सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरूमा ज्ञानी र समझदार” को छ?

“तिमीहरूमा ज्ञानी र समझदार” को छ?

“तिमीहरूमा ज्ञानी र समझदार” को छ?

“तिमीहरूमा ज्ञानी र समझदार जो छ त्यसैले ज्ञानको नम्रतासित आफ्नो काम बढिया चालचलनबाट देखाओस्‌।”—याकू. ३:१३.

१, २. बुद्धिमान्‌ कहलिएका थुप्रै व्यक्‍तिबारे के भन्‍न सकिन्छ?

 तपाईंलाई साँच्चै ज्ञानी अर्थात्‌ बुद्धिमान्‌ व्यक्‍ति को हो जस्तो लाग्छ? सायद तपाईंका आमाबाबु, कुनै पाको व्यक्‍ति वा कलेजका प्राध्यापक हो कि? बुद्धिमान्‌ व्यक्‍ति को हो भन्‍नेबारे तपाईंको दृष्टिकोणलाई तपाईंको पृष्ठभूमि र परिस्थितिले प्रभाव पारेको हुन सक्छ। तर यस सन्दर्भमा परमेश्‍वरका सेवकहरूचाहिं मुख्यतया उहाँको दृष्टिकोणमा ध्यान दिन्छन्‌।

संसारमा बुद्धिमान्‌ कहलिएका सबै व्यक्‍ति परमेश्‍वरको दृष्टिमा साँच्चै बुद्धिमान्‌ हुँदैनन्‌। उदाहरणको लागि, आफूले बुद्धिमानी कुरा गरें भन्ठान्‍नेहरूसित अय्यूबले कुरा गरे तर उनी यस्तो निष्कर्षमा पुगे: “तिमीहरूका बीचमा ता म एउटै बुद्धिमानी मानिस पाउँदिन।” (अय्यू. १७:१०) परमेश्‍वरको ज्ञानलाई नकार्नेहरूबारे प्रेरित पावलले यस्तो लेखे: “बुद्धिमान छु भनेर तिनीहरू मूर्ख भए।” (रोमी १:२२) अनि अगमवक्‍ता यशैया मार्फत यहोवा स्वयम्‌ले सीधै यसो भन्‍नुभयो: “धिक्कार तिनीहरूलाई, जो आफ्नै दृष्टिमा . . . बुद्धिमान्‌ छन्‌!”—यशै. ५:२१.

३, ४. कुन कुराले साँच्चै बुद्धिमान्‌ बनाउँछ?

कुरा स्पष्ट छ, कुन कुराले मानिसलाई साँच्चै बुद्धिमान्‌ बनाउँछ र जसले गर्दा परमेश्‍वरको अनुमोदन पाइन्छ, हामीले निधो गर्नुपर्छ। हितोपदेश ९:१० ले हामीलाई यस्तो अन्तरदृष्टि दिन्छ: “परमप्रभुको डर मान्‍नु बुद्धिको प्रथम खुड्‌किलो हो, परमपवित्रको ज्ञाननै समझशक्‍ति हो।” बुद्धिमान्‌ व्यक्‍तिले परमेश्‍वरको उचित भय राख्नै पर्छ र उहाँका स्तरहरूको कदर गर्नै पर्छ। तर परमेश्‍वरको अस्तित्व छ र उहाँका स्तरहरू छन्‌ भनी स्वीकार्नु मात्र त पर्याप्त छैन। यसबारे चेला याकूब हाम्रो सोचाइलाई झकझकाउँछन्‌। (याकूब ३:१३ पढ्‌नुहोस्‌।) यस अभिव्यक्‍तिलाई याद गर्नुहोस्‌: “आफ्नो काम बढिया चालचलनबाट देखाओस्‌।” साँचो बुद्धि दिनहुँ तपाईंको बोली र काममा देखिनुपर्छ।

साँचो बुद्धिमा उचित निर्णय गर्नु अनि ज्ञान र समझलाई सही तरिकामा प्रयोग गर्नु समावेश छ। यस्तो बुद्धि हामीसित छ भनेर के-कस्ता कार्यले देखाउँछ? याकूबले बुद्धिमान्‌ व्यक्‍तिहरूको काममा स्पष्ट देखिने कुराहरूको सूची दिएका छन्‌। a सँगी विश्‍वासीहरूका साथै मण्डली बाहिरका व्यक्‍तिहरूसित राम्रो सम्बन्ध कायम राख्न मदत दिन सक्ने कुन कुरा तिनले बताए?

