सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भलाइ गरिरहनुहोस्‌

भलाइ गरिरहनुहोस्‌

भलाइ गरिरहनुहोस्‌

“भलाइ गर [अर्थात्‌ “गरिरह,” NW]।”—लूका ६:३५.

१, २. अरूलाई भलाइ गर्नु किन अक्सर चुनौती हुन सक्छ?

 अरूलाई भलाइ गर्नु चुनौती हुन सक्छ। हामीले प्रेम देखाएकाहरूले हामीलाई पनि प्रेम देखाउने छन्‌ भन्‍ने कुनै ग्यारेन्टी छैन। मानिसहरूलाई परमेश्‍वर अनि उहाँका पुत्रको “महिमाको सुसमाचार” सुनाएर तिनीहरूको आध्यात्मिक हित चाहे तापनि तिनीहरू भावशून्य वा बैगुनी हुन सक्छन्‌। (१ तिमो. १:११) अरू कोहीचाहिं “ख्रीष्टको क्रूसका शत्रुहरू” साबित हुन सक्छन्‌। (फिलि. ३:१८) हामी ख्रीष्टियानहरूले तिनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ?

येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: ‘आफ्ना शत्रुहरूलाई प्रेम र भलाइ गर [अर्थात्‌ “गरिरह,” NW ]।’ (लूका ६:३५) यस सल्लाहलाई हामी अझ गहिरिएर हेरौं। भलाइ गर्ने सन्दर्भमा येशूले भनेका अरू कुराबाट पनि हामी लाभ उठाउन सक्नेछौं।

“आफ्ना शत्रुहरूलाई प्रेम गर”

३. (क) मत्ती ५:४३-४५ मा पाइने येशूले भनेका कुरा आफ्नै शब्दमा छोटकरीमा भन्‍नुहोस्‌। (ख) यहूदी र गैर-यहूदीहरूबारे प्रथम शताब्दीका यहूदी धर्मगुरुहरूमाझ कस्तो धारणा विकास भएको थियो?

प्रख्यात डाँडाको उपदेशमा येशूले श्रोताहरूलाई आफ्ना शत्रुहरूप्रति प्रेम देखाउन र तिनीहरूको खेदो गर्नेहरूका निम्ति प्रार्थना गर्न भन्‍नुभयो। (मत्ती ५:४३-४५ पढ्‌नुहोस्‌) त्यतिबेला त्यहाँ उपस्थित भीडमा अधिकांश यहूदी नै थिए जसलाई परमेश्‍वरको यो आज्ञा थाह थियो: “आफ्ना आफन्तहरूसित ईवी नराख, तर आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर।” (लेवी १९:१८) प्रथम शताब्दीका यहूदी धर्मगुरुहरूले “आफ्ना आफन्तहरू” र “आफ्नो छिमेकी”-ले यहूदीहरूलाई मात्र बुझाउँछ भन्‍ने सोचाइ राख्थे। हो, मोशालाई दिइएको व्यवस्थाअनुसार इस्राएलीहरू अरू राष्ट्रबाट अलग रहनुपर्थ्यो। तर तिनीहरूमा सबै गैर-यहूदीहरू शत्रु हुन्‌ र तिनीहरूलाई घृणा गर्नुपर्छ भन्‍ने धारणा विकास भइसकेको थियो।

४. येशूका चेलाहरूले आफ्ना शत्रुहरूप्रति कस्तो व्यवहार गर्नुपर्ने थियो?

त्यसको विपरीत येशूले यस्तो भन्‍नुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गर [अर्थात्‌ “गरिरह,” NW ], औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।” (मत्ती ५:४४) उहाँका चेलाहरूले तिनीहरूप्रति शत्रुवत्‌ व्यवहार गर्ने सबैसित मायालु व्यवहार गर्नुपर्ने थियो। सुसमाचार पुस्तकका लेखक लूकाअनुसार येशूले यस्तो भन्‍नुभयो: “तिमी सुन्‍नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम . . . र तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर [अर्थात्‌ “गरिरह,” NW ], तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ। तिमीहरूको अनादर गर्नेहरूका निम्ति प्रार्थना गर।” (लूका ६:२७, २८) येशूले सिकाएको कुरा व्यवहारमा उतार्ने प्रथम शताब्दीका ती मानिसहरूले झैं हामीले पनि आफूलाई “घृणा गर्नेहरूलाई भलाइ” गर्छौं। मतलब, तिनीहरूको दुश्‍मनीको साटो हामी तिनीहरूप्रति शिष्ट भइदिन्छौं। हामी आफूलाई “सराप्नेहरूलाई” राम्रो बोली गरेर “आशीर्वाद” दिन्छौं। अनि शारीरिक हिंसा वा अन्य कुनै प्रकारले हाम्रो “अनादर गर्नेहरूका निम्ति प्रार्थना” गर्छौं। त्यस्ता पुकाराबाट के स्पष्ट हुन्छ भने, खेदो गर्नेहरूलाई हामी प्रेम गर्छौं किनभने तिनीहरूले मन परिवर्तन गरेर यहोवाको अनुग्रह पाउन कदम चालोस्‌ भनेर हामीले उहाँलाई मायालु बिन्ती गरिरहेका हुन्छौं।

