सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घर-घरको प्रचारकार्यमा आइपर्ने चुनौतीहरूको सामना गर्ने

घर-घरको प्रचारकार्यमा आइपर्ने चुनौतीहरूको सामना गर्ने

घर-घरको प्रचारकार्यमा आइपर्ने चुनौतीहरूको सामना गर्ने

“तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बोल्नलाई, अति विरोधमा [ अर्थात्‌ “संघर्ष गर्दै,” NW ] पनि, हाम्रा परमेश्‍वरमा हामी निर्भय रह्‍यौं।”—१ थिस्स. २:२.

१. यर्मियामाथि कस्ता चुनौतीहरू आइपऱ्‍यो र तिनले त्यसको सामना कसरी गर्न सके?

 यर्मिया हामीजस्तै भावना भएका मानिस थिए। यहोवाले तिनलाई “जाति-जातिहरूका निम्ति एक अगमवक्‍ता”-को रूपमा नियुक्‍त गरेको कुरा बताउनुहुँदा तिनले यसो भने: “हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्‌, मता बोल्नै जान्दिनँ, किनभने म त बच्चै छु।” तर, तिनले यहोवामा भरोसा गरे र आफूलाई सुम्पिएको कार्यभार स्वीकारे। (यर्मि. १:४-१०) चालीस वर्षभन्दा धेरै समयसम्म यर्मियाले भावशून्यता, तिरस्कार, गिल्लाका साथै शारीरिक हिंसा समेत खप्नुपऱ्‍यो। (यर्मि. २०:१, २) कहिलेकाहीं त तिनलाई यो काम छोडुँ-छोडुँ जस्तो पनि लाग्यो। तैपनि, सन्देश मन नपराउने मानिसहरूलाई सन्देश घोषणा गर्न तिनले बन्द गरेनन्‌। आफ्नो बलबर्कतमा कहिल्यै गर्न नसक्ने काम यर्मियाले परमेश्‍वरबाट बल पाएर गर्न सके।यर्मिया २०:७-९ पढ्‌नुहोस्‌।

२, ३. आज यहोवाका सेवकहरूले कसरी यर्मियाले सामना गरेजस्तै चुनौतीहरू सामना गरिरहेका छन्‌?

यर्मियाले कस्तो महसुस गरे होलान्‌ भनेर आज परमेश्‍वरका थुप्रै सेवकहरूले बुझ्न सक्छन्‌। घर-घर गएर प्रचार गर्नेबारे विचार गर्दा हामीमध्ये थुप्रैले यस्तो भनेका हुन सक्छौं, ‘योचाहिं मबाट कहिल्यै हुन सक्दैन।’ तर सुसमाचार प्रचार गर्ने काम यहोवाको इच्छा हो भन्‍ने जब हामीले बुझ्यौं तब आफ्ना शंका-डर हटाएर प्रचारकार्यमा व्यस्त हुन थाल्यौं। तैपनि, हामीमध्ये थुप्रैले त्यस्ता परिस्थितिहरूको सामना गर्नुपऱ्‍यो जसले गर्दा केही समयको लागि भए पनि प्रचारकार्यमा लागिरहन साह्रो पऱ्‍यो। हो, घर-घरमा गएर प्रचार गर्न थाल्नु र त्यसमा अन्तसम्मै लागिरहनु चुनौतीपूर्ण छ भन्‍ने कुरामा दुई मत छैन।—मत्ती २४:१३.

तपाईं यहोवाका साक्षीहरूसित अध्ययन गर्दै हुनुहुन्छ र सभाहरू धाउन थाल्नुभएको पनि केही समय भइसक्यो तर घर-घरको प्रचारकार्यमा भाग लिन हिचकिचाउनु हुन्छ भने नि? अथवा तपाईं बप्तिस्माप्राप्त र शारीरिक तवरमा पनि तन्दुरुस्त साक्षी हुनुहुन्छ तर घर-घरको प्रचारकार्यमा भाग लिनचाहिं गाह्रो लाग्छ भने नि? आश्‍वस्त हुनुहोस्‌, सबै पृष्ठभूमिका साक्षीहरूले घर-घरको प्रचारकार्यमा आइपर्ने चुनौतीहरू सामना गरिरहेका छन्‌। यहोवाको मदत पाएर तपाईं पनि त्यसरी नै सामना गर्न सक्नुहुन्छ।

निर्भयी हुने

४. पावलले निर्भयी भई सुसमाचार प्रचार गर्न सक्नुको कारण के थियो?

