सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यस अन्तको समयमा विवाह गर्नु र आमाबाबु बन्‍नु

यस अन्तको समयमा विवाह गर्नु र आमाबाबु बन्‍नु

यस अन्तको समयमा विवाह गर्नु र आमाबाबु बन्‍नु

“समय अल्प भएको छ।”—१ कोरि. ७:२९.

१. (क) ‘आखिरी दिनको डरलाग्दो समयमा’ भइरहेका थुप्रै परिवर्तनमध्ये केही के हुन्‌? (ख) बदलिंदो पारिवारिक मूल्यमान्यता हाम्रो लागि किन चासोको विषय हो?

 ‘अन्तको समयमा’ युद्ध, भूइँचालो, अनिकाल र रूढी हुनेछ भनी परमेश्‍वरको वचनमा भविष्यवाणी गरिएको थियो। (दानि. ८:१७, १९; लूका २१:१०, ११) मानव इतिहासको यस निर्णायक समयमा ठूल्ठूला सामाजिक परिवर्तनहरू हुनेछ भनेर पनि बाइबलमा चेतावनी दिइएको थियो। ‘आखिरी दिनको डरलाग्दो समयमा’ हुने कुरामध्ये एउटा हो, पारिवारिक जीवनमा हुने उथलपुथल। (२ तिमो. ३:१-४) त्यस्ता परिवर्तनहरू हाम्रो लागि किन चासोको विषय हो? किनभने यी परिवर्तनको लहड यति साह्रो चारैतिर फैलिएको छ र यसको प्रभाव यति सशक्‍त छ कि यसले विवाह गर्नु र आमाबाबु बन्‍नुप्रतिको मसीहीहरूको सोचाइलाई असर गर्न सक्छ। कसरी?

२. संसारमा विवाह र सम्बन्ध विच्छेदप्रति साधारणतया कस्तो दृष्टिकोण राखिन्छ?

आजभोलि सजिलै सम्बन्ध विच्छेद गर्न सकिन्छ र यो व्याप्त छ। थुप्रै देशमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या आकासिंदै छ। तर हामी के कुरामा स्पष्ट हुनुपर्छ भने, विवाह र सम्बन्ध विच्छेदप्रति संसारमा साधारणतया स्वीकार्य विचारधारा परमेश्‍वरको दृष्टिकोणसँग पटक्कै मेल खाँदैन। त्यसोभए यसबारे यहोवाको दृष्टिकोण के हो त?

३. यहोवा र येशू ख्रीष्टले विवाहलाई कसरी हेर्नुहुन्छ?

विवाहित जोडीहरू आफ्नो विवाह वाचाप्रति वफादार रहेको यहोवा परमेश्‍वर चाहनुहुन्छ। प्रथम पुरुष र स्त्रीको मिलन गराइदिंदा यहोवाले यसो भन्‍नुभयो: ‘मानिस आफ्नी स्वास्नीसँग मिलिरहनुपर्छ र तिनीहरू एउटै जीउ हुनुपर्छ।’ पछि, येशू ख्रीष्टले पनि यो कुरा दोहोऱ्‍याउँदै यसो भन्‍नुभयो: “यसकारण जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।” येशूले अझ यसो भन्‍नुभयो: “जसले व्यभिचारको कारणबाहेक स्वास्नीलाई त्यागेर अर्कोसित विवाह गर्ला, त्यसले व्यभिचार गर्दछ।” (उत्प. २:२४; मत्ती १९:३-६, ९) तसर्थ, यहोवा र येशू विवाहलाई आजीवन बन्धनको रूपमा लिनुहुन्छ। यो बन्धन पति या पत्नीको मृत्यु भएमा मात्र टुंगिन्छ। (१ कोरि. ७:३९) विवाह पवित्र प्रबन्ध भएकोले सम्बन्ध विच्छेद एउटा गम्भीर विषय हो। वास्तवमा, धर्मशास्त्रीय आधारविना गरिएको सम्बन्ध विच्छेदलाई यहोवा घृणा गर्नुहुन्छ भनी परमेश्‍वरको वचनले स्पष्ट पार्छ। aमलाकी २:१३-१६; ३:६ पढ्‌नुहोस्‌।

विवाहलाई जिम्मेवार ढंगमा लिनुहोस्‌

४. हतारिएर बिहे गरेकोमा कतिपय जवान मसीहीहरू किन पछुतो गर्छन्‌?

