सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेरितको पुस्तकका विशेषताहरू

प्रेरितको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

प्रेरितको पुस्तकका विशेषताहरू

बाइबलको प्रेरितको पुस्तकमा ख्रीष्टियान मण्डलीको स्थापना र पछि भएको यसको विस्तारबारे विस्तृत विवरण पाइन्छ। डाक्टर लूकाले लेखेको यस पुस्तकमा २८ वर्ष अर्थात्‌ इस्वी संवत्‌ ३३ देखि इस्वी संवत्‌ ६१ सम्मको ख्रीष्टियान गतिविधिको जीवन्त विवरण छ।

प्रेरित पुस्तकको पहिलो भागमा मुख्य गरी प्रेरित पत्रुसको गतिविधि छ भने पछिल्लो भागमा प्रेरित पावलको। लूकाले “हामी” र “हामीलाई” जस्ता सर्वनाम चलाएर केही घटनाहरू घट्‌दा आफू पनि उपस्थित भएको कुरा संकेत गर्छन्‌। प्रेरितको पुस्तकको सन्देशमा ध्यान दिंदा परमेश्‍वरको लिखित वचन र उहाँको पवित्र आत्माको शक्‍तिलाई हामीले अझ कदर गर्न सक्नेछौं। (हिब्रू ४:१२) यसले हामीलाई आत्म-त्यागी हुन र परमेश्‍वरको राज्यको आशालाई अझ बलियोसित पक्रिराख्न पनि उत्प्रेरित गर्नेछ।

पत्रुसले “स्वर्गको राज्यका साँचाहरू” चलाउँछन्‌

(प्रेरि. १:१–११:१८)

प्रेरितहरूले पवित्र आत्मा पाएपछि निर्भयता साथ साक्षी दिन थाल्छन्‌। पत्रुसले परमेश्‍वरको राज्यमा पस्न ‘तिनको कुरा ग्रहण गर्ने’ यहूदी तथा धर्म परिवर्तन गरी यहूदीधर्म अँगालेकाहरूका लागि ज्ञान र मौकाको ढोका खोल्न “स्वर्गको राज्यका साँचाहरू”-मध्ये पहिलो साँचो चलाउँछन्‌। (प्रेरि. २:५, ४१; मत्ती १६:१९) एकपछि अर्को गर्दै आएको सतावटको बाढीको कारण चेलाहरू तितर-बितर हुन्छन्‌ तर यसले गर्दा प्रचारकार्य फैलिन्छ।

सामरियाका मानिसहरूले परमेश्‍वरको वचनलाई स्वीकारेको कुरा सुनेपछि यरूशलेममा भएका प्रेरितहरूले पत्रुस र यूहन्‍नालाई त्यहाँ पठाउँछन्‌। सामरीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्ने मौकाको ढोका खुला गरेर पत्रुसले दोस्रो साँचो चलाउँछन्‌। (प्रेरि. ८:१४-१७) येशूको पुनरुत्थान भएको सायद एक वर्ष पनि नबित्दै टार्ससका शावलमा अपत्यारिलो परिवर्तन आउँछ। इस्वी संवत्‌ ३६ मा पत्रुसले तेस्रो साँचो चलाउँछन्‌ र खतना नगरिएका अन्यजातिहरूमाथि पवित्र आत्माको वरदान खन्याइन्छ।—प्रेरि. १०:४५.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:४४-४७; ४:३४, ३५—विश्‍वास गर्नेहरूले किन आफ्नो धनसम्पत्ति बेची त्यसबाट प्राप्त पैसा बाँडिदिन्थे? विश्‍वासी बनेका थुप्रै मानिस टाढाबाट आएका थिए र यरूशलेममा लामो समयसम्म बस्न तिनीहरूसित पुग्दो थिएन। तैपनि, आफ्नो नयाँ विश्‍वासबारे अझ धेरै सिक्न र अरूलाई साक्षी दिन तिनीहरू त्यहाँ बस्न चाहन्थे। तिनीहरूलाई मदत गर्नका लागि कतिपय ख्रीष्टियानहरूले आफ्नो सम्पत्ति बेचीकन त्यसबाट प्राप्त पैसा खाँचोमा परेकाहरूलाई बाँडिदिए।