५, ६. हामीले किन शत्रुहरूलाई प्रेम गर्नुपर्छ?

आफ्ना शत्रुहरूप्रति किन प्रेम देखाउने? यसो गर्दा “तिमीहरू तिमीहरूका स्वर्गका पिताका सन्तान हुनसक्नेछौ” भनी येशूले भन्‍नुभयो। (मत्ती ५:४५) यो सल्लाह हामीले पालन गऱ्‍यौं भने हामी परमेश्‍वरको “सन्तान” हुनेछौं अर्थात्‌ ‘दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुने, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुने’ यहोवा परमेश्‍वरको अनुकरण गरिरहेका हुनेछौं। परमेश्‍वर, लूकाको विवरणमा भनेझैं “बैगुणी र दुष्टमाथि कृपालु हुनुहुन्छ।”—लूका ६:३५.

‘आफ्ना शत्रुहरूलाई प्रेम गरिरहनुको’ महत्त्वमाथि जोड दिंदै येशूले यसो भन्‍नुभयो: “तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने, तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन्‌ र? औ तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ? भने अरूले भन्दा बढ्‌ता के गऱ्‍यौ र? के अन्य जातिहरूले पनि त्यसै गर्दैनन्‌ र?” (मत्ती ५:४६, ४७) आफूलाई प्रेम देखाउनेहरूलाई मात्र हामीले प्रेम देखायौं भने परमेश्‍वरबाट “इनाम” अर्थात्‌ अनुग्रह पाउनेछैनौं। महसूल उठाउनेहरूलाई साधरणतया राम्रो दृष्टिले हेरिंदैनथ्यो तर तिनीहरूले पनि आफूलाई प्रेम देखाउनेहरूप्रति प्रेम देखाउँथे।—लूका ५:३०; ७:३४.

७. आफ्ना “दाजुभाइहरूलाई” मात्र अभिवादन गऱ्‍यौं भने किन अरूले भन्दा बढ्‌ता गरेको हुँदैन?

यहूदीहरूले अभिवादन गर्दा साधारणतया “शान्ति” भन्‍ने शब्द पनि चलाउँथे। (यूह. २०:१९) यसले ती व्यक्‍तिको सुस्वास्थ्य, संवृद्धि र कल्याणको लागि कामना गरेको बुझाउँथ्यो। आफ्ना “दाजुभाइहरूलाई” मात्र अभिवादन गऱ्‍यौं भने “अरूले भन्दा बढ्‌ता” गरेको त पक्कै हुँदैन। येशूले औंल्याउनुभएझैं त्यसो त “अन्य जातिहरूले” पनि गर्थे।

८. “तिमीहरू सिद्ध होऊ” भन्‍नुहुँदा येशूले आफ्ना श्रोताहरूलाई के गर्न प्रोत्साहन दिइरहनुभएको थियो?

जन्मजात पाएको पापले गर्दा येशूका चेलाहरू त्रुटिरहित र सिद्ध हुन असम्भव भयो। (रोमी ५:१२) तैपनि येशूले आफ्नो उपदेशको यो भाग यसरी टुंग्याउनुभयो: “जस्तो तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ, त्यस्तै तिमीहरू सिद्ध होऊ।” (मत्ती ५:४८) यसरी उहाँले आफ्ना श्रोताहरूलाई “स्वर्गका पिता”-को अनुकरण गरेर प्रेममा सिद्ध हुन अर्थात्‌ आफ्ना शत्रुहरूलाई प्रेम गरेर प्रेममा पूर्ण हुन प्रोत्साहन दिइरहनुभएको थियो। हामीबाट पनि त्यही आशा गरिन्छ।

किन क्षमाशील हुने?