साँच्चै बुद्धिमान्‌ हो कि होइन, कार्यले चिनाउँछ

५. साँच्चै बुद्धिमान्‌ व्यक्‍तिले आफ्नो चालचलन कस्तो बनाउँछ?

याकूबले बुद्धिलाई असल चालचलनसित जोडेको कुरा यहाँ फेरि दोहोऱ्‍याउनु उपयुक्‍त हुन्छ। किनभने यहोवाको भय राख्नु बुद्धिको सुरुआत हो। त्यसैले, बुद्धिमान्‌ व्यक्‍तिले आफ्नो चालचलन परमेश्‍वरको तौरतरिका र स्तरअनुरूप बनाउने प्रयास गर्छ। हामीले ईश्‍वरीय बुद्धि जन्मजातै पाएका छैनौं। तैपनि, नियमित बाइबल अध्ययन र मननद्वारा हामी यसलाई प्राप्त गर्न सक्छौं। यसो गर्दा हामी एफिसी ५:१ को यो सल्लाह पालन गर्न मदत पाउनेछौं: “परमेश्‍वरका देखासिकी गर्नेहरू होओ।” हामी आफ्नो चालचलन जति धेरै यहोवाको तौरतरिकाअनुरूप बनाउँछौं, आफ्ना कामकुरोमा त्यति नै बढी बुद्धि देखाउन सक्नेछौं। यहोवाका तौरतरिकाहरू मानिसको भन्दा कता हो कता श्रेष्ठ छन्‌। (यशै. ५५:८, ९) तसर्थ, यहोवाको काम गर्ने तौरतरिकाको अनुकरण गर्दा हामीमा केही फरक कुरा रहेछ भनी मण्डली बाहिरका व्यक्‍तिहरूले देख्नेछन्‌।

६. कुनै व्यक्‍ति नम्र हुनु भनेको किन परमेश्‍वरको अनुकरण गर्नु हो र यस गुणमा के समावेश छ?

यहोवाजस्तै हुने एउटा तरिका बुद्धिको अर्थात्‌ “ज्ञानको नम्रता” प्राप्त गर्नु हो भनी याकूब बताउँछन्‌। नम्र हुनुमा भला हुनु समावेश भए तापनि त्यसको साथसाथै एक जना मसीहीले बाइबलको स्तर र सिद्धान्तअनुसार नैतिक श्रेष्ठता र दृढता प्राप्त गर्न सक्छन्‌ जसले तिनलाई सन्तुलित तरिकामा काम गर्न मदत दिन्छ। यहोवासित अथाह शक्‍ति भए तापनि उहाँ नम्र हुनुहुन्छ र हामीलाई उहाँसामु जान डर लाग्दैन। परमेश्‍वरका पुत्रले पिताको नम्रता हुबहु झल्काउनुभयो। त्यसैले उहाँले यसो भन्‍न सक्नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम [अर्थात्‌ “स्फूर्ति,” NW] दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।”—मत्ती ११:२८, २९; फिलि. २:५-८.

७. किन हामी मोशालाई नम्रताको असल उदाहरण मान्‍न सक्छौं?

नम्र वा विनयी हुने सन्दर्भमा उत्कृष्ट नमुना देखाउने अन्य व्यक्‍तिहरूबारे पनि बाइबल बताउँछ। तीमध्ये मोशा एक हुन्‌। तिनको काँधमा ठूलो जिम्मेवारी थियो। तैपनि तिनलाई “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति” भनिएको छ। (गन्ती ११:२९; १२:३) यहोवाले मोशालाई उहाँको इच्छा पूरा गर्न दिएको शक्‍तिलाई सम्झनुहोस्‌ त! आफ्नो उद्देश्‍य पूरा गर्न नम्र व्यक्‍तिहरूलाई चलाउँदा यहोवा खुसी हुनुहुन्थ्यो।

८. असिद्ध मानिसहरूले कसरी बुद्धिको अर्थात्‌ “ज्ञानको नम्रता” देखाउन सक्छन्‌?

