सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबै कुरामा परमेश्‍वरको मार्ग-निर्देशन खोज्नुहोस्‌

सबै कुरामा परमेश्‍वरको मार्ग-निर्देशन खोज्नुहोस्‌

सबै कुरामा परमेश्‍वरको मार्ग-निर्देशन खोज्नुहोस्‌

“यही परमेश्‍वर सदा सर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ। मृत्यसम्मै उहाँ हाम्रा अगुवा हुनुहुनेछ।”—भज. ४८:१४.

१, २. आफ्नो बुद्धिमा भर नपरेर हामीले किन यहोवाको मार्ग-निर्देशन खोज्नुपर्छ र हामीलाई कस्ता प्रश्‍नहरूको जवाफ चाहिन्छ?

 हानिकारक वा व्यर्थ कुरालाई फाइदाजनक सम्झेर धोका खानु सजिलो छ। (हितो. १२:११) मसीहीले गर्न नहुने कुनै काम गरी छाड्‌ने अठोट गरेका छौं भने अक्सर हाम्रो हृदयले कुनै न कुनै बहाना बनाउँछ। (यर्मि. १७:५, ९) त्यसोभए हामीले के गर्नु बुद्धिमानी हुनेछ? भजनरचयिताले यहोवालाई गरेको यस प्रार्थनाले त्यसको जवाफ दिन्छ: “तपाईंको ज्योति र तपाईंको सत्यता पठाउनुहोस्‌, तिनैले मलाई डोऱ्‍याऊन्‌, तिनलेनै मलाई तपाईंको पवित्र डाँडा र तपाईंको बासस्थानमा पुऱ्‍याऊन्‌।” (भज. ४३:३) भजनरचयिताले आफ्नो सीमित बुद्धिमाथि होइन, यहोवामाथि भरोसा गरे। मार्ग-निर्देशन पाउने योभन्दा उत्तम स्रोत अरू के हुन सक्थ्यो र? भजनरचयिताले जस्तै हामीले पनि परमेश्‍वरको अगुवाइ अर्थात्‌ मार्ग-निर्देशन खोज्नुपर्छ।

तर हामीले अरूको भन्दा यहोवाकै मार्ग-निर्देशनमाथि भरोसा किन गर्नुपर्छ? हामीले कहिले उहाँको मार्ग-निर्देशन खोज्नुपर्छ? उहाँको मार्ग-निर्देशनबाट लाभ उठाउन हामीले कस्तो गुण विकास गर्नुपर्छ? अनि यहोवाले अहिले हामीलाई कसरी मार्ग-निर्देशन दिनुहुन्छ? यस लेखमा यी महत्त्वपूर्ण प्रश्‍न छलफल गरिनेछन्‌।

यहोवाको मार्ग-निर्देशनमा भरोसा किन गर्ने?

३-५. यहोवाको मार्ग-निर्देशनमाथि भरोसा गर्ने कस्ता कारणहरू हामीसित छन्‌?

यहोवा, स्वर्गमा बस्ने हाम्रो पिता हुनुहुन्छ। (१ कोरि. ८:६) उहाँलाई हरेक व्यक्‍तिको एक-एक कुरा थाह छ र हाम्रो हृदयसमेत उहाँ पढ्‌न सक्नुहुन्छ। (१ शमू. १६:७; हितो. २१:२) परमेश्‍वरको यस्तो क्षमताबारे राजा दाऊदले यसो भने: “तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्‍नुहुन्छ, तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। किनकि मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै, हे परमप्रभु, तपाईंले त्यो जान्‍नुहुन्छ।” (भज. १३९:२, ४) यसरी हाम्रो एक-एक कुरा थाह भएकोले हाम्रो निम्ति के असल छ, यहोवा निश्‍चय पनि जान्‍नुहुन्छ र त्यसमा हामीले शंका गर्नुहुँदैन। यसबाहेक, यहोवा सबैभन्दा बुद्धिमान्‌ हुनुहुन्छ। उहाँको नजरबाट कुनै कुरा लुकेको छैन। उहाँ हामीले हेर्न वा बुझ्न नसक्ने गहिरो कुरा हेर्न अनि बुझ्न सक्नुहुन्छ। यसका साथै हरेक कुराको अन्त वा नतिजा कस्तो हुन्छ, त्यो पनि उहाँलाई पहिल्यै थाह हुन्छ। (यशै. ४६:९-११; रोमी ११:३३) उहाँ “अद्वितीय सर्वज्ञानी परमेश्‍वर” हुनुहुन्छ।—रोमी १६:२७.

