सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आरमागेडोन सबै युद्ध अन्त गर्ने परमेश्‍वरको युद्ध

आरमागेडोन सबै युद्ध अन्त गर्ने परमेश्‍वरको युद्ध

आरमागेडोन सबै युद्ध अन्त गर्ने परमेश्‍वरको युद्ध

“सँगी मानवलाई मार्नु तिनीहरू क्रूर काम ठान्छन्‌। तसर्थ, तिनीहरूको दृष्टिमा युद्ध भनेको बुझ्नै नसकिने र घृणित कुरा हो। यो युद्ध भन्‍ने एउटा यस्तो कुरा जसको लागि तिनीहरूको भाषामा शब्द नै छैन।” —नर्वेली अन्वेषक फ्रिड्‌जोफ न्यान्सनले ग्रीनल्याण्डका इन्युट जातिबारे सन्‌ १८८८ मा लेखेको विवरण।

जुन समाजमा युद्ध भनेको “बुझ्नै नसकिने र घृणित” कुरा हो, त्यहाँ बस्न कसलाई मन पर्दैन र? त्यस्तो संसारमा बस्न कसलाई मन पर्दैन जहाँ युद्ध भन्‍ने शब्द समेत छैन किनकि त्यहाँ युद्ध भनेको के हो थाह छैन? यदि हामीले आफ्नो आशा विशेषगरि मानिसमाथि राख्यौं भने, यस्तो संसारको चाह गर्नु त सपनामा महल सजाउनु जस्तै हुनेछ।

तर यस्तो संसार ल्याउँछु भनेर परमेश्‍वर स्वयम्‌ले यशैयाको किताबमा भविष्यवाणी गर्नुभएको छ: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।”—यशैया २:४.

स्पष्ट छ, यो प्रतिज्ञा पूरा गर्न आज संसारले ठूलो परिवर्तन गर्नुपर्छ जहाँ दुई करोड सेना सक्रिय रूपमा सञ्चालित छन्‌ र करिब २० वटा युद्धहरू मच्चिरहेको छ। यसैकारण सर्वशक्‍तिमान परमेश्‍वर यहोवाले मानव क्रियाकलापहरूमा हस्तक्षेप गर्नुपर्नेछ। यहोवाले गर्नुहुने यो हस्तक्षेपको चरमोत्कर्षमा नै बाइबलले बताएको आरमागेडोनको युद्ध हुनेछ।—प्रकाश १६:१४, १६.

हुन त हालका वर्षहरूमा, “आरमागेडोन” शब्दलाई विश्‍वव्यापी आणविक विपत्ति बुझाउन प्रयोग गरिएको छ। तैपनि एउटा शब्दकोशले यसको खास अर्थ यसरी बताएको छ: “असल र खराब शक्‍तिहरूबीच लडिने भयानक र अन्तिम लडाइँ हुने ठाउँ।” के खराबीमाथि असल कहिल्यै विजयी हुनेछ वा यस्तो युद्ध काल्पनिक मात्र हो?

बाइबलमा दुष्टताको अन्तबारे बारम्बार बताइएको छ। यस कुरालाई याद गर्दा हामी राहत पाउन सक्छौं। भजनरचयिता यस्तो अग्रिमवाणी गर्छन्‌: ‘पापीहरू पृथ्वीबाट भस्म भइजानेछन्‌ र दुष्टहरू फेरि रहनेछैनन्‌।’ (भजन १०४:३५) बाइबलको किताब हितोपदेश यसो भन्छ: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”—हितोपदेश २:२१, २२.

