घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?
घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?
“दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्।”—प्रेरि. ५:४२.
१, २. (क) कुन तरिकामा गरिने प्रचारकार्यको लागि यहोवाका साक्षीहरू चिरपरिचित छन्? (ख) यस लेखमा हामी के छलफल गर्नेछौं?
पृथ्वीको प्रायः सबै ठाउँमा यो दृश्य चिरपरिचित छ। सुकिलो लुगा लगाएका दुई व्यक्तिले एउटा घरको ढोका ढकढक्याउँछन् र बाइबलबाट छोटकरीमा घरधनीलाई परमेश्वरको राज्यसम्बन्धी सन्देश सुनाउने प्रयास गर्छन्। घरधनीले चासो देखाएमा तिनीहरूले बाइबल आधारित प्रकाशन प्रस्तुत गर्न र निश्शुल्क गृह बाइबल अध्ययनको प्रस्ताव राख्न सक्छन्। त्यसपछि तिनीहरू अर्को घरमा जान्छन्। यस काममा तपाईंले भाग लिनुभएको छ भने सायद अनुभव गर्नुभएकै होला—आफूले केही भन्नुअघि नै तपाईं यहोवाको साक्षी हो भनेर मानिसहरूले चिनिहाल्छन्। हो, घर-घरको प्रचारकार्य हाम्रो चिनारी नै भइसक्यो।
२ प्रचार गर्नू र चेला बनाउनू भन्ने येशूको आज्ञा पूरा गर्न हामी विभिन्न तरिका चलाउँछौं। (मत्ती २८:१९, २०) बजार, दोबाटो र अन्य सार्वजनिक स्थलमा प्रचार गर्छौं। (प्रेरि. १७:१७) टेलिफोन र पत्राचार गरेर पनि थुप्रैलाई प्रचार गर्छौं। आफ्नो दिनचर्यामा भेट्ने मानिसहरूलाई बाइबलका सत्य कुराहरू सुनाउँछौं। हाम्रो आधिकारिक वेब-साइट पनि छ जहाँ ३०० भन्दा बढी भाषामा बाइबल आधारित जानकारी उपलब्ध छ। a यी सबै तरिकाबाट राम्रा-राम्रा नतिजा प्राप्त हुन्छ। तर अधिकांश ठाउँमा सुसमाचार प्रचार गर्ने हाम्रो मुख्य तरिका भनेको घर-घरको प्रचार नै हो। यसको आधार के हो? यो तरिका अपनाएर वर्तमान समयमा यहोवाका जनहरूले व्यापक प्रचार गर्न थाल्नुको कारण के हो? अनि अहिले यो किन महत्त्वपूर्ण छ?
प्रेरितहरूको तरिका
३. प्रचार गर्ने सन्दर्भमा येशूले प्रेरितहरूलाई कस्तो निर्देशन दिनुभयो र यसबाट तिनीहरूले कसरी प्रचार गर्नुपर्थ्यो भन्नेबारे के देखिन्छ?
३ घर-घरमा गएर प्रचार गर्ने तरिका धर्मशास्त्रमा आधारित छ। प्रेरितहरूलाई येशूले यस्तो निर्देशन दिंदै प्रचारमा पठाउनुभयो: “जुन शहर कि गाउँमा तिमीहरू पसौला, त्यसमा ‘को योग्य छ?’ भनी सोधपूछ गर।” तिनीहरूले योग्य मानिसहरूलाई कसरी खोज्नुपर्थ्यो? येशूले यसो भन्दै तिनीहरूलाई मानिसहरूको घरमा जान भन्नुभयो: “घरभित्र पस्ता त्यसलाई अभिवादन गर, औ त्यो घर योग्य रहेछ भने, तिमीहरूको शान्ति त्यसमाथि रहोस्।” मानिसहरूले घरमा आउन निमन्त्रणा नदिए पनि के प्रेरितहरू उनीहरूको घरमा जानुपर्ने थियो? येशूले अझ के भन्नुभयो ध्यान दिनुहोस्: “जसले तिमीहरूलाई ग्रहण नगर्ला, र तिमीहरूको बात नसुन्ला त्यस घर अथवा शहरबाट निस्कँदा तिमीहरूका खुट्टाको धूलो टक्टकाइदेओ।” (मत्ती १०:११-१४) प्रेरितहरू ‘सुसमाचार प्रचार गर्दै गाउँ-गाउँहुँदो’ जाँदा तिनीहरू आफै अग्रसर भई मानिसहरूको घर-घरमा जानुपर्थ्यो भनी यी निर्देशनहरूबाट स्पष्ट हुन्छ।—लूका ९:६.
