सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं अरूलाई यहोवाले झैं हेर्नुहुन्छ?

के तपाईं अरूलाई यहोवाले झैं हेर्नुहुन्छ?

के तपाईं अरूलाई यहोवाले झैं हेर्नुहुन्छ?

“शरीरमा फूट नहोस्‌, . . . अंगहरू एउटाले अर्कोको निम्ति एकै किसिमको वास्ता राखून्‌।”—१ कोरि. १२:२५.

१. पहिलो चोटि आध्यात्मिक प्रमोदवनमा प्रवेश गर्दा तपाईंलाई कस्तो लागेको थियो?

 हामी दुष्ट संसारबाट अलग भई यहोवाका जनहरूसित संगत गर्न थाल्दा तिनीहरूमाझ भएको न्यानो प्रेम र चासोको अनुभव गर्न पाउँदा रमाएका थियौं होला। शैतानको अधीनमा रहेको रुखो, अरूप्रति द्वेष राख्ने र झगडालु मानिसहरूभन्दा कत्ति फरक! हामी शान्ति र एकता छाएको आध्यात्मिक प्रमोदवनमा प्रवेश गऱ्‍यौं।—यशै. ४८:१७, १८; ६०:१८; ६५:२५.

२. (क) केले अरूप्रतिको हाम्रो दृष्टिकोणलाई असर गर्न सक्छ? (ख) हामीले के गर्नुपर्ने हुन सक्छ?

तथापि, समय बित्दै जाँदा हामी भाइहरूलाई टेढो नजरले हेर्ने हुन सक्छौं। असिद्धताले गर्दा, भाइहरूका असल गुणहरूमा ध्यान दिनुको सट्टा तीललाई पहाड बनाउँदै तिनीहरूको गल्तीलाई ठूलो गरेर हेर्ने झुकाव हामीमा हुन सक्छ। सरल शब्दमा भन्‍ने हो भने, हामी तिनीहरूलाई यहोवाले झैं हेर्न बिर्सन्छौं। यस्तो गर्दैछौं भने, आफ्नो दृष्टिकोणलाई अहिले नै केलाएर हेर्नुपर्छ र यहोवाको स्पष्ट दृष्टिकोणअनुरूप आफ्नो दृष्टिकोणलाई ढाल्नुपर्छ।—प्रस्थ. ३३:१३.

यहोवा हाम्रा भाइहरूलाई कसरी हेर्नुहुन्छ

३. बाइबलमा मसीही मण्डलीलाई केसित तुलना गरिएको छ?

पहिलो कोरिन्थी १२:२-२६ मा प्रेरित पावलले अभिषिक्‍त मसीहीहरूको मण्डलीलाई “धेरै अंगहरू” भएको एउटा शरीरसित तुलना गरेका छन्‌। जसरी शरीरका अंगहरू फरक-फरक छन्‌ त्यसरी नै मण्डलीका सदस्यहरू पनि तिनीहरूको व्यक्‍तित्व र योग्यतामा निकै फरक-फरक छन्‌। तैपनि यहोवा यो विविधतालाई स्वीकार्नुहुन्छ। उहाँ प्रत्येक सदस्यलाई माया गर्नुहुन्छ र तिनीहरूको मोल गर्नुहुन्छ। त्यसैले, मण्डलीका सदस्यहरूले “एउटाले अर्कोको निम्ति एकै किसिमको वास्ता राखून्‌” भनी पावल पनि हामीलाई सल्लाह दिन्छन्‌। तर अरूको व्यक्‍तित्व आफ्नो भन्दा फरक हुन सक्ने भएकोले यसो गर्नु सजिलो नहोला।

४. आफ्ना भाइहरूप्रतिको दृष्टिकोणमा हामीले छाँटकाँट गर्नुपर्ने हुन सक्छ, किन?

आफ्ना भाइहरूको कमजोरीमा ध्यान केन्द्रित गर्ने झुकाव समेत हाम्रो हुन सक्छ। वास्तवमा त्यसो गर्नु भनेको त हामीले एउटा चित्रको सानो भागलाई मात्र हेर्नुसरह हो। तर यहोवाको दृष्टि फिंजिएको छ, उहाँ पूरा चित्र हेर्नुहुन्छ। आफूलाई मन नलागेको कुरामा मात्र ध्यान केन्द्रित गर्ने झुकाव हाम्रो हुन सक्छ तर यहोवाले मानिसको सबै असल गुणलगायत सिंगो व्यक्‍तिलाई नै हेर्नुहुन्छ। हामी जत्ति धेरै यहोवाको अनुकरण गर्ने प्रयास गर्छौं, मण्डलीको प्रेम र एकतामा त्यत्ति नै धेरै योगदान पुऱ्‍याउन सक्छौं।—एफि. ४:१-३; ५:१, २.