अहिले संसारभरि प्रचारकार्य भइरहेको छ। यो, मानिसको शक्‍ति वा बुद्धिले गर्दा नभई परमेश्‍वरको आत्माले गर्दा सम्भव भएको हो भनेर तपाईं अवश्‍यै मानिलिनुहुन्छ। (जक. ४:६) प्रत्येक ख्रीष्टियानले गर्ने प्रचारकार्यबारे पनि त्यसै भन्‍न सकिन्छ। (२ कोरि. ४:७, NRV ) प्रेरित पावललाई लिनुहोस्‌। विरोधीहरूले आफू र आफ्ना मिसनरी सहयात्रीलाई सताएको समय सम्झँदै तिनले यस्तो लेखे: “फिलिप्पीमा अगाडि दुःख पाई बेइज्जती भोगेर पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बोल्नलाई, अति विरोधमा [अर्थात्‌ “संघर्ष गर्दै,” NW ] पनि, हाम्रा परमेश्‍वरमा हामी निर्भय रह्‍यौं।” (१ थिस्स. २:२; प्रेरि. १६:२२-२४) पावल जस्तो जोसिलो प्रचारकले पनि प्रचार गर्न संघर्ष गर्नुपरेको थियो भनी थाह पाउँदा तपाईंलाई अचम्म लाग्ला। हो, हामीले जस्तै पावलले पनि निर्भयी भई सुसमाचार प्रचार गर्न यहोवामा भर पर्न सिक्नुपरेको थियो। (एफिसी ६:१८-२० पढ्‌नुहोस्‌) हामी कसरी पावलको उदाहरण अनुकरण गर्न सक्छौं?

५. प्रचार गर्न हामी निर्भयी हुन सक्ने एउटा तरिका के हो?

प्रचार गर्न निर्भयी हुन सक्ने एउटा तरिका प्रार्थना हो। एउटी अग्रगामीले यस्तो भनिन्‌: “विश्‍वस्ताका साथ बोल्न, मानिसहरूको हृदयसम्म पुग्न र प्रचारकार्यबाट आनन्द पाउन सकूँ भनेर म प्रार्थना गर्छु। आखिर, यो काम हाम्रो आफ्नो होइन तर यहोवाको हो र उहाँको मदतविना हामी केही गर्न सक्दैनौं।” (१ थिस्स. ५:१७) निर्भयी भई प्रचार गर्नको लागि परमेश्‍वरको पवित्र आत्मा माग्न हामीले निरन्तर प्रार्थना गर्नुपर्छ।—लूका ११:९-१३.

६, ७. (क) इजकिएलले कस्तो दर्शन पाए र यसको अर्थ के थियो? (ख) इजकिएलको दर्शनबाट आज परमेश्‍वरका जनहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

