सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफूसँग व्यावहारिक माग मात्र गर्नुहोस्‌ र आनन्दित हुनुहोस्‌

आफूसँग व्यावहारिक माग मात्र गर्नुहोस्‌ र आनन्दित हुनुहोस्‌

आफूसँग व्यावहारिक माग मात्र गर्नुहोस्‌ र आनन्दित हुनुहोस्‌

“हत्तेरी! म त कामै नलाग्ने रहेछु।” गर्न खोजेको काम पूरा गर्न नसक्दा तपाईंले कतिपटक यसरी नै धिकार्नुभएको छ? नवजात शिशुलाई निरन्तर स्याहार्नु परेकोले लखतरान हुँदा र आध्यात्मिक क्रियाकलापमा त्यति भाग लिन नसकेकोले निराश हुँदा एउटी भर्खरकी ख्रीष्टियान आमाले यस्तै भावना पोखाउन सक्छिन्‌। अर्को एक ख्रीष्टियानले चाहिं, आफू हुर्किएको वातावरणले गर्दा अयोग्य महसुस गर्लान्‌ र ‘मण्डलीमा केही गर्न सकिनँ’ भनेर सोच्लान्‌। अर्की वृद्ध साक्षी भने बल-ताकत हुँदा ख्रीष्टियान गतिविधिमा जे-जति गर्न सकिएको थियो, अहिले त्यति गर्न नसकेकोले विरक्‍त महसुस गर्लिन्‌। पारिवारिक अवस्थाको कारण यहोवाको सेवामा आफूले चाहेजति गर्न नसकेकी एउटी बहिनी यसो भन्छिन्‌: “अग्रगामी सेवा गर्न प्रोत्साहन दिने भाषण सुनेपछि कहिलेकाहीं म धुरुधुरु रुन्छु।”

यस्तै महसुस हुँदा हामी के गर्न सक्छौं? केही ख्रीष्टियानहरूले कसरी आफ्नो परिस्थितिबारे व्यावहारिक दृष्टिकोण विकास गर्न सके? आफूबाट सन्तुलित माग मात्र गर्दा के-कस्ता फाइदा हुन्छन्‌?

व्यावहारिक लक्ष्यहरू राख्नुहोस्‌

“प्रभुमा सधैं आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर। तिमीहरूको सहनशीलता [“व्यावहारिकता,” NW ] सबै मानिसहरूलाई थाह होस्‌” भन्दा प्रेरित पावलले हामीले आफ्नो आनन्दलाई कायमै राख्न सक्ने एउटा तरिका बताए। (फिलि. ४:४, ५) हामीले परमेश्‍वरलाई चढाउने सेवामा आनन्दित र सन्तुष्ट हुने हो भने आफ्नो क्षमता र परिस्थिति विचार गरेर आफूसँग व्यावहारिक माग मात्र गर्नुपर्छ। प्राप्त गर्न सम्भवै नहुने अव्यावहारिक लक्ष्य राख्यौं भने बेकारमा हामीले आफूलाई अनावश्‍यक तनावमा पारिरहेका हुन्छौं। अर्कोतर्फ, गर्न सक्ने कुरा पनि ‘गर्नै सक्दिनँ’ भनेर ख्रीष्टियान गतिविधिलाई अति नै वेवास्ता गर्नु हुँदैन।

हाम्रो अवस्था जस्तोसुकै भए तापनि यहोवा हामीले उहाँलाई सर्वोत्तम सेवा चढाएको अर्थात्‌ सारा प्राण अनि सारा हृदयले सेवा चढाएको चाहनुहुन्छ। (कल. ३:२३, २४) यदि हामी यहोवालाई सर्वोत्तम सेवा चढाउँदैनौं भने हामी उहाँप्रतिको आफ्नो समपर्ण अनुरूप चलिरहेका हुँदैनौं। (रोमी १२:१) साथै, मनतनको सेवाबाट पाइने अथाह सन्तुष्टि, अपार आनन्द र अन्य प्रचुर आशिष्‌बाट पनि आफूलाई वञ्चित गराइरहेका हुन्छौं।—हितो. १०:२२.

