सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो वैवाहिक जीवनलाई सुखमयी बनाउनुहोस्‌

आफ्नो वैवाहिक जीवनलाई सुखमयी बनाउनुहोस्‌

आफ्नो वैवाहिक जीवनलाई सुखमयी बनाउनुहोस्‌

“बुद्धिले घर बनाउँछ, असल समझ-शक्‍तिले त्यसलाई सुरक्षित राख्छ।”—हितो. २४:३.

१. पहिलो पुरुष सृष्टि गरेपछि परमेश्‍वरले कसरी बुद्धि प्रकट गर्नुभयो?

 हाम्रो लागि के असल छ अनि के असल छैन, हाम्रो बुद्धिमान्‌ पिता यहोवालाई थाह छ। उदाहरणका लागि, ‘पृथ्वी भर्ने’ आफ्नो उद्देश्‍य पूरा गर्न, अदनको बगैंचामा “मानिस एक्लो रहन असल छैन,” भनेर उहाँले स्वीकार्नुभयो। किनकि उहाँको उद्देश्‍य पूरा हुन चाहिने मुख्य कुराहरूमध्ये एउटा विवाहित दम्पतीले छोराछोरी जन्माउनु आवश्‍यक थियो।—उत्प. १:२८; २:१८.

२. मानवजातिको भलाइ होस्‌ भनेर यहोवाले कस्तो प्रबन्ध मिलाउनुभयो?

यहोवाले पहिलो पुरुषको निम्ति “सुहाउने एउटा सहयोगी बनाउनेछु” भन्‍नुभयो। त्यसपछि, परमेश्‍वरले तिनलाई गहिरो निद्रामा पार्नुभयो र तिनको सिद्ध शरीरबाट एउटा करङ निकाल्नुभयो। त्यही करङबाट उहाँले स्त्री बनाउनुभयो। यहोवाले यस सिद्ध स्त्री हव्वालाई सिद्ध पुरुष आदमकहाँ ल्याउँदा आदमले यसो भने: “यो ता मेरै हाडको हाड र मासुको मासु हो। उसलाई स्त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।” हव्वा आदमको निम्ति साँच्चै नै सुहाउने सहयोगी थिइन्‌। आदम अनि हव्वाका आ-आफ्नै विशेषता अनि गुणहरू भए तापनि दुवै जना परमेश्‍वरको स्वरूपमा बनेका सिद्ध मानिसहरू थिए। यहोवाले यी सिद्ध पुरुष अनि स्त्रीको विवाह गराइदिनुभयो। यहोवाले स्थापना गर्नुभएको यो प्रबन्ध स्वीकार्न आदम र हव्वा दुवैलाई गाह्रो भएन। किनकि त्यस्तो ईश्‍वरीय प्रबन्धबाट पति-पत्नीले एकअर्काको मदत अनि आड पाउने थिए।—उत्प. १:२७; २:२१-२३.

३. धेरैले विवाहलाई कसरी लिइरहेका छन्‌? फलस्वरूपः कस्ता प्रश्‍न खडा भएका छन्‌?

दुःखको कुरा, अहिले जताततै विद्रोही भावनाले मानिसहरूलाई असर गरेको छ। यस्तो विद्रोही भावनाले जन्माएका समस्याहरूको दोष परमेश्‍वरलाई दिन मिल्दैन। विवाह, परमेश्‍वरले दिएको उपहार भए तापनि धेरै मानिस त्यसको आदर गर्दैनन्‌। उनीहरू विवाहलाई पुरानो परिपाटी, दिक्दारी अनि झगडाको बीउ सम्झन्छन्‌। हो, विवाह गर्ने मानिस नै नभएका होइनन्‌। तर धेरैजसोले सम्बन्धविच्छेद गर्छन्‌। अर्कोतिर, कतिपय छोराछोरीले आमाबाबुबाट पाउनुपर्ने स्वाभाविक माया पाइरहेका छैनन्‌। लोग्ने-स्वास्नीको झगडामा छोराछोरी मिचिने गरेका छन्‌। परिवारमा शान्ति अनि एकता कायम गर्नका लागि मात्रै भए पनि पति-पत्नी एकअर्कासामु झुक्न चाहँदैनन्‌। (२ तिमो. ३:३) उसोभए, यस्तो डरलाग्दो समयमा हामी कसरी वैवाहिक जीवनलाई सुखमयी बनाउन सक्छौं? विनयी भयौं भने, त्यसले कसरी वैवाहिक जीवनलाई भताभुंग हुनबाट जोगाउँछ? अनि अहिले सुखी वैवाहिक जीवन बिताइरहेका हाम्रा भाइबहिनीबाट हामी के सिक्न सक्छौं?

