सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

व्यर्थ कुराहरूलाई इन्कार गर्नुहोस्‌

व्यर्थ कुराहरूलाई इन्कार गर्नुहोस्‌

व्यर्थ कुराहरूलाई इन्कार गर्नुहोस्‌

“व्यर्थको योजना बनाउनु मूर्खता हो।”—हितो. १२:११.

१. हामीसित हुन सक्ने केही अनमोल कुरा के-के हुन्‌ र यिनलाई प्रयोग गर्ने सर्वोत्तम तरिका के हो?

 हामी सबैसित कुनै न कुनै अनमोल कुरा छन्‌। कसैसित स्वास्थ्य होला त कसैसित सरसम्पत्ति। कोही बलिया होलान्‌ त कोही बुद्धिमान्‌। हामी यहोवालाई माया गर्छौं, त्यसैले आफूसित भएका यी अनमोल कुरा राजीखुसीले उहाँको महिमा गर्न प्रयोग गर्छौं। हुन पनि, “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर्‌” भनेर बाइबल हामीलाई आग्रह गर्छ।—हितो. ३:९.

२. व्यर्थ कुराहरूबारे बाइबलमा कस्तो चेतावनी दिइएको छ अनि यो चेतावनीको अर्थ के हो?

अर्कोतिर, बाइबलले व्यर्थ कुराहरूको पछि नलाग्नू भनेर हामीलाई होसियार गराएको छ र कस्ता कुरा व्यर्थका कुराहरू हुन्‌, त्यो पनि बताएको छ। यससम्बन्धमा हितोपदेश १२:११ का शब्दहरू विचार गर्नुहोस्‌: “आफ्नै जमीन जोत्नेकहाँ प्रशस्त खानेकुरा हुन्छ, तर व्यर्थको योजना बनाउनु मूर्खता हो।” यो नीतिवचनको सरासर अर्थ बुझ्न सजिलो छ। परिवार पाल्न समय र शक्‍ति खर्च गर्ने व्यक्‍तिले भौतिक तवरमा सुरक्षित महसुस गर्छ। (१ तिमो. ५:८) तर जसले व्यर्थ कुराहरू हासिल गर्न आफ्नो समय, शक्‍ति र सरसम्पत्ति खर्च गर्छ, त्यो विना समझको अर्थात्‌ सही निर्णय गर्न नसक्ने मूर्ख हुन्छ। अनि यस्तो व्यक्‍तिलाई हातमुख जोर्न धौ-धौ पर्ने सम्भावना धेरै हुन्छ।

३. व्यर्थ कुराहरूबारे बाइबलमा दिइएको चेतावनी उपासनाको सम्बन्धमा पनि कसरी लागू हुन्छ?

हितोपदेशको यो सिद्धान्त उपासनाको सम्बन्धमा पनि लागू गर्न सकिन्छ। लगनशील अनि वफादार भई यहोवाको सेवा गर्ने व्यक्‍तिले सुरक्षित महसुस गर्छ। त्यस्तो व्यक्‍तिले अहिले परमेश्‍वरको आशिष्‌का साथै र सुनिश्‍चित भविष्यको आशा पाउँछ। (मत्ती ६:३३; १ तिमो. ४:१०) तर व्यर्थ कुरामा अलमलिने मसीहीले यहोवासितको सम्बन्ध अनि भावी जीवनको प्रत्याशालाई खतरामा पार्छ। त्यसोभए, त्यस्तो खतरामा नपर्न हामी के गर्न सक्छौं? “व्यर्थ” कुरा के-के हुन्‌, त्यो स्पष्टसित चिन्‍नैपर्छ र त्यसलाई इन्कार गर्न बलियो अठोट गर्नैपर्छ।— तीतस २:११, १२ पढ्‌नुहोस्‌।

४. सामान्यतया कस्ता कुरालाई व्यर्थ कुराहरू भन्‍न सकिन्छ?