बाइबलमा “कोमल” भनेर अनुवाद गरिएको शब्दले विचारशील हुनु भन्‍ने भाव प्रकट गर्छ। यसको शाब्दिक अर्थ विनयी हुनु वा विनम्र हुनु पनि हो। (याकू. ३:१७) साथै, यसले आफूप्रति बढ्‌तै कठोर नहुनु भन्‍ने अर्थ पनि दिन्छ। व्यावहारिक छौं भने हामी आफ्नो अवस्थालाई सन्तुलित भई हेर्न सक्नेछौं। के यसो गर्न गाह्रो छ? कसै-कसैलाई छ। हुन त केही मानिस अरूप्रति विचारशील होलान्‌ तर आफूप्रति विचारशील हुन भने उनीहरूलाई गाह्रो लाग्छ। उदाहरणको लागि, तपाईंको मिल्ने साथी आफूले गर्न सक्ने भन्दा बढी काम गर्छ र लखतरान भएको देखिन्छ भने, के तपाईं उसलाई काँटछाँट गर्नु बुद्धिमानी हुन्छ भनेर बुझ्न मदत गर्नुहुन्‍न र? त्यसैगरि, हामीले पनि आफ्नो क्षमता र परिस्थितिले दिएभन्दा धेरै गरिरहेका छौं भन्‍ने छनक पाउँदा त्यसलाई स्वीकार्न सिक्नैपर्छ।—हितो. ११:१७, NRV.

हामीलाई हुर्काउँदा आमाबाबुले हामीबाट अति नै माग गर्थे भने आफ्नो सीमा बुझेर व्यावहारिक हुन अत्यन्तै गाह्रो हुन सक्छ। आमाबाबुको माया पाउन सानो छँदा सधैं आफूले सक्नेभन्दा धेरै गर्नुपरेको कसै-कसैले महसुस गरेका छन्‌। हाम्रो अवस्था पनि यस्तै छ भने हामीप्रतिको यहोवाको धारणालाई हामीले गलत तरिकाले बुझेका हुन सक्छौं। पूरा हृदयले उहाँको सेवा गरेकोले नै यहोवा हामीलाई माया गर्नुहुन्छ। यहोवा “हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ” भनी परमेश्‍वरको वचन बाइबल हामीलाई आश्‍वस्त पार्छ। (भज. १०३:१४) उहाँलाई हाम्रा सीमितताहरू थाह छ र यसको बावजूद जोसिलो भएर सेवा गर्दा उहाँ हामीलाई माया गर्नुहुन्छ। हाम्रा परमेश्‍वर कठोर मालिक हुनुहुन्‍न भनी सम्झँदा आफ्ना सीमितताहरू बुझ्दै आफूसँग माग गर्ने कुरामा विनम्र हुन हामीलाई मदत गर्नेछ।—मीका ६:८.

तैपनि, कतिपयलाई यस्तो सन्तुलित धारणा विकास गर्न गाह्रो लाग्छ। तपाईंलाई पनि यस्तै लाग्छ भने तपाईंलाई राम्ररी चिन्‍ने अनुभवी ख्रीष्टियानको मदत लिए कसो होला? (हितो. २७:९, NRV ) उदाहरणको लागि, के तपाईं नियमित अग्रगामीको रूपमा सेवा गर्न चाहनुहुन्छ? कत्ति राम्रो लक्ष्य! तर त्यो लक्ष्यमा पुग्न गाह्रो पो भइरहेको छ कि? त्यसोभए, तपाईंलाई आफ्नो जीवन सरल बनाउन मदत चाहिएला। अथवा पारिवारिक जिम्मेवारी थुप्रै भएकोले तपाईंले अहिले नै नियमित अग्रगामी सेवा सुरु गर्नु उपयुक्‍त लक्ष्य हो कि होइन भनेर भरपर्दो ख्रीष्टियान साथीले तपाईंसँग छलफल गर्न सक्छन्‌। उनले तपाईंले गर्न सक्ने अन्य क्रियाकलाप देखाउन सक्छन्‌ वा अझ बढी गर्न तपाईंले गर्न सक्ने काँटछाँटबारे बताउन सक्छन्‌। पत्नीलाई आफ्नो क्षमता बुझेर त्यसअनुसार गर्न मदत दिन सक्ने उपयुक्‍त व्यक्‍ति उनकै पति हुन्‌। जस्तै: अर्को महिना सेवाको काममा अझ धेरै व्यस्त हुनुअघि आराम गर्न उनले पत्नीलाई सल्लाह दिन सक्छन्‌। यसरी आराम गर्दा पत्नीले शक्‍ति बटुल्न र प्रचारकार्यबाट पाइने आनन्दलाई जोगाइराख्न मदत पाउनेछिन्‌।

गर्न सक्ने कुरामा मात्र ध्यान दिनुहोस्‌

ढल्कँदो उमेर र खराब स्वास्थ्यको कारण हामी यहोवाको सेवा चाहेजति गर्न नसकौंला। यदि तपाईं आमा वा बुबा हुनुहुन्छ भने साना छोराछोरीको हेरविचार गर्न धेरै समय र शक्‍ति दिनु परेकोले व्यक्‍तिगत अध्ययन अथवा मसीही सभाहरूबाट त्यत्ति लाभ उठाउन नसकेको जस्तो लागेको होला। तर आफूले गर्न नसकेको कुरामा मात्र घोरिएकोले पो कहिलेकाहीं आफूले गर्न सक्ने कुराहरू यादै नभएको हो कि?