कुरा स्पष्ट छ, असिद्ध मानिसहरूले बुद्धिको अर्थात्‌ “ज्ञानको नम्रता” देखाउन सक्छन्‌। हामी नि? यो गुण देखाउनमा हामी कसरी उन्‍नति गर्न सक्छौं? नम्रता यहोवाको पवित्र आत्माका फलहरूमध्ये एउटा हो। (गला. ५:२२, २३) नम्रता देखाउन यहोवाले मदत दिनुहुनेछ भनी भरोसा गर्दै पवित्र आत्माको लागि प्रार्थना गर्न सक्छौं र यसको फल देखाउन सजगतासाथ प्रयास गर्न सक्छौं। यसको लागि हामी भजनरचयिताको यस आश्‍वासनमा बलियो उत्प्रेरणा पाउँछौं: “नम्रहरूलाई [परमेश्‍वरले] आफ्नो मार्ग सिकाउनुहुनेछ।”—भज. २५:९.

९, १०. ईश्‍वरीय नम्रता देखाउन हामीले कस्तो प्रयास गर्नुपर्छ र किन?

तरैपनि, यस क्षेत्रमा उन्‍नति गर्न ठूलै प्रयास चाहिन सक्छ। आफ्नो पृष्ठभूमिको कारण हामीमध्ये कतिपयलाई नम्र हुन गाह्रो होला। त्यसबाहेक, हामी वरपरका मानिसहरूले “जस्तालाई त्यस्तै गर्नुपर्छ” भनी उक्साउँदै नम्र हुन प्रोत्साहन नदेलान्‌। तर के यो साँच्चै बुद्धिमानी कुरा हो र? जस्तै, तपाईंको घरमा आगो लाग्दा मट्टितेल खन्याउनुहुन्छ कि पानी? मट्टितेल खन्याउँदा त आगो झन्‌ दन्किन्छ तर पानी खन्याउँदा भने आगो निभ्न सक्छ। त्यस्तैगरि, बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।” (हितो. १५:१, १८) मण्डलीभित्र वा बाहिर, आफूलाई चित्त नबुझ्ने कुरा हुँदा नम्र तरिकामा प्रतिक्रिया देखाएर कसरी साँचो बुद्धि झल्काउन सक्छौं, के हामी याद गर्न सक्छौं?—२ तिमो. २:२४.

१० माथि बताइएझैं संसारको आत्माको प्रभावमा परेका थुप्रै मानिस सोझो, मिलापी र शान्त स्वभावका छैनन्‌। बरु हामी कठोर र घमन्डी मानिसहरू छ्यासछ्यास्ती पाउँछौं। याकूबलाई यो कुरा थाह थियो, र त मण्डलीका व्यक्‍तिहरू यस्तो आत्माको बहकाउमा नपरून्‌ भनी तिनले चेतावनीहरू दिए। तिनले दिएको सल्लाहबाट हामी थप के सिक्न सक्छौं?

मूर्खहरूले देखाउने दुर्गुणहरू

११. ईश्‍वरीय बुद्धिसित बाझिने दुर्गुणहरू के हुन्‌?

११ ईश्‍वरीय बुद्धिसित सीधै बाझिने दुर्गुणहरूबारे याकूबले खुलस्तसित लेखे। (याकूब ३:१४ पढ्‌नुहोस्‌।) इबी र विरोध शरीरका काम हुन्‌, आत्माका होइनन्‌। शारीरिक सोचाइ फस्टाउँदा के हुन्छ, विचार गर्नुहोस्‌। यरूशलेमस्थित होलि सेपुल्चर चर्च “क्रिश्‍चियन” भनौंदाहरूको छ वटा समूहको अधीनमा छ। यो चर्च येशूलाई मारिएको र गाडिएको ठाउँमा बनाइएको मानिन्छ। तिनीहरूबीच कहिल्यै नटुंगिने विवाद चलिरहेको छ। सन्‌ २००६ मा टाइम पत्रिकाले त्यहाँ सुरुमा घटेको एउटा घटनाबारे बतायो। यस पत्रिकाले बताएअनुसार त्यहाँका पादरीहरू “बडे-बडेमाका मैनबत्तीदानीहरूले एकअर्कालाई हिर्काउँदै . . . घण्टौंसम्म झगडा गरिरहे।” तिनीहरू एकअर्कालाई यतिबिघ्न भरोसा गर्न नसक्ने भए कि चर्चको साँचो एक जना मुसलमानलाई सुम्पिइएको छ।

१२. बुद्धिको कमी हुँदा के हुन सक्छ?