यहोवा हामीलाई माया पनि गर्नुहुन्छ र हाम्रो सधैं भलो चिताउनुहुन्छ। (यूह. ३:१६; १ यूह. ४:८) मायालु परमेश्‍वरको नाताले उहाँ हामीसित उदार व्यवहार गर्नुहुन्छ। उहाँको उदारताबारे याकूबले यसो लेखे: “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो, र ज्योतिका पिताबाट आउँछ, जसमा कहिल्यै अदल-बदल हुने र फेरिने छाया छैन।” (याकू. १:१७) अतः जो-जो परमेश्‍वरको मार्ग-निर्देशनअनुसार चल्छ, त्यसले उहाँको उदारताबाट धेरै फाइदा पाउँछ।

यहोवा सर्वशक्‍तिमान्‌ पनि हुनुहुन्छ। यस सन्दर्भमा भजनरचयिताले यसो भने: “जो परम प्रधानको गुप्त ठाउँमा बास गर्दछ, त्यो सर्वशक्‍तिमानको छत्र छायामनि रहन्छ। परमप्रभुको विषयमा म भन्छु, ‘उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरा परमेश्‍वर, जसमा म भरोसा राख्तछु।’ ” (भज. ९१:१, २) यहोवाको मार्ग-निर्देशन खोज्नु भनेको सर्वोत्तम मार्ग-निर्देशन खोज्नु हो। किनभने उहाँको मार्ग-निर्देशन कहिल्यै फेल खाँदैन। हामीले विरोध सहनुपरेको बेलामा समेत यहोवा हामीलाई मदत गर्नुहुन्छ। उहाँले हामीलाई निराश तुल्याउनुहुनेछैन। (भज. ७१:४, ५; हितोपदेश ३:१९-२६ पढ्‌नुहोस्‌) हो, हाम्रो लागि के असल छ यहोवालाई थाह छ। उहाँ हाम्रो भलो चिताउनुहुन्छ र हाम्रो हित हुने कुरा दिने शक्‍ति पनि उहाँसित छ। त्यसैले, उहाँको मार्ग-निर्देशन बेवास्ता गर्नु मूर्खतासिवाय अरू केही होइन। तर हामीलाई उहाँको मार्ग-निर्देशन कहिले चाहिन्छ?

हामीलाई कहिले उहाँको मार्ग-निर्देशन चाहिन्छ?

६, ७. हामीलाई कहिले-कहिले यहोवाको मार्ग-निर्देशन चाहिन्छ?

भनौं भने, हामीलाई युवावस्थादेखि बुढेसकालसम्म, जीवनभर परमेश्‍वरको मार्ग-निर्देशन चाहिन्छ। भजनरचयिताले यसो भने: “यही परमेश्‍वर सदा सर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ। मृत्युसम्मै उहाँ हाम्रा अगुवा हुनुहुनेछ।” (भज. ४८:१४) बुद्धिमान्‌ मसीहीहरू भजनरचयिता जस्तै सधैं परमेश्‍वरको मार्ग-निर्देशन खोजिरहन्छन्‌।

