सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा हाम्रो पुकारा सुन्‍नुहुन्छ

यहोवा हाम्रो पुकारा सुन्‍नुहुन्छ

यहोवा हाम्रो पुकारा सुन्‍नुहुन्छ

“परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌, र उहाँका कान तिनीहरूका पुकारा सुन्‍न खुला हुन्छन्‌।”—भज. ३४:१५.

१, २. (क) थुप्रै मानिसले अहिले कस्तो महसुस गरिरहेका छन्‌? (ख) हामी किन यो देखेर छक्क पर्दैनौं?

 तपाईलाई कुनै समस्याले पिरोलिरहेको छ कि? छ भने, तपाईं एक्लो हुनुहुन्‍न। तपाईंजस्तै लाखौं मानिसले यस दुष्ट संसारमा विभिन्‍न दबाब अनि संकष्ट सहँदै जीवन बिताइरहेका छन्‌। सहन नसकेर कोही-कोही हतास भएका छन्‌। तिनीहरू भजनरचयिताले जस्तै महसुस गर्छन्‌, जसले यसो भनेका थिए: “म मुर्छित भएको छु, र मैले ज्यादै चोट पाएको छु, मेरो हृदयको बेचैनीले गर्दा म गर्जन्छु। मेरो मुटु ढुक्‌ ढुक्‌ गर्छ, मेरो बल घट्‌दैछ, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।”—भज. ३८:८, १०.

जीवनमा आइपर्ने फिक्री अनि कष्टदेखि हामी मसीहीहरू छक्क पर्दैनौं। येशूले आफ्नो उपस्थितिको दौडान “संकष्ट” हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो भनेर हामीलाई थाह छ। (मर्कू. १३:८; मत्ती २४:३) “संकष्ट” भनी अनुवाद गरिएको मूल युनानी शब्दले प्रसव वेदनालाई संकेत गर्छ। अहिले “डरलाग्दो समय”-मा मानिसहरूले भोगिरहेको पीडाको कस्तो सही वर्णन!—२ तिमो. ३:१.

हामीलाई परेको संकष्ट यहोवा जान्‍नुहुन्छ

३. परमेश्‍वरका जनहरूलाई कुन कुरा राम्ररी थाह छ?

अहिले मानिसहरूले भोगिरहेका संकष्टबाट हामी अछुतो छैनौं भनेर यहोवाका जनहरूले राम्ररी बुझेका छन्‌। भविष्यमा संकष्ट अझ बढ्‌दै जान सक्छ भनेर पनि तिनीहरूलाई थाह छ। सबै मानिसले भोग्ने संकष्टबाहेक परमेश्‍वरका सेवकहरूले “विरोधी शैतान”-को पनि सामना गर्नुपर्छ। (१ पत्रु. ५:८) हाम्रो विश्‍वासलाई कमजोर पार्न शैतान जोडतोडले लागेको छ। त्यसैले कुनै पनि बेला दाऊदले जस्तै यसो भनेर विलौना गर्नुपर्ने अवस्थामा हामी पुग्न सक्छौं: “गालीले मेरो मन छिया छिया भएको छ। म ज्यादै बिरामी भएको छु। कसैले मलाई टिठाउँछ कि भनेर मैले हेरें, तर कोही भएनन्‌, र सान्त्वना दिनेहरू पनि, तर भेट्टाइनँ।”—भज. ६९:२०.

४. संकष्टमा परेको बेला कुन कुराले हामीलाई सान्त्वना दिन्छ?

यसको अर्थ दाऊदले कतैबाट आशा पाएनन्‌ त? त्यसो त होइन। सोही भजनमा तिनले अझ के भने ध्यान दिनुहोस्‌: “परमेश्‍वरले दरिद्रहरूको पुकारा सुन्‍नुहुन्छ, र बन्धनमा परेका आफ्ना मानिसहरूलाई उहाँले तुच्छ ठान्‍नुहुन्‍न।” (भज. ६९:३३) साधारण अर्थमा भन्‍नुपर्दा कहिलेकाहीं हामीलाई आफू संकष्ट वा पीडाको बन्धनमा परेझैं महसुस हुन सक्छ। अरूले हाम्रो परिस्थिति साँच्चै बुझेका छैनन्‌ जस्तो हामीलाई लाग्न सक्छ। सायद नबुझेका पनि हुन सक्छन्‌। तर हामीलाई परेको सकंष्ट यहोवाले पक्कै पनि बुझ्नुहुन्छ भनेर हामी दाऊदजस्तै ढुक्क हुन सक्छौं।—भज. ३४:१५.

