सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एक चित्तको भएर वफादारिता कायम राख्नुहोस्‌

एक चित्तको भएर वफादारिता कायम राख्नुहोस्‌

एक चित्तको भएर वफादारिता कायम राख्नुहोस्‌

“म तपाईंको सत्यतामा हिंड्‌नेछु। तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्‌।”—भज. ८६:११.

१, २. (क) भजन ८६:२, ११ अनुसार, परीक्षा वा प्रलोभन आइपर्दा यहोवाप्रति विश्‍वासी रहिरहन हामीलाई केले मदत गर्नेछ? (ख) कहिलेदेखि मनभित्रैबाट वफादारिता खेती गर्नुपर्छ?

 जेल सजाय अथवा सतावटको बावजूद वर्षौंसम्म विश्‍वासी रहेका कतिपय ख्रीष्टियानहरू किन भौतिकवाद चङ्‌गुलमा पर्छन्‌? यसको जवाफ हाम्रो मन अर्थात्‌ हृदयसित सम्बन्धित छ जसले हाम्रो भित्री मनुष्यत्वलाई बुझाउँछ। भजन ८६ ले वफादारितालाई एक चित्तको मनसित जोड्‌छ जुन मन विभाजित नभई पूर्ण छ। भजनहार दाऊदले यसरी प्रार्थना गरे: “मेरो प्राणलाई जोगाउनुहोस्‌, किनकि म ईश्‍वरभक्‍त छु। हे मेरा परमेश्‍वर, तपाईंमा भरोसा गर्ने आफ्नो दासलाई बचाउनुहोस्‌।” तिनले यसरी पनि प्रार्थना गरे: “हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्‌, म तपाईंको सत्यतामा हिंड्‌नेछु। तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्‌।”—भज. ८६:२, ११.

सारा मनले यहोवामा भर परेनौं भने अन्य चाहना तथा लालसाहरूले साँचो परमेश्‍वरप्रतिको हाम्रो वफादारितालाई कमजोर बनाउनेछ। स्वार्थी इच्छा, हामी हिंड्‌ने बाटोमा बिछ्याइएको विष्फोटक पदार्थ जस्तै हो। कठिन परिस्थितिमा हामी यहोवाप्रति विश्‍वासी रहेका थियौं होला। तैपनि हामी शैतानको पासोमा पर्न सक्छौं। अहिलै नै अर्थात्‌ परीक्षा वा प्रलोभन आइपर्नअघि नै यहोवाप्रति मनभित्रबाटै वफादारिता खेती गर्नु कत्ति महत्त्वपूर्ण छ! बाइबल यसो भन्छ: “कुनै मूल्यवान्‌ वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌।” (हितो. ४:२३) यस सन्दर्भमा हामी यहूदाका अगमवक्‍तामाथि घटेको घटनाबाट मूल्यवान्‌ पाठ सिक्न सक्छौं जसलाई यहोवाले इस्राएलका राजा यारोबामकहाँ पठाउनुभएको थियो।

“तपाईंलाई केही उपहार दिनेछु”

३. परमेश्‍वरका अगमवक्‍ताले न्याय सन्देश सुनाउँदा यारोबामले कस्तो प्रतिक्रिया देखाए?

अब यो दृश्‍य मनमा उतार्नुहोस्‌। इस्राएलको दस-गोत्रे उत्तरी राज्यमा बाछो उपासना स्थापना गर्ने राजा यारोबामलाई परमेश्‍वरका जनले भर्खरै एउटा कडा सन्देश सुनाएका छन्‌। राजा रिसले चूर हुन्छन्‌। तिनले उक्‍त सन्देशवाहकलाई समात्न हुकुम दिन्छन्‌। तर यहोवा आफ्ना सेवकको साथमा हुनुहुन्छ। यारोबामले रीसको झोंकमा सन्देशवाहकतिर संकेत गर्दै तेर्साएको हात चमत्कारपूर्ण ढंगमा अचानक सुकिहाल्छ, साथै झूटो उपासनाको लागि चलाइएको वेदी पनि टुक्रा-टुक्रा हुन्छ। अब एकाएक यारोबामको व्यवहार बद्‌लिन्छ। “परमेश्‍वरलाई शान्त गराउन र तिनको हात फेरि ज्यूँका त्यूँ होस्‌ भनी प्रार्थना गरिदिन” तिनले परमेश्‍वरका जनलाई बिन्ती गर्छन्‌। परमेश्‍वरका जनले प्रार्थना गर्छन्‌ र राजाको हात ज्यूँका त्यूँ हुन्छ।—१ राजा १३:१-६.