निर्भयी भई बोल्न हामीलाई मदत गर्ने अर्को कुराबारे इजकिएलको पुस्तकमा बताइएको छ। दर्शनमा यहोवाले इजकिएललाई अगाडि र पछाडि “विलाप, शोक र दुःखका कुराहरू” लेखिएको बेहेरेको पुस्तक दिनुभयो अनि यसो भन्दै तिनलाई त्यो खान भन्‍नुभयो: “हे मानिस, मैले तँलाई दिएको यो बेहेरेको पुस्तक खा र तेरो पेट भर्‌।” यो दर्शनको अर्थ के थियो? इजकिएल आफूले सुनाउनुपर्ने सन्देशमा पूरै डुब्नुपर्ने थियो। भन्‍ने हो भने, भित्री भावनाहरूलाई असर गर्ने गरी यो तिनको जीवनको भाग हुनुपर्ने थियो। अगमवक्‍ता अझ यसो भन्छन्‌: “मैले त्यो खाएँ, र त्यो मेरो मुखमा महझैं मीठो भयो।” जनसमक्ष परमेश्‍वरको सन्देश घोषणा गर्नु इजकिएलको लागि मह खाँदाझैं आनन्दको कुरा थियो। तिनको कुरा नसुन्‍ने मानिसहरूलाई कडा सन्देश सुनाउनुपर्ने भए तापनि यहोवाको प्रतिनिधित्व गर्न पाउनु र उहाँले सुम्पनुभएको कार्यभार पूरा गर्न पाउनुलाई तिनले विशेष सुअवसरको रूपमा लिए।—इजकिएल २:८–३:४, ७-९ पढ्‌नुहोस्‌।

यस दर्शनबाट आज परमेश्‍वरका जनहरूले एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छन्‌। हामीले पनि मानिसहरूलाई कडा सन्देश सुनाउनुपर्छ र तिनीहरूले हाम्रो प्रयासको सधैं कदर गर्दैनन्‌। ख्रीष्टियान सेवा परमेश्‍वरले दिनुभएको सुअवसर हो भन्‍ने दृष्टिकोणलाई कायम राख्न हामीले आध्यात्मिक भोजन राम्ररी खानै पर्छ। अनियमित अध्ययन गर्ने बानी वा नाउँ मात्रको अध्ययन परमेश्‍वरको वचनमा पूरै डुब्न पर्याप्त हुँदैन। के तपाईं आफ्नो व्यक्‍तिगत बाइबल पढाइ र अध्ययनलाई नियमित बनाउनुका साथै यसको गुणस्तरमा उन्‍नति ल्याउन सक्नुहुन्छ? आफूले पढेको कुरामा अझ धेरै मनन गर्न सक्नुहुन्छ कि?—भज. १:२, ३.

बाइबल छलफल सुरु गर्ने

८. घर-घरको प्रचारमा बाइबल छलफल थाल्न कोही-कोही राज्य प्रकाशकहरूलाई कुन तरिका मदतकारी लागेको छ?

घर-घरको प्रचारकार्यमा थुप्रै प्रकाशकहरूलाई सबैभन्दा गाह्रो लाग्ने कुरा भनेको घरधनीसित कुरा थाल्नु हो। पक्कै पनि कुनै-कुनै इलाकामा कुरा थाल्नु चुनौतीपूर्ण हुन्छ। राम्ररी तयारी गरेर छोटो-मीठो तरिकामा आफ्नो प्रस्तुति सुरु गर्नु र यहाँ सँगैको पेटीमा भनिएजस्तै उपयुक्‍त तरिका अपनाएर पर्चा दिनु कोही-कोही प्रकाशकहरूलाई निकै सजिलो लाग्छ। पर्चाको शीर्षक वा यसको रंगीन चित्रले घरधनीको ध्यान खिच्न सक्छ। यसले गर्दा आफू आउनुको कारण छोटकरीमा बताउने र प्रश्‍न सोध्ने मौका पाउन सक्छौं। पर्चा प्रस्तुत गर्नुको एउटा विशेषता भनेको घरधनीलाई तीन/चारवटा पर्चा एकैचोटि देखाउनु र तिनलाई चासो लागेको विषय भएको पर्चा छान्‍न दिनु हो। निश्‍चय पनि हाम्रो लक्ष्य पर्चा दिनु वा हरेक घरमा पर्चा प्रयोग गर्नु मात्र नभई बाइबल अध्ययन सुरु हुनेगरि छलफल थाल्नु हो।

९. राम्रो तयारी किन महत्त्वपूर्ण छ?