त्यसोभए, व्यर्थ कुराहरू के-के हुन्‌? सीधै भन्‍नुपर्दा, यहोवाको सेवा गर्नदेखि हामीलाई अलमल्याउने जुनसुकै कुरा व्यर्थ कुराहरू हुन्‌। मनोरञ्जन गर्ने विभिन्‍न तरिका यस्तै व्यर्थ कुराहरूमध्ये पर्छन्‌। हो, मनोरञ्जन गर्नु नै गलत त होइन। तर उपासनासित सम्बन्धित कुरालाई पन्छाएर “रमझम” गर्नमै मस्त हुन्छौं भने त्यस्तो मनोरञ्जन व्यर्थको कुरा हुन्छ र त्यसले हाम्रो आध्यात्मिकताका साथै यहोवासितको सम्बन्ध बिगार्छ। (उप. २:२४; ४:६) यसबाट जोगिन मसीहीले आफ्नो अनमोल समय केमा खर्च भइरहेको छ होसियारीसाथ विचार गर्दै सन्तुलित हुने कोसिस गर्नुपर्छ। (कलस्सी ४:५ पढ्‌नुहोस्‌) तर कुनै-कुनै व्यर्थ कुराहरू मनोरञ्जनभन्दा पनि खतरनाक छन्‌। तिनमा झूटा देवताहरू पनि पर्छन्‌।

व्यर्थका देवताहरूलाई इन्कार गर्नुहोस्‌

५. मौलिक हिब्रू बाइबलमा “व्यर्थ” शब्द अक्सर कसरी प्रयोग गरिएको छ?

चाखलाग्दो कुरा, मौलिक हिब्रू बाइबलका धेरै जसो पदहरूमा “व्यर्थ” भन्‍ने शब्द अक्सर झूटा देवताहरूको विषयमा चर्चा गर्दा चलाइएको पाइन्छ। उदाहरणको लागि यहोवाले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू [“व्यर्थ देवताहरू,” NW ] नबनाओ। . . . आफ्ना निम्ति कुनै खोपिएको मूर्ति वा खामो खडा नगर, र खोपिएका ढुङ्‌गाहरू आफ्नो देशमा ठडाएर ती पुज्नलाई घोप्टो नपर। किनभने म परमप्रभु, तिमीहरूका परमेश्‍वर हुँ।” (लेवी २६:१) राजा दाऊदले लेखे: “परमप्रभु ता महान्‌ र सारा प्रशंसाको योग्य हुनुहुन्छ। सबै देवताहरूभन्दा उहाँको भय बढ्‌ता मान्‍नुपर्छ। किनभने अन्यजातिहरूको हरेक देवता ता मूर्ति [“व्यर्थ देवताहरू,” NW ] मात्र हो, तर परमप्रभुले स्वर्गहरू बनाउनुभयो।”—१ इति. १६:२५, २६.

६. झूटा देवताहरू किन व्यर्थ कुरा हुन्‌?

दाऊदले भनेझैं हाम्रो चारैतिर हामी यहोवाको महानताको प्रमाण पाउँछौं। (भज. १३९:१४; १४८:१-१०) यस्तो महान्‌ परमेश्‍वरसित वाचा बाँध्न पाउनु इस्राएलीहरूका लागि साँच्चै ठूलो सम्मानको कुरा थियो। तर उहाँलाई इन्कार गरेर अनि खोपिएका मूर्ति तथा खामोहरूलाई ढोगेर तिनीहरूले असाध्यै मूर्ख काम गरे। अनि आपत्‌ आइपर्दा आफ्ना उपासकहरूलाई जोगाउनु त परै जाओस्‌ आफैलाई बचाउन नसक्दा यी झूटा देवताहरू साँच्चै व्यर्थ वा शक्‍तिहीन साबित भए।—न्याय. १०:१४, १५; यशै. ४६:५-७.

७, ८. “धन” कसरी हाम्रो देवता बन्‍न सक्छ?

थुप्रै मुलुकमा मूर्तिलगायत अन्य मानवनिर्मित वस्तुहरूलाई ढोग्ने चलन यथावत्‌ छ। तर विगतमा जस्तै अहिले पनि यी देवताहरू बेकार साबित भएका छन्‌। (१ यूह. ५:२१) तथापि, बाइबलमा मूर्तिबाहेक अन्य कुरालाई पनि देवता भनिएको छ। उदाहरणको लागि येशूका यी शब्दहरू विचार गर्नुहोस्‌: “कसैले दुई मालिकको चाकरी गर्नसक्‍तैन। किनभने त्यसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित टाँसिनेछ, र अर्कोलाई त्यसले तुच्छ गर्नेछ। तिमीहरूले परमेश्‍वर र धन दुवैको चाकरी गर्नसक्‍तैनौ।”—मत्ती ६:२४.

