सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सन्तुलित ढंगमा विनयी हुनुहोस्‌

सन्तुलित ढंगमा विनयी हुनुहोस्‌

सन्तुलित ढंगमा विनयी हुनुहोस्‌

“विनयी हुनू भनी तिनीहरूलाई सम्झाइदेऊ।”—ती. ३:२.

१, २. विनयी हुने सम्बन्धमा बाइबलले के बताउँछ र विनयी हुनु किन उचित छ?

 स्वर्गमा बस्ने हाम्रा मायालु बुबा यहोवा, अपार बुद्धिको खानी अनि हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले हामी उहाँसित डोऱ्‍याइ माग्छौं। (भज. ४८:१४) अनि उहाँले दिने डोऱ्‍याइ अर्थात्‌ ‘ज्ञान पहिले पवित्र, त्यसपछि मिलापी, कोमल a, मृदुभाव, दया र बढिया फलले भरिएको अनि पक्षपातरहित र कपटरहित हुन्छ’ भनेर मसीही चेला याकूब लेख्छन्‌।—याकू. ३:१७.

त्यसैगरि, प्रेरित पावलले हाम्रो “सहनशीलता”* [अर्थात्‌ “व्यावहारिकता,” NW] सबै मानिसहरूलाई थाह होस्‌” भनेर सल्लाह दिए। (फिलि. ४:५) ख्रीष्ट येशू हाम्रा प्रभु तथा मसीही मण्डलीका शिर हुनुहुन्छ। (एफि. ५:२३) त्यसैले, हामी सबैले व्यावहारिक भएर उहाँको निर्देशन पालन गर्नु र अरूसित विनयी व्यवहार गर्नु जरुरी छ।

३, ४. (क) विनयी हुँदा के फाइदा हुन्छ, उदाहरणसहित बताउनुहोस्‌। (ख) हामी कुन कुरा विचार गर्नेछौं?

हामी सन्तुलित ढंगमा विनयी भयौं भने फाइदा हामीलाई नै हुन्छ। उदाहरणको लागि, बेलाइतमा आतंककारी हमला गर्ने योजना पर्दाफास हुँदा के भयो विचार गर्नुहोस्‌। हवाई-यात्रुहरूले पहिले-पहिले जहाजभित्र आफूसँगै लैजान मिल्ने थुप्रै सामानहरूमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गऱ्‍यो। तैपनि प्रायजसो यात्रु यस नियमबमोजिम चल्न तयार भए र त्यसो गर्दा फाइदा उनीहरूलाई नै भयो। त्यस्तै, सवारीसाधन हाँक्दा सवारी आवागमनमा बाधा नपुगोस्‌ र दुर्घटना नहोस्‌ भनेर हामी दोबाटो वा चौबाटोमा विचार पुऱ्‍याउँछौं। अनि यसरी विनयी हुँदा फाइदा हामीलाई नै हुन्छ।

विनयी हुनु हामीमध्ये धेरैजसोलाई सजिलो लाग्दैन। त्यसैले आउनुहोस्‌, विनयी हुन मदत गर्ने तीनवटा पक्ष विचार गरौं। ती हुन्‌: हाम्रो मनसाय, अख्तियारप्रतिको हाम्रो मनोवृत्ति र हामी विनयी हुनुपर्ने हद।

विनयी किन हुने?

५. मोशाको व्यवस्थाअनुसार मालिककहाँ नै बस्न कुन कुराले कमारालाई उत्प्रेरित गर्न सक्थ्यो?

हामी सही मनसाय राखेर विनयी हुनुपर्छ भनेर प्राचीन समयको एउटा उदाहरणले जोड दिन्छ। मोशाको व्यवस्थाअनुसार मालिककहाँ काम गर्न बसेको सात वर्षमा अथवा त्यसअघि नै उत्सवको वर्ष (पचासौं वर्षमा मनाइने विश्राम वर्ष) लागेमा हिब्रू कमाराहरूलाई मुक्‍त गर्नु पर्थ्यो। तर कमाराले मालिककहाँ नै बस्ने छनौट पनि गर्न सक्थ्यो। (प्रस्थान २१:५, ६ पढ्‌नुहोस्‌।) कुन कुराले गर्दा त्यसो गर्न कमारा उत्प्रेरित हुन्थ्यो? प्रेमले उत्प्रेरित भएको कमारा दयालु मालिकको अधीनमा रहन्थ्यो।

६. विनयी हुनुमा प्रेम गर्नु पनि कसरी समावेश छ?