जुनसुकै तरिका चलाए तापनि तयारी राम्रो छ भने तपाईंले नहडबडाइ उत्साहका साथ घर-घरमा प्रचार गर्न सक्नुहुनेछ। एक जना अग्रगामीले यसो भने: “तयारी राम्रो छ भने म अझ आनन्दित महसुस गर्छु। अनि आफूले तयार पारेको प्रस्तुति चलाएर मानिसहरूलाई प्रचार गरुँ-गरुँ लाग्छ।” अर्का एक अग्रगामीले यसो भने: “आफूले प्रस्तुत गर्ने प्रकाशनको विषयवस्तु थाह छ भने म ती चलाउन उत्साही हुन्छु।” आफूले भन्‍ने कुराबारे मनमनै तयारी गर्दा पनि फाइदा त हुन्छ तर स्वर निकालेरै अभ्यास गर्नु थुप्रैले अझ मदतकारी पाएका छन्‌। यसो गर्दा यहोवालाई सबैभन्दा उत्तम कुरा दिन तिनीहरूले मदत पाउँछन्‌।—कल. ३:२३; २ तिमो. २:१५.

१०. क्षेत्र सेवाको लागि गरिने सभा व्यावहारिक र लाभकारी बनाउन के गर्न सकिन्छ?

१० क्षेत्र सेवाको लागि गरिने व्यावहारिक सभाहरूले घर-घरको प्रचारकार्यको प्रभावकारिता र आनन्दमा योगदान पुऱ्‍याउँछ। त्यस दिनको दैनिक पद प्रचार गतिविधिसित सीधै सम्बन्धित छ भने त्यो पढेर छोटकरीमा छलफल गर्न सकिन्छ। तर, क्षेत्र सेवाको सभा सञ्चालन गर्ने भाइले इलाका सुहाउँदो सरल प्रस्तुति छलफल गर्न वा प्रदर्शन देखाउन अथवा त्यस दिन क्षेत्र सेवामा चलाउन सकिने अरू व्यावहारिक जानकारी छलफल गर्न पर्याप्त समय लिनुपर्छ। यसो गर्दा प्रचारमा जानेहरू प्रभावकारी ढंगमा साक्षी दिन अझ सुसज्जित हुनेछन्‌। सभा सञ्चालन गर्ने प्राचीन वा अरूले पहिल्यै राम्ररी तयारी गरेको छ भने यी सबै गरेर पनि तोकिएको समयमा सभा सिध्याउन सक्नेछन्‌।—रोमी १२:८.

सुन्‍नुको सकारात्मक पक्ष

११, १२. दयालु भई सुन्दा सुसमाचार कसरी मानिसहरूको हृदयसम्म पुग्न सक्छ? उदाहरण बताउनुहोस्‌।

११ राम्रो तयारीको सँगसँगै अरूमा गहिरो चासो लिंदा प्रचारमा बाइबल छलफल सुरु गर्न र मानिसहरूको हृदयसम्म पुग्न मदत मिल्छ। त्यस्तो चासो देखाउने एउटा तरिका तिनीहरूको कुरा राम्ररी सुनेर हो। एक जना परिभ्रमण निरीक्षकले यस्तो टिप्पणी गरे: “अरूको कुरा धीरजी भई ध्यान दिएर सुन्‍नु उनीहरूप्रति न्यानो व्यक्‍तिगत चासो देखाउने एउटा राम्रो तरिका हो र यसले मानिसहरूलाई सुसमाचारप्रति आकर्षित गर्छ।” दयालु भई सुन्दा घरधनीको मन छुन सक्छ र बाइबल छलफल गर्न तिनी अझ उत्प्रेरित हुन सक्छ। यो कुरा तल दिइएको अनुभवबाट स्पष्ट हुन्छ।

