सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामीले अरूसित कस्तो व्यवहार गर्नुपर्छ?

हामीले अरूसित कस्तो व्यवहार गर्नुपर्छ?

हामीले अरूसित कस्तो व्यवहार गर्नुपर्छ?

“जसो मानिसहरूले तिमीहरूसित गरून्‌ भन्‍ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसित त्यसै गर।”—लूका ६:३१.

१, २. (क) डाँडाको उपदेश भनेको के हो? (ख) हामीले यो लेख र यसपछिको लेखमा के छलफल गर्नेछौं?

 येशू ख्रीष्ट साँच्चै महान्‌ शिक्षक हुनुहुन्थ्यो। उहाँका विरोधीहरूले उहाँलाई पक्रन पठाएका अफिसरहरू यसो भन्दै रित्तो हात फर्के: “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन।” (यूह. ७:३२, ४५, ४६) येशूले थुप्रै प्रभावशाली भाषणहरू दिनुभयो, जसमध्ये डाँडाको उपदेश एउटा हो। यो उपदेश सुसमाचारको पुस्तक मत्ती अध्याय ५ देखि ७ मा पाइन्छ र त्यस्तै जानकारी लूका ६:२०-४९ मा पनि छ। a

येशूले डाँडाको उपदेशमा भनेका कुरामध्ये सायद एकदमै प्रख्यात चाहिं हामीले अरूसित गर्ने व्यवहारसित सम्बन्धित छ। यो, संसारभरि प्रायः सुनौलो नियम भनेर चिरपरिचित छ। उहाँले भन्‍नुभयो: “जसो मानिसहरूले तिमीहरूसित गरून्‌ भन्‍ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसित त्यसै गर।” (लूका ६:३१) अनि साँच्चै नै उहाँले मानिसहरूका लागि कत्ति असल-असल कार्य गर्नुभयो! बिरामीहरूलाई निको पार्नुभयो र मरेकाहरूलाई समेत ब्यूँताउनुभयो। तर विशेषगरि उहाँले सुनाएको सुसमाचार स्वीकार्ने मानिसहरू आशिषित्‌ भए। (लूका ७:२०-२२ पढ्‌नुहोस्‌) हामी यहोवाका साक्षीहरू त्यस्तै राज्य प्रचारकार्यमा भाग लिन पाएकोमा खुसी छौं। (मत्ती २४:१४; २८:१९, २०) हामीले यो लेख र यसपछिको लेखमा येशूले डाँडाको उपदेशमा प्रचारकार्यका साथै उहाँले भन्‍नुभएका अन्य बुँदाहरू छलफल गर्नेछौं जुन अरूसित गर्ने व्यवहारसित सम्बन्धित छ।

नम्र हुनुहोस्‌

३. तपाईं नम्रताको परिभाषा कसरी दिनुहुन्छ?

येशूले भन्‍नुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” (मत्ती ५:५) नम्रता कमजोरीसित सम्बन्धित छ भनेर बाइबलमा कतै बताइएको छैन। नम्रता भनेको शिष्टता हो र परमेश्‍वर हामीले यो गुण देखाएको चाहनुहुन्छ। यो गुण हामीले सँगी मानवसित गर्ने व्यवहारमा झल्किन्छ। उदाहरणको लागि, हामी “कसैलाई खराबको बदला खराब” गर्दैनौं।—रोमी १२:१७-१९.

४. नम्रहरू किन आनन्दित हुन्छन्‌?