त्यसैगरि, यहोवाप्रतिको प्रेमले हामीलाई आफ्नो जीवन समर्पण गर्न अनि समर्पण अनुरूप जीवन बिताउन उत्प्रेरित गर्छ। (रोमी १४:७, ८) “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌” भनेर प्रेरित यूहन्‍नाले लेखे। (१ यूह. ५:३) यस्तो प्रेमले आफ्नै भलाइ खोज्दैन। (१ कोरि. १३:४, ५) त्यस्तैगरि, छिमेकीप्रतिको प्रेमले हामीलाई मानिसहरूसित व्यवहार गर्दा विनयी हुन र अरूको इच्छालाई प्राथमिकता दिन उत्प्रेरित गर्छ। आफ्नै स्वार्थ खोज्नुको साटो हामी अरूको ख्याल राख्छौं।—फिलि. २:२, ३.

७. मानिसहरूलाई प्रचार गर्दा विनयी हुनु किन आवश्‍यक छ?

हामीले अरूलाई ठोकर लाग्ने बोली बोल्नु वा व्यवहार गर्नु हुँदैन। (एफि. ४:२९) प्रेमले गर्दा नै हामी भिन्‍नै पृष्ठभूमि र संस्कृतिका मानिसहरूलाई यहोवाको सेवा गर्न बाधा नपुगोस्‌ भनेर सचेत हुन्छौं। तर यसरी मानिसहरूको ख्याल गर्न हामीसित विनयी भाव हुनुपर्छ। उदाहरणको लागि, मिसनरी सेवा गर्ने बहिनीहरूलाई विचार गर्नुहोस्‌। यदि तिनले सेवा गरिरहेको देशमा महिलाहरूले सिंगार गरेको अनैतिक ठानिन्छ र अरूले ठोकर खान सक्छ भने ‘मेरो त सिंगार गर्ने बानी नै छ’ भन्दै ढिपी कस्ने गर्दिनन्‌।—१ कोरि. १०:३१-३३.

८. आफूलाई “सबैभन्दा सानो” सम्झेर अरूसित व्यवहार गर्न परमेश्‍वरप्रतिको प्रेमले कसरी मदत गर्न सक्छ?

यहोवाप्रतिको मायाले हामीलाई घमन्ड त्याग्न मदत गर्छ। चेलाहरूबीच को ठूलो भन्‍ने विवाद भएपछि येशूले तिनीहरू माझ एउटा बालकलाई उभ्याउनुभयो। त्यसपछि उहाँले भन्‍नुभयो: “जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनेलाई ग्रहण गर्छ, किनभने तिमीहरू सबैमा जो सबैभन्दा सानो छ, त्यही ठूलो हुन्छ।” (लूका ९:४८; मर्कू. ९:३६) आफूलाई “सबैभन्दा सानो” सम्झेर अरूसित व्यवहार गर्न हामीलाई निकै गाह्रो लाग्न सक्छ। वंशाणुगत असिद्धता र घमन्डले गर्दा अरूभन्दा ठूलो हुन खोज्ने चाहना हामीमा देखिन सक्छ। तर नम्रताले हामीलाई विनयी हुन मदत गर्छ।—रोमी १२:१०.

९. विनयी हुन हामीले कुन कुरा स्वीकार्नैपर्छ?

विनयी हुन हामीले परमेश्‍वरद्वारा नियुक्‍त अख्तियारलाई मान्यता दिनैपर्छ। साँचो मसीहीहरू सबैले शिरत्वको सिद्धान्तको महत्त्व बुझेका छन्‌। कोरिन्थका सँगी मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले यो कुरा स्पष्ट पारे: “तर तिमीहरूले यो जान भन्‍ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्‍वर हुनुहुन्छ।”—१ कोरि. ११:३.

