सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ती कुरा जसबाट हामी भाग्नै पर्छ

ती कुरा जसबाट हामी भाग्नै पर्छ

ती कुरा जसबाट हामी भाग्नै पर्छ

“ए सर्पका सन्तान हो, आउन लागेका क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेतावनी दियो?”—मत्ती ३:७.

१. बाइबलमा भागेका कस्ता उदाहरणहरू पाइन्छ?

 ‘भाग्नु’यो शब्द सुन्दा तपाईंलाई केको सम्झना आउँछ? कतिपयलाई पोतीफरकी पत्नीको अनैतिक फन्दाबाट भागिरहेका सुन्दर र लक्का जवान यूसुफको सम्झना आउला। (उत्प. ३९:७-१२) अरूलाई चाहिं ती ख्रीष्टियानहरूको सम्झना आउला जो येशूको चेतावनी पालन गर्दै इस्वी संवत्‌ ६६ मा यरूशलेमबाट भागेका थिए। येशूले त्यतिबेला यस्तो चेतावनी दिनुभएको थियो: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब . . . यहूदियामा हुनेहरू डाँडाहरूतिर भागून्‌। औ शहरभित्र हुनेहरू निस्किजाऊन्‌।”—लूका २१:२०, २१.

२, ३. (क) बप्तिस्मा दिने यूहन्‍नाले धर्मगुरुहरूको आलोचना गर्नुको खास अर्थ के थियो? (ख) यूहन्‍नाको चेतावनीलाई येशूले कसरी समर्थन गर्नुभयो?

माथिका उदाहरणहरूमा साँच्चै नै भाग्नुपरेका घटनाहरू छन्‌। तर आज, प्रायजसो संसारको हरेक मुलुकमा रहेका साँचो ख्रीष्टियान प्रतीकात्मक अर्थमा भाग्नु अत्यन्त जरुरी भएको छ। बप्तिस्मा दिने यूहन्‍नाले यही अर्थमा ‘भाग्नु’ शब्द प्रयोग गरे। उनलाई भेट्‌न आउनेहरूमध्ये पश्‍चात्ताप गर्नु आवश्‍यक नठान्‍ने आत्म-धर्मी यहूदी धर्मगुरुहरू पनि थिए। तिनीहरूले पश्‍चात्तापको बप्तिस्मा लिइरहेका सर्वसाधारणलाई घृणा गर्थे। यूहन्‍नाले निडरतासाथ ती कपटी धर्मगुरुहरूको यसरी पर्दाफास गरिदिए: “ए सर्पका सन्तान हो, आउन लागेका क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेतावनी दियो? यसकारण पश्‍चात्ताप लायकको फल फलाओ।”—मत्ती ३:७, ८.

यूहन्‍नाले साँच्चै भाग्ने कुरा गरिरहेका थिएनन्‌। तिनले आउँदै गरेको न्याय अर्थात्‌ क्रोधको दिनबारे चेतावनी दिइरहेका थिए। अनि धर्मगुरुहरू त्यस दिनबाट बच्ने हो भने तिनीहरूले पश्‍चात्ताप योग्यको फल फलाउनु आवश्‍यक छ भनी याद गराइरहेका थिए। पछि, येशूले पनि निडरतासाथ ती धर्मगुरुहरूको भर्त्सना गर्नुभयो। तिनीहरूको हत्यारा मनोवृत्तिले वास्तवमा तिनीहरू आफ्नो पिता शैतानबाटको हो भनी प्रस्ट भयो। (यूह. ८:४४) यूहन्‍नाको चेतावनीलाई समर्थन गर्दै येशूले तिनीहरूलाई “सर्पका सन्तान” भन्‍नुभयो र यस्तो प्रश्‍न गर्नुभयो: “तिमीहरू गेहेन्‍नाको दण्डदेखि कसरी भाग्छौ?” (मत्ती २३:३३NW) येशूले “गेहेन्‍ना” भन्‍नुको अर्थ के थियो?

४. येशूले “गेहेन्‍ना” भन्‍नुको अर्थ के थियो?

यरूशलेमको पर्खालबाहिरको बेंसीलाई गेहेन्‍ना भनिन्थ्यो जहाँ फोहोर-मैला र सिनो जलाइने गरिन्थ्यो। येशूले गेहेन्‍नालाई अनन्त मृत्युको प्रतीकको रूपमा प्रयोग गर्नुभयो। गेहेन्‍नाबाट उम्कनेबारे उहाँको प्रश्‍नले ती धर्मगुरुहरू सामूहिक रूपमा अनन्त विनाशको योग्य थिए भनी देखायो।—मत्ती ५:२२, २९.

