सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ती गुणहरू जसको पछि हामी लाग्नै पर्छ

ती गुणहरू जसको पछि हामी लाग्नै पर्छ

ती गुणहरू जसको पछि हामी लाग्नै पर्छ

“धार्मिकता, [“ईश्‍वरीय,” NW] भक्‍ति, विश्‍वास, प्रेम, धीरज, [र] नम्रताको पछि लाग।”— १ तिमो. ६:११.

१. ‘पछि लाग्नु’ भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो, उदाहरणसहित बताउनुहोस्‌।

 ‘पछि लाग्नु’—यस अभिव्यक्‍तिले तपाईंलाई केको सम्झना दिलाउँछ? सायद तपाईंलाई मोशाको समयमा मिश्री सेना इस्राएलीहरूलाई खेदेर तिनीहरूका ‘पछिपछि लागेको’ र लाल समुद्रमा नाश भएको सम्झना आउँछ होला। (प्रस्थ. १४:२३) अथवा प्राचीन इस्राएलमा कुनै व्यक्‍तिले अन्जानमै हत्या गर्दा भोग्नुपर्ने खतरालाई सम्झनुहुन्छ होला। तिनी तोकिएको छ वटा शरणस्थानमध्ये एउटामा तुरुन्तै भागिहाल्नुपर्थ्यो। नत्रता “रगतको बदला लिनेले तातो रीसमा त्यसलाई खेदेर बाटैमा फेला पारेर . . . मार्न” सक्थ्यो।—व्यव. १९:६, NRV.

२. (क) परमेश्‍वरले केही ख्रीष्टियानहरूलाई कस्तो इनामको पछि लाग्न बोलाउनुभएको छ? (ख) अनि आज ठूलो संख्यामा भएका अरू ख्रीष्टियानहरूलाई चाहिं यहोवाले कस्तो आशा प्रदान गर्नुभएको छ?

माथिका बाइबल उदाहरणहरूको ठीक विपरीत प्रेरित पावलले देखाएको यो मनोवृत्तिलाई विचार गर्नुहोस्‌: “ख्रीष्ट येशूमा परमेश्‍वरको, माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाडि बढ्‌दछु [अर्थात्‌ “पछि लाग्छु,” NW]।” (फिलि. ३:१४) बाइबल बताउँछ, १,४४,००० अभिषिक्‍त ख्रीष्टियानहरूले स्वर्गीय जीवनको इनाम पाउँछन्‌ र यसमा पावल पनि पर्छन्‌। तिनीहरूले हजार वर्षसम्म येशू ख्रीष्टसित पृथ्वीमा शासन गर्नेछन्‌। यी जनहरूलाई परमेश्‍वरले कत्ति उत्कृष्ट लक्ष्यको पछि लाग्न बोलाउनुभएको छ! तर आज ठूलो संख्यामा भएका अरू साँचो ख्रीष्टियानहरूको चाहिं अर्कै आशा अथवा लक्ष्य छ। यहोवाले तिनीहरूलाई आदम र हव्वाले गुमाएको सुन्दर बगैंचारूपी पृथ्वीमा सिद्ध शरीरसहित अनन्त जीवन पाउने आशा दिनुभएको छ।—प्रका. ७:४, ९; २१:१-४.

३. परमेश्‍वरले देखाउनुभएको अनुग्रहप्रति हामी कसरी आभार प्रकट गर्न सक्छौं?

मानिस पापी र असिद्ध भएकोले जत्ति नै सही कुरा गर्ने प्रयास गरे तापनि अनन्त जीवन पाउन सक्दैन। (यशै. ६४:६) मानिसहरूको मुक्‍तिका लागि परमेश्‍वरले येशू ख्रीष्ट मार्फत गर्नुभएको मायालु प्रबन्धमा विश्‍वास गरेर मात्र अनन्त जीवन पाउन सकिन्छ। परमेश्‍वरले देखाउनुभएको अनुग्रहप्रति हामी कसरी आभार प्रकट गर्न सक्छौं? एउटा तरिका त यो आज्ञा पालन गरेर हो: “धार्मिकता, [“ईश्‍वरीय,” NW] भक्‍ति, विश्‍वास, प्रेम, धीरज [र] नम्रताको पछि लाग।” (१ तिमो. ६:११) यी गुणहरूलाई विचार गर्दा हामी प्रत्येक “झन्‌ बढ्‌दै” त्यसको पछि लाग्न अझ कटिबद्ध हुन सक्छौं।—१ थिस्स. ४:१.