५. यहोवाले के गर्नुहुनेछ भनेर सुलेमान ढुक्क थिए?

यरूशलेमको मन्दिर समर्पण गर्ने बेला दाऊदका छोरा सुलेमानले यो कुरा प्रकाश पारे। (२ इतिहास ६:२९-३१ पढ्‌नुहोस्‌।) “दुःख वा कष्टमा” परेका हरेक सोझा मानिसले प्रार्थना गर्दा सुनिदिनुहोस्‌ भनेर तिनले यहोवालाई बिन्ती गरे। संकष्टमा परेका मानिसहरूको प्रार्थना सुनेर परमेश्‍वरले के गर्नुहुनेछ? उहाँले प्रार्थना सुन्‍ने मात्र होइन, मदत पनि गर्नुहुनेछ भनेर सुलेमान ढुक्क थिए। किन? किनकि परमेश्‍वर “मानिसको हृदयलाई जान्‍नुहुन्छ।”

६. हामी कसरी संकष्ट सहन सक्छौं र किन?

“दुःख वा कष्टमा” परेको बेला हामी पनि यहोवालाई त्यसैगरि प्रार्थना गर्न सक्छौं। हामीलाई परेको कष्ट उहाँ बुझ्नुहुन्छ र हाम्रो चिन्ता गर्नुहुन्छ भन्‍ने कुरा सम्झेर मन शान्त बनाउनुपर्छ। उहाँले हाम्रो चिन्ता गर्ने भएकोले नै प्रेरित पत्रुसले यसो भने: “तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” (१ पत्रु. ५:७) हामीमाथि के बितिरहेको होला भनेर यहोवा साँच्चै चासो लिनुहुन्छ। यहोवाको यस्तो मायालु चासोलाई जोड दिंदै येशूले यसो भन्‍नुभयो: “के एक पैसामा दुइ भँगेरा बिक्‍तैनन्‌? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन। तर तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्‌। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढता मूल्यका छौ।”—मत्ती १०:२९-३१.

यहोवामाथि भरोसा गर्नुहोस्‌

७. संकष्ट परेको बेला यहोवाले कसरी मदत गर्नुहुन्छ भनेर ढुक्क हुन सक्छौं?

संकष्टले घेरेको बेला हामीलाई मदत गर्न यहोवा इच्छुक हुनुहुन्छ र उहाँसित हामीलाई मदत गर्ने क्षमता पनि छ भनेर हामी निश्‍चिन्त हुन सक्छौं। “परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, सङ्‌कष्टमा अति सजिलैसँग पाइने सहायक।” (भज. ३४:१५-१८; ४६:१) तर परमेश्‍वरले हामीलाई कसरी मदत गर्नुहुन्छ? पहिलो कोरिन्थी १०:१३ ले के भन्छ विचार गर्नुहोस्‌: “मानिसले सहन सक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” हाम्रो संकष्ट हटाउन उहाँले परिस्थिति फेरबदल गर्न सक्नुहुन्छ अथवा संकष्ट सहन हामीलाई चाहिने बल दिन सक्नुहुन्छ। यसरी कुनै न कुनै तरिकामा यहोवा हामीलाई मदत गर्नुहुन्छ।

८. यहोवाको मदत पाउन हामीले के गर्नुपर्छ?