९. “हाम्रो ऋण क्षमा गर्नुहोस्‌” भन्‍नुको अर्थ के हो?

हामी विरुद्ध पाप गर्ने व्यक्‍तिलाई दयालुपूर्वक क्षमा दिंदा हामीले भलाइ गरिरहेका हुन्छौं। वास्तवमा, येशूको नमुना-प्रार्थनामा हामी यी शब्दहरू पनि पाउँछौं: “हाम्रो अपराध [अर्थात्‌ “ऋण,” NW ] क्षमा गर्नुहोस्‌, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई [अर्थात्‌ “ऋणीहरूलाई,” NW ] क्षमा गरेका छौं।” (मत्ती ६:१२) तर यहाँ साँच्चैको ऋण माफी गर्नेबारे कुरा गरिएको होइन। येशूले “अपराध” अर्थात्‌ ऋण भन्‍नुहुँदा वास्तवमा पापलाई संकेत गरिरहनुभएको थियो भनेर लूकाको सुसमाचारको पुस्तकबाट स्पष्ट हुन्छ किनभने त्यहाँ यसो भनिएको छ: “हाम्रा पाप हामीलाई क्षमा गर्नुहोस्‌, किनकि हामी आफै पनि हाम्रा हरेक ऋणीलाई क्षमा गर्दछौं। औ हामीलाई परीक्षामा नल्याउनुहोस्‌।”—लूका ११:४.

१०. क्षमाको सन्दर्भमा हामी कसरी परमेश्‍वरको अनुकरण गर्न सक्छौं?

१० पश्‍चाताप गर्ने पापीहरूलाई खुलेर क्षमा गर्नुहुने परमेश्‍वरको हामीले अनुकरण गर्नुपर्छ। प्रेरित पावलले यस्तो लेखे: “जसरी परमेश्‍वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफि. ४:३२) भजनहार दाऊदले यस्तो भजन गाए: “परमप्रभु दयासागर र अनुग्रही, रीसमा ढीला र करूणामय हुनुहुन्छ। . . . उहाँले हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन, नता हाम्रो अधर्मअनुसार हामीलाई बदला दिनुभएको छ। . . . पश्‍चिमबाट पूर्व जत्ति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यतिनै टाढा हटाइदिनुभएको छ। जसरी बाबुले आफ्ना छोराछोरीहरूलाई टिठाउँछन्‌, त्यसरी उहाँसँग डराउनेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ। किनभने उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ।”—भज. १०३:८-१४.

११. यहोवाले कसलाई क्षमा दिनुहुन्छ?

११ आफू विरुद्ध पाप गर्नेहरूलाई क्षमा दिने मानिसहरूलाई मात्र परमेश्‍वरले क्षमा दिनुहुन्छ। (मर्कू. ११:२५) यसै कुरालाई जोड दिंदै येशूले यसो भन्‍नुभयो: “तिमीहरूले मानिसहरूका कसूर क्षमा गऱ्‍यौ भने तिमीहरूका स्वर्गका पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका कसूर क्षमा गरेनौ भनेता तिमीहरूका पिताले तिमीहरूका कसूर क्षमा गर्नुहुनेछैन।” (मत्ती ६:१४, १५) हो, अरूलाई मनदेखि क्षमा दिनेहरूलाई मात्र परमेश्‍वरले क्षमा दिनुहुन्छ। अनि भलाइ गरिरहने एउटा तरिका पावलको यो सल्लाह पालन गरेर हो: “जसरी प्रभुले [अर्थात्‌ “यहोवाले,” NW ] पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।”—कल. ३:१३.

“निसाफ नगर”

१२. अर्काको निसाफ गर्ने सन्दर्भमा येशूले के सल्लाह दिनुभयो?

१२ भलाइ गर्ने अर्को तरिका डाँडाको उपदेशमा बताइएको छ। येशूले आफ्ना श्रोताहरूलाई अरूको निसाफ नगर्न भन्‍नुभयो र यस बुँदामा जोड दिन एउटा सशक्‍त उदाहरण चलाउनुभयो। (मत्ती ७:१-५ पढ्‌नुहोस्‌) “निसाफ नगर” भनी येशूले भन्‍नुको तात्पर्य के थियो, हामी हेरौं।

१३. येशूका श्रोताहरूले कसरी ‘क्षमा दिन’ सक्थे?