‘धार्मिकताको पछि लाग्नुहोस्‌’

४. “धार्मिकता”-को पछि लाग्नु महत्त्वपूर्ण छ भनेर हामी किन निश्‍चित हुन सक्छौं अनि यसको लागि हामीले सुरुमा कस्ता कदमहरू चाल्नै पर्छ?

प्रेरित पावलले तिमोथीलाई लेखेको दुइटै पत्रमा पछि लाग्नुपर्ने गुणहरूको सूची दिएका छन्‌ र प्रत्येक चोटि “धार्मिकता”-लाई त्यस सूचीको सुरुमा राखेका छन्‌। (१ तिमो. ६:११; २ तिमो. २:२२) त्यसबाहेक, बाइबलका अन्य पदहरूमा पनि धार्मिकताको पछि लाग्न हामीलाई बारम्बार प्रोत्साहन दिइएको छ। (हितो. १५:९; २१:२१, NRV; यशै. ५१:१, NRV) धार्मिकताको पछि लाग्न सुरु गर्ने एउटा तरिका हो, “एकमात्र सत्य परमेश्‍वरलाई र जसलाई [उहाँले] पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई” चिन्‍नु, मतलब उहाँहरूबारे ज्ञान लिनु। (यूह. १७:३) धार्मिकताको पछि लाग्ने व्यक्‍ति कदम चाल्न उत्प्रेरित हुन्छन्‌ अर्थात्‌ विगतमा गरेका पापहरूका लागि पश्‍चात्ताप गर्छन्‌ र परमेश्‍वरको इच्छाबमोजिम गर्न ‘फर्कन्छन्‌।’—प्रेरि. ३:१९.

५. परमेश्‍वरअघि धर्मी ठहरिन र त्यसलाई कायम राख्न हामीले के गर्नै पर्छ?

इमानदारीसित धार्मिकताको पछि लागिरहेका लाखौं मानिसले आफ्नो जीवन यहोवामा समर्पण गरेका छन्‌ र त्यसलाई पानीको बप्तिस्माद्वारा जनसमक्ष प्रकट गरेका छन्‌। यदि तपाईं अहिले बप्तिस्माप्राप्त ख्रीष्टियान हुनुहुन्छ भने, निरन्तर धार्मिकताको पछि लागेको कुरा तपाईंको जीवनशैलीमा देखिनुपर्छ र सायद देखिन्छ पनि होला। यसबारे के तपाईंले सोच्नुभएको छ? यसो गर्ने एउटा तरिका हो—जीवनमा महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा “खराब र असल” के हो भनी बाइबलबाट खुट्ट्याउनु। (हिब्रू ५:१४, पढ्‌नुहोस्‌) उदाहरणको लागि, यदि तपाईं विवाह गर्ने उमेरका अविवाहित ख्रीष्टियान हुनुहुन्छ भने, बप्तिस्मा नलिएका कुनै व्यक्‍तिसित माया गाँस्ने प्रयास नगर्न के तपाईं साँच्चै कटिबद्ध हुनुहुन्छ? यदि धार्मिकताको पछि लागिरहनुभएको छ भने तपाईं अवश्‍यै कटिबद्ध हुनुहुन्छ।—१ कोरि. ७:३९.

६. साँचो अर्थमा धार्मिकताको पछि लाग्नुमा के मुछिएको हुन्छ?

धर्मी हुनु भनेको आत्म-धर्मी अथवा “ज्यादै धर्मी” हुनु होइन। (उप. ७:१६) अरूभन्दा आफू असल देखिने हेतुले त्यस्तो धार्मिकता नदेखाउन येशूले चेतावनी दिनुभयो। (मत्ती ६:१) साँचो अर्थमा धार्मिकताको पछि लाग्नुमा हृदय मुछिएको हुन्छ अर्थात्‌ गलत सोचाइ, मनोवृत्ति, मनसाय र इच्छालाई सच्याउनु। यसो गरिरह्‍यौं भने हामी गम्भीर पापमा फस्नदेखि जोगिन सक्छौं। (हितोपदेश ४:२३ पढ्‌नुहोस्‌; याकू. १:१४, १५ तुलना गर्नुहोस्‌) यसबाहेक, यहोवाले हामीलाई आशिष्‌का साथै अन्य महत्त्वपूर्ण ख्रीष्टियान गुणहरूको पछि लाग्न मदत दिनुहुनेछ।

‘ईश्‍वरीय भक्‍तिको पछि लाग्नुहोस्‌’

७. “ईश्‍वरीय भक्‍ति” के हो?

