सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“बढाउने परमेश्‍वरनै हुनुहुन्छ”!

“बढाउने परमेश्‍वरनै हुनुहुन्छ”!

“बढाउने परमेश्‍वरनै हुनुहुन्छ”!

“नता रोप्ने केही हो, न पानी हाल्ने, बढाउने परमेश्‍वरनै हुनुहुन्छ।”—१ कोरि. ३:७.

१. कुन काममा हामी “परमेश्‍वरका सहकर्मी” हौं?

 “परमेश्‍वरका सहकर्मी।” यसरी पावलले हामी सबैले पाउन सक्ने एक सुअवसरलाई वर्णन गरे। (१ कोरिन्थी ३:५-९ पढ्‌नुहोस्‌) पावलले बताएको त्यो सुअवसर चेला बनाउने काम हो। तिनले यसलाई बीउ छर्नु र पानी हाल्नुसित दाँजे। यस महत्त्वपूर्ण काममा सफल हुने हो भने हामीलाई यहोवाको मदत चाहिन्छ। “बढाउने परमेश्‍वरनै हुनुहुन्छ” भनी पावल हामीलाई स्मरण गराउँछन्‌।

२. “बढाउने परमेश्‍वरनै हुनुहुन्छ” भन्‍ने तथ्यले गर्दा किन हामी सेवकाईप्रति सही दृष्टिकोण राख्न सक्छौं?

नम्र तुल्याउने यस तथ्यले हामीलाई सेवकाईप्रति सही दृष्टिकोण राख्न मदत गर्छ। हामी प्रचार गर्ने र सिकाउने काममा लगनशील भई लागौंला तर नयाँ चेला बनेमा अन्ततः सबै श्रेय चाहिं यहोवालाई नै जान्छ। किन? किनभने जत्ति नै प्रयास गरे पनि यो बढ्‌ने प्रक्रिया अर्थात्‌ नयाँ चेला कसरी बन्छ भन्‍ने कुरा हामी पूर्णतया बुझ्न सक्दैनौं, यसलाई वशमा राख्ने कुरा त परै जाओस्‌। यो कुरा राजा सुलेमानले सही तरिकामा यसरी व्यक्‍त गरे: “सबै थोक सृजनुहुने परमेश्‍वरका कामलाई तैंले जान्दैनस्‌।”—उप. ११:५.

३. चेला बनाउने काम र बीउ छर्ने कामबीच कस्तो समानता छ?

बढ्‌ने प्रक्रिया बुझ्न असमर्थ भएकोले गर्दा के हाम्रो काम दिक्कलाग्दो बनेको छ? अहँ, छैन। बरु, हाम्रो काम रोमाञ्चक र रोचक बनेको छ। राजा सुलेमानले यसो भने: “बिहान समयमानै बीउ छर्‌, र बेलुकी साँझसम्म आफ्नो काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरै छरेको कुनचाहिं सफल हुन्छ, अथवा दुवैनै राम्रो हुन्छन्‌ होला भनी तँ जान्दैनस्‌।” (उप. ११:६) हो, बीउ छर्ने कुराबारे भन्‍नुपर्दा, छरेपछि त्यो बीउ कहाँ उम्रिन्छ वा उम्रन्छ/उम्रन्दैन हामी जान्दैनौं। थुप्रै कुरा हाम्रो वशभन्दा बाहिर हुन्छ। चेला बनाउने कामबारे पनि यसै भन्‍न सकिन्छ। यस तथ्यलाई येशूले दुइटा उखानमा जोड दिनुभयो। ती उखानहरू हाम्रो निम्ति भनेर मर्कूसको किताबको चौथो अध्यायमा रेकर्ड गरिएका छन्‌। ती उखानबाट हामी के सिक्न सक्छौं, आउनुहोस्‌ हेरौं।

