सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं “शुद्ध भाषा” धाराप्रवाह बोल्दै हुनुहुन्छ?

के तपाईं “शुद्ध भाषा” धाराप्रवाह बोल्दै हुनुहुन्छ?

के तपाईं “शुद्ध भाषा” धाराप्रवाह बोल्दै हुनुहुन्छ?

“देश-देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा . . . गर्नेछन्‌।”——सप. ३:९.

. यहोवाले हामीलाई कुन राम्रो वरदान दिनुभएको छ?

 भाषा—यो मानिसको सृष्टिकर्ता यहोवा परमेश्‍वरले दिनुभएको वरदान हो, मानिसले उत्पत्ति गरेको होइन। (प्रस्थ. ४:११, १२) उहाँले प्रथम मानव आदमलाई बोल्ने मात्र होइन तर नयाँ-नयाँ शब्द सृजना गर्ने क्षमता पनि दिनुभएको थियो। त्यसैले त तिनले आफ्नो शब्द भण्डारलाई फराकिलो बनाउँदै लैजान सके। (उत्प. २:१९, २०, २३) यो साँच्चै राम्रो वरदान साबित भएको छ! भाषाले गर्दा नै मानिसजातिले स्वर्गमा बस्नुहुने आफ्ना पितासित कुराकानी गर्न र उहाँको महिमित नाउँको प्रशंसा गर्न सकेका छन्‌।

२. किन मानिसहरूले विभिन्‍न भाषा बोल्न थाले?

मानिसको उत्पत्ति भएदेखि त्यसपछिको सत्र सय वर्षसम्म सबै मानिस “एकै खालको बोली” अर्थात्‌ एउटै मात्र भाषा बोल्थे। (उत्प. ११:१, NRV) त्यसपछि निम्रोदको विद्रोह सुरु भयो। परमेश्‍वरको निर्देशनलाई बेवास्ता गर्दै अनाज्ञाकारी मानिसहरूले एकै ठाउँमा बस्ने संकल्प गरे। तिनीहरू जम्मा भएको त्यो ठाउँलाई पछि बाबेल भनिन थाल्यो। तिनीहरूले बडेमाको धरहरा बनाउन सुरु गरेका थिए—परमेश्‍वरलाई महिमा दिनलाई होइन तर तिनीहरूको ‘आफ्नै नाउँ राख्नलाई।’ यही कारणले गर्दा परमेश्‍वरले ती विद्रोहीहरूको मौलिक भाषा खलबल्याइ दिनुभयो। फलस्वरूपः तिनीहरूले भिन्‍ना-भिन्‍नै भाषा बोल्न थाले र जम्मै पृथ्वीभरि तितर-बितर भए।— उत्पत्ति ११:४-८, पढ्‌नुहोस्‌।

३. यहोवा परमेश्‍वरले बाबेलमा विद्रोहीहरूको बोली खलबल पारिदिनु भएपछि के भयो?

आज संसारभरि हजारौं भाषाहरू बोलिन्छन्‌—केहीले भनेअनुसार ६८०० भन्दा धेरै। यी सबै भाषामा सोचाइ व्यक्‍त गर्ने तरिका फरक-फरक हुन्छ। अतः यहोवा परमेश्‍वरले ती विद्रोहीहरूको बोली खलबल्याइ दिनुहुँदा तिनीहरूको दिमागबाट मौलिक भाषा पूरै मेटाउनुभएको हुनुपर्छ। उहाँले तिनीहरूको दिमागमा नयाँ-नयाँ शब्दहरू मात्र राख्नुभएन तर सोच्ने शैली पनि परिवर्तन गर्नुभयो र नयाँ व्याकरणको सुरुआत गर्नुभयो। त्यसैले त्यो धरहरा भएको ठाउँलाई पछि “खलबल” अर्थात्‌ बाबेल भनिएकोमा छक्क मान्‍नुपर्दैन! (उत्प. ११:९) चाखलाग्दो कुरा के हो भने, अहिले हाम्रो समयमा बोलिने भाषाहरू कहिलेदेखि भिन्‍ना-भिन्‍नै भयो त्यसको सन्तोषजनक विवरण बाइबलले मात्र दिन्छ।

एउटा नयाँ शुद्ध भाषा

४. हाम्रो समयमा के हुनेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो?