यहोवाको निर्देशन पालन गर्नुहोस्‌

४. (क) पावलले कोसित मात्र विवाह गर्ने निर्देशन दिए? (ख) आज्ञाकारी मसीहीहरूले पावलको निर्देशन कसरी पालन गर्छन्‌?

विवाह गर्न इच्छुक विधवाहरूलाई “प्रभुमा मात्र” विवाह गर्नू भनेर मसीही प्रेरित पावलले निर्देशन दिएका थिए। (१ कोरि. ७:३९) यहूदी संस्कारमा हुर्केका मसीहीहरूका लागि यो कुनै नौलो निर्देशन थिएन। किनकि वरपरका मूर्तिपूजक मानिसहरूसित “बिहेबारी नगर्नू” भनेर परमेश्‍वरले इस्राएलीहरूलाई स्पष्ट निर्देशन दिनुभएको थियो। यो ईश्‍वरीय स्तर पालन गरेन भने त्यसले कस्तो खतरा निम्त्याउनेछ, त्यसबारे यहोवाले यसो भन्‍नुभएको थियो: “तिनीहरूले [अर्थात्‌ गैर-इस्राएलीहरूले] तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताका पूजा गर्न लाउनेछन्‌। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई तत्कालै नाश पार्नुहुनेछ।” (व्यव. ७:३, ४) विवाह गर्न इच्छुक आफ्ना सेवकहरूले अहिले कुन स्तर पालन गरेको यहोवा चाहनुहुन्छ? निश्‍चय पनि, परमेश्‍वरको सेवकले “प्रभुमा मात्र” अर्थात्‌ समर्पित बप्तिस्मा प्राप्त उपासकहरूसित मात्र विवाह गर्नु उचित हुन्छ। अविवाहित मसीहीहरूले विनयी भएर यहोवाको यो निर्देशन पालन गर्नु बुद्धिमानी कुरा हो।

५. यहोवा अनि विवाहित मसीहीहरूले वैवाहिक वाचालाई कसरी लिन्छन्‌?

विवाह गर्दा पति-पत्नीले एकअर्कासित बाँधेको वाचालाई परमेश्‍वर पवित्र ठान्‍नुहुन्छ। अदनको बगैंचामा भएको पहिलो विवाहलाई संकेत गर्दै परमेश्‍वरको पुत्र येशूले यसो भन्‍नुभयो: “जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।” (मत्ती १९:६) हामीले आफ्नो वाचालाई गम्भीरतासाथ लिनुपर्छ भनेर भजनरचयिता यसरी सम्झाउँछन्‌: “परमेश्‍वरलाई धन्यवादको बलिदान चढा। र तेरो भाकल सर्वोच्चमा पूरा गर्‌।” (भज. ५०:१४) पति-पत्नीले आफ्नो वैवाहिक जीवनबाट ठूलो सुख भोग गर्न सक्छन्‌। तर त्यसका लागि तिनीहरूले विवाहको दिन एकअर्कासित बाँधेको वाचालाई हलुकासित लिनुहुँदैन बरु त्यस्तो वाचाले निम्त्याउने जिम्मेवारी बहन गर्नुपर्छ।—व्यव. २३:२१.