१३ मत्तीको सुसमाचारको पुस्तकमा येशूले भन्‍नुभएको कुरा यसरी उद्धृत गरिएको छ: “निसाफ नगर, र तिमीहरूको निसाफ नगरिओस्‌।” (मत्ती ७:१) लूकाअनुसार येशूले यसो भन्‍नुभयो: “आलोचना नगर, र तिमीहरूको आलोचना हुनेछैन। दोष नलगाओ, र तिमीहरूलाई दोष लाग्नेछैन। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा हुनेछ।” (लूका ६:३७) प्रथम शताब्दीका फरिसीहरूले धर्मशास्त्र विपरीत चलनहरूका आधारमा अरूको कठोरतासाथ निसाफ गर्थे। येशूका श्रोताहरूमध्ये कसैले त्यसो गरिरहेका थिए भने “निसाफ” गर्न छोडिहाल्नुपर्ने थियो। बरु, अर्काको गल्ती ‘क्षमा गर्नुपर्ने’ थियो। माथि बताएझैं क्षमाको सन्दर्भमा प्रेरित पावलले पनि त्यस्तै सल्लाह दिए।

१४. क्षमाशील भएर येशूका चेलाहरूले मानिसहरूलाई के गर्न उत्प्रेरित गर्नेथिए?

१४ क्षमाशील भएर येशूका चेलाहरूले मानिसहरूलाई क्षमा गर्न उत्प्रेरित गरिरहेका हुन्थे। येशूले भन्‍नुभयो: “जुन निसाफले तिमीहरू निसाफ गर्दछौ, उसैगरी तिमीहरूको पनि निसाफ गरिनेछ, र जुन नापले तिमीहरू नाप्तछौ, त्यसैले तिमीहरूलाई नापिदिनेछ।” (मत्ती ७:२) अरूसित हामीले गर्ने व्यवहारको सन्दर्भमा जे रोप्तछौं त्यसकै कटनी गर्छौं।—गला. ६:७.

१५. बढ्‌तै आलोचनात्मक हुनु गलत हो भनी येशूले कसरी देखाउनुभयो?

१५ बढ्‌तै आलोचनात्मक हुनु गलत हो भनी स्पष्ट पार्न येशूले भनेको यो कुरा सम्झनुहोस्‌: “किन तिमी आफ्नो भाइको आँखामा भएको कसिंगर देख्तछौ, तर तिम्रा आफ्नै आँखामा भएको मुढाचाहिं थाहा पाउँदैनौ? अथवा हेर, जब तिम्रो आफ्नै आँखामा मुढा छ भने, कसरी तिमी तिम्रो भाइलाई भन्‍नसक्छौ, ‘पर्ख, मलाई तिम्रो आँखाबाट कसिंगर निकाल्नदेऊ।’ ” (मत्ती ७:३, ४) अरूको आलोचना गर्ने झुकाव भएको मानिसले आफ्नो भाइको “आँखा”-मा भएको सानो-भन्दा-सानो कमजोरी पनि याद गर्छ। यस्तो व्यक्‍तिले आफ्नो भाइको समझशक्‍ति कमजोर छ र उसले राम्ररी निर्णय गर्न सक्दैन भनिरहेको हुन्छ। आलोचना गर्ने व्यक्‍तिले गल्ती एकदमै सानो अर्थात्‌ कसिंगर जस्तो मात्र भए तापनि त्यो ‘निकाली’ दिन खोज्छ। तिनले आफ्नो भाइलाई स्पष्ट देख्न कप्ट्याइँका साथ मदत गर्न खोजिरहेको हुन्छ।

१६. फरिसीहरूको आँखामा “मुढा” थियो भनेर किन भन्‍न सकिन्छ?