हजारौं वर्षअघि एक जना लेवीले आफूले प्राप्त गर्नै नसक्ने इच्छा व्यक्‍त गरे। उनले हरेक वर्ष मन्दिरमा दुई हप्ता सेवा गर्ने मौका पाएका थिए। तैपनि, वेदी नजिकै सधैंभरि बस्न पाऊँ भनेर उनले प्रशंसायोग्य इच्छा जाहेर गरे। (भज. ८४:१-३) तर यी विश्‍वासी मानिस कसरी सन्तुष्ट हुन सके? परमेश्‍वरको भवनको आँगनमा एक दिन मात्र सेवा गर्न पाउनु पनि विशेष सुअवसर हो भनेर बुझेकोले। (भज. ८४:४, ५, १०) त्यसैगरि, आफ्नो सीमिततामा अल्झिरहनुको साटो हामीले आफूले गर्न सक्ने कुरा पत्ता लगाउने र त्यसको मोल गर्ने प्रयास गर्नुपर्छ।

क्यानाडाकी एउटी ख्रीष्टियान बहिनी नरलान्डेको अवस्था विचार गर्नुहोस्‌। ह्वीलचेयरमा भर पर्नुपरेकोले प्रचारमा आफूले चाहेजति गर्न नसकेको जस्तो उनलाई लाग्थ्यो। तैपनि, उनले आफ्नो सोचाइ परिवर्तन गरिन्‌ र नजिकैको विशाल-बजारलाई (सपिङ मल) प्रचार गर्ने व्यक्‍तिगत इलाका बनाइन्‌। उनी बताउँछिन्‌: “म त्यो ठूलो बजारमा राखिएको बेन्च नजिकै गएर बस्छु। त्यहाँ एकछिन थकाइ मार्न बसेकाहरूलाई साक्षी दिन पाउँदा अत्यन्तै रमाउछु।” प्रचारको यो महत्त्वपूर्ण पक्षमा भाग लिंदा नरलान्डेले अपार सन्तुष्टि पाएकी छिन्‌।

आवश्‍यक परेमा काँटछाँट गर्नुहोस्‌

सरर्र हावा बहेकोले पाल-डुंगा मजाले हुँइकिएको छ। तर अचानक भीषण आँधी आउँछ र डुंगाको गति नियन्त्रण गर्न नाविक पाल मिलाउन बाध्य हुन्छन्‌। नाविक आँधी नियन्त्रण गर्न त सक्दैनन्‌ तर पाल मिलाएर डुंगालाई भने वशमा राख्न सक्छन्‌। त्यसैगरि, हामीमाथि आइपर्ने आँधीसमान परिस्थितिलाई हामी अक्सर नियन्त्रण गर्न सक्दैनौं। तर आफ्नो शारीरिक, मानसिक अनि भावनात्मक शक्‍तिलाई जोहो गर्दै आफ्नो जीवनलाई भने सकेसम्म नियन्त्रणमा राख्न सक्छौं। आफ्नो परिवर्तित परिस्थिति ध्यानमा राख्यौं भने परमेश्‍वरको सेवा गर्दा पाइने सन्तुष्टि र आनन्दलाई जोगाइराख्न सक्नेछौं।—हितो. ११:२.

केही उदाहरण विचार गर्नुहोस्‌। त्यत्ति बलिया छैनौं भने सभा हुने दिन थकाइ लाग्ने काम नगर्नु बेस हुन्छ। यसो गर्दा मण्डलीका सभामा उपस्थित हुन फूर्ति पाउनेछौं। अनि ख्रीष्टियान भाइबहिनीसँगको संगतिबाट पूरापूर फाइदा उठाउन मदत पाउनेछौं। अथवा छोराछोरी बिरामी भएकोले एउटी आमा घर-घरको प्रचारमा भाग लिन सक्दिनन्‌ भने छोराछोरी निदाएको बेला अर्की ख्रीष्टियान बहिनीसित मिलेर टेलिफोन साक्षी दिने प्रबन्ध मिलाउनु उनलाई व्यावहारिक लाग्न सक्छ।