१२ यस्तो अचाक्ली विवाद अर्थात्‌ विरोध साँचो मसीही मण्डलीभित्र अवश्‍यै हुनु हुँदैन। तैपनि, असिद्धताको कारण कहिलेकाहीं कतिपयले आफ्नै दृष्टिकोणमा अडिग रहेर अटेरी मनोवृत्ति देखाएका छन्‌। त्यस्तो मनोवृत्तिले केही हदसम्म भएपनि झगडा र कलह उत्पन्‍न गराउन सक्छ। यो कुरा, प्रेरित पावलले कोरिन्थको मण्डलीमा देखे। त्यसैले तिनले लेखे: “जहाँसम्म तिमीहरूमा डाह र झगडा छँदैछ, के तिमीहरू शारीरिक र मानिसको चालमा चल्ने भएनौ र?” (१ कोरि. ३:३) प्रथम शताब्दीको त्यस मण्डलीमा त्यस्तो दुःखलाग्दो स्थिति केही समयसम्म रहिरह्‍यो। तसर्थ, त्यस्तो मनोवृत्ति आजको मसीही मण्डलीमा छिर्न नदिन हामी होसियार हुनुपर्छ।

१३, १४. शारीरिक मनोवृत्ति कसरी झल्किन सक्छ, उदाहरण दिनुहोस्‌।

१३ त्यस्तो मनोवृत्ति मण्डलीभित्र कसरी बिस्तारै छिर्न सक्छ? सुरुमा त यो चालै नपाउनेगरि सानो रूपमा छिर्न सक्छ। उदाहरणको लागि, राज्यभवन बनाउँदा कामकुरो यसरी गर्ने/उसरी गर्ने भन्‍ने विभिन्‍न धारणा आउन सक्छ। कुनै भाइको कुरा नमान्दा तिनले विरोध जनाउन सक्छन्‌, सायद त्यहाँ गरिएको निर्णयको तिनले कडा शब्दमा विरोध गर्लान्‌। अबउसो तिनी निर्माण काममा भाग लिन समेत नमान्लान्‌! यस्तो व्यक्‍तिले के बिर्सिरहेका हुन्छन्‌ भने, मण्डलीसम्बन्धी कुनै काम पूरा हुने कुरा कुनै खास तरिकामा भन्दा मण्डलीको शान्तिपूर्ण वातावरणमा बढी निर्भर हुन्छ। यहोवाले विरोधी मनोवृत्तिलाई होइन तर नम्र मनोवृत्तिलाई आशिष्‌ दिनुहुनेछ।—१ तिमो. ६:४, ५.

१४ अर्को उदाहरण यस्तो हुन सक्छ: धेरै वर्षदेखि सेवा गर्दै आएका एक प्राचीनले अहिले धर्मशास्त्रीय योग्यता पूरा नगरिरहेको कुरा मण्डलीका अरू प्राचीनहरूले याद गर्छन्‌। तिनलाई त्यसबारे सल्लाह पनि दिइएको छ तर तिनले आफूमा सुधार ल्याएका छैनन्‌। यस कुरालाई याद गर्दै, त्यस मण्डलीको भ्रमणमा रहेका क्षेत्रीय निरीक्षक त्यस प्राचीनलाई प्राचीनको जिम्मेवारीबाट हटाउन अन्य प्राचीनहरूले गरेको सिफारिससित सहमत हुन्छन्‌। उक्‍त प्राचीनले त्यो निर्णयलाई कसरी लिनेछन्‌? के तिनले विनयी र नम्र भई सबै प्राचीनहरूको सहमतिले गरेको निर्णय र धर्मशास्त्रीय सल्लाहलाई स्वीकार्नेछन्‌? अनि फेरि प्राचीन हुनको लागि धर्मशास्त्रीय योग्यताहरू पूरा गर्न अठोट गर्नेछन्‌? वा आफ्नो सुअवसर गुमेकोमा द्वेष र इबी राख्नेछन्‌? अरू प्राचीनले तिनी प्राचीन हुन योग्यका छैनन्‌ भन्दाभन्दै पनि तिनले किन योग्य छु भनी जिद्दी गर्ने र? विनयी र समझदार हुनु कत्ति बुद्धिमानी कुरा हो!

१५. याकूब ३:१५, १६ को प्रेरित सल्लाह एकदमै महत्त्वपूर्ण छ जस्तो तपाईंलाई किन लाग्छ?

