सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्यले दिने छुटकारा नजिकै छ!

परमेश्‍वरको राज्यले दिने छुटकारा नजिकै छ!

परमेश्‍वरको राज्यले दिने छुटकारा नजिकै छ!

“तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:१०.

१. येशूको शिक्षाको सार के थियो?

 येशूले डाँडामा उपदेश दिंदा अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनुभयो। यस प्रार्थनाले उहाँको शिक्षाको सार बतायो। परमेश्‍वरलाई यसरी प्रार्थना गर्न उहाँले आफ्ना चेलाहरूलाई सिकाउनुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:९-१३) येशू “शहर शहर र गाउँ गाउँ हुँदो प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँदै हिंड्‌नुभयो।” (लूका ८:१) उहाँले आफ्ना अनुयायीहरूलाई यस्तो आग्रह गर्नुभयो: ‘पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकता खोजी गर।’ (मत्ती ६:३३) यो लेख अध्ययन गर्दा यसका विषयवस्तुलाई प्रचारकार्यमा प्रयोग गर्ने तरिकाहरू खोज्नुहोस्‌। जस्तै, तपाईं यी प्रश्‍नहरूको जवाफ कसरी दिन सक्नुहुन्छ विचार गर्नुहोस्‌: परमेश्‍वरको राज्यको सन्देश कत्तिको महत्त्वपूर्ण छ? मानवजातिलाई केबाट छुटकारा चाहिएको छ? परमेश्‍वरको राज्यले कसरी छुटकारा दिनेछ?

२. परमेश्‍वरको राज्यको सन्देश कत्तिको महत्त्वपूर्ण छ?

येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) परमेश्‍वरको राज्यको यो सुसमाचार अत्यन्तै महत्त्वपूर्ण छ। हो, संसारमै अत्यन्त महत्त्वपूर्ण! यहोवाका साक्षीहरूको १,००,००० भन्दा बढी मण्डलीका लगभग ७० लाख सेवकहरू उहाँको राज्य स्थापना भइसकेको छ भनेर अरूलाई बताउने यस अतुलनीय प्रचारकार्यमा जोडतोडले लागेका छन्‌। परमेश्‍वरको राज्य स्थापना भइसकेको छ भन्‍ने समाचार सुसमाचार हो। यसको अर्थ, पृथ्वीका मामिलामाथि पूर्ण नियन्त्रण जमाउन परमेश्‍वरले स्वर्गमा एउटा सरकार बसाल्नुभएको छ। यस राज्य शासनअन्तर्गत यहोवाको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पनि पूरा हुनेछ।

३, ४. पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा हुँदा नतिजा कस्तो हुनेछ?

पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा हुँदा मानवजातिलाई के हुनेछ? यहोवाले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। . . . शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।” (प्रका. २१:४) जन्मजात पाएको पाप र असिद्धताको कारण मानिसहरू बिरामी हुने र मर्ने छैनन्‌। परमेश्‍वरको सम्झनामा भएका मृतकहरूले सधैंभरि बाँच्ने मौका पाउनेछन्‌, किनकि बाइबल यस्तो प्रतिज्ञा गर्छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरि. २४:१५) त्यतिखेर लडाइँ, रोगबिमार र भोकाहरू हुनेछैनन्‌; पृथ्वी सुन्दर बगैंचामा परिणत हुनेछ। अहिलेका खतरनाक जनावरहरूसमेत आपसमा र मानिससँग मिलेर बस्नेछन्‌।—भज. ४६:९; ७२:१६; यशै. ११:६-९; ३३:२४; लूका २३:४३.

राज्य शासनले ल्याउने यस्ता आश्‍चर्यलाग्दा आशिष्‌बारे बाइबल भविष्यवाणीले यी सान्त्वनादायी शब्द भन्‍नु कुनै छक्कलाग्दो कुरा होइन: “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” तर दुःख दिनेहरूबारे चाहिं के भन्‍न सकिन्छ? बाइबलले यसरी भविष्यवाणी गरेको छ: “थोरै बेरपछि, दुष्ट रहनेछैन।” “तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌।”—भज. ३७:९-११.

