सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जवानहरू हो—आफ्नो महान्‌ सृष्टिकर्ताको सम्झना अहिल्यै गर्नुहोस्‌

जवानहरू हो—आफ्नो महान्‌ सृष्टिकर्ताको सम्झना अहिल्यै गर्नुहोस्‌

जवानहरू हो—आफ्नो महान्‌ सृष्टिकर्ताको सम्झना अहिल्यै गर्नुहोस्‌

“आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌।”—उप. १२:१.

१. आफ्ना जवान उपासकहरूप्रतिको भरोसा यहोवा कसरी व्यक्‍त गर्नुहुन्छ?

 मसीही जवानहरूलाई यहोवा मूल्यवान्‌ र शीतझैं स्फूर्तिदायी ठान्‍नुहुन्छ। साँच्चै नै भन्‍नुपर्दा, आफ्नो पुत्रको “पराक्रमको दिनमा” जवान पुरुष र स्त्रीले ख्रीष्टको सेवामा “राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्‌” भनी उहाँले भविष्यवाणी गर्नुभएको थियो। (भज. ११०:३) यो भविष्यवाणी हाम्रो समयबारे थियो जतिबेला धेरैजसो मानिसहरू परमेश्‍वरलाई नमान्‍ने, आफ्नैबारे मात्र सोच्ने, पैसामा डुब्ने अनि अनाज्ञाकारी हुनेथिए। तर उहाँको उपासना गर्ने जवानहरू भने फरक हुनेछन्‌ भनी यहोवालाई थाह थियो। तपाईं जवान भाइबहिनीहरूप्रति यहोवाको कत्ति ठूलो भरोसा!

२. यहोवाको सम्झना गर्नुमा के समावेश छ?

जवानहरूले यहोवालाई आफ्ना महान्‌ सृष्टिकर्ताको रूपमा सम्झना गरेको देख्दा उहाँलाई कत्ति खुसी लाग्ला, सोच्नुहोस्‌ त! (उप. १२:१) तर यहोवाको सम्झना गर्नु भनेको उहाँबारे सोच्नु मात्र त निश्‍चय नै होइन। यसको अर्थ, कदम उठाउनु अर्थात्‌ उहाँलाई मन पर्ने कुरा गर्नु र उहाँका नियम तथा सिद्धान्तहरूद्वारा आफ्नो दैनिक जीवनलाई डोरिन दिनु हो। साथै, यहोवा हाम्रो साँच्चै ख्याल राख्नुहुन्छ भनी बुझेर उहाँमा भरोसा गर्नु पनि यसमा समावेश छ। (भज. ३७:३; यशै. ४८:१७, १८) के तपाईं आफ्ना महान्‌ सृष्टिकर्ताबारे यस्तै महसुस गर्नुहुन्छ?

“तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌”

३, ४. यहोवामा भरोसा राखेको कुरा येशूले कसरी देखाउनुभयो र आज यहोवामा भरोसा राख्नु किन महत्त्वपूर्ण छ?

यहोवामा भरोसा राख्ने सबैभन्दा उत्कृष्ट उदाहरण पक्कै पनि येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ हितोपदेश ३:५, ६ का यी शब्दअनुरूपै चल्नुभयो: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” येशूले बप्तिस्मा लिएको केही समयपछि नै शैतान उहाँकहाँ आयो र उहाँलाई संसारको शक्‍ति र महिमा ग्रहण गर्न प्रलोभन देखायो। (लूका ४:३-१३) येशू बहकिनु भएन। “नम्रता र परमप्रभुको भयले” साँचो “धन, मान र जीवन ल्याउँछ” भनेर उहाँलाई थाह थियो।—हितो. २२:४.

