सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कोरिन्थीहरूलाई लेखेको पत्रका विशेषताहरू

कोरिन्थीहरूलाई लेखेको पत्रका विशेषताहरू

यहोवाको वचन जीवित छ

कोरिन्थीहरूलाई लेखेको पत्रका विशेषताहरू

प्रेरित पावल कोरिन्थ मण्डलीको आध्यात्मिक हितबारे एकदमै चिन्तित छन्‌। भाइहरूबीच फूट भएको तिनले सुनेका छन्‌। तिनीहरूले अनैतिकतालाई देख-अदेख गरिरहेका छन्‌। यस मण्डलीले पनि केही विषयमा सोधपूछ गर्दै पावललाई लेखेको छ। त्यसैले, इस्वी संवत्‌ ५५ तिर आफ्नो तेस्रो मिसनरी यात्राको दौडान एफिससमा छँदा तिनले कोरिन्थीहरूलाई पहिलो पत्र लेख्छन्‌।

पहिलो पत्र लेखेको केही महिनापछि लेखिएको दोस्रो पत्र पहिलो पत्रकै थप भाग जस्तो देखिन्छ। प्रथम शताब्दीको कोरिन्थ मण्डली भित्र र बाहिरको अवस्था, हाम्रो समयसित थुप्रै तरिकामा मिल्दोजुल्दो छ। त्यसैकारण पावलले कोरिन्थीहरूलाई लेखेको पत्रको सन्देश हाम्रो लागि ठूलो मोलको छ।—हिब्रू ४:१२.

‘होशियार बस, दृढ भइबस, बलिया होओ’

(१ कोरि. १:१–१६:२४)

पावलले यस्तो अर्ती दिए: “तिमीहरू सबैले एउटै कुरा बोल।” (१ कोरि. १:१०) ख्रीष्टियान गुणहरू खेती गर्न ‘येशू ख्रीष्टबाहेक अर्को जग बसालिएको’ छैन। (१ कोरि. ३:११-१३) मण्डलीमा भएको व्यभिचारीबारे पावलले यसो भने: “तिमीहरूको बीचबाट दुष्ट मानिसलाई हटाओ।” (१ कोरि. ५:१३) तिनले भने, “शरीर व्यभिचारको निम्ति होइन, तर प्रभुको निम्ति” हो।—१ कोरि. ६:१३.

तिनीहरूले “लेखेका कुराहरूका विषयमा चाहिं” विवाह गर्ने र अविवाहित रहनेबारे पावल राम्रो व्यावहारिक सल्लाह दिन्छन्‌। (१ कोरि. ७:१) ख्रीष्टियान शिर, मण्डलीका सभाहरूको सुव्यवस्थापन र पुनरुत्थानको निश्‍चयताबारे बताइसकेपछि पावल यस्तो अर्ती दिन्छन्‌: “होशियार बस, विश्‍वासमा दृढ भइबस पुरुषार्थी होओ, बलिया होओ।”—१ कोरि. १६:१३

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:२१—के परमेश्‍वरले साँच्चै “मूर्खताद्वारा” विश्‍वास गर्नेहरूको उद्धार गर्नुहुन्छ? अहँ, गर्नुहुन्‍न। तर, ‘संसारले परमेश्‍वरलाई आफ्नो ज्ञानद्वारा नचिनेकोले’ उहाँले आफ्ना जनहरूलाई उद्धार गर्न चलाउनुहुने माध्यम संसारको नजरमा मूर्खता जस्तो देखिन्छ।—यूह. १७:२५.

५:५—“[दुष्ट] मानिसलाई शरीरको नाशको लागि शैतानकहाँ सुम्पिओस्‌, र प्रभु येशूको दिनमा त्यसको आत्माले चाहिं उद्धार पाओस्‌” भन्‍नुको अर्थ के हो? गम्भीर पाप गर्ने अपश्‍चात्तापीलाई मण्डलीबाट बहिष्कार गरेपछि तिनी फेरि शैतानको दुष्ट संसारको भाग बन्छन्‌। (१ यूह. ५:१९) त्यसैले तिनलाई शैतानकहाँ सुम्पियो भनिएको हो। तिनलाई निकालेपछि तिनको खराब प्रभाव मण्डलीबाट हट्‌छ र मण्डलीको आत्मा अर्थात्‌ ख्रीष्टियानहरूसित हुनुपर्ने मनोभाव बच्छ।—२ तिमो. ४:२२.