१२ फ्रान्सको सेन्ट-एट्यन सहरबाट प्रकाशित ला प्रोग्रे भन्‍ने समाचारपत्रमा एउटा खुला पत्र छापिएको थियो। उक्‍त पत्रमा, आफ्नी तीन महिनाकी छोरी बितेको केही समय नबित्दै दुई जना मानिस आफ्नो घरको ढोका ढकढक्याउन आए भनेर एउटी स्त्रीले लेखिन्‌। तिनले यस्तो लेखिन्‌: “उनीहरू यहोवाका साक्षीहरू हुन्‌ भन्‍ने कुरा मैले तुरुन्तै थाह पाइहालें। शिष्टतापूर्वक उनीहरूलाई पन्छाइहाल्ने विचार गरेकी थिएँ तर त्यत्तिकैमा मेरो आँखा उनीहरूको हातमा भएको पुस्तिकामा पऱ्‍यो। त्यो पुस्तिका परमेश्‍वरले किन दुःखकष्ट हुने अनुमति दिनुहुन्छ भन्‍ने विषयमा थियो। उनीहरूको तर्कलाई गलत साबित गर्ने उद्देश्‍यले मैले उनीहरूलाई भित्र बोलाउने निर्णय गरें। . . . साक्षीहरू एक घण्टाभन्दा अलि बढी बसे। उनीहरूले एकदमै दया देखाउँदै मेरो कुरा सुने र उनीहरू जानेबेलामा मैले यत्ति हल्का महसुस गरें कि म पुनःभेटको लागि राजी भएँ।” (रोमी १२:१५) समयको दौडान ती स्त्री बाइबल अध्ययन गर्न राजी भइन्‌। यहाँ के कुरा याद गर्न सक्छौं भने साक्षीहरू पहिलो चोटि आउँदा तिनले सम्झेको कुरा साक्षी बहिनीहरूले भनेको कुरा थिएन तर उनीहरूले कसरी तिनको कुरा सुने, त्यो थियो।

१३. व्यक्‍तिविशेषको आवश्‍यकताअनुसार हामीले सुसमाचारको प्रस्तुतिमा कसरी छाँटकाँट गर्न सक्छौं?

१३ दयालु भई कुरा सुन्दा हामीले वास्तवमा मानिसहरूलाई परमेश्‍वरको राज्य किन आवश्‍यक छ भनेर बताउने मौका दिइरहेका हुन्छौं। यसो गर्दा तिनीहरूलाई सुसमाचार सुनाउन हामीलाई झनै सजिलो हुन्छ। तपाईंले पनि सायद याद गर्नुभएको होला, प्रभावकारी प्रचारकहरू अक्सर राम्ररी सुन्‍ने गर्छन्‌। (हितो. २०:५) क्षेत्र सेवामा भेट्‌ने मानिसहरूप्रति तिनीहरू साँचो चासो देखाउँछन्‌। मानिसहरूको नाउँ र ठेगाना मात्र होइन तर तिनीहरूको चासो र आवश्‍यकता पनि नोट गर्छन्‌। कसैले कुनै खास विषयमा चिन्ता व्यक्‍त गर्दा तिनीहरू अनुसन्धान गर्छन्‌ र आफूले पत्ता लगाएको कुरा बताउन तुरुन्तै ती व्यक्‍तिकहाँ फर्केर जान्छन्‌। प्रेरित पावलले जस्तै तिनीहरूले पनि आफ्नो प्रस्तुति व्यक्‍तिविशेषको आवश्‍यकताअनुसार छाँटकाँट गर्छन्‌। (१ कोरिन्थी ९:१९-२३ पढ्‌नुहोस्‌) त्यसरी साँचो चासो देखाउँदा मानिसहरू सुसमाचारप्रति आकर्षित हुन्छन्‌ र “परमेश्‍वरको कोमल दया” पनि एकदमै राम्ररी झल्किन्छ।—लूका १:७८.

सकारात्मक मनोवृत्ति कायम राख्नुहोस्‌

१४. सेवकाईमा भाग लिंदा हामी कसरी यहोवाको गुण झल्काउन सक्छौं?