४. घर-घरको प्रचारकार्यबारे बाइबलमा स्पष्टै कहाँ बताइएको छ?
४ प्रेरितहरूले घर-घरमा गएर प्रचार गर्थे भनी बाइबलमा स्पष्टै बताइएको छ। उदाहरणको लागि, प्रेरित ५:४२ मा तिनीहरूबारे यसो भनिएको छ: “दिनदिनै तिनीहरूले मन्दिरमा र घर-घरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्।” झन्डै २० वर्षपछि प्रेरित पावलले एफिसस मण्डलीका बूढा प्रधानहरूलाई यसरी सम्झना दिलाए: “तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूलाई देखाइदिन र घर-घरमा खुल्लमखुल्ला सिकाउन, . . . म पछि हटिनँ।” के पावल ती बूढा प्रधानहरूलाई तिनीहरू विश्वासी हुनुअघि पनि भेट्न गएका थिए? गएको हुनुपर्छ किनभने तिनले सिकाएका थुप्रै कुरामा “परमेश्वरतिरको पश्चातापको, र हाम्रा प्रभु येशू ख्रीष्टतिरको विश्वास” पनि समावेश थियो। (प्रेरि. २०:२०, २१) एउटा प्रकाशन (रबर्टसन्सको वर्ड पिक्चर्स इन द न्यु टेस्टामेन्ट) प्रेरित २०:२० बारे टिप्पणी गर्दै यस्तो भन्छ: “सबैभन्दा विशिष्ट यस प्रचारकले घर-घरमा गएर प्रचार गरेको कुरा उल्लेखनीय छ।”
वर्तमान समयका सलहको सैन्यदल
५. योएलको भविष्यवाणीमा प्रचारकार्यलाई कसरी चित्रण गरिएको छ?
५ प्रथम शताब्दीको साक्षीकार्य हाम्रो समयमा गरिने विस्तृत कार्यको केवल पूर्वझलक थियो। अभिषिक्त ख्रीष्टियानहरूले गर्ने प्रचारकार्यलाई अगमवक्ता योएलले सलहलगायत अन्य किराले ल्याउने विपत्तिजनक महामारीसित तुलना गरे। (योए. १:४, NW) सलह सिपाहीजस्तै अगाडि लम्कन्छ, आफूअघि आउने बाधा-अड्चनलाई हटाउँछ, घरभित्र पस्छ अनि आफ्नो अगाडि परेको सबै कुरा स्वाहा पार्छ। (योएल २:२, ७-९ पढ्नुहोस्) वर्तमान समयमा परमेश्वरका जनहरूले लगनशीलताका साथ विस्तृत तवरमा गरिरहेको साक्षीकार्यको कस्तो जीवन्त चित्रण! यस भविष्यसूचक चित्रण पूरा गर्न अभिषिक्त ख्रीष्टियान र “अरू भेडा”-का सँगी विश्वासीहरूले प्रयोग गरिरहेका मुख्य तरिका घर-घरमा गएर प्रचार गर्नु नै हो। (यूह. १०:१६) हामी यहोवाका साक्षीहरूले प्रेरितहरूको प्रचार गर्ने यस तरिकालाई कसरी अपनाउन थाल्यौं?
६. सन् १९२२ मा घर-घरको प्रचारकार्य गर्ने कुरालाई कस्तो प्रोत्साहन दिइयो तर कसै-कसैले कस्तो प्रतिक्रिया देखाए?