आजको संसारमाथि लोभ र स्वार्थले प्रभुत्व जमाएको छ। यस्तो वातावरणमा, येशूको उदाहरण अनुकरण गर्नुमै बुद्धि झल्कन्छ। यो कुरा पनि मनमा राख्नुहोस्‌ कि जीवनतर्फ लैजाने साँघुरो बाटोबाट यहोवाका सेवकहरूलाई विमुख पार्न शैतानले आफ्नो बल-बर्कतले भ्याएसम्म गर्ने नै छ। विनाशमा पुऱ्‍याउने फराकिलो बाटोबाट सबै जना हिंडेको त्यो देख्न चाहन्छ। त्यसद्वारा नठगिनुहोस्‌! बरु, आफ्ना महान्‌ सृष्टिकर्ताको सम्झना गर्न कृतसंकल्प गर्नुहोस्‌। उहाँमा पूरा भरोसा राख्नुहोस्‌ र निश्‍चित अनि नजिकै भएको ‘साँच्चैको जीवनलाई’ दह्रो गरी पक्रिराख्नुहोस्‌।—१ तिमो. ६:१९.

जवान हो, बुद्धिमान्‌ हुनुहोस्‌!

५. यो संसारको भविष्यबारे तपाईंलाई कस्तो लाग्छ?

महान्‌ सृष्टिकर्ताको सम्झना गर्ने जवानहरू आफ्ना दौंतरीहरूभन्दा बुद्धिमान्‌ छन्‌। (भजन ११९:९९, १०० पढ्‌नुहोस्‌) किनभने तिनीहरू परमेश्‍वरको दृष्टिकोण स्वीकार्छन्‌ अनि यस संसारको भविष्य वास्तवमा कति अन्धकार छ भन्‍ने कुरामा पूर्ण रूपले सजग छन्‌। तपाईंको छोटो जीवनकालमा समेत तपाईं जवानहरूले डर तथा चिन्ताले मानिसलाई कसरी झन्‌-झनै छोप्दै लगिरहेको छ, देखेकै हुनुपर्छ। यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने प्रदूषण, तापक्रम वृद्धि, वनविनाश र यस्तै अन्य समस्याहरूले कतिको विकराल रूप लिइरहेको छ, तपाईंले सुन्‍नुभएकै होला। यस्ता घटनाले गर्दा मानिसहरू असाध्यै चिन्तित छन्‌। तर यहोवाका साक्षीहरूले मात्र यो कुरा बुझेका छन्‌ कि यस्ता घटनाहरू शैतानको संसार अन्त हुँदैछ भन्‍ने कुराको एउटा चिह्न हो।—प्रका. ११:१८.

६. केही जवानहरू कसरी ठगिएका छन्‌?

बिडम्बनाको कुरा मान्‍नुपर्छ, परमेश्‍वरका केही जवान सेवकहरू सतर्क हुन छाडेका छन्‌ र यो संसारको दिन अब कति छोटो छ भन्‍ने कुरालाई तिनीहरूले बिर्सेका छन्‌। (२ पत्रु. ३:३, ४) अनि अरू कतिपयचाहिं खराब संगत र अश्‍लील कुराहरूले गर्दा गम्भीर पाप गर्न लोभिएका छन्‌। (हितो. १३:२०) अन्तको सँघारमै पुगिसक्दा परमेश्‍वरको अनुमोदन गुमाउनु, कत्ति दुःखलाग्दो कुरो! बरु, प्रतिज्ञा गरिएको देशको एकदमै नजिकै मोआबको बेंसीमा पाल टाँगेर बसेका इस्राएलीहरूमाथि ईसापूर्व १४७३ मा घटेको घटनाबाट पाठ सिक्नुहोस्‌। त्यहाँ कस्तो घटना घट्यो?

लक्ष्यमा पुग्नै लाग्दा तिनीहरू चुके

७, ८. (क) मोआबको बेंसीमा शैतानले कस्तो रणनीति प्रयोग गऱ्‍यो? (ख) आज शैतानले कस्तो रणनीति प्रयोग गरिरहेको छ?