बेग्लाबेग्लै किसिमको जमिन

४, ५. मर्कूस ४:१-९ मा बताइएको बीउ छर्नेको उखान छोटकरीमा बताउनुहोस्‌।

मर्कूस ४:१-९ को विवरणमा येशू बीउ छर्ने व्यक्‍तिबारे बताउनुहुन्छ जसले बीउ छर्छ र त्यो विभिन्‍न ठाउँमा पर्छ। विवरण यस्तो छ: “सुन, हेर, बीउ छर्ने छर्नालाई निस्क्यो। औ यसो भयो, कि छर्दाखेरि केही बीउ बाटोतिर परे, र चरा-चुरुङ्‌गीहरूले आएर खाइहाले। केही ढुङ्‌गेनी ठाउँमा परे, जहाँ धेरै माटो थिएन, र माटोको गहिराइ नहुनाले त्यो छिट्टै उम्रयो। जब घाम झुल्क्यो त्यो ओइलायो, र त्यसको जरा नहुनाले सुकिहाल्यो। [केहीचाहिं] काँढाहरूका बीचमा परे, तर काँढाहरू बढेर आएर, र त्यसलाई निसासिदिए, र त्यसले फल दिएन। [केही] असल जमीनमा परे, र उम्रँदै र बढ्‌दै गएर तीस गुणा, र साठी गुणा, र सय गुणा फल दिए।”

बाइबल समयमा साधारणतया बीउ छर्दा पर-परसम्म पर्नेगरि छरिन्थ्यो। बीउ छर्नेले पोल्टोमा वा थैलोमा बीउ बोकेको हुन्थ्यो र पर-परसम्म पुग्नेगरि छर्थ्यो। त्यसैले, यस उखानमा बीउ छर्नेले जानाजानी बीउलाई बेग्लाबेग्लै जमिनमा पर्नेगरि छर्दैन। बरु, छरिएको बीउ नै विभिन्‍न ठाउँमा पर्छ।

६. बीउ छर्नेको उखानको येशूले कसरी व्याख्या गर्नुभयो?

यस उखानको अर्थ के होला भनी हामीले अन्दाज लगाउनुपर्दैन। मर्कूस ४:१४-२० को विवरणमा रेकर्ड गरिएअनुसार येशूले त्यसको व्याख्या यसरी गर्नुभयो: “बीउ छर्नेले वचन छर्दछ। बाटोतिर छरिएका वचन यिनै हुन्‌, जब तिनीहरूले सुन्छन्‌, तब, तुरुन्तै शैतान आउँछ, र तिनीहरूमा छरिएको वचन लगिहाल्छ। औ त्यसैगरी ढुङ्‌गेनी ठाउँमा छरिएकाहरू यिनै हुन्‌, जसले जब वचन सुन्छ, तब खुशी साथ तुरुन्तै त्यो ग्रहण गर्छ। तिनको आफैमा जरा हुँदैन, र ती थोरै बेर टिक्छन्‌, तर जब वचनको कारण संकट वा खेदो आइपर्छ तब तुरुन्तै ठक्कर खान्छन्‌। अरूहरू चाहिं ती हुन्‌, जो काँढाहरूका बीचमा छरिएका हुन्छन्‌, यी तिनै हुन्‌, जसले वचन सुनेका हुन्छन्‌, औ जगत्‌का चिन्ता र धनको धोका र अरू थोकका लालचभित्र पसी वचनलाई निसासिदिन्छन्‌, र त्यो नफल्ने भइहाल्छ। असल जमीनमा छरिएकाहरू यी हुन्‌, यस्ताले वचन सुन्छन्‌, र ग्रहण गर्छन्‌, र तीस गुणा, र साठी गुणा, र सय गुणा फल दिन्छन्‌।”

७. बीउ र बेग्लाबेग्लै किसिमको जमिनले केलाई बुझाउँछ?

याद गर्नुहोस्‌, येशूले विभिन्‍न प्रकारको बीउ छरिन्छ भन्‍नुभएन। बरु, उहाँले एकै खाले बीउको कुरा गर्नुभयो जुन बेग्लाबेग्लै किसिमको जमिनमा पर्छ र फरक-फरक नतिजा ल्याउँछ। पहिलो जमिन कडा वा कस्सिएको छ, दोस्रो कम माटो भएको र तेस्रो चाहिं काँढाको झाँग उम्रेको र चौथो चाहिं राम्रो फल फलाउने असल जमिन थियो। (लूका ८:८) बीउ के हो? यो परमेश्‍वरको वचनमा पाइने राज्य-सन्देश हो। (मत्ती १३:१९) बेग्लाबेग्लै किसिमको जमिनले चाहिं केलाई बुझाउँछ? बेग्लाबेग्लै हृदयको अवस्था भएका मानिसहरूलाई।—लूका ८:१२, १५ पढ्‌नुहोस्‌।

८. (क) बीउ छर्नेले कसलाई बुझाउँछ? (ख) परमेश्‍वरको राज्य-प्रचारकार्यप्रति मानिसहरूले बेग्लाबेग्लै प्रतिक्रिया देखाउँछन्‌, किन?