१०. हामी यहोवाको अख्तियारको अधीनमा रहँदा के प्रकट हुन्छ?

१० परमेश्‍वरको अख्तियारको अधीनमा रहँदा हामी हाम्रो मायालु पिता यहोवालाई भरोसा गर्छौं भन्‍ने कुरा प्रकट हुन्छ। कहाँ के भइरहेको छ, त्यो सबै उहाँलाई राम्ररी थाह छ र त्यसैअनुसार हामीलाई आशिष्‌ दिन सक्नुहुन्छ। यस तथ्यलाई सम्झ्यौं भने, अरूले हाम्रो अनादर गर्दा वा रिसले चूर भएर हामीसित व्यवहार गर्दा विनयी हुन सजिलो हुन्छ। “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो” भनेर पावलले लेखे। त्यसपछि, यस सल्लाहको महत्त्वलाई जोड दिंदै पावलले यस्तो थप निर्देशन दिए: “हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ”—रोमी १२:१८, १९.

११. हामी ख्रीष्टको शिरत्वको अधीनमा बस्न चाहन्छौं भनेर कसरी देखाउन सक्छौं?

११ मसीही मण्डलीमा परमेश्‍वरले नियुक्‍त गरेको अख्तियारको अधीनमा बसेर पनि हामीले विनयी भाव प्रकट गर्नुपर्छ। प्रकाश अध्याय १ मा ख्रीष्ट येशूले आफ्नो दायाँ हातमा मण्डलीका “ताराहरू” लिएको चित्रण गरिएको छ। (प्रका. १:१६, २०) सामान्यतया यी ताराहरूले प्राचीनहरू वा निरीक्षकहरूको निकायलाई संकेत गर्छ। यी नियुक्‍त निरीक्षकहरू ख्रीष्टको अधीनमा बस्छन्‌ र उहाँले जस्तै अरूसित दयालु व्यवहार गर्छन्‌। ठीक-ठीक समयमा खान देओस्‌ भनेर येशूले खटाएका “विश्‍वासी र बुद्धिमान्‌ दास”-को अधीनमा मण्डलीका सबै जना बस्छन्‌। (मत्ती २४:४५-४७) आज, विश्‍वासी र बुद्धिमान्‌ दासले तयार पारेका प्रकाशन अध्ययन गरेर अनि लागू गरेर हामी व्यक्‍तिगत तवरमा पनि ख्रीष्टको शिरत्वको अधीनमा बस्न इच्छुक छौं भनेर देखाउँछौं। हामीले यसरी विनयी भाव देखाउँदा मण्डलीमा शान्ति अनि एकता कायम हुन्छ।—रोमी १४:१३, १९.

विनयी हुने तर कुन हदसम्म?

१२. विनयी हुनुको पनि सीमा छ भनेर कसरी भन्‍न सक्छौं?

१२ विनयी हुने भन्दैमा हामी आफ्नो विश्‍वास र परमेश्‍वरले तोकेका सिद्धान्तहरूमा सम्झौता गर्दैनौं। येशूको नाउँमा प्रचार नगर्नू भनेर धार्मिक नेताहरूले आदेश दिंदा येशूका चेलाहरूले के गरे? पत्रुस र अरू प्रेरितहरूले निडर भई यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” (प्रेरि. ४:१८-२०; ५:२८, २९) त्यसैले आज सरकारले राज्यको सुसमाचार प्रचार नगर्नू भनेर आदेश दिंदा हामी प्रचार गर्न बन्द गर्दैनौं। बरु, कौशलता चलाएर परिस्थितिअनुसार प्रचार गर्ने तरिकामा छाँटकाँट गर्छौं। घर-घरमा प्रचार गर्न बन्देज लगाइयो भने हामी घरधनीलाई अर्कै तरिकाले भेट्‌ने कोसिस गर्छौं र परमेश्‍वरको आदेश पालन गरिरहन्छौं। त्यसैगरि, “उच्च अख्तियारवालाहरू”-ले भेला हुन प्रतिबन्ध लगाउँदा हामी होसियार भई स-साना समूहमा भेला हुन्छौं।—रोमी १३:१; हिब्रू १०:२४, २५.