हामी बाँचिरहेको अभक्‍त संसार यौनलिप्त छ। हरेक दिन हामीमाथि कामुक दृश्‍यहरूको ओइरो लागेको छ। त्यस्ता दृश्‍यहरूले हामीमाथि र अझ विशेषगरि हाम्रो मण्डलीका बहुमूल्य सदस्यहरू अर्थात्‌ जवानहरूमाथि पार्ने प्रभावलाई बेवास्ता गर्न सकिंदैन। त्यस्ता अस्वस्थकर प्रभावहरूले आफ्नो इच्छा नहुँदा समेत यौन चाहना प्रबल बनाउन सक्छ। यस्तो बेला जवान मसीहीहरूले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? कसै-कसैले सानै उमेरमा बिहे गरेर यसबाट बच्न खोजेका छन्‌। यसरी तिनीहरू यौन अनैतिकतामा फस्नदेखि जोगिने आशा गर्छन्‌। तर केही समय नबित्दै कतिपय जवानहरूले आफ्नो त्यस्तो निर्णयप्रति पछुतो गरेका छन्‌। किन? विवाहको सुरु-सुरुको उमंग हराउँदै गएपछि तिनीहरूले आफू र आफ्नो जोडीबीच दैनिक जीवनको कामकुरामा समानता नभएको कुरा याद गरेका छन्‌। पक्कै पनि त्यस्ता दम्पतीहरूले गम्भीर चुनौतीको सामना गर्नुपर्ने हुन्छ।

५. विवाह वाचाप्रति वफादार रहन दम्पतीहरूलाई केले मदत गर्नेछ? (पादटिप्पणी पनि हेर्नुहोस्‌।)

आफूले बिहे गरेको व्यक्‍ति—चाहे तिनी सँगी मसीही नै किन नहून्‌—सोचेभन्दा एकदमै फरक पाउँदा पक्कै गाह्रो हुन सक्छ। (१ कोरि. ७:२८) तर परिस्थिति जस्तोसुकै चुनौतीपूर्ण भए तापनि साँचो मसीहीहरूलाई के कुरा थाह छ भने, समस्याग्रस्त वैवाहिक सम्बन्धको स्वीकार्य समाधान बाइबल सिद्धान्त विपरीत गएर सम्बन्ध विच्छेद गर्नु चाहिं होइन। त्यसैले, विवाह वाचाप्रति वफादार रहनको लागि आफ्नो वैवाहिक सम्बन्धलाई जोगाइ राख्न कडा प्रयास गर्नेहरू मसीही मण्डलीबाट आदर र मायालु मदत पाउन योग्यका छन्‌। b

६. विवाह गर्ने कुरालाई जवान मसीहीहरूले कसरी हेर्नुपर्छ?

के तपाईं जवान र अझै अविवाहित हुनुहुन्छ? त्यसो हो भने, विवाह गर्ने कुरालाई तपाईंले कसरी हेर्नुपर्छ? शारीरिक, मानसिक र आध्यात्मिक तवरमा तपाईं विवाहको लागि तयार नहोउन्जेल विपरीत लिंगको मसीहीसित रोमान्टिक सम्बन्ध सुरु नै नगर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईंले आफूलाई थुप्रै पीडादेखि बचाउन सक्नुहुन्छ। हो, बाइबलमा बिहे गर्ने उमेर तोकिएको त छैन। c तर बाइबलले यति चाहिं भन्छ कि यौन भावनाहरू एकदमै तीव्र हुने उमेर नबितुन्जेल पर्खनु बेस। (१ कोरि. ७:३६) किन? किनभने तीव्र यौन इच्छाले असल निर्णय गर्ने क्षमतालाई कमजोर पार्न सक्छ र तपाईंले मूर्ख निर्णय पनि गर्न सक्नुहुन्छ जसले गर्दा पछि निकै पीडा हुन सक्छ। नबिर्सनुहोस्‌, बाइबलमा पाइने विवाहसम्बन्धी यहोवाको बुद्धिमानी सल्लाह तपाईंकै फाइदा र खुसीको लागि हो।यशैया ४८:१७, १८ पढ्‌नुहोस्‌।