त्यसबेला, प्रतिज्ञा गरिएको पैतृक-सम्पत्ति पाउनबाट इस्राएलीहरूलाई शैतानले रोक्न चाहेको कुरा स्पष्ट छ। अगमवक्‍ता बिलामद्वारा इस्राएलीहरूलाई सराप्न असफल भएपछि शैतानले झनै धूर्त रणनीतिको प्रयोग गऱ्‍यो। तिनीहरूलाई यहोवाको आशिष्‌ पाउन अयोग्य बनाइदिने दुष्प्रयास त्यसले गऱ्‍यो। तिनीहरूलाई लोभ्याउन आकर्षक मोआबी स्त्रीहरूलाई प्रयोग गऱ्‍यो र यसपाली भने त्यो केही हदसम्म सफल पनि भयो। इस्राएलीहरूले मोआबका छोरीहरूसँग अनैतिक सम्बन्ध राख्न थाले र पोरको बाल-देवतासामु दण्डवत्‌ गर्न थाले! तिनीहरूको बहुमूल्य पैतृक-सम्पत्ति अर्थात्‌ प्रतिज्ञा गरिएको देश असाध्यै नजिक भए तापनि लगभग २४,००० इस्राएलीहरूले ज्यान गुमाए। त्यो कत्ति दुःखद्‌ क्षण थियो!—गन्ती २५:१-३, ९.

आज हामी अझै उत्तम खालको प्रतिज्ञा गरिएको देश अर्थात्‌ नयाँ रीतिरिवाजको सँघारमा आइपुगेका छौं। शैतानले पहिलाजस्तै फेरि अहिले पनि परमेश्‍वरका जनहरूलाई भ्रष्ट पार्न यौन अनैतिकतालाई चलाइरहेको छ। नैतिक स्तर भन्‍ने कुरा यस संसारमा यति तल झरेको छ कि व्यभिचारलाई सामान्य रूपमा लिन थालिएको छ र समलैङ्‌गिकतालाई व्यक्‍तिगत रोजाइमा छाडिन्छ। एक मसीही बहिनीले भनिन्‌: “मेरा छोराछोरीले समलैङ्‌गिकता र पति/पत्नीबाहेक अरूसित यौन सम्बन्ध राख्नु परमेश्‍वरको नजरमा गलत हो भनेर सिक्ने ठाउँ घर र राज्यभवन मात्रै हो।”

९. ‘बैंसमा’ के हुन सक्छ र जवानहरूले यसको सामना कसरी गर्न सक्छन्‌?

महान्‌ सृष्टिकर्ताको सम्झना गर्ने जवानहरूलाई, यौन सम्बन्ध भनेको परमेश्‍वरले दिनुभएको पवित्र उपहार हो र यो जीवन र सन्तान जन्माउनुसँग सम्बन्धित छ भनी थाह छ। तसर्थ, परमेश्‍वरको निर्देशनभित्रै रहेर अर्थात्‌ वैवाहिक प्रबन्धभित्र मात्र यौन सम्बन्धको आनन्द उठाउनुपर्छ भनेर तिनीहरूले बुझेका छन्‌। (हिब्रू १३:४) तथापि, सही र गलत छुट्याउनै नसक्ने गरी यौन चाहना तीव्र हुने समय अर्थात्‌ ‘बैंसमा’ पवित्र रहिरहनु गाह्रो हुन सक्छ। (१ कोरि. ७:३६) मनमा अनुचित इच्छा पलाएमा तपाईं के गर्न सक्नुहुन्छ? स्वस्थकर कुराहरूमा ध्यान दिन मदत दिनुहोस्‌ भनी यहोवालाई व्यग्र प्रार्थना गर्नुहोस्‌। निष्कपट भएर उहाँलाई पुकार्नेहरूको बिन्ती यहोवा सधैं सुन्‍नुहुन्छ। (लूका ११:९-१३ पढ्‌नुहोस्‌) उत्थानदायी कुराकानीले पनि असल कुरामा मन लगाउन मदत गर्न सक्छ।

बुद्धिमानीसाथ लक्ष्य छान्‍नुहोस्‌!

