सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुन चाहिं सफल हुन्छ, तपाईं जान्‍नुहुन्‍न!

कुन चाहिं सफल हुन्छ, तपाईं जान्‍नुहुन्‍न!

कुन चाहिं सफल हुन्छ, तपाईं जान्‍नुहुन्‍न!

“बिहान समयमानै बीउ छर्‌, र बेलुकी साँझसम्म आफ्नो काम गर्न र नछोड, किनभने . . . कुन चाहिं सफल हुन्छ, . . . तँ जान्दैनस्‌।”—उप. ११:६.

१. बढ्‌ने प्रक्रिया अचम्मको र हामीलाई नम्र तुल्याउने हुन्छ, किन?

 किसान धीरजी हुनु आवश्‍यक छ। (याकू. ५:७) बीउ छरेपछि त्यो टुसाउन र बढ्‌न तिनले कुर्नुपर्छ। मौसम अनुकूल भएपछि बीउ बिस्तारै जमिनमा टुसाउन थालेको देखिन्छ। त्यसपछि त्यो बढेर अनाज फलाउँछ। अन्ततः किसानसित कटनी योग्यको बाली हुन्छ। छक्कलाग्दो यो बढ्‌ने प्रक्रिया कस्तो अचम्मको! साथै, यो बढ्‌ने प्रक्रियाको स्रोत थाह पाउँदा हामी कत्ति नम्र हुन्छौं! हामी बीउको देखभाल गर्न सक्छौं। यसमा पानी पनि हाल्न सक्छौं। तर बढाउने त परमेश्‍वर नै हुनुहुन्छ।—१ कोरिन्थी ३:६ तुलना गर्नुहोस्‌।

२. अघिल्लो लेखमा छलफल गरिएका उखानहरूमा आध्यात्मिक वृद्धिबारे कुन-कुन कुरा येशूले सिकाउनुभयो?

अघिल्लो लेखमा येशूले राज्य-प्रचारकार्यलाई किसानले बीउ छर्नुसित तुलना गर्नुभएको थियो। बेग्लाबेग्लै किसिमको जमिनको उक्‍त उखानमा येशूले के जोड दिनुभयो भने, किसानले असल बीउ छरे पनि त्यो बढ्‌ने/नबढ्‌ने कुरा मानिसको हृदयको अवस्थामा भर पर्छ। (मर्कू. ४:३-९) बीउ छर्ने व्यक्‍ति जो सुत्छ, त्यस उखानमा चाहिं येशूले बीउ बढ्‌ने प्रक्रिया किसानले पूरै बुझ्दैन भनेर प्रकाश पार्नुभयो। किनभने बढ्‌ने काम परमेश्‍वरको शक्‍तिले हुन्छ, मानिसको प्रयासले होइन। (मर्कू. ४:२६-२९) आउनुहोस्‌, अब हामी येशूको थप तीन वटा उखानलाई विचार गरौं। ती हुन्‌: रायोको दाना, खमिर र महाजाल। a

रायोको दानाको उखान

३, ४. रायोको दानाको उखानले राज्य सन्देशसम्बन्धी कुन-कुन पक्षलाई प्रकाश पार्छ?

मर्कूस अध्याय ४ मा रायोको दानाको उखान पनि लिपिबद्ध छ। यस उखानले दुइटा कुरा प्रकाश पार्छ। पहिलो: राज्य-सन्देशको अचम्मलाग्दो वृद्धि र दोस्रो: राज्य-सन्देश स्वीकार्नेहरूलाई दिइएको सुरक्षा। येशूले यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्यको तुलना हामी कसरी गरौं? औ कुन उखानमा यो राखौं? त्यो ता रायोको दानाजस्तो छ, जो जब जमीनमा छरिन्छ, तब पृथ्वीभरमा सबै बीउहरूमा साना भए तापनि जब त्यो रोपिन्छ तब त्यो बढ्‌छ, र सबै सागपातहरूभन्दा ठूलो हुन्छ, र ठूला-ठूला हाँगाहरू निकाल्छ, यस्तो कि, आकाशका चरा-चुरूङ्‌गीहरूले त्यसको छायामनी बास बस्नसक्छन्‌।”—मर्कू. ४:३०-३२.

इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि यता भएको ख्रीष्टियान मण्डलीको वृद्धि र राज्य सन्देशको विस्तारद्वारा भएको “परमेश्‍वरको राज्यको” वृद्धिलाई यहाँ चित्रण गरिएको हामी पाउछौं। रायोको दाना एकदमै सानो बीउ हो जसले अति नै सानो कुरालाई बुझाउनसक्छ। (लूका १७:६ तुलना गर्नुहोस्‌) तर बढ्‌दै गएर रायोको बोट बलियो हाँगाहरूसहित ३ देखि ५ मिटर अग्लो हुन सक्छ—हेर्दा झन्डै रूखजस्तै।—मत्ती १३:३१, ३२.

५. प्रथम शताब्दीको ख्रीष्टियान मण्डलीमा कस्तो वृद्धि भयो?

इस्वी संवत्‌ ३३ मा ख्रीष्टियान मण्डलीको वृद्धि एकदमै सानो रूपबाट हुन थालेको थियो। त्यतिबेला १२० जना जति चेला पवित्र आत्माद्वारा अभिषिक्‍ति भएका थिए। छोटो समय अवधिभित्रै चेलाहरूको त्यो सानो मण्डलीमा हजारौं विश्‍वासीहरू थपिए। (प्रेरित २:४१; ४:४; ५:२८; ६:७; १२:२४; १९:२० पढ्‌नुहोस्‌) तीस वर्षभित्रै कटनी गर्ने खेतालाहरूको संख्यामा ठूलो वृद्धि भइसकेको थियो। त्यसैले, प्रेरित पावलले कलस्सीको मण्डलीलाई सुसमाचार “सारा सृष्टिमा प्रचारियो” भन्‍न सके। (कल. १:२३) कस्तो उल्लेखनीय वृद्धि!

६, ७. (क) सन्‌ १९१४ देखि यता कस्तो वृद्धि भएको छ? (ख) थप अरू कस्तो वृद्धि हुनेछ?

सन्‌ १९१४ मा परमेश्‍वरको राज्य स्थापित भएदेखि यता रायोको “रूख”-का हाँगाहरू आशा गरेभन्दा बढी फैलिएका छन्‌। परमेश्‍वरका जनहरूले यशैयाको यो भविष्यवाणी शाब्दिक रूपमै पूरा भएको देखेका छन्‌: “थोरैचाहिं हजार हुनेछ, र तुच्छचाहिं एउटा सामर्थी जाति हुनेछ।” (यशै. ६०:२२) सन्‌ २००८ सम्म लगभग ७० लाख साक्षीहरूले २३० भन्दा बढी मुलुकमा प्रचारकार्य गर्नेछन्‌ भन्‍ने कुरा, बीसौं  शताब्दीको सुरुतिर राज्य-प्रचार गर्ने अभिषिक्‍ति जनहरूको सानो झुण्डले सोचेको पनि थिएन। साँच्चै कस्तो अद्‌भुत वृद्धि—येशूले उखानमा बताउनुभएको रायोको दानाजस्तै!

तर के वृद्धि यहिं रोकिन्छ? रोकिंदैन। कालान्तरमा परमेश्‍वरको राज्यका प्रजाले सारा पृथ्वी ढाक्नेछन्‌। विरोधी जति सबैलाई हटाइनेछ। यो कुरा, मानव प्रयासले होइन तर सार्वभौम परमेश्‍वर यहोवाले पृथ्वीका मामिलाहरूमा हस्तक्षेप गर्नुहुँदा पूरा हुनेछ। (दानियल २:३४, ३५ पढ्‌नुहोस्‌) त्यसपछि हामी यशैयाले रेकर्ड गरेको अर्को भविष्यवाणीको अन्तिम पूर्ति देख्नेछौं: “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशै. ११:९.

८. (क) येशूको उखानका चराहरूले केलाई बुझाउँछ? (ख) अहिले नै पनि हामी केबाट सुरक्षित छौं?