७:३३, ३४—विवाहित पुरुष वा स्त्रीले फिक्री गर्ने “संसारको कुरा” के हो? विवाहित ख्रीष्टियानहरूले चिन्ता गर्नुपर्ने जीवनका सानातिना कुराहरूलाई पावलले संकेत गर्दै थिए। यसमा गाँस, बास र कपास पर्छ तर संसारका खराब कुराहरू भने पर्दैनन्‌ जसबाट ख्रीष्टियानहरू जोगिनुपर्छ।—१ यूह. २:१५-१७.

११:२६—येशूको मृत्युको सम्झना कहिले-कहिले र कतिन्जेल गर्नुपर्ने थियो? येशूको मृत्युको सम्झना घरिघरि गरिरहनुपर्छ भनेर पावलले भन्‍न खोजेका होइनन्‌। बरु, अभिषिक्‍त ख्रीष्टियानहरूले “जहिले-जहिले” अर्थात्‌ वर्षको एक पटक नीसान १४ का दिन स्मरणार्थ उत्सवमा प्रतीकहरूमा भाग लिन्छन्‌ र ‘प्रभुको मृत्युको घोषणा गर्छन्‌’ भन्‍न खोजेका हुन्‌। अभिषिक्‍त ख्रीष्टियानहरूले “उहाँ नआउञ्जेल” अथवा उनीहरूको स्वर्गीय पुनरुत्थान नभइन्जेल यसप्रकार प्रभुको मृत्युको सम्झना गर्छन्‌।—१ थिस्स. ४:१४-१७

१३:१३—प्रेम कुन तरिकामा विश्‍वास र आशाभन्दा सर्वोत्तम हो? “आशा राखेका कुरा” यथार्थमा परिणत भएपछि विश्‍वास र आशाको भूमिका पहिलाको जस्तै हुँदैन। (हिब्रू ११:१) तर प्रेमचाहिं सदासर्वदै रहिरहन्छ। त्यसैले विश्‍वास र आशाभन्दा प्रेम महान्‌ हो भन्‍न सकिन्छ।

१५:२९—‘मरेकाहरूका निम्ति बप्तिस्मा लिनुको’ अर्थ के हो? बप्तिस्मा नलिई मरेकाहरूको खातिर जिउँदाहरूले बप्तिस्मा लिनुपर्छ भनेर पावलले भन्‍न खोजिरहेका होइनन्‌। पावलले यहाँ आत्मा अभिषिक्‍त ख्रीष्टियानहरूले मृत्युसम्मै निष्ठावान्‌ रहने जीवनको लागि बप्तिस्मा लिन्छन्‌ र त्यसपछि तिनीहरूको आत्मिक जीवनमा पुनरुत्थान हुनेछ।

हाम्रो लागि पाठ:

१:२६-३१; ३:३-९; ४:७. नम्र भई आफैमा होइन तर यहोवामा घमन्ड गर्दा मण्डलीको एकतामा योगदान पुग्छ।

२:३-५. युनानी दर्शन र शिक्षाको केन्द्र कोरिन्थमा प्रचार गर्दा आफ्ना श्रोताहरूलाई मनाउन सक्ने हो कि होइन भनेर पावललाई चिन्ता लागेको थियो होला। तर परमेश्‍वरले सुम्पनुभएको काममा सायद आफूसित भएको डर वा कमजोरीलाई तिनले बाधा हुन दिएनन्‌। त्यसैगरि, हामी पनि आफूलाई गाह्रो र बानी नपरेको अवस्था आइपर्दा परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्नदेखि पछि हट्‌नु हुँदैन। पावलले जस्तै हामीले पनि निर्धक्क भई परमेश्‍वरबाट मदत पाउने आशा गर्न सक्छौं।

२:१६. “ख्रीष्टको मन” हुनुको अर्थ उहाँको सोच्ने तरिका थाह पाउनु, उहाँले जस्तै सोच्नु र उहाँको व्यक्‍तित्वलाई राम्ररी बुझ्नु र उहाँको उदाहरण अनुकरण गर्नु हो। (१ पत्रु. २:२१; ४:१) येशूको जीवन र सेवकाईलाई गहिरिएर अध्ययन गर्नु कत्ति महत्त्वपूर्ण छ!