“धन” पनि कसरी देवता हुन सक्छ? यो कुरा बुझ्न उहिले-उहिले इस्राएलीहरूको खेतमा त्यसै लडिरहेको एउटा ढुंगालाई उदाहरणको रूपमा कल्पना गर्नुहोस्‌। घर वा पर्खाल बनाउन यस्तो ढुंगा उपयोगी हुन सक्थ्यो। तर त्यही ढुंगाको “खामो खडा” गर्दा वा “ठड्याएर” राख्दा यहोवाका जनहरूका लागि त्यो ठोकरको कारण बन्‍न पुग्यो। (लेवी २६:१) रुपैयाँपैसा पनि उपयोगी कुरा हो। जीवन धान्‍नका लागि मात्र भए पनि हामीलाई पैसा चाहिन्छ। अनि यहोवाको काममा खर्च गरेर हामी पैसाको सदुपयोग गर्न सक्छौं। (उप. ७:१२; लूका १६:९) तर यहोवालाई चढाउनुपर्ने सेवालाई प्राथमिकता नदिएर धनसम्पत्ति कमाउने होडमै लाग्यौं भने त्यही “धन” वास्तवमा हाम्रो देवता बन्छ। (१ तिमोथी ६:९, १० पढ्‌नुहोस्‌) धनसम्पत्ति कमाउने होडमा लाग्ने मानिसहरूबीच हामी बाँचिरहेको हुनाले पैसाबारे हाम्रो दृष्टिकोण सन्तुलित छ कि छैन पक्का गर्नुपर्छ।—१ तिमो ६:१७-१९.

९, १०. (क) शिक्षाप्रति मसीहीको दृष्टिकोण कस्तो छ? (ख) उच्च शिक्षा हासिल गर्दा कस्तो खतरा हुन्छ?

उपयोगी भए तापनि व्यर्थ साबित हुन सक्ने अर्को उदाहरण सांसारिक शिक्षा हो। छोराछोरीले जीविका चलाउन सक्ने गरी राम्रो शिक्षादीक्षा पाएको हामी चाहन्छौं। अझै महत्त्वपूर्ण कुरा के हो भने, राम्रो शिक्षादीक्षा पाएको मसीहीले बाइबल पढ्‌दा अझ राम्ररी बुझ्न सक्छ, समस्या आउनुको कारण बुझेर समाधान गर्ने उत्तम तरिका खोज्न सक्छ अनि बाइबलमा भएको सत्य वचन स्पष्ट तथा चित्तबुझ्दो तरिकामा सिकाउन सक्छ। राम्रो शिक्षा पाउन समय खर्च गर्नुपर्छ तर त्यो बेकार जाँदैन।

१० कलेज वा विश्‍वविद्यालयमा गएर उच्च शिक्षा हासिल गर्नेबारे चाहिं के भन्‍न सकिन्छ? सफल हुन उच्च शिक्षा हासिल गरेको हुनैपर्छ भन्‍ने मान्यता अचेल जताततै देखिन्छ। तर उच्च शिक्षा हासिल गर्ने धेरैजसोको मन संसारको हानीकारक बुद्धिले भरिएका हुन्छन्‌। युवावस्थाको अनमोल समयलाई यहोवाको सेवामा बिताउन पाउनुभन्दा सर्वोत्तम तरिका अर्को छैन। (उप. १२:१) तर उच्च शिक्षा हासिल गर्न खोज्दा त्यस्तो अनमोल समय त्यसै बर्बाद हुन्छ। हुन पनि, उच्च शिक्षा हासिल गर्ने मानिस हुने मुलुकमा परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू असाध्यै थोरै छन्‌। यस संसारले दिने उच्च शिक्षा हासिल गरेर आफ्नो भविष्य सुरक्षित बनाउने दौडमा लाग्नुभन्दा मसीहीले आफ्नो भरोसा यहोवामा राख्नुपर्छ।—हितो. ३:५.

शारीरिक इच्छालाई देवता नबनाउनुहोस्‌

११, १२. किन पावलले कसै-कसैको “ईश्‍वर पेटै हो” भने?

