सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘तपाईंको पहिलेको प्रेम’ राखिछोड्‌नुहोस्‌

‘तपाईंको पहिलेको प्रेम’ राखिछोड्‌नुहोस्‌

‘तपाईंको पहिलेको प्रेम’ राखिछोड्‌नुहोस्‌

“तिमीसँग भएकोलाई राखिछोड।”—प्रका. ३:११.

१, २. यहोवाबारे आफूले सिकिरहेको कुरा नै सत्य हो भनेर विश्‍वस्त हुनुभएपछि तपाईंले कस्तो महसुस गर्नुभयो?

 आज्ञाकारी मानिसजातिसामु यहोवाले राख्नुभएको सुन्दर प्रत्याशाबारे पहिलो चोटि सुनेको त्यो क्षण के तपाईंले सम्झनुभएको छ? तपाईं पहिला अर्कै धर्म मान्‍नुहुन्थ्यो भने बाइबल चलाउँदै परमेश्‍वरको उद्देश्‍य बताइँदा वा कुनै समय आफूलाई बुझ्न गाह्रो लागेको कुरा स्पष्ट पारिंदा तपाईंलाई कस्तो लागेको थियो? आफूलाई परमेश्‍वरबारे साँचो कुरा नसिकाइएको चाल पाउनुभयो होला। तर अहिले सच्चाइ जानेकोमा तपाईं कत्ति आनन्दित हुनुहुन्छ! तपाईंको लालनपालन ख्रीष्टियान परिवारमा भएको हो भने आफूले यहोवाबारे सिकिरहेको कुरा नै सत्य हो भनेर विश्‍वस्त भएको अनि त्यसअनुरूप जीवन बिताउने निर्णय गरेको क्षण के तपाईं सम्झनुहुन्छ?—रोमी १२:२.

हाम्रा थुप्रै आध्यात्मिक भाइबहिनीले सच्चाइ थाह पाउँदा खुसीले आफ्नो खुट्टा भुईंमा नभएको र यहोवासँग नजिक महसुस गरेको बताउँछन्‌ साथै यहोवाले आफूलाई खिंच्नुभएकोमा कृतज्ञता पनि व्यक्‍त गर्छन्‌। (यूह. ६:४४) आनन्दित भएकोले तिनीहरू ख्रीष्टियान गतिविधिमा भाग लिन जोसिएका थिए। तिनीहरू यत्ति खुसी भएका थिए कि आफ्नो खुसी सबैसित बाँड्‌न चाहन्थे। के तपाईंको पनि त्यस्तै अनुभव छ?

३. येशूले एफिससको मण्डलीलाई सन्देश पठाउँदा त्यहाँको अवस्था कस्तो थियो?

प्रथम शताब्दीको ख्रीष्टियान मण्डली एफिससलाई येशूले सन्देश पठाउँदा ‘तिम्रो पहिलेको प्रेम’ भनेर भन्‍नुभएको थियो। एफिसीहरूमा थुप्रै असल गुण थिए तर कुनै समय यहोवाप्रति देखाएको तिनीहरूको प्रेम सेलाउँदै थियो। त्यसकारण येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिम्रो काम, तिम्रो परिश्रम, र धीरज, र तिमीले खराब मानिसहरूलाई सहनसक्‍तैनौ भन्‍ने र प्रेरित हुँ भनेर हिंड्‌ने तर ती होइनन्‌, त्यस्तालाई परीक्षा गरेर झूटा साबित गऱ्‍यौ भन्‍ने, मलाई थाहा छ। औ तिमीमा धैर्य छ, र मेरो नाउँको खातिर सहनसक्यौ, र थकित भएनौ भन्‍ने मलाई थाहा छ। तर तिम्रो विरुद्धमा मसँग यो कुरो छ, कि तिमीले तिम्रो पहिला प्रेम छोडिदिएका छौ।”—प्रका. २:२-४.

४. एफिसस मण्डलीलाई येशूले दिनुभएको सल्लाह आज हाम्रो समयमा पनि किन महत्त्वपूर्ण छ?