१३. अख्तियारको अधीनमा बस्ने सम्बन्धमा येशूले के भन्‍नुभयो?

१३ डाँडाको उपदेशमा येशूले अख्तियारको अधीनमा रहनुपर्छ भनेर मानिसहरूलाई यसरी सचेत गराउनुभयो: “यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल। औ यदि कसैले तिमीलाई आधा कोशसम्म जबरदस्त लैजान्छ भने, उसित एक कोशसम्मै जाऊ।” (मत्ती ५:४०, ४१) b अरूको पनि ख्याल राख्ने र तिनीहरूलाई मदत गर्ने इच्छाले हामीलाई “एक कोशसम्मै” जान अर्थात्‌ मागेभन्दा धेरै गर्न उत्प्रेरित गर्छ।—१ कोरि. १३:५; ती. ३:१, २.

१४. हामी किन धर्मत्यागीहरूसामु कहिल्यै पनि झुक्नु हुँदैन?

१४ हामी विनयी हुन चाहन्छौं तर त्यसो भन्दैमा धर्मत्यागीहरूसामु हामी कुनै हालतमा झुक्दैनौं। यहोवाले देखाएको सत्यको बाटोलाई अशुद्ध हुन नदिन र मण्डलीको एकता कायम राख्न हामी धर्मत्यागीहरूसित पटक्कै सम्झौता गर्दैनौं। “झूटा भाइहरूका” सम्बन्धमा पावलले लेखे: “सुसमाचारको सत्यता तिमीहरूसँग रहिरहोस्‌ भनेर, तिनीहरूसँग हामी एक घण्टा पनि दबेर बसेनौं।” (गला. २:४, ५) केही गरी धर्मत्याग देखा परिहाल्यो भने भक्‍त मसीहीहरू सत्यको पक्षमा अडिग हुनुपर्छ।

निरीक्षकहरू विनयी हुनु जरुरी छ

१५. प्राचीनहरू सभा बसेको बेला कसरी विनयी हुन सक्छन्‌?

१५ निरीक्षकको रूपमा सेवा गर्न नियुक्‍त भएकाहरूले पूरा गर्नुपर्ने योग्यताहरूमध्ये एउटा विनयी हुनु पनि हो। पावलले निरीक्षक “विनम्र” हुनुपर्छ भनेर लेखेका थिए। (१ तिमो. ३:२, ३, NRV) मण्डलीसित सम्बन्धित विषय छलफल गर्न सभा बसेको बेला निरीक्षकहरूले यो कुरा विचार गर्नु अत्यन्तै जरुरी छ। छलफलको दौडान प्रत्येक प्राचीनले टिप्पणी गर्नैपर्ने आवश्‍यकता नभए तापनि निर्णय गर्नुअघि उपस्थित सबैले मनमा लागेको कुरा व्यक्‍त गर्ने मौका पाएको हुनुपर्छ। यस्तो छलफलको दौडान एक जना निरीक्षकले विचाराधीन विषयमा लागू हुने बाइबल सिद्धान्ततर्फ ध्यानाकर्षण गर्दा अरू निरीक्षकको दृष्टिकोण परिवर्तन हुन सक्छ। तर जेहोस्‌, परिपक्व प्राचीनले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै जिद्दी गर्दैनन्‌। छलफल सुरु हुनुअघि निरीक्षकहरूको विचार फरक-फरक हुन सक्छ। तर प्रार्थनापूर्वक छलफल गरेको खण्डमा विनम्र तथा विनयी प्राचीनहरूबीच एकता कायम हुनेछ।—१ कोरि. १:१०; एफिसी ४:१-३ पढ्‌नुहोस्‌।

१६. मसीही निरीक्षकले कस्तो मनोभाव प्रकट गर्नुपर्छ?

१६ मसीही प्राचीनले आफ्नो हरेक गतिविधीमा ईश्‍वरतान्त्रिक प्रबन्धलाई सधैं समर्थन गर्ने कोसिस गर्नुपर्छ। बगालको गोठालो काम गर्दा समेत तिनले त्यसै गरेको हुनुपर्छ। निरीक्षकले यो कुरालाई ध्यान दिएमा अरूसित विचारशील अनि कोमल व्यवहार गर्न सक्नेछन्‌। पत्रुसले लेखे: “तिमीहरूका जिम्मामा रहेको परमेश्‍वरको बगालको गोठालो होओ। करले होइन, तर परमेश्‍वरको इच्छाबमोजिम, खुशीसाथ। पैसाको लोभले होइन, तर तयारी मनले।”—१ पत्रु. ५:२.