११ फिलिप्पीहरूलाई लेखेको पत्रमा पावलले हाम्रो देवता बन्‍न सक्ने अर्को कुरा उल्लेख गरेका छन्‌। यहोवाको उपासना गर्न छाडिसकेका केही मानिसबारे उल्लेख गर्दै तिनले यसो भने: “धेरै जना यसरी हिंड्‌छन्‌, जसका विषयमा मैले तिमीहरूलाई वारंवार भनेथें, र अब पनि रुँदै भन्छु, कि तिनीहरू ख्रीष्टको क्रूसका शत्रुहरू हुन्‌, जसको अन्त विनाशै हो, जसको ईश्‍वर पेटै हो, . . . जसले भौतिक कुराहरूमै ध्यान दिन्छन्‌।” (फिलि. ३:१८, १९) कसैको पेट पनि कसरी देवता हुन सक्छ?

१२ पावलले चिनेका यी मानिसहरू आफ्नो शारीरिक इच्छा पूरा गर्नमै मस्त थिए जस्तो देखिन्छ। यहोवाको इच्छा पूरा गर्नमा तिनीहरू पावलजस्तै व्यस्त भएनन्‌। कोही-कोही त साँच्चै घिचुवा र पियक्कडसमेत भएका हुन सक्छन्‌। (हितो. २३:२०, २१; व्यवस्था २१:१८-२१ तुलना गर्नुहोस्‌) अरू कतिले भने पहिले आफूले पाएजत्ति सबै मौकाको फाइदा उठाउने अठोट गरेका हुन सक्छन्‌। फलतः संसारको रमझम अनि काममै व्यस्त भएर यहोवाको सेवा गर्न छोडेका हुन सक्छन्‌। मृगतृष्णारूपी सुखी जीवनको पछि दगुरेर कहिल्यै आफ्नो जोस सेलाउन नदेऔं। बरु तनमनले यहोवाको सेवा गरिरहौं।—कल. ३:२३, २४.

१३. (क) लोभ भनेको के हो? पावलले लोभलाई कसरी व्याख्या गरे? (ख) लोभी हुनदेखि हामी कसरी जोगिन सक्छौं?

१३ पावलले झूटो उपासनाको अर्को एउटा पक्ष पनि उल्लेख गरे। तिनले लेखे: “यसकारण पृथ्वीमा भएका तिमीहरूका अङ्‌गहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।” (कल. ३:५) हामीसित नभएको कुरा प्राप्त गर्ने तीव्र चाहना लोभ हो। भौतिक सरसामान प्राप्त गर्ने तीव्र चाहना लोभ हो। अवैध यौन सम्बन्ध राख्ने चाहना पनि लोभ नै हो। (प्रस्थ. २०:१७) यस्ता कुराहरूको लोभ गर्नु मूर्तिपूजा बराबर हो। कति गम्भीर कुरा! यस्ता कुइच्छाहरूलाई हरहालतमा नियन्त्रणमा राख्नु अत्यन्तै जरुरी छ भनेर येशूले जीवन्त उदाहरण दिएर बुझाउनुभयो।मर्कूस ९:३७ पढ्‌नुहोस्‌; १ यूह. २:१६.

व्यर्थ बोलीदेखि होसियार हुनुहोस्‌

१४, १५. (क) यर्मियाको समयमा कस्ता ‘व्यर्थ कुराले’ मानिसहरूलाई बाधा पुऱ्‍याइरहेको थियो? (ख) मोशाको बोली किन अनमोल थियो?

१४ व्यर्थ कुराहरूमा हाम्रो बोलीवचन पनि पर्न सक्छ। उदाहरणको लागि यहोवाले यर्मियालाई यसो भन्‍नुभयो: “अगमवक्‍ताहरूले मेरो नाउँमा झूटो अगमवाणी कहन्छन्‌। मैले तिनीहरूलाई पठाएको होइन। मैले तिनीहरूलाई आज्ञा गरेको होइन म तिनीहरूसित बोलेको होइन। तिनीहरूले ता तिमीहरूलाई झूटो दर्शन, व्यर्थका तन्त्र-मन्त्रका कुराको र आफ्नै मनको छलका कुराहरूको अगमवाणी कहन्छन्‌।” (यर्मि. १४:१४) यहोवाको नाउँमा अगमवाणी बोलेको दाबी गरे तापनि वास्तवमा ती झूटा अगमवक्‍ताहरूले आफ्नै विचारधारा अघि सारिरहेका थिए। त्यसैकारण, तिनीहरूको बोली “व्यर्थ . . . कुरा” भयो। तिनीहरूको बोली बेकारको साबित भयो र त्यसले साँचो उपासनामा बाधा पुऱ्‍याइरहेको थियो। यस्ता व्यर्थ बोली सुन्‍ने थुप्रैले ईसापूर्व ६०७ मा बेबिलोनी सेनाको हातबाट अकालमा ज्यान गुमाए।