१०. कस्तो नकारात्मक सोचाइ हामी हटाउन चाहन्छौं र हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौं?

१० यस संसारका थुप्रै जवानहरू बेलगाम र शारीरिक इच्छा पूरा गर्नको लागि मात्र बाँच्नुको एउटा कारण हो, तिनीहरूसँग ईश्‍वरीय डोऱ्‍याइ र भविष्यको निश्‍चित आशा नहुनु। तिनीहरू यशैयाको समयका अभक्‍त मानिसहरूजस्तै छन्‌ जो ‘आनन्द र रमाहट गर्न, मासु खान र मद्य पिउनको’ लागि बाँचिरहेका थिए। (यशै. २२:१३) त्यस्ता मानिसहरू देखेर डाही हुनुको सट्टा, वफादार मानिसहरूका लागि यहोवाले राखेको उज्ज्वल आशामा ध्यान दिए कसो होला! यदि तपाईं परमेश्‍वरको जवान सेवक हुनुहुन्छ भने के तपाईं नयाँ संसारको बाटो उत्सुकतासाथ हेर्नुहुन्छ? के तपाईं यहोवाले अगाडि राखिदिएको ‘त्यस उज्ज्वल आशाको आत्मसंयमसाथ बाटो हेर्न’ हर प्रयास गर्नुहुन्छ? (ती. २:१२, १३) तपाईंको जवाफले तपाईंले आफ्नो लागि राख्नुभएको लक्ष्य र प्राथमिकताहरूलाई असर गर्नेछ।

११. स्कूलमा पढ्‌दै गरेका जवान मसीहीहरूले किन कडा परिश्रम गर्नुपर्छ?

११ जवानहरूले आफ्नो शक्‍ति सांसारिक लक्ष्यहरू प्राप्त गर्नमा लगाएको यो संसार चाहन्छ। हो, तपाईं स्कूलमा पढ्‌दै गर्नुभएकाहरूले राम्रो आधारभूत शिक्षा लिन कडा परिश्रम गर्नुपर्छ। तर नबिर्सनुहोस्‌, तपाईंको लक्ष्य भनेको उचित जागिर पाउनु मात्र होइन तर आफू मण्डलीको लागि सम्पत्ति हुनु र फलदायी राज्य उद्‌घोषक हुनु पनि हो। त्यसको लागि, तपाईं अरूसँग राम्ररी कुराकानी गर्न सक्ने, तार्किक तरिकामा सोच्न सक्ने र शान्तपूर्वक तथा आदरभावसाथ अरूसित तर्क गर्न सक्ने हुनुपर्छ। तैपनि, ती जवानहरू जसले बाइबलको अध्ययन गर्छन्‌ र जीवनमा यसका सिद्धान्तहरू लागू गर्ने प्रयत्न गर्छन्‌, तिनीहरूले संसारकै सर्वोत्तम शिक्षा पाउँछन्‌। साथै तिनीहरूले सफल र अनन्त भविष्यको लागि असल जग बसाल्छन्‌।—भजन १:१-३ पढ्‌नुहोस्‌। a

१२. मसीही परिवारहरूले कस्तो उदाहरणलाई अनुकरण गर्नुपर्छ?

