सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन नूहमाथि परमप्रभुको अनुग्रह भयो किन हामीले चासो राख्नुपर्छ

किन नूहमाथि परमप्रभुको अनुग्रह भयो किन हामीले चासो राख्नुपर्छ

किन नूहमाथि परमप्रभुको अनुग्रह भयो किन हामीले चासो राख्नुपर्छ

हामीमध्ये धेरैजसोले महत्त्वपूर्ण समाचार सुनेको बेलाका सबै कुरा सम्झन्छौं। कहाँ थियौं, के गर्दै थियौं भन्‍ने मात्र होइन तर कस्तो प्रतिक्रिया देखाएका थियौं त्यो पनि सबै सम्झन्छौं। ब्रह्‍माण्डका मालिक यहोवा परमेश्‍वरबाट सन्देश पाएको दिनलाई नूहले पनि पक्कै कहिल्यै बिर्सेनन्‌ होला। हुन पनि त्योभन्दा महत्त्वपूर्ण सन्देश अरू के नै हुन सक्थ्यो र? “सबै प्राणी”-माथि विनाश ल्याउने आफ्नो निर्णयबारे यहोवाले तिनलाई बताउनुभयो। नूहलाई तिनी, तिनको परिवार र सबै किसिमका पशुपक्षीको बचाउका लागि विशाल जहाज बनाउन भनियो।—उत्पत्ति ६:९-२१.

नूहले कस्तो प्रतिक्रिया देखाए? यो समाचार सुनेर तिनी रमाए कि गनगनाए? आफ्नी श्रीमती र परिवारलाई तिनले यो सन्देश कसरी बताए? यसबारे बाइबलले केही बताएको छैन। बाइबलमा बताइएको कुरा चाहिं यस्तो छ: “नूहले त्यसै गरे—परमेश्‍वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।”—उत्पत्ति ६:२२.

यो पक्कै पनि महत्त्वपूर्ण बुँदा हो किनभने नूह परमेश्‍वरको दृष्टिमा अनुगृहित हुनुको एउटा कारण यसमा बताइएको छ। नूह, परमेश्‍वरले जे गर्न भन्‍नुभएको थियो त्यही गर्न इच्छुक थिए। (उत्पत्ति ६:८) अरू कुन कुराले गर्दा परमेश्‍वरले नूहलाई अनुग्रह देखाउनुभयो? यसको जवाफ महत्त्वपूर्ण छ किनभने परमेश्‍वरले पृथ्वीबाट फेरि दुष्टता हटाउनुहुँदा बच्नको लागि हामी नूहजस्तो हुनै पर्छ। तर, पहिला हामी जलप्रलयअघि नूहको दिनमा कस्तो जीवनशैली थियो त्यो विचार गरौं।

प्रेतहरू पृथ्वीमा आउँछन्‌

नूह मानव इतिहासको सुरुतिरका व्यक्‍ति थिए। तिनी पहिलो मानिस आदम सृष्टि गरिएको लगभग हजार वर्षपछि जन्मेका थिए। धेरैले कल्पना गरेजस्तो त्यतिबेलाका मानिसहरू गुफामा बस्ने भुत्लै-भुत्ला भएका, हातमा लठ्ठी लिएर कुप्रेर हिंड्‌ने अल्प बुद्धिका आदिम मानवजस्ता थिएनन्‌। त्यतिबेला फलाम, तामाबाट बनाइएका औजारहरू थिए र सायद त्यस्तै औजार नूहले जहाज बनाउन प्रयोग गरेका हुन सक्छन्‌। त्यतिबेला वाद्ययन्त्रहरू पनि थिए। मानिसहरू विवाह गर्थे, परिवार बसाल्थे, बाली लगाउँथे र पशुपालन गर्थे। सामानहरू किनबेच गर्थे। यस अर्थमा त्यतिबेलाको जीवनशैली अहिलेको जस्तै थियो।—उत्पत्ति ४:२०-२२; लूका १७:२६-२८.

अरू क्षेत्रमा भने निकै भिन्‍नता थियो। एउटा भिन्‍नता भनेको मानिसहरूको आयु लामो हुन्थ्यो। मानिस ८०० वर्षभन्दा बढी बाँच्नु कुनै अनौठो कुरो थिएन। नूह ९५० वर्ष, आदम ९३० वर्ष र नूहको बाजे मतूशेलह ९६९ वर्ष बाँचे। aउत्पत्ति ५:५, २७; ९:२९.