१७. मण्डलीका सबैले एकअर्कासित व्यवहार गर्दा विनयी मनोभाव कसरी देखाउन सक्छन्‌?

१७ मण्डलीका वृद्ध सदस्यहरू कम उमेरका भाइबहिनीले दिने अनमोल मदतको कदर गर्छन्‌ र उनीहरूको सम्मान गर्छन्‌। अनि कम उमेरकाहरूले पनि यहोवाको सेवा गरेर धेरै लामो अनुभव बटुलिसकेका यस्ता वृद्ध भाइबहिनीको आदर गर्छन्‌। (१ तिमो. ५:१, २) मसीही प्राचीनहरू मण्डलीमा योग्य भाइ खोजेर केही खास जिम्मा सुम्पन्छन्‌ र परमेश्‍वरको बगालको हेरचाह गर्ने तालिम दिन्छन्‌। (२ तिमो. २:१, २) मण्डलीका हरेक सदस्यले पावलको यस प्रेरित सल्लाहलाई महत्त्वपूर्ण ठान्‍नुपर्छ: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्‌, यो तिनीहरूले आनन्दसाथ गरून्‌। दुःख मानेर होइन, किनकि त्यसबाट तिमीहरूलाई लाभदायक हुँदैन।”—हिब्रू १३:१७.

परिवारमा विनयी हुने

१८. परिवारमा विनयी हुनु किन उचित हो?

१८ परिवारका सदस्यहरू पनि आपसमा विनयी हुनुपर्छ। (कलस्सी ३:१८-२१ पढ्‌नुहोस्‌।) मसीही परिवारको हरेक सदस्यले के-कस्तो जिम्मा पूरा गर्नुपर्छ, त्यो बाइबलमा लेखिएको छ। पत्नीको शिर पति हो र छोराछोरीलाई निर्देशन दिने मुख्य जिम्मेवारी बुबाको हो। पत्नीले पतिको अख्तियार स्वीकार्नुपर्छ र छोराछोरीले आमाबाबुको आज्ञा पालन गर्ने कोसिस गर्नुपर्छ। किनकि केटाकेटीले आफ्नो आमाबाबुको आज्ञा पालन गरेको यहोवा मन पराउनुहुन्छ। परिवारको प्रत्येक सदस्य उचित अनि सन्तुलित ढंगमा विनयी भयो भने, त्यसले परिवारमा एकता र शान्ति बढाउन सक्छ। बाइबलमा भएका केही उदाहरणले यो कुरा राम्ररी बुझ्न मदत गर्छ।

१९, २०. (क) विनयी हुने सम्बन्धमा एली र यहोवाबीच के भिन्‍नता छ, प्रस्ट पार्नुहोस्‌। (ख) यी उदाहरणहरूबाट आमाबाबुले के-के सिक्न सक्छन्‌?

१९ शमूएल सानो छँदा एली इस्राएलका प्रधान पूजाहारी थिए। तर एलीका छोरा होप्नी र पीनहास “दुष्ट थिए”। यहोवाको निम्ति “तिनीहरूमा श्रद्धा थिएन।” एलीले तिनीहरूले गरेका नराम्रो कामको खबर पाएका थिए। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग छोराहरूले व्यभिचार गरेको कुरा पनि तिनले सुनेका थिए। तर तिनले के गरे? तिनीहरूले परमेश्‍वरको विरुद्धमा पाप गरेका हुन्‌ भने तिनीहरूको निम्ति कसैले प्रार्थना गर्नेछैन भनेर एलीले छोराहरूलाई भन्‍न त भने तर तिनीहरूलाई सुधारेनन्‌। अतः एलीका छोराहरूले खराब काम गरिरहे। आखिरीमा यहोवाले तिनीहरूलाई मृत्युदण्ड पाउन योग्यको सम्झनुभयो। छोराहरू मरे भन्‍ने खबर पाउँदा एली पनि मरे। कस्तो दुःखलाग्दो परिणाम! स्पष्ट छ, छोराहरूको दुष्कर्मप्रति एली विनयी हुनु र उनीहरूलाई दुष्ट काम गर्नदेखि नरोक्नु सरासर गलत थियो।—१ शमू. २:१२-१७, २२-२५, ३४, ३५; ४:१७, १८.