येशू बताउनुहुन्छ, यस राज्यको छहारीमा स्वर्गका चराहरू बास बस्न सक्छन्‌। यो उखानको चराहरू चाहिं पहिलो उखानमा बताइएका चराहरू अर्थात्‌ परमेश्‍वरका राज्यका शत्रुहरू होइनन्‌ जसले असल बीउ टिपेर खान खोजेका थिए। (मर्कू. ४:४) बरु, उखानका यी चराहरूले खीष्टियान मण्डलीभित्र सुरक्षा खोज्ने इमानदार हृदय भएका मानिसहरूलाई बुझाउँछ। अहिले पनि यी जनहरू यस दुष्ट संसारको आध्यात्मिक रूपमा हानि पुऱ्‍याउने पतित बानी र अशुद्ध प्रचलनहरूबाट सुरक्षित छन्‌। (यशैया ३२:१, २ तुलना गर्नुहोस्‌) त्यसै गरी, यहोवाले पनि मसीही राज्यलाई रूखसित तुलना गर्नुभयो र भविष्यसूचक ढंगमा यसो भन्‍नुभयो: “त्यो झाँगिएर त्यसले धेरै फल फलाओस्‌, र त्यो एउटा असल देवदार होस्‌, भनेर इस्राएलको डाँडाको टाकुरामा म त्यसलाई रोप्नेछु, र त्यसको छायामा सबै किसिमका पशुहरू बस्नेछन्‌, र त्यसका हाँगाहरूमा सबै किसिमका पक्षीहरूले गुँड बनाउनेछन्‌।”—इज. १७:२३.

खमिरको उखान

९, १०. (क) खमिरको उखानमा येशूले कुन कुरालाई जोड दिनुभयो? (ख) बाइबलमा खमिरले अक्सर केलाई बुझाउँछ र येशूले उल्लेख गर्नुभएको खमिरबारे उठेको कुन चाहिं प्रश्‍नबारे हामी विचार गर्नेछौं?

वृद्धि मानव आँखाले सधैं देख्न सक्दैन। यस कुरालाई येशूले अर्को उखानमा जोड दिनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “स्वर्गको राज्य खमीरजस्तो हो, जो एउटी स्त्रीले तीन पाथी गहुँको पीठोमा त्यो जम्मै खमीरी नहोउञ्जेल लुकाई राखी।” (मत्ती १३:३३) यस खमिरले केलाई बुझाउँछ र यो परमेश्‍वरको राज्यको वृद्धिसित कसरी सम्बन्धित छ?

१० बाइबलमा खमिरलाई अक्सर पाप बुझाउन प्रयोग गरिएको छ। प्रेरित पावलले प्राचीन कोरिन्थ मण्डलीमा पापीले पारिरहेको भ्रष्ट प्रभावबारे बताउँदा खमिर शब्दलाई यही अर्थमा चलाए। (१ कोरि. ५:६-८) के यहाँ येशूले खमिरलाई कुनै नराम्रो कुराको वृद्धि बुझाउन चलाइरहनुभएको थियो?

११. प्राचीन इस्राएलमा खमिरलाई कसरी प्रयोग गरिन्थ्यो?

११ उक्‍त प्रश्‍नको जवाफ पाउनुअघि हामीले तीन वटा आधारभूत तथ्यहरूलाई ध्यान दिनुपर्छ। पहिलो: यहोवाले निस्तार चाडको बेला खमिर चलाउन निषेध गर्नुभए तापनि अरू समयमा खमिर सहितका बलिदानहरू स्वीकार्नुहुन्थ्यो। धन्यवादको मेलबलिको बलिदानमा खमिर पनि प्रयोग गरिन्थ्यो। यो बलिदान, यहोवाले दिनुभएका थुप्रै आशिष्‌प्रति धन्यवाद टक्राउन राजीखुसीले चढाइन्थ्यो। यस अवसरमा खाइने भोज खुसीयालीको एउटा क्षण थियो।—लेवी ७:११-१५.

१२. बाइबलले प्रतीकात्मक कुराहरू चलाउने तरिकाबाट हामी के सिक्न सक्छौं?