४. (क) राजाको प्रस्ताव अगमवक्‍ताको वफादारिताको लागि किन साँच्चै एउटा परीक्षा थियो? (ख) अगमवक्‍ताले कस्तो जवाफ दिए?

त्यसपछि यारोबाम साँचो परमेश्‍वरका जनलाई यसो भन्छन्‌: “मसँग मेरो घरमा आउनुहोस्‌, र मसँगै केही खानुहोस्‌, औ म तपाईंलाई केही उपहार दिनेछु।” (१ राजा १३:७) अब अगमवक्‍ताले गर्नुपर्ने के हो? जुन राजालाई न्याय-सन्देश सुनायो उही राजाको आतिथ्य स्वीकार्ने? (भज. ११९:११३) वा राजाले पश्‍चात्ताप गरेको जस्तो देखिए तापनि तिनको निमन्त्रणा अस्वीकार गर्ने? आफ्ना मित्रहरूलाई किम्मती उपहारहरू दिन सक्ने क्षमता यारोबामसित छ। परमेश्‍वरका अगवक्‍ताले मन भित्र-भित्रै भौतिक कुराको लालसा पाल्दै आएको छ भने राजाको प्रस्ताव तिनको लागि ठूलो प्रलोभन हुन सक्नेछ। तर यहोवाले अगमवक्‍तालाई “केही नखानू र नपिउनू र . . . आएको बाटो फर्केर नजानू” भनी आज्ञा दिनुभएको छ। त्यसैले तिनी दृढतासाथ यस्तो जवाफ दिन्छन्‌: “तपाईंले मलाई आफ्नो आधै महल दिनुभए तापनि म तपाईंको घरभित्र पस्नेछैनँ। म यस ठाउँमा केही खानपीन गर्नेछैनँ।” अनि अगमवक्‍ता बेतेलबाट अर्कै बाटो भएर फर्कन्छन्‌। (१ राजा १३:८-१०) मनदेखि नै वफादार हुनुपर्ने सन्दर्भमा अगमवक्‍ताको निर्णयबाट के पाठ सिक्न सक्छौं?—रोमी १५:४.

‘सन्तुष्ट हुनुहोस्‌’

५. भैतिकवादले हाम्रो वफादारिताको कसरी परीक्षा गर्छ?

भौतिकवादले हाम्रो वफादारिताको परीक्षा गर्दैन जस्तो देखिएला। तर गर्छ। हाम्रो आवश्‍यकता पूरा गर्नेछु भनेर यहोवाले गर्नुभएको प्रतिज्ञामाथि के हामी भरोसा राख्छौं? (मत्ती ६:३३; हिब्रू १३:५) हाल आफूले हासिल गर्न नसक्ने कतिपय “उत्तम” कुरा पाइछाड्‌ने धुनमा लाग्नुको सट्टा ती कुराविना पनि के हामी जीवन चलाउन सक्छौं? (फिलिप्पी ४:११-१३ पढ्‌नुहोस्‌) आफूले चाहेको कुरा हासिल गर्नको लागि ईश्‍वरतान्त्रिक सुअवसरहरू त्यागुँ-त्यागुँ जस्तो लाग्छ कि? यहोवाप्रतिको वफादार सेवाले के हाम्रो जीवनमा पहिलो स्थान पाइरहेको छ? यी प्रश्‍नका जवाफ, परमेश्‍वरको सेवामा हामी तनमनले लागेका छौं कि छैनौं, मुख्यतया त्यसैमा निर्भर हुन्छ। प्रेरित पावलले यस्तो लेखे: “सन्तुष्टता सहितको भक्‍तिनै ठूलो लाभ हो। किनकि हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं, तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।”—१ तिमो. ६:६-८.