१५ हो, अन्य परिस्थितिले गर्दा पनि यस्तो मनोवृत्ति आउन सक्छ। तर जस्तोसुकै परिस्थिति खडा भए तापनि त्यस्ता दुर्गुणहरूदेखि जोगिने प्रयास हामीले गर्नै पर्छ। (याकूब ३:१५, १६ पढ्‌नुहोस्‌।) चेला याकूबले त्यस्ता मनोवृत्तिलाई “सांसारिक” भने किनकि ती शारीरिक हुन्‌, माथिबाट आउने ज्ञान अर्थात्‌ बुद्धिमा आधारित होइनन्‌। ती मनोवृत्ति “स्वाभाविक [“पाशविक,” NW]” हुन्‌ किनभने ती यस्तो शारीरिक झुकावको फल हुन्‌, जुन झुकाव सोच्ने क्षमता नभएका पशुको जस्तै छ। त्यस्ता मनोवृत्ति “शैतानी” पनि हुन्‌ किनभने त्यसमा परमेश्‍वरको आत्मिक शत्रुहरूका दुर्गुणहरू झल्किन्छ। एक जना मसीहीले यी दुर्गुणहरू देखाउनु कत्ति नसुहाउँदो!

१६. हामीले कस्तो छाँटकाँट गर्नु आवश्‍यक पर्ला अनि हामी त्यो कसरी गर्न सक्छौं?

१६ मण्डलीका प्रत्येक सदस्यले आफूलाई राम्ररी जाँच्नुपर्छ र त्यस्ता दुर्गुण हटाउन प्रयास गर्नुपर्छ। निरीक्षकहरू मण्डलीका शिक्षक भएकोले आफ्नो मनबाट नकारात्मक मनोवृत्ति हटाउन सचेत रहनुपर्छ। असिद्धता र यस संसारको प्रभावले गर्दा त्यस्ता मनोवृत्ति हटाउन सजिलो त छैन। यसो गर्नु भनेको हिलाम्मे चिप्लो पहाड चढ्‌नु जस्तै हो। केही नसमाई त्यस्तो पहाड चढ्‌न खोज्यौं भने हामी चिप्लिएर तलैतिर झर्न सक्छौं। तर, बाइबलको सल्लाहलाई राम्ररी पक्रनुका साथै संसारभरिका परमेश्‍वरका मण्डलीहरू मार्फत पाइने मदतद्वारा हामी अघि बढ्‌न सक्छौं।—भज. ७३:२३, २४.

बुद्धिमान्‌हरूले देखाउन प्रयास गर्ने गुणहरू

१७. बुद्धिमान्‌ व्यक्‍तिले खराब कुराप्रति साधारणतया कस्तो प्रतिक्रिया देखाउँछन्‌?

१७ याकूब ३:१७ पढ्‌नुहोस्‌। ‘माथिबाटको ज्ञान’ अर्थात्‌ बुद्धि व्यवहारमा उतार्दा देखिने केही गुणहरूलाई विचार गरेर हामी लाभ उठाउन सक्छौं। “पवित्र” हुनुमा हाम्रो काम र मनोवृत्ति स्वच्छ र निष्कंलक हुनु समावेश छ। हामीले खराब कुरालाई तुरुन्तै तिरस्कार गरिहाल्नुपर्छ। यस्तो प्रतिक्रिया आफ-से-आफ हुनुपर्छ। जस्तो कि, कसैले तपाईंको आँखामा औंलाले घोच्न खोज्दा तपाईं टाउको फनक्क फर्काइहाल्नुहुन्छ वा त्यसलाई रोक्ने प्रयास गर्नुहुन्छ। यो आफ-से-आफ हुन्छ। सोच्नै पर्दैन! खराब कुरा गर्ने प्रलोभन आउँदा पनि त्यस्तै प्रतिक्रिया हुनुपर्छ। हाम्रो पवित्रता र बाइबल प्रशिक्षित अन्तस्करणले हामीलाई खराब कुरा तिरस्कार गर्न तुरुन्तै झकझकाउनुपर्छ। (रोमी १२:९) यस्तो प्रतिक्रिया देखाउने व्यक्‍तिहरूको उदाहरण बाइबलमा पाइन्छ। जस्तै: यूसुफ र येशू।—उत्प. ३९:७-९; मत्ती ४:८-१०.

१८. (क) मिलापी हुनु र (ख) मण्डलीमा मेलमिलाप कायम गर्न खोज्नुको अर्थ के हो?