५. अहिलेको रीतिरिवाज के हुनेछ?

यी सब पूरा हुन अहिलेको रीतिरिवाज नाश हुनुपर्छ। साथै कुकुर-बिरालोजस्ता यसका सरकार, धर्म अनि व्यापारजगत्‌को अस्तित्व पनि नामेट हुनुपर्छ। स्वर्गमा स्थापित सरकारले ठ्याक्कै यही गर्नेछ। भविष्यवक्‍ता दानिएल यसरी भविष्यवाणी गर्न उत्प्रेरित भए: “ती राजाहरूका समयमा [अर्थात्‌ अहिलेका राजाहरूका समयमा] स्वर्गका परमेश्‍वरले एउटा राज्य [स्वर्गमा] खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै [वर्तमान] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्यचाहिं सदा सर्वदै रहिरहनेछ।” (दानि. २:४४) त्यसपछि परमेश्‍वरको राज्य अर्थात्‌ स्वर्गीय नयाँ सरकारले नयाँ पार्थिव समाजमाथि शासन गर्नेछ। त्यहाँ “नयाँ स्वर्ग र नयाँ पृथ्वी” हुनेछ “जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रु. ३:१३.

छुटकारा अहिले नै चाहिएको छ

६. यस दुष्ट संसारको खराबीलाई बाइबलले कसरी वर्णन गरेको छ?

शैतान, आदम र हव्वाले सही र गलत आफै छुट्याउन सक्छौं भन्दै परमेश्‍वर विरुद्ध विद्रोह गर्दा मानिसजातिको इतिहासले एउटा डरलाग्दो मोड लियो। यसको १,६०० वर्षपछि र जलप्रलयअघि “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।” (उत्प. ६:५) जलप्रलयको करिब १,३०० वर्षपछि त अवस्था यति बिग्रिसकेको थियो कि सुलेमानले यसरी लेखे: “मैले ता मरिसकेकाहरूलाई पनि सुखी ठानें, किनभने तिनीहरू मरिसकेका थिए जीवितहरूभन्दा तिनीहरू झन्‌ सुखी थिए। ती दुवैभन्दा पनि अझ सुखी नजन्मेको मानिस रहेछ, जसले संसारमा गरिएका दुष्ट कामहरू देखेकै हुँदैन।” (उप. ४:२, ३) त्यस समयदेखि आजसम्म करिब ३,००० वर्ष बितिसकेको छ तर खराबी भने झन्‌-झनै मौलाइरहेको छ।

७. परमेश्‍वरले दिने छुटकारा किन अहिले नै चाहिएको छ?

खराबीले जरा गाडेको निकै समय भइसकेकोले परमेश्‍वरको राज्यले दिने छुटकारा पहिलेभन्दा अहिले झनै आवश्‍यक परेको छ। विगत १०० वर्षमा संसारको अवस्था पहिलेभन्दा झनै खराब भएको छ र बिग्रने क्रम जारी नै छ। उदाहरणको लागि, वर्ल्डवाच इन्स्टिच्यूट यस्तो रिपोर्ट गर्छ: “प्रथम शताब्दीदेखि सन्‌ १८९९ सम्म लडिएका सम्पूर्ण युद्धको कारण जति मानिस मारिए, [२० औं] शताब्दीमा त्यसको तीन गुणा बढी मानिसहरू युद्धको कारण मारिए।” सन्‌ १९१४ देखि यता १० करोडभन्दा बढी मानिसले युद्धमा ज्यान गुमाएका छन्‌! एउटा इन्साइक्लोपीडियाको अनुमानअनुसार दोस्रो विश्‍वयुद्धमा छ करोड मानिसले ज्यान गुमाएका थिए। कतिपय देश त अहिले आणविक हात-हतियारले समेत सुसज्जित भएकोले मानिसहरू विश्‍व-जनसंख्याको ठूलै भागलाई सखाप पार्न सक्ने भएका छन्‌। विज्ञान तथा चिकित्साजगत्‌मा थुप्रै प्रगति भए तापनि हरेक वर्ष करिब ५० लाख केटाकेटी भोकमरीको कारण मर्छन्‌।—बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ९ हेर्नुहोस्‌।

८. हजारौं वर्षदेखि मानिसले चलाउँदै आएको शासनले शंकै नरहनेगरि के प्रमाणित गरेको छ?