६. यिप्तहबाट हामी के पाठ सिक्न सक्छौं?

ईसापूर्व १२ औं शताब्दीका इस्राएली न्यायकर्ता यिप्तहलाई विचार गर्नुहोस्‌। तिनले यहोवासित यस्तो वाचा गरेका थिए: “यदि तपाईंले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने, जब म अम्मोनीहरूबाट कुशलसित फर्कुंला तब मलाई भेट्‌नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ। म त्यसलाई होमबलि गरी चढाउनेछु।” जब तिनी घर पुगे, तब तिनको एक मात्र सन्तान, तिनकी छोरीले भेट्‌न आउँदा के यिप्तहले आफ्नो भाकल तोडे? तोडेनन्‌। बरु, तिनले यसो भने: “मैले परमप्रभुमा एउटा भाकल गरेको छु, औ म त्यो टार्न सक्‍तिनँ।” (न्याय. ११:३०, ३१, ३५) आफ्नो वंश नाश हुन सक्ने खतरा हुँदाहुँदै पनि यिप्तहले आफ्नो भाकल पूरा गरे। यिप्तहको भाकललाई विवाहको भाकलसित दाँज्न नमिले तापनि मसीही पति-पत्नीले आफ्नो वाचा पूरा गर्नुपर्छ भन्‍ने राम्रो पाठ यिप्तहबाट सिक्न सक्छन्‌।

कुन कुराले वैवाहिक जीवनलाई सफल बनाउँछ?

७. नवविवाहित दम्पतीहरूले कस्तो काँटछाँट गर्नु आवश्‍यक हुन्छ?

थुप्रै दम्पती बिहेअघिको भेटघाटको मीठो सम्झना गर्छन्‌। आफ्नो भावी पति वा पत्नीसित बिताइएका ती पलहरू साँच्चै रमाइला थिए। जतिजति एकअर्कालाई चिन्यो उतिउति उनीहरू घनिष्ठ हुँदै गए। तर जति नै चिनजान गरेपनि विवाहपछि अझ छाँटकाँट गर्नुपर्ने रहेछ भनेर यी दम्पतीहरूले महसुस गरे। मागी विवाह गर्ने दम्पतीहरूले पनि त्यस्तै महसुस गरेका छन्‌। विवाह गर्नेबित्तिकै आफूले सामना गर्नुपरेको चुनौतिबारे एक पति यसो भन्छन्‌: “विवाह भएपछि अब पहिलेजस्तै आफू खुसी चल्न मिल्दैन; कुनै काम गर्नुअघि एकअर्काको पनि विचार गर्नुपर्छ भनेर हामीले सोचेकै थिएनौं। हाम्रा साथीभाइ अनि नातागोतालाई अब कुन स्थान दिनुपर्ने हो, त्यो ठिम्याउन पनि हामीलाई समय लाग्यो।” बिहे गरेको ३० वर्ष भइसकेको अर्को पतिलाई चाहिं सन्तुलित हुन र “म” भन्‍न छोडेर “हामी” भनेर सोच्न सिक्नु परेछ। निम्तो स्वीकार्नुअघि अथवा कसैलाई वचन दिनुअघि तिनी पहिले आफ्नी पत्नीसित राय माग्छन्‌ र दुवैलाई स्वीकार्य हुने निर्णय गर्छन्‌। हो, यस्ता परिस्थितिमा ‘मेरो गोरुको बाह्रै टक्का’ भन्‍नुभन्दा विनयी हुनु बेस हुन्छ।—हितो. १३:१०.

८, ९. (क) आपसमा खुलस्त कुराकानी गर्नु किन महत्त्वपूर्ण छ? (ख) कुन क्षेत्रमा लचकदार हुनु फाइदाजनक छ र किन?

