटा हो जुन अहिले १७९ भाषामा उपलब्ध छ।

११. इथियोपियाकी एउटी बहिनीले बाइबलले सिकाउँछ किताब चलाएर कसरी विरोधको सामना गरिन्‌?

११ बाइबलले सिकाउँछ किताब चलाएर बाइबल अध्ययन गर्दा विरोधीहरूको मन समेत परिवर्तन हुन सक्छ। इथियोपियाकी लूला नाउँ गरेकी अग्रगामी बहिनी एकचोटि बाइबल अध्ययन सञ्चालन गरिरहेकी थिइन्‌। त्यति नै बेला बाइबल विद्यार्थीको एक जना नातेदार फन्कँदै भित्र आएर ‘यस्तो अध्ययन-सध्ययन गर्नुपर्दैन’ भनिन्‌। लूलाले ती नातेदारसित बाइबलले सिकाउँछ किताबको अध्याय १५ मा दिइएको नकली नोटको उदाहरण चलाउँदै शान्तपूर्वक तर्क गरिन्‌। ती नातेदारको रीस ठन्डा भयो र उनीहरूलाई अध्ययन गर्न दिइन्‌। अर्कोचोटि अध्ययनको लागि जाँदा त तिनी पनि उपस्थित थिइन्‌ र अध्ययन गर्ने चाह व्यक्‍त गरिन्‌, यतिसम्म कि अध्ययनको लागि पैसा तिर्नसमेत तयार थिइन्‌! केही समय नबित्दै तिनले हप्ताको तीन चोटि अध्ययन गर्न थालिन्‌ र आध्यात्मिक तवरमा राम्रो प्रगति गरिन्‌।

१२. केटाकेटीले पनि बाइबलका सत्य कुराहरू प्रभावकारी ढंगमा सिकाउन सक्छन्‌ भनी देखाउन एउटा उदाहरण दिनुहोस्‌।

१२ केटाकेटीले पनि बाइबलले सिकाउँछ किताब चलाएर अरूलाई मदत गर्न सक्छन्‌। हवाईमा बस्ने ११ वर्षीय कियानुले स्कूलमा यो किताब पढ्‌दै गर्दा एउटा साथीले आएर यस्तो सोधे, “तिमी किन चाडपर्वहरू मनाउँदैनौं?” कियानुले त्यति नै खेर बाइबलले सिकाउँछ किताबको “के हामीले धार्मिक चाडपर्वका बिदाहरू मनाउनु उचित हो?” भन्‍ने परिशिष्टबाटै पढेर जवाफ दिए। त्यसपछि तिनले किताबको विषयसूची देखाउँदै कुनचाहिं विषयमा सबैभन्दा धेरै जान्‍न मन लागेको छ भनी उक्‍त साथीलाई सोधे। बाइबल अध्ययन सुरु भयो। गत सेवा वर्षमा यहोवाका साक्षीहरूले ६५,६१,४२६ बाइबल अध्ययन सञ्चालन गरे र यसको लागि थुप्रैले बाइबलले सिकाउँछ किताब चलाए। के तपाईंले पनि बाइबल अध्ययन सञ्चालन गर्दा यो साधन चलाइरहनुभएको छ?

१३. बाइबल अध्ययनले मानिसहरूमा कसरी गहिरो प्रभाव पार्न सक्छ?

१३ बाइबलले सिकाउँछ किताब चलाएर बाइबल अध्ययन गर्दा परमेश्‍वरको इच्छाबमोजिम गर्न चाहनेहरूमा गहिरो प्रभाव पर्न सक्छ। नर्वेमा एक विशेष अग्रगामी दम्पतीले जाम्बियाबाट आएको एउटा परिवारसित बाइबल अध्ययन सुरु गरे। जाम्बियाबाट आएका ती दम्पतीको तीन छोरी थिए र अरू बच्चा जन्माउन चाहँदैन थिए। त्यसैले पत्नी फेरि गर्भवती हुँदा तिनीहरूले गर्भपतन गर्ने निर्णय गरे। गर्भपतनको लागि डाक्टरसित परामर्श लिन जानु केही दिनअघि तिनीहरूले “जीवनप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌” भन्‍ने अध्याय अध्ययन गरे। त्यस अध्यायमा देखाइएको गर्भमा रहेको बच्चाको चित्रले ती दम्पतीको मन एकदमै छोयो र तिनीहरूले आफ्नो निर्णय बदले। तिनीहरूले आध्यात्मिक तवरमा प्रगति गरे र भर्खरै जन्मेको छोरोलाई अध्ययन सञ्चालककै नाउँ राखिदिए।