निस्सन्देह, कुनै-कुनै बेला हामीलाई मदतको तड्‌कारो आवश्‍यकता महसुस हुन्छ। सतावट आइपर्दा, असाध्यै बिरामी हुँदा अथवा अचानक बेरोजगार हुनुपर्दा हामीमाथि “दुःख” आइलाग्छ। (भज. ६९:१६, १७) यस्तो बेला यहोवालाई प्रार्थना गऱ्‍यौं अनि उहाँले नै सँभाल्नुहुनेछ र सही बाटो देखाउनुहुनेछ भनेर भरोसा गऱ्‍यौं भने सान्त्वना पाउनेछौं। (भजन १०२:१७ पढ्‌नुहोस्‌) तर हामीलाई अरू बेलामा पनि उहाँको मदत चाहिन्छ। उदाहरणका लागि, छिमेकीलाई राज्यको सुसमाचार सुनाउँदा हामीलाई परमेश्‍वरको मार्ग-निर्देशन चाहिन्छ। किनकि उहाँको मार्ग-निर्देशनबिना हामीले दिएको साक्षी प्रभावकारी हुन सक्दैन। त्यस्तैगरि, मनोरञ्जन, कोरिबाटी, पहिरन, संगति, पेसा, शिक्षालगायत हरेक क्षेत्रमा कुनै पनि निर्णय गर्नुअघि यहोवाको मार्ग-निर्देशन खोज्ने गऱ्‍यौं भने मात्र बुद्धिमान्‌ मानिसझैं चलिरहेका हुनेछौं। वास्तवमा, हामीलाई यहोवाको मार्ग-निर्देशन नचाहिने परिस्थिति वा क्षेत्र छँदैछैन भने पनि हुन्छ।

यहोवाको मार्ग-निर्देशन नखोज्दा आइपर्ने खतराहरू

८. परमेश्‍वरले नखानू भनेको फल खाएर हव्वाले के साबित गरिन्‌?

तर हामीले एउटा कुरा बिर्सनुहुँदैन। त्यो हो, यहोवाको मार्ग-निर्देशनअनुसार चल्न सर्वप्रथम हामी इच्छुक हुनुपर्छ। परमेश्‍वर हामीलाई जबरजस्ती गर्नुहुन्‍न। यहोवाको मार्ग-निर्देशनबमोजिम चल्न नचाहने प्रथम व्यक्‍ति हव्वा थिइन्‌। गलत निर्णयको नतिजा कति गम्भीर हुन सक्छ हामी हव्वाबाट सिक्न सक्छौं। तिनले फल खाएर के साबित गरिन्‌, त्यो पनि विचार गर्नुहोस्‌। परमेश्‍वरले निषेध गरेको फल हव्वाले खाइन्‌, किनकि तिनी ‘असल र खराबको ज्ञान पाएर परमेश्‍वरजस्तै” हुन चाहन्थिन्‌। (उत्प. ३:५) यहोवाको मार्ग-निर्देशनबमोजिम चल्नुको साटो असल र खराबको निर्णय गर्ने यहोवाको अधिकार आफूले लिन चाहिन्‌। यसरी, तिनले यहोवाको सार्वभौमिकताको विरोध गरिन्‌। तिनी आफ्नै मर्जीको मालिक हुन चाहिन्‌। दुःखको कुरा तिनका पति आदमले पनि त्यस्तै विद्रोह गरे।—रोमी ५:१२.

९. यहोवाको मार्ग-निर्देशनअनुसार चल्न इन्कार गऱ्‍यौं भने वास्तवमा हामीले के गरिरहेका हुनेछौं र त्यो किन घोर मुर्ख्याइँ हो?

यहोवाको मार्ग-निर्देशनबमोजिम चलेनौं भने आदम र हव्वाले जस्तै हामीले पनि असल र खराबको निर्णय गर्ने अधिकार यहोवाको होइन भनिरहेका हुन्छौं। उदाहरणका लागि, अश्‍लील सामग्रीको कुलतमा फसेको मानिसलाई विचार गर्नुहोस्‌। यहोवाले अश्‍लील सामग्रीबारे कस्तो मार्ग-निर्देशन दिनुभएको छ, मसीही मण्डलीको सदस्य हो भने तिनलाई अवश्‍य थाह हुनुपर्छ। कामवासनाले भरिएर अशुद्ध कुरालाई हेर्न त परै जाओस्‌, त्यसको नाउँसमेत लिइनुहुँदैन भनेर बाइबलले प्रस्ट पारेको छ। (एफि. ५:३) यहोवाको मार्ग-निर्देशनबमोजिम चल्न इन्कार गरेर त्यस्तो मानिसले यहोवालाई आफ्नो सार्वभौमिकताको अभ्यास गर्ने मौका दिंदैन र उहाँको शिरत्वलाई इन्कार गर्छ। (१ कोरि. ११:३) यदि कसैले यसरी यहोवाको सार्वभौमिकता अनि शिरत्वको विरोध गर्छ भने, त्योभन्दा मुर्ख्याइँ अरू केही हुन सक्दैन। किनभने, यर्मियाले भनेझैं “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।”—यर्मि. १०:२३.