३:१०-१५; ४:१७. सिकाउने र चेला बनाउने आफ्नो योग्यतालाई हामीले जाँच्नुपर्छ र उन्‍नति गर्नुपर्छ। (मत्ती २८:१९, २०) राम्ररी सिकाएनौं भने विद्यार्थीले विश्‍वासको जाँच पार गर्न नसक्ने पनि हुन सक्छ र यस्तो नोक्सानी असाध्यै पीडादायी हुन सक्छ किनकि हाम्रो उद्धार “आगोबाट निस्केर बाँचेझैं” हुनेछ।

६:१८. ‘व्यभिचारदेखि अलग रहनु’ भनेको पोरनिया-बाट मात्र होइन तर अश्‍लील कुरा, नैतिक अशुद्धता, यौनसम्बन्धी कुरा मनमा खेलाउने, उत्ताउलो किसिमले जिस्किने जस्ता कुरा अर्थात्‌ व्यभिचारतर्फ डोऱ्‍याउने कुनै पनि कुरादेखि अलग रहनु हो।—मत्ती ५:२८; याकू. ३:१७.

७:२९. विवाहित जोडीहरू एकअर्कामा मात्र मग्न भएर परमेश्‍वरको राज्य गतिविधिलाई दोस्रो स्थानमा नराख्नदेखि होसियार हुनुपर्छ।

१०:८-११. इस्राएलले मोशा र हारून विरुद्ध गनगन गर्दा यहोवा एकदमै रीसाउनुभएको थियो। गनगने हुनदेखि होसियार हुनु बुद्धिमानी हो।

१६:२. पहिल्यै योजना बनाउनुका साथै व्यवस्थित भयौं भने राज्य गतिविधिको लागि आर्थिक मदत निरन्तर दिइरहन सक्नेछौं।

‘सिद्ध मनका हुँदै जाओ’

(२ कोरि. १:१–१३:१४)

गल्ती गरेकोमा हप्काइ पाएका पश्‍चात्तापीलाई “अनुग्रह गरी क्षमा गर्नु र सान्त्वना दिनुपर्दछ” भनी पावल कोरिन्थीहरूलाई भन्छन्‌। पावलको पहिलो पत्रले तिनीहरूलाई शोकित तुल्याएको भए तापनि यस पत्रमा पावल खुसी व्यक्‍त गर्छन्‌ किनभने तिनीहरू “पश्‍चातापको निम्ति शोकित” भएका थिए।—२ कोरि. २:६, ७; ७:८, ९.

कोरिन्थीहरूलाई ‘सबै कुरामा प्रशस्त’ भएझैं दिने काममा पनि ‘प्रशस्त हुन’ पावल प्रोत्साहन दिन्छन्‌। विरोधीहरूलाई जवाफ दिइसकेपछि तिनी सबैलाई यस्तो अन्तिम सल्लाह दिन्छन्‌: “बिदाको सलाम [अर्थात्‌ “आनन्दित होओ,” NW]। तिमीहरू सिद्ध भएका होओ, सान्त्वना पाएका होओ, एकै मनका होओ, शान्तिमा रहो।”—२ कोरि. ८:७; १३:११.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:१५, १६—हामी कसरी “ख्रीष्टको मीठो बासना” हौं? हामी बाइबलअनुसार चल्ने र यसको सन्देश अरूलाई सुनाउने काममा भाग लिने भएकोले ख्रीष्टको मीठो बासना हौं। यस्तो “बासना” यहोवा र इमानदार हृदय भएकाहरूलाई सुगन्ध हुन्छ भने अभक्‍त मानिसहरूका लागि “दुर्गन्ध” हुन सक्छ।

५:१६—अभिषिक्‍त ख्रीष्टियानहरूले कसरी ‘कुनै मानिसलाई शरीरअनुसार चिन्दैनन्‌’? तिनीहरू मानिसहरूलाई शरीरअनुसार हेर्दैनन्‌। अर्थात्‌ धन, जात वा सम्प्रदाय र राष्ट्रियताको आधारमा तिनीहरू कसैलाई काखा कसैलाई पाखा गर्दैनन्‌। तिनीहरूका लागि महत्त्वपूर्ण कुरा भनेको सँगी विश्‍वासीहरूसितको आध्यात्मिक सम्बन्ध हो।