४:१३—के पत्रुस र यूहन्‍ना अपठित वा अशिक्षित थिए? अहँ, थिएनन्‌। तिनीहरू धार्मिक तालिम लिन रब्बीहरूको स्कूलमा गएका थिएनन्‌, त्यसैले तिनीहरूलाई “अपठित र अजान” भनिएको हो।

५:३४-३९—गमलिएलले महासभाको बन्दसत्रमा भनेको कुरा लूकाले कसरी थाह पाए? कम्तीमा पनि तीन वटा सम्भाव्यता हुन सक्छ: (१) पावल जो पहिला गमलिएलका विद्यार्थी थिए, तिनले लूकालाई भनेका हुन सक्छन्‌; (२) निकोदेमस जस्ता साँचो धर्मलाई समर्थन गर्ने महासभाका सदस्यसित लूकाले कुरा गरेका हुन सक्छन्‌ (३) हुन सक्छ, लूकाले यो जानकारी परमेश्‍वरबाट प्रेरणा पाएर थाह पाए।

७:५९—के स्तिफनसले येशूलाई प्रार्थना गर्दै थिए? अहँ, थिएनन्‌। उपासना त यहोवा परमेश्‍वरको मात्र गर्नुपर्छ। त्यसैले प्रार्थना पनि उहाँलाई नै गर्नुपर्छ। (लूका ४:८; ६:१२) यदि सामान्य अवस्थामा भएको भए स्तिफनसले येशूको नाउँमा यहोवालाई पुकार्ने थिए। (यूह. १५:१६) तर यस अवस्थामा स्तिफनसले “मानिसका पुत्रलाई परमेश्‍वरका दाहिने बाहुलीपट्टि उभिरहनुभएको” दर्शन देखेका थिए। (प्रेरि. ७:५६) मरिसकेकाहरूलाई ब्यूँताउने शक्‍ति येशूलाई दिइएको कुरा राम्ररी थाह भएकोले स्तिफनसले येशूसित सीधै कुरा गरेर तिनलाई बचाउन आग्रह गरेका थिए, येशूलाई प्रार्थना गरेको चाहिं होइन।—यूह. ५:२७-२९.

हाम्रो लागि पाठ:

१:८. यहोवाका उपासकहरूले संसारभरि गरिरहेको साक्षी कार्य पवित्र आत्माको मदतविना सम्भव छैन।

४:३६–५:११. साइप्रस देशको यूसुफलाई प्रेरितहरूले वर्णाबास भनी नाउँ राखेका थिए। वर्णाबास नाउँको अर्थ “शान्तिको छोरो [“सान्त्वनाको छोरो,” NW]” हो। तिनी दयालु र अरूलाई मदत गर्ने स्वभावको भएकाले प्रेरितहरूले तिनलाई वर्णाबास नाउँ दिएका हुन सक्छन्‌। हामी पनि तिनी जस्तै हुनुपर्छ, हननिया र सफीरा जस्तो होइन जसले ढोंगी, कपटी र छली मार्ग अपनाए।

९:२३-२५. प्रचारकार्यमा लागिरहनको लागि आफ्ना शत्रुहरूबाट भाग्नु कायरता होइन।

९:२८-३०. कुनै टोल-छिमेक वा व्यक्‍तिविशेषलाई प्रचार गर्दा हामीलाई शारीरिक, नैतिक वा आध्यात्मिक तवरमा खतरा हुन्छ भने हामी सावधान हुनुका साथै कहाँ र कहिले प्रचार गर्ने भन्‍ने विषयमा होसियार हुनुपर्छ।

९:३१. तुलनात्मक हिसाबले परिस्थिति केही मात्रामा शान्त छँदा हामीले अध्ययन र मननद्वारा आफ्नो विश्‍वासलाई बलियो बनाउने कोसिस गर्नुपर्छ। यसो गर्दा आफूले सिकेको कुरा व्यवहारमा उतारेर र सेवामा जोसिलो भएर परमेश्‍वरको डर राखेर हिंड्‌न मदत पाउनेछौं।

पावलको जोसिलो सेवकाई

(प्रेरि. ११:१९–२८:३१)