६. हामीलाई कस्ता “उपहारहरू”-को प्रस्ताव आउन सक्छ र ती स्वीकार्ने/नस्वीकार्ने निर्णय गर्न केले मदत दिनेछ?

उदाहरणको लागि, हाकिमले हामीलाई राम्रो तलब र अन्य सुविधा भएको पदमा बढुवा गरिदिने प्रस्ताव राख्लान्‌। अथवा अर्कै देशमा गयो भने अझै राम्रो कमाइ-धमाइ हुन सक्छ भन्‍ने हामीलाई लाग्ला। सुरुमा त त्यस्ता अवसरहरू यहोवाका आशिष्‌ हुन्‌ जस्तो लाग्न सक्छ। तर निर्णय गर्नुअघि आफ्नो मनसाय केलाएर हेरे कसो होला? हामीले विचार गर्नुपर्ने मुख्य कुरा हो: “मेरो निर्णयले यहोवासितको सम्बन्धमा कस्तो असर पार्नेछ?”

७. भौतिकवादी इच्छाहरूलाई जरैसमेत उखेलेर फ्याँक्नु किन महत्त्वपूर्ण छ?

शैतानको रीतिरिवाजले भौतिकवादलाई निरन्तर बढवा दिन्छ। (१ यूहन्‍ना २:१५, १६ पढ्‌नुहोस्‌) त्यसको उद्देश्‍य भनेकै हाम्रो हृदयलाई भ्रष्ट पार्नु हो। त्यसैले, भौतिकवादी इच्छाहरूलाई चिन्‍न र त्यसलाई आफ्नो हृदयबाट जरैसमेत उखेलेर फ्याँक्न हामी सतर्क हुनुपर्छ। (प्रका. ३:१५-१७) संसारको सारा राज्य दिने शैतानको प्रस्ताव अस्वीकार गर्न येशूलाई गाह्रो भएन। (मत्ती ४:८-१०) उहाँले यस्तो चेतावनी दिनुभयो: “होशियार रहो, आफूलाई सबै किसिमका लालचबाट जोगाओ, किनकि मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” (लूका १२:१५) वफादारिताले हामीलाई आफैमा होइन तर यहोवामा भर पर्न मदत गर्नेछ।

वृद्ध अगमवक्‍ताले तिनलाई “झूट भनेका थिए”

८. परमेश्‍वरका अगमवक्‍ताको वफादारिताको कसरी परीक्षा भयो?

परमेश्‍वरको अगमवक्‍ता खुरुखुरु आफ्नो घर फर्केको भए कत्ति राम्रो हुने थियो। तर तिनलाई अर्को परीक्षा तुरुन्तै आइहाल्यो। बाइबल बताउँछ: “त्यस बेला बेतेलमा एउटा वृद्ध अगमवक्‍ता बस्थे।” त्यस दिन भएका सबै घटना “तिनका छोराहरू आएर . . . तिनलाई सुनाइदिए।” त्यो खबर सुनेपछि तिनले गधा कस्न लगाए र परमेश्‍वरका अगमवक्‍तालाई भेट्‌न गए। अलि पर एउटा ठूलो रूखमुनि परमेश्‍वरका अगमवक्‍ता आराम गरिरहेको वृद्ध अगमवक्‍ताले भेट्टाउँछन्‌ र यसो भन्छन्‌: “आएर मसँग केही खानपीन गर्नुहोस्‌।” साँचो परमेश्‍वरका जनले निमन्त्रणा ठुक्राएपछि वृद्ध अगमवक्‍ता यसो भन्छन्‌: “म पनि तपाईंजस्तै एउटा अगमवक्‍ता हुँ, परमप्रभुको वचनद्वारा मसँग खान-पिउन तपाईंलाई मेरो घरमा ल्याउनू भनी एउटा स्वर्गदूतले मलाई आज्ञा दिएका छन्‌।” तर बाइबल बताउँछ: “तिनले ता यो झूट भनेका थिए।”—१ राजा १३:११-१८.