नम्रहरू आनन्दित हुन्छन्‌ किनभने “तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” “विनयी, र नम्र हृदयको” येशू “सबै कुराका हकदार नियुक्‍त” हुनुभएको छ। त्यसैले उहाँ पृथ्वीको मुख्य उत्तराधिकारी हुनुहुन्छ। (मत्ती ११:२९; हिब्रू १:२; भज. २:८) स्वर्गीय राज्यमा “मानिसका पुत्र” अर्थात्‌ मसीहसित मिलेर शासन गर्नेहरू हुनेछन्‌ भनी भविष्यवाणी गरिएको थियो। (दानि. ७:१३, १४, २१, २१, २२, २७) “ख्रीष्टसँग साझे-हकवाला”-को रूपमा १,४४,००० नम्र अभिषिक्‍त जनहरूले पनि पृथ्वीको उत्तराधिकार पाउने थिए। (रोमी ८:१६, १७; प्रका. १४:१) अरू नम्र मानिसहरूले चाहिं परमेश्‍वरको राज्य अन्तर्गत पृथ्वीमै अनन्त जीवन पाउनेछन्‌।—भज. ३७:११.

५. ख्रीष्टको जस्तो नम्रता विकास गर्दा हाम्रो व्यक्‍तित्वमा कस्तो प्रभाव पर्छ?

हामी रूखो स्वभावका छौं भने, हुन सक्छ कसैले पनि हामीसित संगत गर्न मन पराउँदैन र हामीदेखि एक कोस टाढा भाग्न खोज्छ। तर, ख्रीष्टको जस्तो नम्रता विकास गर्दा ख्रीष्टियान मण्डलीमा हामीलाई सबैले मन पराउने छन्‌ र आध्यात्मिक रूपमा उत्थानदायी हुनेछौं। ‘पवित्र आत्माद्वारा जियौं र हिंड्यौं’ भने परमेश्‍वरको सक्रिय शक्‍तिले हामीलाई नम्रता विकास गर्न मदत गर्नेछ। यो आत्माको फलमध्ये एउटा हो। (गलाती ५:२२-२५ पढ्‌नुहोस्‌) पक्कै पनि हामी यहोवाको पवित्र आत्माद्वारा डोरिएका नम्र व्यक्‍तिहरूमध्ये गनिन चाहन्छौं!

दयालुहरू कत्ति आनन्दित!

६. “दयावन्तहरू”-सित कस्ता उल्लेखनीय गुणहरू हुन्छन्‌?

डाँडाको उपदेशमा येशूले यसो पनि भन्‍नुभयो: “धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌।” (मत्ती ५:७) खाँचोमा परेकाहरूप्रति “दयावन्तहरू” कोमल अनुकम्पाले भरिपूर्ण हुन्छन्‌, मायालु चासो राख्छन्‌ अनि टिठाउँछन्‌ पनि। येशू “टिठाउनुभयो।” त्यसैकारण उहाँले चमत्कार गरेर मानिसहरूको दुःख-व्यथा हटाइदिनुभयो। (मत्ती १४:१४; २०:३४) त्यसैले अरूप्रतिको मायालु चासो र टिठाइले हामीलाई दयालु हुन उत्प्रेरित गर्नुपर्छ।—याकू. २:१३.

७. येशू टिठाउनुभएकोले के गर्न उत्प्रेरित हुनुभयो?

येशू आराम गर्न जान लाग्नुहुँदा एउटा ठूलो भीड उहाँसित भेट्‌न आयो र उहाँ “तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए।” फलस्वरूप “उहाँले तिनीहरूलाई धेरै कुराको शिक्षा दिन लाग्नुभयो।” (मर्कू. ६:३४) हामी पनि त्यसरी नै अरूलाई राज्य सन्देश सुनाउन र यहोवाको दयाका महान्‌ कार्यहरूबारे बताउन पाउँदा आनन्दित हुन्छौं नि, होइन र!

८. दयालुहरू किन आनन्दित हुन्छन्‌?

