सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रोमीहरूलाई लेखेको पत्रका विशेषताहरू

रोमीहरूलाई लेखेको पत्रका विशेषताहरू

यहोवाको वचन जीवित छ

रोमीहरूलाई लेखेको पत्रका विशेषताहरू

इस्वी संवत्‌ ५६ तिर प्रेरित पावल आफ्नो तेस्रो मिसनरी यात्राको दौडान कोरिन्थ सहर आइपुग्छन्‌। रोमका यहूदी र अन्यजातिका ख्रीष्टियानहरूबीच उत्पन्‍न मतभिन्‍नताबारे तिनले थाह पाउँछन्‌। तिनीहरूलाई ख्रीष्टमा पूर्णतया एकतामा रहन मदत गर्ने हेतुले तिनी यो पत्र लेख्छन्‌।

रोमीहरूलाई लेखेको उक्‍त पत्रमा मानिसहरू कसरी धर्मी ठहरिन्छन्‌ र त्यसपछि तिनीहरूले कसरी आफ्नो जीवन बिताउनुपर्छ, पावलले बताएका छन्‌। यस पत्रले परमेश्‍वर र उहाँको वचनको ज्ञान बढाउन मदत गर्छ, परमेश्‍वरको अनुग्रहमा जोड दिन्छ र हाम्रो छुटकारामा ख्रीष्टले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गर्छ।—हिब्रू ४:१२.

धर्मी ठहरिए—कसरी?

(रोमी १:१–११:३६)

पावल यस्तो लेख्छन्‌: “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌। उहाँको [अर्थात्‌, परमेश्‍वरको] अनुग्रहले ख्रीष्ट येशूमा भएको उद्धारद्वारा तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्‌।” पावल अझै यस्तो पनि लेख्छन्‌: “व्यवस्थाको कर्महरूविना, विश्‍वासद्वारानै मानिस धर्मी ठहरिन्छ।” (रोमी ३:२३, २४, २८) “धार्मिकताको एउटै काम”-माथिको विश्‍वासद्वारा अभिषिक्‍त ख्रीष्टियानहरू चाहिं स्वर्गीय जीवन पाएर ख्रीष्टसित सह-शासकको रूपमा र ‘अरू भेडाको’ “ठूलो भीड” चाहिं “महा संकष्टबाट” बचेर परमेश्‍वरको साथीको रूपमा ‘धर्मी ठहरिन’ सक्छन्‌।—रोमी ५:१८; प्रका. ७:९, १४; यूह. १०:१६; याकू. २:२१-२४; मत्ती २५:४६.

पावल यस्तो प्रश्‍न गर्छन्‌: “तब के त? के हामी व्यवस्थाको अधीन होइन, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गरौं?” जवाफमा यस्तो भन्छन्‌: “त्यसो नहोस्‌।” त्यसपछि तिनी अझै यसो भन्छन्‌: “दास तिमीहरू हौ . . . चाहे मृत्युको निम्ति पापको, अथवा धर्मको निम्ति आज्ञापालनको।” (रोमी ६:१५, १६) अनि तिनी फेरि भन्छन्‌: “यदि आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पाऱ्‍यौ भने तिमीहरू जिउनेछौ।”—रोमी ८:१३.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:२४-३२—यहाँ कसको अनैतिक आचरणबारे बताइएको, यहूदीहरूको कि अन्यजातिहरूको? यहाँ बताइएको आचरण दुवै समूहलाई लागू हुने भए तापनि पावलले खासगरि प्राचीन समयका धर्मत्यागी इस्राएलीहरूबारे बताइरहेका थिए। परमेश्‍वरको धार्मिक विधान थाह भए तापनि “तिनीहरूले परमेश्‍वरलाई मान्यता दिन” (NRV) चाहेनन्‌। त्यसैले तिनीहरू निन्दनीय थिए।