९. धोकेबाजबारे बाइबलले के भन्छ र तिनीहरूले कसलाई हानि पुऱ्‍याउँछ?

ती वृद्ध अगमवक्‍ताको मनसाय जेसुकै भए पनि तिनले झूटो चाहिं बोलेकै हो। सायद तिनी एक समय यहोवाका विश्‍वासी अगमवक्‍ता थिए होलान्‌। तर अहिले चाहिं तिनले धोका दिइरहेका थिए। बाइबलले यस्तो कार्यको कडा भन्दा कडा निन्दा गर्छ। (हितोपदेश ६:१६, १७ पढ्‌नुहोस्‌) धोकेबाजले आफूलाई मात्र होइन तर अरूलाई पनि अक्सर आध्यात्मिक तवरमा हानि पुऱ्‍याउँछन्‌।

वृद्ध अगमवक्‍तासित ‘ती यहूदाका मानिस फर्केर गए’

१०. वृद्ध मानिसको निमन्त्रणाप्रति परमेश्‍वरका अगमवक्‍ताले कस्तो प्रतिक्रिया देखाए र त्यसको परिणाम के भयो?

१० यहूदाका अगमवक्‍ताले ती वृद्ध अगमवक्‍ताको छल बुझ्न सक्नुपर्थ्यो। तिनले आफूलाई यस्तो प्रश्‍न सोध्न सक्थे: ‘मेरो लागि नयाँ निर्देशन दिन यहोवाले स्वर्गदूतलाई अरू नै मानिसकहाँ किन पठाउनुहुन्थ्यो र?’ तिनले स्पष्ट निर्देशनको लागि यहोवालाई पुकार्न सक्थे। तर तिनले त्यसो गरेको संकेत बाइबलमा कतै पाइन्दैन। बरु तिनी “[वृद्ध व्यक्‍तिसँग] गए र तिनको घरमा खानपीन गरे।” तिनको यो कार्यदेखि यहोवा प्रसन्‍न हुनुभएन। धोकामा परेका ती अगमवक्‍ता अन्ततः आफ्नो घर यहूदा फर्कंदै गर्दा सिंहले तिनलाई भेट्टाएर माऱ्‍यो। अगमवक्‍ताको रूपमा सेवा गर्दै आएका व्यक्‍तिको कत्ति दुःखलाग्दो अन्त!—१ राजा १३:१९-२५. a

११. अहियाहले कस्तो असल उदाहरण बसाले?

११ अर्कोतर्फ, यारोबामलाई राजा नियुक्‍त गर्न पठाइएका अगमवक्‍ता अहियाह चाहिं बुढेसकालसम्मै विश्‍वासी रहे। वृद्ध अनि आँखा नदेख्ने भइसकेका अहियाहकहाँ यारोबामले आफ्नो बिरामी छोरोलाई के हुनेछ भनी जान्‍न आफ्नी स्वास्नीलाई पठाए। यारोबामको छोरो मर्छ भनेर अहियाहले नडराई बताए। (१ राजा १४:१-१८) अहियाहले पाएका थुप्रै आशिष्‌हरूमध्ये परमेश्‍वरको प्रेरित वचनमा योगदान पुऱ्‍याउन पाउनु एउटा थियो। कसरी? तिनका लेखोटहरू पछि एज्राले जानकारीको स्रोतको रूपमा प्रयोग गरे।—२ इति. ९:२९.

१२-१४. (क) जवान अगमवक्‍ता मुछिएको घटनाबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (ख) प्राचीनहरूले दिएको बाइबल आधारित सल्लाहलाई होसियारी र प्रार्थनापूर्वक विचार गर्नु आवश्‍यक छ भन्‍ने कुरालाई उदाहरणसहित बताउनुहोस्‌।

१२ वृद्ध मानिससित गई खानपीन गर्नुअघि ती जवान अगमवक्‍ताले यहोवालाई किन सोधेनन्‌, त्यसबारे बाइबलमा बताइएको छैन। सायद उनलाई सुन्‍न मन परेकै कुरा वृद्ध मानिसले बताएका थिए कि? यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? यहोवाले हामीबाट चाहनुभएका कुरा जायज छन्‌ भनी हामी पूर्णतया विश्‍वस्त हुनुपर्छ। अनि जस्तोसुकै परिस्थितिमा पनि यहोवाले भन्‍नुभएजस्तै गर्न हामी कटिबद्ध हुनुपर्छ।