५. यूहन्‍ना र येशूको चेतावनी साँचो हुन आयो भनेर कसरी इतिहासले साबित गर्छ?

यहूदी धर्मगुरुहरूले येशू र उहाँका अनुयायीहरूलाई सताएर पापमाथि पाप गरे। यूहन्‍ना र येशूले चेतावनी दिएअनुसारै परमेश्‍वरको क्रोधको दिन पछि साँच्चै आयो। त्यतिबेला “आउन लागेको क्रोध” एउटा खास इलाका अर्थात्‌ यरूशलेम र यहूदियामा मात्र केन्द्रित थियो। त्यसैले शाब्दिक अर्थमै त्यहाँबाट अन्तै भाग्न सम्भव भएको हुन सक्छ। इस्वी संवत्‌ ७० मा रोमी सेनाले यरूशलेम र यसको मन्दिर विनाश गर्दा त्यो क्रोध पोखाइयो। त्यस्तो ठूलो “संकष्ट” यरूशलेममा अघि कहिल्यै आइपरेको थिएन। थुप्रै मारिए वा कैदमा लगिए। यसले, ख्रीष्टियान भनौंदा र अन्य धर्मका मानिसहरूमाथि आउने अझ ठूलो विनाशलाई संकेत गऱ्‍यो।—मत्ती २४:२१.

भविष्यमा दन्किने क्रोध जसबाट भाग्नुपर्छ

६. प्रथम शताब्दीको ख्रीष्टियान मण्डलीमा के हुन थाल्यो?

प्रथम शताब्दीका ख्रीष्टियानहरूमध्ये केही धर्मत्यागी भए र मानिसहरू तिनीहरूको पछि लागे। (प्रेरि. २०:२९, ३०) येशूका प्रेरितहरू पृथ्वीमा होउन्जेल त्यस्ता धर्मत्यागलाई ‘रोके।’ तर, उनीहरूको मृत्युपछि झूटा ख्रीष्टियान गुटहरू थुप्रै निक्लिए। ख्रीष्टियान भनौंदाहरूमाझ नै आपसमा बाझिने शिक्षा भएका थुप्रै समूह छन्‌। चर्चका पादरीहरूको जगजगी बढ्‌नेछ भनी भविष्यवाणी गर्दै बाइबलले तिनीहरूको समूहलाई सामूहिक रूपमा “पापको मानिस” र ‘प्रभु येशूले नाश पार्नुहुने र उहाँको आगमनको प्रकाशद्वारा विनाश हुने सर्वनाशको सन्तान’ भनी वर्णन गर्छ।—२ थिस्स. २:३, ६-८.

७. “पापको मानिस” भन्‍ने अभिव्यक्‍ति चर्चका पादरीहरूलाई सुहाउँछ, किन?

चर्चका पादरीहरूले बाइबल विपरीत शिक्षा, चाडपर्व र आनीबानीलाई प्रोत्साहन दिएर लाखौं मानिसलाई ठगेका छन्‌। त्यसैले तिनीहरूलाई पापको मानिस भन्‍न सकिन्छ। येशूले भर्त्सना गरेका धर्मगुरुहरूले जस्तै “सर्वनाशको सन्तान”-को भाग हुने चर्चका पादरीहरूले पनि पुनरुत्थान नहुनेगरि विनाश भोग्नेछन्‌। (२ थिस्स. १:६-९) तर चर्चका पादरीहरू र अन्य झूटो धर्मका गुरुहरूद्वारा बहकिएका मानिसहरूलाई चाहिं के हुनेछ? यस प्रश्‍नको जवाफ पाउन आउनुहोस्‌, ईसापूर्व ६०७ मा यरूशलेमको विनाशपछि घटेका घटनाहरूलाई विचार गरौं।

“बाबेलबाट भाग”

८, ९. (क) बेबिलोनको कैदमा रहेका यहूदीहरूलाई यर्मियाले कस्तो भविष्यसूचक सन्देश सुनाए? (ख) मादी-फारसको हातबाट बेबिलोन पराजित भएपछि कस्तो प्रकारको भाग्ने काम सम्भव भयो?