३:२४, २५—ख्रीष्ट येशूले छुटकाराको बलिदान दिनुअघि नै उहाँमा “भएको उद्धारद्वारा” अर्थात्‌ त्यस बलिदानद्वारा कसरी “अघिबाट गरेको पापकर्म” ढाक्न सकियो? उत्पत्ति ३:१५ मा मसीहबारे गरिएको पहिलो भविष्यवाणी इस्वी संवत्‌ ३३ मा येशूलाई शासनाको खम्बामा झुन्ड्याएर मारिंदा पूरा भयो। (गला. ३:१३, १६) तर यहोवाको नजरमा उहाँले जुन दिन त्यो भविष्यवाणी बोल्नुभयो त्यही दिन नै छुटकाराको मोल तिरेको बराबर थियो किनभने उहाँलाई आफ्नो उद्देश्‍य पूरा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन। त्यसैले येशू ख्रीष्टले पछि चढाउने छुटकाराको बलिदानको आधारमा त्यो प्रतिज्ञामा विश्‍वास राख्ने आदमका पापी सन्तानलाई उहाँले क्षमा दिन सक्नुहुन्थ्यो। यस बलिदानले गर्दा ख्रीष्टअघिका मानिसहरूको पनि पुनरुत्थान सम्भव भयो।—प्रेरि. २४:१५.

६:३-५—ख्रीष्टमा बप्तिस्मा र ख्रीष्टको मृत्युमा बप्तिस्मा, यसको अर्थ के हो? यहोवाले ख्रीष्टका अनुयायीहरूलाई पवित्र आत्माले अभिषेक गर्नुहुँदा तिनीहरू येशूसँग एक हुन्छन्‌ र अभिषिक्‍त ख्रीष्टियानहरूको मण्डलीको भाग बन्छन्‌। त्यो मण्डली ख्रीष्टको शरीर हो र त्यसको शिर चाहिं उहाँ आफै हुनुहुन्छ। (१ कोरि. १२:१२, १३, २७; कल. १:१८) यही नै हो, ख्रीष्टमा बप्तिस्मा लिनुको अर्थ। अभिषिक्‍त ख्रीष्टियानहरूले “[ख्रीष्टको] मृत्युमा” पनि “बप्तिस्मा” लिन्छन्‌। मतलब, तिनीहरूले बलिदानको जीवन बिताउँछन्‌ र पृथ्वीमा अनन्त जीवन पाउने आशालाई त्याग्छन्‌। त्यसैले, तिनीहरूको मृत्यु पनि येशूको जस्तै एउटा बलिदान हो तर यति हो कि, तिनीहरूको मृत्युचाहिं छुटकाराको मोल होइन। मृत्युपछि स्वर्गीय जीवनको लागि पुनरुत्थान हुँदा तिनीहरूको यो बप्तिस्मा पूरा हुन्छ।

७:८-११—‘आज्ञाद्वारा पापले मौका पायो,’ कसरी? व्यवस्थाले मानिसहरूलाई पापको पूरा अर्थ बुझ्न मदत गऱ्‍यो जसको कारण आफू कत्तिको पापी रहेछु भनी तिनीहरू सजग भए। फलस्वरूप, तिनीहरूले आफूबाट अझ कुन-कुन तरिकामा पाप भएको रहेछ भनेर बुझ्न सके साथै अझ धेरै मानिसले आफूलाई सोचेभन्दा धेरै पापी भएको पाए। त्यसैले, व्यवस्थाद्वारा पापले मौका पायो भन्‍न सकिन्छ।

हाम्रो लागि पाठ:

१:१४, १५. जोसका साथ सुसमाचार घोषणा गर्ने हामीसित थुप्रै कारण छन्‌। एउटा कारण हो, येशूको रगतले किनिएका मानिसहरूप्रति हामी ऋणी छौं र तिनीहरूलाई आध्यात्मिक तवरमा मदत गर्नु हाम्रो दायित्व हो।

१:१८-२०. परमेश्‍वरका अदृश्‍य गुणहरू सृष्टिमा छर्लङ्‌गै देखिने भएकोले भक्‍तिहीन र अधर्मी मानिसहरूले कुनै किसिमको “बहाना” गर्न पाउँदैन।

२:२८; ३:१, २; ७:६, ७. पावलले यहूदीहरूलाई चोट पुग्न सक्ने कुरा भनिसकेपछि त्यसमा मलमपट्टी पनि लगाइदिए। हामी यसबाट संवेदनशील विषयलाई कौशलता र निपुणतासाथ सँभाल्नुपर्छ भन्‍ने पाठ सिक्न सक्छौं।