यहोवाको मदत पाउन हामीले के गर्नुपर्छ? हामीलाई के गर्ने सुझाव दिइएको छ, विचार गर्नुहोस्‌: “तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ।” यसको अर्थ हामीले सबै चिन्ता अनि फिक्री यहोवालाई सुम्पनुपर्छ। त्यसपछि यहोवाले नै हाम्रो समस्याको हल निकाल्नुहुनेछ भनेर ढुक्क हुनुपर्छ। (मत्ती ६:२५-३२) आफ्नो बल वा बुद्धिमा भर नपरेर यसरी यहोवामाथि भरोसा गर्न नम्रता चाहिन्छ। “परमेश्‍वरका बलवान बाहुलीमनि” आफूलाई नम्र तुल्याएर यहोवा हामीभन्दा धेरै महान्‌ हुनुहुन्छ भनेर हामीले स्वीकार्नुपर्छ। (१ पत्रुस ५:६ पढ्‌नुहोस्‌।) यस्तो नम्रता छ भने परमेश्‍वरले अनुमति दिने जस्तोसुकै संकष्ट हामी सहन सक्नेछौं। हो, हाम्रो समस्या तुरुन्तै समाधान होस्‌ भनेर हामी निश्‍चय पनि चाहन्छौं। तैपनि, हामीलाई कहिले अनि कसरी संकष्टबाट छुटकारा दिनुपर्ने हो, त्यो यहोवालाई नै थाह छ भनेर हामी भरोसा गर्छौं।—भज. ५४:७; यशै. ४१:१०.

९. दाऊदले कस्तो संकष्ट यहोवालाई सुम्पनु परेको थियो?

भजन ५५:२२ मा दाऊदका यी शब्द याद गर्नुहोस्‌: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्न दिनुहुनेछैन।” ठूलो संकष्टमा परेको बेला दाऊदले यी शब्द लेखेका थिए। (भज. ५५:४) आफ्नै छोरो अब्शालोमले सिंहासन हडप्ने षड्यन्त्र गरिरहेको बेला दाऊदले उक्‍त भजन लेखेको हुनुपर्छ। दाऊदको अत्यन्तै भरपर्दो सल्लाहकार अहितोपेल अब्शालोमको मतियार थिए। आफ्नो ज्यान जोगाउन दाऊदले यरूशलेम छोडेर भाग्नुपऱ्‍यो। (२ शमू. १५:१२-१४) यस्तो ठूलो संकष्टको घडीमा समेत दाऊदले परमेश्‍वरमाथि भरोसा गरिरहे र तिनको भरोसा बेकार गएन।

१०. संकष्टको सामना गर्नुपर्दा हामीले के गर्नैपर्छ?

१० दाऊदले जस्तै हामीले पनि आफूलाई परेको हर संकष्ट अनि पीडा यहोवालाई बताउनैपर्छ। यस सन्दर्भमा प्रेरित पावलले हामीलाई के गर्ने सल्लाह दिए, विचार गरौं। (फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌।) हामीले यसरी व्यग्र प्रार्थना गऱ्‍यौं भने के हुनेछ? “परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, . . . [हाम्रो] हृदय र . . . [हाम्रो] विचारलाई येशूमा रक्षा गर्नेछ।”

११. “परमेश्‍वरको शान्तिले” हाम्रो हृदय अनि हाम्रो विचारलाई कसरी जोगाउँछ?

११ तर प्रार्थना गरेपछि के हाम्रो परिस्थिति परिवर्तन हुन्छ त? हुन सक्छ। तर हामीले जस्तो जवाफ खोजेका हौं, यहोवाले सधैं त्यस्तै जवाफ दिनुहुन्‍न भनेर पनि बुझ्नुपर्छ। जेहोस्‌, संकष्टको बेला मानसिक तवरमा सन्तुलित हुन प्रार्थनाले हामीलाई मदत गर्छ। संकष्टले गर्दा व्याकुल भएको बेला “परमेश्‍वरको शान्तिले” हाम्रो मन शान्त पार्छ। सिपाहीको डफ्फाले शत्रुको आक्रमणबाट सहरलाई बचाएझैं “परमेश्‍वरको शान्तिले” हाम्रो हृदय अनि विचारलाई बचाउनेछ। शंका, डर अनि नकारात्मक विचार हटाउन पनि त्यसले मदत गर्नेछ र अतालिएर गलत कदम चाल्नदेखि रोक्नेछ।—भज. १४५:१८.