१४. आफूले सिकाउने कुराअनुरूप जीवन बिताउँदा कस्तो असल नतिजा हुन सक्छ, बताउनुहोस्‌।

१४ येशूको सिकाउने तरिकाको एउटा महत्त्वपूर्ण पक्ष भनेको उहाँ अरूलाई सिकाउनुभएअनुरूप जीवन बिताउनुहुन्थ्यो। यस सन्दर्भमा येशूको अनुकरण गर्ने यहोवाका साक्षीहरूको असल आचरणको थुप्रै मानिसले प्रशंसा गर्छन्‌। न्यु जील्याण्डमा एउटा व्यापारीको गाडीबाट ब्रिफकेस चोरी भएछ। तिनले चोरी भएको कुरा प्रहरीलाई रिपोर्ट गरे। तर प्रहरीले यसो भने: “तपाईंको ब्रिफकेस यहोवाका साक्षीहरूले भेट्टाए भने मात्र फिर्ता पाउन सक्नुहुन्छ।” अखबार बाँड्‌दै गरेकी एक साक्षी बहिनीले त्यो ब्रिफकेस भेट्टाइन्‌। यसबारे खबर पाएपछि ती व्यापारी आफ्नो ब्रिफकेस लिन बहिनीको घरमा गए। आफ्नो एकदमै महत्त्वपूर्ण कागजात जस्ताको तस्तै देखेपछि तिनी ढुक्क भए। ती बहिनीले तिनलाई यसो भनिन्‌, “म यहोवाको साक्षी भएकोले तपाईंको सम्पत्ति फिर्ता दिनु मेरो लागि उचित हो।” सोही दिन बिहान मात्र प्रहरीले तिनलाई भनेका कुरा सम्झँदै ती व्यापारी छक्क परे। स्पष्टतः साँचो मसीहीहरू येशूको अनुकरण गर्दै बाइबलका शिक्षाअनुरूप आफ्नो जीवन बिताउँछन्‌।—हिब्रू १३:१८.

मानिसप्रतिको येशूको मनोभाव अनुकरण गर्नुहोस्‌

१५, १६. हामीले प्रचार गर्ने सन्देशप्रति मानिसहरूलाई कसरी आकर्षित गर्न सक्छौं?

१५ मानिसप्रतिको येशूको मनोभावले गर्दा तिनीहरू उहाँको सन्देशप्रति आकर्षित भए। उदाहरणको लागि, दबिएकाहरू उहाँको प्रेम र नम्रताले गर्दा उहाँतिर खिचिए। आफूकहाँ आएका मानिसहरूप्रति उहाँले अनुकम्पा देखाउनुभयो र तिनीहरूलाई दयाका दुई-चार शब्द बोलेर र कतिपयलाई शारीरिक रूपमा निको पारेर सान्त्वना दिनुभयो। (मर्कूस २:१-५ पढ्‌नुहोस्‌।) हामी चमत्कार त गर्न सक्दैनौं तर मानिसहरूलाई सत्यतर्फ आकर्षित गर्ने गुणहरू जस्तै प्रेम, नम्रता र अनुकम्पा देखाउन सक्छौं।