दुष्टले सजिलै हार मान्‍नेछैन भनेर पनि बाइबलमा स्पष्टै बताइएको छ। त्यसैले परमेश्‍वरको अन्तिम युद्ध आवश्‍यक छ जसले युद्धको दुष्ट्याइँ लगायत सबै दुष्टता हटाउने छ। (भजन २:२) बाइबलले आरमागेडोन नाउँ दिएको यो भिन्‍नै खालको युद्ध एकदमै महत्त्वपूर्ण छ।

मगिद्दो नजिकै लडिएका विगतका युद्धहरू

“आरमागेडोन” शब्दको अर्थ “मगिद्दोको पर्वत” हो। प्राचीन सहर मगिद्दो र यसको वरपर फैलिएको यिज्रेलको मैदानमा निर्णायक युद्धहरू लडिएको लामो इतिहास छ। द ब्याटल्स अफ आरमागेडोन-मा इतिहासकार एरिक एच. क्लाइन यस्तो लेख्छन्‌: “इतिहास हेर्ने हो भने, सभ्यताको मार्ग कोर्नमा निर्णायक भूमिका खेल्ने युद्धहरू मगिद्दो र यिज्रेल उपत्यकामा नै लडिए।”

क्लाइनले बताएअनुसार मगिद्दो नजिक लडिएका युद्धहरू अक्सर निर्णायक साबित भए। तेह्रौं शताब्दीमा एसियाको धेरैजसो ठाउँ हुँदो चढाइ गर्ने मंगोल सेनाले यही उपत्यकामा पहिलोचोटि हार भोग्नुपऱ्‍यो। प्रथम विश्‍वयुद्धमा मगिद्दो नजिकै ब्रिटिश सेनाले जनरल एडमन्ड एलेन्बाइको नेतृत्वमा तुर्कीहरूलाई परास्त गरे। एलेन्बाइको विजय एक सैन्य इतिहासकारले बताएअनुसार “इतिहासमै, सबैभन्दा चाँडो नतिजा प्राप्त भएको युद्ध हुनुका साथै एकदमै निर्णायक साबित भयो।”

बाइबलमा उल्लिखित निर्णायक युद्धहरू पनि मगिद्दो नजिकै लडिए। त्यहाँ न्यायकर्ता बाराकले सीसराको कनानी सेनालाई जिते। (न्यायकर्त्ता ४:१४-१६; ५:१९-२१) त्यसै इलाकामा गिदोनले केवल ३०० जना मानिसको साथ लिई मिद्यानीहरूको ठूलो सेनालाई हराए। (न्यायकर्त्ता ७:१९-२२) पलिश्‍ती सेनाले इस्राएलीहरूलाई परास्त गर्दा राजा शाऊल र उनका छोरा जोनाथन नजिकैको गिल्बो डाँडामा मरे।—१ शमूएल ३१:१-७.

मगिद्दो र यस वरपरका उपत्यका युद्धको लागि उपयुक्‍त ठाउँ भएकोले त्यहाँ विगत ४,००० वर्षको दौडान थुप्रै युद्ध लडिए। एक इतिहासकारले गन्ती गरेअनुसार कम्तीमा पनि ३४ युद्धहरू!

मगिद्दोको इतिहास र यसको सामरिक महत्त्वलाई विचार गर्दा यसको पक्कै पनि “आरमागेडोन” शब्दको प्रतीकात्मक अर्थसित स्पष्ट सम्बन्ध छ। हुन त यो शब्द बाइबलमा एक ठाउँमा मात्र छ। तैपनि, प्रकाशको किताबमा यसको प्रसंगलाई हेर्दा यो स्पष्ट हुन्छ कि आरमागेडोनले पृथ्वीको हरेक व्यक्‍तिको जीवनलाई असर गर्छ।

बाइबलअनुसार आरमागेडोन

विगतमा मगिद्दो नजिकै लडिएका थुप्रै युद्ध निर्णायक साबित भए तापनि कुनैले पनि खराबीलाई निर्मूल पार्न सकेन। साँचो अर्थमा भन्‍नुपर्दा, कुनैले पनि खराब शक्‍तिको विरुद्ध असल शक्‍तिको प्रयोग गरेन। त्यसैकारण खराब शक्‍तिको विरुद्ध असल शक्‍ति चलाउने यस्तो युद्ध त अवश्‍यै पनि परमेश्‍वरकै हुनुपर्छ। एक समय येशूले यसो भन्‍नुभयो “परमेश्‍वरबाहेक कोही उत्तम छैन।” (लूका १८:१९) साथै, आरमागेडोन परमेश्‍वरको युद्ध हो भनेर बाइबलले तोकेरै बताउँछ।