विवाहित दम्पतीको सांस्कृतिक पृष्ठभूमि कहिलेकाहीं फरक हुन सक्छ। विशेषगरि यस्तो परिस्थितिमा पति-पत्नीले आपसमा खुलस्त कुराकानी गर्नुपर्छ। हरेकको कुराकानी गर्ने आ-आफ्नो तरिका हुन्छ। तपाईंको पति वा पत्नीले नातेदारसित कसरी कुरा गर्छ, याद गर्नुभयो भने तिनको कुरा गर्ने शैली बुझ्न सजिलो हुन सक्छ। एकअर्काको मनको कुरा बुझ्न कहिलेकाहीं के बोल्दैछ, त्यो याद नगरेर कसरी बोल्दैछ, त्यो याद गर्नुपर्छ। आफ्नो पति वा पत्नीले मनभित्र लुकाइराखेको विचार अथवा व्यक्‍त गर्न नसकेका भावनाहरू बुझ्ने कोसिस गरेर एकअर्काबारे धेरै कुरा जान्‍न सकिन्छ। (हितो. १६:२४; कल. ४:६) वैवाहिक जीवनलाई सुखी बनाउन पति-पत्नी समझदार हुनु नितान्त आवश्‍यक छ।—हितोपदेश २४:३ पढ्‌नुहोस्‌।

आफ्नो कुनै सोख छ अथवा कुनै खेल वा गतिविधि मनपर्छ भने विवाहपछि त्यसबारे लचकदार हुनु पनि धेरै दम्पतीले आवश्‍यक देखेका छन्‌। विवाहअघि तपाईंका पति वा पत्नी कुनै खेलकुद अथवा आफूलाई मन परेको गतिविधिमा धेरै समय बिताउँथे होलान्‌। अब विवाहपछि केही छाँटकाँट गर्नु उपयुक्‍त होला कि? (१ तिमो. ४:८) नातेदारसित बिताइने समयबारे पनि त्यसरी नै सोच्नु बेस हुन्छ। हुन पनि, यसरी छाँटकाँट नगरे आध्यात्मिकलगायत अन्य काम सँगै मिलेर गर्न कहाँ समय पाउन सकिन्छ र?—मत्ती ६:३३.

१०. आमाबाबु र विवाहित छोराछोरीबीच सुमधुर सम्बन्ध कायम राख्न विनयी भावले कसरी मदत गर्छ?

१० कुनै कुनै देशमा विवाह भएपछि दुलही आफ्नो आमाबाबुको घर छोडेर दुलहाको घर जान्छिन्‌ र कहिलेकाहीं दुलहा पनि आफ्नो आमाबाबुको घर छोडेर छुट्टै बस्छन्‌। छोराछोरीले मातापिताको आदर अनि हेरविचार गर्नुपर्छ भनेर परमेश्‍वरले आज्ञा दिनुभएको छ। तर कति आदर वा हेरविचार गर्ने त्यसको कुनै सीमा वा समय तोक्नुभएको छैन। तसर्थ, विवाह भएपछि पति-पत्नीले आफ्नो आमाबाबु वा सासु-ससुराको हेरविचार गर्न पक्कै पनि समय दिनेछन्‌। तर यस सन्दर्भमा पनि पति-पत्नीले केही छाँटकाँट गर्नु उपयुक्‍त होला कि? (उत्पत्ति २:२४ पढ्‌नुहोस्‌।) विवाह भएको २५ वर्ष भइसकेका एक पति यसो भन्छन्‌: “सबैको इच्छाअनुसार चल्न कहिलेकाहीं गाह्रो हुन्छ। आमाबाबु, सासु-ससुरालगायत परिवारका अरू सदस्य अनि पत्नीको आ-आफ्नै चाहना अनि आवश्‍यकता हुने भएकोले सबैलाई खुसी पार्न धेरै गाह्रो हुन्छ। तर मैले उत्पत्ति २:२४ मा दिइएको सिद्धान्तबाट धेरै मदत पाएको छु। हो, परिवारप्रतिको कर्तव्य पनि आफ्नै ठाउँमा छ तर सबैभन्दा पहिले मैले आफ्नी पत्नीप्रतिको कर्तव्य पूरा गर्नुपर्छ।” अर्कोतिर विनयी आमाबाबुले पनि विवाह भइसकेका छोरा वा छोरीले पहिले आफ्नै परिवारको विचार गर्नुपर्छ भनेर मानिलिनुपर्छ र छोरा वा छोरीको परिवारको शिर अब आफू होइन तर छोरा वा ज्वाइँ हो भनेर स्वीकार्नुपर्छ।