१२. संकष्टको बेला कसरी मन शान्त पार्न सक्छौं, उदाहरण दिनुहोस्‌।

१२ संकष्ट परेको बेला हामी कसरी मन शान्त पार्न सक्छौं? हाम्रो परिस्थितिसित मेल खाने एउटा उदाहरण विचार गर्नुहोस्‌। एक जना कर्मचारीका असाध्यै रुखो अनि कठोर म्यानेजर रहेछन्‌। तर एकदिन त्यो कर्मचारीले कम्पनीको दयालु स्वभावका व्यावहारिक मालिकलाई आफ्नो दुःख पोखाउने मौका पाएछन्‌। मालिक उनको कुरा सुन्छन्‌ र त्यो म्यानेजरलाई चाँडै हटाउँदैछु भनेर पनि बताउँछन्‌। मालिकको यस्तो आश्‍वासन पाएपछि त्यो कर्मचारीलाई कस्तो लाग्ला, अब विचार गर्नुहोस्‌। म्यानेजर तुरुन्तै नहटे पनि मालिकको वचन अनि आफूले चाँडै पाउने राहतलाई सम्झेर त्यस कर्मचारीले केही दिन अरू दुःख सहँदै भए पनि काम गरिरहने निर्णय गर्छ नि, होइन र? त्यसैगरि, हाम्रो परिस्थितिदेखि यहोवा अजान हुनुहुन्‍न र अब चाँडै “यस संसारको मालिक बाहिर फालिनेछ” भनेर उहाँले आश्‍वासन पनि दिनुभएको छ भनेर हामीलाई थाह छ। (यूह. १२:३१) त्यसैले संकष्टको बेला विचलित हुनुको साटो यो कुरा सम्झँदै हामी ढुक्क होऔं!

१३. प्रार्थना गर्नुका साथै हामीले के पनि गर्नैपर्छ?

१३ त्यसोभए, यहोवालाई प्रार्थना गरेपछि के हामीले हात बाँधेर बसे हुन्छ? त्यसो त पक्कै हुँदैन। यहोवालाई गरेको प्रार्थनाबमोजिम हामीले काम पनि गर्नुपर्छ। राजा शाऊलले दाऊदको हत्या गर्न तिनको घरमा केही मानिस पठाउँदा दाऊदले के गरे विचार गर्नुहोस्‌। दाऊदले यसो भन्दै यहोवालाई प्रार्थना गरे: “मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्‌, हे मेरा परमेश्‍वर। मेरो विरुद्धमा खडा हुनेहरूबाट मलाई अल्गो ठाउँमा राख्नुहोस्‌। अधर्म गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्‌, र रगतको प्यासी मानिसहरूबाट मलाई बचाउनुहोस्‌।” (भज. ५९:१, २) यसरी प्रार्थना गर्नुका साथै दाऊदले आफ्नी पत्नीको सल्लाह सुने र तुरुन्तै घरबाट भागे। (१ शमू. १९:११, १२) संकष्टसित जुझ्न हामीले पनि दाऊदले जस्तै प्रार्थना गरेर बुद्धि माग्नुपर्छ र सम्भव छ भने संकष्ट कम गर्ने कोसिस गर्नुपर्छ।—याकू. १:५.

संकष्ट सहने बल हामी कसरी पाउन सक्छौं

१४. संकष्ट सहन कुन कुराले हामीलाई मदत गर्न सक्छ?