सन्‌ १९१४ देखि यताका अभिषिक्‍त ख्रीष्टियानहरूमाझ भएको अवस्थालाई विचार गर्दा प्रकाशको पुस्तकमा येशूले एफिसस लगायत अन्य मण्डलीलाई दिनुभएको सल्लाह उपयुक्‍त भएको छ। (प्रका. १:१०) तर, अहिले पनि केही ख्रीष्टियानहरूले यहोवा र बाइबल सत्यप्रति ‘[तिनीहरूको] पहिलेको प्रेम’ गुमाउन सक्छन्‌। यो कुरा मनमा राखेर आफ्नै अनुभवलाई सम्झँदै र मनन गर्दै कसरी परमेश्‍वर र सच्चाइप्रतिको पहिलेको प्रेम र जोस कायम राख्न, फेरि ताजा पार्न र बढाउन सकिन्छ, आउनुहोस्‌ हामी जाँचेर हेरौं।

सत्य यही हो भनेर तपाईं कुन कुराले गर्दा विश्‍वस्त हुनुभयो?

५, ६. (क) प्रत्येक ख्रीष्टियान कुन कुराबारे विश्‍वस्त हुनै पर्छ? (ख) यहोवाका साक्षीहरूले सिकाएको कुरा नै सत्य हो भनेर तपाईं कुन कुराले गर्दा विश्‍वस्त हुनुभयो? (ग) आफ्नो पहिलेको प्रेमलाई कसरी फेरि ताजा पार्न सकिन्छ?

यहोवालाई आफ्नो जीवन समर्पण गर्ने जो-कोहीले पनि “परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ” भनी पहिला “जाँचेर पत्ता” लगाउनुपर्छ। (रोमी १२:१, २) यसको लागि गर्नुपर्ने एउटा कुरा भनेको बाइबलका सत्य कुराहरू सिक्नु हो। यहोवाका साक्षीहरूले सिकाएका कुरा नै सत्य हो भनेर विश्‍वस्त हुन सक्नुको कारण मान्छेपिच्छे फरक हुन सक्छ। कसै-कसैले बाइबलमा परमेश्‍वरको नाउँ देखेपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आएको कुरा सम्झेलान्‌ भने अरूले चाहिं मरिसकेकाहरूको अवस्थाबारे बुझेपछि विश्‍वस्त भएको कुरा बताउलान्‌। (प्रस्थ. ६:३, पादटिप्पणी; उप. ९:५, १०) अरू कतिपयको चाहिं यहोवाका जनहरूबीचको प्रेम देखेर मन छोयो। (यूह. १३:३४, ३५) अझै अरू भने संसारको भाग नहुनुको अर्थ बुझेपछि विश्‍वस्त भए। साँचो ख्रीष्टियानहरू राजनैतिक विवाद वा राष्ट्रहरूको युद्धमा मुछिनु हुँदैन भन्‍ने निष्कर्षमा तिनीहरू पुगे।—यशै. २:४; यूह. ६:१५; १७:१४-१६.

यस्तै अथवा अन्य कुनै कारणले गर्दा सुरुमा परमेश्‍वरप्रति थुप्रैको प्रेम जागेको थियो। सच्चाइ यही हो भनेर तपाईं कुन कुराले गर्दा विश्‍वस्त हुनुभएको थियो, समय लगाएर सम्झनुहोस्‌। प्रत्येकको अवस्था र व्यक्‍तित्व फरक-फरक हुनेभएकोले तपाईंले यहोवालाई प्रेम गर्नु र उहाँका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुको कारण अरूको भन्दा फरक हुन सक्छ। सुरुमा तपाईं जुन कुराले गर्दा विश्‍वस्त हुनुभएको थियो, त्यो कुरा आज पनि तपाईंलाई उत्तिकै सही लाग्छ होला। सच्चाइ परिवर्तन भएको छैन। त्यसैले, ती विचार तथा भावनाहरूलाई फेरि एकचोटि सम्झँदा सच्चाइप्रति तपाईंको पहिलेको प्रेम पुनःताजा र पुनःजागृत हुन सक्छ। भजन ११९:१५१, १५२; १४३:५ पढ्‌नुहोस्‌।

आफ्नो ‘पहिलेको प्रेमलाई’ बलियो बनाउँदै लैजानुहोस्‌

७. सच्चाइप्रतिको तपाईंको पहिलो प्रेमलाई किन बलियो बनाउँदै लैजानुपर्छ र यो हामी कसरी गर्न सक्छौं?