१२ दोस्रो: बाइबलमा कुनै एउटा कुरालाई कतै नकारात्मक अर्थमा चलाइएको भए तापनि त्यही कुरालाई अरू कतै सकारात्मक अर्थमा चलाइएको पनि हुन सक्छ। उदाहरणको लागि, १ पत्रुस ५:८ मा शैतानको डरलाग्दो र खुँखार स्वभावको वर्णन गर्दै त्यसलाई सिंहसित तुलना गरिएको छ। तर प्रकाश ५:५ मा भने येशूलाई सिंहसित तुलना गरिएको छ। उहाँलाई यस पदमा “त्यो सिंह, जो यहूदाका कुलका हुन्‌” भनिएको छ। यसमा साहसी न्याय बुझाउन सिंहलाई प्रयोग गरिएको छ।

१३. येशूले भन्‍नुभएको खमिरको उखानले आध्यात्मिक वृद्धिबारे के स्पष्ट हुन्छ?

१३ तेस्रो: येशूले उखानमा यसो भन्‍नुभएन कि खमिरले पूरै पीठोलाई काम नलाग्नेगरि बिगाऱ्‍यो। उहाँले केवल रोटी बनाउने साधारण प्रक्रियालाई उल्लेख गर्दै हुनुहुन्थ्यो। स्त्री आफैले पीठोमा खमिर मिसाइन्‌ र नतिजा राम्रो भयो। खमिर पीठोको थुप्रोमा मिसिएकोले देखिंदैन थियो। तसर्थ, पीठो खमिरी हुने प्रक्रिया अर्थात्‌ खमिरले गर्दा पीठो फुल्ने प्रक्रिया स्त्रीले देख्न सकिनन्‌। यसले हामीलाई दिउँसो बीउ छरेर राती सुत्ने मानिसको सम्झना दिलाउँछ। येशूले भन्‍नुभयो: ‘बीउ चाहिं उम्रन्छ र बढ्‌छ तर त्यो कसरी भएको हो, [त्यस मानिसले] जान्दैन।’ (मर्कू. ४:२७) बाहिरबाट नदेखिने आध्यात्मिक वृद्धिलाई कत्ति सरल ढंगमा उतारेको! सुरुमा त वृद्धि नदेखौंला, तर अन्ततः त्यसको नतिजा छर्लङ्‌ग हुन्छ।

१४. खमिरले सबै पीठो खमिरी बनाउने कुराले प्रचारकार्यको कुन पक्षलाई बुझाउँछ?

१४ आध्यात्मिक वृद्धि मानव आँखाले नदेखिने मात्र होइन। तर यो वृद्धि सारा संसारभरि फैलिंदै गइरहेको पनि छ। खमिरको उखानमा जोड दिइएको यो अर्को पक्ष हो। खमिरले “तीन पाथी आटा”-लाई खमिरी बनाउँछ अर्थात्‌ फुलाउँछ। (लूका १३:२१) आध्यात्मिक उन्‍नति गराउने खमिररूपी राज्य-प्रचारकार्य यत्ति फैलिएको छ कि यो कार्य अहिले “पृथ्वीको अन्तसम्म” भइरहेको छ। (प्रेरि. १:८; मत्ती २४:१४) राज्य प्रचारकार्यको यस अद्‌भुत विस्तार काममा सहभागी हुन पाउनु कत्ति राम्रो सुअवसर!

महाजाल

१५, १६. (क) महाजालको उखानलाई छोटकरीमा बताउनुहोस्‌। (ख) महाजालले केलाई बुझाउँछ अनि यस उखानले राज्य वृद्धिको कुन पक्षलाई देखाउँछ?

१५ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको येशूको चेला बन्‍न चाहनेहरूको गुणस्तर हो, संख्या होइन। येशूले राज्यको वृद्धिको यस पक्षलाई अर्को उखान अर्थात्‌ महाजालको उखानमा संकेत गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “फेरि स्वर्गको राज्य समुद्रमा हालेको एउटा महाजालजस्तो हो, जसले किसिम किसिमका माछाहरू जम्मा गरेर ल्यायो।”—मत्ती १३:४७.

१६ महाजालले राज्य-प्रचारकार्यलाई बुझाउँछ र यस जालले हर किसिमका माछा बटुल्छ। येशू अझ यसो भन्‍नुहुन्छ: “[महाजाल] भरिएपछि तिनीहरूले किनारमा तानी निकाले, र बसेर असल जत्ति भाँडाहरूमा जम्मा गरे, र खराब जत्तिलाई बाहिर फाले। जगत्‌को अन्तमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूको बीचबाट छुट्याउनेछन्‌। र तिनीहरूलाई आगोको धूनिमा फालिदिनेछन्‌, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ।”—मत्ती १३:४८-५०.