भक्‍तिमा उत्कटसाथ समर्पित र वफादार हुनु समावेश छ। एउटा बाइबल शब्दकोशअनुसार, “ईश्‍वरीय भक्‍ति” भनी अनुवाद गरिएको युनानी शब्दले “परमेश्‍वरप्रतिको भयलाई कमजोर पार्न नदिनको लागि होसियार हुनुपर्ने असल मनोवृत्तिलाई” बुझाउँछ। इस्राएलीहरू यस्तो भक्‍ति देखाउन अक्सर चुके जुन कुरा तिनीहरूलाई परमेश्‍वरले मिश्रबाट छुटाएर ल्याएपछि पनि तिनीहरूबाट भइरहेको अनाज्ञाकारी कार्यमा देखियो।

८. (क) आदमको पापले कस्तो प्रश्‍न खडा गऱ्‍यो? (ख) यस “पवित्र रहस्य”-को जवाफ कसरी प्रकट गरियो?

सिद्ध मानिस आदमले पाप गरेको हजारौं वर्षपछि सम्म “के कुनै मानिसले सिद्ध ईश्‍वरीय भक्‍ति चढाउन सक्छ र?” भन्‍ने प्रश्‍न अनुत्तरित नै रह्‍यो। शताब्दीयौंको दौडान पापी मानिसजातिले सिद्ध ईश्‍वरीय भक्‍तिको जीवन जिउन सकेनन्‌। तर यहोवाले आफ्नो समयमा यस “[“पवित्र,” NW] रहस्य”-को जवाफ प्रकट गर्नुभयो। उहाँले आफ्नो एकमात्र पुत्रको जीवनलाई मरियमको गर्भमा सारेर सिद्ध मानिसको रूपमा जन्मन पठाउनुभयो। साँचो परमेश्‍वरप्रति जोसका साथ समर्पित हुनु र पूर्ण वफादार हुनुको अर्थ के हो, त्यो कुरा येशूले आफ्नो अपमानजनक मृत्युलगायत आफ्नो पार्थिव जीवनद्वारा देखाउनुभयो। उहाँ आफ्ना स्वर्गमा हुनुहुने पितालाई कत्तिको श्रद्धा गर्नुहुन्थ्यो, त्यो उहाँको प्रार्थनामा देखियो। (मत्ती ११:२५; यूह. १२:२७, २८) त्यसैकारण, पावलले येशूको उदाहरणीय जीवनशैलीको वर्णन गर्दा उहाँले देखाउनुभएको “ईश्‍वरीय भक्‍ति”-बारे बताउन तिनलाई यहोवाले प्रेरित गर्नुभयो।—१ तिमोथी ३:१६ पढ्‌नुहोस्‌।

९. हामी कसरी ईश्‍वरीय भक्‍तिको पछि लाग्न सक्छौं?

पापी भएकोले हामी सिद्ध ईश्‍वरीय भक्‍ति देखाउन सक्दैनौं। तर यसको पछि लाग्न चाहिं सक्छौं। यसको लागि सम्भव भएसम्म ख्रीष्टको नमुना पछ्याउनुपर्छ। (१ पत्रु. २:२१) यसरी, हामी “भक्‍तिको भेषचाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने” कपटीहरूजस्तो हुनेछैनौं। (२ तिमो. ३:५) यसको मतलब साँचो ईश्‍वरीय भक्‍ति देखाउन बाहिरी रूपरंगमा ध्यानै दिनु पर्दैन भनेको चाहिं होइन। अवश्‍यै बाहिरी रूपलाई पनि ध्यान दिनुपर्छ। उदाहरणको लागि, चाहे विवाहमा लगाउने लुगा छान्दा होस्‌ या बजार जाँदा लगाउने लुगाबारे निर्णय गर्दा, हाम्रो बाहिरी रूपरंग सधैं परमेश्‍वरको “भक्‍ति गर्ने” व्यक्‍ति भन्‍न सुहाउने खालको हुनुपर्छ। (१ तिमो. २:९, १०) हो, ईश्‍वरीय भक्‍तिको पछि लाग्न हामीले आफ्नो दैनिक जीवनमा परमेश्‍वरका धार्मिक स्तरहरूलाई विचार गर्नु आवश्‍यक छ।

‘विश्‍वासको पछि लाग्नुहोस्‌’

१०. आफ्नो विश्‍वास बलियो बनाइराख्न हामीले के गर्नै पर्छ?