१०. हामी स्वेच्छाले जे भन्छौं वा गर्छौं, त्यसका लागि आफूलाई जिम्मेवार सम्झन्छौं भनेर किन देखाउनुपर्छ?

१० तथापि, यर्मियाले भनेका कुरा कसै-कसैलाई मन नपर्ला। यदि मानिसजातिलाई स्वेच्छा दिने यहोवा नै हुनुहुन्छ भने हामीले आफ्नो इच्छाअनुसार गर्दा के उहाँले हाम्रो आलोचना गर्न मिल्छ र? भनेर उनीहरू तर्क गर्छन्‌। तर हामीले के कुरा बिर्सनुहुँदैन भने, स्वेच्छा यहोवाले दिएको वरदान मात्र नभएर हामीले वहन गर्नुपर्ने जिम्मेवारी पनि हो। हामी आफ्नो स्वेच्छाले जे गर्छौं वा भन्छौं, यहोवासामु त्यसका लागि जवाफदेही छौं। (रोमी १४:१०) येशूले यसो भन्‍नुभयो: “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ।” अनि उहाँले यो पनि भन्‍नुभयो: “हृदयबाटनै दुष्ट विचार, हत्या, जारी, व्यभिचार, चोरी, झूटो साक्षी, निन्दा बाहिर निस्कन्छन्‌।” (मत्ती १२:३४; १५:१९) अतः हाम्रो हृदयमा जे छ, त्यो हाम्रो बोली अनि व्यवहारले प्रकट गर्छ। त्यसले हाम्रो असली चरित्र बताउँछ। त्यसैकारण बुद्धिमान्‌ मसीहीले हरेक कुरामा यहोवाको मार्ग-निर्देशन खोज्छ। अनि यहोवाले त्यस मसीहीको “हृदय सच्चा” रहेछ भनेर देख्नुहुनेछ र तिनको निम्ति “असलै” गर्नुहुनेछ।—भज. १२५:४.

११. इस्राएलीहरूको इतिहासबाट हामी के पाठ सिक्छौं?

११ इस्राएलीहरूको इतिहासलाई सम्झनुहोस्‌। इस्राएलीहरूले जब-जब यहोवाको आज्ञा मानेर असल निर्णयहरू गरे तब-तब उहाँले तिनीहरूलाई शत्रुहरूको हातबाट बचाउनुभयो। (यहो. २४:१५, २१, ३१) तर तिनीहरूले बारम्बार आफ्नो स्वेच्छाको दुरुपयोग गरे। यर्मिया जीवित हुँदा यहोवाले त्यस्ता इस्राएलीहरूको विषयमा यसो भन्‍नुभयो: “तिनीहरूले आज्ञा पालन गरेनन्‌। तिनीहरूले कान थापेनन्‌, तर तिनीहरू आफ्नै युक्‍ति र आफ्नो दुष्ट मनको अट्टेरीपनामा हिंड्‌दै रहे। . . . अगि बढ्‌नको सट्टामा पछि हटे।” (यर्मि. ७:२४-२६) कति दुःखलाग्दो कुरा! इस्राएलीहरूजस्तै ढिट वा स्वार्थी भएर हामी कहिल्यै यहोवाको मार्ग-निर्देशन अनि सल्लाहलाई तिरस्कार नगरौं। नत्र, हामी पनि ‘अगि बढ्‌नुको सट्टा पछि हटिरहेका हुनेछौं’!

परमेश्‍वरको सल्लाह पालन गर्न के चाहिन्छ?