१६ दक्षिण प्रशान्तमा पर्ने किरिवातीको एउटा विकट टापूमा वीरे नाउँका एक वृद्ध मानिसलाई टारियुआ नाउँकी विशेष अग्रगामीले प्रचार गरिन्‌। ती बहिनीले देखाएको अनुकम्पाले तिनलाई धेरै फरक पाऱ्‍यो। ती मानिसले आफूलाई सुन्‍न चासो नभएको कुरा बताए तापनि टारियुआले ती मानिसलाई आंशिक रूपमा पक्षाघात भएको याद गरिन्‌ र तिनीप्रति दयालु महसुस गरिन्‌। “बिरामी र बूढाबूढीलाई परमेश्‍वरले कस्तो प्रतिज्ञा गर्नुभएको छ, के तपाईंले सुन्‍नुभएको छ?” भनेर तिनले सोधिन्‌। त्यसपछि तिनले यशैयाको भविष्यवाणीबाट एक अंश पढेर सुनाइन्‌। (यशैया ३५:५, ६ पढ्‌नुहोस्‌।) छक्क पर्दै ती मानिसले यसो भने, “मैले बाइबल पढ्‌दै आएको वर्षौं भइसक्यो र मलाई मेरो धर्मको मिसनरी धेरै वर्षदेखि भेट्‌न पनि आइरहेका छन्‌ तर यो कुरा त मैले बाइबलमा कहिल्यै पढेको छैन।” वीरेसित बाइबल अध्ययन सुरु भयो र तिनले राम्रो आध्यात्मिक प्रगति गरे। हो, तिनी चलहल गर्नै नसक्ने अपांग थिए तर तिनले अहिले बप्तिस्मा लिइसकेका छन्‌ र त्यहाँको समूहको रेखदेखमा अगुवाइ लिन्छन्‌ र त्यस टापुभरि सुसमाचार प्रचार गर्दै हिंड्‌न सक्ने भएका छन्‌।

ख्रीष्टको अनुकरण गरिरहनुहोस्‌

१७, १८. (क) तपाईं कसरी सफल प्रचारक हुन सक्नुहुन्छ? (ख) आफ्नो सेवकाईलाई गम्भीरतापूर्वक लिनेहरूले के अनुभव गर्न सक्नेछन्‌?

१७ सेवकाईमा बटुलेको रमाइला अनुभवहरूबाट बारम्बार के कुरा स्पष्ट हुन्छ भने येशूले देखाएका गुणहरू विकास गर्नुका साथै ती देखायौं भने हामी सफल प्रचारक हुन सक्छौं। त्यसकारण जोसिलो प्रचारक भएर येशूको अनुकरण गर्नु कत्ति उपयुक्‍त छ!

१८ प्रथम शताब्दीमा कोही-कोही येशूको चेला बनेपछि पत्रुसले यस्तो प्रश्‍न गरेका थिए: “हामीले के पाउनेछौं?” येशूले यस्तो जवाफ दिनुभयो: “जस जसले मेरो नाउँको निम्ति घर, दाजुभाइ, कि दिदीबहिनी, अथवा बाबु, कि आमा, कि छोराछोरीहरू, कि जग्गा-जमीनहरू छोड्‌छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार गर्नेछ।” (मत्ती १९:२७-२९) हामीले सबैभन्दा महान्‌ मिसनरी येशू ख्रीष्टको अनुकरण गरिरह्‍यौं भने पक्कै पनि यो पदमा भनिएका कुराहरू अनुभव गर्न सक्नेछौं। (w 08 2/15)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

तपाईं के भन्‍नुहुन्छ?

• प्रचारक हुनको लागि यहोवाले हामीलाई कसरी प्रशिक्षण दिइरहनुभएको छ?

• बाइबलले सिकाउँछ किताब सेवकाईमा किन प्रभावकारी साबित भएको छ?

• हामीले मानिसहरूप्रति राख्ने मनोभावमा कसरी येशूको अनुकरण गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

येशूले पत्रुस, अन्द्रियास, याकूब र यूहन्‍नालाई उहाँको पछि लाग्न निमन्त्रणा दिंदा तिनीहरूले ढिलासुस्ती गरिरहेनन्‌