सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पावलको उदाहरण पछ्याउँदै आध्यात्मिक उन्‍नति गर्नुहोस्‌

पावलको उदाहरण पछ्याउँदै आध्यात्मिक उन्‍नति गर्नुहोस्‌

पावलको उदाहरण पछ्याउँदै आध्यात्मिक उन्‍नति गर्नुहोस्‌

“मैले उत्तम लडन्त लडेको छु, मैले दौड सिध्याएको छु, विश्‍वासलाई बचाइराखेको छु।”—२ तिमो. ४:७.

१, २. टार्ससको शावलले आफ्नो जीवनमा कस्तो परिवर्तन गरे र तिनले कस्तो महत्त्वपूर्ण काम थाले?

 ती मानिस बुद्धिमान्‌ र झट्ट निर्णय गर्न सक्ने खालका थिए। तर तिनले आफूलाई “शरीरको लालसामा” डोऱ्‍याए। (एफि. २:३) पछि तिनले आफूलाई “निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने” मानिस भनी वर्णन गरे। (१ तिमो. १:१३) ती मानिस टार्ससका शावल थिए।

समयको दौडान शावलले जीवनमा आमूल परिवर्तन गरे। तिनले पहिलाको मार्ग त्यागे र “आफ्नै लाभ होइन, तर धेरैको लाभ खोज्दै” कडा परिश्रम गरे। (१ कोरि. १०:३३) तिनी भद्र व्यक्‍ति बने अनि पहिला आफूले सताएकाहरूप्रति तिनले कोमल स्नेह देखाए। (१ थिस्सलोनिकी २:७, ८ पढ्‌नुहोस्‌) “म सेवक बनिएँ” भनी तिनले लेखे। त्यसपछि तिनले अझै यसो भने: “सबै पवित्र जनहरूमा म सबैभन्दा क्षुद्र, अन्यजातिहरूमा सुसमाचार अथवा ख्रीष्टको अगम सम्पत्तिको प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइएको हो।”—एफि. ३:७, ८.

३. पावलका पत्रहरू तथा तिनको सेवकाईका विवरण अध्ययन गर्दा हामी कुन तरिकामा मदत पाउन सक्छौं?

पावल भनेर पनि चिनिने शावलले उल्लेखनीय आध्यात्मिक उन्‍नति गरे। (प्रेरि. १३:९) सच्चाइमा आफूलाई अगाडि बढाउने एउटा निश्‍चित तरिका हो: पावलका पत्रहरू तथा तिनका सेवकाईका विवरण गहिरोसित पढेर र त्यसपछि तिनको विश्‍वासको उदाहरण नक्कल गरेर। (१ कोरिन्थी ११:१; हिब्रू १३:७ पढ्‌नुहोस्‌) यसो गरेर हामी कसरी व्यक्‍तिगत अध्ययनको राम्रो तालिका बनाउन, मानिसहरूलाई साँचो माया गर्न र आफूप्रति उचित दृष्टिकोण राख्न उत्प्रेरित हुनेछौं, त्यो हेरौं।

पावलको अध्ययन तालिका

४, ५. व्यक्‍तिगत अध्ययनले पावललाई कसरी लाभ पुऱ्‍यायो?

पावल फरिसी थिए र तिनले ‘गमलीयलका चरणमा हुर्केर पुर्खाका व्यवस्थाको विधिमा ठीक ठीक शिक्षा’ पाएका थिए। त्यसैले, तिनलाई धर्मशास्त्रको धेरथोर ज्ञान थियो। (प्रेरि. २२:१-३; फिलि. ३:४-६) बप्तिस्मा लिनासाथ तिनी ‘अरब देशमा गइहाले।’ मतलब, तिनी मनन गर्नको लागि उपयुक्‍त हुने ठाउँमा अर्थात्‌ सिरियाको मरुभूमि वा अरबिया प्रायद्धिपको कुनै शान्त स्थानमा गए। (गला. १:१७) पावल धर्मशास्त्रका यस्ता अंशहरू अध्ययन गर्न चाहन्थे जसले येशू नै मसीह हो भनी साबित गर्थ्यो। त्यसबाहेक, तिनी आफूले अबउसो गर्नुपर्ने कामको लागि तयारी गर्न चाहन्थे। (प्रेरित ९:१५, १६, २०, २२ पढ्‌नुहोस्‌) यसरी पावलले आध्यात्मिक कुराहरूमाथि मनन गर्ने प्रयास गरे।