१० रोमी १०:१७ पढ्‌नुहोस्‌। ख्रीष्टियानहरूले आफ्नो विश्‍वास बलियो बनाउन र त्यसलाई कायम राख्न बाइबलमा पाइने अनमोल सत्यलाई मनन गरिरहनै पर्छ। “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले थुप्रै असल-असल प्रकाशनहरूको प्रबन्ध गरिदिएका छन्‌। तीमध्ये तीन वटा अनुपम किताबहरू हुन्‌: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष, लर्न फ्रम द ग्रेट टिचर (महान्‌ शिक्षकबाट सिक्नुहोस्‌) र “कम बि माइ फलोअर” (“आएर मेरो पछि लाग”)। ख्रीष्टलाई चिनेर उहाँको अनुकरण गर्न सकोस्‌ भनेर हाम्रो मदतको लागि यी किताबहरू तयार पारिएका हुन्‌। (मत्ती २४:४५-४७) दास वर्गले सभा, सम्मेलन र अधिवेशनहरूको पनि प्रबन्ध गर्छन्‌। यीमध्ये धेरैजसोले “ख्रीष्टको वचन”-माथि प्रकाश पार्छ। परमेश्‍वरले प्रबन्ध गर्नुभएका कुराहरूमा “झन्‌ बढी उत्कट ध्यान” दिंदै यी कुराहरूबाट पूरापूर फाइदा उठाउन सक्ने कुनै तरिका देख्नुहुन्छ?—हिब्रू २:१.

११. विश्‍वासको पछि लाग्नुमा प्रार्थना र आज्ञाकारिताले कस्तो भूमिका खेल्छ?

११ विश्‍वास बलियो बनाउने अर्को मदत हो—प्रार्थना। एकचोटि येशूका अनुयायीहरूले उहाँलाई यस्तो बिन्ती गरे: “हामीहरूको विश्‍वास बढाइदिनुहोस्‌।” हामी पनि परमेश्‍वरलाई नम्रतापूर्वक यस्तै बिन्ती गर्न सक्छौं। (लूका १७:५) विश्‍वास बढाउन प्रार्थना मार्फत्‌ परमेश्‍वरको पवित्र आत्माको मदत माग्नुपर्छ। “आत्माको फल”-हरूमध्ये एउटा गुण विश्‍वास हो। (गला. ५:२२) त्यसबाहेक, परमेश्‍वरका आज्ञाहरू पालन गर्दा पनि हाम्रो विश्‍वास बलियो हुन्छ। उदाहरणको लागि, हामी प्रचारकार्यमा अझ बढी भाग लिन सक्छौं। त्यसले हामीलाई ठूलो आनन्द दिन सक्छ। अनि “पहिले [परमेश्‍वरको] राज्य र उहाँको धार्मिकता खोजी” गर्दा पाइने आशिष्‌हरूबारे सोच्दा पनि हाम्रो विश्‍वास बढ्‌नेछ।—मत्ती ६:३३.

‘प्रेमको पछि लाग्नुहोस्‌’

१२, १३. (क) येशूको नयाँ आज्ञा के हो? (ख) कुन महत्त्वपूर्ण तरिकामा हामी येशू जस्तै प्रेमको पछि लाग्नै पर्छ?

१२ पहिलो तिमोथी ५:१, २ पढ्‌नुहोस्‌। ख्रीष्टियानहरूले आपसमा कसरी प्रेम देखाउन सक्छन्‌, त्यस सम्बन्धमा पावलले व्यावहारिक सल्लाह दिए। हाम्रो ईश्‍वरीय भक्‍तिमा येशूको नयाँ आज्ञा समावेश हुनै पर्छ। त्यो आज्ञा हो: उहाँले हामीलाई जसरी प्रेम गर्नुभयो हामीले पनि त्यसरी नै “आपसमा प्रेम” गर्नू। (यूह. १३:३४) प्रेरित यूहन्‍नाले यसो भने: “संसारको सम्पत्ति हासिल गरेर पनि कसैले आफ्नो भाइलाई खाँचो परेको देखेर त्यसमाथि आफ्नो दया देखाउँदैन भनेता परमेश्‍वरको प्रेम त्यसमा कसरी रहन्छ?” (१ यूह. ३:१७) तपाईंले व्यावहारिक तरिकामा प्रेम देखाउनुभएको घटना के सम्झन सक्नुहुन्छ?

