सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यूहन्‍नाको पुस्तकका विशेषताहरू

यूहन्‍नाको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

यूहन्‍नाको पुस्तकका विशेषताहरू

“येशूले प्रेम गर्नुहुने चेला” यूहन्‍ना, ख्रीष्टको जीवन र सेवकाईबारे प्रेरित विवरण लेख्ने अन्तिम व्यक्‍ति थिए। (यूह. २१:२०) इस्वी संवत्‌ ९८ तिर लेखिएको यूहन्‍नाको सुसमाचारको पुस्तकमा अन्य तीन सुसमाचारको पुस्तकमा भएका कुराहरू खासै दोहोऱ्‍याइएको पाइँदैन।

प्रेरित यूहन्‍नाले यस सुसमाचारको पुस्तक एउटा खास उद्देश्‍यसहित लेखेका थिए। आफूले लेखेका कुराहरूको सन्दर्भमा तिनले यसो भने: “यी लेखिएका छन्‌, कि तिमीहरूले येशू परमेश्‍वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्‍वास गर्नसक, र विश्‍वास गरेर तिमीहरूलाई उहाँको नाउँमा जीवन होस्‌।” (यूह. २०:३१) यसमा पाइने सन्देश साँच्चै नै ठूलो मोलको छ।—हिब्रू ४:१२.

“हेर, . . . परमेश्‍वरका थुमा!”

(यूह. १:१–११:५४)

येशूलाई देखेपछि बप्तिस्मा दिने यूहन्‍नाले विश्‍वस्त हुँदै यस्तो घोषणा गरे: “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!” (यूह. १:२९) प्रचार गर्दै, सिकाउँदै र चमत्कारहरू गर्दै सामरिया, गालील, यहूदिया र यर्दनको पूर्वी भागमा यात्रा गर्नुहुँदा ‘धेरै उहाँकहाँ आए र उहाँलाई विश्‍वास गरे।’—यूह. १०:४१, ४२.

येशूले गर्नुभएको एउटा एकदमै उल्लेखनीय चमत्कार भनेको लाजरसको पुनरुत्थान हो। मरेको चार दिन भइसकेको मानिस फेरि जीवित भएको देख्दा धेरैले उहाँमाथि विश्‍वास गरे। तर मुख्य पूजाहारी र फरिसीहरूले येशूलाई मार्ने मतो बाँधे। त्यसैले उहाँ त्यहाँबाट “उजाड-स्थानको छेउको देशको इफ्राइम शहरमा जानुभयो।”—यूह. ११:५३, ५४.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:३५, ४०—बप्तिस्मा दिने यूहन्‍नाको साथमा अन्द्रियासबाहेक उभिरहेका अर्को चेला को थिए? लेखकले बप्तिस्मा दिने यूहन्‍नालाई सधैं “यूहन्‍ना” भनी सम्बोधन गरेका छन्‌ भने आफूलाई चाहिं नाउँबाट कहिल्यै चिनाएका छैनन्‌। त्यसैले नाउँ नखुलाइएको चेला सुसमाचारका लेखक यूहन्‍ना आफै हुनुपर्छ।

२:२०—कुन मन्दिर “छियालीस वर्षमा बनाइयो”? यहूदियाका राजा हेरोदले सुरु गरेको यरूबाबेलको मन्दिरको पुनर्निर्माणलाई यहूदीहरूले संकेत गरिरहेका थिए। इतिहासकार जोसेफसअनुसार हेरोदको शासनको १८ औं वर्ष अर्थात्‌ ईसापूर्व १८/१७ मा काम सुरु गरिएको थियो। मन्दिर र अन्य मुख्य संरचना आठ वर्षमा निर्माण गरियो। तथापि, मन्दिर वरपर अन्य निर्माणकार्य इस्वी संवत्‌ ३० को निस्तार चाडसम्म र त्यसपछि पनि चलिरह्‍यो। त्यसैले यहूदीहरूले छयालीस वर्षमा मन्दिर बनाइयो भने।