व्यक्‍तिगत अध्ययनबाट प्राप्त धर्मशास्त्रीय ज्ञान र अन्तरदृष्टिले पावललाई बाइबल सच्चाइ प्रभावकारी ढंगमा सिकाउन सक्षम बनायो। उदाहरणको लागि, येशू नै मसीह हुनुहुन्छ भनी साबित गर्न तिनले पिसिदियाको एन्टिओकस्थित सभाघरमा कम्तीमा पनि पाँच वटा भनाइ हिब्रू धर्मशास्त्रबाट सीधै उद्धरण गरे। साथै तिनले धर्मशास्त्रलाई पटक-पटक उल्लेख मात्र पनि गरे। बाइबल चलाएर तिनले गरेको तर्क यत्ति सशक्‍त थियो कि “यहूदीहरू र यहूदी मत मान्‍ने भक्‍तहरूमध्ये धेरै जसो” अझ बढी सिक्नका लागि “पावल र वर्णाबासको पछि लागे।” (प्रेरि. १३:१४-४४) रोमका यहूदीहरू केही वर्षपछि पावललाई तिनका डेरामा भेट्‌न आउँदा तिनले “मोशाको व्यवस्थाबाट र अगमवक्‍ताहरूका पुस्तकबाट समेत परमेश्‍वरको राज्यको अर्थ लगाउँदै, र साक्षी दिंदै येशूको विषयमा उनीहरूलाई प्रष्ट गरी बताए।”—प्रेरि. २८:१७, २२, २३.

६. परीक्षाहरूको सामना गर्दा केले पावललाई आध्यात्मिक तवरमा दृढ रहन मदत गऱ्‍यो?

परीक्षाहरू सामना गर्नुपर्दा पनि पावलले धर्मशास्त्र जाँच्न छाडेनन्‌ र प्रेरित सन्देशबाट तिनले बल पाई नै रहे। (हिब्रू ४:१२) तिनलाई मारिनुअघि रोमको कैदमा रहँदा पावलले तिमोथीलाई “पुस्तकहरू” र “चर्मपत्रहरू” ल्याइदिन भने। (२ तिमो. ४:१३) ती, सम्भवतः हिब्रू धर्मशास्त्रका अंशहरू थिए जसलाई पावलले गहन अध्ययन गर्न प्रयोग गर्थे। स्थिर रहिरहनको लागि तालिकाअनुसार धर्मशास्त्र अध्ययन गरी ज्ञान प्राप्त गर्नुलाई पावल अत्यावश्‍यक कुरा ठान्थे।

७. नियमित बाइबल अध्ययनबाट पाउन सकिने फाइदाहरू बताउनुहोस्‌।

उद्देश्‍यपूर्ण मनन गर्दै नियमित रूपमा बाइबल अध्ययन गर्दा तपाईंले आध्यात्मिक उन्‍नति गर्न मदत पाउनुहुनेछ। (हिब्रू ५:१२-१४) परमेश्‍वरको वचनको महत्त्वबारे भजनरचयिताले यसरी गाए: “तपाईंको मुखबाट निस्केको व्यवस्था मेरो निम्ति हजारौं सुन र चाँदीभन्दा असल छ। तपाईंका आज्ञाहरूले मलाई मेरा शत्रुहरूभन्दा बढ्‌ता बुद्धिमान तुल्याउँछ। किनकि ती सधैं मसँगै छन्‌। तपाईंको वचन पालन गरूँ भनेर मैले आफ्नो खुट्टालाई हरेक खराब चालबाट रोकेको छु।” (भज. ११९:७२, ९८, १०१) के तपाईंसित व्यक्‍तिगत बाइबल अध्ययनको तालिका छ? दिनहुँ बाइबल पढेर र पढेको कुरामाथि मनन गरेर के तपाईं भावी जिम्मेवारीहरूका लागि तयार हुनुहुँदैछ?

शावलले मानिसहरूलाई प्रेम गर्न सिके

८. शावलले अन्य धर्मका मानिसहरूप्रति कस्तो व्यवहार गर्थे?