११, १२. विवाहित दम्पतीले पारिवारिक अध्ययन अनि प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ?

११ वैवाहिक जीवन सुखमयी बनाउन पारिवारिक अध्ययनको राम्रो तालिका हुनु अत्यावश्‍यक छ भनेर थुप्रै मसीही परिवारको अनुभवले प्रमाणित गर्छ। तर पारिवारिक अध्ययन सुरु गर्नु अथवा त्यसलाई निरन्तर कायम राख्नु सधैं सजिलो हुँदैन। एक जना पति यसो भनेर स्वीकार्छन्‌: “पारिवारिक अध्ययनको राम्रो तालिका बनाएर विवाह भएको दिनदेखि नियमित अध्ययन गरेको भए कत्ति बेस हुन्थ्यो भनेर अहिले हामीलाई थकथकी लाग्छ।” तिनी अझ यसो भन्छन्‌: “पारिवारिक अध्ययनको बेला मेरी पत्नीले आफूलाई घत लागेको कुरा खुसी भएर बताउँदा मलाई रमाइलो लाग्छ।”

१२ पति-पत्नी सँगै मिलेर प्रार्थना गर्नु वैवाहिक जीवनलाई सुखी बनाउने अर्को तरिका हो। (रोमी १२:१२) यदि पति-पत्नी दुवै मिलेर यहोवाको उपासना गर्छन्‌ भने परमेश्‍वरसितको त्यस्तो घनिष्ठ सम्बन्धले पति-पत्नीबीचको बन्धनलाई बलियो बनाउन सक्छ। (याकू. ४:८) एक मसीही पति यसो भन्छन्‌: “गल्ती जतिसुकै सानो किन नहोस्‌, यदि त्यसले गर्दा पत्नीको चित्त दुखेको छ भने भने म तुरुन्तै क्षमा माग्छु। अनि दुवै मिलेर प्रार्थना गर्दा म यहोवासित पनि क्षमा माग्छु। मलाई लाग्छ, यसो गर्नु भनेको निष्कपट अफसोस व्यक्‍त गर्नु हो।”—एफि. ६:१८.

विनयी भएर वैवाहिक हक दिनुहोस्‌

१३. पति-पत्नीले एकअर्कालाई दिनुपर्ने वैवाहिक हकबारे पावलले के सल्लाह दिए?

१३ पति-पत्नीबीचको पवित्र बन्धनलाई भ्रष्ट बनाउने प्रचलनहरूदेखि विवाहित मसीहीहरू कोसौं टाढा बस्नुपर्छ। यौनको भोको संसारमा अचेल त्यस्ता थुप्रै प्रचलन सामान्य भइसकेका छन्‌। मसीही पति-पत्नीले एकअर्कालाई दिनुपर्ने वैवाहिक हकको विषयमा पावलले यस्तो सल्लाह दिए: “पतिले आफ्नी पत्नीलाई उसको वैवाहिक हक दिओस्‌, र यसरी नै पत्नीले पनि आफ्ना पतिलाई। पत्नीले आफ्नो शरीरमाथि अधिकार राख्दिन, तर उसको पतिले राख्छ। यसरी नै पतिले पनि आफ्नो शरीरमाथि अधिकार राख्दैन, तर उसकी पत्नीले राख्छे।” त्यसपछि पावलले यस्तो सुस्पष्ट निर्देशन दिए: “पति पत्नीले आफ्नो पारस्परिक संसर्गदेखि एक-अर्कालाई इन्कार नगर। इन्कार गऱ्‍यौ भने पनि आपसमा सल्लाह गरेर केही समयको निम्ति मात्र।” किन? “ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्‌।” (१ कोरि. ७:३-५, NRV) प्रार्थनाबारे उल्लेख गरेर पावलले मसीहीले प्राथमिकता दिनुपर्ने कुरा बताए। तर मसीही पति-पत्नी एकअर्काको शारीरिक अनि भावनात्मक आवश्‍यकताप्रति सचेत हुनुपर्छ भनेर पनि पावलले प्रस्ट पारे।