परमेश्‍वरले बाबेलमा हस्तक्षेप गर्नुभएको बाइबल विवरण निकै रोमाञ्चक होला तर त्यो भन्दा पनि अझै रोचक र महत्त्वपूर्ण कुरा हाम्रो समयमा भइरहेको छ। आफ्ना अगमवक्‍ता सपन्याह मार्फत यहोवाले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “त्यस बेला देश-देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्‌।” (सप. ३:९) त्यो “शुद्ध भाषा” के हो र हामी कसरी त्यो भाषा फरर्र बोल्न सक्छौं?

५. शुद्ध भाषा के हो र यसले कस्तो नतिजा ल्याएको छ?

शुद्ध भाषा भनेको यहोवा परमेश्‍वर र उहाँको उद्देश्‍यबारे उहाँको वचन बाइबलमा पाइने सत्य कुरा हो। यो “भाषा”-मा परमेश्‍वरको राज्य सम्बन्धी सत्य कुरा ठीकसित बुझ्नु समावेश छ। यसका साथै, त्यो राज्यले परमेश्‍वरको नाउँ कसरी पवित्र गर्नेछ, उहाँको सार्वभौमिकता कसरी उच्च पार्नेछ र वफादार मानिसजातिले कसरी चिरस्थायी आशिष्‌ पाउँनेछन्‌ त्यो बुझ्नु पनि समावेश छ। यो शुद्ध भाषा बोल्दा कस्तो नतिजा प्राप्त हुन्छ? मानिसहरू “परमप्रभुको नाउँको पुकारा गरेर” र “एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्‌” भनेर बाइबलले हामीलाई बताएको छ। बाबेलको घटनाले जस्तो नभई यो शुद्ध भाषाले यहोवाको नाउँको प्रशंसा गरेको छ र उहाँका मानिसहरूलाई एकतामा बाँधेको छ।

शुद्ध भाषा सिक्ने

६, ७. (क) नयाँ भाषा सिक्नुमा के समावेश छ र शुद्ध भाषा सिक्ने सन्दर्भमा त्यो कसरी लागू हुन्छ? (ख) अब हामी कुन कुरा विचार गर्नेछौं?

अर्कै भाषा सिक्न चाहने व्यक्‍तिले नयाँ-नयाँ शब्द याद गरेर मात्र पुग्दैन। नयाँ भाषा सिक्नुमा नयाँ तरिकाले सोच्नु अर्थात्‌ नयाँ विचार शैली सिक्नु समावेश छ। तर्क गर्ने र हँसीमजाक गर्ने तरिका भाषाअनुसार फरक-फरक हुनसक्छ। नयाँ शब्द उच्चारण गर्नको लागि जिब्रोलाई फरक तरिकाले चलाउनुपर्ने हुन्छ। बाइबल सत्यको शुद्ध भाषा सिक्ने सन्दर्भमा पनि यसै भन्‍न सकिन्छ। बाइबलका केही आधारभूत शिक्षा सिकेर मात्र पुग्दैन। यो भाषा राम्ररी बोल्न जान्‍नुमा हाम्रो सोच परिवर्तन गर्नु र मन बदल्नु समावेश छ।—रोमी १२:२; एफिसी ४:२३ पढ्‌नुहोस्‌।

शुद्ध भाषा बुझ्ने मात्र होइन तर यो फरर्र बोल्न जान्‍न हामीलाई कुन कुराले मदत गर्छ? अरू भाषा बोल्न सिक्ने केही आधारभूत तरिकाहरू भएजस्तै शुद्ध भाषा बोल्न सिक्ने पनि केही आधारभूत तरिकाहरू छन्‌ जसले हामीलाई बाइबल सत्यको यो शुद्ध भाषा फरर्र बोल्न मदत गर्छ। आउनुहोस्‌, मानिसहरूले अरू भाषा सिक्दा अपनाउने केही आधारभूत कदमहरूबारे हामी विचार गरौं र ती कदमहरूले हामीलाई यो नयाँ लाक्षणिक भाषा सिक्न कसरी मदत गर्छ त्यो पनि विचार गरौं।

शुद्ध भाषा धाराप्रवाह बोल्ने

८, ९. शुद्ध भाषा सिक्न हामीले के गर्नैपर्छ र यसो गर्नु किन एकदमै महत्त्वपूर्ण छ?