ख्रीष्टियान हुनुअघि शावल आफूले मानिरहेको यहूदीधर्ममा जोसिलो थिए। तर अन्य धर्मका मानिसहरूप्रति तिनलाई चासो नै थिएन। (प्रेरि. २६:४, ५) केही यहूदीहरूले स्तिफनसलाई ढुंगाले हान्दा तिनले त्यसमा सहमति जनाए अनि मूक-दर्शक बनेर त्यो घटना हेरे। त्यो घटनापछि शावल ख्रीष्टियानहरूलाई सताउन प्रोत्साहित भएको हुनुपर्छ। सम्भवतः तिनले स्तिफनसको हत्या जायज हो भन्ठाने। (प्रेरि. ६:८-१४; ७:५४–८:१) प्रेरित विवरण यसो भन्छ: “शावलले चाहिं घर घरमा पसी पसीकन मण्डलीलाई संहार गरिरहेका थिए। औ पुरूष र स्त्रीहरूलाई घिस्याई-घिस्याईकन झ्यालखानमा हालिदिन्थे।” (प्रेरि. ८:३) तिनले सहरबाहिरका ख्रीष्टियानहरूलाई समेत ‘खेदो गरे।’—प्रेरि. २६:११.

९. कुन घटनाले गर्दा मानिसहरूप्रतिको आफ्नो व्यवहार जाँच्न शावल बाध्य भए?

शावलको अघि प्रभु येशू देखापर्नु हुँदा तिनी ख्रीष्टका चेलाहरूलाई दुःख दिन दमीशक जाँदै थिए। परमेश्‍वरका पुत्रको अलौकिक ज्योतिले शावल अन्धा भए र अरूको सहारा लिएर हिंड्‌नुपऱ्‍यो। यहोवाले हननियालाई चलाएर शावलको दृष्टि फर्काउनु हुँदासम्म त मानिसहरूप्रति शावलको मनोवृत्ति सदाको लागि बद्‌लिसकेको थियो। (प्रेरि. ९:१-३०) ख्रीष्टको अनुयायी बनेपछि सबै मानिससित येशूले झैं व्यवहार गर्न शावलले कठोर परिश्रम गरे। मतलब, तिनले हिंसा त्यागेर “सबै मानिसहरूसँग शान्तिमा” रहन प्रयास गरे।—रोमी १२:१७-२१ पढ्‌नुहोस्‌।

१०, ११. पावलले कसरी मानिसहरूप्रति साँचो प्रेम देखाए?

१० अरूसित शान्तिमा रहेर मात्र पावल सन्तुष्ट भएनन्‌। तिनी मानिसहरूलाई साँचो प्रेम देखाउन चाहन्थे र ख्रीष्टियान सेवकाईले तिनलाई त्यो चाहना पूरा गर्ने मौका दियो। पहिलो मिसनरी यात्राको दौडान तिनले एसिया माइनरमा सुसमाचार प्रचार गरे। घोर विरोधको बावजूद पावल र तिनका साथीहरूले नम्र व्यक्‍तिहरूलाई ख्रीष्टियान धर्म अँगाल्न मदत गर्ने काममा नै आफ्नो ध्यान लगाए। लिस्त्रा र आइकोनियममा विरोधीहरूले पावललाई मार्ने प्रयास गरेका थिए, तैपनि तिनीहरू फेरि ती सहरमा गए।—प्रेरि. १३:१-३; १४:१-७, १९-२३.

११ पछि, म्यासिडोनियाली सहर फिलिप्पीमा पावल र तिनका समूहले परमेश्‍वरसित सम्बन्ध गाँस्न चाहने मानिसहरूको खोजी गरे। धर्म परिवर्तन गरी यहूदी बनेकी लिडियाले सुसमाचार ग्रहण गरिन्‌ र ख्रीष्टियान बनिन्‌। सरकारी अधिकारीहरूले पावल र सिलासलाई छडीले पिट्‌ने आज्ञा दिए अनि झ्यालखानामा हालिदिए। तर पावलले झ्यालखानाको हाकिमलाई पनि प्रचार गरे। परिणाम? ती हाकिम र तिनका परिवार बप्तिस्मा लिई यहोवाको उपासक बने।—प्रेरि. १६:११-३४.

१२. ख्रीष्टियानहरूको खेदो गरिहिंड्‌ने शावललाई केले येशूको मायालु प्रेरित बन्‍न उत्प्रेरित गऱ्‍यो?