१४ प्रार्थना गरेर मदत मागे तापनि हाम्रो संकष्ट तुरुन्तै नहट्‌न सक्छ। त्यस्तो बेला के सम्झ्यौं भने सहन सजिलो हुनेछ? पहिलो, संकष्टको बावजूद यहोवाको सेवा गरिरह्‍यौं भने, हामी साँच्चै यहोवालाई माया गर्छौं भनेर प्रमाणित हुनेछ। (प्रेरि. १४:२२) शैतानले अय्यूबलाई के दोष लगाएको थियो, याद गर्नुहोस्‌: “परमेश्‍वरको डर राख्ने के अय्यूबको खास कारण छैन? के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष दिनुभएको छ, औ तिनका गाई-वस्तुहरू अनगन्ती बढेका छन्‌। तर आफ्नो हात पसारेर तिनका सबैचीज छुनुहोस्‌, र तिनले तपाईंलाई तपाईंकै मुखको सामने सराप्नेछन्‌।” (अय्यू. १:९-११) अय्यूब आफ्नो निष्ठामा अडिग भएर बसेको हुनाले शैतानको आरोप झूटो साबित भयो। अत्यन्तै कठीन अवस्थामा पनि धैर्य गऱ्‍यौं भने अय्यूबले जस्तै शैतानलाई फटाहा साबित गर्ने मौका पाउनेछौं। र हामीले यसरी धैर्य गर्दा हाम्रो आशा अनि भरोसा अझ बलियो हुन्छ।—याकू. १:४.

१५. कस्ता उदाहरणहरूले हामीलाई सान्त्वना दिन सक्छ?

१५ दोस्रो, हाम्रा “दाज्यू-भाइहरूले पनि यही कष्ट भोगिरहेका छन्‌” भनेर हामीले बिर्सनुहुँदैन। (१ पत्रु. ५:९) हो, ‘मानिसले सहन सक्ने किसिमको बाहेक अरू परीक्षामा हामी परेका छैनौं।’ (१ कोरि. १०:१३) त्यसैले आफ्नो दुःख सम्झेर बस्नुभन्दा बरु त्यस्तै दुःख सहने मानिसहरूको उदाहरण मनन गऱ्‍यौं भने हाम्रो आँट बढ्‌न सक्छ। (१ थिस्स. १:५-७; हिब्रू १२:१) ठूलो संकष्ट पार गर्ने कोही भाइबहिनी चिन्‍नुहुन्छ कि? चिन्‍नुहुन्छ भने तिनले कसरी सहन सके होलान्‌, समय लगाएर विचार गर्नुहोस्‌। अथवा तपाईंलाई परेजस्तै संकष्ट भोगिसकेका हाम्रा भाइबहिनीको अनुभव हाम्रा प्रकाशनहरूमा छापिएका हुन सक्छन्‌। यस्ता अनुभवहरू पढेर हामी धेरै सान्त्वना अनि बल पाउन सक्छौं।

१६. विभिन्‍न परीक्षाको सामना गर्नुपर्दा परमेश्‍वरले हामीलाई कसरी बलियो बनाउनुहुन्छ?

१६ तेस्रो, यहोवा ‘कृपाका पिता र सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ र कुनै पनि सङ्‌कष्टमा हुनेहरूलाई सान्त्वना दिन सकौं भनेर उहाँले हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुभएको छ’ भनेर हामीले सम्झनुपर्छ। (२ कोरि. १:३, ४) अहिले भोगिरहेको संकष्टको बेला मात्र होइन, तर “सबै संकष्टमा” सान्त्वना अनि बल दिन उहाँ मानौं हाम्रो छेवैमा उभिरहनुभएको छ भनेर हामीले बिर्सनुहुँदैन। यसो गऱ्‍यौं भने “कुनै पनि सङ्‌कष्टमा हुनेहरूलाई [हामी] सान्त्वना” दिन सक्नेछौं। पावल आफैले यी शब्दहरूको यथार्थता अनुभव गरेका थिए।—२ कोरि. ४:८, ९; ११:२३-२७.

१७. जीवनमा आइपर्ने संकष्टहरूसित जुझ्न बाइबलले कसरी मदत गर्छ?

