सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नूह र जलप्रलय वास्तविक हो, काल्पनिक होइन

नूह र जलप्रलय वास्तविक हो, काल्पनिक होइन

नूह र जलप्रलय वास्तविक हो, काल्पनिक होइन

के तपाईं सुन्दर संसारको चाह गर्नुहुन्छ जहाँ मानिसहरू एकआपसमा मिलेर बस्छन्‌? त्यस्तो संसार जहाँ युद्ध, अपराध अनि शोषण हुँदैन। यदि त्यसो हो भने तपाईंले एउटा ऐतिहासिक विवरणबाट प्रोत्साहन पाउन सक्नुहुन्छ। सायद त्यो विवरण तपाईंलाई पनि राम्ररी थाह छ होला? त्यो विवरण हो—एक जना साँच्चै असल व्यक्‍ति नूहको। तिनले एउटा जहाज बनाए। त्यस जहाजले गर्दा तिनी र तिनको परिवार दुष्टहरू नाश भएको विश्‍वव्यापी जलप्रलयबाट बचेका थिए।

नूहको विवरण जस्तो प्रायः सबैलाई थाह भएको कथा अरू कमै होला। नूहलाई के भएको थियो त्यसको विवरण हामी बाइबलको पुस्तक उत्पत्ति अध्याय ६ देखि ९ मा पाउन सक्छौं। अनि यसलाई कुरान र पृथ्वीभरि रहेका अनगिन्ती मानिसहरूका पौराणिक कथाहरूमा पनि बताइएको छ। उदाहरणको लागि, हिन्दू लोककथामा पनि मनु नाउँको व्यक्‍तिलाई ऊ आफै र अन्य सप्तऋषिलाई जलप्रलयबाट बचाउन जहाज बनाउन भनिएको थियो। के जलप्रलय साँच्चै भएको थियो अथवा यो मानिसहरूलाई जे सही छ त्यो गर्न प्रोत्साहन दिन रचिएको रूपक-कथा मात्र हो? यसबारे धर्मविद्‌ र वैज्ञानिकहरूले शताब्दीयौंदेखि विवाद गर्दै आएका छन्‌। तर परमेश्‍वरको वचन बाइबलमा जलप्रलय काल्पनिक होइन, वास्तवमै भएको थियो भनेर स्पष्ट पारिएको छ। निम्न कुरालाई विचार गर्नुहोस्‌:

उत्पत्तिको विवरणमा जलप्रलय सुरु भएको वर्ष, महिना र दिन तोकेरै बताइएको छ। साथै, जहाज कहिले र कहाँ अडियो अनि पानी कहिले सुक्यो त्यसबारे पनि बताइएको पाउँछौं। जहाजको बनोट, नापजोख र यो बनाउन प्रयोग गरिएको सर-सामग्रीको विस्तृत विवरण पनि स्पष्टै दिइएको छ। तर यसको ठीक विपरीत लोककथाको विवरण भने अस्पष्ट हुन्छ।

बाइबलमा बताइएको दुई वटा वंशावली विवरणले नूह वास्तविक व्यक्‍ति हो भन्‍ने प्रमाण दिन्छ। (१ इतिहास १:४; लूका ३:३६) यो वंशावली संकलन गर्ने एज्रा र लूका दुवै होसियारसाथ अनुसन्धान गर्ने व्यक्‍ति थिए। लूका, येशू ख्रीष्टको वंशवली पत्ता लगाउँदै नूहसम्म पुगे।

नूह र जलप्रलयबारे अगमवक्‍ता यशैया, इजकिएल अनि ख्रीष्टियान प्रेरितहरू पावल र पत्रुसले पनि उल्लेख गरेका छन्‌।—यशैया ५४:९; इजकिएल १४:१४, २०; हिब्रू ११:७; १ पत्रुस ३:१९, २०; २ पत्रुस २:५.

येशू ख्रीष्टले जलप्रलयबारे संकेत गर्दै यसो भन्‍नुभएको थियो: “जस्तै नूहका दिनमा भएको थियो, त्यस्तै मानिसको पुत्रका दिनमा पनि हुनेछ। नूह जहाजमा प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए, र पानीको बाढी आएर सबैलाई नष्ट पाऱ्‍यो।” (लूका १७:२६, २७) यदि जलप्रलय नभएको हुँदो हो त “मानिसको पुत्रका दिन”-बारे येशूको भनाइ अर्थहीन हुनेथियो।

बाइबलको कुरालाई हाँसोमा उडाएर “गिल्ला गर्नेहरू” हुनेछन्‌ भनी प्रेरित पत्रुसले बताएका थिए। तिनले लेखे: “जानी-बुझीकन पनि तिनीहरू यस कुराको वास्ता गर्दैनन्‌, कि . . . पानीबाट [नूहको] समयको संसार जलप्रलयमा डुबेर नष्ट भयो।” के हामीले “यस कुरा”-लाई बेवास्ता गर्नु मिल्छ त? अँह, पटक्कै मिल्दैन। पत्रुसले अझै यसो भने: “भक्‍तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँचिराखिएका छन्‌।”—२ पत्रु. ३:३-७, NRV.

फेरि एकचोटि परमेश्‍वरले दुष्टहरूलाई नाश गर्नुहुनेछ र त्यतिबेला पनि बच्ने मानिसहरू हुनेछन्‌। नूहको उदाहरण अनुकरण गऱ्‍यौं भने हामी पनि सुन्दर संसारमा प्रवेश गर्ने धर्मीहरूमध्ये हुन सक्नेछौं। (w08 6/1)