१२ पहिला ख्रीष्टियानहरूलाई सताउने शावलले किन ती व्यक्‍तिहरूकै धर्म अँगालेको? त्यसरी खेदो गरिहिंड्‌ने व्यक्‍तिलाई केले येशूको मायालु प्रेरित बन्‍न उत्प्रेरित गऱ्‍यो, जो अरूले परमेश्‍वर र ख्रीष्टबारेको सच्चाइ सिकून्‌ भनी आफ्नो ज्यान जोखिममा हाल्न समेत इच्छुक भए? पावल आफै बताउँछन्‌: ‘मलाई आफ्नो अनुग्रहद्वारा बोलाउनुहुने परमेश्‍वरलाई आफ्ना पुत्र प्रकट गराउन खुशी लाग्यो।’ (गला. १:१५, १६) पावलले तिमोथीलाई यस्तो लेखे: “अनन्त जीवनको निम्ति उहाँमाथि पछि विश्‍वास गर्नेहरूलाई एउटा नमूना हुनलाई म मुख्य भएँ, तापनि येशू ख्रीष्टले मलाई जम्मै धैर्य देखाउनको निम्ति मैले दया पाएँ।” (१ तिमो. १:१६) यहोवाले पावललाई क्षमा गर्नुभयो। यस्तो अनुग्रह र दया पाएकोले तिनी सुसमाचार प्रचार गर्दै अरूलाई प्रेम देखाउन उत्प्रेरित भए।

१३. अरूप्रति प्रेम देखाउन केले हामीलाई उत्प्रेरित गर्नुपर्छ अनि हामी कसरी त्यसो गर्न सक्छौं?

१३ यहोवा हाम्रा पाप तथा गल्तीहरू पनि क्षमा गर्नुहुन्छ। (भज. १०३:८-१४) भजनरचयिताले यस्तो प्रश्‍न गरे: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खडा हुनसक्छ र? (भज. १३०:३) परमेश्‍वरको कृपाविना हामी कसैले पनि पवित्र सेवाको आनन्द उठाउने थिएनौं न त अनन्त जीवन पाउने आशा नै राख्न सक्थ्यौं। हामी सबैले परमेश्‍वरको अनुग्रह प्रशस्तगरि पाएका छौं। तसर्थ, पावल जस्तै हामी पनि सँगी विश्‍वासीहरूलाई विश्‍वासमा बलियो बन्‍न मदत गरेर अनि अरूलाई चाहिं प्रचार गरेर र सच्चाइ सिकाएर प्रेम देखाउन इच्छुक हुनुपर्छ।—प्रेरित ४:२१-२३ पढ्‌नुहोस्‌।

१४. हामी कसरी आफ्नो सेवकाईलाई बढाउन सक्छौं?

१४ पावल सुसमाचारको सेवकको हैसियतमा उन्‍नति गर्न चाहन्थे। येशूको उदाहरणले तिनको हृदय छोएको थियो। परमेश्‍वरका पुत्रले मानिसहरूप्रति अतुलनीय प्रेम देखाउनुभएको एउटा तरिका प्रचारकार्य थियो। येशूले यसो भन्‍नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३५-३८) पावलले अझ धेरै खेताला पठाइ दिनुहोस्‌ भनी बिन्ती गरेका हुनसक्थे र तिनले त्यसैअनुरूप काम गरे। भन्‍नुको मतलब तिनी आफै जोसिलो खेताला भए। तपाईं नि? के तपाईं प्रचारकार्यमा अझ सिपालु हुन सक्नुहुन्छ? वा अग्रगामी सेवाको लागि सायद आफ्नो जीवनमा छाँटकाँट गरेर नै भए पनि के तपाईं राज्य प्रचारकार्यमा अझ धेरै भाग लिन सक्नुहुन्छ? आउनुहोस्‌, “जीवनको वचनलाई जोड सित पक्रिराख्न” अरूलाई मदत दिएर तिनीहरूप्रति साँचो प्रेम देखाऔं।—फिलि. २:१६.

आफूप्रति पावलको दृष्टिकोण

१५. आफ्ना सँगी ख्रीष्टियानहरूको तुलनामा पावलले आफूलाई कसरी हेरे?