१३ सल्लाहको सन्दर्भमा भन्‍नुपर्दा, कतिपयले आफूलाई सुन्‍न मन परेको कुरा मात्र सुन्छन्‌। उदाहरणको लागि, एक जना प्रकाशकलाई आफ्नो परिवार र ईश्‍वरतान्त्रिक गतिविधिमा जति समय दिइरहेको छ त्यति दिन नसकिने जागिरको प्रस्ताव आउला। तिनले कुनै प्राचीनसित सल्लाह माग्लान्‌। परिवारको पालनपोषण यसरी गर्नुहोस्‌/उसरी गर्नुहोस्‌ भनेर भन्‍ने अवस्थामा आफू नभएको कुरा मानिलिंदै सायद प्राचीनले आफ्नो कुरा सुरु गर्लान्‌। त्यसपछि, त्यो जागिरको प्रस्ताव स्वीकार्दा हुने आध्यात्मिक खतराहरूबारे बताउलान्‌। अब ती भाइले प्राचीनले सुरुमा भनेको कुरा मात्र सम्झन्छन्‌ कि त्यसपछि दिएका सल्लाहलाई पनि गम्भीरतापूर्वक विचार गर्नेछन्‌? स्पष्ट छ, ती भाइले आफ्नो लागि आध्यात्मिक तवरमा सर्वोत्तम के हुन्छ, सो निश्‍चित गर्नुपर्छ।

१४ अर्को सम्भाव्य परिस्थितिलाई विचार गर्नुहोस्‌। एक जना बहिनीले आफू गैर-साक्षी पतिबाट छुटिएर बसौं कि भनेर प्राचीनलाई सोध्लान्‌। निस्सन्देह, छुट्टिने/नछुट्टिने निर्णय उनकै हो भनेर प्राचीनले बताउनेछन्‌। त्यसपछि उक्‍त प्राचीनले बाइबलबाट यसबारे सल्लाह देलान्‌। (१ कोरि. ७:१०-१६) के ती बहिनीले प्राचीनको कुरालाई राम्ररी विचार गर्नेछिन्‌? या उनले आफ्ना पतिसित छुट्टिने निर्णय पहिल्यै गरिसकेकी छिन्‌? निर्णय गर्नुअघि बाइबल आधारित सल्लाहलाई प्रार्थनापूर्वक विचार गर्नु उनको लागि बुद्धिमानी कुरा हुनेछ।

नम्र हुनुहोस्‌

१५. परमेश्‍वरका अगमवक्‍ताले गरेको गल्तीबाट हामी कस्तो पाठ सिक्छौं?

१५ यहूदाका अगमवक्‍ताको गल्तीबाट हामी थप के पाठ सिक्न सक्छौं? हितोपदेश ३:५ यसो भन्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझशक्‍तिमा भरोसा नगर्‌।” यहूदाका अगमवक्‍ताले पहिलाजस्तो यहोवामा भर पर्नुको सट्टा यस पटक चाहिं आफ्नै निर्णयमा भर परे। यस गल्तीले गर्दा तिनले आफ्नो जीवन र परमेश्‍वरसितको असल सम्बन्ध गुमाउनुपऱ्‍यो। यहोवालाई नम्र र वफादार भई सेवा गर्नुपर्छ भन्‍ने कुरालाई यस घटनाले कत्ति सशक्‍त ढंगमा जोड दिन्छ!

१६, १७. यहोवाप्रति वफादार रहन हामीलाई केले मदत गर्नेछ?