बाइबलको प्रकाशको किताबमा बताइएअनुसार “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँको निम्ति जम्मै पृथ्वीका राजाहरूलाई” जम्मा गरिनेछ। (प्रकाश १६:१४) त्यसपछि भविष्यसूचक विवरण अझ यसो भन्छ: “तिनीहरूले तिनीहरूलाई हिब्रू भाषामा आर-मागेडोन भन्‍ने ठाउँमा एक साथ जम्मा गरे।” a (प्रकाश १६:१६) पछि, प्रकाशको किताब बताउँछ कि ‘घोडामा सवार र उहाँको फौजको विरुद्ध लडाइँ गर्न पृथ्वीका राजाहरू र तिनका फौजहरूलाई’ जम्मा गरिनेछ। (प्रकाश १९:१९) यी घोडसवार अरू कोही नभई येशू ख्रीष्ट हुन्‌ भनी चिनाइएको छ।—१ तिमोथी ६:१४, १५; प्रकाश १९:११, १२, १६.

यी पदहरूबाट हामी कस्तो निष्कर्षमा पुग्नुपर्छ? आरमागेडोन भनेको परमेश्‍वर र अनाज्ञाकारी मानिसजातिको शक्‍तिबीच हुने युद्ध हो। यहोवा र उहाँका पुत्र येशू ख्रीष्ट किन यस्तो युद्ध लड्‌नुहुन्छ? एउटा कारण हो, आरमागेडोनले ‘पृथ्वीका नष्टकारीहरूलाई नष्ट’ गर्नेछ। (प्रकाश ११:१८) साथै यसले शान्तिमय संसार ल्याउनेछ जहाँ “उहाँको [परमेश्‍वरको] प्रतिज्ञाबमोजिम हामी . . . नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१३.

आरमागेडोन किन आवश्‍यक?

‘प्रेमको परमेश्‍वर’ यहोवाले आफ्ना पुत्र “शान्तिका राजकुमार”-लाई युद्ध गर्न अह्राउनुहुन्छ भन्‍ने कुरा कल्पना गर्न के तपाईंलाई गाह्रो लाग्छ? (२ कोरिन्थी १३:११; यशैया ९:६) उहाँहरूको मनसाय बुझ्दा यसको कारण अवश्‍यै बुझ्नुहुनेछ। बाइबलको किताब भजनसंग्रहले येशूलाई घोडामा सवार योद्धाको रूपमा वर्णन गर्छ। उहाँले किन युद्ध लड्‌नुहुन्छ? “सत्यता, नम्रता र धार्मिकताको निम्ति” ख्रीष्ट सवार हुनुहुन्छ भनेर भजनरचयिता बताउँछन्‌। उहाँ युद्ध गर्नुहुन्छ किनभने उहाँले धार्मिकतालाई प्रेम र खराबीलाई घृणा गर्नुहुन्छ।—भजन ४५:४, ७.

त्यस्तैगरि, आज संसारमा भइरहेको अन्याय देखेर यहोवाले कस्तो प्रतिक्रिया देखाउनुहुन्छ भनी बाइबल बताउँछ। अगमवक्‍ता यशैया लेख्छन्‌: “परमप्रभुले यो देख्नुभयो, र न्याय रहेनछ भनेर उहाँ नाराज हुनुभयो। उहाँले धर्मको झिलम र मुक्‍तिको टोप लगाउनुभयो। उहाँले साटो लिने वस्त्र र क्रोधको पोशाक पहिरिनुभयो।”—यशैया ५९:१५, १७.