६ प्रत्येक ख्रीष्टियानले साक्षीकार्यमा भाग लिनुपर्ने कुरालाई सन् १९१९ देखि यता जोड दिंदै आएको छ। उदाहरणको लागि, “छापिएको सन्देशलाई सक्रियता साथ मानिसहरूकहाँ पुऱ्याउनु र तिनीहरूको ढोकामै गएर स्वर्गको राज्य नजिकै छ भनी बताउनुको” महत्त्वबारे अभिषिक्त ख्रीष्टियानहरूलाई अगस्त १५, १९२२ को वाचटावर-मा “सेवा अत्यावश्यक” भन्ने शीर्षकको लेखमा सम्झाइएको थियो। त्यतिबेला बुलेटिन भनेर चिनिने हाम्रो राज्य सेवकाई-मा विस्तृत प्रस्तुतिहरू दिइएको थियो। तैपनि घर-घरमा गएर प्रचार गर्नेहरूको संख्या सुरुमा थोरै थियो। कोही-कोही यस कामबाट पन्छिए। तिनीहरूले विभिन्न आपत्ति जनाए तापनि खास समस्या भनेको घर-घरमा गएर प्रचार गर्दा आफ्नो इज्जतमा धक्का पुग्छ भन्ने थियो। क्षेत्र सेवालाई झन्-झन् जोड दिंदै जाँदा त्यस्ता थुप्रै व्यक्तिले बिस्तारै यहोवाको संगठनसित नाता तोडे।
७. सन् १९५० मा कस्तो आवश्यकता स्पष्ट भयो?
७ त्यसपछिका दशकहरूमा प्रचारमा जानेहरूको संख्या बढ्दै गयो। तर के स्पष्ट भयो भने, घर-घरमा गएर प्रचार गर्न थप तालिमको आवश्यकता थियो। उदाहरणको लागि अमेरिकाको परिस्थितिलाई लिनुहोस्। सन् १९५० दशकको सुरुतिर २८ प्रतिशत साक्षीले आफ्नो प्रचार गतिविधि हातेपर्ची बाँड्ने वा पत्रिका लिएर सडकमा उभिनेमै सीमित राखे। अनि प्रचारकार्यमा ४० प्रतिशतभन्दा धेरै अनियमित थिए, प्रचारकार्यमा एकचोटि पनि भाग नलिई महिनौं बिताउँथे। सबै समर्पित ख्रीष्टियानहरूलाई घर-घरमा गएर प्रचार गर्न कस्तो मदत दिन सकिन्थ्यो?
८, ९. सन् १९५३ मा कस्तो तालिम कार्यक्रम सुरु गरियो र कस्तो नतिजा प्राप्त भयो?
८ न्यु योर्क सहरमा आयोजित सन् १९५३ को अन्तरराष्ट्रिय अधिवेशनमा घर-घरको प्रचारकार्यले विशेष महत्त्व पायो। सबै ख्रीष्टियान निरीक्षकहरूको मुख्य काम भनेको प्रत्येक साक्षीलाई घर-घरको प्रचारकार्यमा नियमित सेवक बन्न मदत गर्ने हुनुपर्छ भनी भाइ नेथन एच. नोरले घोषणा गरे। तिनले यसो भने: “प्रत्येक ख्रीष्टियान घर-घरमा गएर सुसमाचार प्रचार गर्न सक्ने हुनुपर्छ।” यस लक्ष्य प्राप्त गर्न संसारभरि तालिम कार्यक्रम सुरु गरियो। त्यतिबेला सम्म प्रचारकार्यमा भाग नलिएकाहरूलाई घर-घरमा गएर मानिसहरूलाई भेट्न, तिनीहरूसित बाइबलबाट तर्क गर्न र तिनीहरूले सोध्ने प्रश्नको जवाफ दिन तालिम दिइयो।
९ यस तालिम कार्यक्रमबाट उल्लेखनीय नतिजा प्राप्त भयो। दस वर्षको अवधिमा संसारभरि प्रकाशक, पुनःभेट र बाइबल अध्ययनको संख्यामा क्रमशः १००, १२६ र १५० प्रतिशतले वृद्धि भयो। आज संसारभरि झन्डै ७० लाख राज्य प्रकाशकहरूले सुसमाचार प्रचार गर्दैछन्। यो उल्लेखनीय वृद्धि, घर-घरको प्रचारकार्यमा यहोवाका जनहरूले गरेको प्रयासमा उहाँले आशिष् दिइरहनुभएको छ भन्ने प्रमाण हो।—यशै. ६०:२२.