१६ विशेषगरि यहूदी धर्मगुरुहरूले अरूको एकदमै आलोचना गर्थे। उदाहरणस्वरूप यो घटनालाई विचार गर्नुहोस्‌: ख्रीष्टले निको पारेको एउटा अन्धो मानिसले येशू परमेश्‍वरबाटका हुनुपर्छ भनी घोषणा गर्दा फरिसीहरूले तिनलाई हकार्दै यसो भने: “तँ ता बिल्कुलै पापमा जन्मेको होस्‌, र के हामीलाई सिकाउँछस्‌?” (यूह. ९:३०-३४) स्पष्ट आध्यात्मिक दृष्टि र परमेश्‍वरको स्तरअनुसार उचित न्याय गर्ने सन्दर्भमा त फरिसीहरूको आँखामा “मुढा” थियो र तिनीहरू पटक्कै नदेख्ने भएका थिए। त्यसैकारण येशूले यसो भन्‍नुभयो: “ए कपटी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, तब तिम्रो भाइको आँखाबाट कसिंगर निकाल्नलाई छर्लङ्‌गै देख्नसक्नेछौ।” (मत्ती ७:५; लूका ६:४२) अरूलाई भलाइ र राम्रो व्यवहार गर्न हामी कटिबद्ध छौं भने हामी कठोर आलोचक हुनेछैनौं र सधैं आफ्नो भाइको आँखामा लाक्षणिक कसिंगर खोज्नेछैनौं। बरु, हामी आफै असिद्ध भएकोले सँगी भाइहरूको आलोचना र निसाफ गर्नुहुँदैन भनी मानिलिन्छौं।

हामीले अरूलाई कस्तो व्यवहार गर्नुपर्छ

१७. मत्ती ७:१२ लाई विचार गर्दा हामीले अरूलाई कस्तो व्यवहार गर्नुपर्छ?

१७ डाँडाको उपदेशमा येशूले अर्को एउटा के कुरा औंल्याउनुभयो भने, परमेश्‍वरले आफ्ना सेवकहरूको प्रार्थनाको जवाफ दिएर तिनीहरूप्रति बुबाको जस्तो मनोवृत्ति झल्काउनुहुन्छ। (मत्ती ७:७-१२ पढ्‌नुहोस्‌) येशूले हाम्रो आचरण सम्बन्धी भनेको यो कुरा उल्लेखनीय छ: “मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) यस तरिकामा सँगी विश्‍वासीहरूलाई व्यवहार गऱ्‍यौं भने मात्र हामी येशू ख्रीष्टको साँचो अनुयायी साबित हुन सक्छौं।

१८. अरूले हामीलाई जस्तो व्यवहार गरून्‌ भन्‍ने चाहन्छौं हामीले पनि त्यस्तै व्यवहार गर्नुपर्छ भनी “व्यवस्था”-मा कसरी देखाइएको थियो?

१८ अरूले हामीलाई जस्तो व्यवहार गरून्‌ भन्‍ने चाहन्छौं हामीले पनि त्यस्तै व्यवहार गर्नुपर्छ भनी बताउनुभएपछि येशूले यसो भन्‍नुभयो: “किनभने यहीनै व्यवस्था र अगमवक्‍ताका शिक्षा हुन्‌।” येशूले भन्‍नुभएजस्तै हामीले अरूसित व्यवहार गऱ्‍यौं भने हामी “व्यवस्था”-को भावअनुरूप चलिरहेका हुन्छौं। यो “व्यवस्था” बाइबलमा उत्पत्तिदेखि व्यवस्थाको पुस्तकसम्म पाइन्छ। यी पुस्तकहरूमा दुष्टता नामेट पार्ने सन्तान जन्माउने परमेश्‍वरको उद्देश्‍य प्रकाश पार्नुको अलावा ईसापूर्व १५१३ मा परमेश्‍वरले मोशा मार्फत इस्राएल राष्ट्रलाई दिएको व्यवस्था पनि समावेश छ। (उत्प. ३:१५) व्यवस्थामा भनिएका अन्य थुप्रै कुरामध्ये केही यसप्रकार थिए: इस्राएलीहरू न्यायी हुनुपर्थ्यो, पक्षपाती हुनुहुँदैनथ्यो र दुःखमा परेका मानिसहरूका साथै परदेशीहरूलाई भलो गर्नुपर्थ्यो।—लेवी १९:९, १०, १५, ३४.

१९. हामीले भलाइ गर्नुपर्छ भनी “अगमवक्‍ता”-हरूले कसरी देखाउँछन्‌?