समर्पण गर्नुभएदेखि यता सायद तपाईंको जीवनमा थुप्रै परिवर्तन भइसके होलान्‌। सच्चाइप्रति तपाईंको पहिलो प्रेम महत्त्वपूर्ण थियो तर समय बित्दै जाँदा विश्‍वासको परीक्षा हुने खालका नयाँ-नयाँ चुनौती आइपर्दा तपाईंले त्यो प्रेमलाई अझ बलियो बनाउनु खाँचो पऱ्‍यो। तथापि, यहोवाले तपाईंलाई सँभाल्नुभयो। (१ कोरि. १०:१३) त्यसकारण वर्षौंको दौडान तपाईंले बटुल्नुभएका अनुभवहरू पनि अनमोल छन्‌। ती अनुभवहरूले तपाईंको पहिलो प्रेमलाई बलियो बनाउँदै लैजान मदत गरेको छ र यो, परमेश्‍वरको असल र मन पर्ने इच्छा जाँचेर पत्ता लगाउने अर्को तरिका हो।—यहो. २३:१४; भज. ३४:८.

८. यहोवाले मोशालाई आफ्नो परिचय कसरी दिनुभयो र इस्राएलीहरूले यहोवालाई अझ नजिकबाट कसरी चिन्‍न सके?

उदाहरणको लागि, यहोवाले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउने आफ्नो उद्देश्‍य बताउनुहुँदा तिनीहरू कस्तो अवस्थामा थिए विचार गर्नुहोस्‌। मोशालाई परमेश्‍वरले आफ्नो परिचय यसरी दिनुभयो: “म हुँ जो म हुँ।” (प्रस्थ. ३:७, ८, १३, १४) उहाँले त्यसो भन्‍नुको तात्पर्य के थियो भने, आफ्ना जनहरूलाई छुटाउन जस्तोसुकै भूमिका निर्वाह गर्नु परे तापनि उहाँले त्यो गर्नुहुने थियो। त्यसपछिका घटनाहरूमा यहोवाले परिस्थितिअनुसार आफ्नो व्यक्‍तित्वको विभिन्‍न पक्ष प्रकट गर्नुभएको इस्राएलीहरूले देखे। जस्तै: उहाँले आफूलाई सर्वशक्‍तिमान्‌, न्यायकर्ता, नेता, उद्धारक, योद्धा र अन्‍नदाताको रूपमा प्रकट गर्नुभयो।—प्रस्थ. १२:१२; १३:२१; १४:२४-३१; १६:४; नहे. ९:९-१५.

९, १०. कस्ता अनुभवहरूले परमेश्‍वरलाई चिन्‍न मदत गर्न सक्छ र त्यस्ता अनुभव सम्झनु किन बेस हो?

तपाईंको परिस्थिति प्राचीन इस्राएलीहरूको भन्दा फरक छ। तर तपाईंको पनि पक्कै यस्ता अनुभवहरू छन्‌ होलान्‌ जसले गर्दा परमेश्‍वरले तपाईंमा व्यक्‍तिगत चासो लिनुहुन्छ भनी विश्‍वस्त हुन सक्नुभयो र तपाईंको विश्‍वास अझ बलियो भयो। सायद, कुनै तरिकामा यहोवा तपाईंको लागि प्रबन्धकर्ता, सान्त्वनादाता वा शिक्षक साबित हुनुभयो। (यशैया ३०:२०ख, २१ पढ्‌नुहोस्‌) अथवा, प्रार्थनाको स्पष्ट जवाफ पाएको अनुभव गर्नुभयो होला। चुनौती आइपर्दा सँगी भाइले तपाईंलाई मदत दिएको हुन सक्छ। अथवा व्यक्‍तिगत अध्ययनको दौडान आफूलाई लागू हुने उपयुक्‍त शास्त्रपद भेट्टाउनुभएको होला।