१४. पति-पत्नीबीच हुने पारस्परिक संसर्गको सम्बन्धमा बाइबलका सिद्धान्तहरू कसरी लागू हुन्छन्‌?

१४ पारस्परिक संसर्गको सन्दर्भमा पति-पत्नीले एकअर्कासित खुलस्त कुराकानी गर्नुपर्छ र कोमल व्यवहार नगरेमा समस्या खडा हुन सक्छ भनेर बुझ्नुपर्छ। (फिलिप्पी २:३, ४ पढ्‌नुहोस्‌; मत्ती ७:१२ तुलना गर्नुहोस्‌।) पति वा पत्नीमध्ये एक जना मात्र यहोवाका साक्षी भएका परिवारमा यस्ता समस्या भएका छन्‌। यौन-सम्बन्धको कुरामा आपसमा असहमति छ भने पनि, असल आचरण, दया अनि सहयोगी भाव देखाएर मसीही पति वा पत्नीले परिस्थिति सुधार्न सक्छन्‌। (१ पत्रुस ३:१, २ पढ्‌नुहोस्‌।) यहोवा अनि आफ्नो जीवनसाथीप्रतिको प्रेम अनि विनयी झुकावले हामीलाई दाम्पत्य जीवनको यस पक्षमा मदत गर्नेछ।

१५. वैवाहिक जीवन सुखमयी बनाउन आदरभावले कसरी मदत गर्छ?

१५ अन्य क्षेत्रमा पनि दयालु पतिले पत्नीको अनादर हुने व्यवहार गर्दैनन्‌। उदाहरणका लागि, सानातिना कुरामा पनि तिनले पत्नीको भावनालाई ख्यालमा राख्छन्‌। विवाह भएको ४७ वर्ष भइसकेका पति यसो भनेर स्वीकार्छन्‌: “यस क्षेत्रमा म अझै कच्चो छु।” मसीही पत्नीहरूलाई आफ्नो पतिको गहिरो आदर गर्न सल्लाह दिइएको छ। (एफि. ५:३३, NRV ) अरूको अगाडि पतिको आलोचना गर्ने पत्नीले आफ्नो पतिको आदर गरिरहेकी हुँदिनन्‌। हितोपदेश १४:१ ले हामीलाई यसरी सम्झाउँछ: “बुद्धिमान्‌ स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे।”

शैतानलाई मौका नदिनुहोस्‌

१६. विवाहित दम्पतीले एफिसी ४:२६-२७ मा दिइएको सल्लाह कसरी पालन गर्न सक्छन्‌?