ध्यान दिएर सुन्‍नुहोस्‌। कुनै व्यक्‍तिलाई अघि कहिल्यै नसुनेको शब्द पहिलो चोटि सुन्दा अनौठो लाग्नसक्छ। (यशै. ३३:१९) तर उक्‍त व्यक्‍तिले आफूले सुन्‍ने कुरामा ध्यान दिन सिकेपछि भने एक-एक शब्द ठम्याउन सक्ने हुन्छ र कसरी बोल्छ त्यो पनि याद गर्छ। त्यसैगरि, हामीलाई यस्तो सल्लाह दिइएको छ: “सुनेका कुराहरूलाई हामीले झन्‌ बढी उत्कट ध्यान दिनुपर्दछ, नत्रता हामी तिनीहरूबाट तर्केर जानेछौं।” (हिब्रू २:१) येशूले आफ्ना अनुयायीहरूलाई यस्तो सल्लाह बारम्बार दिनुभयो: “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्‌।” (मत्ती ११:१५; १३:४३; मर्कू. ४:२३; लूका १४:३५) हो, हामीले शुद्ध भाषा अझै राम्ररी बुझ्ने हो भने आफूले सुनेको कुरा ‘सुन्‍नु र बुझ्नु’ आवश्‍यक छ।—मत्ती १५:१०; मर्कू. ७:१४.

सुन्दा खेरि ध्यान दिनु पर्ने हुन्छ, तर यो प्रयास त्यतिकै खेर जाँदैन। (लूका ८:१८) ख्रीष्टियान सभामा के हामी वक्‍ताले भनेको कुरा ध्यान दिएर सुन्छौं अथवा हाम्रो ध्यान अन्त कतै पो डुलिरहेको हुन्छ कि? प्रस्तुत गरिएको कुरामा ध्यान दिन भरसक प्रयास गर्नु महत्त्वपूर्ण छ। नत्रता हामी मन्द कान भएका हुनेछौं।—हिब्रू ५:११.

१०, ११. (क) ध्यान दिएर सुन्‍नु बाहेक हामीले के गर्नै पर्छ? (ख) शुद्ध भाषा बोल्नुमा अरू कुन-कुन कुरा समावेश छ?

१० धाराप्रवाह बोल्ने व्यक्‍तिको अनुकरण गर्नुहोस्‌। नयाँ भाषा सिक्दा ध्यान दिएर सुन्‍न विद्यार्थीहरूलाई प्रोत्साहन दिइन्छ। यसका साथै धाराप्रवाह बोल्ने व्यक्‍तिले कसरी उच्चारण गर्छ, कसरी बोल्छ त्यसको देखासिकी गर्न पनि प्रोत्साहित गरिन्छ। यसले विद्यार्थीहरूलाई पछि कुराकानी गर्दा अरूले बुझ्नै नसक्ने उच्चारण गर्नबाट बचाउँछ। त्यसरी नै हामीले पनि शुद्ध भाषा त्यो व्यक्‍तिबाट सिक्नुपर्छ जो यस नयाँ भाषाको “शिक्षामा” पोख्त छन्‌। (२ तिमो. ४:२) मदत माग्नुहोस्‌। गल्ती सच्याइ दिंदा स्वीकार्न इच्छुक हुनुहोस्‌।—हिब्रू १२:५, ६, ११ पढ्‌नुहोस्‌।

११ शुद्ध भाषा बोल्नुमा बाइबलका सत्य वचनमा विश्‍वास गर्नु वा ती अरूलाई सिकाउनु मात्र नभई हाम्रो आचरण परमेश्‍वरको वचनमा दिइएका नियम अनि सिद्धान्तअनुरूप हुनु पनि समावेश छ। यसका लागि हामीले अरूको राम्रो आचरण हेर्नु र त्यसको अनुकरण गर्नु नितान्त आवश्‍यक छ। यसमा उनीहरूको विश्‍वास र जोस, साथै येशूको पूरै जीवनी अनुकरण गर्नु समावेश छ। (१ कोरि. ११:१; हिब्रू १२:२; १३:७) यदि हामीले त्यसो गरिरह्‍यौं भने परमेश्‍वरका जनहरूमाझ एकता छाउनेछ र तिनीहरूले एकै तरिकामा शुद्ध भाषा बोल्न सक्नेछन्‌।—१ कोरि. ४:१६, १७.

१२. नयाँ भाषा सिक्नुमा कण्ठ गर्नु कसरी मुछिएको छ?