१४ यहोवाले हामी प्रत्येकलाई स्वतन्त्र इच्छा दिएर हाम्रो मोल गर्नुभएको छ। उहाँ सर्वोच्च परमेश्‍वर हुनुभए तापनि कसैलाई उहाँको सेवा गर्न जबरजस्ती गर्नुहुन्‍न तर प्रेम देखाएर मानिसहरूलाई खिच्नुहुन्छ र उहाँले गर्नुभएका अद्‌भुत प्रबन्धहरूप्रति कृतज्ञ हुनेहरूलाई आशिष्‌ दिनुहुन्छ। (रोमी २:४) हामी उहाँका सेवकहरू भएको नाताले सधैं दयालु परमेश्‍वरको नाउँ सुहाउँदो तरिकामा सुसमाचार प्रस्तुत गर्नुपर्छ। (२ कोरि. ५:२०, २१; ६:३-६) यसको लागि हामीले इलाकामा भेट्‌ने मानिसहरूप्रति सकारात्मक मनोवृत्ति कायम राख्नुपर्छ। यो चुनौतीको सामना गर्न हामीलाई केले मदत गर्न सक्छ?

१५. (क) मानिसहरूले सन्देश ग्रहण नगरेको खण्डमा के गर्न येशूले आफ्ना प्रेरितहरूलाई निर्देशन दिनुभयो? (ख) योग्यहरूलाई खोज्नमा ध्यान केन्द्रित गर्न कुन कुराले हामीलाई मदत गर्न सक्छ?

१५ येशूले आफ्ना अनुयायीहरूलाई कसैले सन्देश ग्रहण नगरेमा अनावश्‍यक रूपमा चिन्तित नभई बरु योग्यहरूलाई खोज्ने काममा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो। (मत्ती १०:११-१५ पढ्‌नुहोस्‌) यसको लागि हासिल गर्न सकिने स-साना लक्ष्यहरू राख्नु मदतकारी हुन सक्छ। एक जना भाइ आफूलाई सुन, तेल वा अन्य बहुमूल्य खनिज पदार्थको खोजकर्तासित तुलना गर्छन्‌। “म आज कुनै पनि समय सुन अर्थात्‌ योग्य व्यक्‍ति भेटाउने प्रतीक्षा गर्छु” भन्‍ने तिनको लक्ष्य छ। अर्का एक भाइको लक्ष्य भनेको “हरेक हप्ता एक जना राम्रो मानिस भेट्‌ने र तिनको चासो नसेलाउँदै केही दिनभित्रै फेरि भेट्‌न जाने” हो। केही प्रकाशकहरूले प्रत्येक घरधनीसित सम्भव भएसम्म एउटा भए पनि बाइबल पद पढ्‌ने लक्ष्य राख्छन्‌। तपाईं नि, कस्तो व्यावहारिक लक्ष्य राख्न सक्नुहुन्छ?

१६. प्रचार गरिरहने हामीसित कस्तो कारण छ?

१६ घर-घरको प्रचारकार्यको सफलता इलाकाका मानिसहरूको प्रतिक्रियामा मात्रै निर्भर हुँदैन। हो, इमानदार हृदय भएका मानिसहरूको उद्धारमा प्रचारकार्यको महत्त्वपूर्ण भूमिका छ तर यसले अरू महत्त्वपूर्ण उद्देश्‍यहरू पनि पूरा गर्छ। यहोवाप्रति आफ्नो प्रेम देखाउने मौका पाउँछौं। (१ यूह. ५:३) रक्‍तदोषी हुनबाट जोगिन सक्छौं। (प्रेरि. २०:२६, २७) अभक्‍तहरूलाई यसले “उहाँको [अर्थात्‌ परमेश्‍वरको] ठूलो इन्साफको समय आएको छ” भनी चेतावनी दिन्छ। (प्रका. १४:६, ७) तर सबैभन्दा महत्त्वपूर्ण भनेको सुसमाचारको प्रचारकार्य मार्फत सारा पृथ्वीमा परमेश्‍वरको नाउँको प्रशंसा भइरहेको छ। (भज. ११३:३) त्यसैले मानिसहरूले सुसमाचार सुनुन्‌ या नसुनुन्‌ हामीले परमेश्‍वरको राज्यको सन्देश घोषणा गरिरहनै पर्छ। साँच्चै, सुसमाचार सुनाउन हामीले गर्ने सबै प्रयास यहोवाको नजरमा सुन्दर छन्‌।—रोमी १०:१३-१५.