खराबीलाई रोक्न मानिसले गरेका प्रयास असफल भएका छन्‌। यस संसारको राजनीति, व्यापार र धर्मले शान्ति, सम्पन्‍नता र सुस्वास्थ्यजस्ता मानिसका आधारभूत आवश्‍यकता कहिल्यै पूरा गरेका छैनन्‌। यस्ता समस्याहरू हल गर्नु त परै जाओस्‌, उल्टै थपेका छन्‌। साँच्चै, हजारौं वर्षदेखि मानिसले चलाउँदै आएको शासनले यी शब्दहरूको सत्यतालाई प्रमाणित गरेको छ: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मि. १०:२३) हो, “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय” छ। (उप. ८:९) साथै, “सारा सृष्टि पनि साथसाथै पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।”—रोमी ८:२२.

९. यी “आखिरी दिनमा” कस्ता कुराहरू भएकोमा साँचो ख्रीष्टियानहरू छक्क पर्दैनन्‌?

हाम्रो समयबारे बाइबलले यसरी भविष्यवाणी गरेको थियो: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ।” मानिसले शासन गरेको आखिरी समयको अवस्थाबारे वर्णन गरेपछि भविष्यवाणी यसो भन्छ: “खराब मानिसहरू र ठगाहाहरू . . . झन्‌ झन्‌ खराब हुँदै जानेछन्‌।” (२ तिमोथी ३:१-५, १३ पढ्‌नुहोस्‌) यस्तो हुँदा ख्रीष्टियानहरू छक्क पर्दैनन्‌ किनभने “सारा संसार त्यस दुष्टको [अर्थात्‌ शैतानको] अधीनमा परेको छ।” (१ यूह. ५:१९) तर परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई उहाँले छुटकारा दिनुहुनेछ भन्‍ने समाचार सुसमाचार हो। झन्‌-झनै खराब हुँदै गइरहेको यस संसारबाट तिनीहरूले छुटकारा पाउनेछन्‌।

छुटकाराको एक मात्र भरपर्दो स्रोत

१०. छुटकाराको एक मात्र भरपर्दो स्रोत यहोवा हुनुहुन्छ, किन?

१० अरूलाई सुसमाचार सुनाउँदा छुटकाराको एक मात्र भरपर्दो स्रोत यहोवा हुनुहुन्छ भन्‍ने कुरामा जोड दिनुहोस्‌। आफ्ना जनहरूलाई हरेक खराबीबाट छुटकारा दिनसक्ने क्षमता र चाहना उहाँसँग मात्र छ। (प्रेरि. ४:२४, ३१; प्रका. ४:११) यहोवाले आफ्ना जनहरूलाई छुटकारा दिनुहुनेछ र आफ्ना उद्देश्‍यहरू पूरा गर्नुहुनेछ भन्‍ने कुरामा हामी निश्‍चिन्त हुन सक्छौं, किनभने उहाँले यो शपथ खानुभएको छ: “जो युक्‍ति मैले गरेको छु, त्यो निश्‍चय पूरा हुनेछ।” उहाँको ‘मुखबाट निस्केको वचन उहाँकहाँ व्यर्थै फर्कनेछैन।’—शैया १४:२४, २५; ५५:१०, ११ पढ्‌नुहोस्‌।

११, १२. यहोवाले आफ्ना जनहरूलाई कस्तो प्रतिज्ञा गर्नुभएको छ?

