जीवनको उद्देश्य के हो?
जीवनको उद्देश्य के हो?
यसको जवाफ किन पाउने? जीवनको कुनै अर्थ र उद्देश्य छैन भन्ने विचारले भन्दा बढी चोट मानिसलाई अरू कुन कुराले देला र! तर अर्कोतर्फ, जीवनमा स्पष्ट उद्देश्य भएका मानिसको आत्मबल बलियो हुन्छ। नाजी नरसंहारबाट बचेका नशाको डाक्टर भिक्टर ई. फ्रान्कलले यस्तो लेखे: “आफ्नो जीवनको अर्थ छ भन्ने ज्ञानले मानिसलाई कठिनभन्दा कठिन परिस्थितिको सामना गर्ने बल दिन्छ। यस्तो बल अरू कुनै कुराले दिन सक्दैन भनेर म ठोकुवा गर्न सक्छु।”
तथापि, यस विषयमा मानिसहरूको धारणा बेग्ला-बेग्लै र बाझिने खालको छ। कतिपय मानिसहरू जीवनको उद्देश्य के हो भनेर निधो गर्ने काम व्यक्ति स्वयम्को हो भन्ने सोचाइ राख्छन्। त्यसको विपरीत, क्रमविकासमा आस्था राख्नेहरूचाहिं जीवनको खासै उद्देश्य छैन भनेर सिकाउँछन्।
जेहोस्, जीवनको उद्देश्य बुझ्ने सबैभन्दा मनासिब तरिकाचाहिं जीवनदाता अर्थात् यहोवा परमेश्वरबाटै जवाफ खोज्नु हो। यस विषयमा उहाँको वचन बाइबल के भन्छ, विचार गर्नुहोस्।
बाइबल के भन्छ
प्रथम मानव जोडीलाई सृष्टि गर्नुमा यहोवा परमेश्वरको खास उद्देश्य थियो भनी बाइबल हामीलाई सिकाउँछ। हाम्रा प्रथम आमाबाबुलाई यहोवाले यस्तो आज्ञा दिनुभयो:
उत्पत्ति १:२८. “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
आदम र हव्वा तथा तिनीहरूका सन्तानले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाऊन् भन्ने परमेश्वरको उद्देश्य थियो। मानिसहरू बूढा-बूढी होऊन् र मरून् भन्ने उद्देश्य उहाँको थिएन। न त मानिसले वातावरणमा हानि पुऱ्याऊन् भन्ने नै उहाँ चाहनुहुन्थ्यो। तथापि, हाम्रा प्रथम आमाबाबुले सही छनौट गर्न नसक्दा हामीले जन्मजातै पाप र मृत्यु कमायौं। (उत्पत्ति ३:२-६; रोमी ५:१२) तैपनि, यहोवाको उद्देश्यमा कुनै परिवर्तन भएको छैन। चाँडै नै यो पृथ्वी सुन्दर बगैंचामा परिणत हुनेछ।—यशैया ५५:१०, ११.
यहोवाले हामीलाई उहाँको उद्देश्य पूरा गर्न सक्ने शारीरिक र बौद्धिक क्षमतासहित सृष्टि गर्नुभयो। उहाँबाट स्वतन्त्र भएर जीवन बिताउन सृष्टि गर्नुभएको चाहिं होइन। हाम्रो लागि परमेश्वरको उद्देश्य बाइबलमा कसरी वर्णन गरिएको छ, ध्यान दिनुहोस्।
उपदेशक १२:१३. “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्। परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”
मीका ६:८. “परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्वरसित नम्र भएर हिंड्नू।”
मत्ती २२:३७-३९. “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। प्रमुख र प्रथम आज्ञा यही हो। दोस्रोचाहिं त्यही जस्तो हो, तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।”
बाइबलको जवाफले कसरी साँचो मनोशान्ति दिन्छ
कुनै पनि जटिल मेसिन राम्रोसँग चल्नको लागि बनाउनेवालाले जुन उद्देश्यले बनाएको हो र जुन तरिकामा चलाउनु भनेको छ, त्यसलाई त्यही उद्देश्यअनुरूप र त्यही तरिकामा नै चलाउनुपर्छ। त्यसैगरि हामीले आफूलाई आध्यात्मिक, मानसिक वा भावनात्मक हानिदेखि जोगाउने हो
भने सृष्टिकर्ताले हामीलाई जुन उद्देश्यले बनाउनुभएको हो, त्यसैअनुसार जीवन बिताउनुपर्छ। परमेश्वरको उद्देश्य थाह पाउँदा निम्न क्षेत्रहरूमा कसरी मनोशान्ति मिल्छ विचार गर्नुहोस्:प्राथमिकताहरू तय गर्दा धेरैले धन-दौलत जम्मा गर्नमा नै आफ्नो जीवन बिताउँछन्। तथापि, “धनी हुने इच्छा गर्ने चाहिं, . . . परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्” भनी बाइबल चेतावनी दिन्छ।—१ तिमोथी ६:९, १०.