बीउ छर्नेले नि, केलाई बुझाउँछ? परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोष गर्ने परमेश्‍वरका सहकर्मीहरूलाई। पावल र अपोल्लसले जस्तै तिनीहरूले पनि बीउ रोप्छन्‌ र पानी हाल्छन्‌। तर तिनीहरूले कडा परिश्रम गरे पनि नतिजा चाहिं फरक-फरक हुन्छ। किन? किनभने सन्देश सुन्‍ने मानिसहरूको हृदयको अवस्था बेग्लाबेग्लै हुन्छन्‌। येशूको उखानमा, नतिजा राम्रो/नराम्रो हुने कुरा बीउ छर्नेको वशमा छैन। कत्ति सान्त्वनादायी! सान्त्वना विशेषगरि हाम्रा ती विश्‍वासी भाइबहिनीहरूलाई जसले धेरै वर्षसम्म र कतिपय अवस्थामा त दशकौंसम्म कडा परिश्रम गरे तापनि कमै मात्र सफलता पाएका छन्‌। a यो कुरा किन सान्त्वनादायी छ?

९. प्रेरित पावल र येशू दुवैले कुन सान्त्वनादायी कुरालाई जोड दिनुभयो?

कामको नतिजाको आधारमा बीउ छर्ने व्यक्‍तिको विश्‍वासलाई नापिन्दैन। पावलले यस कुरालाई संकेत गर्दै यसो भने: “हरेकले आफ्नो-आफ्नो मेहनतअनुसार आफ्नो-आफ्नै इनाम पाउनेछ।” (१ कोरि. ३:८) इनाम मेहनतअनुसार पाइन्छ, मेहनतको नतिजाअनुसार होइन। त्यसै गरी, आफ्ना चेलाहरू प्रचारकार्यबाट फर्केपछि येशूले पनि यस कुरामा जोड दिनुभयो। येशूको नाउँमा प्रेतहरूलाई वशमा राखेका कारण तिनीहरू अति हर्षित थिए। त्यो क्षण जत्ति नै रोमाञ्चक भए तापनि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “आत्माहरू तिमीहरूका वशमा छन्‌ भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन्‌ भनेरनै रमाओ।” (लूका १०:१७-२०) बीउ छर्नेले आफ्नो कामको नतिजास्वरूप धेरै वृद्धि नदेख्ला तर यसको अर्थ तिनी अरूभन्दा कम लगनशील वा विश्‍वासी भए भन्‍ने चाहिं होइन। नतिजा धेरै हदसम्म सुन्‍ने व्यक्‍तिको हृदयको अवस्थामा भर पर्छ। तर अन्ततः बढाउने त परमेश्‍वर नै हुनुहुन्छ!

वचन सुन्‍नेहरूको जिम्मेवारी

१०. वचन सुन्‍ने व्यक्‍ति असल जमिन जस्तो हुनु/नहुनु केले निर्धारण गर्छ?

१० वचन सुन्‍नेहरूबारे के भन्‍न सकिन्छ? तिनीहरूले देखाउने प्रतिक्रिया के पहिल्यै निर्धारण गरिएको हुन्छ? अहँ, हुँदैन। तिनीहरू असल जमिन जस्तो हुनु/नहुनु तिनीहरूमै भर पर्छ। वास्तवमा मानिसको हृदयको अवस्था बद्‌लिन सक्छ र यो बदलाइ असलको लागि पनि हुन सक्छ वा खराबको लागि पनि हुन सक्छ। (रोमी ६:१७) उखानमा येशूले भन्‍नुभयो कि वचन “जब [केहीले] सुन्छन्‌” तब शैतान आउँछ र त्यसलाई लगिहाल्छ। तर त्यस्तै हुनुपर्छ भन्‍ने छैन। याकूब ४:७ मा ख्रीष्टियानहरूलाई “शैतानको विरोध” गर्न प्रोत्साहन दिइएको छ। यसो गऱ्‍यो भने त्यो तिनीहरूबाट भाग्नेछ। येशूले अरू मानिसबारे पनि बताउनुभयो जो सुरुमा त खुसीसाथ वचन स्वीकार्छन्‌ तर ‘आफूमा जरा नभएकोले’ पछि ठक्कर खान्छन्‌। तर परमेश्‍वरका सेवकहरूलाई चाहिं “जरा हालेका र जग बसालिएका” हुन सल्लाह दिइएको छ। त्यसो गर्दा तिनीहरू ‘चौडाइ, लमाइ, उँचाइ र गहिराइ बुझ्न अनि ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेम जान्‍न’ सक्षम हुन सक्छन्‌।—एफि. ३:१७-१९; कल. २:६, ७.