१६ हृदयको स्वार्थी झुकावले हामीलाई गलत मार्गतिर डोऱ्‍याउन सक्छ। “हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” (यर्मि. १७:९) यहोवाप्रति वफादार रहिरहन हामीले घमन्डीपन र आफैमा भर पर्ने झुकाव भएको आफ्नो पुरानो व्यक्‍तित्व हटाउन कडा परिश्रम गरिरहनुपर्छ। अनि नयाँ व्यक्‍तित्व धारण गर्नै पर्छ “जो परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा [अर्थात्‌ “वफादारीमा,” NW] सृष्टि भएको छ।”—एफिसी ४:२२-२४ पढ्‌नुहोस्‌।

१७ हितोपदेश ११:२ (NRV) यसो भन्छ: “नम्रताले बुद्धि ल्याउँछ।” नम्र भई यहोवामा भर पर्दा हामी गम्भीर गल्ती गर्नबाट जोगिन सक्छौं। उदाहरणको लागि, निरुत्साहित हुँदा हाम्रो निर्णय गर्ने क्षमता सजिलै टेंढो हुन सक्छ। (हितो. २४:१०) हामी पवित्र सेवाको कुनै पक्षमा भाग लिंदा-लिंदा थकित हौंला र ‘धेरै गरिसकें, अब त अरूको पालो’ भन्‍ने सोचाइ मनमा आउन सक्छ। कि चाहिं, वरपरका मानिसहरूले जस्तै “सामान्य” जीवन बिताउने इच्छा जाग्न सक्छ। तर ‘प्रयत्न गर्दा’ र ‘सधैं प्रभुको काममा प्रशस्त हुँदै जाँदा’ हाम्रो मन सुरक्षित हुनेछ।—लूका १३:२४; १ कोरि. १५:५८.

१८. के निर्णय गर्ने हो, थाह नहुँदा हामी के गर्न सक्छौं?

१८ कहिलेकाहीं, हामीले गाह्रो निर्णयहरू गर्नुपर्ने होला अनि के निर्णय गर्ने, स्पष्ट पनि नहोला। के त्यतिबेला हामी मामिलालाई आफ्नै हातमा लिने प्रयास गर्छौं? यस्ता परिस्थितिमा पर्दा यहोवाको मदत माग्नु बुद्धिमानी हुनेछ। याकूब १:५ भन्छ: “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग . . . दिनुहुने परमेश्‍वरसित त्यसले मागोस्‌।” स्वर्गीय पिता यहोवाले हामीलाई चाहिएको पवित्र आत्मा दिनुहुनेछ जसले गर्दा हामी सही निर्णयहरू गर्न सक्छौं।—लूका ११:९, १३ पढ्‌नुहोस्‌।

वफादार रहन कटिबद्ध हुनुहोस्‌

१९, २०. हामी के गर्न कटिबद्ध हुनुपर्छ?

१९ सुलेमान साँचो उपासनाबाट तर्किए पछिका अशान्त वर्षहरूमा परमेश्‍वरका सेवकहरूको वफादारितामाथि कठोर परीक्षा आइलाग्यो। यो साँचो हो कि थुप्रैले एक वा अर्को तरिकामा सम्झौता गरे। तैपनि, कतिपय भने यहोवाप्रति वफादार रहिरहे।

२० हामीले पनि प्रत्येक दिन आफ्नो वफादारिताको परीक्षा हुने छनौट र निर्णयहरू गर्नुपर्ने हुन्छ। हामी पनि आफूलाई विश्‍वासी साबित गर्न सक्छौं। आउनुहोस्‌, यहोवाले आफ्ना वफादार जनहरूलाई निरन्तर आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा पूर्ण विश्‍वस्त भई एक चित्तले उहाँप्रति सधैं वफादार रहिरहौं।—२ शमू. २२:२६. (w 08 8/15)

[फुटनोट]

a वृद्ध व्यक्‍तिको मृत्यु यहोवाले नै गराउनुभएको हो/होइन बाइबलले बताउँदैन।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आफ्नो हृदयबाट भौतिकवादी इच्छाहरूलाई जरैसमेत उखेलेर फ्याँक्न के गर्नुपर्छ?

• यहोवाप्रति वफादार रहिरहन हामीलाई केले मदत दिनेछ?

• नम्र हुँदा हामी कसरी परमेश्‍वरप्रति वफादार रहन सक्छौं?

[प्रश्‍नहरू]