दयालुहरू आनन्दित हुन्छन्‌ किनभने तिनीहरूले “दया पाउनेछन्‌।” हामीले मानिसहरूसित दयालु व्यवहार गर्दा तिनीहरूले पनि अक्सर त्यस्तै व्यवहार गर्छन्‌। (लूका ६:३८) यसबाहेक, येशूले यसो भन्‍नुभयो: “तिमीहरूले मानिसहरूका कसूर क्षमा गऱ्‍यौ भने तिमीहरूका स्वर्गका पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।” (मत्ती ६:१४) पापको लागि क्षमा र परमेश्‍वरको अनुमोदन पाउँदा कस्तो आनन्द हुनेछ, त्यो दयालुहरूलाई मात्रै थाह हुन्छ।

“मेल-मिलाप गराउनेहरू” किन आनन्दित

९. हामी मेलमिलाप गराउने खालका छौं भने कस्तो व्यवहार गर्छौं?

आनन्दित हुन सकिने अर्को कारण बताउँदै येशूले यसो भन्‍नुभयो: “धन्य मेल-मिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्‍वरका पुत्र कहलाइनेछ।” (मत्ती ५:९) हामी मेलमिलाप गराउने खालका छौं भने ‘मित्रहरूमा फाटो गराउने’ कुनै पनि कुरालाई स्वीकार्दैनौं न त त्यसमा सहभागी नै हुन्छौं—जस्तो कि, अरूको निन्दा गर्नु। (हितो. १६:२८) हामी आफ्नो बोली र कामद्वारा ख्रीष्टियान मण्डलीभित्र र बाहिरका मानिसहरूसित मिलापी हुन लागिपर्छौं। (हिब्रू १२:१४) विशेष गरी यहोवा परमेश्‍वरसित मिलापमा रहन सक्दो गर्छौं।—१ पत्रुस ३:१०-१२ पढ्‌नुहोस्‌।

१०. “मेल-मिलाप गराउनेहरू” आनन्दित हुन्छन्‌, किन?

१० येशूले “मेल-मिलाप गराउनेहरू” धन्यका हुन्‌ अर्थात्‌ आनन्दित हुन्छन्‌ किनभने “तिनीहरू परमेश्‍वरका पुत्र कहलाइनेछ” भन्‍नुभयो। येशूलाई मसीहको रूपमा विश्‍वास गरेकोले अभिषिक्‍त ख्रीष्टियानहरूले “परमेश्‍वरका सन्तान हुने हक” पाउँछन्‌। (यूह. १:१२; १ पत्रु. २:२४) मिलापमा रहने येशूका “अरू भेडा”-बारे चाहिं के भन्‍न सकिन्छ नि? येशूले आफ्ना साझे हकवालाहरूसँग मिली हजार वर्षसम्म शासन गर्दा तिनीहरूले उहाँलाई “सनातनका पिता”-का रूपमा पाउनेछन्‌। (यूह. १०:१४, १६; यशै. ९:६; प्रका. २०:६) उहाँको हजार वर्षीय शासनको अन्तमा त्यस्ता मेलमिलाप गराउनेहरू साँचो अर्थमा परमेश्‍वरका पार्थिव सन्तान हुनेछन्‌।—१ कोरि. १५:२७, २८.

११. आफूलाई ‘माथिबाटको ज्ञानले’ डोरिन दियौं भने हामीले अरूसित कस्तो व्यवहार गर्नेर्छौं?

११ “शान्तिका परमेश्‍वर” यहोवासँग घनिष्ठ सम्बन्ध राख्न हामीले उहाँका गुणहरूको अनुकरण गर्नै पर्छ र ती गुणमध्ये एउटा शान्ति हो। (फिलि. ४:९) आफूलाई ‘माथिबाटको ज्ञानले’ डोरिन दियौं भने हामीले अरूसित मिलापी व्यवहार गर्नेछौं। (याकू. ३:१७) हो, हामी मेलमिलाप गराउने आनन्दित व्यक्‍ति हुनेछौं।

“तिमीहरू . . . ज्योति हौ”

१२. (क) आध्यात्मिक ज्योतिबारे येशूले के भन्‍नुभयो? (ख) हामी कसरी ज्योति चम्काउन सक्छौं?