११ दुष्टहरूलाई सजाय दिंदा आफ्ना जनहरूलाई छुटकारा दिने ग्यारेन्टी यहोवाले दिनुभएको छ। घोर पापीहरूकहाँ साहसी भएर बोल्न पठाउँदा भविष्यवक्‍ता यर्मियालाई परमेश्‍वरले यसो भन्‍नुभयो: “तिनीहरूसँग नडरा।” किन नडराउने? “तँलाई बचाउनलाई म तेरो साथमा छु।” (यर्मि. १:८) त्यसैगरि, खराब सदोम र गमोरालाई नाश गर्नअघि लूत र उनको परिवारलाई त्यहाँबाट सकुशल अन्तै लैजान यहोवाले दुई स्वर्गदूत पठाउनुभयो। त्यसपछि, “परमप्रभुले आकाशबाट सदोम र गमोरामाथि आगो र गन्धक वर्षाउनुभयो।”—उत्प. १९:१५, २४, २५.

१२ यहोवाको इच्छाअनुसार गर्नेहरू विश्‍वमा जहाँसुकै छरिएर बसेका भए तापनि यहोवा तिनीहरूलाई छुटकारा दिन सक्नुहुन्छ। प्राचीन दुष्ट संसारलाई जलप्रलयले नाश गर्दा उहाँले “धर्मका [अर्थात्‌ धार्मिकताका] प्रचारक नूह र अरू सात जनालाई जोगाउनुभयो।” (२ पत्रु. २:५) वर्तमान दुष्ट संसारलाई नाश गर्दा पनि उहाँले इमानदार मानिसहरूलाई छुटकारा दिनुहुनेछ। त्यसकारण उहाँको वचन यसो भन्छ: “हे पृथ्वीका दीन जन हो . . . परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।” (सप. २:३) त्यस विश्‍वव्यापी विनाशमा “दुष्टहरू . . . जरैसमेत उखेलिनेछन्‌” तर “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌।”—हितो. २:२१, २२.

१३. मरिसकेका सेवकहरूलाई समेत यहोवाले कसरी छुटकारा दिनुहुनेछ?

१३ तथापि, यहोवाका थुप्रै सेवकहरूको रोगबिमार, सतावट वा अन्य कारण मृत्यु भएको छ। (मत्ती २४:९) तिनीहरूले चाहिं कसरी छुटकारा पाउनेछन्‌? माथि उल्लेख गरिएझैं ‘धर्मीहरूको पुनरुत्थान हुनेछ।’ (प्रेरि. २४:१५) आफ्ना सेवकहरूलाई छुटकारा दिनदेखि यहोवालाई केहीले पनि रोक्न सक्दैन भनी थाह पाउनु कत्ति सान्त्वनादायी!

धार्मिक सरकार

१४. परमेश्‍वरको राज्य धार्मिक सरकार हो भनी हामी किन विश्‍वस्त हुनसक्छौं?

१४ यहोवाको स्वर्गीय राज्य धार्मिक सरकार हो भनेर प्रचार गर्दा बताउन सक्नुहुन्छ। यो राज्य वास्तवमै धार्मिक हो किनकि यसले न्याय, धार्मिकता अनि प्रेमजस्ता परमेश्‍वरका अद्‌भुत गुणहरू झल्काउँछ। (व्यव. ३२:४; १ यूह. ४:८) पृथ्वीमा शासन गर्न अत्यन्तै उपयुक्‍त व्यक्‍ति येशू ख्रीष्टको हातमा परमेश्‍वरले यो राज्य सुम्पनुभएको छ। साथै, १,४४,००० अभिषिक्‍त ख्रीष्टियानलाई पृथ्वीबाट छान्‍नु र ख्रीष्टसँगसँगै सह-शासकको रूपमा पृथ्वीका मामिलाहरू सँभाल्न स्वर्गीय जीवनको लागि पुनरुत्थान गर्नु पनि यहोवाको उद्देश्‍य हो।—प्रका. १४:१-५.