मण्डलीका सभामा प्रस्तुत गरिने सम्पूर्ण भागलाई पहिले नै अध्ययन गर्न तपाईंको परिस्थितिले दिंदैन भने नि? तपाईं कति तयारी गर्न सक्नुहुन्छ, त्यो पहिल्यै पक्का गर्नुहोस्‌ र त्यति नै तयारी गर्ने कोसिस गर्नुहोस्‌। तुरुन्तै सिध्याउन सकिने कामहरूमा केही काँटछाँट गर्दा हामी सक्रिय र आनन्दित भइरहन सक्नेछौं।

लक्ष्यहरू काँटछाँट गर्न संकल्प र प्रयास चाहिन्छ। फ्रान्सका दम्पती सर्ज्‌ र एनिसले आफ्नो योजनामा ठूलो परिवर्तन गर्नुपऱ्‍यो। सर्ज्‌ भन्छन्‌: “एनिस दुई जीउकी छिन्‌ भनेर थाह पाउँदा मिसनरी बन्‍ने हाम्रो सपना भताभुङ्‌ग भयो।” अहिले दुइटी छुनुमुने छोरीका बुबा भइसकेका सर्ज्‌ आफ्ना नयाँ लक्ष्यबारे यसरी बताउँछन्‌: “विदेशमा गएर सेवा गर्न नसके तापनि हामीले आफ्नै देशमा ‘मिसनरी’ हुने विचार गऱ्‍यौं। हामीले विदेशी भाषा सिक्यौं।” यो नयाँ लक्ष्यबाट के तिनीहरूले लाभ उठाए? सर्ज्‌ भन्छन्‌: “हामी मण्डलीमा असाध्यै उपयोगी भएको महसुस गर्छौं।”

फ्रान्सकी ७० वर्षीया ख्रीष्टियान बहिनी ओडेललाई घुँडाको सन्धिबाथ (ओस्टियोआर्थराइटीस) छ। तिनी लामो समयसम्म उभिन सक्दिनन्‌। त्यसैले घर-घरको प्रचारकार्यमा भाग लिन नसकेकोले तिनी निरुत्साहित थिइन्‌। तैपनि, तिनले हार मानिनन्‌। टेलिफोन साक्षी दिएर तिनले प्रचार गर्ने तरिका परिवर्तन गरिन्‌। तिनी भन्छिन्‌: “टेलिफोन साक्षी दिनु सोचेभन्दा सजिलो र रमाइलो रहेछ!” यसरी प्रचार गर्दा तिनले क्षेत्र सेवामा लागिरहने उत्प्रेरणा पाइन्‌।

व्यावहारिक हुँदा आशिष्‌ पाइन्छ

आफूले गर्न सक्ने कुरामा व्यावहारिक हुँदा हामी अनेकौं निराशाबाट जोगिन सक्नेछौं। सन्तुलित लक्ष्य राख्दा आफ्नो सीमितताको बावजुद सफलता पाएको महसुस गर्नेछौं। हामीले गरेको काम सानै किन नहोस्‌, त्यसमा आनन्दित हुनेछौं।—गला. ६:४.

आफूसँग माग गर्ने कुरामा व्यावहारिक हुँदा सँगी भाइबहिनीप्रति अझै विचारशील हुनेछौं। उनीहरूको सीमितताप्रति सजग हुँदै उनीहरूले हाम्रो निम्ति जे-जति गरे, त्यसप्रति सधैं कृतज्ञ हुनेछौं। हामीलाई गरिएको मदतको निम्ति कृतज्ञता व्यक्‍त गर्दा सहयोगी र समझदार मनोभाव बढाउन योगदान दिइरहेका हुन्छौं। (१ पत्रु. ३:८) कहिल्यै नबिर्सनुहोस्‌, मायालु पिताको हैसियतमा यहोवा हामीबाट गर्न सक्नेभन्दा धेरै माग गर्नुहुन्‍न। अनि जब हामी आफूसँग माग गर्ने कुरामा सन्तुलित हुन्छौं र प्राप्त गर्न सक्ने लक्ष्यमात्र राख्छौं, तब हाम्रो आध्यात्मिक क्रियाकलापले हामीलाई अझ बढी सन्तुष्टि र आनन्द दिनेछ! (w 08 7/15)

[पृष्ठ ३०-मा भएको ठूलो अक्षरको क्याप्सन]

हामीले परमेश्‍वरलाई चढाउने सेवामा आनन्दित र सन्तुष्ट हुने हो भने आफ्नो क्षमता र परिस्थिति विचार गरेर आफूसँग व्यावहारिक माग मात्र गर्नुपर्छ

[पृष्ठ ३२-मा भएत्को चित्र]

“पाल मिलाउन” सिक्नुहोस्‌

[स्रोत]

© Wave Royalty Free/age fotostock