१८ माथिबाट आउने बुद्धि देखाउन “मिलापी” पनि हुनुपर्छ। मिलापी हुनुमा रीसाहापन, झगडा गर्ने झुकाव र शान्ति भंग गर्ने कामकुरो त्याग्नु समावेश छ। यसबारे याकूब व्याख्या गर्दै यसो भन्छन्‌: “मेल-मिलाप खोज्नेहरूका निम्ति धर्मको फल मिलापमै रोपिन्छ।” (याकू. ३:१८) “मेल-मिलाप खोज्नेहरू” भन्‍ने अभिव्यक्‍तिलाई ध्यान दिनुहोस्‌। मण्डलीमा हामी मेल-मिलाप गराउने वा शान्ति भंग गर्ने, कुन नाउँले चिनिन्छौं? के हाम्रो अरूसित घरिघरि मतभिन्‍नता भइरहन्छ जसले गर्दा तुरुन्तै रिसाउने वा अरूलाई चोट पुऱ्‍याउने गर्छौं? के हामी आफू जस्तो छौं त्यस्तै रूपमा अरूले स्वीकारोस्‌ भन्‍ने चाहन्छौं वा अरूलाई आपत्तिजनक लाग्ने बानीहरू हटाउन नम्र भई प्रयास गर्छौं? के हामी तुरुन्तै क्षमा दिएर र गल्तीहरू भुलेर मिलापी हुन सधैं तत्पर व्यक्‍ति भनेर चिनिन्छौं? आफूलाई इमानदारीसित जाँच्दा, यस सन्दर्भमा ईश्‍वरीय बुद्धि देखाउनमा आफूले कतै उन्‍नति गर्नुपर्छ कि भनी बुझ्ने मदत पाउँछौं।

१९. व्यावहारिक व्यक्‍ति कसरी चिनिन्छ?

१९ याकूबले “कोमल [“व्यावहारिक,” NW]” हुनुलाई माथिको बुद्धि झल्काउने कुराहरूको सूचीमा समावेश गरे। यदि धर्मशास्त्रीय सिद्धान्त मुछिएको छैन भने के हामी आफ्ना व्यक्‍तिगत स्तरहरूलाई लागू गर्न तुरुन्तै जोड नगरेर—अरूको कुरा सुन्‍ने व्यक्‍ति भनेर चिनिएका छौं? के हामीले भला र कुरा गर्न सजिलो व्यक्‍ति भनेर नाउँ कमाएका छौं? यी कुराहरू हामीले व्यावहारिक हुन सिकेका छौं भन्‍ने कुराको संकेत हो।

२०. भर्खरै छलफल गरिएका ईश्‍वरीय गुणहरू प्रदर्शित गर्दा कस्तो नतिजा पाउनेछौं?

२० याकूबले बताएका ईश्‍वरीय गुणहरू भाइबहिनीहरूले अझ धेरै देखाउने प्रयास गर्दा मण्डलीमा कत्ति आनन्ददायी अवस्था छाउन सक्छ! (भज. १३३:१-३) एकअर्कासित नम्र, मिलापी र व्यावहारिक हुँदा अवश्‍यै सम्बन्ध सुध्रिन्छ, साथै यसले हामीसित ‘माथिबाटको ज्ञान’ अर्थात्‌ बुद्धि छ भन्‍ने प्रमाण पनि दिन्छ। मानिसहरूलाई यहोवाले झैं हेर्न सिक्दा यस सन्दर्भमा कसरी मदत पाउन सक्छौं, हामी अर्को लेखमा हेर्नेछौं। (w 08 3/15)

[फुटनोट]

a यस प्रसंगले के संकेत गर्छ भने याकूबको मनमा प्रथमतः बूढा-प्रधानहरू अर्थात्‌ मण्डलीका “शिक्षक”-हरू थिए। (याकू. ३:१) यी शिक्षकहरू ईश्‍वरीय बुद्धि देखाउनमा अवश्‍यै उदाहरणीय हुनुपर्छ, साथै हामी सबैले पनि याकूबको यस सल्लाहबाट पाठ सिक्न सक्छौं।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• एक जना मसीहीलाई कुन कुराले साँच्चै बुद्धिमान्‌ बनाउँछ?

• ईश्‍वरीय बुद्धि देखाउनमा हामी कसरी उन्‍नति गर्न सक्छौं?

• ‘माथिबाटको ज्ञान’ अर्थात्‌ बुद्धि नदेखाउनेहरूमा कस्ता दुर्गुणहरू देखिन्छ?

• तपाईंले कस्ता गुणहरू अझ धेरै खेती गर्ने अठोट गर्नुभएको छ?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

आज कलह कसरी छिर्न सक्छ?