५. अरूको निसाफ गर्नु किन ठीक होइन?

अरूको निसाफ गर्ने झुकाव असिद्ध मानिसहरूमा अक्सर हुन्छ भनेर येशूलाई राम्ररी थाह थियो। त्यसैले, उहाँले यस्तो सल्लाह दिनुभयो: “अर्काको निसाफ नगर, र तिमीहरूको निसाफ नगरिओस्‌।” (मत्ती ७:१) याद गर्नुहोस्‌, मूल भाषामा हामीले हेऱ्‍यौं भने, येशूले “निसाफ नगर” मात्र भन्‍नुभएन तर “निसाफ गर्न बन्द गर” भन्‍नुभयो। आफ्ना श्रोतामध्ये धेरैमा अरूको निसाफ गर्ने बानी परिसकेको कुरा उहाँलाई थाह थियो। हामीमा पनि कतै त्यस्तै बानी परिसकेको छ कि? छ भने यो बानीलाई हटाउन मेहनत गर्नुपर्छ ताकि हाम्रो पनि निसाफ नहोस्‌। यहोवाले नियुक्‍त गर्नुभएको व्यक्‍तिको निसाफ गर्ने वा तिनी मण्डलीको भाग हुनु ठीक होइन भन्‍ने हामी को हौं र? कुनै भाइको केही कमीकमजोरी होलान्‌ तर यहोवाले तिनलाई स्वीकार्नुहुन्छ भने हामीले तिनलाई तिरस्कार गर्नु के ठीक होला त? (यूह. ६:४४) यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याइरहनुभएको छ र कुनै परिवर्तनको आवश्‍यक परेमा उहाँले आफ्नै समयमा त्यो गर्नुहुनेछ भनी के हामी साँच्चै विश्‍वास गर्छौं?—रोमी १४:१-४ पढ्‌नुहोस्‌।

६. यहोवा आफ्ना जनहरूलाई कसरी हेर्नुहुन्छ?

यहोवाबारे एउटा एकदमै उल्लेखनीय कुरा भनेको प्रत्येक मसीहीले नयाँ संसारमा सिद्धता हासिल गरेपछि उसमा के गर्ने योग्यता हुन्छ भनेर उहाँ थाह पाउन सक्नुहुन्छ। तिनीहरूले के-कस्तो आध्यात्मिक प्रगति गरेका छन्‌, त्यो पनि उहाँलाई थाह छ। तसर्थ, उहाँलाई तिनीहरूको एउटा-एउटा कमजोरीमा ध्यान दिनु खाँचो छैन। भजन १०३:१२ मा हामी यस्तो लेखिएको पाउँछौं: “पश्‍चिमबाट पूर्व जत्ति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिनै टाढा हटाइदिनुभएको छ।” त्यसको लागि हामी व्यक्‍तिगत रूपमा कत्ति आभारी छौं!—भज. १३०:३.

७. दाऊदप्रतिको यहोवाको दृष्टिकोणबाट हामी के सिक्न सक्छौं?

मानिसको असल गुणहरूमा ध्यान केन्द्रित गर्न सक्ने उल्लेखनीय योग्यता यहोवामा छ भन्‍ने प्रमाण हामी बाइबलमा पाउँछौं। यहोवाले दाऊदबारे यसो भन्‍नुभयो: “मेरो दृष्टिमा जे असल छ त्यही गर्दै मेरा आज्ञा पालन गर्ने र आफ्नो सारा हृदयले मलाई पछ्याउने मेरो दास।” (१ राजा १४:८) हामीलाई थाह छ कि दाऊदले केही गल्ती गरे। तैपनि यहोवाले तिनका असल गुणहरूमा ध्यान केन्द्रित गर्ने छनौट गर्नुभयो किनभने दाऊदको हृदय राम्रो छ भनेर उहाँलाई थाह थियो।—१ इति. २९:१७.