१२ कण्ठ गर्नुहोस्‌। भाषा सिक्ने विद्यार्थीहरूले थुप्रै नयाँ कुराहरू स्मरणमा राख्नु आवश्‍यक छ। यसमा नयाँ-नयाँ शब्दहरू र अभिव्यक्‍तिहरू समावेश छन्‌। ख्रीष्टियानहरूलाई शुद्ध भाषा बोल्न सिपालु बनाउने सशक्‍त मदत भनेको स्मरणमा राख्नु हुन सक्छ। पक्कै पनि हामीले बाइबल किताबका नाउँहरू त्यसको क्रमअनुसार मजाले मनमा राख्नु बेस हुनेछ। कसै-कसैले केही बाइबल पद अथवा उद्धरण गरिएको कुरा सम्झने लक्ष्य बनाएका छन्‌। अरू कतिपयले भने राज्य गीतहरू, इस्राएली कुलको नाउँ, १२ जना प्रेरितहरूको नाउँ र आत्माका फल अन्तर्गत पर्ने गुणहरू सम्झनु लाभकारी पाएका छन्‌। पुरातन समयमा थुप्रै इस्राएलीहरूले भजन मुखस्त पार्थे। वर्तमान समयमा चाहिं एक जना फुच्चे केटोले छ वर्ष नपुग्दै ८० वटा बाइबल पद कण्ठ गरे। के हामी पनि यस्तो अमूल्य क्षमताको सदुपयोग गर्न सक्छौं?

१३. दोहोऱ्‍याउनु किन नितान्त महत्त्वपूर्ण छ?

१३ सिकेको कुरा दोहोऱ्‍याउँदा स्मरणमा राख्न सजिलो हुन्छ। त्यसैले त हामी बाइबलका विभिन्‍न शिक्षाहरू अक्सर दोहोऱ्‍याइ, तेहऱ्‍याइ सिक्छौं अनि सिकाउँछौं। प्रेरित पत्रुसले भने: “तिमीहरूले ती सब जान्दछौ, र तिमीहरूमा भएको सत्यमा तिमीहरू स्थिर छौ, तापनि यी कुराहरू तिमीहरूलाई सम्झाउनालाई म सधैं तत्पर रहनेछु।” (२ पत्रु. १:१२) हामीलाई किन सम्झौटोहरू चाहिन्छ? किनभने यस्ता सम्झौटोहरूले हाम्रो समझलाई गहिरो बनाउँछ, हाम्रो दृष्टिकोणलाई फराकिलो बनाउँछ र यहोवाको आज्ञा पालन गर्ने हाम्रो संकल्पलाई बलियो बनाउँछ। (भज. ११९:१२९) परमेश्‍वरका स्तरहरू र सिद्धान्तहरू निरन्तर दोहोऱ्‍याउँदा आत्म-परीक्षण गर्न मदत पुग्छ र “सुनेर बिर्सिहाल्ने” झुकावबाट हामी बच्छौं। (याकू. १:२२-२५) यदि हामीले बाइबलका सम्झौटोहरूलाई मनमा राखेनौं भने अरू नै कुराले हाम्रो हृदयलाई बहकाउनेछ र सायद हामी शुद्ध भाषा धाराप्रवाह बोल्न नसक्ने हुन सक्छौं।

१४. शुद्ध भाषा सिक्न हामीलाई कुन कुराले मदत गर्छ?

१४ आवाज निकालेर पढ्‌नुहोस्‌। (प्रका. १:३) कोही-कोही विद्यार्थीहरूले नयाँ भाषा मन-मनै अध्ययन गर्छन्‌। तर यसो गर्दा त्यत्ति फाइदा हुँदैन। शुद्ध भाषा अध्ययन गर्दा पढेको कुरामा ध्यान केन्द्रित गर्न कहिलेकाहीं हामीले “गुनगुनाएर” पढ्‌नुपर्ने हुनसक्छ। (भजन १:१, २ पढ्‌नुहोस्‌ a) यसो गऱ्‍यौं भने पढेको कुरा दिमागमा ठप्प बस्छ। ‘गुनगुनाएर पढ्‌नु’ भन्‍ने हिब्रू अभिव्यक्‍तिको मनन गर्नुसित नजिकको सम्बन्ध छ। खाएको खानाबाट पूरै लाभ उठाउन त्यसलाई पचाउनु आवश्‍यक भएजस्तै आफूले पढेको कुरा राम्ररी बुझ्ने हो भने मनन गर्नु आवश्‍यक छ। के हामी आफूले अध्ययन गरेको कुरामा मनन गर्न पर्याप्त समय दिन्छौं? बाइबल पढिसकेपछि आफूले के पढ्यौं त्यसबारे गहिरिएर सोच्नुपर्छ।

१५. हामी शुद्ध भाषाको “व्याकरण” कसरी अध्ययन गर्न सक्छौं?