१७. चाँडै मानिसहरू के कुरा मानिलिन बाध्य हुनेछन्‌?

१७ आज थुप्रैले हाम्रो प्रचारकार्यको बेवास्ता गरे तापनि चाँडै यस कामलाई अर्कै नजरले हेर्न थाल्नेछन्‌। (मत्ती २४:३७-३९) इजकिएलले सुनाएको न्यायको सन्देश पूरा हुँदा इस्राएलको विद्रोही घरानाले “आफ्ना बीचमा एउटा अगमवक्‍ता ता रहेछन्‌ भन्‍ने कुरा जान्‍नेछन्‌” भनी यहोवाले तिनलाई आश्‍वासन दिनुभयो। (इज. २:५) त्यसैगरी जब परमेश्‍वरले वर्तमान रीतिरिवाज विरुद्ध न्याय ल्याउनुहुनेछ तब मानिसहरू यहोवाका साक्षीहरूले सार्वजनिक ठाउँमा र घर-घरमा गएर प्रचार गरेको सन्देश साँचो परमेश्‍वर यहोवाबाटकै रहेछ अनि तिनीहरू साँच्चै परमेश्‍वरको प्रतिनिधि रहेछन्‌ भनेर मानिलिन बाध्य हुनेछन्‌। यस निर्णायक घडीमा उहाँको नाउँ बहन गर्न र उहाँको सन्देश घोषणा गर्न पाउनु कस्तो सुअवसरको कुरा हो! उहाँको मदतमा भर पर्दै घर-घरको प्रचारकार्यमा आइपर्ने चुनौतीहरूको सामना गरिरहौं। (w 08 7/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• प्रचारकार्यमा तपाईं कसरी निर्भयी हुन सक्नुहुन्छ?

• घर-घरको सेवामा कुन कुराले बाइबल छलफल थाल्न मदत गर्न सक्छ?

• अरूप्रति साँचो चासो हामी कसरी देखाउन सक्छौं?

• आफ्ना इलाकाका मानिसप्रति सकारात्मक मनोवृत्ति कायम राख्न कुन कुराले मदत गर्न सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको पेटी/चित्र]

बाइबल छलफल सुरु गर्ने एउटा तरिका

सुरुमा:

◼ घरधनीलाई अभिवादन गरिसकेपछि तिनलाई एउटा पर्चा दिंदै यसो भन्‍न सक्नुहुन्छ, “म आज तपाईंकहाँ यो महत्त्वपूर्ण विषयमा एउटा राम्रो कुरा बताउन आएको।”

◼ अथवा पर्चा प्रस्तुत गर्दै यसो भन्‍न सक्नुहुन्छ: “यस विषयमा तपाईंको विचार के छ भनी म बुझ्न चाहन्छु। त्यसैले के तपाईंको दुई मिनेट समय लिन सक्छु होला?”

पर्चा स्वीकारेको खण्डमा:

◼ धेरै बेर नरोकी पर्चाको शीर्षकको सेरोफेरोमै रहेर घरधनीको विचार बुझ्ने खालको सरल प्रश्‍न सोध्नुहोस्‌।

◼ घरधनीको विचार बुझ्ने कोसिस गर्दै ध्यान दिएर सुन्‍नुहोस्‌। तिनले आफ्नो विचार व्यक्‍त गरेकोमा धन्यवाद दिनुहोस्‌ र छलफलको दौडान तिनले भनेको कुरालाई मनमा राख्नुहोस्‌।

छलफल जारी राख्न:

◼ घरधनीको चासो र आवश्‍यकताअनुसार प्रस्तुतिलाई छाँटकाँट गर्दै एउटा वा त्योभन्दा बढी बाइबल पद पढेर छलफल गर्नुहोस्‌।

◼ चासो देखाएको ठाउँमा साहित्य प्रस्तुत गर्नुहोस्‌ र सम्भव भए बाइबल अध्ययन कसरी गरिन्छ भनेर पनि देखाउनुहोस्‌। फेरि आउन समय मिलाउनुहोस्‌।