१२ आमाबाबुले छोराछोरीलाई दिने शिक्षालाई इस्राएलमा निकै महत्त्व दिइन्थ्यो। त्यस शिक्षाले लगभग जीवनका हरेक पाटालाई नै ढाक्थ्यो, अझ विशेषगरि आध्यात्मिक पाटालाई। (व्यव. ६:६, ७) त्यसैले, आफ्ना आमाबाबु र परमेश्‍वरको भय राख्ने अन्य मानिसहरूको सल्लाह सुन्‍ने जवान इस्राएलीहरूले ज्ञान मात्र हासिल गरेनन्‌ तर ईश्‍वरीय शिक्षाले मात्र प्रदान गर्न सक्ने दुर्लभ गुणहरू—बुद्धि, अन्तरदृष्टि, समझ र सोच्ने क्षमता पनि हासिल गरे। (हितो. १:२-४; २:१-५, ११-१५) आजका मसीही परिवारले पनि शिक्षालाई त्यसरी नै हेर्नुपर्छ।

तपाईंले कसको कुरा सुन्‍नुपर्छ?

१३. केही जवानहरूले कस्तो सल्लाह पाउँछन्‌ र तिनीहरू किन होसियार हुनुपर्छ?

१३ जवानहरूले सबै प्रकारका मानिसबाट सल्लाह पाउँछन्‌। सल्लाहको स्रोत स्कूलका शिक्षकहरू पनि हुन सक्छन्‌ जसले विद्यार्थीहरूलाई साधारणतया सांसारिक कामकुरामा कसरी सफलता हासिल गर्ने भन्‍ने कुरामै बढी सल्लाह दिन्छन्‌। कृपया ती सल्लाहलाई प्रार्थनापूर्वक परमेश्‍वरको वचन अनि विश्‍वासी र बुद्धिमान्‌ दासले प्रबन्ध गरेको आध्यात्मिक आहाराहरूको आधारमा तौलनुहोस्‌। जवान र अनुभव नभएकाहरू नै शैतानको मुख्य निशाना हुन्‌ भनी बाइबलको अध्ययनद्वारा तपाईंले थाह पाइसक्नु भएको छ। उदाहरणको लागि, अदनको बगैंचामा अनुभवहीन हव्वाले विरानो व्यक्‍ति शैतानको कुरा सुनिन्‌ जसले उनीप्रति मायाको कुनै छनकसमेत देखाएको थिएन। यदि उनले यहोवा जसले थुप्रै तरिकामा उनीप्रति मायाको प्रमाण दिइसक्नुभएको थियो, उहाँको कुरा सुनेकी भए कत्ति बेग्लै नतिजा निस्कने थियो!—उत्प. ३:१-६.

१४. किन हामीले यहोवा र विश्‍वासमा भएका आमाबाबु दुवैको कुरा सुन्‍नुपर्छ?

१४ महान्‌ सृष्टिकर्ता पनि तपाईंलाई माया गर्नुहुन्छ र यो उहाँले चोखो मनसायसाथ गर्नुहुन्छ। तपाईं सधैंभरि आनन्दित भएको उहाँ चाहनुहुन्छ, अहिले मात्र होइन! त्यसैले मायालु आमाबाबुले जस्तै उहाँ कोमलतासाथ तपाईं र उहाँको उपासना गर्ने सबैलाई यसो भन्‍नुहुन्छ: “बाटो यही हो, यसैमा तिमीहरू हिंड।” (यशै. ३०:२१) यदि तपाईंका आमाबाबु विश्‍वासमा हुनुहुन्छ र यहोवालाई साँच्चै माया गर्नेहरू हुनुहुन्छ भने त यो तपाईंको लागि थप आशिष्‌ हो। प्राथमिकता तथा लक्ष्य निर्धारण गर्दा उहाँहरूको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌। (हितो. १:८, ९) जेसुकै भएपनि, उहाँहरू तपाईंले यस संसारमा पाइने धन र प्रतिष्ठाभन्दा कता हो कता बहुमूल्य कुरा अर्थात्‌ जीवन पाएको चाहनुहुन्छ।—मत्ती १६:२६.

१५, १६. (क) हामी यहोवाबारे कुन कुरामा विश्‍वस्त हुन सक्छौं? (ख) बारूकको अनुभवले हामीलाई कस्तो महत्त्वपूर्ण पाठ सिकाउँछ?