अर्को भिन्‍नता बाइबलको पुस्तक उत्त्पति ६:१, २ मा बताइएको छ। त्यहाँ यसो भनिएको छ: “जब मानिसहरू पृथ्वीमा बढ्‌दै गए, तिनीहरूका छोरीहरू जन्मे, तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे। औ आफ्नो-आफ्नो रुचिका पत्नीहरू ल्याए।” यी “परमेश्‍वरका छोराहरू” स्वर्गबाट आएका स्वर्गदूतहरू थिए जो मानव शरीर धारण गरेर पृथ्वीमा अरू मानवसरि डुलिहिंड्‌थे। तिनीहरूलाई पृथ्वीमा परमेश्‍वरले पठाउनुभएको थिएन न त तिनीहरू मानव परिवारलाई लाभ पुऱ्‍याउन नै आएका थिए। बरु, तिनीहरू स्वर्गमा “आफ्ना घरबार” छोडेर पृथ्वीका सुन्दर स्त्रीहरूसित यौन सम्बन्ध राख्नलाई आएका थिए। तिनीहरू प्रेत भए।—यहूदा ६.

विद्रोही, भ्रष्ट, अलौकिक शक्‍ति र बुद्धि भएका यी प्रेतहरूले मानिसहरूमा एकदमै नराम्रो प्रभाव पारे। सम्भवतः तिनीहरूले मानव समाजलाई नियन्त्रणमा लिएका र दबाएका थिए। अपराधिक गिरोहका कुटिल योजना बनाउने नाइकेले आफ्नो परिचय लुकाएर गोप्यरूपमा अपराधिक काम गरे जस्तै तिनीहरूले गुपचुपमा काम गरेनन्‌। बरु, तिनीहरूले खुलमखुल्ला लाजै नमानी परमेश्‍वरको प्रबन्धको विद्रोह गरे।

यिनीहरूले स्त्रीहरूसित यौन सम्बन्ध राखे र ती स्त्रीहरूले बच्चाहरू जन्माए। ती बच्चाहरू बढ्‌दै गएर असाधारण बलका मालिक भए। तिनीहरू हिब्रू भाषामा “नपील” भनिने नाउँबाट चिनिए। हामीलाई यसो भनिएको छ: “त्यसबेला पृथ्वीमा नपीलहरू थिए। त्यसपछि पनि परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जानलागे। तिनीहरूनै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू हुन्‌।” (उत्पत्ति ६:४) नपीलहरू निकै डरलाग्दा थिए। “नपील” शब्दको अर्थ “ढाल्नेहरू” हो जसले अरूलाई ढाल्छ। तिनीहरू हत्यारा थिए। तिनीहरूको हिंसात्मक तौरतरिका सम्भवतः पुरानो मिथ्या र रूपक-कथाहरूमा पनि झल्काइएको पाइन्छ।

धर्मीहरूको दुःख

बाइबलमा बताइएको यो पुस्ताको भ्रष्टता एकदमै गहिरो जरा गाढेको र व्यापक थियो। बाइबल यसो भन्छ: “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको . . . [र] पृथ्वी . . . उपद्रवले भरिएको थियो। . . . सबै प्राणीले पृथ्वीमा आफ्नो चाल-चलन भ्रष्ट पारिसकेका थिए।”—उत्पत्ति ६:५, ११, १२.

यो थियो नूह बाँचेको समय। यसको ठीक विपरीत नूह भने आफ्ना वरपरका मानिसहरूको तुलनामा ‘धर्मी थिए।’ तिनी “परमेश्‍वरको साथै हिंड्‌ने गर्थे।” (उत्पत्ति ६:९) धर्मी मानिसलाई अधर्मी समाजमा बाँच्नु सजिलो हुँदैन। मानिसहरूले भनेको कुरा र गरेको काम देखेर नूह कत्ति दुःखी भए होलान्‌! सम्भवतः तिनले लूतले जस्तै महसुस गरे होलान्‌—अर्का धर्मी व्यक्‍ति जो जलप्रलय पछि बाँचेका थिए। सदोमका भ्रष्ट बासिन्दाहरूमाझ बसेका लूत, “दुष्टहरूका कामुक जीवनबाट अति दुःखित” थिए र “तिनीहरूसँग रहँदा तिनीहरूका अधर्मका कामहरू देखेर औ सुनेर तिनका सच्चा मन दिनहुँ दुःखित हुन्थ्यो।” (२ पत्रुस २:७, ८) नूहलाई पनि यस्तै भएको हुनुपर्छ।

समाचारका स्तब्ध पार्ने घटनाहरू वा आफू वरपरका मानिसहरूको अभक्‍त व्यवहार देखेर के तपाईं दुःखी हुनुहुन्छ? यदि त्यसो हो भने तपाईंले नूहको मर्का बुझ्न सक्नुहुन्छ। जलप्रलय आउँदा नूह ६०० वर्षका थिए। तिनलाई त्यति लामो समयसम्म अधर्मी संसारमा सहेर बस्नु कत्ति गाह्रो भयो होला कल्पना गर्नुहोस्‌ त! छुटकारा पाउन तिनी कत्ति आतुर थिए होलान्‌!—उत्पत्ति ७:६.