१२ मानिसहरूसित सबैभन्दा उत्तम तरिकामा व्यवहार गर्नु भनेको तिनीहरूलाई परमेश्‍वरबाट प्राप्त आध्यात्मिक ज्योति पाउन मदत गर्नु हो। (भज. ४३:३) येशूले चेलाहरूलाई “तिमीहरू जगत्‌का ज्योति हौ” भन्‍नुभयो। अनि तिनीहरूलाई आफ्नो ज्योति चम्काउन जोड दिनुभयो ताकि मानिसहरूले अरूप्रति गरेका तिनीहरूको “सुकर्म” देख्न सकून्‌। यसो गर्दा “मानिसहरूका सामु” आध्यात्मिक ज्योति चम्कन्थ्यो वा मानिसहरूलाई फाइदा पुग्थ्यो। (मत्ती ५:१४-१६ पढ्‌नुहोस्‌) आज हामी आफ्ना छिमेकीहरूलाई भलाइ गरेर र सुसमाचार प्रचार गर्ने काममा भाग लिएर आफ्नो ज्योति “सारा जगत्‌मा” अर्थात्‌ “सबै जातिहरू” सामु चम्काउँछौं। (मत्ती २६:१३; मर्कू. १३:१०) कस्तो सुअवसर!

१३. कुन कुराले गर्दा हामीलाई याद गरिन्छ?

१३ येशूले भन्‍नुभयो: “डाँडामा बसालिएको शहर लुक्नसक्‍तैन।” डाँडामा बसालिएको सहर सजिलै देख्न सकिन्छ। त्यसैगरि राज्य प्रचारकको रूपमा हामीले गर्ने असल कार्यका साथै भद्रता र नैतिक शुद्धता जस्ता गुणले गर्दा अरूले हामीलाई याद गर्छन्‌।—ती. २:१-१४.

१४. (क) प्रथम शताब्दीको दियो कस्तो हुन्थ्यो? (ख) हामी “पाथीमनि” आध्यात्मिक ज्योति लुकाउँदैनौं, कसरी?

१४ घरमा सबैका निम्ति चम्कोस्‌ भनेर येशूले बत्ती अर्थात्‌ दियो पाथीमनि होइन तर सामदानमाथि राखिन्छ भन्‍नुभयो। प्रथम शताब्दीमा प्रयोग गरिने दियो साधारणतया माटोको हुन्थ्यो र यसमा सलेदो हालिएको हुन्थ्यो। त्यस दियोमा प्रायजसो जैतूनको तेल हालिन्थ्यो अनि सलेदो चाहिं तेल सोस्दै बलिरहन्थ्यो। यस्तो दियो, प्रायः कुनै काठ वा धातुबाट बनिएको सामदानमाथि राखिन्थ्यो र ‘घरमा हुने सबैको निम्ति त्यो चम्कन्थ्यो।’ मानिसहरूले दियो “पाथीमनि” राख्दैनथे। चेलाहरूले आध्यात्मिक ज्योति लाक्षणिक पाथीमनि लुकाओस्‌ भन्‍ने येशू चाहनुहुन्‍न थियो। त्यसैले हामीले आफ्नो ज्योति चम्किन दिनुपर्छ। सतावट वा विरोधको कारण बाइबलमा पाइने सत्य कुराहरू लुकाउने वा अरूलाई नभन्‍ने गर्नुहुँदैन।

१५. हाम्रो “सुकर्म”-ले कोही कोहीलाई कसरी असर गर्छ?

१५ चम्किलो ज्योतिबारे बताएपछि येशूले आफ्ना चेलाहरूलाई यो कुरा भन्‍नुभयो: “उसरीनै तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।” हाम्रो “सुकर्म”-को कारण कोही-कोहीले परमेश्‍वरको सेवक बनेर उहाँलाई “महिमा” दिन्छन्‌। “संसारमा ज्योतिहरूझैं” चम्किंदै जान हाम्रो लागि कत्ति राम्रो उत्प्रेरणा!—फिलि. २:१५.