१५ आफ्ना महान्‌ सृष्टिकर्ताको सम्झना गर्नेहरू जीवनलाई सरल राख्छन्‌ र यहोवाले तिनीहरूलाई “कुनै रीतिले” पनि छोड्‌नुहुने छैन न त त्याग्नु नै हुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन्छन्‌। (हिब्रू १३:५ पढ्‌नुहोस्‌) यस्तो स्वस्थकर मनोवृत्ति संसारको सोचाइसँग फिटिक्कै मेल खाँदैन। त्यसैले, संसारको आत्माले आफूलाई प्रभाव पार्न नदिन हामी सजग हुनै पर्छ। (एफि. २:२) यस सन्दर्भमा यर्मियाका सचिव बारूकको उदाहरण विचार गर्नुहोस्‌, जो यरूशलेमको कष्टप्रद आखिरी दिनदेखि ईसापूर्व ६०७ मा त्यस सहरको विनाश हुँदासम्मै थिए।

१६ सायद बारूकले भौतिक तवरमा अझ सम्पन्‍न जीवन बिताउन चाहे। यहोवाले यो कुरा याद गर्नुभयो र आफ्नै निम्ति “ठूला कुराहरू” नखोज्न बारूकलाई दयालुपूर्वक चेतावनी दिनुभयो। बारूक नम्र र बुद्धिमान्‌ साबित भए किनभने तिनले यहोवाको चेतावनी सुने र यरूशलेमको विनाशबाट बच्न सके। (यर्मि. ४५:२-५) तर अर्कोतर्फ, भौतिक रूपमा “ठूला कुराहरू” खोज्ने र यहोवालाई दोस्रो स्थानमा राख्ने बारूकका समकालीनहरूले केही समय नबित्दै कल्दीहरूको (बेबिलोनीहरूको) हातमा सबका-सब गुमाउनुपऱ्‍यो। धेरैले त आफ्नो ज्यानसमेत गुमाए। (२ इति. ३६:१५-१८) यस संसारको धन-सम्पत्ति र ख्यातिभन्दा परमेश्‍वरसितको सम्बन्ध नै महत्त्वपूर्ण छ भनी बुझ्न बारूकको अनुभवले हामीलाई मदत गर्छ।

असल उदाहरणहरूलाई हेर्नुहोस्‌

१७. किन येशू, पावल र तिमोथी यहोवाको आजका सेवकहरूका लागि आदर्श नमुना हुन्‌?

१७ हामीलाई जीवनको बाटोमा हिंड्‌न मदत गर्नको लागि परमेश्‍वरको वचनले थुप्रै आदर्श नमुनाबारे बताउँछ। उदाहरणको लागि, आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा प्रतिभाशाली व्यक्‍ति येशू हुनुहुन्थ्यो। तैपनि, उहाँले आफ्नो ध्यान मानिसहरूलाई अनन्तसम्म मदत गर्ने “राज्यको सुसमाचार” प्रचार गर्नमै लगाउनुभयो। (लूका ४:४३) यहोवालाई आफूसँग भएको सर्वोत्तम कुरा दिन प्रेरित पावलले लोभलाग्दो अवसरलाई त्यागे र आफ्नो समय र शक्‍ति सुसमाचार सुनाउनमा प्रयोग गरे। “विश्‍वासमा . . . सच्चा छोरा” तिमोथीले पावलको असल उदाहरण अनुकरण गरे। (१ तिमो. १:२) के येशू, पावल र तिमोथी आफ्नो छनौटदेखि थकथकाए? अहँ, पटक्कै थकथकाएनन्‌! साँच्चै भन्‍ने हो भने, परमेश्‍वरको सेवा गर्ने सुअवसरको तुलनामा यस संसारले दिनसक्ने कुरालाई आफूले “रद्दी” ठानें भनी पावलले भने।—फिलि. ३:८-११.