१५. परमेश्‍वरको शासन र मानिसको शासनबीच के भिन्‍नता छ, प्रस्ट पार्नुहोस्‌।

१५ येशू र १,४४,००० को शासन अनि असिद्ध मानिसहरूको शासनबीच कत्ति ठूलो भिन्‍नता! यस रीतिरिवाजका शासकहरू अक्सर निर्दयी छन्‌ र तिनीहरूले आफ्ना प्रजालाई युद्धमा होमेर लाखौंको हत्या गरेका छन्‌। त्यसकारण, धर्मशास्त्रले हामीलाई ‘केही सहायता नमिल्ने’ अर्थात्‌ छुटकारा दिन नसक्ने मानिसमाथि भरोसा नगर्न सल्लाह दिनु छक्कलाग्दो कुरा होइन। (भज. १४६:३) तर ख्रीष्टले भने मायालु ढंगमा शासन गर्नुहुनेछ! येशूले भन्‍नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२८-३०.

अन्तको दिनको अन्त्य नजिकै!

१६. आखिरी दिनको अन्त कसरी हुनेछ?

१६ सन्‌ १९१४ देखि यो संसारले आखिरी दिन अर्थात्‌ ‘जगत्‌को अन्तमा’ पाइला टेकेको छ। (मत्ती २४:३) अब छिट्टै नै येशूले भन्‍नुभएको “महा संकष्ट” सुरु हुनेछ। (मत्ती २४:२१ पढ्‌नुहोस्‌) त्यस असामान्य महा संकष्टले नै शैतानको सम्पूर्ण संसारको अन्त्य गर्नेछ। तर त्यो महा संकष्टको सुरुवात कसरी हुनेछ? अनि त्यसको अन्त्य नि?

१७. महा संकष्ट सुरु हुने बेलाबारे बाइबलले के बताएको छ?

१७ महा संकष्ट अकस्मात्‌ सुरु हुनेछ। हो, “जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्‌” तब अचानक “प्रभुको दिन” आउनेछ। (१ थिस्सलोनिकी ५:२, ३ पढ्‌नुहोस्‌) ठूलठूला समस्याहरूको समाधान गर्न अब हामी नजिकै छौं भनेर राष्ट्रहरूले सोचिरहेकै बेला भविष्यवाणी गरिएको महा संकष्ट सुरु हुनेछ। “महान्‌ बेबिलोन” अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्य एक्कासी पतन हुँदा संसारै चकित हुनेछ। महान्‌ बेबिलोनलाई विनाशको दण्ड दिंदा राजाहरू र अरू तीनछक पर्नेछन्‌।—प्रका. १७:१-६, १८; १८:९, १०, १५, १६, १९.

१८. शैतानले यहोवाका सेवकहरूमाथि आक्रमण गर्दा उहाँले के गर्नुहुनेछ?

१८ यसको चरमबिन्दुमा “सूर्य, चन्द्र, र ताराहरूमा चिह्न हुनेछ” अनि “मानिसको पुत्रको चिह्न आकाशमा देखा पर्नेछ।” त्यसपछि हामी ‘आफ्नो शिर उठाएर माथि हेर्न सक्छौं किनभने हाम्रो छुटकारा नजिकै आएको हुनेछ।’ (लूका २१:२५-२८; मत्ती २४:२९, ३०) शैतान अर्थात्‌ गोगले परमेश्‍वरका जनहरूलाई आक्रमण गर्नेछ। तर आफ्ना विश्‍वासी सेवकहरूमाथि आक्रमण गर्नेहरूबारे यहोवा भन्‍नुहुन्छ: “जसले तिमीहरूलाई छुन्छ त्यसले [मेरो] आँखाको नानीलाई छुन्छ।” (जक. २:८) त्यसैकारण, परमेश्‍वरका जनहरू विरुद्ध शैतानको आक्रमण सफल हुनेछैन। किन? किनभने आफ्ना सेवकहरूलाई छुटकारा दिन सर्वोच्च परमेश्‍वर यहोवाले तुरुन्तै कदम चाल्नुहुनेछ।—इज. ३८:९, १८.