१५ ख्रीष्टियान सेवकको हैसियतमा पावलले हाम्रो निम्ति अझ अर्को एउटा तरिकामा पनि उल्लेखनीय उदाहरण बसाले। तिनले मण्डलीमा थुप्रै सुअवसर पाएका थिए। तैपनि, आफ्नै योग्यताको भरमा ती आशिष्‌ पाएको होइन र आफ्नो योग्यतामा भर परेको भए ती आशिष्‌ पाउन असम्भव थियो भन्‍ने कुरा पावललाई राम्ररी थाह थियो। आफूले पाएका आशिष्‌हरू त परमेश्‍वरको अनुग्रह हो भनी तिनले बुझेका थिए। अरू ख्रीष्टियानहरू पनि सुसमाचारका सिपालु सेवक हुन्‌ भन्‍ने कुरा पावललाई थाह थियो। परमेश्‍वरका जनहरूबीच नाउँ चलेको भए तापनि पावल नम्र भइरहे।—१ कोरिन्थी १५:९-११ पढ्‌नुहोस्‌।

१६. खतनाबारे उठेको विवादमा पावलले कसरी नम्रता देखाए?

१६ सिरियाको सहर एन्टिओकमा उठेको एउटा समस्यालाई पावलले कसरी सम्हाले, विचार गर्नुहोस्‌। खतनाको विषय लिएर त्यहाँको ख्रीष्टियान मण्डली विभाजित भएको थियो। (प्रेरि. १४:२६-१५:२) पावललाई खतना नगरिएका अन्यजातिहरूलाई प्रचार गर्ने काममा अगुवा लिन खटाइएकोले तिनलाई आफू गैर-यहूदीहरूसित व्यवहार गर्नमा दक्ष छु जस्तो लागेको हुन सक्छ, त्यसैले तिनले आफूलाई समस्याहरू सुल्झाउन योग्य ठानेका थिए होलान्‌। (गलाती २:८, ९ पढ्‌नुहोस्‌) तर आफ्नो प्रयासले त्यो विवाद नसुल्झिएपछि त्यो विषय छलफल गर्न प्रबन्धअनुरूपै तिनी नम्र भई यरूशलेममा परिचालक निकायकहाँ गए। त्यो विवादलाई परिचालक निकायका सदस्यहरूले सुन्दा र त्यसबारे तिनीहरूले निर्णय गर्दा तिनले पूर्ण सहयोग गरे। अनि परिचालक निकायको निर्णयलाई लिएर जान खटाइएका व्यक्‍तिहरूमध्ये तिनी पनि एक जना थिए। (प्रेरि. १५:२२-३१) यसरी पावलले आफ्ना सँगी सेवकहरूलाई ‘कदर गर्नमा’ नेतृत्व लिए।—रोमी १२:१०ख.

१७, १८. (क) मण्डलीमा भएकाहरूलाई पावलले कस्तो ठान्थे? (ख) पावल एफिसस छोडेर जाँदा त्यहाँका प्राचीनहरूले देखाएको प्रतिक्रियाबाट तिनीबारे हामी के सिक्छौं?

१७ नम्र पावलले आफूलाई मण्डलीका भाइबहिनीहरूबाट अलग राखेनन्‌। बरु, भाइबहिनीसित तिनको घनिष्ठ सम्बन्ध थियो। रोमीहरूलाई लेखेको पत्रको अन्तमा तिनले २० जनालाई त नाउँ नै लिएर अभिवादन गरे। तिनीहरूमध्ये धेरैलाई बाइबलमा कतैपनि उल्लेख गरिएको छैन अनि तिनीहरूमध्ये थोरैले मात्र ठूल्ठूला जिम्मेवारी बोकिरहेका थिए। तर तिनीहरू यहोवाका वफादार सेवकहरू थिए र पावलले तिनीहरूलाई औधी माया गर्थे।—रोमी १६:१-१६.

१८ पावलको नम्र र मित्रैलो व्यवहारले मण्डलीहरूलाई बलियो बनायो। ‘उनको मुख फेरि कहिल्यै पनि देख्नेछैन भन्‍ने कुरा उनले गरेको कारण’ एफिससका प्राचीनहरूलाई अन्तिम पटक भेट्‌दा ‘तिनीहरूले उनलाई अङ्‌गालो हालेर चुम्बन गरे अनि सबैभन्दा बढ्‌ता विलाप गरे।’ पावल घमन्डी र एकलकाँटे व्यक्‍ति भएको भए तिनी एफिसस छोडेर जाँदा ती प्राचीनहरूले त्यस्तो त्यस्तो दुःख मान्‍ने थिएनन्‌।—प्रेरि. २०:३७, ३८.