११. चिन्ता र धनको कारण वचनलाई निसासिदिनदेखि जोगिन के गर्न सकिन्छ?

११ वचन सुन्‍ने अरूले चाहिं आफूभित्र “जगत्‌को चिन्ता र धनको धोका”-लाई ठाउँ दिन्छन्‌ र यसले वचनलाई निसासिदिन्छ भनी बताइएको छ। (१ तिमो. ६:९, १०) यस्तो नहुन तिनीहरूले के गर्न सक्छन्‌? प्रेरित पावल यस्तो जवाफ दिन्छन्‌: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो। किनकि उहाँ आफैले भन्‍नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोडनेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’ ”—हिब्रू १३:५.

१२. असल जमिनद्वारा चित्रण गरिएका मानिसहरूले विभिन्‍न मात्रामा फल फलाउँछन्‌, किन?

१२ अन्तमा येशू भन्‍नुहुन्छ कि असल जमिनमा छरेको बीउले “तीस गुणा, र साठी गुणा, र सय गुणा फल दिन्छन्‌।” वचन सुन्‍नेहरूमध्ये कतिपयको हृदयको अवस्था राम्रो हुन्छ र तिनीहरूले फल पनि फलाउँछन्‌। तैपनि, तिनीहरूले सुसमाचार सुनाउने काममा गर्न सक्ने कुरा परिस्थितिअनुसार फरक-फरक हुन्छ। उदाहरणको लागि, ढल्किंदो उमेर वा कमजोर पार्ने रोगले गर्दा प्रचारकार्यमा पहिलेजस्तो गर्न नसकिएला। (मर्कूस १२:४३, ४४ तुलना गर्नुहोस्‌) यहाँ पनि बीउ छर्ने व्यक्‍तिले परिस्थितिलाई वशमा राख्न सक्दैन, राख्न सके पनि केही हदसम्म मात्र। तर यहोवाले बीउलाई बढाउनुहुँदा ऊ आनन्दित हुन्छ।—भजन १२६:५, ६ पढ्‌नुहोस्‌।

बीउ छर्ने व्यक्‍ति जो सुत्छ

१३, १४. (क) मर्कूस ४:२६-२९ मा बताइएको बीउ छर्नेको उखान छोटकरीमा बताउनुहोस्‌। (ख) बीउ छर्ने व्यक्‍तिले कसलाई बुझाउँछ अनि बीउ चाहिं के हो?

१३ बीउ छर्ने व्यक्‍तिबारे अर्को उखान हामी मर्कूस ४:२६-२९ मा पाउँछौ, जुन यस्तो छ: ‘परमेश्‍वरको राज्य यस्तो हो कि कोही एउटा मानिसले जमीनमा बीउ छर्छ, रातमा सुत्छ, दिनमा उठ्‌छ, अनि बीउचाहिं उम्रन्छ र बढ्‌छ तर त्यो कसरी भएको हो, सो त्यसले जान्दैन। जमीन आफैले फल फलाउँछ, पहिले बोट, त्यसपछि बाला तब बालामा पूरा अन्‍न। तर जब फल पाक्छ तब तुरुन्तै त्यसले हँसिया लगाउँछ किनभने फसलको बेला आइपुगेको हुन्छ।’

१४ यहाँ बताइएको बीउ छर्ने को हो? चर्चका कोही-कोहीले यो बीउ छर्ने व्यक्‍ति स्वयम्‌ येशू हुनुहुन्छ भनी विश्‍वास गर्छन्‌। तर येशू सुत्नुहुन्छ र बीउ बढेको थाह पाउनुहुन्‍न भन्‍ने कुरा कसरी सम्भव छ? अवश्‍यै येशूलाई बीउ बढ्‌ने प्रक्रिया थाह छ! बरु, यो बीउ छर्ने व्यक्‍तिले पनि माथि अर्को उखानमा बताइएको बीउ छर्ने व्यक्‍तिले जस्तै राज्य-सन्देश उद्‌घोषकहरूलाई बुझाउँछ जसले जोसिलो प्रचारकार्यद्वारा राज्यको सन्देश छर्छ। जमिनमा छर्ने बीउ चाहिं तिनीहरूले प्रचार गर्ने वचन हो। b

१५, १६. येशूले बीउ छर्नेको उखानमा बीउ बढ्‌ने र आध्यात्मिक वृद्धिबारेको कुन सत्यलाई प्रकट गर्नुभयो?