अगमवक्‍ता यर्मियाले यरूशलेमको विनाशबारे गरेको भविष्यवाणी ईसापूर्व ६०७ मा पूरा भयो। तिनले परमेश्‍वरका जनहरू कैदमा लगिनेछन्‌ तर “सत्तरी वर्ष” पछि तिनीहरूलाई आफ्नो देशमा पुनर्स्थापित गरिनेछ भनी बताएका थिए। (यर्मि. २९:४, १०) बेबिलोनको कैदमा लगिएका यहूदीहरूका लागि यर्मियासित एउटा महत्त्वपूर्ण सन्देश थियो। त्यो थियो: बेबिलोनमा मान्‍ने झूटो धर्मबाट निष्कलंक रहनुपर्ने। यसो गर्दा तिनीहरू यहोवाले तोकेको समयमा यरूशलेम फर्कन र साँचो उपासना पुनर्स्थापित गर्न तयार हुनेथिए। ईसापूर्व ५३९ मा मादी-फारसले बेबिलोनलाई पराजित गरेलगत्तै त्यो तोकिएको समय आयो। फारसका राजा कोरेस द्वितीयले यहूदीहरूलाई यरूशलेम फर्केर यहोवाको मन्दिर पुनर्निर्माण गर्न हुकुम दिए।—एज्रा १:१-४.

हजारौं यहूदीहरू यस मौकामा आफ्नो देश फर्के। (एज्रा २:६४-६७) यसरी तिनीहरूले यर्मियाको भविष्यसूचक आज्ञालाई पूरा गरे। यहूदीहरूको सन्दर्भमा भन्‍नुपर्दा तिनीहरूको लागि भाग्नुको अर्थ एक ठाउँबाट निस्केर अर्को ठाउँमा जानु थियो। (यर्मिया ५१:६, ४५, ५० पढ्‌नुहोस्‌) परिस्थितिले गर्दा सबै यहूदीहरू लामो यात्रा गरेर यरूशलेम र यहूदा फर्कन सकेनन्‌। वृद्ध अगमवक्‍ता दानियलजस्ता बेबिलोनमै रहेका बाँकी यहूदीहरूले चाहिं यरूशलेममा केन्द्रित साँचो उपासनालाई सारा हृदयले समर्थन गरेमा र बेबिलोनको झूटो उपासनाबाट आफूलाई अलग राखेमा परमेश्‍वरबाट आशिष्‌ पाउन सक्थे।

१०. कस्ता “घृणित कुरा”-को लागि “महान्‌ बेबिलोन” जिम्मेवार छ?

१० आज थुप्रै मानिस प्राचीन बेबिलोनबाट सुरु भएको विभिन्‍न झूटा धर्ममा संग्लग्न छन्‌। (उत्प. ११:६-९) ती धर्महरूलाई सामूहिक रूपमा “पृथ्वीका वेश्‍याहरू र घृणित कुराहरूकी आमा, महान्‌ बेबिलोन” भनी नाउँ दिइएको छ। (प्रका. १७:५) झूटो धर्मले यस संसारको राजनैतिक शासकहरूलाई समर्थन गर्दै आएको लामो इतिहास छ। तिनी जिम्मेवार भएको “घृणित कुरा”-मध्ये एउटा थुप्रै युद्धहरू पनि हुन्‌ जसको कारण लाखौं मानिस “पृथ्वीमा मारिएका” छन्‌। (प्रका. १८:२४) थप “घृणित कुरा”-मा यो पनि पर्छ: पादरीहरूद्वारा हुने बाल यौन दुराचार र अन्य प्रकारका यौन अनैतिकता जसप्रति चर्चका अधिकारीहरू आँखा चिम्लन्छन्‌। त्यसैकारण, यहोवा परमेश्‍वरले चाँडै यस संसारबाट झूटो धर्मलाई हटाउनुहुनेछ भन्दा अचम्म मान्‍नुपर्ने कुनै कारण छ र?—प्रका. १८:८.

११. महान्‌ बेबिलोनको विनाश नभइन्जेल साँचो ख्रीष्टियानहरूको काँधमा के जिम्मेवारी छ?