१७. महाजालको उखानमा बताइएको छुटाउने कामले कुन समय अवधिलाई बुझाउँछ?

१७ यो माछा छुटाउने कामले केलाई संकेत गर्छ? येशू महिमामा आउँदा हुने भेडा र बाख्रामाथिको अन्तिम न्यायलाई? (मत्ती २५:३१-३३) होइन। किनभने त्यो अन्तिम न्याय त महासंकष्टको दौडान येशू आउनुहुँदा हुनेछ। तर, महाजालको उखानमा बताइएको उक्‍त छुटाउने काम चाहिं “जगत्‌को अन्त”-को दौडान हुन्छ। b हामी त्यही अन्तको समयमा बाँचिरहेका छौं र यो समय महासंकष्टमा पुगेर टुंगिनेछ। त्यसो भए, यो छुटाउने काम अहिले कसरी भइरहेको छ?

१८, १९. (क) छुटाउने काम अहिले कसरी भइरहेको छ? (ख) इमानदार हृदय भएकाहरूले कस्तो पाइला चाल्नै पर्छ? (पृष्ठ २० को पादटिप्पणी पनि हेर्नुहोस्‌।)

१८ वर्तमान समयमा मानिसजातिको समुद्रबाट साँच्चै नै लाखौं प्रतीकात्मक माछाहरू यहोवाको मण्डलीतर्फ आकर्षित भएका छन्‌। कतिपय स्मरणार्थ उत्सवमा उपस्थित हुन्छन्‌ त कतिपय चाहिं सभाहरूमा आउँछन्‌। अनि अरू चाहिं बाइबल अध्ययन गर्न राजी हुन्छन्‌। तर के यी सबै साँचो ख्रीष्टियान बन्छन्‌ त? तिनीहरूलाई ‘किनारमा तानी निकाल्नु’ त निकालिएला। तर येशू भन्‍नुहुन्छ “असल जत्ति” मात्र भाँडामा जम्मा गरिन्छ र त्यो भाँडा चाहिं ख्रीष्टियान मण्डली हो। खराब जत्तिलाई फालिन्छ, मतलब भावी विनाशलाई संकेत गर्ने प्रतीकात्मक आगोको धुनीमा तिनीहरूलाई अन्ततः हालिन्छ।

१९ यहोवाका जनहरूसित पहिला बाइबल अध्ययन गरेर अहिले छाड्‌ने थुप्रै व्यक्‍ति ती खराब माछा जस्तै हुन्‌। ख्रीष्टियान परिवारमा जन्मे तापनि कतिपयले चाहिं येशूको पाइलामा हिंड्‌न कहिले पनि चाहेका छैनन्‌। तिनीहरू यहोवाको सेवा गर्ने निर्णय गर्न चाहँदैनन्‌ अथवा केही समयसम्म सेवा गरेर चटक्कै छाड्‌छन्‌। c (इज. ३३:३२, ३३) तर अन्तिम न्यायको दिन आउनुअघि नै इमानदार हृदय भएकाहरू सबै भाँडारूपी मण्डलीमा जम्मा हुनु र सुरक्षित स्थानमा रहनु अति महत्त्वपूर्ण छ।

२०, २१. (क) वृद्धिबारे येशूका उखानहरूलाई पुनःछलफल गरेर हामीले के सिकेका छौं? (ख) तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

२० वृद्धिबारे येशूका उखानहरू संक्षेपमा पुनः दोहोऱ्‍याएर के सिक्न सक्यौं? पहिलो: रायोको दाना बढेजस्तै यस पृथ्वीमा राज्य गतिविधिको अत्यन्त वृद्धि भएको छ। यहोवाको कामको विस्तारलाई कुनै कुराले रोक्न सक्दैन! (यशै. ५४:१७) साथै, “[रूखको] छायाँमनि बास बस्न” खोज्नेहरूलाई आध्यात्मिक सुरक्षा दिइएको छ। दोस्रो: बढाउने त परमेश्‍वर नै हुनुहुन्छ। जसरी खमिर पिठोको थुप्रोभित्र नदेखिनेगरि फिंजिन्छ। त्यसरी नै राज्यको यो वृद्धि पनि अक्सर सजिलै देखिंदैन वा बुझिंदैन, तर यो फैलिरहेको चाहिं हुन्छ! तेस्रो: राज्य सन्देश सुन्‍नेहरू सबैले नै आफूलाई योग्य साबित गरेका छैनन्‌। कतिपय मानिस येशूको उखानका खराब माछा जस्तै भएका छन्‌।