अर्कोतर्फ, पैसालाई नभई परमेश्वरलाई प्रेम गर्न सिक्नेहरूले चाहिं सन्तुष्ट हुने कारण पाउँछन्। (१ तिमोथी ६:७, ८) तिनीहरूले कडा परिश्रम गर्नुको महत्त्व बुझ्छन् र शारीरिक आवश्यकता पूरा गर्ने जिम्मेवारी पनि आफ्नै हो भनेर थाह पाउँछन्। (एफिसी ४:२८) तर तिनीहरू येशूको यो चेतावनीलाई पनि गम्भीरतासाथ लिन्छन्: “कसैले दुई मालिकको चाकरी गर्नसक्तैन। किनभने त्यसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित टाँसिनेछ, र अर्कोलाई त्यसले तुच्छ गन्नेछ। तिमीहरूले परमेश्वर र धन दुवैको चाकरी गर्नसक्तैनौ।”—मत्ती ६:२४.
त्यसकारण, पेशालाई वा धनको पछि लाग्नुलाई प्रथम स्थानमा राख्नुको साटो परमेश्वरलाई प्रेम गर्नेहरूले उहाँको इच्छा गर्नुलाई जीवनमा मुख्य चासोको विषय बनाउँछन्। तिनीहरूलाई थाह छ कि यदि तिनीहरूले परमेश्वरको इच्छाको सेरोफेरोमा रहेर जीवन बिताए भने यहोवा परमेश्वरले तिनीहरूको हेरविचार गर्नुहुनेछ। साँच्चै भन्ने हो भने, यसो गर्नुलाई यहोवा आफ्नो दायित्व ठान्नुहुन्छ।—मत्ती ६:२५-३३.
मानिसहरूसित व्यवहार गर्दा धेरैले पहिला आफ्नै हित हेर्छन्। आज संसारमा घोर अशान्ति छाएको छ किनभने थुप्रै मानिस “स्वार्थी, . . . स्वाभाविक प्रेम रहितका” भएका छन्। (२ तिमोथी ३:२, ३) कसैले निराश पार्दा वा आफ्नो धारणासँग कोही असहमत हुँदा तिनीहरू “क्रोध, रीस, होहल्ला, निन्दा”-लाई ठाउँ दिन्छन्। (एफिसी ४:३१) यसरी संयम नदेखाउँदा मनोशान्ति ल्याउने कुरा त परै जाओस् उल्टो “झगडा उठाउँछ।”—हितोपदेश १५:१८.
त्यसको विपरीत, छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्न परमेश्वरले दिएको आज्ञा पालन गर्नेहरूचाहिं ‘एक-अर्कालाई क्षमा गर्ने, एक अर्कोप्रति कोमल मनको र दयालु’ हुन्छन्। (एफिसी ४:३२; कलस्सी ३:१३) अरूले आफूलाई दयालु व्यवहार नगर्दा समेत तिनीहरू येशूको अनुकरण गर्ने प्रयास गर्छन्। उहाँले “गाली खाएर आफूले फेरि गाली गर्नुभएन।” (१ पत्रुस २:२३) आफूले गरेको कामप्रति अरूले कृतज्ञता नदेखाए पनि येशू जस्तै, तिनीहरू अरूको सेवा गर्दा साँचो सन्तुष्टि मिल्छ भन्ने कुरा मनमा राख्छन्। (मत्ती २०:२५-२८; यूहन्ना १३:१४, १५; प्रेरित २०:३५) आफ्नो पुत्रको अनुकरण गर्नेहरूलाई यहोवा पवित्र आत्मा दिनुहुन्छ र यो आत्माले तिनीहरूको जीवनमा असली शान्ति पैदा गर्छ।—गलाती ५:२२.
तर, तपाईंको मनोशान्तिलाई भविष्यप्रतिको तपाईंको दृष्टिकोणले कसरी असर गर्छ? (w08 2/1)
[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]
मानिसको जीवनमा स्पष्ट उद्देश्य हुनुपर्छ
[पृष्ठ ७-मा भएको चित्र]
मनोशान्ति कसरी पाउने भनी येशूले हामीलाई सिकाउनुभएको छ