फरक हुने आँट नूहसित थियो

“आफ्नो पुस्तामा नूह . . . निर्दोष मानिस थिए।” (उत्पत्ति ६:९) याद गर्नुहोस्‌, बाइबलमा तिनी आफ्ना दौंतरीहरूको नजरमा निर्दोष मानिस थिए भनिएको छैन तर आफ्नो पुस्तामा निर्दोष मानिस थिए भनिएको छ। अर्को शब्दमा भन्‍नुपर्दा तिनी परमेश्‍वरको नजरमा निर्दोष थिए तर जलप्रलय अघिका मानिसहरूको नजरमा भने अनौठो व्यक्‍ति। हामी पक्का हुन सक्छौं कि तिनी त्यतिबेलाको लोकप्रिय विचारधारासित सहमत भएनन्‌ न त अभक्‍त मनोरञ्जन अनि सामाजिक गतिविधिमा नै संलग्न भए। तिनले जहाज बनाउन सुरु गर्दा मानिसहरूले तिनलाई कस्तो दृष्टिकोणले हेरे होलान्‌, कल्पना गर्नुहोस्‌ त! तिनीहरूले तिनलाई हाँसोमा उडाएको अथवा गिज्याएको हुनुपर्छ। तिनको कुरालाई तिनीहरूले गम्भीरतासाथ लिएनन्‌।

यसबाहेक नूहसित गहिरो धार्मिक विश्‍वास थियो र तिनले यो आफूमै मात्र सीमित राखेनन्‌। बाइबलले बताएअनुसार तिनी “धर्मका प्रचारक” थिए। (२ पत्रुस २:५) नूहले विरोधको आशा गरेका थिए भन्‍ने कुरामा कुनै शंका छैन। तिनका जिज्यू-बुबा हनोक धार्मिक मानिस थिए। परमेश्‍वरले दुष्टता विरुद्ध न्याय कार्यान्वयन गर्नुहुनेछ भनेर हनोकले बताएका थिए। स्पष्टतया, यसले गर्दा तिनीमाथि सतावत आइपऱ्‍यो तर परमेश्‍वरले शत्रुहरूको हातबाट तिनलाई मर्न दिनुभएन। (उत्पत्ति ५:१८, २१-२४; हिब्रू ११:५; १२:१; यहूदा १४, १५) शैतान, प्रेतहरू र नपील त छँदै थिए त्यसमाथि पनि धेरैजसो मानिसहरूले नूहलाई वास्तै गरेनन्‌ वा विरोध गरे। त्यसैले तिनी आँटिलो हुनुपरेको थियो साथै परमेश्‍वरले तिनलाई सुरक्षा दिन सक्नुहुन्छ भन्‍ने कुरामा पनि विश्‍वस्त हुनुपर्थ्यो।

परमेश्‍वरको सेवा नगर्नेहरूले जहिले पनि परमेश्‍वरको सेवा गर्नेहरूलाई विरोध गर्दै आएका छन्‌। येशू समेत घृणित हुनुभयो, त्यसैगरि उहाँको पछि लाग्नेहरू पनि भए। (मत्ती १०:२२; यूहन्‍ना १५:१८) परमेश्‍वरको सेवा गर्नु लोकप्रिय कुरा नभए तापनि नूहसित उहाँको सेवा गर्ने आँट थियो। तिनले बुझेका थिए कि परमेश्‍वरको अनुग्रह पाउनु विरोध गर्नेहरूको समर्थन पाउनुभन्दा कता हो कता महत्त्वपूर्ण छ। अनि नूह परमेश्‍वरबाट अनुगृहीत भए।

नूहले याद गरे

हामीले देख्यौं कि नूहले आँटिलो भएर अरूलाई प्रचार गरे। तिनको सन्देशप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? बाइबलले बताएअनुसार जलप्रलयअघि मानिसहरू “खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे।” तिनीहरूले नूहको चेतावनी सुनेनन्‌।—मत्ती २४:३८, ३९.

येशूले बताउनुभयो, हाम्रो दिनमा पनि यस्तै हुनेछ। धर्मात्माहरूको नयाँ संसार बसाल्नेछु भन्‍ने आफ्नो प्रतिज्ञा पूरा गर्न यहोवाले निर्णायक कदम चाल्दै हुनुहुन्छ भनेर यहोवाका साक्षीहरूले करीब सय वर्षदेखि चेतावनी दिंदै आएका छन्‌। लाखौंले सकारात्मक प्रतिक्रिया देखाए तापनि अरबौं पृथ्वीबासीले भने याद नै गर्दैनन्‌। “जानीबुझीकन पनि” तिनीहरू जलप्रलयको यथार्थता र महत्त्वलाई बेवास्ता गर्छन्‌।—२ पत्रुस ३:५, १३.