१५ येशूले बीउ छर्ने व्यक्‍ति ‘रातमा सुत्छ र दिनमा उठ्‌छ’ भनेर भन्‍नुभयो। यसको मतलब उसले हेलचेक्य्राइँ गरेको चाहिं होइन। यसले त अधिकांश मानिसको दिनचर्याको एउटा सामान्य भागलाई चित्रण मात्र गर्छ। यसमा चलाइएका शब्दहरूले कुनै अवधिभरि दिनमा काम गर्ने र रातमा सुत्ने निरन्तर प्रक्रियालाई संकेत गर्छ। त्यस अवधिमा के भयो, त्यो येशूले बताउनुभयो। उहाँ भन्‍नुहुन्छ, ‘बीउ चाहिं उम्रिन्छ र बढ्‌छ।’ उहाँ अझ यसो भन्‍नुहुन्छ: “त्यो कसरी भएको हो, सो त्यसले जान्दैन।” यहाँ जोड चाहिं “आफै” बढ्‌ने कुरालाई दिइएको छ।

१६ यहाँ येशूले कुन कुरालाई बुझाउँदै हुनुहुन्थ्यो? याद गर्नुहोस्‌, यहाँ वृद्धि र यो वृद्धि बिस्तारै हुने तरिकालाई जोड दिइएको छ। “जमीन आफैले फल फलाउँछ, पहिले बोट त्यसपछि बाला, तब बालामा पूरा अन्‍न।” (मर्कू. ४:२८) यो बढ्‌ने काम बिस्तारै क्रमिक रूपमा हुन्छ। यसलाई जबरजस्ती वा छिटो-छिटो गर्न सकिंदैन। आध्यात्मिक वृद्धिको कुरा पनि त्यस्तै हो। सही मनसाय भएकाहरूको हृदयमा यहोवाले सत्यलाई बढ्‌न दिनुभएपछि आध्यात्मिक वृद्धि क्रमिक रूपमा हुँदै जान्छ।—प्रेरि. १३:४८; हिब्रू ६:१.

१७. सत्यको बीउले फल फलाउँदा कसले पनि रमाहट गर्छन्‌??

१७ “जब फल पाक्छ” तब बीउ छर्ने व्यक्‍तिले कटनीको काममा भाग लिन्छ, कसरी? यहोवाले नयाँ चेलाहरूको हृदयमा राज्य-सत्य बढ्‌न दिनुभएपछि परमेश्‍वरप्रतिको प्रेमले उत्प्रेरित भएर आफ्नो जीवन उहाँमा समर्पण गर्ने हदसम्म तिनीहरूले अन्ततः उन्‍नति गर्छन्‌। तिनीहरूले आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा जनसमक्ष प्रकट गर्छन्‌। परिपक्व हुन निरन्तर अघि बढ्‌ने भाइहरू मण्डलीमा थप जिम्मेवारी बहन गर्न बिस्तारै सक्षम हुँदै जान्छन्‌। राज्यको फल अर्थात्‌ राज्यको बालीलाई बीउ छर्ने व्यक्‍तिका साथसाथै अन्य राज्य उद्‌घोषकहरूले कटनी गर्छन्‌। तर ती अन्य उद्‌घोषकहरूले चाहिं त्यो नयाँ चेला बनाउन गरेको बीउ छर्ने काममा प्रत्यक्ष भाग नलिएका पनि हुन सक्छन्‌। (यूहन्‍ना ४:३६-३८ पढ्‌नुहोस्‌) हो, “छर्ने र काट्‌ने एकसाथ रमाउँछन्‌।”

आज हामीलाई पाठ

१८, १९. (क) येशूका उखानहरूलाई पुनः दोहोऱ्‍याएर हेर्दा तपाईंले व्यक्‍तिगत तवरमा कसरी प्रोत्साहन पाउनुभयो? (ख) अर्को लेखमा के छलफल गरिनेछ?