१६ “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस। शैतानलाई मौका नदेओ।” (एफि. ४:२६, २७) यो सल्लाह पालन गरेर पति-पत्नीले आफू दुईबीचको मतभिन्‍नता हटाउन वा कम गर्न सक्छन्‌। मतभिन्‍नताको सम्बन्धमा एक मसीही बहिनी यसो भन्छिन्‌: “श्रीमान्‌सित खटपट पर्दा हामी दुईबीचको समस्या समाधान नभएसम्म घण्टौं लगाएर भए पनि सधैं म उहाँसित सफा कुरा गर्छु।” विवाह भएको पहिलो दिनदेखि नै तिनी र तिनका पतिले आफू दुईबीच कुनै मतभिन्‍नता हुन नदिने निर्णय गरेका रहेछन्‌। “चाहे समस्या जस्तोसुकै होस्‌, एकअर्काको गल्ती मनमा गुम्साएर नराख्ने, बरु एकअर्कालाई क्षमा दिएर नयाँ बिहानीको सुरुआत गर्ने निर्णय गरेका थियौं।” हो, यसरी यस दम्पतीले शैतानलाई कुनै मौका दिएनन्‌।

१७. पति-पत्नीको व्यक्‍तित्व पटक्कै नमिलेको जस्तो देखिए तापनि के गरेको खण्डमा तिनीहरूको वैवाहिक सम्बन्ध कमजोर हुन पाउँदैन?

१७ यदि तपाईं दुईको व्यक्‍तित्व पटक्कै मिल्दैन भने के गर्ने? पहिल्यै विचार पुऱ्‍याएर विवाह गरेको भए बेस हुन्थ्यो भनेर अहिले महसुस भइरहेको छ कि? अथवा तपाईंको वैवाहिक जीवन पनि अरूको जस्तै रोमान्टिक भइदिए हुन्थ्यो भन्‍ने लागिरहेको छ कि? यस्तो बेला वैवाहिक जीवनबारे सृष्टिकर्ताको दृष्टिकोण सम्झनुभयो भने तपाईंले ठूलो मदत पाउनुहुनेछ। परमेश्‍वरको प्रेरणा पाएर पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “सबै विवाह चाहिं आदरणीय होस्‌, ओछ्यान नबिटुलिओस्‌, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ।” (हिब्रू १३:४) “तीन सुताले बाटिएको डोरी सजिलै चुँडिदैन” भनेर सम्झनु पनि यतिखेर मदतकारी हुनेछ। (उप. ४:१२) यहोवाको नाउँमा कलंक लाग्न सक्ने कुनै पनि काम नगर्न पति-पत्नी दुवै सचेत छन्‌ भने तिनीहरूबीचको सम्बन्ध र परमेश्‍वरसित गाँसेको सम्बन्ध कमजोर हुन पाउँदैन। पति-पत्नीले वैवाहिक जीवनलाई सफल बनाउने कोसिस गर्नुपर्छ। अनि त्यस्तो कोसिस गऱ्‍यो भने विवाहका आरम्भक यहोवाको नाउँको पनि प्रशंसा हुनेछ भनेर तिनीहरूले बिर्सनुहुँदैन।—१ पत्रु. ३:११.

१८. वैवाहिक जीवनलाई कस्तो बनाउन सकिन्छ भनेर हामी पक्का हुन सक्छौं?

१८ मसीही पति-पत्नीले आफ्नो वैवाहिक जीवन अवश्‍य सुखमयी बनाउन सक्छन्‌। तर त्यसका लागि दुवैले कोसिस गर्नुपर्छ र विभिन्‍न मसीही गुणहरू प्रकट गर्नुपर्छ, जसमध्ये एक, विनयी हुनु पनि हो। तर विनयी हुनु निश्‍चय पनि असम्भव छैन। किनकि अहिले संसारभरि यहोवाका साक्षीहरूमाझ अनगिन्ती दम्पतीले त्यसै गरिरहेका छन्‌। (w08 3/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• वैवाहिक जीवन सुखमयी बनाउने कोसिस गर्नु किन बेकारको कुरा होइन?

• कुन कुराले वैवाहिक जीवनलाई सफल बनाउन सक्छ?

• पति-पत्नीले के-कस्ता गुण विकास गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

झट्टै निम्तो स्वीकार्नुअघि अथवा कसैलाई वचन दिनुअघि पहिले आपसमा सल्लाह गर्नु बुद्धिमानी हो