३:४. परमेश्‍वरले आफ्नो वचनमा भनेका कुरा मानिसको कुरासित बाझिंदा बाइबलको सन्देशमा विश्‍वास गरेर र परमेश्‍वरको इच्छाबमोजिम चलेर हामी ‘परमेश्‍वरलाई सत्य ठहरिन’ दिन्छौं। राज्य प्रचार र चेला बनाउने काममा जोसका साथ भाग लिएर हामी अरूलाई पनि परमेश्‍वर सत्य हुनुहुन्छ भनी बुझ्न मदत दिन सक्छौं।

४:९-१२. अब्राहामको ९९ वर्षको उमेरमा खतना गरिएको थियो तर त्योभन्दा धेरैअघि नै तिनी आफ्नो विश्‍वासको कारण धर्मी ठहरिएका थिए। (उत्प. १२:४; १५:६; १६:३; १७:१, ९, १०) यस्तो सशक्‍त ढंगमा परमेश्‍वरले मानिस उहाँको नजरमा कसरी धर्मी ठहरिन सक्छ भनेर देखाउनुभयो।

४:१८. आशा विश्‍वासको अत्यावश्‍यक भाग हो। हाम्रो विश्‍वास आशामा अडिएको छ।—हिब्रू ११:१.

५:१८, १९. आदम र येशूबीचको समानता तर्कसंगत ढंगमा देखाउँदै पावलले कसरी एउटा मानिसले “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिन” सक्छ भनी सरल र स्पष्ट ढंगमा बताए। (मत्ती २०:२८) सरल तरिकामा तर्कसंगत कुरा गर्नु अनुकरण गर्न सकिने उत्कृष्ट शिक्षण शैली हो।—१ कोरि. ४:१७.

७:२३. हात, खुट्टा र जिब्रो जस्ता हाम्रा शरीरका अंगले हामीलाई “पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा” पार्न सक्छ। त्यसैले, यी अंगहरूको दुरुपयोग गर्नदेखि हामी होसियार रहनुपर्छ।

८:२६, २७. के गर्ने, कसो गर्ने भनी सोच्नै नसक्ने अवस्था आइपर्दा कसरी प्रार्थना गर्ने भनेर पनि थाह नहुन सक्छ। त्यस्तो बेला “आत्मा आफैले हाम्रा निन्ति अन्तरबिन्ती” गरिदिन्छ। त्यसपछि “प्रार्थना सुन्‍नुहुने’ परमेश्‍वर यहोवाले उहाँको वचनमा पाइने अभिव्यक्‍तिहरूलाई हामी आफैले गरेको उपयुक्‍त प्रार्थनाको रूपमा ग्रहण गर्नुहुन्छ।—भज. ६५:२.

८:३८, ३९. विपत्ति, दुष्ट आत्मिक प्राणी र मानव सरकारहरूले यहोवाको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन न त हामीले ती कारणले गर्दा उहाँलाई प्रेम गर्न छोड्‌नुहुन्छ।

९:२२-२८; ११:१, ५, १७-२६. इस्राएलको पुनर्स्थापनाको सन्दर्भमा थुप्रै भविष्यवाणी अभिषिक्‍त ख्रीष्टियानहरूको मण्डलीमा पूरा भयो जसका सदस्यहरूलाई “न केवल यहूदीहरूबाट, तर अन्यजातिहरूबाट पनि बोलाउनुभयो।”

१०:१०, १३, १४. परमेश्‍वर र सँगी मानिसहरूप्रतिको प्रेमका साथै यहोवा र उहाँका प्रतिज्ञाहरूप्रतिको बलियो विश्‍वासले हामीलाई ख्रीष्टियान सेवामा जोसका साथ भाग लिन हौस्याउन सक्छ।

११:१६-२४, ३३. “परमेश्‍वरका उदारता र कडा व्यवहार” कत्ति सन्तुलित! हो, “उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसंगत छन्‌।”—व्यव. ३२:४.