बचाउको लागि मानिसहरूलाई चिह्न लगाउने
१०, ११. (क) इजकिएल अध्याय ९ मा बताइएअनुसार इजकिएलले कस्तो दर्शन पाए? (ख) हाम्रो समयमा त्यो दर्शन कसरी पूरा भइरहेको छ?
१० घर-घरको प्रचारकार्यको महत्त्व अगमवक्ता इजकिएलले पाएको दर्शनबाट थाह पाउन सकिन्छ। त्यस दर्शनमा इजकिएलले छ जना मानिसले हातमा हतियार लिएको र सातौं मानिसले चाहिं मिहिन कपडा लाएको र कम्मरमा सीङको मसीदानी भिरेको देख्छन्। सातौं मानिसलाई ‘शहरभित्र चारैतिर’ गएर “त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निधार-निधारमा चिन्ह” लगाउन भनिन्छ। निधारमा चिह्न लगाउने काम सकिएपछि हतियार बोकेका ती छ जनालाई चिह्न नलगाइएका सबैलाई मार्न भनिन्छ।—इजकिएल ९:१-६ पढ्नुहोस्।
११ यस भविष्यवाणीको पूर्तिमा “मिहिन कपडा” लाएको मानिसले पृथ्वीमा बाँकी रहेका अभिषिक्त ख्रीष्टियानहरूलाई बुझाउँछ भनेर हामीले बुझेका छौं। अभिषिक्त जनले प्रचार र चेला बनाउने काम मार्फत ख्रीष्टका “अरू भेडा”-को भाग हुनेहरूका निधारमा प्रतीकात्मक चिह्न लगाइदिन्छन्। (यूह. १०:१६) यो चिह्न के हो? त्यस्ता भेडा खाले नम्र व्यक्तिहरू येशू ख्रीष्टका समर्पित र बप्तिस्माप्राप्त चेलाहरू हुन् अनि तिनीहरूले ख्रीष्टको जस्तो नयाँ व्यक्तित्व धारण गरेका छन् भन्ने कुराको प्रमाण हो यो चिह्न, मानौं यो प्रमाण तिनीहरूको निधारमा छर्लंगै देख्नेगरि लगाइएको छ। (एफि. ४:२०-२४) यी भेडा खाले नम्र व्यक्तिहरू अभिषिक्त ख्रीष्टियानहरूसँग एउटै बगालका हुन्छन् र अझै अरूलाई चिह्न लगाउने एकदमै महत्त्वपूर्ण काममा मदत पुऱ्याउँछन्।—प्रका. २२:१७.
१२. इजकिएलको दर्शनमा बताइएको चिह्न लगाउने कामले भेडा खाले नम्र व्यक्तिहरू खोज्न अहिले भइरहेको कामको महत्त्वलाई कसरी प्रकाश पार्छ?
१२ अहिले भइरहेको “शोक र विलाप गर्ने” मानिसहरूलाई खोज्ने काम अत्यन्तै जरुरी हुनुको एउटा कारण इजकिएलको दर्शनमा प्रकाश पारिएको छ। यसमा जीवन मुछिएको छ। अब चाँडै, हतियार बोकेका छ जना मानिसले प्रतिनिधित्व गर्ने यहोवाको न्यायदण्ड ल्याउने स्वर्गीय सेनाले प्रतीकात्मक चिह्न नलगाएकाहरूलाई नाश गर्नेछन्। प्रभु येशूले “शक्तिशाली स्वर्गदूतहरूसँग” मिलेर परमेश्वरलाई “नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई . . . दण्ड दिनुहुन्छ” भनी आउनै लागेको त्यस न्यायदण्डबारे प्रेरित पावलले लेखे। (२ थिस्स. १:७, ८, NRV) याद गर्नुहोस्, मानिसहरूले सुसमाचारप्रति कस्तो प्रतिक्रिया देखाउँछन् त्यसको आधारमा न्याय गरिनेछ। त्यसैले परमेश्वरको सन्देशको घोषणा अन्तसम्मै निरन्तर गरिरहनुपर्छ। (प्रका. १४:६, ७) यो कारणले गर्दा यहोवाका समर्पित जनहरूको काँधमा ठूलो जिम्मेवारी आइपरेको छ।—इजकिएल ३:१७-१९ पढ्नुहोस्।
१३. (क) प्रेरित पावलले कस्तो जिम्मेवारी महसुस गरे र किन? (ख) आफ्नो इलाकाका मानिसहरूप्रति तपाईं कस्तो जिम्मेवारी महसुस गर्नुहुन्छ?