५:१४—के बिरामी हुनु पापको फल हो? सधैं हो भन्‍न सकिन्‍न। येशूले निको पारेको मानिस ३८ वर्षदेखि बिरामी थिए। तिनको बिरामीको कारण थियो, जन्मजात असिद्धता। (यूह. ५:१-९) तिनलाई दया देखाएर निको पारिएकोले बिमारी वा त्योभन्दा पनि नराम्रो कुरा तिनीमाथि आइ नपरोस्‌ भन्‍नाको खातिर तिनी मुक्‍तिको मार्गमा हिंड्‌नुपर्ने र जानाजानी पापमा फस्न नहुने कुरा येशूले बताउन खोज्दै हुनुहुन्थ्यो। ती मानिस अक्षम्य पापको दोषी हुन सक्थे। तिनी पुनरुत्थान नै नहुने मृत्युको हकदार हुनेथिए।—मत्ती १२:३१, ३२; लूका १२:१०; हिब्रू १०:२६, २७.

५:२४, २५—‘मृत्युदेखि जीवनमा सारिएकाहरू’ को हुन्‌? कुनै समय आध्यात्मिक तवरमा मरेका तर उहाँको वचन सुनेपछि उहाँमा विश्‍वास राखेर पापी मार्ग त्यागेका मानिसहरूबारे येशू कुरा गर्दै हुनुहुन्थ्यो। तिनीहरूलाई ‘मृत्युदेखि जीवनमा सारिएकाहरू’ भनी यो अर्थमा भन्‍न सकिन्छ कि तिनीहरूबाट मृत्युको दोष हटाइएको छ र परमेश्‍वरमाथिको विश्‍वासको कारण तिनीहरूलाई अनन्त जीवनको आशा प्रदान गरिएको छ।—१ पत्रु. ४:३-६.

५:२६; ६:५३—“आफैमा जीवन” हुनुको अर्थ के हो? येशू ख्रीष्टको लागि यसको अर्थ परमेश्‍वरबाट खास दुई वटा योग्यता पाउनु हो। ती हुन्‌: मानिसहरूका लागि यहोवासित राम्रो सम्बन्ध कायम राख्न सम्भव तुल्याइदिने क्षमता र मरिसकेकाहरूलाई ब्यूँताएर जीवन दिन सक्ने शक्‍ति। येशूका अनुयायीहरूका लागिचाहिं “आफैमा जीवन” हुनु भनेको साँचो जीवन पाउनु अर्थात्‌ अनन्त जीवन पाउनु हो। अभिषिक्‍त मसीहीहरूले चाहिं स्वर्गीय जीवनमा पुनरुत्थान भएपछि यो जीवन पाउँछन्‌। पार्थिव आशा भएका परमेश्‍वरका सेवकहरूले साँचो जीवन तब मात्र पाउनेछन्‌ जब तिनीहरूले ख्रीष्टको हजार वर्षीय शासनको अन्त भएलगत्तै हुने अन्तिम परीक्षा पार गर्नेछन्‌।—१ कोरि. १५:५२, ५३; प्रका. २०:५, ७-१०.

६:६४—यहूदा इस्करयोतीलाई चेला छान्दा तिनले पछि धोका दिनेछन्‌ भनी के येशूलाई थाह थियो? उहाँलाई थाह थिएन जस्तो देखिन्छ। तर इस्वी संवत्‌ ३२ मा येशूले आफ्ना प्रेरितहरूलाई एकचोटि यसो भन्‍नुभयो: “तिमीहरूमध्ये एक जना शैतान छौ।” सम्भवतः त्यतिबेला येशूले यहूदा इस्करयोती गलत मार्गमा लाग्न थालेको वा “शुरू” गरेको देख्नुभयो।—यूह. ६:६६-७१.

हाम्रो लागि पाठ:

२:४. परमेश्‍वरको बप्तिस्माप्राप्त अभिषिक्‍त पुत्रको रूपमा आफूले स्वर्गका पिताको निर्देशन पालन गर्नुपर्छ भनी येशू मरियमलाई संकेत गर्दै हुनुहुन्थ्यो। येशूले भर्खरै मात्र आफ्नो सेवकाई सुरु गर्नुभएको भए तापनि उहाँले दिने छुटकाराको बलिदानलगायत उहाँलाई अह्राइएको कामको बेला वा समयबारे उहाँ एकदमै सचेत हुनुहुन्थ्यो। मरियम जस्तो नजिकको परिवारको सदस्यले समेत परमेश्‍वरको इच्छा पूरा गर्ने उहाँको काममा हस्तक्षेप गर्न पाउने थिएन। हामीले पनि त्यस्तै अठोट लिएर यहोवाको सेवा गर्नुपर्छ।