२० यसको ठीक विपरीत परमेश्‍वरले आफ्ना आत्मिक छोराहरूसित गरेको व्यवहार विचार गर्नुहोस्‌। यहोवा र उहाँका आत्मिक छोराहरूबीच बसेको सभाबारे मीकाया अगमवक्‍ताले अचम्मको दर्शन देखे। कसले इस्राएलका राजा आहाबलाई झुक्याएर त्यस दुष्ट राजाको पतन गराउन सक्छ भनेर यहोवाले आफ्ना छोराहरूलाई सोध्नुभयो। यहोवाले आफ्ना आत्मिक छोराहरूको सुझाव सुन्‍नुभयो। त्यसपछि एउटा स्वर्गदूत आहाबलाई झुक्याउन अघि सऱ्‍यो। यहोवाले तिनको योजना सोध्नुभयो र जवाफदेखि सन्तुष्ट भएर उक्‍त स्वर्गदूतलाई आफ्नो योजनाबमोजिम गर्ने आदेश दिनुभयो। (१ राजा २२:१९-२३) विनयी हुने सम्बन्धमा मानव परिवारले यस विवरणबाट केही पाठ सिक्न सक्छन्‌ कि? यहोवाले जस्तै मसीही पति अनि बुबाले पनि आफ्नी पत्नी र छोराछोरीको सल्लाह-सुझाव सुन्‍नुपर्छ। अर्कोतिर, पति वा बुबालाई सुझाव दिंदा पत्नी अनि छोराछोरीले निर्णय गर्ने धर्मशास्त्रीय अधिकार परिवारको शिरकै हो भनेर स्वीकार्नुपर्छ र तिनले दिएको निर्देशन आदरपूर्वक पालन गर्नुपर्छ।

२१. अर्को लेखमा के छलफल गरिनेछ?

२१ विनयी हुने सम्बन्धमा यहोवाले दिएको यस्तो मायालु अनि बुद्धिमान्‌ सल्लाहका लागि हामी अत्यन्तै कृतज्ञ छौं। (भज. ११९:९९) सन्तुलित ढंगमा विनयी हुँदा वैवाहिक जीवन कसरी सुखमय हुन सक्छ, त्यसबारे यसपछिको लेखमा छलफल गरिनेछ। (w 08 3/15)

[फुटनोटहरू]

a मूल भाषामा प्रेरित पावलले प्रयोग गरेको शब्दलाई एउटै शब्दमा व्याख्या गर्नु गाह्रो छ। यस शब्दलाई नेपाली बाइबलमा विनयी, विनम्र, कोमल इत्यादि भनेर अनुवाद गरिएको छ। पावलले प्रयोग गरेका मौलिक शब्दले मुख्यतया दुइटा अर्थ दिन्छ: १) अरूको दृष्टिकोणको कदर गर्दै आफ्नो अधिकार प्रयोग गर्न जिद्दी नगर्ने अनि २) अख्तियारमा बसेको व्यक्‍तिको पूर्णतया अधीनमा रहने।

b प्रहरीधरहरा, फेब्रुअरी १५, २००५ पृष्ठ २३-२६ मा भएको “यदि कसैले तपाईंलाई जबरजस्ती गर्छ भने” लेख हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• विनयी हुँदा कस्तो असल नतिजा पाउन सकिन्छ?

• निरीक्षकहरूले कसरी विनयी मनोभाव प्रकट गर्न सक्छन्‌?

• परिवारमा विनयी हुनु किन महत्त्वपूर्ण छ?

[प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएको चित्र]

प्राचीनहरू ख्रीष्टले जस्तै अरूसित दयालु व्यवहार गर्छन्‌