सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ताराहरूमा देखिने परमेश्‍वरको शक्‍ति

ताराहरूमा देखिने परमेश्‍वरको शक्‍ति

ताराहरूमा देखिने परमेश्‍वरको शक्‍ति

“तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बडप्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।”—यशैया ४०:२६.

सूर्य केवल मध्यम खालको तारा हो। तैपनि यसको पिण्ड पृथ्वीको भन्दा ३,३०,००० गुणा बढी छ। पृथ्वी नजिक रहेका प्रायजसो ताराहरू सूर्यभन्दा साना छन्‌। तर अरू तारा, जस्तै V382 Cygni नाउँ गरेको ताराको पिण्ड सूर्यको भन्दा कम्तीमा पनि २७ गुणा बढी छ।

सूर्यले कति उर्जा उत्पादन गर्छ? मानिलिनुहोस्‌, तपाईं दन्किरहेको आगोबाट झन्डै १५ किलोमिटर टाढा हुनुहुन्छ र अझै यसको राप महसुस गर्न सक्नुहुन्छ। अब कल्पना गर्नुहोस्‌, त्यो आगो कत्ति दन्केको होला! मोटामोटी रूपमा भन्‍नुपर्दा पृथ्वीबाट सूर्य १५ करोड किलोमिटर टाढा छ। तैपनि चर्को घाम लागेको दिनमा यसले भतभत पोल्छ! छक्कलाग्दो कुरा के हो भने, सौर्यशक्‍तिको दुई अरब भागको झन्डै एक भाग मात्र पृथ्वीमा आइपुग्छ। तैपनि पृथ्वीमा जीवन धान्‍न यति नै पर्याप्त छ।

वास्तवमा, वैज्ञानिकहरूको हिसाबअनुसार मात्र सूर्यले उत्पादन गर्ने कुल शक्‍तिले पृथ्वीजस्तो अर्को ३ नील १० खरब (३,१०,००,००,००,००,०००) ग्रहहरूमा जीवन धान्‍न सक्छ। अथवा सूर्यको यत्ति धेरै शक्‍तिलाई यसरी हिसाब गर्दा सूर्यले उत्पादन गर्ने कुल उर्जा एक सेकेन्डको लागि मात्र जम्मा गर्न सकेको भए यसले अमेरिकामा अहिले जति उर्जा खपत हुन्छ त्यही दरमा “अर्को ९०,००,००० वर्षको लागि पर्याप्त उर्जा उत्पादन गर्न सक्छ” भनी स्पेस वेदर प्रिडिक्सन सेन्टर भन्‍ने बेवसाइट-ले बताउँछ।

सूर्यको केन्द्रबाट उर्जा उत्पादन हुन्छ। यो, मानौं एउटा आणविक भट्टी हो जहाँ परमाणुहरू आपसमा बेसरी ठोकिएर चक्नाचूर हुन्छ र प्रशस्त उर्जा उत्पादन गर्छ। सूर्य विशाल हुनुका साथै यसको केन्द्रको घनत्व यत्ति बाक्लो छ कि त्यहाँबाट निस्किने उर्जा यसको सतहमा पुग्न लाखौं वर्ष लाग्छ। माथि उल्लेख गरेको बेवसाइटअनुसार “सूर्यले अहिले उर्जा उत्पादन गर्न बन्द नै गऱ्‍यो भने पनि त्यसको असर ५,००,००,००० वर्षपछि मात्र पृथ्वीमा महसुस हुन्छ!”

अब यो तथ्यलाई विचार गर्नुहोस्‌: खुला आकास भएको दिनमा तपाईंले सूर्य जस्तै हजारौं ताराहरू देख्नुहुन्छ र ती प्रत्येक ताराले सूर्यले जत्तिकै उर्जा उत्पादन गर्छ। अनि वैज्ञानिकहरूअनुसार ब्रह्‍माण्डमा अरबौं अरब ताराहरू छन्‌!

ती सबै तारा कसरी अस्तित्वमा आए? अनुसन्धानकर्ताहरूले झन्डै १४ अरब वर्षअघि ब्रह्‍माण्ड अचानक अस्तित्वमा आयो भनेर विश्‍वास गर्छन्‌ तर उनीहरू आफैले यो कसरी भयो भनेर बुझेका छैनन्‌। बाइबल सरल शब्दमा यसो भन्छ: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) त्यति धेरै मात्रामा उर्जा उत्पादन गर्ने ‘मेसिन’ जसलाई हामी तारा भन्छौं, ती बनाउनेलाई ‘शक्‍तिमा बडप्पन’ भनी वर्णन गर्नुमा कुनै दुई मत छैन।—यशैया ४०:२६.