इस्वी संवत्‌ ४४ मा अगाबस एन्टिओक आउँछन्‌ जहाँ वर्णाबास र शावलले ‘पूरा एक वर्षदेखि’ सिकाइरहेका छन्‌। अगाबसले “ठूलो अनिकाल”-बारे भविष्यवाणी गर्छन्‌ र दुई वर्षपछि साँच्चै अनिकाल पर्छ। (प्रेरि. ११:२६-२८) “वर्णाबास र शावल [यरूशलेममा] आफ्ना सेवा पूरा गरेर” एन्टिओक फर्कन्छन्‌। (प्रेरि. १२:२५) इस्वी संवत्‌ ४७ मा अर्थात्‌ शावलले धर्म परिवर्तन गरेको झन्डै १२ वर्षपछि पवित्र आत्माबाट शावल र वर्णाबासले मिसनरी यात्रामा जाने आज्ञा पाउँछन्‌। (प्रेरि. १३:१-४) इस्वी संवत्‌ ४८ मा तिनीहरू एन्टिओक फर्कन्छन्‌ जहाँ “परमेश्‍वरको अनुग्रहमा तिनीहरू सुम्पिएका थिए।”—प्रेरि. १४:२६.

त्यसको झन्डै नौ महिनापछि (शावल भनेर पनि चिनिने) पावलले सिलासलाई आफ्नो सहयात्रीको रूपमा छान्छन्‌ र दोस्रो यात्राको लागि निस्कन्छन्‌। (प्रेरि. १५:४०) यात्राको क्रममा तिमोथी र लूका पनि पछि पावलसँगै सामेल हुन्छन्‌। लूका फिलिप्पीमै बस्छन्‌ र पावल चाहिं एथेन्स अनि त्यसपछि कोरिन्थमा जान्छन्‌ जहाँ तिनको भेट अक्वीला र प्रिस्किलासित हुन्छ र तिनले त्यहीं डेढ वर्ष बिताउँछन्‌। (प्रेरि. १८:११) सिलास र तिमोथीलाई कोरिन्थमै छोडेर पावलले आफ्नो साथमा अक्वीला र प्रिस्किला लग्छन्‌ र इस्वी संवत्‌ ५२ को सुरुतिर सिरिया जान समुद्री यात्रा गर्छन्‌। (प्रेरि. १८:१८) अक्वीला र प्रिस्किला तिनीसँग एफिसससम्म जान्छन्‌ र त्यसपछि ती जोडी चाहिं त्यहीं बस्छन्‌।

सिरियाको एन्टिओकमा केही समय बिताएपछि इस्वी संवत्‌ ५२ मा पावल तेस्रो यात्राको लागि निस्कन्छन्‌। (प्रेरि. १८:२३) एफिससमा “प्रभुको [अर्थात्‌ यहोवाको] वचन सामर्थ्यसँग बढ्‌दै . . . र प्रबल [हुँदै जान्छ]।” (प्रेरि. १९:२०) पावलले त्यहाँ झन्डै साढे तीन वर्ष बिताउँछन्‌। (प्रेरि. २०:३१) इस्वी संवत्‌ ५६ को पेन्तिकोसमा पावल यरूशलेममा छन्‌। त्यहाँ पक्राउमा परेपछि तिनले अधिकारीहरूसामु निर्भयता साथ साक्षी दिन्छन्‌। रोममा प्रेरित पावललाई दुई वर्षसम्म (इस्वी संवत्‌ ५९-६१) नजरबन्दमा राखियो र त्यहाँ तिनले परमेश्‍वरको राज्यबारे प्रचार गर्न र “प्रभु येशू ख्रीष्टको विषयका कुराहरू” सिकाउन मौका छोपे।—प्रेरि. २८:३०, ३१.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१४:८-१३लिस्त्राका मानिसहरूले “वर्णाबासलाई जुपिटर र पावललाई मर्करी” भने, किन? ग्रीक पौराणिक कथाअनुसार जुपिटर देवहरूका शासक थिए भने तिनका छोरा मर्करी प्रखर वक्‍ताको रूपमा चिनिन्थे। त्यतिबेला मुख्यगरि पावल नै अघि सरेर बोलिरहेका थिए। त्यसैले लिस्त्राका मानिसहरूले तिनलाई मर्करी र वर्णाबासलाई जुपिटर भने।

१६:६, ७पवित्र आत्माले पावल अनि तिनका सँगीहरूलाई एसिया र बिथनियामा प्रचार गर्न जान किन मनाही गऱ्‍यो? प्रचारकहरू थोरै मात्र थिए। त्यसैकारण पवित्र आत्माले तिनीहरूलाई अझ फलदायी क्षेत्रमा काम गर्न निर्देशित गऱ्‍यो।