धर्मी ठहरिएअनुरूपै जीवन बिताउने

(रोमी १२:१–१६:२७)

पावल यस्तो लेख्छन्‌: “यसकारण ए भाइ हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु, . . . आफ्ना-आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।” (रोमी १२:१) “यसकारण” अर्थात्‌ ख्रीष्टियानहरूलाई विश्‍वासको आधारमा धर्मी ठहऱ्‍याइएकोले तिनीहरूको आफूप्रतिको, अरू मानिसप्रतिको र सरकारी अधिकारीहरूप्रतिको मनोवृत्तिलाई असर गर्नुपर्छ।

पावल यस्तो लेख्छन्‌: “आफूलाई जस्तो सम्झनुपर्दछ त्यसभन्दा बढी नसम्झ।” तिनी यस्तो सल्लाह पनि दिन्छन्‌: “प्रेम निष्कपटको होस्‌।” (रोमी १२:३, ९) “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌।” (रोमी १३:१) अन्तस्करणसित सम्बन्धित विषयमा चाहिं ‘एकले अर्कोलाई दोष नलगाउन’ तिनी ख्रीष्टियानहरूलाई प्रोत्साहन दिन्छन्‌।—रोमी १४:१३.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१२:२०, NRV—हामी कसरी शत्रुको ‘टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्न’ सक्छौं? बाइबल समयमा धाउ अर्थात्‌ धातु निकालिने कच्चा पदार्थ भट्टीमा हालिन्थ्यो अनि त्यसको तलतिर मात्र होइन तर माथि पनि कोइलाको थुप्रो राखिन्थ्यो। माथिपट्टि कोइला राख्दा ताप झन्‌ बढ्‌थ्यो र कडा धाउ गलेर शुद्ध धातु छानिंदै निक्लन्थ्यो। त्यसै गरी, आफ्नो विरोधीप्रति दयालु काम गरी हामी तिनको कठोरतालाई गलाएर तिनमा भएका राम्रा गुणहरू निकाल्न सक्छौं।

१२:२१—हामी कसरी ‘खराबीलाई भलाइले जितिरहन’ सक्छौं? यसो गर्ने एउटा तरिका परमेश्‍वरले अब पुग्यो नभन्‍नुभएसम्म उहाँले अह्राउनुभएको राज्यको सुसमाचार प्रचार गर्ने काममा निडरताका साथ लागिरहनु हो।—मर्कू. १३:१०.

१३:१—कुन तरिकामा उच्च अख्तियारवालाहरू “परमेश्‍वरबाट खटिएका” हुन्छन्‌? सरकारहरू “परमेश्‍वरबाट खटिएका [अर्थात्‌ “सापेक्षिक ओहदामा,” NW]” हुन्छन्‌ भनेर कुन अर्थमा भन्‍न सकिन्छ भने तिनीहरूले परमेश्‍वरको अनुमतिमा शासन गरिरहेका हुन्छन्‌ र कुनै-कुनै अवस्थामा उहाँले पहिल्यै तिनीहरूको शासनबारे सूचना पनि दिनुभएको थियो। यसको प्रमाण बाइबलले थुप्रै शासनहरूबारे गरेको भविष्यवाणीमा पाउँछौं।

हाम्रो लागि पाठ:

१२:१७, १९. खराबीको बदला लिनुको अर्थ यहोवाले गर्नुहुने काम आफ्नो हातमा लिनु हो। “खराबको बदला खराब” गर्नु कत्ति अहंकारी कुरा हुनेछ!

१४:१४, १५. आफूले टक्राउने खाना वा पेय पदार्थको कारण सँगी भाइ दुःखित हुनुहुँदैन वा तिनलाई ठेस पुग्नुहुँदैन।

१४:१७. परमेश्‍वरबाट अनुग्रह पाउने कुरा कुनै खास खाना वा पेयपदार्थ खानु वा तीबाट अलग रहनुमा मात्रै निर्भर हुँदैन। बरु यो त धार्मिकता, शान्ति र आनन्दसित सम्बन्धित छ।

१५:७. साँचो मनले सच्चाइ खोज्ने सबैलाई हामीले पूर्वाग्रह नराखी मण्डलीमा निम्त्याउनुपर्छ। साथै, हामीले भेट्‌ने सबैलाई राज्य सन्देश घोषणा गर्नुपर्छ। (w08 6/15)

[पृष्ठ ३१-मा भएको चित्र]

छुटकाराको मोल तिर्नु अगावै गरिएको पापलाई पनि के यसले ढाक्न सक्छ?