भाइहरूलाई यहोवाले झैं हेर्नुहोस्‌

८, ९. (क) हामी कुन तरिकामा यहोवा जस्तै हुन सक्छौं? (ख) यसलाई दृष्टान्तद्वारा कसरी बताउन सकिन्छ अनि हामी कस्तो पाठ सिक्न सक्छौं?

यहोवा हृदय पढ्‌न सक्नुहुन्छ तर हामी सक्दैनौं। अरूको निसाफ गर्न नहुने यही नै एउटा असल कारण हो। हामीलाई अरू मानिसको मनभित्र के-के छ सबै थाह हुँदैन। अन्ततः हराएर जाने मानव असिद्धतामा आफ्नो ध्यान केन्द्रित नगरी हामीले यहोवाको अनुकरण गर्ने कोसिस गर्नुपर्छ। यस क्षेत्रमा उहाँ जस्तै हुने प्रयास गर्नु के एउटा राम्रो लक्ष्य होइन र? यसो गर्दा भाइबहिनीबीच शान्तिमय सम्बन्ध कायम राख्न धेरै योगदान पुऱ्‍याइरहेका हुन्छौं।—एफि. ४:२३, २४.

उदाहरणस्वरूप, एउटा थोत्रो घरलाई लिनुहोस्‌। छतबाट पानी बग्ने पाइप खस्नै लागेको छ, झ्यालका सिसाहरू फुटेका छन्‌ र पानी चुहिने भएको छ। यो घर हेरेर धेरैजसो मानिसहरू यस्तो निष्कर्षमा पुग्न सक्छन्‌: हेर्दै विरक्‍तलाग्दो, यसलाई भत्काउनुपर्छ। तर बिलकुलै फरक दृष्टिकोण भएको एक व्यक्‍ति आउँछन्‌। तिनको ध्यान बाहिरी समस्यामा मात्र हुँदैन, तिनले घरको बनावट बलियो भएको र मर्मत-सम्भार गर्न सकिने कुरा देख्न सक्छन्‌। तिनले घर किन्छन्‌, मर्मत-सम्भार गर्छन्‌ र घरको रूप पनि राम्रो बनाउँछन्‌। त्यसपछि त्यहाँबाट ओहोरदोहोर गर्ने मानिसहरूले ‘आहा! कत्ति राम्रो घर’ भन्छन्‌। के हामी यी मानिसजस्तै हुन सक्छौं जसले घरको मर्मत-सम्भार गर्न मेहनत गरे? हाम्रा भाइहरूको बाहिरी कमीकमजोरीमा ध्यान केन्द्रित गर्नुको सट्टा के हामी तिनीहरूका असल गुणहरू र तिनीहरूमा भएको थप आध्यात्मिक उन्‍नतिको सम्भाव्यतालाई हेर्न सक्छौं? त्यसो गऱ्‍यौं भने यहोवाले जस्तै हामीले आफ्ना भाइहरूका असल गुणहरू हेरेर तिनीहरूलाई माया गरिरहेका हुनेछौं।हिब्रू ६:१० पढ्‌नुहोस्‌।

१०. फिलिप्पी २:३, ४ को सल्लाहले हामीलाई कसरी मदत गर्न सक्छ?

१० मण्डलीमा सबैसित राम्रो सम्बन्ध कायम राख्न मदत गर्न सक्ने केही सल्लाह प्रेरित पावलले दिए। तिनले मसीहीहरूलाई यस्तो कडा सुझाव दिए: “विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर, आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।” (फिलि. २:३, ४) अरूप्रति उचित दृष्टिकोण राख्न नम्रताले मदत गर्छ। अरूप्रति व्यक्‍तिगत चासो देखाउँदा र तिनीहरूमा असल गुण भेट्टाउने कोसिस गर्दा तिनीहरूलाई यहोवाले झैं हेर्न मदत पाउनेछौं।

११. कतिपय मण्डली कस्तो परिवर्तनले प्रभावित भएको छ?

११ हालका वर्षहरूमा संसारभरि भइरहेका परिवर्तनको कारण बसाइँ सर्ने लहड नै चलेको छ। आजभोलि केही सहरहरूमा विभिन्‍न देशका मानिसहरू ओइरिएका छन्‌। हाम्रो इलाकामा बसाइँ सरेका कोही-कोही नयाँ मानिसले बाइबल सत्यप्रति चासो देखाएका छन्‌ र हामीसँगै यहोवाको उपासना गर्न थालेका छन्‌। यिनीहरू “सबै कुलको र मानिसको, र भाषा भाषाहरूको” हुन्‌। (प्रका. ७:९) परिणामस्वरूप, धेरै वटा मण्डली संसारका विभिन्‍न ठाउँबाट आएका मानिसहरू मिलेर बनेको छ।

१२. एकअर्काप्रति हामीले कस्तो दृष्टिकोण कायम राख्नुपर्छ र यो कहिलेकाहीं किन चुनौतीपूर्ण हुन सक्छ?