१८ मर्कूस अध्याय ४ का ती दुइटा उखानलाई पुनः दोहोऱ्‍याएर हेर्दा हामीले के सिक्यौं? स्पष्टै छ, हामीले गर्नुपर्ने काम छ। त्यो हो, बीउ छर्ने काम। हामीले बहाना बनाएर र सम्भाव्य समस्या तथा कठिनाइहरूको कारण यस काम गर्नदेखि आफूलाई कहिल्यै रोक्नुहुँदैन। (उप. ११:४) साथै, परमेश्‍वरको सहकर्मी हुन पाउने अद्‌भुत सुअवसरबारे पनि हामीलाई थाह छ। हाम्रो र हाम्रो सन्देश स्वीकार्नेहरूको प्रयासमा आशिष्‌ दिएर यहोवाले आध्यात्मिक वृद्धि गराउनुहुन्छ। हामीले बुझ्यौं कि कसैलाई पनि आध्यात्मिक तवरमा बढ्‌न जबरजस्ती गर्न सक्दैनौं। त्यस्तैगरि, बढ्‌ने काम धीमा हुँदा वा बढ्‌दै नबढ्‌दा पनि हामी हतोत्साहित वा निराश हुनु आवश्‍यक छैन। हाम्रो सफलता यहोवाप्रतिको विश्‍वास र “राज्यको यो सुसमाचार . . . सब जातिहरूलाई साक्षीको निम्ति प्रचार” गर्न दिइएको जिम्मेवारीप्रतिको विश्‍वासको आधारमा नापिन्छ। यो कुरा थाह पाउनु कत्ति सान्त्वनादायी!—मत्ती २४:१४.

१९ नयाँ चेला र राज्यको वृद्धिबारे येशूले अरू के सिकाउनुभयो? यसको जवाफ, सुसमाचारको विवरणमा लिपिबद्ध अन्य उखानहरूमा पाइन्छ। तीमध्ये केही हामी अर्को लेखमा केलाउनेछौं। (w 08 7/15)

[फुटनोट]

a सन्‌ २००५ को यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज, पृष्ठ २१०-२११ मा रिपोर्ट गरिएझैं भाइ गेयोर्ग फ्योल्नीर लिन्डालले आइसल्याण्डमा गरेको सेवालाई विचार गर्नुहोस्‌। साथै, आयरल्याण्डका विश्‍वासी सेवकहरूले तत्कालै परिणाम नपाए पनि वर्षौंसम्म निरन्तर सेवा गरेको अनुभव सन्‌ १९८८ को यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज, पृष्ठ ८२-९९ मा पाइन्छ। त्यसलाई पनि विचार गर्नुहोस्‌।

b यस पत्रिकाको विगतको अंकमा यो बीउले व्यक्‍तित्व झल्काउने गुणहरूलाई बुझाउँछ भनेर बताइएको थियो जुन गुण संसारको वातावरणको चपेटाबीच बढ्‌नुपर्थ्यो। तर, याद गर्नुपर्ने कुरा के हो भने येशूले बताउनुभएको उखानको बीउ खराब बीउमा परिणत हुँदैन वा कुहिंदैन। यो केवल बढ्‌छ।—द वाचटावर, जून १५, १९८०, पृष्ठ १७-१९ हेर्नुहोस्‌।

के तपाईंले सम्झनुभएको छ?

• बीउ छर्नु र राज्य सन्देश प्रचार गर्नुबीचका केही समानता के हुन्‌?

• यहोवाले राज्य प्रचारकहरूको विश्‍वास कसरी नाप्नुहुन्छ?

• येशूले बीउ बढ्‌ने र आध्यात्मिक वृद्धिबीच कुन समानतालाई जोड दिनुभयो?

• “छर्ने र काट्‌ने एकसाथ रमाउँछन्‌,” कसरी?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको चित्रहरू]

येशूले परमेश्‍वरको राज्यको प्रचारकलाई बीउ छर्ने व्यक्‍तिसित किन दाँज्नुभयो?

[पृष्ठ २१-मा भएको चित्रहरू]

असल जमिनले चित्रण गर्ने मानिसहरूले आफ्नो परिस्थितिअनुसार राज्य प्रचारको काममा सारा हृदयले भाग लिन्छन्‌