१३ भाइहरूप्रति रिसराग नराखी क्षमाशील हुनु प्रेमको पछि लाग्ने अर्को तरिका हो। (१ यूहन्‍ना ४:२० पढ्‌नुहोस्‌) बरु, हामी यो प्रेरित सल्लाह पालन गर्न चाहन्छौं: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर। जसरी प्रभुले [अर्थात्‌ “यहोवाले,” NW] पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।” (कल. ३:१३) तपाईंले यो सल्लाह लागू गर्न सक्ने कोही छन्‌ कि मण्डलीमा? के तपाईं तिनलाई क्षमा गर्नुहुन्छ?

‘धीरजको पछि लाग्नुहोस्‌’

१४. फिलाडेल्फियाको मण्डलीबाट हामी के सिक्न सक्छौ?

१४ छोटो समयमा हासिल हुने लक्ष्य प्राप्त गर्ने प्रयास गर्नु एउटा कुरा हो तर हासिल गर्न कठिन वा आफूले सोचेभन्दा लामो समय लाग्ने लक्ष्यको पछि लाग्नु बिलकुलै अर्को कुरा हो। स्पष्ट छ, अनन्त जीवन पाउने लक्ष्यको पछि लाग्न धीरज चाहिन्छ। “किनभने तिमीले मेरा धैर्यको वचन पालन गरेका हुनाले पनि तिमीलाई परीक्षाको समयबाट जोगाउनेछु” भनी प्रभु येशूले फिलाडेल्फियाको मण्डलीलाई भन्‍नुभयो। (प्रका. ३:१०) साँच्चै, येशूले धीरजको आवश्‍यकताबारे सिकाउनुभयो। धीरज यस्तो गुण हो जसले हामीलाई परीक्षा तथा प्रलोभनहरू आउँदा हरेस नखान मदत दिन्छ। प्रथम शताब्दीमा फिलाडेल्फिया मण्डलीका भाइहरूले विश्‍वासको थुप्रै परीक्षा पार गरेर धीरजको उदाहरण देखाएको हुनुपर्छ। त्यसैकारण त येशूले आउन लागेको झन्‌ ठूलो परीक्षाको बेला थप मदत दिने आश्‍वासन तिनीहरूलाई दिनुभयो।—लूका १६:१०.

१५. येशूले धीरजबारे के शिक्षा दिनुभयो?

१५ आफ्ना अनुयायीहरूलाई आफन्त र अरू मानिसहरूले घृणा गर्नेछन्‌ भन्‍ने कुरा येशूलाई थाह थियो। त्यसैकारण, उहाँले कम्तीमा दुइचोटि तिनीहरूलाई यसरी प्रोत्साहन दिनुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती १०:२२; २४:१३) चेलाहरूले त्यतिबेला सहन कसरी बल पाउन सक्थे भनेर पनि येशूले देखाउनुभयो। एउटा दृष्टान्तमा उहाँले “खुशीसित [परमेश्‍वरको] वचन ग्रहण” गर्ने तर परीक्षा आउँदा हटिहाल्ने मानिसहरूलाई ढुंगेनी जमिनसित तुलना गर्नुभयो। तर उहाँले आफ्ना विश्‍वासी अनुयायीहरूलाई चाहिं असल जमिनसित तुलना गर्नुभयो किनकि तिनीहरूले परमेश्‍वरको वचन “जोगाई” राख्छन्‌ र “धीरजसित फल फलाउँछन्‌।”—लूका ८:१३, १५.

१६. कुन मायालु प्रबन्धले लाखौं मानिसलाई धीरज धर्न मदत दिएको छ?

१६ धीरज धर्नुको रहस्यलाई के तपाईंले याद गर्नुभयो? हामीले परमेश्‍वरको वचनलाई आफ्नो दिल-दिमागमा जीवित राखिराखेर “जोगाई” राख्नै पर्छ। धेरैभन्दा धेरै भाषामा उपलब्ध भइरहेको बाइबलको सही र पढ्‌न सजिलो अनुवाद न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स-ले गर्दा त्यसरी जोगाई राख्न सम्भव भएको छ। हरेक दिन बाइबलको केही अंशलाई मनन गर्दा “धीरजसित” फल फलाइराख्न चाहिने बल पाउन सक्नेछौं।—भज. १:१, २.