१८:१२-१७—सोस्थेनिजलाई मानिसहरूले पिट्‌न थाल्दा बडाहाकिम गल्लियोले किन नरोकेको? पावल विरुद्ध भीडलाई उस्काउने काममा नेतृत्व लिएको जस्तो देखिने सोस्थेनिज पिटाइको योग्य छ भन्‍ने गल्लियोलाई लागेको हुन सक्छ। तथापि, यो घटनाबाट एउटा राम्रो नतिजा प्राप्त भयो। मतलब, सोस्थेनिजले ख्रीष्टियान धर्म अँगाले। पछि पावलले सोस्थेनिजलाई हाम्रा “भाइ” भनेर सम्बोधन गर्छन्‌।—१ कोरि. १:१.

१८:१८—पावलले कस्तो भाकल गरे? केही शास्त्रविद्‌हरूका भनाइअनुसार पावलले नाजिरीको भाकल गरेका थिए। (गन्ती ६:१-२१) तर बाइबलमा पावलले के भाकल गरेका थिए, त्यो बताइएको छैन। यसबाहेक, बाइबलमा पावलले धर्म परिवर्तन गर्नु अघि वा पछि कहिले भाकल गरेका थिए बताइएको छैन। साथै भाकल सुरु गर्न लागेका थिए वा टुङ्‌ग्याउन त्यो पनि बताइएको छैन। जेहोस्‌, त्यस्तो भाकल लिनु पाप थिएन।

हाम्रो लागि पाठ:

१२:५-११. हामीले आफ्ना भाइहरूका लागि प्रार्थना गर्न सक्छौं र गर्नु पनि पर्छ।

१२:२१-२३; १४:१४-१८. परमेश्‍वरलाई मात्र दिनुपर्ने महिमा हेरोदले विना हिचकिचाहट स्वीकारे। अनुचित प्रशंसा र आदर गर्दा तुरुन्तै जोडदार ढंगमा इन्कार गरेका पावल र वर्णाबासभन्दा हेरोद कत्ति फरक! यहोवाको सेवामा जत्ति नै धेरै गरे पनि कहिल्यै महिमाको लालसा गर्नुहुँदैन।

१४:५-७. सावधान हुँदा सेवामा सक्रिय रहन सक्छौं।—मत्ती १०:२३.

१४:२२. कष्ट आइपर्न सक्छ भनेर ख्रीष्टियानहरूलाई थाह छ। विश्‍वासमा सम्झौता गरेर तिनीहरू त्यसबाट बच्ने कोसिस गर्दैनन्‌।—२ तिमो. ३:१२.

१६:१, २. ख्रीष्टियान जवानहरूले आध्यात्मिक तवरमा अघि बढ्‌न मेहनत गर्नुपर्छ र असल नाउँ कमाउन यहोवाको मदत माग्नुपर्छ।

१६:३. अरूलाई सुसमाचार स्वीकार्य बनाउन हामीले सक्दो गर्नुपर्छ तर धर्मशास्त्रको सीमाभित्र रहेर।—१ कोरि. ९:१९-२३.

२०:२०, २१. घर-घरको साक्षीकार्य हाम्रो सेवकाईको महत्त्वपूर्ण भाग हो।

२०:२४; २१:१३. आफ्नो जीवन बचाउनुभन्दा परमेश्‍वरप्रति निष्ठा कायम राख्नु महत्त्वपूर्ण छ।

२१:२१-२६. असल सल्लाह स्वीकार्न हामी इच्छुक र उत्साहित हुनुपर्छ।

२५:८-१२. आज ख्रीष्टियानहरूले “सुसमाचारको रक्षा र समर्थनको काम”-मा उपलब्ध कानुनी प्रबन्धहरूको सक्दो सदुपयोग गर्न सक्छन्‌ र गर्नु पनि पर्छ।—फिलि. १:७.

२६:२४, २५. “शारीरिक मानिस”-को लागि मूर्ख जस्तो देखिए तापनि हामीले “सत्य र सुबुद्धिका कुराहरू” घोषणा गर्नुपर्छ।—१ कोरि. २:१४. (w08 5/15)

[पृष्ठ ३०-मा भएको चित्र]

पत्रुसले कहिले “स्वर्गको राज्यका साँचाहरू” चलाए

[पृष्ठ ३१-मा भएको चित्र]

संसारभरि प्रचार गर्न पवित्र आत्माको मदतविना सम्भव छैन