१६. “जगत्‌का ज्योति” हुन के गर्नुपर्छ?

१६ “जगत्‌का ज्योति” हुन हामीले राज्य प्रचार र चेला बनाउने काममा भाग लिनुपर्छ। तर अर्को एउटा कुरा पनि गर्नुपर्छ। प्रेरित पावलले यस्तो लेखे: “ज्योतिका सन्तानझैं हिंडडुल गर, (किनभने ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ)।” (एफि. ५:८, ९) हाम्रो आचरण सधैं उदाहरणीय हुनुपर्छ। साँच्चै, हामीले पत्रुसको यो सल्लाह पालन गर्नुपर्छ: “अन्य जातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्‌, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।” (१ पत्रु. २:१२) तर सँगी विश्‍वासीबीच सम्बन्ध बिग्रियो भने नि?

“आफ्नो भाइसित मिलाप गर”

१७-१९. (क) मत्ती ५:२३, २४ मा उल्लेख गरिएको “भेटी” के थियो? (ख) आफ्नो भाइसँग मिलाप गर्नु कत्ति महत्त्वपूर्ण छ र येशूले यो कसरी देखाउनुभयो?

१७ डाँडाको उपदेशमा येशूले चेलाहरूलाई आफ्ना भाइ विरुद्ध द्वेष र इवी नराख्न चेतावनी दिनुभयो। बरु, तिनीहरूले आफूलाई चित्त दुखाएको भाइसित मिलाप गरिहाल्ने कोसिस गर्नुपर्थ्यो। (मत्ती ५:२१-२५ पढ्‌नुहोस्‌) येशूको सल्लाहलाई गहिरिएर ध्यान दिनुहोस्‌। तपाईंले वेदीमा भेटी चढाउन ल्याउँदै हुनुहुन्थ्यो र आफ्नो हृदयमा भाइको विरुद्ध केही छ भनी सम्झनुभयो भने के गर्नुपर्थ्यो? तपाईंले भेटी त्यहीं वेदीअघि छोडी पहिला आफ्नो भाइसित मिलाप गर्नुपर्थ्यो। भाइसित मिलाप गरिसकेपछि मात्र फर्केर आफ्नो भेटी चढाउन सकिन्थ्यो।

१८ साधारणतया, “भेटी” भनेको यहोवाको मन्दिरमा मानिसहरूले चढाउने बलिदान थियो। पशुबलि एकदमै महत्त्वपूर्ण थियो किनभने यो मोशाको व्यवस्था अन्तर्गत यहोवाले इस्राएललाई दिनुभएको आज्ञा हुनुका साथै उपासनाको भाग थियो। तर आफू विरुद्ध आफ्नो भाइको हृदयमा केही छ भनी याद भयो भने भेटी चढाउनुभन्दा त्यो समस्या सुल्झाउनु महत्त्वपूर्ण हुनुपर्थ्यो। येशूले भन्‍नुभयो: “त्यही वेदीको सामु तिम्रो भेटी छोड, र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढाऊ।” व्यवस्थामा भनेअनुसार भेटी चढाउनुभन्दा आफ्नो भाइसित मिलाप गर्नु महत्त्वपूर्ण थियो।

१९ येशूले कुनै खास भेटी र पापबारे मात्र बताइरहनुभएको थिएन। त्यसैले आफ्नो भाइ विरुद्ध केही भएको सम्झेमा कुनै पनि भेटी चढाउन थाती राख्नुपर्थ्यो। चढाउन ल्याइएको भेटी जिउँदो पशु हो भने त्यसलाई मन्दिरमा पूजाहारीहरूको चोकमा रहेको होमबलि चढाउने “वेदीको सामु” छोड्‌नुपर्थ्यो। समस्या सुल्झाइसकेपछि मात्र फर्केर भेटी चढाउनुपर्ने थियो।

२०. हामीलाई कुनै भाइदेखि रीस उठेको छ भने मिलाप गर्न किन झट्टै कदम चालिहाल्नुपर्छ?