खराब मानिसहरू शक्‍तिमा रहुन्जेल धार्मिक मानिसहरूले शान्ति र सुरक्षा पाउनेछैनन्‌। (हितोपदेश २९:२; उपदेशक ८:९) यर्थाथमा भन्‍नुपर्दा, हामी भ्रष्ट र खराब मानिसहरूलाई उनीहरूको भ्रष्टता र खराबीबाट अलग पार्न सक्दैनौं। त्यसैले, खराब मानिसहरूलाई हटाएपछि मात्र चिरकालीन शान्ति र न्याय छाउँछ। सुलेमानले यस्तो लेखे: “धर्मीको उद्धारको साधन दुष्ट मानिस हो।”—हितोपदेश २१:१८.

न्याय गर्ने परमेश्‍वर हुनुभएकोले हरेक मामिलामा खराबी विरुद्ध गरिने न्याय धार्मिक हुनेछ भनी हामी निश्‍चित हुन सक्छौं। अब्राहामले यसरी सोधे: “सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्‍न र?” यहोवा सधैं सही हुनुहुन्छ भन्‍ने कुरा अब्राहामले सिके! (उत्पत्ति १८:२५) त्यसबाहेक बाइबल हामीलाई आश्‍वासन दिन्छ कि दुष्टहरूको नाश गर्दा यहोवा खुसी हुनुहुन्‍न। उहाँले यो नाश गर्ने काम अन्तिम उपायको रूपमा मात्र प्रयोग गर्नुहुन्छ।—इजकिएल १८:३२; २ पत्रुस ३:९.

आरमागेडोनलाई गम्भीरतापूर्वक लिने

यस निर्णायक लडाइँमा हामी कसको पक्षमा हुनेछौं? हामी धेरैजसोले स्वतः आफू असल शक्‍तिको पक्षमा छौं भनी ठान्छौं। तर यसबारे हामी कसरी निश्‍चित हुन सक्छौं? भविष्यवक्‍ता सपन्याह यस्तो कडा सल्लाह दिन्छन्‌: “धार्मिकता खोज, नम्रता खोज।” (सपन्याह २:३) “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा” परमेश्‍वरको छ भनी प्रेरित पावल भन्छन्‌।—१ तिमोथी २:४.

परमेश्‍वर र पृथ्वीबाट दुष्टता हटाउने उहाँको उद्देश्‍यबारे सच्चाइ सिक्नु मुक्‍तितर्फको पहिलो कदम हो। धार्मिकताको मार्गमा हिंड्‌नु दोस्रो कदम हो जसले गर्दा हामी परमेश्‍वरको अनुमोदन र सुरक्षा पाउँछौं।

यी महत्त्वपूर्ण कदमहरू चाल्यौं भने हामी मानव युद्धहरू साँच्चै अन्त गर्ने युद्ध अर्थात्‌ आरमागेडोनको बाटो हेर्न सक्छौं। यो युद्ध सकेपछि चारैतिरका मानिसले युद्धलाई बुझ्नै नसकिने र घृणित कुरा ठान्‍नेछन्‌। “तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।”—यशैया २:४. (w08 4/1)

[फुटनोट]

a आरमागेडोन साँच्चैको ठाउँ हो कि होइन भनी पृष्ठ ७ को “हाम्रा पाठकहरू सोध्छन्‌” लेखमा छलफल गरिएको छ। त्यो लेख हेर्नुहोस्‌।

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

मानव गतिविधिहरूमाथि परमेश्‍वरले गर्ने हस्तक्षेपलाई आरमागेडोन भनिन्छ

[पृष्ठ ६-मा भएका चित्रहरू]

मगिद्दो नजिकै लडिएको निर्णायक युद्धमा गिदोन र तिनका मानिसहरूको जीत भयो

[पृष्ठ ६-मा भएका चित्रहरू]

मगिद्दो

[पृष्ठ ६-मा भएका चित्रहरू]

आरमागेडोनको युद्ध सकिएपछि चारैतिरका मानिसले युद्धलाई बुझ्नै नसकिने र घृणित कुरा ठान्‍नेछन्‌