१२, १३. (क) यहोवाको मार्ग-निर्देशनबमोजिम चल्न हामीलाई कुन गुणले प्रोत्साहित गर्छ? (ख) किन विश्‍वास नभई हुँदैन?

१२ हामी यहोवालाई माया गर्छौं। त्यसैले उहाँको मार्ग-निर्देशनअनुसार चल्ने इच्छा गर्छौं। (१ यूह. ५:३) तर हामीसित अर्को गुण पनि हुनुपर्छ। त्यो गुण के हो, पावल यसरी औंल्याउँछन्‌: “हामी दृष्टिले होइन तर विश्‍वासले हिंडछौं।” (२ कोरि. ५:६, ७) हामीसित विश्‍वास हुनु किन असाध्यै जरुरी छ? यहोवा हामीलाई “धार्मिकताका मार्गमा” डोऱ्‍याउनुहुन्छ र त्यो मार्गमा यो संसारले दिने सर-सम्पत्ति अनि मान-सम्मान पाइँदैन। (भज. २३:३) त्यसैले, हाम्रो विश्‍वासको आँखा यहोवाको सेवा गर्दा पाइने अतुलनीय आध्यात्मिक इनामहरूमा केन्द्रित हुनुपर्छ। (२ कोरिन्थी ४:१७, १८ पढ्‌नुहोस्‌) यसबाहेक, खान र लाउन भएपछि त्यसमै सन्तुष्ट हुन पनि विश्‍वास नै चाहिन्छ।—१ तिमो. ६:८.

१३ यहोवाको साँचो उपासना गर्न चाहने व्यक्‍ति आत्मत्यागी हुनुपर्छ भनेर येशूले भन्‍नुभयो। (लूका ९:२३, २४) अनि आत्म-त्यागी हुन पनि विश्‍वास नै आवश्‍यक पर्छ। यहोवाका केही वफादार उपासकहरूले ठूल-ठूला त्यागहरू गरेका छन्‌, गरिबीको मार खपेका छन्‌, शोषण, पूर्वाग्रह अनि घोर विरोध सहेका छन्‌। (२ कोरि. ११:२३-२७; प्रका. ३:८-१०) बलियो विश्‍वास भएकोले तिनीहरूले यी सबै हाँसी-हाँसी सहन सके। (याकू. १:२, ३) हामीसित अटल विश्‍वास छ भने, यहोवाको मार्ग-निर्देशनअनुसार चल्नु सधैं सबैभन्दा उत्तम कुरा हो र त्यसो गर्दा सधैं फाइदा हुन्छ भनेर ढुक्क हुन्छौं। अनि अहिले एकछिन दुःख सहनुपरे पनि पछि त्यसको ठूलो इनाम पाउनेछौं भन्‍ने कुरामा हामी रत्तिभर शंका गर्दैनौं।—हिब्रू ११:६.

१४. हागार किन नम्र हुन पऱ्‍यो?

१४ यहोवाको मार्ग-निर्देशन पालन गर्न नम्रता पनि चाहिन्छ। साराईकी दासी हागारको उदाहरणले यो कुरा प्रकट गर्छ। धेरै वर्षसम्म निस्सन्तान हुनुपरेपछि साराईले आफ्नी दासी हागारसित सम्बन्ध राख्न अब्राहामलाई बिन्ती गरिन्‌। अब्राहामको सन्तान गर्भमा बसेपछि हागारले आफ्नो निस्सन्तान मालिक्नीलाई हेप्न थालिन्‌। तब साराईले पनि हागारसित “कठोर व्यवहार गर्न लागिन्‌” र हागार तिनको सामनेबाट भागेर गईन्‌। तर यहोवाको स्वर्गदूतले बाटोमा भेटेर हागारलाई यसो भने: “तेरी मालिक्नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्‌।” (उत्प. १६:२, ६, ८, ९) स्वर्गदूतले त्यस्तो निर्देशन नदिएको भए पनि हुन्थ्यो नि भनेर हागारले चाहेकी हुन सक्छिन्‌। स्वर्गदूतले दिएको निर्देशनअनुसार चल्न हागारले आफ्नो घमन्ड त्याग्नुपर्थ्यो। हागारले नम्र भएर स्वर्गदूतको कुरा मानिन्‌, जसले गर्दा तिनको छोरा इश्‍माएल आफ्नै बुबाको पालमा हुर्कन पायो।