२१ तैपनि, यहोवाले थुप्रै योग्य जनहरूलाई खिंचिरहनुभएको देख्न पाउनु कत्ति प्रोत्साहनदायी! (यूह. ६:४४) परिणामस्वरूप, एकपछि अर्को देशमा उल्लेखनीय वृद्धि भएको छ। यस वृद्धिको सबै श्रेय यहोवा परमेश्‍वरलाई जान्छ। यो देख्दा शताब्दीऔं अघि लेखिएको यो सल्लाह पालन गर्न हामी सबै उत्प्रेरित हुनुपर्ने हो: “बिहान समयमानै बीउ छर्‌ . . . किनभने अहिले छरेको अथवा भरै छरेको कुनचाहिं सफल हुन्छ, अथवा दुवैनै राम्रो हुन्छन्‌ होला भनी तँ जान्दैनस्‌।”—उप. ११:६. (w 08 7/15)

[फुटनोटहरू]

a सेप्टेम्बर १, १९९२ प्रहरीधरहरा-को पृष्ठ १९-२४ र अक्टोबर १, १९७५ वाचटावर-को पृष्ठ ५८९-६०८ मा यी उखानहरूबारे छलफल गरिएको थियो। तल व्याख्या गरिएको कुरा यी अंकहरूमा पहिला बताइएको कुराको छाँटकाँट हो।

b मत्ती १३:३९-४३ ले राज्य-प्रचारकार्यको एउटा भिन्‍न पक्षलाई बताए तापनि यसको पूर्ति चाहिं महाजालको उखानको पूर्ति सँगसँगै, खासगरि “अन्तको समय”-को दौडान हुन्छ। जसरी बीउ छर्ने र कटनी गर्ने कार्य यस समयको दौडानभरि नै निरन्तर भइरहन्छ त्यसरी नै प्रतीकात्मक माछा छुटाउने काम पनि निरन्तर भइरहन्छ।—प्रहरीधरहरा अक्टोबर १५, २०००, पृष्ठ २५-२६; एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌, पृष्ठ १७८-१८१, अनुच्छेद ८-११.

c के यसको अर्थ बाइबल अध्ययन गर्न वा यहोवाका जनहरूसित संगत गर्न छाड्‌ने जोसुकै पनि अयोग्य ठहरिएकोले स्वर्गदूतहरूद्वारा बाहिर फ्याँकिएको छ भन्‍ने हो? अहँ, होइन। यदि कोही यहोवातर्फ निष्कपटसाथ फर्कन चाहन्छ भने उहाँले तिनलाई अँगाल्नुहुनेछ।—मला. ३:७.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• रायोको दानाको उखानले राज्यको वृद्धि र आध्यात्मिक सुरक्षाबारे हामीलाई के सिकाउँछ?

• येशूले बताउनुभएको खमिरको उखानले केलाई बुझाउँछ अनि राज्यको वृद्धिबारे उहाँ कुन सच्चाइलाई प्रकाश पार्नुहुन्छ?

• महाजालको उखानमा राज्यको वृद्धिको कुन पक्षलाई औंल्याइएको छ?

• ‘भाँडोमा जम्मा गरिएकाहरू’ माझ भइरहनेछौं भनेर हामी कसरी पक्का हुन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएका चित्रहरू]

रायोको दानाको उखानले राज्यको वृद्धिबारे हामीलाई के सिकाउँछ?

[पृष्ठ २७-मा भएको चित्र]

खमिरको उखानबाट हामी के सिक्छौं?

[पृष्ठ २७-मा भएको चित्र]

खराब माछाबाट असल माछा छुटाउनुले केलाई संकेत गर्छ?