जिम्मेवार आमाबाबु बन्‍नु

७. केही जवान दम्पतीहरूले के अनुभव गर्छन्‌ र यसले तिनीहरूको विवाहमा कसरी तनाव उत्पन्‍न गर्न सक्छ?

सानै उमेरमा बिहे गर्ने कोही-कोही जवान दम्पतीहरू आफै नै बच्चाजस्तो हुँदा आफू आमाबाबु बन्छन्‌। तिनीहरूले एकअर्कालाई राम्ररी चिन्‍न पनि नपाउँदै रातदिन ध्यान चाहिने बच्चाको जन्म हुन्छ। बच्चा जन्मेपछि पक्कै पनि आमाको सबै ध्यान उतर्फ नै हुन्छ जसले गर्दा जवान पतिलाई आरिस लाग्न सक्छ। यसबाहेक, राती राम्ररी सुत्न नपाउँदा ती दम्पतीको सम्बन्धमा तनाव उत्पन्‍न हुन सक्छ। तिनीहरूले अकस्मात्‌ आफ्नो स्वतन्त्रता गुमेको महसुस गर्न सक्छन्‌। तिनीहरू अब पहिला जस्तो मजाले घुम्न जाने वा पहिला गर्ने गरेको गतिविधिहरूमा भाग लिन सक्दैनन्‌। तिनीहरूले आफ्नो यस्तो बदलिंदो परिस्थितिलाई कसरी हेर्नुपर्छ?

८. आमाबाबु बन्‍नुलाई कसरी लिनुपर्छ र किन?

विवाहलाई गम्भीर जिम्मेवारीको रूपमा लिएझैं आमाबाबु बन्‍नुलाई पनि परमेश्‍वरबाट पाएको जिम्मेवारी र सुअवसरको रूपमा लिनुपर्छ। बच्चा जन्मिएपछि मसीही दम्पतीले आफ्नो जीवनमा जस्तोसुकै छाँटकाँट गर्नुपरे तापनि तिनीहरूले त्यो जिम्मेवार तरिकामा गर्न सक्दो गर्नुपर्छ। यहोवाले मानिसजातिलाई सन्तान जन्माउने क्षमता दिनुभएको छ। त्यसैकारण आमाबाबुले नवजात शिशुलाई “परमप्रभुले दिनुभएको हक”-को रूपमा स्वीकार्नुपर्छ। (भज. १२७:३) मसीही आमा र बुबाले ‘प्रभुमा आमाबाबु’ हुनुको आफ्नो जिम्मेवारी बहन गर्न सक्दो कोसिस गर्नेछन्‌।—एफि. ६:१.

९. (क) बच्चा हुर्काउनुमा के-के समावेश छ? (ख) पत्नी आध्यात्मिक तवरमा बलियो बनिरहन पतिले कसरी मदत गर्न सक्छन्‌?

बच्चा हुर्काउनु भनेको चानचुने कुरा होइन, वर्षौंसम्म आत्म-त्यागको खाँचो पर्छ। आमाबाबुले धेरै समय र शक्‍ति खर्चिनुपर्छ। बच्चा जन्मेको केही वर्षसम्म पत्नीले सभाहरूमा सायद पूरै ध्यान दिन सक्दिनन्‌ र व्यक्‍तिगत बाइबल अध्ययन र मननको लागि त्यति धेरै मौका पाउँदिनन्‌ भनेर मसीही पतिले बुझ्नुपर्छ। यसो हुँदा उनको आध्यात्मिक स्वास्थ्य कमजोर हुन सक्छ। जिम्मेवार आमाबाबु बन्‍नुको अर्थ पतिले बच्चाको हेरचाहमा व्यावहारिक रूपले सक्दो मदत गर्नु पनि हो। सभामा आफ्नी पत्नीले छुटाएका केही बुँदा, पतिले पछि घरमा छलफल गरेर त्यसको क्षतिपूर्ति गर्ने कोसिस गर्न सक्छन्‌। पत्नीले राज्य प्रचारकार्यमा अर्थपूर्ण ढंगमा भाग लिन सकून्‌ भनी तिनले बच्चा हेरिदिने पनि गर्न सक्छन्‌।फिलिप्पी २:३, ४ पढ्‌नुहोस्‌।