शान्ति र ‘नम्रताको पछि लाग्नुहोस्‌’

१७. (क) “नम्रता” किन एकदमै महत्त्वपूर्ण छ? (ख) येशूले आफू नम्र भएको कसरी देखाउनुभयो?

१७ आफूले भन्दै नभनेको वा गर्दै नगरेको कुराको लागि बिनसित्ति दोष लगाएको कसैलाई पनि मन पर्दैन। गलत आरोप लगाइँदा मानिसहरू प्रायः रिसाएर त्यसको प्रतिकार गर्छन्‌। तर यस्तो बेला “नम्रता” देखाउनु साँच्चै कत्ति असल कुरा हो! (हितोपदेश १५:१ पढ्‌नुहोस्‌) गलत आरोपको खण्डन गर्दा नम्र हुनु चानचुने कुरा होइन। यस सन्दर्भमा येशू ख्रीष्टले एकदमै उत्कृष्ट उदाहरण बसाल्नुभयो। उहाँले “गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो।” (१ पत्रु. २:२३) यस सन्दर्भमा हामी येशूले जस्तै त गर्न सक्दैनौं। तैपनि सम्भव भएसम्म नम्रता देखाउने कोसिस त गर्न सक्छौं होला नि, हैन र?

१८. (क) नम्रताले कस्तो असल कार्य गर्छ? (ख) अर्को गुण कुन हो, जसको पछि लाग्न हामीलाई कडा सल्लाह दिइएको छ?

१८ येशूको अनुकरण गर्दै हामी आफ्नो विश्‍वासबारे “सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग [अर्थात्‌ “गहिरो आदरसहित,” NW], सधैं तयार” भइरहौं। (१ पत्रु. ३:१५) हो, हामी नम्र भयौं भने क्षेत्र सेवामा भेट्‌ने मानिसहरू र सँगी विश्‍वासीहरूसित फरक धारणाको कारण चर्काचर्की हुन पाउँदैन। (२ तिमो. २:२४, २५) नम्रताले हामीलाई शान्तिमा रहन मदत गर्छ। सायद त्यसैकारण पावलले तिमोथीलाई लेखेको दोस्रो पत्रमा “शान्ति”-लाई पछि लाग्नुपर्ने गुणहरूको सूचीमा समावेश गरे। (२ तिमो. २:२२; १ तिमो. ६:११ तुलना गर्नुहोस्‌) हो, बाइबलले हामीलाई पछि लाग्न प्रोत्साहन दिएको अर्को गुण हो—“शान्ति।”—भज. ३४:१४; हिब्रू १२:१४.

१९. सात वटा ख्रीष्टियान गुणहरू विचार गरिसकेपछि केको पछि लाग्न तपाईं कटिबद्ध हुनुहुन्छ र किन?

१९ हामीलाई पछि लाग्न प्रोत्साहन दिइएको सात वटा ख्रीष्टियान गुणहरूलाई संक्षेपमा छलफल गऱ्‍यौं। ती हुन्‌: धार्मिकता, ईश्‍वरीय भक्‍ति, विश्‍वास, प्रेम, धीरज, नम्रता र शान्ति। प्रत्येक मण्डलीका भाइबहिनीहरूले यी अनमोल गुणहरू अझ बढी देखाउन प्रयास गर्नु कत्ति राम्रो! यसो गर्दा यहोवाको आदर हुनुका साथै उहाँको प्रशंसा गर्न हामी हरेकलाई उहाँले आकार दिनुहुनेछ। (w 08 6/15)

मननका लागि बुँदाहरू

• धार्मिकता र ईश्‍वरीय भक्‍तिको पछि लाग्नुमा के समावेश छ?

• विश्‍वास र धीरजको पछि लाग्न हामीलाई केले मदत दिनेछ?

• अरूसित व्यवहार गर्दा प्रेमले हामीलाई कसरी असर गर्छ?

• हामी नम्रता र शान्तिको पछि लाग्नु किन आवश्‍यक छ?

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

मानिसहरूलाई प्रभाव पार्ने हेतुले धर्मी नहुन येशूले चेतावनी दिनुभयो

[पृष्ठ १७-मा भएको चित्र]

परमेश्‍वरको वचनको सत्यलाई मनन गरेर हामी विश्‍वासको पछि लाग्न सक्छौं

[पृष्ठ १९-मा भएको चित्र]

हामी प्रेम र नम्रताको पछि लाग्न सक्छौं