१२ हाम्रो मण्डलीमा पनि एकअर्काप्रति सही दृष्टिकोण कायम राख्न हामीले अझ बढी ध्यान दिनुपर्ने हुन सक्छ। यसको लागि हामीले “भाइप्रति निष्कपट प्रेम” गर र “एउटाले अर्कोलाई हृदयले प्रगाढ प्रेम गर” भन्‍ने प्रेरित पावलको सल्लाहलाई मनमा राख्नुपर्छ। (१ पत्रु. १:२२) संसारको विभिन्‍न ठाउँबाट आएका मानिसहरू मिलेर बनेको मण्डलीमा साँचो प्रेम र स्नेह देखाउनु चुनौतीपूर्ण हुन सक्छ। हाम्रा सँगी विश्‍वासीहरूको संस्कृति अनि तिनीहरूको शैक्षिक, आर्थिक र जातीय पृष्ठभूमि हाम्रोभन्दा एकदमै भिन्‍न हुन सक्छ। के तपाईंलाई कसै-कसैको सोचाइ वा प्रतिक्रिया बुझ्न गाह्रो लाग्छ? तिनीहरूलाई पनि तपाईंबारे त्यस्तै लाग्न सक्छ। जेहोस्‌, हामी सबैलाई यस्तो निर्देशन दिइएको छ: “[“सबै,” NW] भाइ-बन्धुहरूलाई प्रेम गर।”—१ पत्रु. २:१७.

१३. हामीले आफ्नो सोचाइमा कस्तो परिवर्तन गर्नुपर्ने हुन सक्छ?

१३ ठूला मनका भएर सबै भाइहरूलाई प्रेम गर्नका लागि हामीले आफ्नो सोचाइमा केही छाँटकाँट गर्नुपर्ने हुन सक्छ। (२ कोरिन्थी ६:१२, १३ पढ्‌नुहोस्‌।) के हामीले आफूलाई कहिल्यै यसो भनिरहेको पाउँछौं, “म त पूर्वाग्रही छैन। तर. . . ” त्यसपछि भने कुनै खास जातीय समूहमा सामान्यतया देखिने नकारात्मक कुराहरूबारे कुरा गरिरहेका हुन्छौं कि? यस्ता भावनाबाट के स्पष्ट हुन्छ भने हाम्रो भित्री मनमा पूर्वाग्रहका भावनाहरू अझै छन्‌ र त्यसलाई हटाउनुपर्छ। हामीले आफैलाई यस्तो प्रश्‍न गर्न सक्छौं, ‘के म आफ्नो भन्दा भिन्‍न संस्कृतिबाट आएका मानिसहरूलाई चिन्‍न सधैं अग्रसर हुन्छु?’ यसरी आफूलाई केलाएर हेऱ्‍यौं भने हाम्रो अन्तरराष्ट्रिय भाइचारालाई स्वीकार्न र यसको मोल गर्न मदत पाउन सक्छौं।

१४, १५. (क) अरू मानिसप्रतिको आफ्नो सोचाइमा छाँटकाँट गरेकाहरूको उदाहरण दिनुहोस्‌। (ख) हामी कसरी तिनीहरूको अनुकरण गर्न सक्छौं?