३:१-९. यहूदीहरूका शासक निकोदेमसको उदाहरणबाट हामी दुइटा पाठ सिक्न सक्छौं। पहिलो: नम्र सिकर्मीको छोरोलाई परमेश्‍वरले पठाएका शिक्षकको रूपमा स्वीकार्दै निकोदेमसले नम्रता, अन्तरदृष्टि र आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजगता देखाए। आज साँचो मसीहीहरूले पनि नम्रता देखाउनुपर्छ। दोस्रो: येशू पृथ्वीमा हुनुहुँदा निकोदेमस उहाँको चेला बन्‍नबाट पछि हटे। सायद तिनी पछि हट्‌नुको कारण मानिसको डर, सभाघरमा आफ्नो ओहदाप्रतिको माया वा धनसम्पत्तिको मोह हुन सक्छ। यसबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौं: यस्ता कुराहरूको कारण हामी ‘क्रूस [अर्थात्‌ “शासनाको खम्बा,” NW] उठाएर येशूको पछि लागिरहन’ पछि हट्‌नुहुँदैन।—लूका ९:२३.

४:२३, २४. हाम्रो उपासना परमेश्‍वरलाई स्वीकार्य हुन यो बाइबलमा बताइएको सत्यअनुरूप हुनुका साथै पवित्र आत्माद्वारा डोरिएको हुनै पर्छ।

६:२७. “अनन्त जीवनसम्म रहने खानेकुराको निम्ति” काम गर्नुको अर्थ आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्न प्रयास गर्नु हो। यसो गर्दा हामी धन्यका हुन्छौं।—मत्ती ५:३.

६:४४. यहोवा व्यक्‍तिगत रूपमा हाम्रो ख्याल राख्नुहुन्छ। प्रचारकार्य मार्फत उहाँले हामीलाई व्यक्‍तिगत रूपमा आफ्नो पुत्रतर्फ खिच्नुहुन्छ र बाइबलका सत्य कुराहरू बुझ्न अनि व्यवहारमा उतार्न पवित्र आत्माद्वारा मदत गर्नुहुन्छ।

११:३३-३६. आफ्नो भावना प्रकट गर्नु कमजोरीको चिह्न होइन।

‘उहाँको पछि लागिरहनुहोस्‌’

(यूह. ११:५५–२१:२५)

इस्वी संवत्‌ ३३ को निस्तार चाड नजिकिंदै जाँदा येशू बेथानी फर्कनुहुन्छ। नीसान ९ को दिन उहाँ गधाको बछेडामा चढेर यरूशलेम आउनुहुन्छ। नीसान १० को दिन येशू फेरि मन्दिरमा आउनुहुन्छ। पिताको नाउँ महिमित गरिओस्‌ भनी उहाँले गरेको प्रार्थनाको जवाफमा स्वर्गबाट यस्तो आवाज आउँछ: “मैले महिमा गरेको छु, र फेरि महिमा गर्ने पनि छु।”—यूह. १२:२८.

निस्तार चाडको भोज खाइरहेको बेला येशू आफ्ना अनुयायीहरूलाई महत्त्वपूर्ण सल्लाह दिनुहुन्छ र तिनीहरूको खातिर प्रार्थना गर्नुहुन्छ। उहाँलाई पक्री मुद्दा लगाएर झुन्ड्याइसकेपछि उहाँको पुनरुत्थान हुन्छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१४:२—येशूले आफ्ना विश्‍वासी अनुयायीहरूका लागि कसरी स्वर्गमा ‘ठाउँ तयार पार्नु’ हुनेथियो? यसमा परमेश्‍वरसामु उपस्थित भई आफूले बगाएको रगतको मूल्य प्रस्तुत गरेर नयाँ करारलाई मान्यता दिलाउनु समावेश हुनेथियो। यस तयारीमा ख्रीष्टले राजकीय शक्‍ति पाउनु पनि समावेश हुनेथियो जसपछि उहाँका अभिषिक्‍त मसीहीहरूको स्वर्गीय पुनरुत्थान सुरु हुनेथियो।—१ थिस्स. ४:१४-१७; हिब्रू ९:१२, २४-२८; १ पत्रु. १:१९; प्रका. ११:१५.

