सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के नूहको दिनको जलप्रलय साँच्चै नै विश्‍वव्यापी थियो?

के नूहको दिनको जलप्रलय साँच्चै नै विश्‍वव्यापी थियो?

हाम्रा पाठकहरू सोध्छन्‌

के नूहको दिनको जलप्रलय साँच्चै नै विश्‍वव्यापी थियो?

नूहको जलप्रलय ४,००० वर्ष भन्दा पहिला भएको थियो। त्यसैले अहिले पृथ्वीमा, त्यतिबेला आएको जलप्रलयबारे बताउन सक्ने कोही पनि प्रत्यक्षदर्शी जीवित छैन। तर, त्यस महाविपत्तिबारे लिखित विवरण भने छ जुन विवरणले त्यतिबेलाको सबैभन्दा अग्लो पर्वत पनि ढाकिएको थियो भनेर बताउँछ।

उक्‍त ऐतिहासिक विवरण बताउँछ: “पृथ्वीमा चालीस दिनसम्म जलप्रलय भइरह्‍यो। . . . पानी पृथ्वीमा जोरसँग परिरह्‍यो र आकाशमनिका जम्मै अल्गा-अल्गा पर्वतहरू ढाकिए। पानी बढेर आयो र पर्वतहरूलाई पन्ध्र हातसम्म [करिब साढे ६ मिटर] डुबाइदियो।”—उत्पत्ति ७:१७-२०.

पूरै पृथ्वी पानीले भरिएको थियो भन्‍ने विवरण मिथ्या हो या कम्तीमा पनि बढाइचढाइ गरिएको हो भनेर कतिपयले सोच्लान्‌। तर, त्यसो त पक्कै होइन! वास्तवमा, पृथ्वीको अधिकांश भाग अहिले पनि पानीले ढाकेको छ। समुद्रको पानीले पृथ्वीको सतहको करीब ७१ प्रतिशत भाग ढाकेको छ। त्यसैले वास्तवमै भन्‍ने हो भने जलप्रलयको पानी अहिले पनि छ। अनि यदि हिमनदी र ध्रुवीय हिमचुली पग्लने हो भने त, समुद्रको सतह बढेर न्यु योर्क र टोकियो जस्तो शहर नै डुब्नसक्छ।

उत्तरपश्‍चिम अमेरिकाको भूबनोट अध्ययन गर्ने भू-गर्भविद्‌हरू उहिले त्यहाँ १०० वटा जति भीषण जलप्रलय आएको थियो भन्‍ने अनुमान लगाउँछन्‌। भनिन्छ, यस्तै एउटा जलप्रलय त्यस इलाकामा ६०० मिटर अग्लो छालसहित प्रतिघण्टा १०५ किलोमिटरको वेगमा आएको थियो। त्यसले २००० घन किलोमिटर ठाउँ ओगटेको थियो र त्यसको वजन २० खरब टन थियो। यस्तै-यस्तै कुराले गर्दा अरू वैज्ञानिकहरूले पनि संसारभरि जलप्रलय भएको हुनुपर्छ भन्‍ने निष्कर्षमा पुग्न सकेका छन्‌।

तथापि, बाइबल परमेश्‍वरको वचन हो भनेर विश्‍वास गर्नेहरूका लागि विश्‍वव्यापी जलप्रलय सम्भाव्यता मात्र होइन। यो वास्तविक हो। येशूले परमेश्‍वरलाई यसो भन्‍नुभयो: “तपाईंको वचन सत्य हो।” (यूहन्‍ना १७:१७) “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने” परमेश्‍वर इच्छा गर्नुहुन्छ भनी प्रेरित पावलले लेखे। (१ तिमोथी २:३, ४) यदि परमेश्‍वरको वचनमा मिथ्याहरू मात्र भएको भए प्रेरित पावलले येशूका अनुयायीहरूलाई कसरी परमेश्‍वर अनि उहाँको उद्देश्‍यबारे सत्य कुरा सिकाउन सक्थे र?

येशूले जलप्रलय भएको थियो भनेर मात्र होइन तर यो विश्‍वव्यापी रूपमा भएको थियो भनेर पनि विश्‍वास गर्नुभयो। (मत्ती २४:३७-३९) आफ्नो उपस्थिति र यस रीतिरिवाजको अन्तबारे महान्‌ भविष्यवाणी गर्नुहुँदा उहाँले ती घटनाहरूलाई नूहको समयसित दाँज्नुभयो। प्रेरित पत्रुसले पनि नूहको दिनमा भएको जलप्रलयबारे लेखे। तिनले यस्तो लेखे: “त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो।”—२ पत्रुस ३:६.

यदि नूह काल्पनिक पात्र अनि विश्‍वव्यापी जलप्रलय चाहिं लोककथा मात्र भएको भए पत्रुस र येशूले अन्तिम दिनमा बाँचेकाहरूलाई दिनुभएको चेतावनी पनि अर्थहीन हुनेथियो। यस्तो सोचले मानिसहरूलाई बाइबलको चेतावनी बुझ्न होइन बरु अलमल्लमा मात्र पार्छ र नूहको जलप्रलयभन्दा पनि ठूलो संकष्ट आउँदा तिनीहरूको बच्ने सम्भावना खतरामा पर्न सक्छ।—२ पत्रुस ३:१-७.

आफ्ना जनहरूलाई निरन्तर कृपा देखाइरहने सन्दर्भमा परमेश्‍वरले यसो भन्‍नुभयो: “जसरी मैले नूहको समयमा शपथ खाएको थिएँ, म जलप्रलयको पानीले पृथ्वीलाई फेरि डुबाउनेछैन। त्यसरीनै मैले शपथ खाएको छु कि अबदेखि तँमाथि म रीस गर्नेछैनँ। म तँलाई हप्काउनेछैनँ।” जसरी नूहको दिनमा पृथ्वीलाई ढाक्नेगरि जलप्रलय निश्‍चय आएको थियो त्यसरी नै परमेश्‍वरमा भरोसा राख्नेहरूलाई उहाँले अवश्‍यै करुणा देखाउनुहुनेछ।—यशैया ५४:९. (w08 6/1)