१५ ती झूटा अगमवक्‍ताहरूको ठीक विपरीत मोशाले इस्राएलीहरूलाई यसो भने: “आज मैले तिमीहरूलाई दिएका सबै वचनहरू आफ्नो मनमा राख . . . किनभने यो तिमीहरूको लागि साधारण कुरो होइन। यो तिमीहरूको जीवन हो . . . यसैद्वारा यर्दनपारि अधिकार गर्नलाई जानलागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ।” (व्यव. ३२:४६, ४७) हो, परमेश्‍वरको प्रेरणा पाएर मोशाले यी शब्दहरू बोलेका थिए। सबै इस्राएलीहरूको हित हुने भएकोले तिनको बोली अनमोल थियो। तिनको बोली सुनेर पालन गर्नेजति दीर्घायु भए र तिनीहरूको फलिफाप भयो। हामी पनि बेकारका बोलीलाई त्यागेर सत्यका अनमोल वचनलाई सधैं पक्रिराख्न सकौं।

१६. परमेश्‍वरको वचनसित बाझिने वैज्ञानिकहरूको भनाइलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?

१६ के आज पनि व्यर्थ कुरा बोल्नेहरू छन्‌? पक्कै छन्‌। उदाहरणको लागि, क्रमविकासको सिद्धान्त अनि अन्य क्षेत्रमा गरिएका वैज्ञानिक खोजहरूले गर्दा अब उप्रान्त परमेश्‍वरमाथि विश्‍वास गर्नै नपर्ने भएको छ भनेर केही वैज्ञानिकहरूले भनेका छन्‌। प्रकृतिसित हर कुराको जवाफ छ भनेर तिनीहरू दाबी गर्छन्‌। के हामीले यस्तो अहंकारी बोलीलाई वास्ता गर्नुपर्छ? अहँ, पर्दैन। परमेश्‍वरको बुद्धि र मानिसहरूको बुद्धिबीच आकास-जमीनको भिन्‍नता छ। (१ कोरि. २:६, ७) परमेश्‍वरले प्रकट गरेका कुरासित बाझिने मानिसको शिक्षा सधैं गलत हुन्छन्‌ भनेर हामीलाई थाह छ। (रोमी ३:४ पढ्‌नुहोस्‌) केही क्षेत्रमा विज्ञानले उन्‍नति गरे तापनि मानव बुद्धिबारे बाइबलमा गरिएको लेखाजोखा सधैं सत्य साबित भएको छ: “संसारको ज्ञान परमेश्‍वरको अगि मूर्खता हो।” परमेश्‍वरको अथाह बुद्धिसामु मानव तर्क व्यर्थ छन्‌।—१ कोरि. ३:१८-२०.

१७. चर्चका नेता र धर्मत्यागीहरूको बोलीलाई कुन रूपमा लिनुपर्छ?

१७ चर्चका धार्मिक नेताहरूको भनाइ व्यर्थ बोलीको अर्को उदाहरण हो। परमेश्‍वरको नाउँमा बोल्छु भनी दाबी गरे तापनि तिनीहरूका धेरैजसो कुरा बाइबलमा आधारित हुँदैनन्‌ र प्रायः बेकारका छन्‌। परमेश्‍वरले नियुक्‍त गरेका “विश्‍वासी र बुद्धिमान दास”-सित भन्दा पनि धेरै बुद्धि आफूसित छ भन्‍ने दाबी गरेर धर्मत्यागीहरू पनि व्यर्थ बोली बोल्छन्‌। (मत्ती २४:४५-४७) धर्मत्यागीहरूको बोली तिनीहरूको आफ्नै बुद्धिको उपज हो अनि यस्तो बोलीको कुनै महत्त्व छैन। त्यसैले त, तिनीहरूको कुरा सुन्‍ने जोसुकै ठेस खाएर सत्यबाट पछि हट्‌छन्‌। (लूका १७:१, २) यिनीहरूको बहकाउमा नपर्न हामी के गर्न सक्छौं?

व्यर्थ बोलीलाई कसरी इन्कार गर्ने

१८. पहिलो यूहन्‍ना ४:१ मा लेखिएको सिद्धान्तलाई हामी कुन-कुन तरिकामा प्रयोग गर्न सक्छौं?