११ यो कुरा थाह हुने साँचो ख्रीष्टियानहरूको काँधमा महान्‌ बेबिलोनका सदस्यहरूलाई चेतावनी दिनुपर्ने जिम्मेवारी छ। तिनीहरूले यसो गर्ने एउटा तरिका हो—बाइबल अनि बाइबल सम्बन्धित साहित्य वितरण गरेर। यी सामाग्री “विश्‍वासी र बुद्धिमान्‌ दास”-द्वारा प्रकाशित हुन्छन्‌ जसलाई येशूले “ठीक ठीक समयमा” आध्यात्मिक भोजन जुटाउन खटाउनुभएको छ। (मत्ती २४:४५) मानिसहरूले बाइबलको सन्देशप्रति चासो देखाउँदा बाइबल अध्ययनको प्रबन्ध गरेर मदत दिइन्छ। आशा छ, धेरै ढिलो हुनुअघि नै ‘बेबिलोनबाट भाग्नुपर्ने’ आवश्‍यकतालाई तिनीहरूले बुझ्नेछन्‌।—प्रका. १८:४.

मूर्तिपूजाबाट भाग

१२. प्रतीक तथा मूर्तिको उपासनालाई परमेश्‍वर कसरी हेर्नुहुन्छ?

१२ महान्‌ बेबिलोनको अर्को घृणित प्रचलन हो—प्रतीक तथा मूर्तिको उपासना। परमेश्‍वर ती चीजहरूलाई “घृणित” कुरा भन्‍नुहुन्छ। (व्यव. २९:१७) परमेश्‍वरलाई खुसी पार्न चाहने सबैले परमेश्‍वरको यो भनाइअनुरूप मूर्तिपूजालाई त्याग्नै पर्छ: “म परमप्रभु [अर्थात्‌ “यहोवा,” NW] हुँ, मेरो नाउँ त्यही हो। औ मेरो महिमा म अरूलाई दिनेछैनँ, मेरो स्तुति ढालेर बनाएका मूर्तिहरूलाई दिनेछैनँ।”—यशै. ४२:८.

१३. झट्टै हेर्दा मूर्तिपूजा जस्तो नदेखिने कस्ता कुराबाट हामी भाग्नुपर्छ?

१३ झट्टै हेर्दा मूर्तिपूजा जस्तो नदेखिने कुरालाई पनि बाइबलले उदांग पारेको छ। उदाहरणको लागि, लोभलाई “मूर्तिपूजा” भनिएको छ। (कल. ३:५) लोभ गर्नु भनेको आफ्नो अधिकार नलाग्ने कुरा पाउने चाह गर्नु हो—जस्तो कि, अरूको चीज। (प्रस्थ. २०:१७) शैतान बनेको स्वर्गदूतले सर्वोच्च परमेश्‍वर जस्तै हुने र अरूले आफ्नो उपासना गरोस्‌ भन्‍ने लोभी चाहना विकास गरेको थियो। (लूका ४:५-७) यसले त्यो स्वर्गदूतलाई यहोवाको विद्रोह गर्न र हव्वालाई परमेश्‍वरले निषेध गरेको फल खान लगायो। आदमले पनि एक अर्थमा मूर्तिपूजा गरे किनभने तिनले मायालु स्वर्गीय पिताको आज्ञा मान्‍नुभन्दा आफ्नी पत्नीको साथ पाइरहुँ भन्‍ने स्वार्थी चाहनालाई बढी महत्त्व दिए। यसको विपरीत, परमेश्‍वरको क्रोधको दिनबाट भाग्न चाहने सबैले परमेश्‍वरलाई ऐकान्तिक भक्‍ति चढाउनै पर्छ र यस्तो कुनै पनि लोभको प्रतिरोध गर्नैपर्छ।

“व्यभिचारदेखि अलग रहो” अर्थात्‌ भाग

१४-१६. (क) यूसुफ नैतिकताका एकदमै असल उदाहरण हुन्‌, किन? (ख) अशुद्ध यौन इच्छा जागेमा के गर्नुपर्छ? (ग) व्यभिचारबाट भाग्न कसरी सफल हुन सक्छौं?