१८. एक जवान भाइले कस्तो ठूलो परिवर्तन गरे र आफ्नो निर्णयमा उनी किन थकथकाएका छैनन्‌?

१८ आजका थुप्रै जवान मसीहीहरूले येशू, पावल र तिमोथीको विश्‍वास अनुकरण गर्छन्‌। उदाहरणको लागि, एक समय असाध्यै राम्रो कमाइ हुने जागिर खाएका एक जवान भाइले यसरी लेखे: “बाइबल सिद्धान्तअनुरूप जीवन बिताएकोले गर्दा मैले छिट्टै प्रमोसन पाएँ। आर्थिक लाभ हुँदा-हुँदै पनि आफूले बतासलाई खेदिरहेको जस्तो मात्र लाग्यो। जब मैले कम्पनीको कार्यकारी समितिकहाँ गएर पूर्ण-समय सेवकाई गर्ने आफ्नो चाहनाबारे बताएँ, मैले जागिर नछोडोस्‌ भनेर उनीहरूले पैसा बढाउने प्रस्ताव तुरुन्तै तेर्साए। तर मैले अठोट गरिसकेको थिएँ। पूर्ण-समय सेवा गर्न किन मैले आकर्षक पेशा त्यागें, धेरैले बुझ्न सकेनन्‌। तर मेरो जवाफ हो ‘म परमेश्‍वरप्रतिको आफ्नो समपर्णअनुरूपै जिउन चाहन्छु।’ अहिले मेरो जीवन आध्यात्मिक गतिविधिमा केन्द्रित भएकोले, जतिसुकै पैसा अथवा जस्तोसुकै मान-सम्मानले दिनसक्ने भन्दा ठूलो आनन्द र सन्तुष्टि पाएको छु।”

१९. जवानहरूलाई कस्तो बुद्धिमानी छनौट गर्न प्रोत्साहन दिइएको छ?

१९ विश्‍वभरि नै, हजारौं जवानहरूले यस्तै बुद्धिमानी छनौट गरेका छन्‌। त्यसकारण जवानहरू हो, आफ्नो भविष्यबारे सोच्दा यहोवाको दिनलाई मनमा राख्नुहोस्‌। (२ पत्रु. ३:११, १२) संसारका कुराहरूबाट अधिक लाभ उठाइरहेकाहरूलाई देखेर डाह नगर्नुहोस्‌। बरु, तपाईंलाई साँच्चै माया गर्नेहरूको कुरा सुन्‍नुहोस्‌। “स्वर्गमा धन-सम्पत्ति” थुपार्नु नै तपाईंले गर्न सक्ने सबैभन्दा सुरक्षित लगानी हो र यसले मात्र अनन्त लाभ दिन सक्छ। (मत्ती ६:१९, २०; १ यूहन्‍ना २:१५-१७ पढ्‌नुहोस्‌) हो, आफ्ना महान्‌ सृष्टिकर्ताको सम्झना गर्नुहोस्‌। यसो गर्नुहुँदा यहोवाको आशिष्‌ तपाईंमाथि रहनेछ।

(w 08 4/15)

[फुटनोट]

a उच्च शिक्षा र जागिरको सन्दर्भमा प्रहरीधरहरा, अक्टोबर १, २००५, पृष्ठ २६-३१ हेर्नुहोस्‌।

के तपाईं याद गर्न सक्नुहुन्छ?

• यहोवामा भरोसा राखेको कुरा हामी कसरी देखाउँछौं?

• सर्वोत्तम शिक्षा कुन हो?

• बारूकबाट हामी के पाठ सिक्न सक्छौं?

• क-कसलाई हामी आदर्श नमुना भन्‍न सक्छौं र किन?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएका चित्रहरू]

यहोवा सर्वोत्तम शिक्षा प्रदान गर्नुहुन्छ