१४ आफ्नो सोचाइमा परिवर्तन ल्याएका व्यक्‍तिहरूको राम्रो उदाहरण हामी बाइबलमा पाउँछौं। तीमध्ये एक जना प्रेरित पत्रुस हुन्‌। यहूदी भएको नाताले तिनी अन्यजातिहरूको घरमा जाँदैन थिए। त्यसैले खतना नगरेको अन्यजाति कर्नीलियसको घरमा जान तिनलाई अह्राइँदा तिनलाई कस्तो भयो होला, सोच्नुहोस्‌ त! हरेक जातिका मानिस मसीही मण्डलीको भाग होस्‌ भन्‍ने परमेश्‍वरको इच्छा छ भनी बुझ्दै पत्रुसले आफ्नो सोचाइमा परिवर्तन ल्याए। (प्रेरि. १०:९-३५) पछि प्रेरित पावल बनेका शावलले पनि आफूलाई परिवर्तन गरेर पूर्वाग्रहको भावना हटाउनुपऱ्‍यो। तिनले मसीहीहरूलाई यति साह्रो घृणा गर्थे कि “मैले परमेश्‍वरको मण्डलीलाई खेदो गरी त्यसको संहार गरें” भनी पावल आफैले स्वीकारे। तैपनि प्रभु येशूले पावललाई सच्याउँदा तिनले ठूलो परिवर्तन गरे र आफूले पहिला सताउने गरेका मानिसहरूबाट पाएको निर्देशन समेत स्वीकार्न थाले।—गला. १:१३-२०.

१५ यहोवाको आत्माको मदतले हामी आफ्नो मनोवृत्तिमा परिवर्तन ल्याउन सक्छौं भन्‍ने कुरामा कुनै शंका छैन। हामीमा पूर्वाग्रहको तुस अझै बाँकी छ भने त्यसलाई हटाउने प्रयास गरौं र “आत्माको एकता राख्नलाई शान्तिको बन्धनमा परिश्रम” गरौं। (एफि. ४:३-६) बाइबल हामीलाई “प्रेम धारण गर” भनी प्रोत्साहन दिन्छ किनभने यो “सिद्धताको गाँठो हो।”—कल. ३:१४.

सेवकाईमा यहोवाको अनुकरण गर्ने

१६. मानिसहरूको सन्दर्भमा परमेश्‍वरको इच्छा के छ?

१६ “परमेश्‍वरमा पक्षपात छैन” भनी प्रेरित पावलले लेखे। (रोमी २:११) सबै राष्ट्रका मानिसले उहाँको उपासना गरून्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य हो। (१ तिमोथी २:३, ४ पढ्‌नुहोस्‌।) त्यसैले उहाँले “अनन्त सुसमाचार” “हरेक जाति, कुल, भाषा र मानिसहरूलाई” घोषणा गर्ने प्रबन्ध मिलाउनुभएको छ। (प्रका. १४:६) येशूले भन्‍नुभयो: “खेत संसार हो।” (मत्ती १३:३८) यसले तपाईं अनि तपाईंको परिवारको लागि कस्तो अर्थ राख्छ?

१७. हामी सबै किसिमका मानिसहरूलाई कसरी मदत गर्न सक्छौं?

१७ राज्य सन्देश सुनाउन सबै जना संसारको कुना-कुनासम्म जान सक्दैनन्‌। तर संसारको विभिन्‍न ठाउँबाट हाम्रो इलाकामा आएका मानिसहरूलाई हामी यो सन्देश सुनाउन सक्छौं। हामीले वर्षौंदेखि प्रचार गर्दै आएका मानिसहरूलाई मात्र नभई सबै मानिसहरूलाई प्रचार गर्ने मौकाको के हामी फाइदा उठाउँछौं? अहिलेसम्म विस्तृत साक्षी नपाएका मानिसहरूलाई प्रचार गर्नको लागि अग्रसर हुने संकल्प किन नगर्ने?—रोमी १५:२०, २१.

१८. येशूले मानिसहरूप्रति कस्तो चासो देखाउनुभयो?

१८ मदतको खाँचो सबैलाई छ भनेर येशूले राम्ररी बुझ्नुभएको थियो। उहाँले एउटा इलाकामा मात्र प्रचार गर्नुभएन। एउटा बाइबल विवरणले बताएअनुसार येशू “सब शहरहरू र गाउँहरूतिर” जानुभयो। अनि “भीडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो” र तिनीहरूलाई मदत चाहिएको कुरा व्यक्‍त गर्नुभयो।—मत्ती ९:३५-३७.

१९, २०. सबै मानिसप्रति यहोवा अनि येशूले देखाएको जस्तै चासो हामीले पनि देखाउन सक्ने केही तरिका के-के हुन्‌?