१५ व्याकरणलाई केलाएर हेर्नुहोस्‌। आफूले सिकिराखेको नयाँ भाषाको व्याकरण अर्थात्‌ शब्दका विभिन्‍न रूप र तिनको संरचना विधि अध्ययन गर्नु लाभदायी हुन्छ। यसले हामीलाई भाषाको बनावट बुझ्न मदत गर्छ र धाराप्रवाह बोल्न सक्षम बनाउँछ। भाषाको शब्द संरचना भएजस्तै धर्मशास्त्रीय सच्चाइको शुद्ध भाषाको पनि “नमुना” अर्थात्‌ संरचना हुन्छ। (२ तिमो. १:१३) हामीले त्यो “नमुना” नक्कल गर्नु आवश्‍यक छ।

१६. हामी कस्तो झुकावबाट बच्नुपर्छ र हामी कसरी यसो गर्न सक्छौं?

१६ प्रगति गर्न नछोड्‌नुहोस्‌। सामान्य बोलचाल गर्न सक्ने भएपछि कसै-कसैले भाषा सिक्न छाड्‌छन्‌। शुद्ध भाषा बोल्न चाहनेहरूमा पनि यस्तै समस्या देखिनसक्छ। (हिब्रू ५:११-१४ पढ्‌नुहोस्‌) यस्तो झुकावबाट बच्न हामीलाई केले मदत गर्छ? नयाँ नयाँ शब्द सिकेर शब्द भण्डार बढाउने इच्छाले। बाइबलले यसो भन्छ: “ख्रीष्टको शुरुका शिक्षाहरूका विषय बोल्न छोडेर सिद्धतातर्फ हामी बढ्‌दै जाऔं। मरेका कामहरूबाट पश्‍चातापको, र परमेश्‍वरतर्फको विश्‍वासको जग फेरि बसाल्ने, बप्तिस्माहरू र हात राख्ने कुरा, मरेकाहरूको पुनरुत्थान र अनन्त इन्साफको शिक्षाको जग बसाल्ने कुरा छोडौं।”—हिब्रू ६:१, २.

१७. नियमित अध्ययन गर्ने बानी हुनु किन महत्त्वपूर्ण छ? उदाहरण दिनुहोस्‌।

१७ अध्ययन गर्ने निश्‍चित समय तोक्नुहोस्‌। कहिलेकाहीं लामो न लामो अध्ययन गर्नु भन्दा त, नियमितरूपमा छोटो अध्ययन गर्नु नै राम्रो। आफू एकदमै चनाखो भएको बेला अनि सजिलै ध्यान विकर्षण नहुने बेला अध्ययन गर्नुहोस्‌। नयाँ भाषा सिक्नु भनेको जङ्‌गलमा गोरेटो बाटो बनाउनु जस्तै हो। जङ्‌गलको बाटो जति धेरै हिंड्यो त्यतिनै हिंड्डुल गर्न सजिलो हुँदै जान्छ। यदि त्यो बाटो केही समयसम्म प्रयोग गरिएन भने चाँडै नै झारपातले छोपिहाल्छ। त्यसैले अथक प्रयास अनि निरन्तरता महत्त्वपूर्ण छ! (दानि. ६:१६, २०) बाइबल सत्यको शुद्ध भाषा बोल्ने बेलामा पनि प्रार्थनापूर्वक “लगनशील” हुनुहोस्‌।—एफि. ६:१८, NRV.

१८. हामीले हरेक मौकामा शुद्ध भाषा किन बोल्नुपर्छ?

१८ बोल्ने प्रयास गरिरहनुहोस्‌। भर्खर-भर्खर नयाँ भाषा सिकिराखेकाहरू बोल्न हिचकिचाउँछन्‌ किनभने तिनीहरू लाज मान्छन्‌ र गल्ती होला कि भनेर डराउँछन्‌। यसले तिनीहरूलाई प्रगति गर्न दिंदैन। भाषा सिक्ने सन्दर्भमा यो पुरानो कहावत सोह्रै आना सही साबित हुन्छ—‘हतियार जति उध्यायो त्यति नै धारिलो हुन्छ।’ विद्यार्थीले नयाँ भाषा जति धेरै बोल्छ त्यति नै उसलाई त्यो भाषा बोल्न सजिलो महसुस हुन्छ। त्यसैगरि हामीले पनि शुद्ध भाषा हरेक मौकामा बोल्नु आवश्‍यक छ। “मानिसले हृदयबाट धार्मिकतालाई विश्‍वास गर्नसक्छ, औ मुखबाट उद्धारको निम्ति स्वीकार [अर्थात्‌, “जन घोषणा,” NW] गरिन्छ।” (रोमी १०:१०) बप्तिस्मा लिने बेलामा मात्र होइन राज्यको सुसमाचार प्रचार गर्दा वा मौका पाउनेबित्तिकै यहोवाबारे बोलेर हामी “जन घोषणा” गर्छौं। (मत्ती २८:१९, २०; हिब्रू १३:१५) हाम्रो ख्रीष्टियान मण्डलीले हामीलाई शुद्ध भाषामा स्पष्ट र छोटो अभिव्यक्‍ति व्यक्‍त गर्न मदत गर्छ।—हिब्रू १०:२३-२५ पढ्‌नुहोस्‌।