१०, ११. (क) छोराछोरीलाई यहोवाको “शिक्षामा” कसरी हुर्काउन सकिन्छ? (ख) किन थुप्रै मसीही आमाबाबु प्रशंसा पाउन योग्यका छन्‌?

१० जिम्मेवार आमाबाबु बन्‍नुको अर्थ छोराछोरीलाई गाँस, बास र कपासका साथै स्वास्थ्योपचारको व्यवस्था गर्नु मात्र होइन। विशेष गरी अन्तको यस डरलाग्दो समयमा केटाकेटीले नैतिक सिद्धान्तअनुसार जीवन बिताउन कलिलै उमेरदेखि सिक्नुपर्छ। छोराछोरीलाई यहोवाको “अनुशासन र शिक्षामा” हुर्काउनुपर्छ। (एफि. ६:४, NRV) यस “शिक्षामा” शैशवकालदेखि किशोरावस्था नपुगुन्जेलसम्म छोराछोरीको मनमा परमेश्‍वरका विचारहरू हालिदिनु समावेश छ।—२ तिमो. ३:१४, १५.

११ येशूले आफ्ना अनुयायीहरूलाई “सबै देशका जातिहरूलाई चेला बनाओ,” भन्‍नुहुँदा उहाँले अवश्‍यै आमाबाबुले आफ्ना छोराछोरीलाई चेला बन्‍न मदत गर्नुपर्छ भनेर पनि बताइरहनुभएको थियो। (मत्ती २८:१९, २०) यो सजिलो कुरा होइन किनभने यस संसारले जवानहरूमाथि दबाबहरू थोपर्छ। त्यसकारण, आफ्ना छोराछोरीलाई समर्पित मसीही बनाउन सफल आमाबाबु साँच्चै नै मण्डलीका सबैबाट न्यानो प्रशंसा पाउन योग्यका छन्‌। तिनीहरू आफ्नो विश्‍वासद्वारा र दत्तचित्तका साथ जिम्मेवार आमाबाबु बनेर संसारको प्रभावमाथि “विजयी” हुन सकेका छन्‌।—१ यूह. ५:४.

असल उद्देश्‍यको लागि अविवाहित रहने वा बच्चा नजन्माउने

१२. कतिपय मसीहीले केही समय विवाह नगर्ने निर्णय गर्छन्‌, किन?

१२ “समय अल्प” भएकोले र “यस संसारको रूप बितेर” जाँदै गरेकोले परमेश्‍वरको वचन हामीलाई अविवाहित अवस्थाको फाइदा उठाउन जोड दिन्छ। (१ कोरि. ७:२९-३१) त्यसैले केही मसीहीहरू जीवनभरि नै अविवाहित रहने वा केही वर्ष अविवाहित रहने निर्णय गर्छन्‌। तिनीहरू आफ्नो अविवाहित अवस्थाको फाइदा उठाउँदै स्वार्थी इच्छाहरूको पछि लाग्दैनन्‌। यो प्रशंसायोग्य कुरा हो। “बाधा विना” यहोवाको सेवा गर्नका लागि थुप्रैले विवाह नगर्ने निर्णय गर्छन्‌। (१ कोरिन्थी ७:३२-३५ पढ्‌नुहोस्‌) कतिपय अविवाहित मसीहीहरू अग्रगामी वा बेथलाइटको हैसियतमा सेवा गर्छन्‌। अरू कतिले चाहिं मिनिस्टेरियल ट्रेनिङ स्कूलमा भाग लिएर यहोवाको संगठनमा आफूलाई अझ धेरै उपयोगी बनाउँछन्‌। वास्तवमा भन्‍ने हो भने, कतिपयले अविवाहित रहेर पूर्ण-समय सेवा गर्दा सिकेको अमूल्य पाठले पछि विवाह गरिसकेपछि समेत तिनीहरूको विवाहलाई मदत गरेको पाएका छन्‌।