१९ तपाईंले पनि त्यस्तै मनोवृत्ति देखाउन सक्ने केही तरिका के हुन्‌? कसै-कसैले, आफ्नो इलाकाका दोहोऱ्‍याइ-तेहऱ्‍याइ प्रचार नगरिएको ठाउँहरूमा प्रचार गर्ने जमर्को गरेका छन्‌। जस्तै: व्यापारिक इलाका, पार्क, बस-पार्क वा सजिलै जान नसकिने घरहरूको अगाडिपट्टि। अरू कतिपयले चाहिं आफ्नो इलाकामा बस्ने कुनै जातका मानिसहरूलाई प्रचार गर्न नयाँ भाषा सिक्ने वा पहिला-पहिला त्यति धेरै प्रचार नगरिएको समूहलाई प्रचार गर्ने प्रयास गरेका छन्‌। तिनीहरूलाई तिनीहरूकै भाषामा अभिवादन गर्दा तिनीहरूप्रति तपाईं निकै चासो राख्नुहुन्छ भन्‍ने कुरा देखिन्छ। नयाँ भाषा सिक्ने स्थितिमा हामी छैनौं भने भाषा सिकिरहेकाहरूलाई के हामी प्रोत्साहन दिन सक्छौं? अरू देशका मानिसहरूलाई प्रचार गर्न किन त्यत्तिको प्रयास गर्नुपऱ्‍यो र, भनी हामी प्रश्‍न उठाउने गर्दैनौं वा नकारात्मक हुँदैनौं। परमेश्‍वरको नजरमा सबैको जीवन अमूल्य छ र हामी पनि त्यस्तै दृष्टिकोण राख्न चाहन्छौं।—कल. ३:१०, ११.

२० मानिसहरूलाई परमेश्‍वरले झैं हेर्नुको अर्थ सबैलाई प्रचार गर्नु पनि हो, चाहे तिनीहरूको परिस्थिति जस्तोसुकै किन नहोस्‌। कोही-कोही घरबारबिहीन हुन सक्छन्‌ भने कोहीचाहिं हेर्दै फोहोरी र जिङ्‌ग्रिङ्‌ङ देखिने वा अनैतिक जीवन बिताइरहेको स्पष्टै हुन सक्छ। कुनै व्यक्‍तिविशेषले हामीसित नराम्रो व्यवहार गर्दैमा तिनको देश वा जातप्रति नै नकारात्मक दृष्टिकोण राख्ने गर्नुहुँदैन। पावललाई कसै-कसैले नराम्रो व्यवहार गरे तर त्यसो भन्दैमा तिनी त्यस पृष्ठभूमिका मानिसलाई प्रचार गर्नदेखि पछि हटेनन्‌। (प्रेरि. १४:५-७, १९-२२) कसै-कसैले सकारात्मक प्रतिक्रिया देखाउने छन्‌ भन्‍ने तिनको विश्‍वास थियो।

२१. अरू मानिसलाई यहोवाले झैं हेर्दा तपाईंले कसरी मदत पाउन सक्नुहुन्छ?

२१ स्थानीय भाइबहिनी, अन्तरराष्ट्रिय भाइचारा र क्षेत्रमा भेट्‌ने मानिसहरूप्रति उचित दृष्टिकोण अर्थात्‌ यहोवाको दृष्टिकोण राख्नुपर्छ भन्‍ने कुरा अहिले जत्तिको छर्लंग पहिला कहिल्यै भएको थिएन। हामी जत्ति राम्ररी यहोवाको दृष्टिकोण झल्काउँछौं शान्ति र एकतामा त्यति नै प्रभाव पारिरहेका हुन्छौं। अनि यसो गऱ्‍यौं भने कसैलाई पनि ‘विशेष निगाह नदेखाउनुहुने’ तर ‘आफूले सृष्टि गरेका’ सबैप्रति मायालु चासो देखाउनुहुने परमेश्‍वर यहोवाबारे अरूलाई अझ राम्ररी बुझाउन सक्नेछौं।—अय्यू. ३४:१९. (w 08 3/15)

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• भाइहरूप्रति कस्तो दृष्टिकोण राख्नदेखि हामी जोगिनुपर्छ?

• भाइहरूप्रतिको दृष्टिकोणमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?

• अन्तरराष्ट्रिय भाइचाराप्रति हाम्रो दृष्टिकोणबारे तपाईंले के पाठ सिक्नुभयो?

• सेवकाईमा भाग लिंदा मानिसहरूप्रतिको दृष्टिकोणमा कसरी यहोवाको अनुकरण गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २८-मा भएको चित्र]

अरू संस्कृतिका मानिसहरूलाई तपाईं कसरी चिन्‍न सक्नुहुन्छ?