१८ यस सम्बन्धमा वृद्ध प्रेरित यूहन्‍नाले राम्रो सल्लाह दिएका छन्‌। (१ यूहन्‍ना ४:१ पढ्‌नुहोस्‌) प्रचारमा भेटेका मानिसहरूलाई तिनको सल्लाहअनुसार आफूले सिकिरहेको कुरा बाइबलमा दाँजेर हेर्न हामी सधैं प्रोत्साहन दिन्छौं। हामीलाई पनि यही कुरा लागू हुन्छ। बाइबलको शिक्षा विपरीत कुनै कुरा सुन्यौं अथवा मण्डली, प्राचीनहरू वा हाम्रा अरू भाइबहिनीको बदनाम हुने हल्ला थाह पायौं भने सरासर पत्याइहाल्नुहुँदैन। बरु, हामीले आफूसित यी प्रश्‍नहरू सोध्नुपर्छ: “यस्तो हल्ला फैलाउने व्यक्‍तिले के बाइबलअनुसार काम गरिरहेको हो? यस्तो अफवाह वा आरोपले के यहोवाको उद्देश्‍य पूरा गर्न मदत गर्छ? के यसले मण्डलीमा शान्ति कायम गर्छ?” हाम्रो भ्रातृत्वलाई बलियो बनाउनुको साटो कमजोर बनाउने जस्तोसुकै हल्ला व्यर्थ बोली हुन्‌।—२ कोरि. १३:१०, ११.

१९. आफ्नो बोली व्यर्थ कुरा साबित भइरहेका छैनन्‌ भनेर प्राचीनहरूले कसरी पक्का गर्छन्‌?

१९ व्यर्थ कुराबारे प्राचीनहरू पनि सचेत हुनुपर्छ। अरूले सल्लाह माग्दा वा सल्लाह दिनुपर्दा तिनीहरू आफ्नो सीमिततालाई बिर्संदैनन्‌। तिनीहरू आफ्नै अनुभव वा बुद्धिको आधारमा सल्लाह दिने साहस गर्दैनन्‌। तिनीहरूले सधैं बाइबलबाटै सल्लाह दिनुपर्छ। सल्लाह दिने सन्दर्भमा पालन गर्नुपर्ने उपयुक्‍त नियम प्रेरित पावलले दिएको यस सल्लाहमा पाइन्छ: “लेखिएका कुराभन्दा बढ्‌ता गर्नुहुन्‍न।” (१ कोरि. ४:६) प्राचीनहरू बाइबलमा लेखिएका कुराभन्दा बाहिर गएर बढ्‌ता कुरा गर्दैनन्‌। नता, विश्‍वासी र बुद्धिमान्‌ दासले प्रकाशनहरू मार्फत दिएका बाइबल-आधारित सल्लाहभन्दा बढ्‌ता कुरा गर्छन्‌।

२०. व्यर्थ कुराहरूलाई इन्कार गर्न हामीले कुन-कुन तरिकामा मदत पाएका छौं?

२० व्यर्थ कुराहरू जस्तै: “मूर्ति,” बोली वा अन्य कुराहरू सबै हानिकारक हुन्छन्‌। त्यसैले यी व्यर्थ कुराहरू चिन्‍न र तीदेखि पर बस्न हामी यहोवालाई प्रार्थना गरेर सधैं उहाँको मदत मागौं। तब हामी पनि भजनरचयिताले जस्तै यसो भन्‍न सक्नेछौं: “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌। र मलाई तपाईंको मार्गमा जीवित राख्नुहोस्‌।” (भज. ११९:३७) यसपछिको लेखमा यहोवाको मार्ग-निर्देशन स्वीकार्दा पाइने फाइदाबारे थप छलफल गर्नेछौं। (w08 4/15)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• सामान्यतया हामीले इन्कार गर्नुपर्ने “व्यर्थ कुरा” के-के हुन्‌?

• पैसालाई देवता बनाउनदेखि हामी कसरी जोगिन सक्छौं?

• शारीरिक इच्छा कसरी मूर्तिपूजामा परिणत हुन सक्छ?

• व्यर्थ बोलीलाई हामी कसरी इन्कार गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको चित्र]

भौतिक कुराको पछि दगुरेर यहोवाको सेवा गर्ने जोसलाई कहिल्यै सेलाउन नदिनुहोस्‌