१९ येशूले “अगमवक्‍ता” भनी उल्लेख गर्दा हिब्रू धर्मशास्त्रका भविष्यसूचक पुस्तकहरूलाई संकेत गर्दै हुनुहुन्थ्यो। ती पुस्तकहरूमा येशूमा नै पूरा भएका मसीहसम्बन्धी भविष्यवाणीहरू छन्‌। त्यस्ता लेखोटहरूबाट के पनि स्पष्ट हुन्छ भने परमेश्‍वरले आफ्ना जनहरूलाई उहाँको नजरमा सही कुरा गर्दा र अरूलाई उचित तरिकामा व्यवहार गर्दा आशिष्‌ दिनुहुन्छ। उदाहरणको लागि, यशैयाको भविष्यवाणीमा इस्राएलीहरूलाई यस्तो सल्लाह दिइएको थियो: “परमप्रभु भन्‍नुहुन्छ, ‘न्याय कायम राख। जे ठीक छ, त्यो गर। . . . त्यो मानिस धन्यको हो जसले यो गर्दछ, त्यो मानिसको छोरो, जो यस कुरामा स्थिर रहन्छ, . . . आफ्नो हात कुनै खराबीबाट अलग राख्छ।’ ” (यशै. ५६:१, २) हो, परमेश्‍वर आफ्ना जनहरूले भलाइ गरिरहून्‌ भन्‍ने चाहनुहुन्छ।

सधैं अरूलाई भलाइ गर्नुहोस्‌

२०, २१. येशूको डाँडाको उपदेशप्रति भीडले कस्तो प्रतिक्रिया देखाए र यसमा हामीले किन मनन गर्नुपर्छ?

२० डाँडाको यस अतुलनीय उपदेशमा येशूले बताउनुभएका थुप्रै महत्त्वपूर्ण बुँदाहरूमध्ये हामीले केही मात्र छलफल गऱ्‍यौं। तैपनि, त्यतिबेला उहाँले भन्‍नुभएका कुरा सुन्‍ने मानिसहरूको प्रतिक्रिया हामीले सजिलै बुझ्न सक्छौं। प्रेरित वचन यसो भन्छ: “येशूले यी कुरा गरिसक्नुभएपछि भीड उहाँका शिक्षाले छक्क परे। किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैं होइन, तर अख्तियार भएकाले जस्तो गरी सिकाउनुहुन्थ्यो।”—मत्ती ७:२८, २९.

२१ भविष्यवाणी गरिएको “उदेकका युक्‍ति निकाल्नुहुने” व्यक्‍ति येशू ख्रीष्ट प्रमाणित हुनुभयो र यसमा कुनै दुई मत छैन। (यशै. ९:६) आफ्ना स्वर्गमा हुनुहुने पिताको दृष्टिकोण येशूले कत्ति राम्ररी जान्‍नुहुन्थ्यो भन्‍ने कुराको एउटा सशक्‍त उदाहरण डाँडाको उपदेश हो। हामीले छलफल गरेका बुँदाहरूबाहेक यस उपदेशमा साँचो आनन्द पाउन, अनैतिकताबाट बच्न, धार्मिकताको मार्गमा हिंड्‌न, सुरक्षित र आनन्दित भविष्य पाउन के गर्नुपर्छ आदि थुप्रै कुराहरू पाउँछौं। मत्ती अध्याय ५ देखि ७ फेरि एकचोटि प्रार्थनापूर्वक ध्यान दिएर पढे कसो होला? त्यहाँ पाइने येशूका अद्‌भुत सल्लाहमा मनन गर्नुहोस्‌। डाँडाको उपदेशमा येशूले भनेका कुराहरू आफ्नो जीवनमा लागू गर्नुहोस्‌। त्यसपछि तपाईंले यहोवालाई प्रसन्‍न तुल्याउन, अरूलाई उचित व्यवहार गर्न र भलाइ गरिरहन अझ सक्षम हुनुहुनेछ। (w 08 5/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आफ्ना शत्रुहरूसित कस्तो व्यवहार गर्नुपर्छ?

• हामी किन क्षमाशील हुनुपर्छ?

• अरूको निसाफ गर्नेबारे येशूले के भन्‍नुभयो?

मत्ती ७:१२ अनुसार हामीले अरूलाई कस्तो व्यवहार गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको ठूलो अक्षरको क्याप्सन]

येशूले किन “निसाफ नगर” भन्‍नुभयो, के तपाईंलाई थाह छ?

[पृष्ठ १२-मा भएको चित्र]

आफूलाई खेदो गर्नेहरूका निम्ति हामीले किन प्रार्थना गर्नुपर्छ?

[पृष्ठ १४-मा भएको चित्र]

अरूले तपाईंलाई जस्तो व्यवहार गरून्‌ भन्‍ने चाहनुहुन्छ के तपाईं पनि त्यस्तै व्यवहार गर्नुहुन्छ?