१५. यहोवाको मार्ग-निर्देशन पालन गर्न नम्रता अत्यावश्‍यक पर्ने केही परिस्थितिहरू के-के हुन्‌, बताउनुहोस्‌।

१५ यहोवाको मार्ग-निर्देशनअनुसार चल्न हामी पनि नम्र हुनुपर्छ। जस्तै, कसै-कसैले आफूलाई मन परेको मनोरञ्जन यहोवाको नजरमा ठीक रहेनछ भनेर स्वीकार्नुपर्ला। कसैले भने चित्त दुःखाइरहेको मान्छेसित माफी माग्नुपर्ला। अथवा आफ्नो दोष स्वीकार्नुपर्ला। कसैले गम्भीर गल्ती गरेको रहेछ भने नि? त्यस्तो गम्भीर गल्ती गर्ने व्यक्‍तिले प्राचीनहरूसामु आफ्नो पाप स्वीकार्नुपर्छ। गम्भीर पाप गर्ने कोही-कोही मण्डलीबाट बहिष्कृत पनि हुन सक्छ। फेरि मण्डलीको सदस्य बन्‍न तिनले नम्र भएर पश्‍चात्ताप गर्नुका साथै खराब काम छोड्‌नैपर्छ। यी र यस्तै अन्य परिस्थितिमा नम्र हुन हितोपदेश २९:२३ ले यसरी प्रोत्साहन दिन्छ: “अहंकारले मानिसलाई तल खसाल्छ, तर नम्र मानिसले सम्मान पाउँछ।”

यहोवाले हामीलाई कसरी डोऱ्‍याउनुहुन्छ

१६, १७. ईश्‍वरीय मार्ग-निर्देशनको स्रोत बाइबलबाट धेरैभन्दा धेरै लाभ उठाउन हामीले के गर्नुपर्छ?

१६ ईश्‍वरीय मार्ग-निर्देशनको मुख्य स्रोत परमेश्‍वरको प्रेरित वचन, बाइबल हो। (२ तिमोथी ३:१६, १७ पढ्‌नुहोस्‌) परमेश्‍वरको वचनबाट हामीले सकेसम्म धेरै लाभ उठाउनुपर्छ। समस्या आइपरेपछि मात्र बाइबल खोलेर हेर्नु बुद्धिमानी होइन। हामीले दिनहुँ बाइबल पढ्‌ने बानी बसाल्नुपर्छ। (भज. १:१-३) यसो गऱ्‍यौं भने परमेश्‍वरको प्रेरित वचनसित हामी अभ्यस्त हुनेछौं। परमेश्‍वरका विचार हाम्रा विचार हुनेछन्‌ र चिताउँदै नचिताएको समस्यासित लड्‌न हामी तयार हुनेछौं।

१७ हामीले पढेको कुरा मनन गर्नु अनि त्यसबारे प्रार्थना गर्नु पनि अत्यावश्‍यक छ। यसरी मनन गर्दा, आफूले पढेको पद के-कस्तो परिस्थितिमा लागू गर्न सकिन्छ, त्यो सोच्नुपर्छ। (१ तिमो. ४:१५) गम्भीर समस्या आइपर्दा हामी यहोवालाई प्रार्थना गरेर मार्ग-निर्देशन माग्छौं। त्यस्तो बेला, यहोवाको पवित्र आत्माले हामीलाई आफूले पहिले बाइबलमा वा बाइबलआधारित प्रकाशनमा पढेका मदतकारी धर्मशास्त्रीय सिद्धान्तहरू सम्झन मदत गर्नेछ।—भजन २५:४, ५ पढ्‌नुहोस्‌।

१८. हामीलाई डोऱ्‍याउन यहोवाले कसरी मसीही भ्रातृत्व प्रयोग गर्नुहुन्छ?