१३ अरूलाई सुसमाचार सुनाउनु व्यक्तिगत जिम्मेवारी हो भनेर प्रेरित पावलले महसुस गरे। तिनले यस्तो लेखे: “ग्रीकहरू र अरू भाषा बोल्नेहरू दुवैको, औ बुद्धिमान र निर्बुद्धिहरूको पनि म ऋणी छु। यसैले सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म तयार छु।” (रोमी १:१४, १५) आफूप्रति देखाइएको दयाको लागि पावल कृतज्ञ थिए। यही कारणले गर्दा आफूले झैं अरूले पनि परमेश्वरको अनुग्रहबाट लाभ उठाउन सकून् भनेर तिनीहरूलाई मदत गर्न पावलले बाध्य भएको महसुस गरे। (१ तिमो. १:१२-१६) तिनको लागि यो, भेटेजति हरेक व्यक्तिसित ऋण लिएसरह थियो र तिनले त्यो ऋण सुसमाचार सुनाएर मात्र चुक्ता गर्न सक्थे। आफ्नो इलाकाका मानिसहरूप्रति के तपाईं पनि त्यस्तै ऋणी महसुस गर्नुहुन्छ?—प्रेरित २०:२६, २७ पढ्नुहोस्।
१४. सार्वजनिक रूपमा र घर-घरमा गएर प्रचार गर्नुको सबैभन्दा मुख्य कारण के हो?
१४ प्रचारकार्यद्वारा मानव जीवन बचाउनु महत्त्वपूर्ण छ तर घर-घरमा गएर प्रचार गर्नुको त्योभन्दा पनि धेरै महत्त्वपूर्ण अर्को एउटा कारण छ। मलाकी १:११ (NRV) मा लिपिबद्ध भविष्यवाणीमा यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “सूर्योदयदेखि सूर्यास्तसम्म जाति-जातिहरूका बीचमा मेरो नाउँ महान् हुनेछ। . . . मेरै नाउँमा . . . शुद्ध भेटी ल्याइनेछन्, किनकि जाति-जातिहरूका बीचमा मेरो नाउँ महान् हुनेछ।” यस भविष्यवाणीको पूर्तिमा यहोवाका समर्पित सेवकहरूले नम्र भई सेवकाईको जिम्मेवारी पूरा गरेर संसारभरि सार्वजनिक रूपमा उहाँको नाउँको प्रशंसा गर्दैछन्। (भज. १०९:३०; मत्ती २४:१४) सार्वजनिक रूपमा र घर-घरमा गएर प्रचार गर्नुको मुख्य कारण यहोवालाई “स्तुतिको बलिदान” चढाउनु हो।—हिब्रू १३:१५.
निर्णायक घडी नजिकै
१५. (क) सातौं दिनमा इस्राएलीहरूले यरीहो सहर फन्को मार्दा आफ्नो गतिविधिलाई कसरी बढाए? (ख) यसले हाम्रो समयमा गरिने प्रचारकार्यबारे के संकेत गर्छ?