परमेश्‍वरले आफ्नो शक्‍ति चलाउने तरिका

यहोवा परमेश्‍वरले आफ्नो इच्छाबमोजिम गर्नेहरूलाई सँभाल्न आफ्नो शक्‍ति चलाउनुहुन्छ। उदाहरणको लागि, प्रेरित पावललाई लिनुहोस्‌। तिनी परमेश्‍वरबारे अरूलाई सिकाउने काममा दत्तचित्तका साथ लागे। पावल कुनै अलौकिक शक्‍ति पाएका मानिस त थिएनन्‌ तर तिनले कठोर विरोधको बावजूद धेरै गर्न सके। कसरी? तिनले परमेश्‍वरबाट “सर्वश्रेष्ठ शक्‍ति” पाएको कुरा मानिलिए।—२ कोरिन्थी ४:७-९NRV.

आफ्नो नैतिक स्तर हाकाहाकी उल्लंघन गर्नेहरूलाई नाश गर्न पनि यहोवा परमेश्‍वरले आफ्नो शक्‍ति चलाउनुभएको छ। दुष्टहरूलाई मात्र नाश गर्न यहोवाले आफ्नो शक्‍ति कसरी चलाउनुहुन्छ भनी बुझाउन येशू ख्रीष्टले सदोम र गमोराको विनाश अनि नूहको जलप्रलयको उदाहरण दिनुभयो। परमेश्‍वरका स्तर उल्लंघन गर्नेहरूलाई नाश गर्न उहाँले आफ्नो शक्‍ति फेरि चलाउनुहुनेछ भनेर पनि येशूले भविष्यवाणी गर्नुभयो।—मत्ती २४:३, ३७-३९; लूका १७:२६-३०.

तपाईंलाई कसरी असर गर्छ?

ताराहरूमा देखिने परमेश्‍वरको शक्‍तिमा मनन गरेपछि सायद तपाईं पनि राजा दाऊदले जस्तै महसुस गर्नुहुन्छ होला जसले यसो भने: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईं नियुक्‍त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ? र मानिसको सन्तान, जसको तपाईं चासो लिनुहुन्छ?”—भजन ८:३, ४.

हो, विशाल ब्रह्‍माण्डको तुलनामा हामी कत्ति तुच्छ छौं भनी मानिलिंदा त्यसले हामीलाई साँच्चै नम्र तुल्याउँछ। तैपनि, परमेश्‍वरको शक्‍ति देखेर ‘म केही पनि गर्न सक्दिनँ, शक्‍तिहीन छु’ भन्ठान्‍नु पर्दैन। यहोवाले अगमवक्‍ता यशैयालाई यी आश्‍वासनदायी शब्दहरू लेख्न प्रेरित गर्नुभयो: “उहाँले [परमेश्‍वरले] दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्‍तिहीनको शक्‍ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन्‌, र जवान मानिसहरू थाकेर ढल्नेछन्‌। तर परमप्रभुको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्‌। तिनीहरू चीलझैं उँभोउँभो उड्‌नेछन्‌, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्‌। तिनीहरू हिंडेर जान्छन्‌, तर क्लान्त हुनेछैनन्‌।”—यशैया ४०:२९-३१.

परमेश्‍वरको इच्छाअनुसार चल्न चाहनुहुन्छ भने तपाईंलाई सँभाल्न उहाँले बल दिनुहुन्छ भनेर ढुक्क हुन सक्नुहुन्छ। तर यति हो कि, तपाईंले त्यो माग्नुपर्छ। (लूका ११:१३) परमेश्‍वरको साथ पाउँदा तपाईंले जस्तोसुकै परीक्षा सहन र सही कुरा गर्न बल पाउन सक्नुहुन्छ।—फिलिप्पी ४:१३. (w08 5/1)

[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वरको साथ पाउँदा सही कुरा गर्न बल पाउन सक्नुहुन्छ

[पृष्ठ ७-मा भएका चित्रहरू]

माथि बायाँदेखि: ह्वर्लपूल ग्यालेक्सी, प्लियाडिस तारापुञ्ज; ओरियन नेबुला; एन्ड्रोमेडा ग्यालेक्सी

[पृष्ठ ७-मा भएको चित्र]

सूर्यको पिण्ड पृथ्वीको भन्दा ३,३०,००० गुणा बढी छ

[पृष्ठ ७-मा भएको चित्रको स्रोत]

Pleiades: NASA, ESA and AURA/Caltech; all others above: National Optical Astronomy Observatories