१९:११—उहाँलाई सुम्पिदिने मानिसबारे पिलातससित कुरा गर्नुहुँदा के येशूले यहूदा इस्करयोतीलाई संकेत गर्दै हुनुहुन्थ्यो? यहूदा वा अन्य कुनै व्यक्‍तिविशेषलाई मात्र संकेत गर्नुको सट्टा उहाँको मृत्युमा हात भएका सबैलाई संकेत गरिरहनुभएको थियो जस्तो देखिन्छ। यसमा यहूदा, “मुख्य पूजाहारीहरू र जम्मै महासभा” र बरब्बालाई छुटाउन अर्जी दिने “मानिसहरू” समेत समावेश छन्‌।—मत्ती २६:५९-६५; २७:१, २, २०-२२.

२०:१७—येशूले मरियम मग्दलिनीलाई मलाई नछोऊ भन्‍नुभयो, किन? “छुनु” भनी अनुवाद गरिएको मूल ग्रीक शब्दले “टाँसिनु, झुन्डिनु, समात्नु, पक्रनु” भन्‍ने अर्थ पनि दिन्छ। येशूको साथ नछोडी मरियम उहाँसँगै टाँसिरहनुको कारण तिनलाई येशू अब स्वर्ग उक्लनै लाग्नुभएको छ र उहाँलाई कहिल्यै देख्न पाउनेछैन भन्‍ने डर लागेकोले हुन सक्छ। आफू जाने बेला भएको छैन भनी मरियमलाई आश्‍वस्त पार्न येशूले मलाई नछोऊ बरु गएर चेलाहरूलाई उहाँको पुनरुत्थानको खबर देऊ भन्‍नुभयो।

हाम्रो लागि पाठ:

१२:३६. “ज्योतिका सन्तान” अर्थात्‌ ज्योतिबाहक हुन हामीले परमेश्‍वरको वचन बाइबलको सही ज्ञान लिनुपर्छ। त्यसपछि हामीले त्यो ज्ञान अरूलाई आध्यात्मिक अन्धकारबाट निस्किन मदत गर्न चलाउनुपर्छ।

१४:६. हामीले येशू ख्रीष्ट मार्फत मात्रै परमेश्‍वरको अनुमोदन पाउन सक्छौं। अन्य कुनै तरिकाबाट सम्भव छैन। येशूमा विश्‍वास गरेर र उहाँको उदाहरण पछ्याएर मात्र हामी यहोवाको नजिक हुन सक्छौं।—१ पत्रु. २:२१.

१४:१५, २१, २३, २४; १५:१०. परमेश्‍वरको इच्छाबमोजिम गर्दा हामी उहाँ र उहाँका पुत्रको प्रेममा रहिरहन मदत पाउँछौं।—१ यूह. ५:३.

१४:२६; १६:१३. यहोवाको पवित्र आत्माले शिक्षा दिन्छ साथै पहिले सिकेका कुराहरूको पुनः सम्झना दिलाउने काम गर्छ। यसले सत्य पनि प्रकट गर्छ। तसर्थ यसले हामीलाई ज्ञान, बुद्धि, अन्तरदृष्टि, विवेक र सोच्ने क्षमता विकास गर्न मदत गर्छ। त्यसैले विशेष गरी उहाँको आत्मा माग्दै हामीले अटुटसँग प्रार्थना गरिरहनुपर्छ।—लूका ११:५-१३.

२१:१५, १९. माछाहरू देखाउँदै “यिनीहरू”-लाई भन्दा मलाई धेरै प्रेम गर्छौ कि गर्दैनौ भनी येशूले पत्रुसलाई सोध्नुभयो। यसरी, माछा मार्ने कामको सट्टा पूर्ण-समय उहाँको पछि लाग्ने छनौट गर्नुपर्ने कुरामाथि येशूले जोड दिनुभयो। सुसमाचारका विवरणहरू विचार गरिसकेपछि हामीलाई आकर्षित गर्ने अरू कुनै पनि कुराभन्दा येशूलाई प्रेम गर्ने हाम्रो संकल्प अझ बलियो होओस्‌। हो, तनमनले उहाँको पछि लागिरहौं। (w08 4/15)

[पृष्ठ ३१-मा भएको चित्र]

निकोदेमसको उदाहरणबाट हामी के सिक्न सक्छौं?