१९. येशू ख्रीष्टको नेतृत्वमा आत्मिक प्राणीहरूको फौजले शैतानको रीतिरिवाज सखाप पार्नेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौं?

१९ परमेश्‍वरले राष्ट्रहरू विरुद्ध कदम उठाउँदा ‘तिनीहरूले उहाँ नै यहोवा हुनुहुन्छ भनी जान्‍नेछन्‌।’ (इज. ३६:२३) यहोवाले शैतानको रीतिरिवाजको बाँकी भाग सखाप पार्न न्यायदण्ड ल्याउनुहुनेछ र उक्‍त न्यायदण्डको कार्यान्वयन ख्रीष्ट येशूको नेतृत्वमा लाखौंलाख आत्मिक प्राणीहरूको फौजले गर्नेछ। (प्रका. १९:११-१९) एउटा स्वर्गदूतले एकै रातमा “एक लाख पचासी हजार” परमेश्‍वरका शत्रुहरूलाई निमिट्यान्‍न पारेको घटना सम्झँदा आरमागेडोनमा महा संकष्ट चुलिएको बेला परमेश्‍वरका स्वर्गीय सेनाहरूले शैतानको रीतिरिवाजको सम्पूर्ण अवशेषलाई सजिलै विनाश गर्नेछन्‌ भनेर हामी विश्‍वस्त हुन सक्छौं। (२ राजा १९:३५; प्रका. १६:१४, १६) एक हजार वर्षसम्म शैतान र त्यसका प्रेतहरू अगाध खाँदमा थुनिनेछन्‌। अन्तमा तिनीहरूको अस्तित्व नै समाप्त पारिनेछ।—प्रका. २०:१-३.

२०. राज्यमार्फत यहोवाले कुन काम पूरा गर्नुहुनेछ?

२० त्यसपछि पृथ्वीमा दुष्टता रहनेछैन। धार्मिक मानिसहरू पृथ्वीमा सधैंभरि रहनेछन्‌। यहोवाले आफूलाई छुटकारा दिने महान्‌ व्यक्‍तिको रूपमा चिनाइसक्नुभएको हुनेछ। (भज. १४५:२०) राज्यमार्फत उहाँले आफ्नो सार्वभौमिकता उच्च पार्नुहुनेछ, आफ्नो पवित्र नाउँलाई पवित्र पार्नुहुनेछ अनि पृथ्वीको लागि राखेको महान्‌ उद्देश्‍य पूरा गर्नुहुनेछ। यो सुसमाचार अरूलाई सुनाउँदा र परमेश्‍वरको राज्यले दिने छुटकारा नजिकै छ भनी “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू”-लाई बुझ्न मदत गर्दा तपाईंको आनन्दको कुनै सीमा नरहोस्‌!—प्रेरि. १३:४८. (w08 5/15)

के तपाईंलाई याद छ?

• परमेश्‍वरको राज्यको महत्त्वलाई येशूले कसरी जोड दिनुभयो?

• परमेश्‍वरले दिने छुटकारा किन अहिले नै चाहिएको छ?

• महा संकष्टको दौडान कस्ता घटनाहरू हुने आशा हामी गर्न सक्छौं?

• यहोवाले आफूलाई छुटकारा दिने महान्‌ व्यक्‍तिको रूपमा कसरी प्रमाणित गर्नुभएको छ?

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएका चित्रहरू]

हाम्रो समयमा जोडतोडका साथ हुने विश्‍वव्यापी प्रचारकार्यबारे परमेश्‍वरको वचनले भविष्यवाणी गरेको थियो

[पृष्ठ १९-मा भएको चित्र]

नूह र उनको परिवारलाई जस्तै हामीलाई पनि यहोवाले छुटकारा दिन सक्नुहुन्छ

[पृष्ठ २०-मा भएको चित्र]

यहोवाले “सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन।” —प्रका. २१:४.