१७ चौथो, हामीसित परमेश्‍वरको वचन बाइबल छ, जो “सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नलाई उपयोगी हुन्छ, . . . [ताकि] परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।” (२ तिमो. ३:१६, १७) परमेश्‍वरको वचनले हामीलाई ‘सुकर्ममा सुसज्जित’ बनाउनुका साथै जीवनमा आइपर्ने संकष्टहरूसित लड्‌न मदत गर्छ। भनौं भने, परमेश्‍वरको वचनले हामीलाई “पूर्णरूपले सुसज्जित” बनाउँछ। “पूर्णरूपले सुसज्जित” भनेर अनुवाद गरिएको मौलिक वाक्यांशको शाब्दिक अर्थ “सबै कुराको बन्दोबस्त गरिदिनु” हुन्छ। प्राचीन समयमा लामो समुद्री यात्रामा निस्कनुअघि यात्राको दौडान आवश्‍यक पर्न सक्ने सबै कुराको बन्दोबस्त गरेर जहाजमा हालिन्थ्यो। यसरी सबै कुराको बन्दोबस्त मिलाइएको जहाजलाई संकेत गर्न अथवा आफ्नो उद्देश्‍य अनुरूप काम गर्न सक्ने यन्त्रलाई बुझाउन सायद उक्‍त शब्द चलाउने गरिएको हुन सक्छ। त्यसैगरि, यहोवाले आफ्नो वचन बाइबलद्वारा जीवनमा आइपर्न सक्ने हर किसिमका परिस्थितिसित जुझ्न हामीलाई चाहिने सबै कुराको बन्दोबस्त गर्नुहुन्छ। त्यसैकारण, हामी यसो भन्‍न सक्छौं: “यदि परमेश्‍वरले यो संकष्ट ममाथि आइपर्ने अनुमति दिनुहुन्छ भने, उहाँको मदत लिएर सहन्छु।”

हाम्रा सबै संकष्टबाट मुक्‍ति

१८. कुन कुरा बिर्सेनौं भने सकंष्टको बेला धैर्य गर्न सजिलो हुनेछ?

१८ पाँचौं, यहोवाले अब चाँडै मानवजातिलाई सबै संकष्टबाट छुटाउनुहुनेछ भनेर सधैं सम्झिरहनुहोस्‌। (भज. ३४:१९; ३७:९-११; २ पत्रु. २:९) यहोवाले अन्ततः हामीले अहिले भोगिरहेको संकष्टबाट मुक्‍ति दिनुका साथै सधैंभरि बाँच्ने मौका पनि दिनुहुनेछ। तब आ-आफ्नो आशा अनुरूप कसैले स्वर्गमा येशूसित त कसैले पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउनेछन्‌।

१९. संकष्टको बेला वफादार भई बस्न हामीले के गर्नुपर्छ?

१९ त्यस्तो समय नआउन्जेल हामी यस दुष्ट संसारको पीडाजनक परिस्थितिहरूसित निरन्तर लडिरहनेछौं। हो, हामी यी संकष्ट हटिजाउन्‌ भनी तीव्र इच्छा गर्छौं। (भज. ५५:६-८) तर त्यसो नहोउन्जेल धैर्य गर्दै यहोवाको सेवा गरिरह्‍यौं भने शैतान झूटो साबित हुनेछ भनेर नबिर्सौं। अरू भाइबहिनीले पनि हामीले जस्तै संकष्ट भोगिरहेका छन्‌ भनी सम्झेर हामी प्रार्थना गरेर अनि हाम्रा मसीही भाइबहिनीसित संगत गरेर आफूलाई बलियो बनाऔं। परमेश्‍वरको वचन प्रयोग गरेर आफूलाई पूर्णरूपले सुसज्जित बनाऔं। “सबै सान्त्वनाका परमेश्‍वर” यहोवाले हाम्रो सधैं मायालु हेरचाह गर्नुहुन्छ भनेर सधैं भरोसा गरिरहौं। अनि “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌, र उहाँका कान तिनीहरूका पुकारा सुन्‍न खुला हुन्छन्‌” भनेर कहिल्यै नबिर्सौं।—भज. ३४:१५. (w08 3/15)

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• संकष्टको बेला दाऊदले कस्तो महसुस गरे?

• राजा सुलेमान कुन कुरामा निर्धक्क थिए?

• यहोवाले अनुमति दिने संकष्ट सहन कुन कुराले मदत गर्न सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

दाऊदले यहोवालाई प्रार्थना गरेर आफ्नो भारी बिसाए अनि प्रार्थनाअनुसार काम पनि गरे