यहोवाको प्रशंसा गर्न एकै रूपमा शुद्ध भाषा बोल्नुहोस्‌

१९, २०. (क) अहिले हाम्रो समयमा यहोवाका साक्षीहरूले कस्तो अचम्मलाग्दो कुरा पूरा गरिरहेका छन्‌?(ख) तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

१९ इस्वी संवत्‌ ३३, सिभान ६ को आइतबार बिहान यरूशलेममा हुनु कत्ति रोमाञ्चकारी थियो! बिहान सबेरै, नौ बज्नु भन्दा केही समयअघि माथिल्लो कोठामा भेला हुनेहरू चमत्कारपूर्ण ढंगले “अरू भाषामा बोल्नलागे।” (प्रेरि. २:४) आज, परमेश्‍वरका सेवकहरूसित अरू भाषामा बोल्न सक्ने वरदान त छैन। (१ कोरि. १३:८) तैपनि, यहोवाका साक्षीहरूले परमेश्‍वरको राज्यको सुसमाचार ४३० भन्दा पनि बढी भाषामा सुनाउँछन्‌।

२० हामी जुनसुकै भाषा बोल्ने भए पनि बाइबल सत्यको शुद्ध भाषा बोलेर एकताबद्ध हुन पाएकोमा कत्ति कृतज्ञ छौं नि हैन र! एक अर्थमा भन्‍ने हो भने यो कुरा बाबेलमा जे भएको थियो त्यसको ठीक विपरीत हो। एउटै भाषा बोलेर यहोवाका जनहरूले उहाँको नाउँको प्रशंसा गर्छन्‌। (१ कोरि. १:१०) आफूले सिकेको त्यो एउटै भाषा अझै फरर्र बोल्न सिकेर सारा संसारभरिका भाइबहिनीसित “एकै हृदयको भएर” स्वर्गमा बस्नुहुने हाम्रो पिता यहोवालाई निरन्तर महिमा दिन हामी कटिबद्ध हुनुपर्ने हो।—भज. १५०:१-६ पढ्‌नुहोस्‌। (w 08 8/15)

[फुटनोट]

a भजन १:१, २ (NW): “त्यो मानिस आनन्दित हो, जो दुष्टहरूको सल्लाहमा हिंडेको छैन, नता पापीहरूको मार्गमा खडा भएको छ, न गिल्ला गर्नेहरूको बैठकमा बसेको छ। तर यहोवाको व्यवस्थामानै त्यो प्रसन्‍न रहन्छ, र दिनरात उहाँकै व्यवस्था गुनगुनाएर पढ्‌छ।”

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• शुद्ध भाषा के हो?

• शुद्ध भाषा बोल्नुमा के-के समावेश छन्‌?

• कुन कुराले हामीलाई शुद्ध भाषा फरर्र बोल्न मदत गर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २७-मा भएको पेटी]

शुद्ध भाषा धाराप्रवाह यसरी बोल्ने

ध्यानपूर्वक सुनेर।

लूका ८:१८; हिब्रू २:१

धाराप्रवाह बोल्न सक्ने व्यक्‍तिहरूको अनुकरण गरेर।

१ कोरि. ११:१; हिब्रू १३:७

कण्ठ गरेर अनि दोहोऱ्‍याएर।

याकू. १:२२-२५; २ पत्रु. १:१२

आवाज निकाल्दै पढेर।

भज. १:१, २; प्रका. १:३

“व्याकरण” केलाएर।

२ तिमो. १:१३

निरन्तर प्रगति गरेर।

हिब्रू ५:११-१४; हिब्रू ६:१, २

अध्ययन गर्ने निश्‍चित समय तोकेर।

दानि. ६:१६, २०; एफि. ६:१८

बोलेर।

रोमी १०:१०; हिब्रू १०:२३-२५