१३. किन कतिपय मसीही दम्पतीले बच्चा नजन्माउने निर्णय गर्छन्‌?

१३ संसारको केही भागमा पारिवारिक जीवनमा एउटा अर्को प्रकारको परिवर्तन आएको छ। त्यो हो, थुप्रै दम्पतीहरूको बच्चा नजन्माउने निर्णय। कतिपयले आर्थिक कारणले गर्दा यस्तो निर्णय लिन्छन्‌ भने कोहीचाहिं धेरै पैसा कमाइने पेशामा अझै अघि बढ्‌न। मसीहीहरूमाझ पनि बच्चा नजन्माउने निर्णय गरेका दम्पतीहरू छन्‌। तथापि, तिनीहरूले यसो गर्नुको कारण चाहिं बाधाविना यहोवाको सेवा गर्न हो। यसको अर्थ त्यस्ता दम्पतीहरूले सामान्य विवाहित जीवनको आनन्दै उठाउँदैनन्‌ भन्‍ने चाहिं होइन। तिनीहरूले आनन्द उठाउँछन्‌। राज्य गतिविधिहरूलाई प्राथमिकता दिन तिनीहरू विवाहले ल्याउने केही आशिष्‌हरूलाई माया मार्छन्‌। (१ कोरि. ७:३-५) यस्ता कतिपय दम्पतीहरू क्षेत्र तथा जिल्लाको काम वा बेथेल सेवामा संलग्न रहेर यहोवा र आफ्ना भाइहरूको सेवा गर्छन्‌। अरूले चाहिं अग्रगामी वा मिसनरीको रूपमा सेवा गर्छन्‌। यहोवा तिनीहरूको काम र तिनीहरूले उहाँको नाउँको लागि देखाएको प्रेमलाई बिर्सनुहुन्‍न।—हिब्रू ६:१०.

“शरीरमा कष्ट”

१४, १५. मसीही आमाबाबुलाई “शरीरमा” कस्तो “कष्ट” हुन सक्छ?

१४ विवाहित मसीहीहरूलाई “शरीरमा कष्ट” हुनेछ भनी प्रेरित पावलले बताए। (१ कोरि. ७:२८) यो “कष्ट” भनेको पति या पत्नी, छोराछोरी वा आफ्ना बूढाबूढी भइसकेका आमाबाबुको स्वास्थ्य समस्या हुन सक्छ। यो, छोराछोरी हुर्काउनुसित सम्बन्धित कठिनाइ र चोट पनि हुन सक्छ। यस लेखको सुरुमा बताइएझैं बाइबलले “आखिरी दिनमा डरलाग्दो समय आउनेछ” भनी भविष्यवाणी गरेको थियो। त्यस समयमा सामना गर्न गाह्रो कुराहरूमध्ये एउटा “आमा-बाबुको आज्ञा पालन नगर्ने” छोराछोरी हुनेथिए।—२ तिमो. ३:१-३.

१५ मसीही आमाबाबुको लागि छोराछोरी हुर्काउनु एउटा गम्भीर चुनौती हो। यस “आखिरी दिन”-को प्रतिकूल प्रभावहरूले हामीलाई असर गर्न सक्छ। त्यसैले “यस संसारको रीति”-ले आफ्नो छोराछोरीमा पार्न सक्ने घातक प्रभावहरू विरुद्ध मसीही आमाबाबुले संघर्ष गरिरहनुपर्छ। (एफि. २:२, ३) अनि सधैं विजयी भइन्छ भन्‍ने छैन! मसीही परिवारको छोरा वा छोरीले यहोवाको सेवा गर्न छोड्‌दा यो पक्कै पनि छोराछोरीलाई सत्यमा हुर्काउन प्रयास गरेका आमाबाबुको लागि “कष्ट” हो।—हितो. १७:२५.