११:१, १६; १२:११—के पावलले कोरिन्थीहरूसित मूर्ख अर्थात्‌ अव्यावहारिक व्यवहार गरिरहेका थिए? अहँ, थिएनन्‌। तर कसै-कसैलाई तिनी घमन्डी र अव्यावहारिक जस्तो लागेको हुन सक्छ किनभने आफू प्रेरित हुँ भन्‍ने कुराको बचाउ गर्न तिनी बाध्य भएका थिए।

१२:१-४—कसलाई “समातिएर स्वर्गतिर [अर्थात्‌ “प्रमोदवनतिर,” NW] लगियो”? यस्तो दर्शन देख्ने अरू कुनै व्यक्‍तिबारे बाइबलमा नबताइएकोले र पावलले आफू प्रेरित हुँ भन्‍ने प्रमाण दिने बित्तिकै उक्‍त कुरा उल्लेख गरेकोले तिनले आफ्नै अनुभव बताइरहेको हुनुपर्छ। पावलले दर्शनमा देखेको कुरा ख्रीष्टियान मण्डलीले “अन्तको समय”-मा आनन्द उठाउने आध्यात्मिक प्रमोदवन हुन सक्छ।—दानि. १२:४.

हाम्रो लागि पाठ:

३:५. यहोवाले ख्रीष्टियानहरूलाई सेवकाईको लागि आफ्ना वचन, पवित्र आत्मा र आफ्नो संगठनको पार्थिव भागद्वारा प्रशस्तगरि योग्य बनाउनुहुन्छ भनी यस पदले बताउँछ। (यूह. १६:७; २ तिमो. ३:१६, १७) हामीले लगनशील भई बाइबल र बाइबल-आधारित प्रकाशनहरू अध्ययन गर्नु, पवित्र आत्माको लागि निरन्तर प्रार्थना गर्नु र ख्रीष्टियान सभाहरूमा नियमित धाउनु अनि भाग लिनु आवश्‍यक छ।—भज. १:१-३; लूका ११:१०-१३; हिब्रू १०:२४, २५.

४:१६. यहोवाले हाम्रो ‘भित्री मनुष्यत्वलाई दिनदिनै’ नयाँ बनाउनुहुने भएकोले एक दिन पनि नछुटाई आध्यात्मिक कुराहरूमा ध्यान दिएर हामीले यहोवाको प्रबन्धको नियमित फाइदा उठाउनुपर्छ।

४:१७, १८. ‘कष्ट छिनभरको र हलुको’ हुन्छ भनी सम्झँदा कष्टको समयमा यहोवाप्रति वफादार रहन मदत पाउन सक्छौं।

५:१-५. स्वर्गीय जीवनको आशाप्रति अभिषिक्‍त ख्रीष्टियानहरूको भावनालाई पावल कत्ति सुन्दर ढंगमा व्यक्‍त गर्छन्‌!

१०:१३. साधारणतया, आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न खटाइएको छ भने मात्रै हामी ती ठाउँमा सेवा गर्न जान्छौं नत्र आफ्नो मण्डलीलाई खटाइएको इलाकामै सेवा गर्नुपर्छ।

१३:५. ‘विश्‍वासमा छौं कि छैनौं भनी जाँच गर्न’ बाइबलबाट सिकेका कुराअनुसार आफ्नो आचरण छ/छैन हेर्नुपर्छ। आफैलाई जाँचेर ‘आफ्नो प्रमाण दिन’ हामीले आध्यात्मिकताको स्तर विश्‍लेषण गर्नुपर्छ। यसमा हाम्रो “ज्ञानेन्द्रिय अभ्यास” भइरहेको छ कि छैन र विश्‍वासअनुसार काम गरिरहेका छौं कि छैनौं, सो विश्‍लेषण गर्नु पनि समावेश छ। (हिब्रू ५:१४; याकू. १:२२-२५) पावलको यो राम्रो सल्लाह लागू गरेर हामी सत्यको मार्गमा हिंडिरहन सक्छौं। (w 08 7/15)

[पृष्ठ २२-मा भएको चित्र]

“जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ” भन्‍नुको अर्थ के हो?—१ कोरि. ११:२६