१९. सँगी ख्रीष्टियानहरूसित व्यवहार गर्दा हामी कसरी ‘नम्रता’ देखाउन सक्छौं?

१९ आध्यात्मिक उन्‍नति गर्न चाहने सबैले पावलको जस्तै नम्र मनोभाव देखाउनुपर्छ। पावलले सँगी ख्रीष्टियानहरूलाई यसो गर्न सल्लाह दिए: ‘विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान।’ (फिलि. २:३) हामी कसरी यो सल्लाह पालन गर्न सक्छौं? एउटा तरिका हो, मण्डलीका प्राचीनहरूको समर्थन गरेर। अनि प्राचीनहरूको समर्थन गर्नु भनेको तिनीहरूको निर्देशन पालन गर्नु र तिनीहरूले मण्डलीमा भएको गम्भीर पापबारे गरेको निर्णयलाई स्वीकार्नु हो। (हिब्रू १३:१७ पढ्‌नुहोस्‌) अर्को तरिका हो, विश्‍वासमा भएका सबै भाइबहिनीहरूलाई कदर गरेर। यहोवाका जनहरूको मण्डलीमा अक्सर भिन्‍ना-भिन्‍नै राष्ट्रिय, सांस्कृतिक र जातीय पृष्ठभूमिका मानिसहरू हुन्छन्‌। तर के हामीले पावलले जस्तै सबैसित निष्पक्ष र सहानुभूतिशील व्यवहार गर्न सिक्नुपर्दैन र? (प्रेरि. १७:२६; रोमी १२:१०क) ‘परमेश्‍वरको महिमाको निम्ति ख्रीष्टले हामीलाई सत्कार गर्नुभएबमोजिम एउटाले अर्कोलाई सत्कार गर्न’ हामीलाई प्रोत्साहित गरिएको छ।—रोमी १५:७.

जीवनको दौड ‘धीरजसँग दौडनुहोस्‌’

२०, २१. जीवनको दौड सफलतापूर्वक दौडन केले हामीलाई मदत गर्नेछ?

२० ख्रीष्टियानको जीवनलाई लामो दूरीको दौडसित तुलना गर्न सकिन्छ। पावलले यस्तो लेखे: “मैले दौड सिध्याएको छु, विश्‍वासलाई बचाइराखेको छु। अबउप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिक न्यायधीश प्रभुले त्यस दिन मलाई र मलाई मात्र होइन तर उहाँको आगमन प्रिय मान्‍नेहरूलाई समेत दिनुहुनेछ।”—२ तिमो. ४:७, ८.

२१ पावलको उदाहरण पछ्याउँदा हामी अनन्त जीवनको दौड सफलतापूर्वक दौडन सक्छौं। (हिब्रू १२:१) त्यसैले, व्यक्‍तिगत अध्ययनको राम्रो तालिका बनाएर, मानिसहरूलाई गहिरो प्रेम गरेर अनि नम्र मनोभाव कायम राखेर आध्यात्मिक उन्‍नति हर प्रयास गरिरहौं। (w08 5/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• नियमित व्यक्‍तिगत बाइबल अध्ययन गरेर पावलले कसरी लाभ उठाए?

• साँचो ख्रीष्टियानहरूले मानिसहरूलाई गहिरो प्रेम गर्नु किन महत्त्वपूर्ण छ?

• कुन गुणहरू खेती गर्दा अरूलाई निष्पक्ष व्यवहार गर्न तपाईंले मदत पाउनुहुनेछ?

• पावलको उदाहरण पछ्याउँदा कसरी तपाईंले मण्डलीका प्राचीनहरूको समर्थन गर्न मदत पाउनुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २७-मा भएको चित्र]

पावलले जस्तै बाइबलबाट बल प्राप्त गर्नुहोस्‌

[पृष्ठ २८-मा भएको चित्र]

अरूलाई सुसमाचार सुनाएर प्रेम देखाउनुहोस्‌

[पृष्ठ २९-मा भएको चित्र]

कुन कुराले पावललाई सँगी भाइहरूको प्रिय बनायो, के तपाईंलाई थाह छ?