२० परमेश्‍वरको दृष्टिमा भाइहरूसँगको हाम्रो सम्बन्ध साँचो उपासनाको एउटा महत्त्वपूर्ण भाग हो। पशुबलि चढाउने व्यक्‍तिले सँगी मानिससित राम्ररी व्यवहार गर्दैन भने तिनले चढाएको त्यस बलिको केही अर्थ रहने थिएन। (मीका ६:६-८) तसर्थ येशूले आफ्ना चेलाहरूलाई “झट्टै मिलाप गरिहाल” भन्‍नुभयो। (मत्ती ५:२५) त्यस्तै गरि पावलले पनि यस्तो लेखे: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्‌। शैतानलाई मौका नदेओ। चोर्नेले फेरि नचोरोस्‌।” (एफि. ४:२६, २७) रिस उठ्‌नु पछाडि जायज कारण छ भने पनि हामीले मिलाप गर्न झट्टै कदम चाल्नुपर्छ। यसो गर्दा हामी रीसले मुरमुरिरहँदैनौ अनि दियाबलले फाइदा उठाउने मौका पाउँदैन।—लूका १७:३, ४.

सधैं अरूलाई आदरसाथ व्यवहार गर्नुहोस्‌

२१, २२. (क) हामीले भर्खरै छलफल गरेको येशूको सल्लाह कसरी लागू गर्न सक्छौं? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौं?

२१ डाँडाको उपदेशमा येशूले भन्‍नुभएका केही खास कुराहरू हामीले विचार गऱ्‍यौं। यसले हामीलाई अरूसित दया र आदरसहित व्यवहार गर्न मदत गर्नुपर्छ। हामी सबै असिद्ध भए तापनि हामीले येशूको सल्लाह लागू गर्न सक्छौं किनभने हाम्रो क्षमताले नभ्याउने कुरा उहाँले माग गर्नुहुन्‍न, नता स्वर्गमा हुनुहुने हाम्रो पिताले नै। प्रार्थना, निष्कपट प्रयास र यहोवा परमेश्‍वरको आशिष्‌ले हामी नम्र, दयालु र मिलापी हुन सक्छौं। परमेश्‍वरको महिमा हुनेगरि आध्यात्मिक ज्योति चम्काउन सक्छौं। यसबाहेक, परेको खण्डमा आफ्ना भाइसँग मिलाप गर्न सक्छौं।

२२ यहोवालाई स्वीकार्य हुने उपासना गर्नुमा आफ्ना छिमेकीलाई राम्रो व्यवहार गर्नु पनि समावेश छ। (मर्कू. १२:३१) अर्को लेखमा डाँडाको उपदेशमा भनिएका अरू कुरा छलफल गर्नेछौं जसले अरूको भलाइ गरिरहन हामीलाई मदत पुऱ्‍याउँछ। येशूले दिनुभएको अतुलनीय भाषणका केही बुँदाहरू हामीले मनन गऱ्‍यौं। तर हाम्रो मनमा अझै यस्तो प्रश्‍न आउन सक्छ: ‘म अरूसित कत्तिको राम्रो व्यवहार गर्छु?’

(w 08 5/15)

[फुटनोट]

a तपाईंले व्यक्‍तिगत अध्ययनमा पहिला यी विवरणहरू पढ्‌नुभयो भने यो लेख र यसपछिको लेख अध्ययन गर्दा सायद धेरै लाभ उठाउनुहुनेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• नम्र हुनुको अर्थ के हो?

• “दयावन्तहरू” किन धन्यका हुन्‌?

• हामीले कसरी आफ्नो ज्योति चम्काउन सक्छौं?

• किन झट्टै ‘आफ्नो भाइसँग मिलाप’ गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

आफ्नो भाइसँग मिलाप गर्न सक्दो गर्नुहोस्‌