तर नूहले याद गरे। यहोवाले तिनलाई जे भन्‍नुभएको थियो त्यसमा तिनले विश्‍वास गरे। यो आज्ञाकारिताले तिनलाई बचायो। प्रेरित पावल लेख्छन्‌: “विश्‍वासैबाट त्यस बेलासम्म नदेखिएका कुरामा परमेश्‍वरबाट जनाउ पाएपछि आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार पारे।”—हिब्रू ११:७.

अनुकरण गर्नुपर्ने उदाहरण

नूहले बनाएको जहाज बडेमाको थियो—फूटबल खेल्ने मैदानभन्दा पनि ठूलो र पाँच तल्ले भवनभन्दा पनि अग्लो। यो काठले बनाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो जहाज भन्दा पनि ३० मिटर लामो थियो। भनौं भने, नूहको जहाजलाई साँच्चैको जहाज भन्‍नु त मिल्दैन, त्यो तैरिए मात्र पुग्थ्यो। तैपनि, यसको लागि उच्च निर्माण प्रविधि चाहिएको थियो। यसको भित्र-बाहिर अलकत्राले लिप्सनुपर्थ्यो। यो निर्माण गर्न ५० वर्ष भन्दा बढी समय लागेको हुनुपर्छ।—उत्पत्ति ६:१४-१६.

यति मात्र कहाँ हो र! नूहले आफ्नो परिवार र जनावरको लागि एक वर्षसम्म पुग्ने आहारा पनि साँच्नुपर्थ्यो। जलप्रलय आउनु अगावै जनावरहरूलाई जम्मा गरेर जहाजभित्र ल्याउनुपर्थ्यो। “परमप्रभुले तिनीलाई हुकूम गर्नुभएबमोजिम नूहले सबै गरे।” यहोवाले भन्‍नुभएझैं सबै कुरा भइसकेपछि उहाँले जहाजको ढोका बन्द गर्नुहुँदा नूहलाई कत्ति हाइसन्चो भयो होला!—उत्पत्ति ६:१९-२१; ७:५, १६.

त्यसपछि जलप्रलय आयो। चालीस दिन चालीस रात मुसलधारे पानी पऱ्‍यो। पानी नसुकुञ्जेल सबै जहाजभित्रै बसिरहनुपर्थ्यो। (उत्पत्ति ७:११, १२; ८:१३-१६) दुष्टहरू सबै नाश भए। स्वच्छ पारिएको पृथ्वीमा केवल नूह र तिनको परिवार बचे।

बाइबलले बताएअनुसार नूहको दिनमा भएको विश्‍वव्यापी जलप्रलय, आउने कुराहरूको “उदाहरण” हो। कुन अर्थमा? हामी यस्तो लेखिएको पाउँछौं: “अहिलेको आकाशहरू र पृथ्वीचाहिं . . . भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्टयाई आगोको निम्ति साँचेर राखिएका छन्‌।” यद्यपि, नूहको दिनमा जस्तै त्यतिबेला पनि बच्नेहरू हुनेछन्‌। यहोवाले “भक्‍तहरूलाई परीक्षाबाट बचाउन” जान्‍नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—२ पत्रुस २:५, ६, ९; ३:७.

नूह ईश्‍वर भक्‍त मानिस थिए—दुष्ट पुस्ताको बीचमा पनि धर्मी व्यक्‍ति। तिनले परमेश्‍वरको आज्ञा पूरै पालन गरे। परमेश्‍वरको सेवा गर्न नचाहनेहरूसामु तिरस्कृत र घृणित हुनुपर्नेछ भन्‍ने कुरा थाह हुँदा-हुँदै पनि नूहले आँटिलो भएर जे सही छ त्यही गरे। यी तरिकामा नूहको अनुकरण गऱ्‍यौं भने हामीले पनि परमेश्‍वरको अनुग्रह पाउनेछौं र छिट्टै आउन लागेको नयाँ संसारमा मुक्‍ति पाउने प्रत्याशा राख्न सक्नेछौं।—भजन ३७:९, १०. (w08 6/1)

[फुटनोट]

a अक्टोबर–डिसेम्बर २००७ को ब्यूँझनुहोस्‌!, पृष्ठ २१ मा “के तिनीहरू साँच्चै त्यति धेरै वर्ष बाँचे?” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको चित्र]

नपीलहरूको हिंसात्मक तौरतरिका पुरानो रूपक-कथाहरूमा पनि झल्काइएको पाइन्छ

[पृष्ठ ५-मा भएको चित्रको स्रोत]

Alinari/Art Resource, NY