१४ पहिलो कोरिन्थी ६:१८ पढ्‌नुहोस्‌। पोतीफरकी पत्नीले यूसुफलाई लोभ्याउन खोज्दा तिनी साँच्चै भागे। तिनले विवाहित र अविवाहित ख्रीष्टियानहरूका लागि कत्ति राम्रो उदाहरण बसाले! स्पष्ट छ, अनैतिकताबारे परमेश्‍वरको दृष्टिकोण झल्काउने विगतका घटनाहरूले यूसुफको अन्तस्करणलाई गहिरो प्रभाव पारेको थियो। “व्यभिचारदेखि अलग रहो” अर्थात्‌ भाग भन्‍ने आज्ञा पालन गर्न चाहन्छौं भने पति वा पत्नीबाहेक अरूप्रति यौन इच्छा जगाउने कुराहरूलाई त्याग्नेछौं। हामीलाई यसो भनिएको छ: “तिमीहरूका अङ्‌गहरूलाई . . . वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग [अर्थात्‌ “कामवासना,” NW], खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो, यिनै कुराहरूका खातिरमा परमेश्‍वरको क्रोध आज्ञा नमान्‍नेहरू माथि पर्छ।”—कल. ३:५, ६.

१५ याद गर्नुहोस्‌, “परमेश्‍वरको क्रोध” आउनै लागेको छ। संसारमा आज थुप्रै मानिस अनुचित यौन इच्छा जगाउँछन्‌ र त्यसैको वशमा पर्छन्‌। तसर्थ, हामी ख्रीष्टियानहरूले चाहिं अशुद्ध यौन इच्छाको वशमा नपर्न परमेश्‍वरलाई प्रार्थना गरेर मदत र पवित्र आत्मा माग्नुपर्छ। यसबाहेक, बाइबल अध्ययन गर्दा, सभाहरू धाउँदा र छिमेकीलाई सुसमाचार सुनाउँदा ‘आत्माको भरमा हिंड्‌न’ मदत पाउन सक्छौं। यसरी हामी “शरीरको लालसा कुनै किसिमले पूरा” गर्नेछैनौं।—गला. ५:१६.

१६ यदि अश्‍लील कुरा हेर्छौं भने हामी अवश्‍यै पनि ‘आत्माको भरमा हिंडिरहेका’ हुनेछैनौं। त्यसैगरि, हरेक ख्रीष्टियानले आफूलाई कामुक कुरा पढ्‌न, हेर्न, वा सुन्‍नबाट अलग राख्नुपर्छ। त्यसरी नै परमेश्‍वरका “पवित्र जनहरू”-ले अश्‍लील ठट्यौलीको मजा लिनु अथवा त्यसबारे अनुचित कुरा गर्नु गलत हो। (एफि. ५:३, ४) यस्ता खराब कुरा नगरेर हामी आफ्नो मायालु पितालाई उहाँको आउँदै गरेको क्रोधबाट साँच्चै बच्न र धार्मिक नयाँ संसारमा बस्न चाहन्छौं भन्‍ने कुरा देखाइरहेका हुन्छौं।

“रूपियाँ-पैसाको प्रेम”-बाट भाग

१७, १८. किन हामी “रूपियाँ-पैसाको प्रेम”-बाट भाग्नै पर्छ?

१७ तिमोथीलाई लेखेको पहिलो पत्रमा पावलले केही सिद्धान्तहरू बताए जसअनुसार ख्रीष्टियान कमाराहरू चल्नुपर्थ्यो। ती कमाराहरूमध्ये केहीले आफ्ना मालिक ख्रीष्टियान भएकोले भौतिक फाइदा पाउने आशा राखेका थिए होलान्‌। अरूले चाहिं पवित्र कुरालाई आफ्नो स्वार्थको लागि प्रयोग गर्ने कोसिस गरेका हुन सक्छन्‌। पावलले “भक्‍तिचाहिं [भौतिक] लाभको बाटो हो” भन्‍ने सोचाइ विरुद्ध चेतावनी दिए। समस्याको जड “रूपियाँ-पैसाको प्रेम” भएको हुन सक्छ जसले धनी/गरिब सबैलाई नराम्रो असर पार्न सक्थ्यो।—१ तिमो. ६:१, २, ५, ९, १०.

१८ बाइबलमा, “रूपियाँ-पैसाको प्रेम” वा पैसाले किन्‍न सकिने अनावश्‍यक चीजबीजको मोहले गर्दा परमेश्‍वरसित सम्बन्ध बिगार्ने मानिसहरूको उदाहरण पाइन्छ। के ती उदाहरणहरू सम्झन सक्नुहुन्छ? (यहो. ७:११, २१; २ राजा ५:२०, २५-२७) पावलले तिमोथीलाई यस्तो कडा सल्लाह दिए: “तिमी, हे परमेश्‍वरका मानिस, यी कुराहरूबाट दूर बस, र धार्मिकता, भक्‍ति, विश्‍वास, प्रेम, धीरज, नम्रताको पछि लाग।” (१ तिमो. ६:११) आउँदै गरेको क्रोधको दिनबाट बच्न चाहने सबैले यो सल्लाह पालन गर्नु एकदमै महत्त्वपूर्ण छ।

“जवानीका अभिलाषाहरूबाट भाग”

१९. सबै जवानहरूलाई के आवश्‍यक हुन्छ?