१० त्यस्ता अनुभवहरू अरूलाई बताउँदा हुन सक्छ, कसै-कसैलाई खासै विशेष नलाग्ला। आखिर, ती घटनाहरू चमत्कारपूर्ण थिएनन्‌। तर ती तपाईंको लागि भने एकदमै विशेष छ। हो, तपाईंको लागि यहोवा जस्तो हुनु आवश्‍यक थियो, त्यही साबित हुनुभयो। सच्चाइमा बिताएका वर्षहरूलाई फर्केर हेर्नुहोस्‌। यहोवाले एकचोटि मात्र नभई थुप्रै चोटि व्यक्‍तिगत तवरमा तपाईंको चासो लिनुभएका घटनाहरू के सम्झना छ? छ भने, ती घटनाहरूका साथै त्यतिबेला कस्तो महसुस भएको थियो भनी सम्झँदा तपाईंले त्यतिबेला यहोवाप्रति जस्तो प्रेम महसुस गर्नुभएको थियो त्यो फेरि जाग्न सक्छ। ती अनुभवहरूलाई मोल गर्नुहोस्‌। मनन गर्नुहोस्‌। ती अनुभवहरू यहोवाले तपाईंमा व्यक्‍तिगत चासो लिनुहुन्छ भन्‍ने कुराको प्रमाण हुन्‌ र त्यो दृढ विश्‍वास तपाईंबाट कसैले छिन्‍न सक्दैन।

आफैलाई जाँचेर हेर्नुहोस्‌

११, १२. सच्चाइप्रति हाम्रो प्रेम सेलाउँदै गइरहेको छ भने त्यसको कारण के हुन सक्ला र येशूले कस्तो सल्लाह दिनुभयो?

११ परमेश्‍वर र बाइबल सच्चाइप्रति पहिलाजस्तो प्रेम महसुस गर्नुहुन्‍न भने यसको कारण यहोवा परिवर्तन हुनुभएकोले होइन। उहाँ कहिल्यै परिवर्तन हुनुहुन्‍न। (मला. ३:६; याकू. १:१७) उहाँले पहिला पनि तपाईंमा चासो लिनुहुन्थ्यो र आज पनि लिनुहुन्छ। त्यसोभए उहाँसितको सम्बन्धमा के कारणले परिवर्तन आएको हुन सक्ला त? अझै दबाबमा परेको वा जीवनका फिक्रीहरूमा अझै अलमलिएको महसुस भएकोले पो हो कि? विगतमा तपाईंले अहिलेभन्दा बढी निष्कपटता साथ प्रार्थना, लगनशीलताका साथ अध्ययन र निरन्तर मनन गर्नुहुन्थ्यो होला। के तपाईं अहिलेभन्दा पहिला सेवकाईमा जोसिलो र सभाहरूमा नियमित हुनुहुन्थ्यो?—२ कोरि. १३:५.

१२ तपाईंले आफूमा त्यस्तो कुनै परिवर्तन देख्नुहुन्‍न होला तर यदि देख्नुभयो भने त्यसको कारण के होला? परिवारको राम्रो पालनपोषण, स्वास्थ्यको चिन्ता वा त्यस्तै अन्य जायज फिक्रीहरूले गर्दा नजिकिंदै गरेको यहोवाको दिनबारे हाम्रो अविलम्बी भाव सेलाएको छ कि? येशूले आफ्ना प्रेरितहरूलाई यस्तो भन्‍नुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासी पासोझैं आइपर्ला। किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ। तर आउनलागेका कुराहरूबाट उम्कन . . . हरघडी प्रार्थना गर्दै जागा रहो।”—लूका २१:३४-३६.

१३. याकूबले परमेश्‍वरको वचनलाई केसित तुलना गऱ्‍यो?

१३ परमेश्‍वरको वचन चलाउँदै इमानदारीसाथ आफूलाई जाँचेर हेर्न बाइबलका प्रेरित लेखक याकूबले आफ्ना सँगी विश्‍वासीहरूलाई कडा सल्लाह दिए। तिनले यस्तो लेखे: “वचन पालन गर्ने होओ। आफैलाई धोका दिएर सुन्‍ने मात्र होइन। किनभने यदि कसैले वचन सुनेर त्यसबमोजिम गरेन भनेता त्यो आफ्नो स्वाभाविक मुख ऐनामा हेर्ने मानिसजस्तो मात्र हुनेछ। किनकि त्यसले आफूले आफूलाई देख्तछ र आफ्नो बाटो लाग्छ, तर कस्तो किसिमको मानिस थिएँ भनी तुरुन्तै बिर्सिहाल्छ। तर जसले स्वतन्त्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा स्याबासी पाउनेछ।”—याकू. १:२२-२५.

१४, १५. (क) तपाईंको आध्यात्मिक अवस्थामा उन्‍नति ल्याउन बाइबलले कसरी मदत गर्न सक्छ? (ख) कस्ता प्रश्‍नहरूमा तपाईंले चिन्तन गर्न सक्नुहुन्छ?