१८ यहोवाको मार्ग-निर्देशन प्राप्त गर्ने अर्को अमूल्य स्रोत हाम्रो मसीही भ्रातृत्व हो। अनि यस भ्रातृत्वको एउटा महत्त्वपूर्ण भाग “विश्‍वासी र बुद्धिमान दास” र त्यसको प्रतिनिधी परिचालक निकाय हो। विश्‍वासी र बुद्धिमान्‌ दासले विभिन्‍न प्रकाशन, सभा अनि सम्मेलनमार्फत हामीलाई निरन्तर आध्यात्मिक भोजन दिन्छ। (मत्ती २४:४५-४७; प्रेरित १५:६, २२-३१ तुलना गर्नुहोस्‌) यीबाहेक, हाम्रो मसीही भ्रातृत्वमा परिपक्व भाइबहिनी अनि अझ विशेषगरि हामीलाई व्यक्‍तिगत मदत वा बाइबलबाट सल्लाह दिन सक्ने निपुण प्राचीनहरू छन्‌। (यशै. ३२:१) मसीही परिवारका केटाकेटीसित मार्ग-निर्देशन प्राप्त गर्ने थप अमूल्य स्रोत पनि छ। त्यो हो, यहोवाको उपासना गर्ने तिनीहरूका आमाबाबु। यी विश्‍वासी आमाबाबुलाई यहोवाले आफ्ना छोराछोरीलाई मार्ग-निर्देशन दिने जिम्मेवारी दिनुभएको छ र केटाकेटीले पनि सधैं आफ्ना आमाबाबुको आज्ञा मान्‍नू भन्‍नुभएको छ।—एफि. ६:१-३.

१९. यहोवाको मार्ग-निर्देशनअनुसार चलिरह्‍यौं भने कस्ता आशिष्‌ पाउनेछौं?

१९ हो, यहोवाले हामीलाई विभिन्‍न तरिकाले मार्ग-निर्देशन दिनुहुन्छ। हामीले पनि त्यस्तो मार्ग-निर्देशनको पूरापूर फाइदा उठाउनुपर्छ। इस्राएल राष्ट्रले वफादार भई यहोवाको सेवा गर्दाखेरिको कुरा गर्दै राजा दाऊदले यसो भने: “हाम्रा पुर्खाले तपाईंमानै भरोसा राखेका थिए। तिनीहरूले भरोसा राखे। तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो। तपाईंमा तिनीहरूले पुकारा गरे, र छुटकारा पाए। तिनीहरू शर्ममा परेनन्‌।” (भज. २२:३-५) यहोवाले दिने मार्ग-निर्देशनमाथि भरोसा गर्दै त्यसअनुसार चल्यौं भने हामी पनि ‘शर्ममा पर्नेछैनौं।’ हाम्रा आशा साकार हुनेछन्‌। आफ्नै बलबुद्धिमा भर पर्नुको साटो ‘आफ्नो मार्ग यहोवालाई सुम्पियौं’ भने अहिले नै प्रशस्त आशिष्‌ पाउनेछौं। (भज. ३७:५) अनि यहोवाको मार्गबाट कहिल्यै दायाँ वा बायाँ नलागी सीधा हिंडिरह्‍यौं भने भविष्यमा पनि आशिष्‌ पाइरहनेछौं। राजा दाऊदले यस्तो लेखेका थिए: “परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ, र आफ्ना भक्‍तहरूलाई त्याग्नुहुन्‍न . . . धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भज. ३७:२८, २९. (w 08 4/15)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• यहोवाले दिने मार्ग-निर्देशन ठीक छन्‌ भनेर हामी किन भरोसा गर्छौं?

• यहोवाको मार्ग-निर्देशनअनुसार चल्न इन्कार गर्नुको अर्थ वास्तवमा के हुनेछ?

• मसीहीलाई नम्रताको आवश्‍यकता पर्न सक्ने केही परिस्थिति के-के हुन्‌?

• यहोवाले अहिले हामीलाई कसरी मार्ग-निर्देशन दिनुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ५-मा भएको चित्र]

हव्वा यहोवाको सार्वभौमिकताको अधीनमा बस्न चाहिनन्‌