१५ प्रचारकार्य सम्बन्धी कस्ता घटनाहरू हुन अझै बाँकी छन्? यहोशूको पुस्तकमा लिपिबद्ध यरीहो सहरलाई घेरा हाल्दाको घटना उदाहरणको रूपमा लिन सकिन्छ। यरीहो सहर नाश गर्नुअघि इस्राएलीहरूलाई छ दिनसम्म दिनदिनै सहरलाई एकचोटि फन्को मार्न भनिएको कुरा सम्झनुहोस्। तर सातौं दिनमा एकचोटि फन्को मारेर मात्र पुग्दैन थियो। यहोवाले यहोशूलाई यस्तो भन्नुभयो: “सातौं दिनमा तिमीहरू त्यो शहर सात चोटि घुम्नू, र पूजाहारीहरूले तुरही फुकून्। . . . अनि जब तिनीहरूले भेडाको सीङको तुरही . . . फुक्लान् . . . तब सबै जना ठूलो सोरले कराऊन्। अनि शहरको पर्खाल फेदसम्मै ढल्नेछ।” (यहो. ६:२-५) हाम्रो प्रचार गतिविधिमा पनि त्यस्तै वृद्धि हुनेछ भनेर आशा गर्न सकिन्छ। पक्कै पनि, वर्तमान दुष्ट रीतिरिवाजको विनाश हुने समयसम्ममा यस संसारको इतिहासमा पहिला कहिल्यै नभएको परमेश्वरको नाउँ र उहाँको राज्यको सबैभन्दा महान् साक्षीकार्य देख्नेछौं।
१६, १७. (क) “महा संकष्ट” सिद्धिनुअघि के कुरा पूरा हुनेछ? (ख) अर्को लेखमा के छलफल गरिनेछ?
१६ हामीले घोषणा गर्ने सन्देश युद्धको आवाजजस्तै “ठूलो सोरले” सुनिने समय पनि आउन सक्छ। प्रकाशको पुस्तकमा न्यायको शक्तिशाली सन्देशलाई “मन मन तौल भएका ठूला ठूला असिना”-को रूपमा चित्रण गरिएको छ। b अनि प्रकाश १६:२१ मा यस्तो बताइएको छ: “त्यो विपत्ति ज्यादैनै ठूलो थियो।” परमेश्वरको अन्तिम न्यायको सन्देश घोषणा गर्ने काममा घर-घरको प्रचारकार्यले कस्तो भूमिका खेल्नेछ भनेर हेर्न त बाँकी नै छ। तर “महा संकष्ट” सिद्धिनुअघि यहोवाको नाउँलाई मानव इतिहासमा पहिला कहिल्यै नगरिएको तरिकामा चिनाइनेछ भनेर चाहिं हामी पक्का हुन सक्छौं।—प्रका. ७:१४; इज. ३८:२३.
१७ आउनै लागेको निर्णायक घडीलाई पर्खंदै परमेश्वरको राज्यको सुसमाचार जोसका साथ प्रचार गरिरहौं। यो जिम्मेवारी पूरा गर्दा घर-घरको प्रचारकार्यमा कस्ता चुनौतीहरू आइपर्छन् र ती चुनौतीहरूको हामी कसरी सामना गर्न सक्छौं? यी प्रश्नहरूलाई यसपछिको लेखमा छलफल गरिनेछ। (w08 7/15)
[फुटनोटहरू]
a वेब-साइटको ठेगाना हो: www.watchtower.org
b यहाँ युनानी तौल ट्यालेन्टलाई संकेत गरिएको हो भने प्रत्येक असिनाको तौल झन्डै २० किलो हुन्छ।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• घर-घरमा गएर प्रचार गर्नुको धर्मशास्त्रीय आधार के हो?
• वर्तमान समयमा घर-घरको प्रचारकार्यलाई कसरी जोड दिइयो?
• यहोवाका समर्पित सेवकहरूको काँधमा प्रचार गर्ने जिम्मेवारी छ, किन?
• कस्तो निर्णायक घडी नजिकै छ?
[प्रश्नहरू]
[पृष्ठ १०-मा भएको चित्र]
के तपाईं पनि अरूलाई प्रचार गर्न प्रेरित पावलले जस्तै जिम्मेवारी महसुस गर्नुहुन्छ?
[पृष्ठ ११-मा भएको चित्र]
भाइ नोर, १९५३