१४ आफ्नो रूपरंग चटक्क मिलेको छ/छैन पक्का गर्न मानिसले ऐना हेर्न सक्छ। उदाहरणको लागि, कुनै व्यक्‍तिले ऐना हेर्दा आफ्नो टाइ बाङ्‌गिएको देखेमा मिलाउन सक्छ। एउटी स्त्रीले आफ्नो केश अलि नमिलेको देखेमा त्यो मिलाउन सक्छिन्‌। त्यस्तै गरी बाइबलले पनि हामीलाई जाँचेर हेर्न मदत गर्न सक्छ। हामी कस्तो हुनुपर्छ भन्‍नेबारे बाइबलमा भनेको कुराहरूसित आफूलाई तुलना गरेर हेर्दा हामीले यसलाई ऐनाको रूपमा चलाइरहेका हुनेछौं। ऐना चाहिं हेर्ने तर कमजोरी देखेर पनि मिलाएन भने के अर्थ रहन्छ र? परमेश्‍वरको “सिद्ध व्यवस्था”-अनुसार काम गरेर “वचन पालन गर्ने” भयौं भने हामी बुद्धिमानी हुनेछौं। तसर्थ, यहोवा र सच्चाइप्रतिको पहिलेको प्रेम सेलाउँदै गएको याद भयो भने यी प्रश्‍नहरूमा गौर गर्नु बेस हुनेछ: ‘मैले कस्ता चुनौतीहरूको सामना गर्नु परिरहेको छ र मैले त्यसलाई कसरी लिइरहेको छु? विगतमा यस्तो परिस्थिति आउँदा मैले के गरेको थिएँ? के केही परिवर्तन भएको छ?’ यसरी आफूलाई जाँचेर हेर्दा केही कमजोरी भेटियो भने त्यसलाई बेवास्ता नगर्नुहोस्‌। परिवर्तन गर्नुपर्ने छ भने हर-हालतमा कदम चालिहाल्नुहोस्‌।—हिब्रू १२:१२, १३.

१५ यसरी मनन गर्दा पनि आध्यात्मिक उन्‍नतिको लागि व्यावहारिक लक्ष्य तय गर्न मदत पाउन सक्नुहुनेछ। प्रेरित पावलले आफ्ना सहकर्मी तिमोथीलाई सेवकाईमा उन्‍नति गर्न प्रेरित सल्लाह दिए। तिनले जवान तिमोथीलाई यसो भने: “यी कुरामा परिश्रम [“चिन्तन,” NW] गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्‌।” हामीले पनि परमेश्‍वरको वचन बाइबल चलाउँदै कुन क्षेत्रमा उन्‍नति गर्न सक्छौं भनी चिन्तन गर्नु बेस हुन्छ।—१ तिमो. ४:१५.

१६. बाइबल चलाउँदै आफूलाई जाँचेर हेर्दा कुन खतराबारे हामी सजग हुनुपर्छ?

१६ इमानदारीसाथ आफूलाई जाँच्नुभयो भने कमजोरीहरू भेटिन सक्छ। यसले गर्दा निरुत्साहित महसुस हुन सक्छ तर त्यसो हुन नदिनुहोस्‌। आखिर, आफूलाई जाँचेर हेर्नुको उद्देश्‍य कहाँनेर उन्‍नति गर्नुपर्छ त्यो पत्ता लगाउनु हो। तर शैतानको चाह भनेको ख्रीष्टियानहरूले आफूलाई आफ्नो असिद्धताको कारण बेकाम महसुस गरोस्‌ भन्‍ने हो। वास्तवमा यस्तो दाबी गरिएको छ कि यहोवाको सेवामा गरिएको सबै प्रयासलाई उहाँ तुच्छ ठान्‍नुहुन्छ। (अय्यू. १५:१५, १६; २२:३) यो झूटको येशूले जोडतोडका साथ खण्डन गर्नुभयो। यहोवाको नजरमा हामी प्रत्येक बहुमूल्य छौं। (मत्ती १०:२९-३१ पढ्‌नुहोस्‌) असिद्ध छु भन्‍ने चेतनाले बरु यहोवाको मदत लिंदै नम्रतापूर्वक आफूमा अझ सुधार ल्याउन कटिबद्ध बनाउनुपर्छ। (२ कोरि. १२:७-१०) बिमारी वा उमेरले तपाईंलाई सीमित पारेको छ भने व्यावहारिक लक्ष्य राख्नुहोस्‌ तर लत्तो नछाड्‌नुहोस्‌ वा प्रेम सेलाउन नदिनुहोस्‌।

कृतज्ञ हुन सक्ने थुप्रै कारण

१७, १८. पहिलो प्रेमलाई बलियो बनाउँदै लैजानुभयो भने कस्तो फाइदा हुनेछ?