“त्यस बेला यस्तो महा संकष्ट हुनेछ”

१६. कुन “संकष्ट”-बारे येशूले भविष्यवाणी गर्नुभयो?

१६ विवाह र छोराछोरीसित सम्बन्धित कुनै पनि “कष्ट” अर्थात्‌ संकष्टभन्दा कता हो कता ठूलो एउटा संकष्ट आउनेछ। उहाँको उपस्थिति र जगत्‌को अन्तबारे भविष्यवाणी गर्दा येशूले यस्तो उल्लेख गर्नुभयो: “त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्‌को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:३, २१) ठूलो भीडले यो “महा संकष्ट” पार गर्नेछ भनी येशूले पछि प्रकाश पार्नुभयो। तर शैतानको रीतिरिवाज यहोवाका शान्तिप्रिय साक्षीहरू विरुद्ध अन्तिम चोटि भएभरको शक्‍ति लगाएर जाइलाग्नेछ, त्यसले सजिलै हार मान्दैन। पक्कै पनि, त्यसबेला हामी वयस्क र केटाकेटी सबैलाई गाह्रो हुनेछ।

१७. (क) हामी किन विश्‍वस्तताका साथ भविष्यको बाटो हेर्न सक्छौं? (ख) विवाह गर्नु र आमाबाबु बन्‍नुप्रतिको हाम्रो दृष्टिकोणमा केले प्रभाव पार्नुपर्छ?

१७ तर हामी भविष्यबारे अचाक्ली डराउनु पर्दैन। यहोवाप्रति विश्‍वासी आमाबाबुले आफ्ना स-साना छोराछोरीसँगै सुरक्षा पाउने आशा गर्न सक्छन्‌। (यशैया २६:२०, २१ पढ्‌नुहोस्‌; सप. २:२, ३; १ कोरि. ७:१४) त्यतिन्जेल, यस अन्तको समयमा विवाह गर्नु र आमाबाबु बन्‍नुप्रतिको हाम्रो सोचाइलाई हामी बाँचिरहेको डरलाग्दो समयबारेको ज्ञानले प्रभाव पारोस्‌। (२ पत्रु. ३:१०-१३) यसो गऱ्‍यौं भने चाहे हामी अविवाहित हौं वा विवाहित, छोराछोरी भएका हौं वा नभएका, यहोवा अनि उहाँको मसीही मण्डलीको आदर र प्रशंसा गरिरहेका हुनेछौं। (w08 4/15)

[फुटनोटहरू]

a लिभ विथ जेहोभाज्‌ डे इन माइन्ड (यहोवाको दिन सम्झँदै जीवन बिताउनुहोस्‌) पुस्तकको पृष्ठ १२५ मा “सम्बन्ध विच्छेदलाई उहाँ घृणा गर्नुहुन्छ” भन्‍ने उपशीर्षक अन्तर्गत हेर्नुहोस्‌।

b वैवाहिक समस्यासित जुझिरहेकाहरूले प्रहरीधरहरा, सेप्टेम्बर १५, २००३ब्यूँझनुहोस्‌!, फेब्रुअरी ८, २००१ मा प्रकाशित लेखहरू पुनरावृत्ति गर्दा बल प्राप्त गर्न सक्छन्‌।

पुनरावलोकन गर्दा

• जवान मसीहीहरूले किन हतारिएर विवाह गर्नुहुँदैन?

• बच्चा हुर्काउनुमा के-के समावेश छ?

• किन थुप्रै मसीहीहरूले अविवाहित रहने वा विवाहित हुन्‌ भने पनि बच्चा नजन्माउने छनौट गर्छन्‌?

• मसीही आमाबाबुलाई कस्तो “कष्ट” हुन सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

जवान मसीहीहरूले हतारिएर विवाह नगर्नु किन बुद्धिमानी हो?