१९ हितोपदेश २२:१५ पढ्‌नुहोस्‌। हृदयभित्र गडिएको मूर्खताले गर्दा जवानहरू सजिलै गलत बाटोतिर बरालिन सक्छन्‌। यस्तो अवस्थामा मदत दिन सक्ने एउटा कुरा भनेको बाइबल आधारित अनुशासन हो। अर्कै धर्म मान्‍ने आमाबाबु भएका थुप्रै जवान ख्रीष्टियानहरू बाइबलका सिद्धान्तहरू बुझ्ने प्रयास गरेर पालन गर्छन्‌। अरू जवान ख्रीष्टियानहरूले चाहिं मण्डलीका परिपक्व आध्यात्मिक भाइबहिनीहरूको सल्लाह लिन्छन्‌। बाइबल आधारित सल्लाह जसले दिएको भए तापनि त्यसलाई पालन गर्दा अहिले र भविष्यमा आनन्द पाउन सकिन्छ।—हिब्रू १२:८-११.

२०. जवानहरूले गलत इच्छाबाट भाग्ने मदत कसरी पाउन सक्छन्‌?

२० दोस्रो तिमोथी २:२०-२२ पढ्‌नुहोस्‌। थुप्रै जवानहरू स्वस्थकर अनुशासन नपाएकोले मूर्ख बाटोमा लागेका छन्‌। जस्तै: प्रतिस्पर्धी मनोवृत्ति, लोभ, व्यभिचार, पैसाको प्रेम र सुखविलास। यी कुरा “जवानीका अभिलाषाहरू” हुन्‌ जसबाट हामी भाग्नुपर्छ भनेर बाइबलले कडा सल्लाह दिन्छ। भाग्नको लागि ख्रीष्टियान जवानहरूले आफूलाई हानिकारक प्रभावहरूबाट जोगाउनुपर्छ, चाहे ती प्रभाव जहाँसुकैबाट आएको किन नहोस्‌। ईश्‍वरीय गुणहरूको पछि लाग्न विशेषगरि ईश्‍वरीय सल्लाहले मदत दिन्छ। साथै, “शुद्ध हृदयले प्रभुका नाउँ लिनेहरू”-बाट पनि मदत पाइन्छ।

२१. येशू ख्रीष्टले भेडा जस्तो नम्र खाले आफ्ना अनुयायीहरूबारे कस्तो अद्‌भुत प्रतिज्ञा गर्नुभयो?

२१ जवान हौं या वृद्ध, हामीलाई बहकाउन खोज्ने मानिसहरूको कुरा नसुन्‍नु भनेको येशूका भेडा जस्तो नम्र खाले अनुयायीहरूमध्ये गनिन चाहन्छौं भनेर देखाउनु हो। ती अनुयायीहरू जो ‘बिरानोको सोरदेखि भाग्छन्‌।’ (यूह. १०:५) तर परमेश्‍वरको क्रोधको दिनबाट उम्कन हानिकारक कुराबाट भागेर मात्र पुग्दैन। हामी राम्रा गुणहरूको पछि पनि लाग्नुपर्छ। अर्को लेखमा ती गुणहरूमध्ये सात वटालाई विचार गरिनेछ। यस विषयलाई थप जाँच्नुपर्ने हामीसित असल कारण छ, किनभने येशू यस्तो अद्‌भुत प्रतिज्ञा गर्नुहुन्छ: “म [मेरा भेडालाई] अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नष्ट हुनेछैनन्‌, औ कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।”—यूह. १०:२८. (w08 6/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• येशूले धर्मगुरुहरूलाई कस्तो चेतावनी दिनुभयो?

• आज लाखौं मानिसहरूले कस्तो खतरनाक परिस्थितिको सामना गर्छन्‌?

• झट्टै हेर्दा मूर्तिपूजा जस्तो नदेखिने कस्ता कुराबाट हामी भाग्नै पर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएका चित्रहरू]

‘भाग्नु’—यो शब्द सुन्दा तपाईंलाई केको सम्झना आउँछ?