१७ पहिलो प्रेम बलियो बनाउँदै लैजानुभयो भने थुप्रै लाभ उठाउनुहुनेछ। तपाईंले परमेश्‍वरको ज्ञानमा गहिरिन र उहाँको मायालु डोऱ्‍याइप्रति अझ आभारी हुन सक्नुहुन्छ। (हितोपदेश २:१-९; ३:५, ६ पढ्‌नुहोस्‌) भजनहारले यस्तो भने: “[यहोवाको न्यायिक निर्णय] पालन गरेमा ठूलो इनाम छ।” “परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने।” यसबाहेक, “तिनीहरू धन्यका हुन्‌, जसको चाल निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछन्‌।”—भज. १९:७, ११; ११९:१.

१८ कृतज्ञ हुन सक्ने थुप्रै कारण छन्‌ भन्‍ने कुरामा तपाईं पक्कै सहमत हुनुहुन्छ। संसार यस्तो अवस्थाबाट गुज्रिरहेको कारण तपाईंलाई थाह छ। यहोवाले आफ्ना जनहरूलाई दिइरहनुभएको आध्यात्मिक मदत र हेरचाहबाट फाइदा उठाउनुहुन्छ। निस्सन्देह, यहोवाले तपाईंलाई आफ्नो विश्‍वव्यापी मण्डलीमा खिंच्नुभएकोमा र उहाँको साक्षी हुने सुअवसर दिनुभएकोमा कृतज्ञ महसुस गर्नुहुन्छ। आफूले जीवनमा पाइरहेका आशिष्‌हरूलाई याद गर्नुहोस्‌! ती आशिष्‌हरूको सूची बनाउनुभयो भने पक्कै पनि निकै लामो हुनेछ। आशिष्‌हरूलाई याद गर्दा अवश्‍यै पनि यो सल्लाह लागू गर्न मदत पाउनुहुनेछ: “तिमीसँग भएकोलाई राखिछोड।”—प्रका. ३:११.

१९. यहोवासितको सम्बन्धबारे मनन गर्नुको अलावा आध्यात्मिक स्वास्थ्य कायम राख्न अरू के आवश्‍यक छ?

१९ आफूसित भएको कुरालाई बलियोसित पक्रिराख्ने एउटा तरिका वर्षौंको दौडान आफ्नो विश्‍वासमा के-कस्तो उन्‍नति भएको छ, त्यो मनन गर्नु हो। आध्यात्मिक स्वास्थ्य कायम राख्न आवश्‍यक अन्य महत्त्वपूर्ण कुराहरूमा यस प्रहरीधरहरा पत्रिकाले बारम्बार ध्यान खिचेको छ। तीमध्ये केही यसप्रकार छन्‌: प्रार्थना, सभाहरूमा उपस्थिति र सहभागी हुने अनि जनसेवकाईमा जोसका साथ भाग लिने। यी कुराहरूले तपाईंलाई आफ्नो पहिलेको प्रेमलाई फेरि ताजा पार्न, पुनःजागृत गर्न र बढाउँदै लैजान मदत गर्न सक्छ।—एफि. ५:१०; १ पत्रु. ३:१५; यहू. २०, २१. (w 08 6/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• तपाईंले यहोवालाई प्रेम गर्न थाल्नुको कारण अहिले तपाईंको लागि प्रोत्साहनको स्रोत हुन सक्छ, कसरी?

• वर्षौंको दौडान आफूले बटुलेका अनुभवहरूलाई फर्केर हेर्दा तपाईं कुन कुरामा विश्‍वस्त हुन सक्नुहुन्छ?

• यहोवाप्रतिको प्रेमलाई तपाईंले किन जाँचेर हेर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएको चित्र]

कुन कुराले तपाईंलाई सत्यप्रति आकर्षित र विश्‍वस्त बनायो?

[पृष्ठ २७-मा भएको चित्र]

आफूमा परिवर्तन गर्नुपर्ने कुराहरू के तपाईं देख्नुहुन्छ?